नेको इन्स्योरेन्सले विराटनगरमा ६ कठ्ठा जग्गा किन्दै
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले प्रादेशिक कार्यालयका लागि भवन निर्माण गर्न जग्गा खरिद गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले कोशी प्रदेशमा प्रादेशिक कार्यालयको भवन निर्माणका लागि विराटनगरमा जग्गा खरिद गर्ने जनाएको छ । विराटनगर उपमहानगरपालिकाको कञ्चनबारीदेखि महेन्द्रचोकसम्म हाईबेको पूर्व र पश्चिमसम्म ३ कठ्ठादेखि ६ कठ्ठा जग्गा खरिद गर्ने कम्पनीले जनाएको छ । इच्छुक जग्गाधनीले साउन २५ गतेसम्म बोलपत्र पेश गर्नु पर्नेछ । बोलपत्रमा बिक्री गर्न चाहेको जग्गा प्रतिधु के कति दरमा बिक्री गर्ने स्पष्ट रुपमा उल्लेख गर्नु पर्नेछ । प्राप्त भएका बोलपत्र ७ दिनभित्र खुला गरिने कम्पनीले जनाएको छ ।
इप्पान र बीमक संघबीचको विवाद तत्काल साम्य, हाइड्रोको प्रिमियम दर तोक्न अध्ययन समिति
काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले पुनर्बीमा कम्पनीले हाइड्रोपावर कम्पनीको पुनर्बीमा गर्न नमान्दा समस्या आएको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र बीमक संघबीच भएको जलविद्युत आयोजनाको प्रिमियबारे छलफलमा अध्यक्ष क्षेत्रीले यस्तो बताएका हुन् । ऊर्जा क्षेत्रको विकास होस भन्ने चाहना आफ्नो पनि रहेको तर अहिलेको प्रिमियमा बीमा गर्दा लागत पनि नउठ्ने उनको भनाइ छ । ‘पुनर्बीमा कम्पनीले नेपाली हाइड्रोपावरको पुनर्बीमा गर्नै नमान्दा गाह्रो भएको हो, ऊर्जा क्षेत्रको विकास होस भन्ने चाहना मेरो पनि छ तर, अहिलेको प्रिमियमा बीमा गर्दा लागत पनि उठ्दैन,’ उनले भने । इप्पान अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रले गर्ने व्यवसायमा नाफा खोज्नुपर्ने तर, कति नाफा राख्ने भन्ने कुरामा स्पष्ट हुनु पर्ने बताए । उनका अनुसार बीमा कम्पनीले एकातिर प्रिमियम बढाउने अर्को तिर जोखिम क्षेत्र घटाउँदै जाने हो भने स्वीकार गर्न सकिँदैन । कार्कीले भने, ‘हामी बढी प्रिमियम तिर्न पनि तयार छौं तर, भनेको बेला दाबी भुक्तानी पाउने, धेरै भन्दा धेरै कुराको जोखिम बहन गर्ने पोलीसी ल्याउनुस ।’ इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगीले पुरानै प्रिमियमलाई प्रवद्र्धकले अस्विकार गरेको बेला नयाँ प्रिमियम दरलाई प्रवद्र्धकले कुनै पनि हालतमा नस्वीकार्ने बताए । इप्पान उपाध्यक्ष उत्तम भ्लोन लामाले ६० लाखको गाडी किनेर व्यवसाय गर्ने व्यवसायीले दुर्घटनामा मान्छे नै मारेपनि ढुक्कसँग बस्न सक्ने गरी सम्पूर्ण जोखिम बीमा कम्पनीले लिए जस्तै जलविद्युतमा पनि सबै जोखिम ट्रान्सफर गर्न चाहेको बताएका थिए । उनले अहिले बीमाको प्रिमियम बढाउन खोजेपनि दाबी परेपछि भुक्तानी पाउने न्युनतम वा अधिकतम समय स्पष्ट हुनु पर्ने बताए । यसअघि प्रतिहजारको २ रुपैयाँ मात्र रहेको जलविद्युत बीमाको प्रिमियम दर अहिले ७.५ रुपैयाँसम्म पुर्याउने प्रस्ताव बीमा प्राधिकरणमा पेश गरिएको नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक खड्काले बताए । एकैपटक २ रुपैयाँबाट साढे ७ रुपैयाँ प्रिमियम र्पुयाउँदा जलविद्युत प्रवद्र्धकलाई पनि मर्का पर्ने उनको भनाइ छ । उनका अनुसार हाललाई साढे ५ रुपैयाँसम्म कायम गरेर जान सकिन्छ । प्रिमियमको विश्वव्यापी ट्रेण्ड विश्लेषण गरेर दर तोक्न एक समिति बनाएर अघि बढ्नु पर्ने उनको धारणा छ । हाललाई प्रति हजारको २ रुपैयाँ प्रिमियम लिने गरी बीमा पोलीसी किन्न इप्पानसँग उनले आग्रह गरे । प्रवद्र्धकहरुले भने समितिले दिएको प्रतिवेदन अनुसार बढेपनि घटेपनि प्रिमियम तिर्न तयार हुनु पर्ने शर्त राखे । प्रिमयमको विवादले धेरै आयोजनाले बीमा नविकरण नगरेपछि बीमक संघका पदाधिकारीहरु इप्पानसँग छलफल गर्न बुधवार इप्पान सचिवालयमा पुगेका हुन् । बीमक संघसँग भएको छलफलमा बीमाको वैज्ञानिक प्रिमियम दर कायम गर्न दुवै पक्षबाट ३/३ जना र २ जना विज्ञ सदस्यसहितको समिति बनाउने सहमति भएको छ । उक्त समितिले सिफारिस गरेको प्रिमियम अहिलेको भन्दा घटि वा बढी भएपनि संघ र इप्पान दुवैले स्वीकार गर्ने बताएका छन् ।
सुन लुकाएर ल्याउने रेडी ट्रेडको गोदाममा छापा, एक जना पक्राउ
काठमाडौं । राजस्व अनुसन्धान विभागको टोलीले आज काठमाडौँको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदाममा छापा मारेको छ । गोदाममा छापा मारेर विभागले केही कार्टुन ‘ब्रेक शु’ बरामद गरेको विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए । गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट बरामद गरिएको झण्डै १०० किलो सुन त्यही रेडी ट्रेड प्रालिको नाममा आएको थियो । त्यसैले सुन लुकाएको आशङ्कामा विभागले बुधबार छापा मारेको हो । त्यहाँबाट विगतमा बरामद गरिएको जस्तै कार्टुनमा सामान बरामद गरिएको छ । यसैबीच विभागले सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा नुवाकोटका दिनेश तामाङलाई पनि आज पक्राउ गरेको महानिर्देशक ढुङ्गानाले जानकारी दिए । उनीमाथि तस्करहरूलाई गोदाम खोजिदिएको आरोप लागेको बताइएको छ । उनीसहित अहिलेसम्म विभागले १७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । अनुसन्धान र थप आरोपीको खोजतलास जारी रहेको विभागले जनाएको छ ।
पूर्वी नाकाबाट साढे ४ करोडको जडीबुटी निर्यात
काठमाडौं । नेपालको पहाडी तथा हिमाली जिल्लामा पाइने १४ प्रकारका जडीबुटी भारतमा निकासी हुने गरेको छ । जडीबुटीको निकासीका कारण स्थानीय उत्पादनले अन्तर्राष्ट्रिय बजारमा स्थान पाएको छ भने भारतसँगको व्यापार घाटापूर्तिमा योगदान पुगेको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार पूर्वीनाका भएर पछिल्लो एक वर्षमा ४ करोड ३० लाख ६ हजार मूल्य बराबरको २९० मेट्रिक टन जडीबुटी भारत निकासी भएको छ । पूर्वी नाकाबाट भारततर्फ निकासी हुने मालसामानमा जडीबुटी मुख्य वस्तु हो । यसबाहेक भेनियर काठ, मसाला बाली, औद्योगिक बालीलगायतका वस्तु निर्यात हुँदै आएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार आर्थिक वर्ष २०७९/०८० मा काँकडभिट्टा नाका भएर निर्यात भएको सबैभन्दा बढी मूल्यको जडीबुटी चिराइतो हो । त्यसपछि क्रमशः मजिठो र पदमचाल धेरै निर्यात भएको छ । उनका अनुसार विगत एक वर्षमा २ करोड ५४ लाख ४० हजार रुपैयाँ बराबरको १२७ मेट्रिक टन चिराइतो, १ करोड १३ लाख २३ हजार २ सय रुपैयाँ बराबरको ६७ मेट्रिक टन मजिठो र १३ लाख ६५ हजार ३ सय रुपैयाँ बराबरको १२ मेट्रिक टन पदमचाल भारत निर्यात भएको छ । चिराइतो नेपालको १ हजार २ सयदेखि ३ हजार मिटर उचाइको पहाडी भूभागमा पाइने बहुऔषधीय गुणयुक्त जडीबुटी हो । ‘स्वरसिया चिराता’ वैज्ञानिक नाम भएको चिराइतो महँगोमा बिक्री हुने जडीबुटी मानिन्छ । आयुर्वेदमा यसको औषधीय गुणको वर्णन गरिएको छ । औलोको ज्वरो, रगतमासी, महिनावारी गडबडी, कब्जियत, घाउ, खटिरा आदि रोगमा यसको सेवन औषधि हुने बताइएको छ । तेह्रथुम, सङ्खुवासभा, धनकुटा, भोजपुरलगायतका जिल्लामा यसको प्रचुर उत्पादन हुँदै आएको छ । मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, गोरखा, सल्यान, रोल्पा, डोल्पा, अछाम, डोटी, डडेलधुरा, बाजुरा आदि जिल्लामा पनि प्राकृतिकरूपमै चिराइतो उम्रने गरेको पाइन्छ । शक्तिबद्र्धक औषधिका रूपमा मानिएको पदमचाल नेपालको उच्च हिमाली भेगमा पाइने जडीबुटी हो । दोलखा, गोरखा, लमजुङ, म्याग्दी, रुकुम, पर्वत, कालीकोट, दैलेख, जाजरकोटलगायतका जिल्लामा पर्याप्त मात्रामा पाइने यसको व्यावसायिक खेतीसमेत हुन थालेको छ । मजिठो पनि नेपालको पहाडी भेगमा पाइने जडीबुटीजन्य वनस्पति हो । प्यारालाइसिस, अल्जाइमर्स, छालासम्बन्धीलगायतको रोगमा यसको प्रयोग हुने गरेको छ । पूर्वीनाका काँकडभिट्टाबाट आव २०७९/०८० मा १५ लाख २१ हजार रुपैयाँको १३ मेट्रिक टन अमला, ११ लाख २२ हजार रुपैयाँ बराबरको २८ मेट्रिक टन चुत्रोको बोक्रा, १ लाख ६६ हजार रुपैयाँ बराबरको १ हजार १ सय मेट्रिक टन कुरिलो, ८ लाख ८५ हजार रुपैयाँको २५ मेट्रिक टन धुलो धुप, ४० हजार रुपैयाँको नागबेली, ११ हजार रुपैयाँको सिस्नोको जरा, ९ लाख २४ हजार रुपैयाँको १४ मेट्रिक टन रिठ्ठा र १ लाख ९५ हजार रुपैयाँको १ हजार ५ सय मेट्रिक टन जटामसी भारत निर्यात भएको छ ।रासस
साल्ट ट्रेडिङको ९ रुपैयाँको नुनलाई २० रुपैयाँमा बेच्दै ब्यापारी
बझाङ । बुधबार बिहानै खप्तडछान्ना गाउँपालिकाका राजेश कार्की हातमा एक पाकेट नुन बोकेर हिँड्दै गरेको भेटिए । उनको हातमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सहुलियतमा वितरण गरेको भानु नुन थियो । बजारमा कार्कीलाई चिनजानका सर्वसाधारणले बिहानै नुन कता पाइयो भनेर प्रश्नसमेत गरिरहेका थिए । कार्कीको जवाफ थियो, “पसल खुला हुनुपर्छ, जता पनि पाइन्छ ।” कार्की सदरमुकाम चैनपुर बस्न थालेको पाँच वर्ष भइसक्यो । एअरपोर्टमा बस्दाबाहेक बीच बजारमा सरेपछि उनले हरेक पटक नुन विभिन्न पसलहरूबाट किन्दै आएका छन् । पसलबाट किनिएको नुन भने कताबाट आएको हो भन्ने उनलाई जानकारी छैन । “नुन सकिएपछि जुन पसल खुला हुन्छ, त्यो पसलमा जान्छु । नुन मागेपछि पाइहाल्छु”, उनी भन्छन् । सुर्माकी रमा बोहरालाई पनि चैनपुरमा नुन किन्न कहिल्यै समस्या परेन । बजारमा जानेबित्तिकै नुन पाइरहेको उनले सुनाइन् । “म आएको डेढ वर्ष हुन लागिसक्यो”, उनले भनिन्, “सबै मान्छे नुनै पाइँदैन भन्छन् । मलाई भने अहिलेसम्म कहिल्यै समस्या परेन । पैसा भए सुनसमेत पाउने ठाउँमा नुन पाइँदैन भन्नु अचम्मको कुरा हो ।” बजारमा आफूले चाहेमा जति पनि नुन किन्न सक्ने उनले बताइन् । “मैले गत साता मात्रै एउटा पसलबाट १५ पाकेट नुन किनेर गाउँ पठाएकी थिएँ ।” गाउँमा पशुलाई समेत पाकेटकै नुन खुवाउने गरेको उनले सुनाइन् । राजेश र रमा जस्तै पसलेका ग्राहक हुनुहुन्छ दुर्गाथली गाउँपालिका जुजीका हेमराज जोशी । जोशीलाई पनि बझाङमा नुन सङ्कट भएको भन्ने अचम्म लाग्छ । “हिजो मात्रै मैले मन्दिर नजिकैको पसलबाट एक पाकेट नुन ल्याएको हुँ । कसरी सङ्कट भयो ?” धेरै किन्नु नपर्ने तर, कहिलेकाहीँ एक÷दुई पाकेट जता पनि पाइने हुँदा समस्या नपरेको उनले बर्ता । जोशीले भने, “पैसा भए सुन त सजिलै पाउँछ भने नुन किन नपाउनु ” बझाङमा नुन विक्रीका लागि आधिकारिक विक्रेता भनेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड हो । साल्ट ट्रेडिङको डिपोबाहेक कसैले पनि नुन बेच्न पाउँदैन । तर, राजेश, रमा, हेमराज जस्तै सयौँ ग्राहक भने साल्ट ट्रेडिङको नुन बेच्ने पसलेबाटै कारोबार गरिरहेका छन् । साल्ट ट्रेडिङ कर्पोरेशनको डिपोबाट प्रति पाकेट ९ रुपैयाँमा किनेर व्यापारीले १५ देखि २० रुपैयाँमा बेच्दै आएका छन् । व्यापारीले साल्ट ट्रेडिङकै नुन बिक्री गरिरहेको जानकारी पाएपछि ग्राहक बनेर जाँदा एक पसलले १५ रुपैयाँमा एक पाकेट ‘भानु” नुन थमाए । साल्ट ट्रेडिङको नुन किन बेचेको भन्ने प्रश्नमा भने उनी नाजवाफ भए । उनले आत्तिँदै भने, “ग्राहक नुनका लागि आउनुहुन्छ । उहाँहरूलाई समस्या नहोस् भनेर आफूलाई खानका लागि ल्याएको केही पाकेट नुन पसलमा राखेको हुँ ।” उनले आफूले मात्रै नभई बजारमा धेरैले बिक्री गर्ने गरेको बताए । चैनपुरका केही पसलहरूमा निर्धक्कसँग साल्ट ट्रेडिङको नुन बिक्री भइरहेको छ । डिपोबाट कट्टाका हिसाबले नुन ल्याउने र महँगोमा व्यापारीले विक्री गर्ने गरेको खप्तडछान्ना–६ का महेश थापा बताउँछन् । “व्यापारीले बर्खा नलाग्दै क्विन्टलका हिसाबले डिपोबाट नुन उठाए । अहिले डिपोमा नुन घट्यो, किन्नेको चाप बढ्यो । यता व्यापारीहरू लुकिछुपी बेच्न थाले ।” यसरी अवैधानिकरूपमा किनबेच गर्नेलाई सरोकारवालाले अनुगमन गरेर कारबाही गर्नुपर्ने उनले बताए । डिपोमा ५ केजी पाउन घण्टौँ लाइन मष्टा गाउँपालिका–१ की सरूदेवी विक आइतबार नुन किन्न डिपोको लाइनमा थिइन् । बिहानैदेखि लाइनमा बसेकी विकले तीन घण्टापछि पाँच पाकेट मात्रै नुन पाइन् । “सहुलियतको नुन लिन बिहानै देउरानी, जेठानी चैनपुर आयौँ”, उनले भनिन्, “यता पाँच केजी नुन मात्रै पाइयो । अब यो कतिसम्म चल्छ होला र ?” पाँच पाकेट नुनकै लागि धेरै खर्च गर्नुपरेको उनले बताइन् । गाउँमा वर्षायामका बेला नुनको सङ्कट नहोस् भनेर डिपोमा आएको मष्टाकै सुमी विकले बताइन् । “एक दुई पोका नुन त थियो । तर, नुनको सङ्कट भएको भनेर सुन्यौँ । बर्खामा चैनपुर आइरहन सकिँदैन । त्यसैले मौसम पनि ठीकै, आइतबार पानी परेको हुँदा नुन लिन आएकी हुँ । यता एक ज्यानको पाँच पोका मात्रै पाइँदो रहेछ”, सुमीले भनिन् । नुन वितरणमा दुरूपयोग हुने गरेको गुनासो आएपछि गत महिनायता चैनपुर डिपोले आइतबार मात्रै बिक्री वितरण गर्दै आएको छ । डिपोले जनसङ्ख्याको तुलना गरेर औसतमा एक परिवारलाई पाँच केजी नुन वितरण गर्दै आएको हो । “नुन लिन आउने सबैलाई पु¥याउनका लागि एक जनालाई पाँच केजी दिएका हौँ”, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड डिपो कार्यालय प्रमुख नरबहादुर भाटले भने, “ग्राहकले मागेअनुसारको नुन दिएमा अरूलाई नपुग्ने देखियो । त्यसैले प्रत्येकलाई पाँच केजी दिने निर्णय गरेका हौँ ।” अब यो सङ्कट यसै साताबाट टर्ने उनले बताए । भाटका अनुसार नुन थपका लागि माग गरिएको र नयाँ लटको नुन पनि आउने बेला भएको हुँदा दोस्रो साताबाटै नुन वितरण सहज हुने छ । चैनपुर डिपोमा सरकारले गएको आर्थिक वर्षमा तीन हजार पाँच सय क्विन्टल नुन उपलब्ध गराएको थियो । यसपटक थलारा र बुंगलसहितका डिपो थपिएपछि चालु आर्थिक वर्षका लागि जिल्लाभर १४ हजार दुई सय क्विन्टल नुनका लागि सिफारिस गरेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । “चैतको अन्तिमतिरै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रदेश कार्यालय धनगढीमा आयोडिनयुक्त नुनको माग गरिसकेका छौँ”, उनले भने । प्रजिअ पाण्डेयका अनुसार चालु आवका लागि चैनपुर डिपोमा सात हजार, बागथला पाँच हजार, तलकोट एक हजार पाँच सय र साइपाल बिक्री केन्द्रका लागि सात सय क्विन्टल आवश्यक पर्ने प्रारम्भिक अनुमानअनुसार माग गरिएको हो । “अहिले पनि नुनको सङ्कट भने होइन”, उनले भने, “आवश्यकताअनुसार नुन वितरण भइरहेकै छ । सङ्कट भएको हल्ला मात्रै हो ।” केही कम हुन सक्छ कि भनेर प्रतिव्यक्ति पाँच पाकेट वितरण गरिरहेको उनले बताए । “अब नयाँ सिजन पनि सुरू भइसक्यो । सायद अर्को साता नै प्रतिव्यक्ति १० पाकेट वितरण गर्ने तयारी गरेका छौँ”, उनले भने । बजारमा नुन बिक्री भइरहेको विषयमा भने अब लगत्तै बजार अनुगमन गरिने उनले बताए । “यो गुनासो सुनिरहेका छौँ”, उनले भने, “बजारमा कसैले नुन बेचेको खबर हामीलाई गरे तत्काल कारबाही हुन्थ्यो । धेरैलाई खबर गर्न आग्रह पनि गरेका छौँ । आधिकारिक जानकारी कसैले दिएको छैन । अब कसैलाई ग्राहक बनाएर पठाउने र गडबड भए कडा कारबाही गरिनेछ ।”रासस
रसुवागढी नाकामा बढ्यो चहलपहल
काठमाडौं । चीनसित जोडिएको उत्तरी नाका रसुवागढीमा पछिल्लो समय चहलपहल बढ्दै गएको छ । कोरोना महामारीपश्चात् आवतजावत बन्द भएको सो नाका गत चैत १८ गतेदेखि पुनःसञ्चालनमा आएपछि व्यापार तथा पर्यटकीय गतिविधि बढेको हो । सो नाका भएर नेपाल घुम्नका लागि चिनियाँ पर्यटकको आगमन सुरू भएको छ । नेपाल भित्रने चिनियाँ पर्यटकको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । नाका पुनःसञ्चालन पछि पाँच÷सात जनादेखि सुरू भएको पर्यटक आवागमन पछिल्लो समय दैनिक सरदरमा २५÷३० जना पुगेको छ । अध्यागमन कार्यालय टिमुरेका कार्यालय प्रमुख चूडामणि अर्यालका अनुसार चैत १८ गतेदेखि असार मसान्तसम्म दुई हजार आठ सय ३७ चिनियाँ पर्यटकले रसुवागढी मितेरीपुलबाट ओहरदोहर गरिसकेका र साउन महिनामा पनि आफ्ना निजी सवारीसाधनमार्फत चिनियाँ पर्यटक नेपाल भ्रमणमा आउनेक्रम जारी रहेको छ । तीन महिना १३ दिनको अवधिमा रसुवागढी नाकाबाट ४६ देशका नागरिकले नेपाल तथा चीनको भूभागमा ओहरदोहर गरिसकेको यसरी ओहरदोहर गर्नेको कूल सङ्ख्या पाँच हजार दुई सय ३६ महिलासमेत १० हजार छ सय ७७ जना रहेको बताइएको छ । कोरोना अवधिभर सुनसान रहेको रसुवागढी क्षेत्रबाट चिनियाँ पर्यटक नेपाल भित्रने र अन्यदेशका पर्यटक चीनतर्फ प्रस्थान गर्न थालेपछि त्यस क्षेत्रको रौनकता निकै बढेको छ । पर्यटकको आगमनले सीमा क्षेत्रका बासिन्दामा भने उत्साह बढ्दै गएको छ । रसुवागढी नाकाबाट रसुवाका बासिन्दा केरूङतर्फ जाने र चिनियाँ नागरिक पनि टिमुरे तथा स्याफ्रुबेँसी घुम्न आउने गरेका कारण दुई देशको सीमा क्षेत्रमा बसोबास गर्ने छिमेकी छिमेकी बीचको सम्बन्धसमेत थप प्रगाढ बन्दै गएको स्थानीय बासिन्दाले जनाएका छन् । सीमा क्षेत्रका बासिन्दाका लागि रसुवा–केरूङ ओहरदोहर गर्न प्रदान गरेको सीमा परिचयपत्रको विवरणसमेत सार्वजनिक भएको छ । गैररसुवालीलाई सीमा क्षेत्रका बासिन्दासरहको परिचयपत्र दिएको भनी स्थानीयबाट चर्को विरोध आएपछि वास्तविकतामाथि प्रष्ट पार्दै अध्यागमन कार्यालय टिमुरेले एक सय ५० जनालाई परिचयपत्र प्रदान भएको राससलाई पहिलो विवरण उपलब्ध गराएको हो । बसाइँ सरी आएको कागजाँचका आधारमा गत चैत १८ गतेदेखि असारको पहिलो हप्तासम्म ४१ वटा नयाँ परिचयपत्र जारी भएको, ३३ जनालाई प्रतिलिपि प्रदान गर्नुका साथै ७६ वटा नवीकरण भएको अध्यागमन कार्यालयले जनाएको छ । विसं २०७२ पश्चात् भेटिएको तथ्याङ्कअनुसार हालसम्म नयाँ जारी, प्रतिलिपि एवं नवीकरण गरिएकोसमेत समग्रमा तीन हजार तीन सय ३३ जनाले सीमा परिचयपत्रको सुविधा लिएको उक्त कार्यालयले जनाएको छ । भूकम्पकाले रसुवागढीमा रहेको अध्यागन कार्यालय पूरै दबिएका कारण त्यसभन्दा अगाडिका अभिलेख नष्ट भइसकेको जनाइएको छ । रसुवागढी क्षेत्रमा सवारीसाधनको चाप र पर्यटकको आगमन बढेसँगै सुरक्षा कार्यमा थप मजबुत पारिएको सुरक्षाकर्मीले बताएका छन् ।रासस
२०६ रुपैयाँमा माण्डु हाईड्रोको आईपीओ खरिद गर्ने आज अन्तिम मौका, स्थानीयको समय थपियो
काठमाडौं । माण्डु हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार २८ गतेदेखि बिक्री खुला गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज साउन ११ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई भने आवेदन दिने समय भने थप गरिएको छ । स्थानीय बासिन्दाहरुले अब कम्पनीको आईपीओमा साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशत अर्थात् १६ लाख ३६ हजार ३७७ कित्ता सेयर अंकित मूल्य १ सय रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा बिक्री गरेको हो । कम्पनीले जारी पूँजीको मध्ये २ प्रतिशत अर्थात् २ लाख ७२ हजार ७३० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र ललितपुरको बागमति गाउँपालिका १ र २, मकवानपुरको भिमफेदी गाउँपालिका ५, ६, ७ र ८ र इन्द्रासरोवर गाउँपालिकाको ३ स्थानीय बासिन्दाहरुलाई छुट्याईएको छ । साथै, सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ३६ हजार ३६४ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई विदेशमा रोजगार गरीरहेका नेपालीहरुलाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, प्राइम बैंकको भीमफेदी, हेटौडा शाखा, कुमारी बैंकको बागमती शाखा, प्रभु बैंकको हेटौडा शाखा र आवश्यकता अनुसार अन्य संकलन केन्द्र पनि थप गर्न सकिने कम्पनीले जनाएको छ । साथै, सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेका मेरो सेयर मार्फत् आवेदन दिन सकिनेछ । इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको सक्षम रहेको कम्पनीको रुपमा जनाउँदछ ।
अप्पर लोहोरे खोला हाइड्रोले साउन १८ गतेदेखि आईपीओ बिक्री गर्ने, कति कित्ता भर्ने ?
काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरले साउन १८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्रीपश्चात् सर्वसाधारण लगानीकर्तालाई बिक्री गर्ने भएको हो । कम्पनीले जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये १ लाख ९८ हजार ८२४ कित्ता विदेशमा रोजगार गरिरहेका नेपालीलाई निष्काशन गरी बाँडफाँट गरिसकेको छ । अब ३९ हजार ७६५ कित्ता सेयरसेमा कर्मचारी, ९९ हजार ४१२ कित्ता सेयरमा सामूहिक लगानी कोष र स्थानीय बासिन्दाले आवेदन नदिएको सेयरसहित १९ लाख ५३ हजार २७९ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले छिटोमा साउन २२ गते र ढिलोमा साउन ३२ गतेसम्म आवेदन दिन सक्नेछन् । केयर रटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको सेयरमा सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् लगानीकर्ताले आवेदन दिन सक्ने छन् ।