सफ्टवेरिका कलेजले आयोजना गरेको ‘टेक-एक्स २०२३’ सुरु (फोटो फिचर)
काठमाडौं । सफ्टवेरिका कलेजले बिहीबारदेखि ‘टेक–एक्स २०२३’ आयोजना गरेको छ । काठमाडौंको डिल्ली बजारस्थित कलेज परिसरमा विद्यार्थीले तयार पारेका प्रोजेक्टहरूको चार दिने प्रदर्शनी सुरु भएको हो । आइतबारसम्म चल्ने उक्त प्रदर्शनीमा रोबोटहरूको वार मुख्य आकर्षणको रूपमा रहने कलेजले जनाएको छ । यस प्रदर्शनीको उद्घाटन सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले गरेको कलेजले जनाएको छ । यसका साथै एआई र साइबर सुरक्षा क्षेत्रमा विद्यार्थीहरूले तयार पारेका विभिन्न प्रोजेक्टहरू समेत हेर्न पाइनेछ । प्रदर्शनीमा नवप्रवर्तन सम्बन्धी ३० भन्दा बढी प्रोजेक्टका स्टलहरू रहने छन् । जसमा स्मार्ट ग्लास (चस्मा) तथा स्मार्ट ब्लाइन्ड स्टिक (दृष्टि विहीनले प्रयोग गर्ने छडी) र होम सेक्युरिटी सहित घरमा अनधिकृत व्यक्तिको घुसपैठ भएको थाहा पाउने सिस्टम रहेका छन् । यसबाहेक रिमोट मनिटरिङसहित डढेलो लागेको पहिचान गरी जानकारी दिने सिस्टम, फिल्ड मनिटरिङ तथा बाली निरीक्षण सिस्टमका लागि अग्मेन्टेड रियालिटी (एआर) र प्लानेटरी एक्सप्लोरेसन रोबोट पनि कलेजका विद्यार्थीहरूले बनाएका छन् । ११ गतेदेखि १४ गतेसम्म चल्ने मेला बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निःशुल्क रूपमा अवलोकन गर्न सकिनेछ ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी
काठमाडौं । जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले सूचना जारी गर्दै बुटवल शाखाको लागि कर्मचारी माग गरेको हो । बैंकले ट्रेनी असिस्टेन्टका लागि, ट्रड फाइनान्स इन्चार्जका लागि, लेग अफिसरका लागि, रिसर्च एण्ड डेभलपमेन्ट इन चार्ज, एसएमई क्रेडिट हेड, रिटेल क्रेडिट हेडका लागि कर्मचारी माग गरेको हो । बैंकले आफ्नो हेड अफिस तथा शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नागरिकले साउन २५ गतेभित्र बैंकको वेवसाईट मार्फत आवेदन पठाउन बैंकले अनुरोध गरेको छ ।
नजिकबाट नियाल्दा : राराको सुन्दरता र कर्णालीको व्यथा
काठमाडौं । ‘कति सुन्दर र विशाल छ रारा लोभ्याउँछ यसले संसार सारा मर्दछन् थकाई अनि बेचैनी हराउँछन् दुःख चिन्ता सारा नेपालकै आकृतिमा फैलिएको छ हेर प्रकृतिको अनुपम उपहार रारा’ राराको नाम सुन्नेबित्तिकै जो कोहीको मन फरुङ्ग हुन्छ भने त्यहाँ पाइला टेक्दा स्वर्गको परिकल्पना साक्षात् भेटेजस्तै अनुभूत हुन्छ । यहाँको प्रकृतिले हरेकलाई आ–आफ्नो अन्तःस्करणबाट अनेक भावना उद्वेलित गर्दछ । यस स्तम्भकारको मनमा पनि माथिका पङ्क्ति छचल्किन पुगे । धेरै पहिलेदेखिको चाहना हुँदाहुँदै पनि गत असारको पहिलो साता मात्रै पहिलोपटक देशको सबैभन्दा ठूलो ताल भनेर चिनिने मुगु जिल्लामा पर्ने रारा ताल पुगेर प्रत्यक्ष नियाल्ने र स्पर्शसमेत गर्ने अवसर मिल्यो । जीवनमा एकपटक रारामा पुग्ने धेरैको धोको हुन्छ तर कमैलाई यो अवसर जुट्छ । सुर्खेत, दैलेख, कालीकोट हुँदै जुम्लाको खलङ्गासम्म पुग्ने कर्णाली राजमार्गको नाग्म भन्ने स्थानबाट राजमार्गबाट अलग्गिएर जुम्लाको सिञ्जा उपत्यका भएर मुगु जाने बाटो अघि बढ्छ । सुन्दर पनि उत्पादनशील पनि यो उपत्यका नेपालभित्र मानव सभ्यतालाई हुर्काउने मूल ठाउँ पनि भन्ने गरिन्छ । मानवशास्त्री डोरबहादुर विष्टले लामो समय बिताएको र कर्णाली इन्स्टिच्युट स्थापना गरेको स्थान पनि यही सिञ्जा उपत्यका नै हो । अहिले यो उपत्यकाको अधिकांश भाग हिमा गाउँपालिकामा पर्दछ । दुईतिर हराभरा फाँट अनि अलि माथि केही लेकाली वनस्पतियुक्त जङ्गल अनि बस्ती भएको यो ठाउँमा मोटरबाटो बनेपछि भने बाटोको दायाँबायाँ आवास बनाउने क्रम बढेको छ । फाँटलाई सिञ्चित गर्दै बीचबाट बगेको हिमा नदी जुम्ला र कालीकोटको सीमास्थल नाग्ममा पुगेर तीला नदीसँग मिसिन्छ । यो सिञ्जा उपत्यकाको मनोरम दृश्यले सबैका मन रोमाञ्चित बनाउँछ । बोटविरुवा, हरियाली, हिमा नदी बनेर अविरल बगिरहेको कञ्चन हिमाली पानी यी सबै दृश्यलाई नजिक बसेर नियालिरहुँ जस्तो लाग्ने सुन्दरता । साँच्चिकै रारा ताल अनुपम सुन्दरताको खानी रहेछ । पढ्नु, सुन्नु र प्रत्यक्ष पुग्नुमा कति फरक छ भन्ने विषय रारा पुगेर मात्र अनुभूत हुन्छ । सदरमुकाम गमगढी नपुग्दै ताल्चा विमानस्थलको छेउबाटै रारा जाने बाटो देब्रेतिर मोडिन्छ । नाग्मबाट सिँजातिर लागेदेखि नै मोटरबाटो भने ग्राभेलयुक्त कच्ची बाटो हो तर मुगुका ठाडा भीर रहेको खण्ड नपुगुन्जेलसम्म दुर्गम जिल्लाको कच्ची बाटो यात्रा गरिरहेका छौँ भन्ने अनुभूत भएन । कालिकोट जिल्लाका भिराला अग्ला र डरलाग्दा पहाड छिचोलिसकेकाले होला जुम्लाको समथर भूभाग हुँदै मुगुसम्म पुग्दा देखापरेका मध्यमखालका हिमाली पहाडले खासै अघिल्लो दिनको अप्ठेरो बाटोको सम्झना गराउन सकेनन् । यात्रा पनि जीवनकै प्रतिविम्वजस्तो लाग्छ दुःख, सुख अनि फेरि दुःखको चक्र अर्थात अप्ठेरा र सप्ठराहरु झेल्दै र पार गर्दै अघि बढ्नुपर्ने । पहिलोपटक पुगेको यो जिल्लाको सदरमुकाम गमगढीको अवस्थिति, कार्यालयहरु, बजार, शैक्षिक संस्थाको अवस्थिति मोटामोटी जानकारी लिएपछि रारा पुग्ने सुरमा गमगढीलाई बिदाई अभिवादन गरेर अघि बढियो । रारा पुग्नै लाग्दा सल्लाका रुख भएको बाक्लो बन पार गरेर खुल्ला चौरमा पुगेपछि देखिन्छ छौँ विशाल जल सतह । चौरमा नपुगुन्जेलसम्म रुखहरुका बीचबाट देखिएको ताल खण्डखण्ड परेको अपुरो देखिन्छ । जब पूरा ताल देखिन्छ, अनि त बाटाका अनेक दुःख कष्ट च्याट्टै बिसर्न मात्र होइन, शरिर नै हलुका भएर उड्न खोज्छ । मानौँ कि कुनै समुद्रको किनारमा पुगिएको छ । लेखक चारैतिर नियालिसक्दा मात्र थाहा हुन्छ कि यो ताल नै हो । खुलेको आकाशजस्तै कञ्चन तालमा स्वच्छन्दरुपमा उडिरहेका बादलका विभिन्न आकृतिसहितका टुक्राहरु छर्लङ्ग देखिन्छन् । अनि देखिन्छ मुर्माकोटतर्फको भूभाग, बस्ती र फाट्टफुट्ट रहेका रुख बिरुवा एवं केही न केही खेती हुर्किइरहेका बारीहरु । हिँउद्मा हिउँले भरिएका डाँडाहरु देखिंदा हुन् तर अहिले हिउँको च्यादर उतारेर उदाङ्ग छन् । लामो यात्रा गरेर आएका पर्यटक, आगन्तुक वा यात्रुहरु पनि तालको समिपमा पुगेपछि थकाई हराएजस्तो, उमङ्ग पलाएजस्तो अनुभूत गर्दछन् । घोडा, डुंगा, भेडा र मान्छे ताल वरिपरिको परिवेश वर्णन गर्नुपर्दा नवआगन्तुक आइपुग्नासाथ घोडा चढ्ने हो ? भन्दै केही मुगाली घोडा मालिकहरु देखा पर्दछन् । धेरै अपेक्षा नभएका र खुशी अनुहारसहितका मुगाली केटाहरु । घोडा कतिबेर चढ्ने हो कहाँसम्म जानुपर्ने हो वा चौरमा केहीबेर चढेर फोटो मात्र पो खिच्ने हो कि हेरिकन तिर्नुपर्ने दररेट रहेछ । यहाँ पुग्ने प्रायः सबैले घोडा चढेर फोटो खिच्ने अवसर गुमाउन चाँहैनन् । घोडचढी बाहेक तालसँगै रमाउने अर्को माध्यम भनेको १२ बजे अगाडि नै डुंगाबाट ताल वारपार गर्ने वा तालको किनारैकिनार परिक्रमा गर्नु रहेछ । मध्यान्ह १२ बजेपछि भने हावाका कारण डुङ्गा चढ्ने काम असुरक्षित मानिदोरहेछ । तालसँगैको चौरको अर्को भागतिर भने केही बथान भेँडाहरु मज्जाले चरिरहेका देखिन्थे । प्रयोगमा नआएका घोडाहरु पनि विभिन्न दिशामा फर्केर चरिरहेको हुन्छन् । यसरी घोडा, डुंगा, भेँडा यी तीनवटै चिजलाई निर्देशित गर्ने अरु कोही नभएर उही मान्छे थियो । यहाँका स्थानीयहरुले ताललाई पेशासँग आवद्ध गरेका छन् भने घुम्न आउने आगन्तुकले भने नयाँ ठाउँमा आफ्नो मनलाई निर्देशित गरिरहेको, साथमा आउने साथीलाई सघाइरहेको र रमाइरहेको हुन्छ । तालको संरक्षणका लागि नेपाल सरकारका निकायहरुका साथमा स्थानीयहरुको पनि ठूलो योगदान रहेको छ । मुर्माटपको यात्रा र बसाइः रोमाञ्चक अनि स्मरणीय तालबाट उत्तरतर्फ मुर्माकोट नामक बस्ती तथा डाँडाको सर्वाधिक उच्च भागलाई मुर्माटप नाम दिइएको रहेछ । ताललाई दक्षिण पारी उक्त वस्ती र नजिकैको रिसोर्ट पुग्न कि त घोडा चढेर जानुपर्यो कि पैदल यात्रा । तालतर्फ नै फर्केको मुर्माकोटको पाखामा केही रिसोर्टहरु सञ्चालनमा रहेछन् भने मुर्माकोट बस्तीमै केही होमस्टे समेत सञ्चालनमा ल्याइएको रहेछ । तालदेखि हिँडेको करिब दुई घण्टामा मात्र रिसोर्ट भएको ठाउँ पुग्न सकिन्छ । रिसोर्ट पुग्दा असिनपसिन बनाउँछ । कहिलेकाहीँ सिमसिम पानी पर्दा जाडोले जिउ थरथर कमाउँछ । यस्तो बेला शरिरलाई तातो राख्न भित्र न्यानो ठाउँमा गएर रुमहिटर बाल्ने, तातोतातो खाना खानुपर्छ । भोलिपल्ट बिहान रिसोर्टबाट उकालो लाग्ने गरिन्छ मुर्माटप पुग्नका लागि । मुर्माटपमा पुगेर सूर्योदयसँगै तालको अवलोकन गर्ने धेरैको धोको हुन्छ । वर्षायाममा सूर्योदयको लालित्यमय दृश्य भेटाउन भने मुस्किलपर्दछ । डेढ दुई घण्टाको हिँडाइपश्चात् मुर्माटपमा पुग्न सकिन्छ । चारैतिरको प्रकृतिको सिर्जना नियाल्दै खासगरी आकासमै झुन्डिएजस्तो भान हुने रारा तालको दृश्यले थकान, भोकप्यास केही अनुभव हुँदैन । प्रकृतिको सुन्दरतामा रमाउन पाउँदा यी सबै कुरा बिर्सिन्छ । केही समय मुर्माटपमा बिताएर रिसोर्टमा फर्किदा तातो फापरको रोटीको स्वाद जिब्रोमै झुण्डिएको हुन्छ । यसरी राराको यात्रामा जाने जो कोहीले जीवनमा महत्वपूर्ण प्राप्ति भएको अनुभव गरेकै हुन्छन् र यो सम्झनालाई जीवनभर संगालेकै हुन्छन् । फेरिँदै कर्णाली देखिँदै सम्भावना कर्णाली अहिले पनि टाढा छ भन्ने कुरा त रारा पुगेर काठमाडौ फर्कन सडक मार्गबाट सरासर यात्रा गर्दा पनि पूरा छ दिन लाग्दछ । राष्ट्रिय राजमार्गमा जोडिन बाँकी हुम्ला, जाजरकोट हुँदै डोल्पाको दुनैसम्म कच्ची बाटोले जोडे पनि पुलहरु बन्न बाँकी छ । सबै पालिकाहरुमा सधैँ प्रयोगमा आउने सुरक्षित सडकको उपलब्धता सम्भव हुन त केही वर्ष नै कुर्नुपर्ने देखिन्छ । यद्यपि, २०६० सालयता कर्णालीलाई उज्यालो बनाउन, कर्णालीलाई देशका बाँकी भागसँग जोड्न, शिक्षा स्वास्थ्य र उत्पादनका लागि भएको समग्र लगानी र प्रयत्न भने कम छैन । प्रदेशमा पहिलेको कर्णाली अर्थात कर्णाली अञ्चलबाट मुख्यमन्त्री पनि भइसके । कर्णालीका उत्पादनहरु उवा, फापर चिनो जुनेलो मार्सी चामल जडिवुटीलगायतलाई प्रवद्र्धन गर्न काठमाडौँलगायतका सहरमा पसलहरु राख्ने, यहाँका युवालाई राष्ट्रिय श्रम बजारमा बढी माग भएका सीप विकासका लागि उचित प्रवन्ध गर्ने जस्ता कामहरु गरिनुपर्छ । रारा ताल, सिँजा, मुकुट हिमाल, मुर्माटप, चन्दननाथ रहेको जुम्ला सदरमुकामलगायत पर्यटकीय स्थानहरुलाई ‘प्याकेजिङ’ गर्दै कर्णालीका खोँचहरुमा साहसिक पर्यटन सञ्चालन गर्ने ध्येयका साथ पुलहरु निर्माण गर्न सके स्थानीय अर्थतन्त्रलाई टेवा पुग्ने देखिन्छ । कर्णालीबाट बग्दै आएका नदीहरु जलविद्युत्, सिँचाइ, जलपर्यटनका लागि दिगो स्रोत पनि हुन् । हवाई यातायातका पूर्वाधारलाई थप सुदृढ बनाएर पनि थप पर्यटक भित्र्याउन सकिन्छ । यार्चागुम्बा जस्ता बहुमूल्य जडिवुटी प्रशोधन र प्याकेजिङ गरेर विश्व बजारमा पठाउने सम्भावना त छँदैछ । यी सम्भावनाको अधिकतम् प्रयोग गर्न तीनै तहका सरकारहरु चुक्नु हुँदैन । फेरि पनि रारा तालको आफ्नो मौलिकता कायम राख्दै विश्व पर्यटन बजारमा पर्याप्त प्रचारप्रसार गरी नेपालकै नाम ‘द कन्ट्री अफ रारा लेक’ भनेर समेत राख्न सकिने सम्भावना उत्तिकै छ । विदेशमा रहँदै आउनुभएका नेपालीले पनि राराको प्रचार गर्नमा पछि पर्नु हुँदैन । यसमा सञ्चार माध्यमहरुले पनि प्रचारात्मक भूमिका खेल्न सक्नुपर्छ । पुरानो सभ्यताको प्रमाणका साथै ‘भर्जिन’ रुपमै उपलब्ध प्राकृतिक सम्पदा र क्रमिक विकासको ज्वलन्त प्रमाण हो कर्णाली । कर्णालीको सुन्दरता सबै नेपालीले देख्न पाउनुपर्दछ र सँगसँगै कर्णालीको व्यथा पनि काठमाडौँमा बसोवास गर्नेले बुझ्ने र सम्बोधन गर्ने प्रयत्न गर्नुपर्छ । रारा ताल कर्णालीका थुप्रै आकर्षक पर्यटकीय गन्तव्यमध्ये एक अनुपम प्राकृतिक सौन्दर्यतासहित आगन्तुकलाई स्वागत गरिरहेको छ । समय र अनुकूल मौसम मिलाएर सबैले जीवनमा कम्तिमा एकपटक जीउँदै स्वर्ग देख्न सकिने यस ठाउँमा पुग्न भुल्न हुँदैन । रासस (लेखक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव हुन् ।)
आँखुखोला जलविद्युतले हकप्रद निष्काशन गर्ने, ब्रिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिंग
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्काशन गर्नका लागि ब्रिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिंगलाई नियुक्त गरेको छ । आज सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा आँखुखोला जलविद्युत कम्पनीको तर्फबाट कम्पनीका अध्यक्ष राम श्रेष्ठ तथा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रतिक्षा शर्मा र नबिल इन्भेष्टमेन्ट बैंकिंगको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी बीच हस्ताक्षर गरेका हुन् । आँखुखोला जलविद्युत कम्पनीको संचालक समितिको निर्णयानुसार आफ्ना सेयरधनीहरुलाई १ः१.५ को अनुपातमा निकट भविष्यमा हकप्रद निष्काशन गर्नेछ । काठमाडोंबाट करिब १३२ किलोमिटर टाढा धादिङ्ग जिल्लामा अवस्थित आँखुखोला बुढीगण्डकी नदीको प्रमुख सहायक नदीहरु मध्ये एक हो । आँखुखोलाको क्याचमेन्ट क्षेत्र करिब ६३३ किलोमिटर छ । औसत बार्षिक प्रवाह ५८.३८ क्युमेक अनुमान गरिएको छ । ३४.५ क्युमेकको डिस्चार्ज ४० प्रतिशत भन्दा बढी सम्भाव्यता भएको मानिएको छ । कम्पनीको विद्युत उत्पादन क्षमता ८.४ मेगावाट रहेको छ र उक्त उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा जडान गरिएको छ ।
काभ्रेका उद्योगका खाद्यवस्तु न्यून गुणस्तर र दुषित
काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखलस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले विभिन्न स्थानमा उत्पादन भई बिक्रीवितरण भएका खाद्यवस्तु न्यून गुणस्तर र दूषित भएको प्रतिवेदन सार्वजनिक गरेको छ । कार्यालयद्वारा गत आर्थिक वर्ष २०७९र८० मा गरेको अनुगमन निरीक्षणका आधारमा सार्वजनिक वार्षिक प्रतिवेदनमा जिल्लाका विभिन्न स्थानका उद्योगबाट उत्पादित खाद्य सामग्री न्यून गुणस्तर भएको, दूषित देखिएको तथा अनुज्ञापत्रसमेत नलिइ उत्पादन तथा बिक्री वितरण र उत्पादन गरेको उल्लेख गरिएको छ । प्रतिवेदनमा केही उद्योगलाई काभ्रेपलाञ्चोकमा तथा केही उद्योगलाई सम्बन्धित जिल्लामा मुद्दाका लागि मिसिल पठाएको जनाइएको छ । कार्यालय प्रमुख मनिषा चापागाईंले विभिन्न स्थानमा गरिएको अनुगमन निरीक्षण्का क्रममा काभ्रेपलाञ्चोकलगायत विभिन्न छ जिल्लामा उत्पादित खाद्यसमग्री मापदण्डविपरीत रहेको पाइएपछि मुद्दा दायर गरिएको छ । प्रतिवेदनमा बनेपा नगरपालिका–८ स्थित शुभारम्भ डेरी एण्ड एग्रोभेट रिसर्च प्रालिले उत्पादन गरेको खाद्यवस्तु न्यून गुणस्तर रहेको पाइएको छ । साथै बटरफ्लाई फ्रुट क्यानिङ कम्पनी बत्तिसपुतली, काठमाडौँबाट उत्पादित ‘मिक्स पिकल’, तुलसीपुर दाङमा रहेको स्वर्गद्धारी वि कन्र्सन प्रालिद्वारा उत्पादित मह, ललितपुर ठेचेमा रहेको सगुन ओइल एण्ड घी प्याकिङ इण्ड्रस्ट्रिज प्रालिद्वारा उत्पादित तोरीको तेल पनि न्यून गुणस्तर भएको प्रमाणित भएसँगै सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गरिएको जनाइएको छ । कार्यालयका अनुसार मनोहरा–१४ काठमाडौस्थित बद्रिनाथ घि प्याकिङ उद्योगबाट उत्पादित बेकरी सर्टेनिङ, अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स प्रालि वीरगञ्जबाट उत्पादित वनस्पती घ्यू, पतञ्जली आयुर्वेद प्रालि बाराद्वारा उत्पादित महविरुछ पनि मुद्दा दायर गरिएको छ । चापागाईंका अनुसार दाना पदार्थ, दुग्ध पदार्थ र होटल व्यवसायमा गरिएको अनुगमन र त्यहाँबाट सङ्कलित खाद्य सामग्रीको नमुनाका आधारमा जिल्ला बाहिरका छ उद्योगबाट उत्पादिन खाद्य सामग्री पनि मापदण्ड विपरीत रहेको पुष्टी भएको हो । यस्तै गत आवमा ५४ किसिमका खाद्य वस्तु न्यून गुणस्तर तथा दूषित भएको प्रमाणित भएपछि जफत गरी नष्ट गरिएको छ । चापागाईंले वार्षिक समीक्षा कार्यक्रममा उक्त अवधिमा १३ उद्योग अनुज्ञापत्र माग गरिएको थियो भने । अनुज्ञापत्र बिना सञ्चालन भएका केही उद्योगलाई कारबाही गरिएको बताए । कारबाही गरिएकामा काभ्रेपलाञ्चोकको बनेपा–८ को शुभारम्भ डेरी एण्ड एग्रोभेट रिसर्च प्रालि, बनेपा–६ स्थित तिमल्सिना प्याकेजिङ एण्ड फुड प्रडक्स प्रालि, बनेपा–८ को चण्डेश्वरी स्पेसल ताजा गुदपाक भण्डार तथा गाईभैँसीको मास दानामा प्रयोग गरिने सामग्री र उत्पादित दाना दूषित भएकोमा बनेपा–८ का जेएम दाना उद्योग र बिना लेवल खाद्य पदार्थ बिक्री गरेको अभियोगमा एभर फ्रेस बेकरीलगायत रहेका छन् । रासस
एकैदिन तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा एकैदिन ८ सयले बढेको हो । नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुनको मूल्य बढेर १ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य १ लाख १२ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । साथै, चाँदीको मूल्य २५ रुपैयाँले बढेर १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
भोजपुरको हतुवागढीमा दिमालुङ स्मारक उद्यान
भोजपुर । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भोजपुरको हतुवागढी गाउँपालिकामा दिमालुङ स्मारक उद्यान निर्माण गरिएको छ । किरात संस्कृतिको संरक्षण गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गाउँपालिकाको योजना र प्रदेश सरकारको लगानीमा यहाँ स्मारक उद्यान निर्माण गरिएको हो । किरात राईको आस्थाको केन्द्रको रुपमा रहेको वडा नं २ र ३ मा पर्ने सो स्थानमा कोशी प्रदेश सरकारको पर्यटन मन्त्रालय, भवन तथा सहरी विकास कार्यालय धनकुटाको दुई करोड आठ लाख र गाउँपालिकाको पाँच लाख रुपैयाँ उद्यान निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । आर्थिक वर्ष २०७४/७५ मा निर्माण थालिएको गरिएको पार्कलाई पर्यटकीय क्षेत्रका रुपमा स्थापित गर्ने लक्ष्य रहेको उनको भनाइ छ । ‘किरात संस्कृतिको संरक्षणसँगै यसलाई पर्यटनसँग जोडेका छौँ । यसबाट संस्कृतिको संरक्षणसँगै यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास छ’, अध्यक्ष राईले भने । यो ठाउँ गाउँपालिकाले निर्माण गरिरहेको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्गको अन्तिम विन्दुको रुपमा रहेको छ । यो स्थानमा पर्यटकलाई लक्षित गरेर किरात संस्कृतिसँग जोडिएका विभिन्न संरचना निर्माण गरिका छन् । यहाँ रहेको किरात राईको तिहास बोकेको विषेश खालको दिमालुङ ढुङ्गाको संरक्षण गर्दै उद्यान निर्माण गरिएको हो । राई भाषामा ‘दिमा’ भनेको बोजु र ‘लुङ’ भनेको ढुङ्गा हो । त्यसैले उद्यानको नाम दिमालुङ राखिएको हो । किरात समुदायले वर्षमा दुई पटक यस क्षेत्रमा साकेन्वा नाच्ने र पुज्ने गरेका छन् । दिमालुङ उद्यानको आवश्यक व्यवस्थापनका लागि प्रदेश सरकारको २५ लाख र गाउँपालिकाको सात लाखमा थप काम गर्ने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए । रासस
व्यवसायीले काठमाडौं महानगरबाट ३० प्रतिशतसम्म कर छुट पाउने
काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन आग्रह गरेको छ । काठमाडौं महानगर पालिकाको राजस्व विभागले सूचना जारी गर्दै कर बुझाउन तथा र छुट सुविधा लिनसमेत अनुरोध गरेको छ । महानगरले तीर्न/बुझाउनपर्ने सम्पत्ति कर/बहाल कर/व्यवसाय करमा दिएको छुट सुविधा लिन आग्रह गरेको छ । सम्पत्ति, व्यवसाय र बहाल कर नियमित तिर्नेलाई आउँदो पुस मसान्तसम्म तिरेमा चालु आर्थिक वर्षको कर रकमको १० प्रतिशत छुट हुने सूचनामा उल्लेख छ । यसैगरी महानगर क्षेत्रभित्र सञ्चालन भएका होटल, रिसोर्ट वा चलचित्र घरको नाममा घरजग्गा भई वा भाडामा लिएर होटल, रिसोर्ट वा चलचित्र घर निर्माण गरी सञ्चालन गरेको करदाताको हकमा बक्यौतासहितको सम्पत्ति कर सम्वत् २०८० पुस मसान्तभित्र चुक्ता गरेमा थप ३० प्रतिशत छुट सुविधा रहेको सूचनामार्फत जनाइएको छ । व्यावसायिकरुपमा गाडीको पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट हुने जनाइएको छ । ‘एक वडा, एक नमूना उद्यम’ कार्यक्रमअन्तर्गत सञ्चालित उद्योग वा व्यवसायको दर्ता भएको तीन वर्षसम्म निजले तीर्न बुझाउनुपर्ने व्यवसाय कर र दर्ता शुल्कको कर ९५ प्रतिशत छुटको व्यवस्था छ । चालु आर्थिक वर्ष २०८०/८१ करको दायरामा नआएका जुनसुकै उमेरका महिला, जनजाति, दलित, अपाङ्गता भएका र ३५ वर्षभन्दा कम उमेरका युवाका नाममा दर्ता भई सञ्चालनमा रहेका पाँच लाख रुपैयाँसम्म पुँजीगत लगानी भएका उद्योग, व्यवसाय, कम्पनी, संस्थाले २०८० पुस मसान्तभित्र कर दाखिला गरेमा जम्मा कर रकमको ४० प्रतिशत र नियमित कर दाखिला गर्ने करदाताका हकमा करको रकम २५ प्रतिशत छुट हुने जनाइएको छ तर यसमा काठमाडौं महानगरपालिकामा स्थायी बसोबास भएका व्यक्तिलाई करमा ५० प्रतिशत छुट हुने सूचनामा उल्लेख छ ।