विकासन्युज

पुल नबन्दा तरकारी बारीमै कुहियो

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाट पुल बाढीले बगाएपछि आवतजावतका लागि सास्ती भएको छ । पुल बाढीले बगाएपछि आवतजावत गर्न जोखिम पूर्ण यात्रा गर्न स्थानीय बाध्य छन् । बाढीले क्षतिग्रस्त बनाएको छ वर्ष बितिसक्दा पनि पुल पुनःनिर्माण नहुँदा वर्षौंदेखि सास्ती बेहोर्दै आएको बारबर्दिया नगरपालिका–११ का रामगोपाल थारुले बताए । ‘तरकारी फल्ने र बिक्री हुने यो मुख्य याम हो । बजारसम्म तरकारी पु¥याउन सकिएको छैन’, उनले भने । पुल नहुँदा तरकारी खेतबारीमै कुहिन थालेको छ । अधिकांश गाउँमा बारीमा तरकारी लटरम्म फलेको छ । बिक्री हुने मुख्य गुलरीया हाटबजार हो । जाने बाटो नहुँदा बिक्री गर्न नसकेको बारबर्दिया–४ का फक्लबहादुर सत्गौलाले बताए । १६ करोड ६८ लाख रुपैयाँमा निर्मित जब्दीघाट पुल २०७४ साउनको अन्तिम साता बबई नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएको थियो । जब्दीघाट पुल हस्तान्तरण नहुँदै भाँसिएको थियो । पछिल्लो समय उक्त पुल निर्माण गर्ने कम्पनीसँग क्षतिपूर्ति असुल गरी जब्दीघाटमा नयाँ पुल निर्माणका लागि बर्दिया क्षेत्र नम्बर १ का सङ्घीय सांसद सञ्जयकुमार गौतमले पहल गर्दैआएका छन् । नयाँ पुल निर्माणको माग राख्दै उनी भत्किएको पुलमुनि गत वैशाख ३० देखि जेठ ६ गतेसम्म आमरण अनसनमा बसेका थिए । सांसद गौतम र भौतिक तथा पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाबीच एक महिनाभित्र पुल निर्माण गर्ने सम्झौता भएपछि अनशन तोडिएको थियो । रासस

के हो कर्जाको जोखिम भार ? कसलाई के असर गर्छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न प्रकृतिका कर्जाहरूमा जोखिम भारको पुनरावलोकन गर्ने भएको छ । चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा सेयर धितो कर्जा, रियल इस्टेट कर्जा तथा हायर पर्चेज कर्जाको जोखिम भारसम्बन्धी व्यवस्थालाई पुनरावलोकन गर्ने राष्ट्र बैंकले जनाएको छ । यस्ता कर्जामा कति प्रतिशत जोखिम भार पुनरावलोकन गर्ने भनेर मौद्रिक नीतिमा खुलाइएको छैन । यसलाई स्पष्ट गर्न राष्ट्र बैंकले सर्कुलर जारी गर्ने भनेको छ । हाललाई ५० लाख रुपैयाँसम्मको सेयर कर्जामा जोखिम भार एक सय प्रतिशत कायम गरिने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । यसअघि २५ लाखसम्मको सेयर कर्जामा एक सय प्रतिशत र त्यसभन्दा माथिको कर्जामा १५० प्रतिशत जोखिम भार थियो । यस्तै, नेपाल सरकारको स्वीकृति लिएर आवासीय घर निर्माणका लागि प्रदान गरिने कर्जाको हकमा एक सय प्रतिशत जोखिम भार कायम गरिएको अधिकारीले बताएका छन् । यसअघि यस्तो कर्जामा जोखिम भार १५० प्रतिशत थियो । साथै, हायर पर्चेज कर्जा अन्तर्गत साना किसिमको अटो लोनमा राखिएको १५० प्रतिशत जोखिम भार घटाएर एक सय प्रतिशत मात्रै कायम गर्न लागेको गभर्नर अधिकारीले बताएका छन् । बैंकहरुले सर्वसाधारणबाट संकलन गरेको निक्षेप रकमबाट नै ऋणीलाई कर्जा दिन्छन् । बैंकहरुले कर्जा प्रवाह गर्दा स्वपूँजी र निक्षेपबीचको रेसियो निकाल्छन् । बैंकसँग भएको स्वपूँजीले कतिसम्म लगानी गर्न सक्छ भनेर जोखिम वर्गीकरण गरिन्छ । जसलाई जोखिम भार भनिन्छ । यदि जोखिम भार बढी भयो भने बैंकहरु कर्जा प्रवाह गर्न असक्षम हुँदै जान्छन् भने जोखिम भार कम हुँदा कर्जा दिने क्षमता बढ्दै जान्छ । राष्ट्र बैंकले पूँजी पर्याप्तता अनुपात (पूँजी कोष) ११ प्रतिशत र प्राथमिक पूँजी कोष ८ दशमलव ५० प्रतिशत राख्नुपर्ने व्यवस्था गरेको छ । पूर्व बैंकर पर्शुराम कुँवर कर्जा रकम जति धेरै हुन्छ जोखिम भार पनि त्यति नै बढी हुने बताउँछन् । राष्ट्र बैंकले साना कर्जामा जोखिम भार घटाएको हुँदा बैंकहरुलाई कर्जा वितरणमा सहज हुने र लगानी बढाउन सक्ने कुँवर बताउँछन् । ‘अर्बाैंको कर्जा लिएर दोस्रो बजारमा सेयर खरिद गर्छन् भने उच्च जोखिम हुन्छ । त्यसमा जोखिम भार पनि बढी हुने भयो’, उनले भने, ‘अब बैंकहरुको जोखिम भार कम भएपछि फाइदा नै हुन्छ ।’ उदाहरणका लागि एक करोड कर्जा प्रवाह गर्दा एक सय प्रतिशत जोखिम भार लागू गर्दा जोखिम भारित सम्पत्ति (क्यापिटल) एक सय प्रतिशत नै छु्ट्याउनु पर्छ । बैंकले एक करोड रुपैयाँको कर्जामा एक सय प्रतिशत जोखिम भार लगाउँदा ११ लाख रुपैयाँ स्वपूँजी (क्यापिटल) छुट्याउनु पर्छ । किनभने जोखिम भारित सम्पत्तिमा ११ प्रतिशत क्यापिटल छुट्याउनु पर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ । यदि राष्ट्र बैंकले जोखिम भार ६० प्रतिशत तोकेको हुन्थ्यो भने एक करोड रुपैयाँको कर्जामा ११ प्रतिशत पूँजी पर्याप्तता अनुपात (पूँजी कोष)का दरले हुने ११ लाख स्वपुँजीको ६० प्रतिशत जोखिम भार अर्थात ६ लाख ६० हजार रुपैयाँ मात्रै जोखिम भारित सम्पत्ति (क्यापिटल) छुट्याए पुग्थ्यो । अहिले एक सय प्रतिशत जोखिम भार छुट्टयाउनुपर्ने भएकोले एक करोडको ऋणमा ११ लाख नै जोखिम भारित सम्पत्ति (क्यापिटल) छुट्याउनुपर्छ । यसरी कर्जामा जोखिम भार बढी हुँदा बैंकले ब्याज पनि बढाउँदै जान्छ । जोखिम भार कम राख्नुपर्दा क्यापिटल फ्रि हुने भएकाले ब्याज पनि घट्दै जान्छ । अन्ततः बैंक र ऋणी दुवैलाई सहज हुन्छ । पूर्व बैंकर अनलराज भट्टराईकाअनुसार बैंकले कर्जा प्रवाह गर्दा निक्षेप र स्वपुँजी (क्यापिटल) जोडेर ऋण दिन्छन् । कर्जा प्रवाह गर्दा जोखिम भार गणना गर्नु पर्ने हुन्छ । यसअघिको १५० प्रतिशतको तुलनामा शतप्रतिशत मात्रै जोखिम भार कायम गर्दा बैंकले पहिलेको भन्दा बढी कर्जा लगानी गर्न पाउने भए । जोखिम भार बढी भयो भने क्यापिटल बढी खर्च हुने भएकाले बैंकको कर्जा क्षमता घट्दै जान्छ । एलसी, ग्यारेन्टी लगायत अन्य केही कर्जामा पनि धेरै जोखिम भार राखेको हुँदा बैंकको कर्जा क्षमता कम र ब्याजदर बढी हुन्छ । उनकाअनुसार राष्ट्र बैंकले जुन क्षेत्रमा जोखिम भार बढाउँछ सो क्षेत्रमा कर्जा विस्तारलाई निरुत्साहित गर्न चाहेको बुझ्नुपर्छ । यदि जोखिम भार घटाउँदै गयो भने कर्जा विस्तार गराएर चलायमान गर्न खोजेको भनेर बुझ्नुपर्ने पूर्व बैंकर भट्टराई बताउँछन् । हाललाई बैंकको क्यापिटल १२ प्रतिशत छ । यदि एक सय रुपैयाँको सामान किन्न कर्जा माग भयो भने बैंकले १२ रुपैयाँ क्यापिटल र ८८ रुपैयाँ निक्षेप प्रयोगगर्नु पर्छ । त्यस्तै, एक सय प्रतिशत जोखिम भार लागु भएको अवस्थामा एक सय रुपैयाँ कर्जाको लागि बैंकले १२ प्रतिशत अर्थात १२ रुपैयाँ नै क्यापिटल छुट्याउनु पर्छ । १५० प्रतिशत जोखिम भार लागू गरेको अवस्थामा भने १२ रुपैयाँको १५० प्रतिशत अर्थात १८ रुपैयाँ क्यापिटल बैंकले छुट्याउनु र ८२ रूपैयाँ निक्षपबाट प्रयोग गर्नुपर्छ । जोखिम भार बढी भएको बेला बैंकले अटो कर्जाभन्दा अन्य कर्जामा जोड दिने गरेको भट्टराईले बताए । किनभने अन्य क्षेत्रमा जोखिम भार कम हुँदा बैंकको क्यापिटल कम खर्च हुन्छ । ‘जति बैंकमा फ्रेस क्यापिटल भयो त्यति उसले कर्जा दिन पाउँछ । अहिले सबै बैंकको क्यापिटल टाइट हुनुको कारण भनेको जोखिम भार बढी भएर हो,’ उनले भने । सेयर कर्जामा पनि सोही व्यवस्था लागू हुने पूर्व बैंकर भट्टराईले बताए । उनका अनुसार ५० लाखसम्मको कर्जामा १ सय प्रतिशत जोखिम भार कायम गर्दा बैंकको कर्जा दिने क्षमता बढ्छ । यसअघि २५ लाखभन्दा माथिको कर्जामा १७ रुपैयाँ क्यापिटल राख्नु पथ्र्याे भने अब ११ रुपैयाँ मात्रै क्यापिटल राख्न पाउने छन् । साथै, जोखिम भार घट्दा ऋण लिने ब्यक्तिलाई समेत फाइदा हुने उनको भनाइ छ । किनभने क्यापिटल धेरै खाँदा बैंकले ब्याज पनि बढाउँथ्यो । अब जोखिम भार घटेपछि क्यापिटल पनि कमै भए पुग्छ । त्यसो हुँदा ब्याज पनि घट्न सहयोग मिल्ने उनी बताउँछन् । ‘अब ऋण लगानी गर्दा क्यापिटल धेरै नपरेपछि ५० लाख रुपैयाँ लिन समस्या छैन । बैंकले ५० लाखसम्म सहजरूपमा कर्जा दिन्छन् । यसले बैंक र लगानीकर्ता दुवैलाई फाइदा हुन्छ,’ भट्टराईले भने, ‘पहिला ३५ लाखसम्म लगानी गरेको लगानीकर्ताले मात्रै १ सय प्रतिशत जोखिम भारमा सेयर कर्जा लिन पाउँथे । अब कर्जा लिन सहज भयो ।’ यस्तै, अटो लोनमा जोखिम भार १ सय प्रतिशतमा झार्दा ५० लाखसम्मको गाडी किन्न सहजरुपमा कर्जा पाउने उनले बताए । तर, २ करोडको गाडी किन्न कर्जा माग गर्याे भने जोखिम भार बढ्ने भएकाले ब्याज पनि बढ्दै जाने उनले बताए । मौद्रिक नीतिले जोखिम भार घटाउने भनेपछि गाडीहरुको फाइनान्स पनि सजिलै हुने हुँदा बिक्री बढ्ने र बजार चलायमान हुने उनले बताए ।

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

ढोरपाटन । केही दिनदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत निसीखोला–रुकुमकोट खण्ड अवरुद्ध बनेको हो । लोकमार्गको निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धरमशाला तथा कालापैरा–२ को खाडुखोलामा बाढी आउँदा लोकमार्ग अवरुद्ध भएको हो । गए रातीदेखि अवरुद्ध भएको लोकमार्ग अहिलेसम्म खुलाउन नसकिएको निसीखोला–४ का वडाध्यक्ष टीकानिधी पौडेलले जानकारी दिए । वर्षा हुने बित्तिकै लेदो झर्ने र सडकमा थुप्रिँदा यातायात अवरुद्ध हुने गरेको पौडेलले बताए । सडक अवरुद्ध हुँदा रुकुम पूर्वदेखि काठामाडौँ, पोखरालगायत ठाउँ जाने यातायातका साधान कालापैरामा ठप्प छन् । बुर्तिबाङदेखि निसी, भल्कोट हुँदै पूर्वी रुकुम र रोल्पा पुग्ने साना ताथा ठूला यातायातका साधान कानाबगरमा रोकिएका अध्यक्ष पौडेलले बताए । निरन्तर वर्षाका कारण लोकमार्गको विभिन्न ठाउँमा पहिरो जाने र रुख ढल्दा ठाउँ–ठाउँमा सडक अवरुद्ध भइरहेको छ । खाडु र कालापैरामा माथिदेखि भलसहितको ठूलो बाढी आँदा लोकमार्ग पूरै ढाकिएको छ । गाडी ठप्प छन् । वर्षाका कारण निसीखोलाका सबै ग्रामीण सडक अवरुद्ध छन् । ग्रामीण सडकदेखि झरेको पहिराले मुख्य सडकको धेरै ठाउँमा क्षति पुर्याएको छ ।

शिक्षक निमावि तहका लागि लाइसेन्सको परीक्षा खुल्यो

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको शिक्षकको लागि अध्यापन अनुमति पत्र (लाइसेन्स) प्राप्त गर्न परीक्षाको लागि आवदेन खुला गरेको छ । साउन १० गतेको निर्णयअनुसार आज बिहीबारदेखि आवदेन गर्न सकिने गरी आयोगले आवेदन खुला गरेको हो । लाइसन्स प्राप्त गर्न योग्यता पुगेका इच्छुक व्यक्तिहरुले अनलाईन प्रणालीबाट नै आवेदन गर्न सक्ने आयोगले सूचनामा उल्लेख गरेको छ ।

टोखा नगरपालिकाले हटायो सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना

काठमाडौं। काठमाडौँको टोखा नगरपालिकाले नगरभित्र सार्वजनिक जग्गा मिचेर बनाएका अवैध संरचना हटाएको छ । नगरभित्रको सार्वजनिक जग्गा अवैधरुपमा कब्जा गरेर बनाएका संरचना डोजर लगाएर हटाइएको हो । नगरप्रमुख प्रकाश अधिकारीका अनुसार टोखा–८ दुप्चेश्वर टोलको विभिन्न ठाउँमा बनाइएका संरचना हटाइएको छ । लामो समयदेखि नगरपालिकाभित्रको सार्वजनिक जग्गा व्यक्तिले भोगचलन गर्दै आएपछि बाध्य भएर हटाउन थालेको उनले बताए । ‘संरचना भत्काउन पटक पटक सूचना जारी तथा प्रत्यक्ष भेटेर अनुरोध गरे पनि खाली नगरेपछि हटाएका हौँ’, नगरप्रमुख अधिकारीले भने । नगरभित्रका सम्पूर्ण सार्वजनिक जग्गा नगरपालिकाको संरक्षणमा हुनुपर्ने र कुनै व्यक्तिले पनि उपभोग गर्न नमिल्ने उनको भनाइ छ ।  

नागरिक स्टक डिलरले बैंकमा १८ करोड लगानी गर्दै

काठमाण्डौ । नागरिक स्टक डिलर कम्पनीले बैंकहरुमा १८ करोड रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीले राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’ र ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आफू लिन चाहेको रकम, प्रदान गर्ने ब्याजदर र ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरेर प्रस्ताव पेस गर्न कम्पनीले आग्रह गरेको छ । कम्पनीका अनुसार ७ दिन भित्र आवेदन पेश गर्नु पर्नेछ ।

मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ३७ शाखा कार्यालय बन्द हुँदै

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३७ शाखा कार्यालयहरू बन्द गर्ने भएको छ । साविकको नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल मर्जपश्चात् ३७ वटा शाखा कार्यालय बन्द हुने बैंकले जनाएको छ । बैंकले एउटै स्थानमा रहेका दुई शाखा गाभेर एउटा शाखाबाट मात्रै कारोबार गर्ने बताएको छ । बैंकले साविकको मेगा बैंकका ३३ शाखा बन्द गरी इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालय भएको ठाउँबाट कारोबार गर्नेछ । त्यस्तै, साविकको इन्भेष्टमेन्ट बैंकको ४ शाखा बन्द गरी साविकको मेगा बैंकको शाखाबाट कारोबार गर्ने जनाएको छ । शाखा समायोजन तथा स्थानान्तरण भएका १६ वटा शाखा कार्यालयबाट साउन १३ गते र २१ वटाबाट साउन २० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने बैंकले जनाएको छ । दुवै बैंकले गत पुस २७ गतेदेखि एकीकृत कारोबार सुरु गरी नेपाल इन्भेटमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार गरेका हुन् ।

बैंकमा लुटपाट गर्ने एक जना पक्राउ

काठमाडौं । महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार गत जेठ १६ गते १५ लाख रुपैयाँ लुटेको घटनामा साफी संलग्न थिए । चार÷पाँच जनाको समूहमा आएको नकाबधारी समूहले बैंकका कर्मचारी तथा सेवाग्राहीसमेतलाई कब्जामा लिएर सो रकम लुटेका थिए । डाँका गरी नम्बर नखुलेको मोटरसाइकलमा उनीहरु फरार भएका थिए । साफीलाई प्रहरीले बुधबार साँझ महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित नेपाल भारत सीमा नजिकबाट पक्राउ गरेको हो । लुटपाटमा संलग्न अन्यको पहिचान भइसकेको प्रहरीले जनाएको छ । चाँडै नै उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिने प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।