विकासन्युज

त्रिभुवन आर्मी क्लबको फुटबल टोली भारत प्रस्थान

काठमाडौं । भारतको गुवाहाटीमा आयोजित दुरान्द कप फुटबल प्रतियोगितामा भाग लिन त्रिभुवन आर्मी क्लबको ४२ सदस्सीय खेलाडी टोली त्यसतर्फ प्रस्थान गरेको छ । पूर्वराष्ट्रिय खेलाडी एवं नेपाली सेनाका अवकाश प्राप्त प्रमुख सेनानी वसन्तराज गुरुङको नेतृत्वको टोली भारतीय वायु सेनाको विमानमार्फत आज त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भारतीय सेनाद्वारा यही साउन ८ सुरु भई १७ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुने टोलीलाई बलाधिकृत रथी सरोजप्रताप राणाले शुक्रबार बिदाइ गर्नुभएको थियो । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले भारतका दिल्ली एफसी, चेन्नाई एफसी र हैदरवाद एफसीजस्ता ए बरियताका फुटबल टीमसँग प्रतिस्पर्धा गर्नेछ । त्रिभुवन आर्मी क्लब मुलुकको खेलकुद क्षेत्रको च्याम्पियन टिम हो । प्रतिभाशाली खेलाडी पहिचान गरी देशको खेलकुद क्षेत्रको विकासका लागि क्लबले महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । प्रतियोगितामा भाग लिने टोलीलाई सेनाले उच्च अनुशासन कायम गरी उत्कृष्ट खेल प्रदर्शन गर्न निर्देशन दिएको छ । प्रतियोगितामा प्राप्त अनुभवबाट आगामी दिनमा सञ्चालन हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता तयारीका लागि मद्दत पुग्नेछ । यस्ता प्रतियोगिताले दुई देशबीचको सम्बन्ध प्रगाढ तुल्याउन तथा दुवै सङ्गठनबीच मित्रता र सहकार्यलाई नयाँ उचाइमा पु¥याउन योगदान पुग्ने सेनाले विश्वास लिएको छ ।

जुलाई २०२३ मानव इतिहासकै तातो महिना, संयुक्त राष्ट्र संघ प्रमुखले भने : बोइलिङ युग शुरु भयो

काठमाडौं । ग्लोबल क्लाइमेट अथॉरिटीजका वैज्ञानिकहरूले जुलाई २०२३ लाई मानव इतिहासकै सबैभन्दा तातो महिना भएको बताएका छन्। लगातार बढिरहेको तापक्रमका कारण विश्वका तीन महादेश उत्तर अमेरिका, युरोप र एसिया तातो लहरको चपेटामा परेका छन् । कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस अफ युरोपेली युनियन र वल्र्ड मिटरोलोजिकल अर्गनाइजेसन (डब्लुएमओ) ले एक प्रतिवेदनमा जुलाईको पहिलो तीन तापमानका धेरै पुराना रेकर्डहरु तोडिएको उल्लेख गरेको छ । कतिपय देशहरूमा तापक्रम ५० डिग्री सेल्सियसभन्दा बढी पुगेको छ। १ लाख २० हजार वर्षमा पहिलोपटक धेरै तातो भएको वैज्ञानिकहरुले बताएका छन् । राष्ट्रसंघका महासचिव भन्छन् ‘ग्लोबल वार्मिङको युग सकियो’ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ग्लोबल वार्मिङको युग समाप्त भएको बताएका छन् । ‘अब विश्वव्यापी उमालेको युग आएको छ। जलवायु परिवर्तन आएको छ । यो धेरै खतरनाक छ। यद्यपि यो सुरुवात मात्र हो, यसलाई नियन्त्रण गर्न सकिन्छ। हामी विश्वव्यापी तापमान वृद्धि रोक्न सक्छौं। तर, यसका लागि हामीले तत्काल कदम चाल्नुपर्छ’, उनले भने । तीन महादेशको तापक्रमको अवस्था अमेरिकामा बढ्दो तापक्रमले मानिसको जीवन कष्टकर बनाएको छ । यसैलाई ध्यानमा राख्दै अमेरिकी प्रशासनले गर्मीको लहरबाट बच्न मानिसहरूलाई सहयोग गर्ने आश्वासन दिएको छ। अमेरिकी वन विभागले मानिसहरूलाई रूख रोप्न मद्दत गर्न प्रशासनले १ अर्ब डलर उपलब्ध गराउने बताएको छ। बीबीसीको रिपोर्ट अनुसार अमेरिकामा ११ करोड ३० लाख मानिस गर्मीको चपेटामा छन् । फ्लोरिडा, क्यालिफोर्निया र वाशिंगटनमा सो सम्बन्धमा सरकारले सतकर्ता नै जारी गरेको छ । अमेरिकाको नेशनल वेदर सर्भिसले मानिसहरूलाई आफ्नो स्वास्थ्यमा कुनै पनि जोखिम नलिन आग्रह गरेको छ । जुलाई १५ मा अमेरिकाको एरिजोना राज्यको तापक्रम ४८ डिग्री सेल्सियस सम्म पुगेको थियो । अमेरिकी मौसम विभागले क्यालिफोर्नियाको डेथ भ्यालीमा पारा ५४ डिग्री पुगेको जानकारी दिएको छ । डेथ भ्याली संसारको सबैभन्दा तातो ठाउँहरू मध्ये एक हो। एसिया– चीनमा पारा ५२ डिग्री सेल्सियससम्म पुग्यो तापक्रम जुलाई १७ मा चीनको सिन्जियाङको सानबाओमा ५२ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो। यसअघि सन् २०१५ मा आइडिङमा सबैभन्दा बढी तापक्रम रेकर्ड गरिएको थियो । त्यसपछि तापक्रम ५० दशमलव ३ डिग्री सेल्सियस पुगेको थियो । युरोपका धेरै देशहरूमा तापमान ४५ डिग्री सेल्सियस नाघ्यो युरोपको अन्तरिक्ष एजेन्सीले इटाली, स्पेन, फ्रान्स, जर्मनी र पोल्याण्डमा गर्मीको बारेमा अलर्ट जारी गरेको छ । स्पेनमा तापक्रम ४५ डिग्री सेल्सियस पुगेको छ । सोही समयमा, इटालीमा पारा ४८ डिग्री सेल्सियस पुग्न सक्छ। इटालीले रोम र फ्लोरेन्सलगायत आफ्ना १६ सहरमा गर्मीको लहर आउनसक्ने चेतावनी जारी गरेको छ। सरकारले बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म घाममा ननिस्कन मानिसलाई आग्रह गरेको छ । बढ्दो तापक्रमका कारण स्पेनको क्यानरी टापु र ग्रीसको जंगलमा आगलागी सुरु भएको छ । विश्वको औसत तापक्रम पनि बढ्यो प्रतिवेदनका अनुसार जुलाईको पहिलो २३ दिनमा विश्वको औसत तापक्रम १६.९५ डिग्री सेल्सियस रेकर्ड गरिएको छ । सन् २०१९ को जुलाईमा १६.६३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो । त्यसैले जुलाई २०२३ लाई सबैभन्दा तातो महिना भनिएको छ। यूएस नेशनल सेन्टर फर इन्भारमेन्टल प्रेडिक्सनका अनुसार जुलाई ३ तारिख अहिलेसम्मकै सबैभन्दा तातो दिन बन्यो । सो दिन औसत विश्वव्यापी तापक्रम १७ डिग्री सेल्सियस नाघेको थियो । जुन सन् २०१६ को अगस्टमा रेकर्ड गरिएको सबैभन्दा तातो दिन १६.९२ डिग्री सेल्सियस भन्दा बढी थियो। साउन महिनाको ३ गतेपछि पछि विश्वव्यापी रुपमा गर्मी लगातार बढीरहेको छ । आगामी ५ वर्षमा विश्वको तापक्रम १.५ डिग्री सेल्सियससम्म बढ्न सक्ने डब्लुएमओका अनुसार पृथ्वीमा आगामी पाँच वर्षमा औद्योगिक क्रान्ति अघिको भन्दा १.५ डिग्री सेल्सियस बढी तातो हुनेछ। आर्कटिक महासागरको सम्पूर्ण बरफ पग्लिनेछ। समुन्द्री किनारमा रहेका धेरै सहर पानीमा डुब्न सक्नेछन् । एल निनोले तापक्रम वृद्धि गराउने कोपर्निकसका डेपुटी डाइरेक्टर सामन्था बुर्गिसका अनुसार यो सबै एल निनोका कारण भइरहेको छ । एल निनो एक मौसम प्रवृत्ति हो जुन हरेक केहि वर्षमा एक पटक हुन्छ। यो घटना विश्वको सबैभन्दा ठूलो महासागर प्रशान्त महासागरमा हुन्छ। यसमा पूर्वी प्रशान्त महासागरको पानीको माथिल्लो तह तातो हुन्छ। डब्लुएमओले सो क्षेत्रको औसत तापक्रम फेब्रुअरीमा ०।४४ डिग्री सेल्सियसबाट जुन मध्यमा ०.९ डिग्री सेल्सियसमा झरेको जनाएको छ। कार्बन उत्सर्जनका कारण विश्वव्यापी तापक्रममा वृद्धि वैज्ञानिकहरूले मानवीय गतिविधिलाई तापक्रम बढ्नुको प्रमुख कारण बताइरहेका छन् । वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा बढ्दै जानु पनि तापक्रम बढ्नुको कारण भएको वैज्ञानिकहरुको भनाइ छ । जीवाश्म इन्धन जलाउँदा विश्वभरबाट हरेक वर्ष ४००० मिलियन टन कार्बन डाइअक्साइड उत्सर्जन हुने गरेको छ । वायु प्रदूषणका कारण नै ग्लोबल वार्मिङ अर्थात् विश्वव्यापी तापक्रम निरन्तर बढिरहेको छ । विश्वव्यापी रूपमा कोइला, कच्चा तेल र प्राकृतिक ग्याँस ऊर्जाको लागि सबैभन्दा बढी प्रयोग गरिन्छ। जीवाश्म ईन्धनले विश्वको कुल कार्बन उत्सर्जनको सबैभन्दा ठूलो हिस्सा ओगटेको छ । अहिलेको अवस्थामा हरितगृह ग्यासको उत्सर्जन जारी रह्यो भने सन् २०५० सम्ममा पृथ्वीको तापक्रम दुई डिग्रीले बढ्ने वैज्ञानिकहरुले अनुमान गरेका छन् । यसो भयो भने कतिपय ठाउँमा ठूलो खडेरी र कतिपय ठाउँमा विनाशकारी बाढी आएर मानव अस्तित्व नै जोखिममा पर्न सक्ने छ । एजेन्सीको सहयोगमा ।

गुगल प्ले स्टोरमा रहेको एप नक्कली हो की सक्कली भनेर कसरी छुट्याउने ?

काठमाडौं । यदि तपाईं एन्ड्रोइड मोबाइल प्रयोग गर्नुहुन्छ भने अवश्य पनि तपाईंले गुगल प्ले स्टोरबाट एप्लिकेसनहरु डाउनलोड गर्नुहुन्छ । तर, धेरैलाई थाहा नहुन सक्छ की आफ्नो स्मार्टफोनमा डाउनलोड गरिएका एप्लिकेसन सक्कली हो की नक्कली ? तपाईं कसरी थाहा पाउनुहुन्छ की तपाईंले डाउनलोड गरेको एप्लिकेसन नक्कली हो की सक्कली ? यदि तपाईंमा सो विषयमा कुनै भ्रम छ भने एप्लिकेसन डाउनलोड गर्नु अगाडि तपाईंले यी विषयहरुमा ख्याल गर्नुहोस ताकी तपाईं समस्यामा पर्नबाट जोगिन सक्नुहुनेछ । १. गुगल प्ले स्टोरमा एपको डेभलपर चेक गर्नुहोस । आधिकारिक एपहरु सामान्यतया प्रतिष्ठित र व्यवसायिक डेभलपरहरुले निर्माण गरेका हुन्छन् । विश्वासिला एप निर्माणकर्ताहरुको बारेमा वेबसाइटबाट धेरै सूचना प्राप्त गर्न सकिन्छ र उनीहरुको ट्रयाक रेकर्ड पनि राम्रो हुन्छ । २.गुगल प्ले स्टोरमा एप्लिकेसको विषयमा लेखिएका समीक्षा र मूल्याङ्कन पढ्नुहोस्। वैद्यानिक एपहरूमा सामान्यतया सकारात्मक समीक्षाहरु र मूल्यांकन देख्न सकिन्छ । यदी एपमा कम समीक्षा छन् र सकारात्मक समीक्षा मात्रै छन् भने सावधान रहनुपर्छ । किनकी ती समीक्षा प्रायोजित हुनसक्छन् । ३. तपाईंले डाउनलोडको संख्याबाट पनि एपको लोकप्रियता र विश्वसनीयताको अनुमान गर्न सक्नुहुन्छ। यदि कुनै एप धेरै संख्यामा डाउनलोड गरिएको छ भने त्यो वास्तविक हुने सम्भावना बढी हुन्छ। ४. गुगल प्ले स्टोरमा प्रदान गरिएको एपको विवरण र स्क्रिनसटहरू विश्लेषण गर्नुहोस्। कुनै पनि व्याकरणीय त्रुटि वा विसंगतिहरूमा ध्यान दिनुहोस्, किनकि यी नक्कली एपको संकेत हुन सक्छ। ५. जब तपाईंले एप इन्स्टल गर्नुहुन्छ त्यसपछि यसले तपाईंको मोबाइलमा केही पहुँच (एक्सेस) माग गर्नेछ । यदि एपले अनावश्यक वा अत्यधिक अनुमतिहरू अनुरोध गर्न थाल्यो भने तपाईं सतर्क रहनुहोस । उदाहरणका लागि टर्चलाइट एपलाई तपाईंको सम्पर्क नम्बर वा म्यासेजमा एक्सेस आवश्यक पर्दैन । ६. तपाईंले डाउनलोड गर्न चाहेको एपको आधिकारिक वेबसाइट छ कि छैन जाँच गर्नुहोस्। वैद्यानिक एपहरूको प्राय डेभलपरको बारेमा विस्तृत जानकारी दिने आधिकारिक वेबसाइटहरु रहेका हुन्छन् । ७. गुगल प्ले स्टोरबाट मात्रै एपहरू डाउनलोड गर्नुहोस्। अज्ञात स्रोतहरूबाट एपिके फाइलहरू डाउनलोड नगर्नुहोस् । किनभने तिनीहरूमा मालवेयर वा नक्कली एपहरू हुन सक्छन्। ८. नक्कली एप वा मालवेयरबाट बच्नको लागि मोबाइल वा स्मार्टफोनमा एन्टिभाइरस राखेर पनि केही हदसम्म सुरक्षित हुन सकिन्छ ।

गत आवमा ३५ वस्तुको गुणस्तर पारित

काठमाडौं । नेपाल गुणस्तर परिषद्ले गत आर्थिक वर्ष २०७९/८० मा विभिन्न ३५ वटा वस्तुको गुणस्तर पारित गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागको प्राविधिक समितिले ५० वस्तुको गुणस्तर पारितका लागि सिफारिस गरे पनि जम्मा ३५ वटा वस्तुको गुणस्तर पारित भएको विभागका महानिर्देशक दिनानाथ मिश्रले जानकारी दिए । ‘विभागको प्राविधिक समितिबाट पारित भएको गुणस्तर उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको अध्यक्षतामा रहेको नेपाल गुणस्तर परिषद्बाट पारित गर्छौं’, उनले भने । परिषद्ले अघिल्लो आव २०७८/७९ मा १५ तथा आव २०७७र७८ मा ३१ वस्तुको गुणस्तर पारित गरेको थियो । विभागका अनुसार आव २०७९/८० मा २९ वटा उद्योगले नेपाल गुणस्तर प्रमाण चिह्न प्राप्त गरेका छन् भने ४० वटा उत्पादित वस्तु तथा पदार्थले इजाजतपत्र लिएका छन् । साथै १३ वटा उद्योगले प्रमाणपत्र लिएको विभागको भनाइ छ । विभागका प्रवक्ता ज्योति जोशी भट्टले गत आवमा दुई सय ३३ पटक उद्योगको निरीक्षण र २९ पटक बजार अनुगमन गरिएको जानकारी दिए। जसमा सात ८९ नमूना सङ्कलन गरेर जाँच गरिएको उनको भनाइ छ । विभागले गत आवमा ७१ उद्योगलाई स्पष्टीकरण सोधेको छ । विभागले एक वर्षमा दुई हजार चार सय ४५ वस्तुको प्रयोगशालामा रासायनिक, भौतिक, टेक्सटायल, छाला र कागजको परीक्षण सम्पन्न गरेको छ । दुई हजार एक सय ११ क्यालिब्रेसन सेवा प्रदान गरेको छ भने १८ वटा तालिम गोष्ठी प्रदान गरेको जनाएको छ । विभागले गत आवमा चार सय ३३ उद्योगको नवीकरण सम्पन्न गरेको छ । यस्तै, नेपाल गुणस्तर चिह्न प्राप्त गर्नका लागि आवेदन दिएका एक सय ३० उद्योगको निरीक्षण तथा नौ वटा इजाजतपत्र र प्रमाणपत्र खारेज गरेको छ । धनुषा, सर्लाही, महोत्तरी, रामेछाप र सिन्धुली जिल्लाका ११ पेट्रोल पम्पको निरीक्षण गरेकामा तीनवटालाई कारबाही गरिएको प्रवक्ता भट्टले बताए । विभागले कारबाहीवापत गत आवमा चार करोड ४२ लाख ९४ हजार २३२ राजस्व सङ्कलन गरेको छ ।

मिसन ०८४ सही नेतृत्व छान्नसके मात्रै सम्भव छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपामा आवद्ध हुनु भनेको उम्मेदवार बन्नु नभएको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पछिल्लो समय रास्वपामा सहभागी बनेकाहरुले आफू नै मेयर, वडा अध्यक्षको उम्मेदवार हो भन्ने गरेको भन्दै रास्वपामा अहिले सहभागी हुनु भनेको उम्मेदवार बन्नु नरहेको स्पष्ट पारे । उनले रास्वपा साधारण समयमा बनेको पार्टी नभएको भन्दै रास्वपा कसैलाई पोस्न, पाल्न बनेको पार्टी नभएको जिकिर गरे । उनले मिसन ०८४ सही नेतृत्व छान्न सकेको खण्डमा मात्रै सफल हुने बताउनु भयो । उनले देशमा राम्रा नारा सबैले लगाउने भन्दै नारा राम्रो भएर मात्रै नहुने र पारा राम्रो हुनुपर्ने बताए । उनले भने, ‘म सबैलाई यसै मञ्चबाट देशभरकै रास्वपा समर्थक, रास्वपा प्रेमी र रास्वपामा आवद्ध सबैलाई भन्न चाहन्छु, रास्वपामा सहभागी हुनु भनेको तपाई उम्मेदवार हुनुभएको होइन, उम्मेदवारको छनोट भएको छैन, कोही पनि अहिले उम्मेदवार होइन, यो कुरा स्पष्ट हुन जरुरी छ । साथीहरु मै उम्मेदवार हुँ, म मेयरको, वडाध्यक्षको भन्ने सुनेको छु, त्यसका लागि जोडिनुभएको हो भने कति लामो यो यात्रा हुन्छ थाहा छैन, किनभने यो पार्टी साधारण परिस्थितिमा बनेको पार्टी होइन, कसैलाई पोस्न, पाल्न बनेको पार्टी होइन । नेपाली जनताले खोजेको नेतृत्व खोज्नका लागि हो, मिसन ०८४ भनेको सही नेतृत्व छान्न सकियो भने मात्रै सम्भव हुने हो, नारा त यो देशमा सबैले लगाउँछन्, नारा ठिक भएर भएन पारा ठिक हुनुपर्छ । पारा ठिक हुनका लागि हामीसँग राम्रा मान्छे जोडिनुपर्छ । यो दौड होइन, जो दौडेर पदमा पहिला बस्यो उसैले उम्मेदवारी पाइहाल्यो । रास्वपा अन्य पार्टीको हुलमा पार्टी नपुगेर जन्मिएको पार्टी होइन ।’ सभापति लामिछानेले नराम्रो काम गर्ने पार्टीका नेताहरुलाई तत्काल कारबाही गर्ने स्पष्ट पारे । उनले रास्वपा मिसन २०८४ को अभियानमा रहेको बताए ।

टुथपिकदेखि सियोसम्मको आयातमा बाहिरिन्छ अर्बौं रकम

काठमाडौं । अर्थतन्त्रको मुख्य क्षेत्रमा उत्पादन पर्छ । कुनै पनि मुलुकको अर्थतन्त्र उत्पादन बिना सुदृढ हुने अवस्था रहँदैन । अझ निरन्तर ठूलो व्यापार घाटा बेहोरिरहेको रहेको हाम्रोजस्तो मुलुकले उत्पादनमूलक अर्थव्यवस्थामा जोड दिनु अतिआवश्यक हुन्छ । तर हेर्दा सामान्य लाग्ने वस्तुसमेत आयात गरेर उपभोग गर्नुपर्ने अवस्थाले मुलुकको उत्पादन क्षमता र स्तर एकदमै कमजोर रहेको पुष्टि भइरहेको छ । भन्सार विभागले पछिल्लो समय सार्वजनिक गरेको आयात निर्यातको विवरणअनुसार मुलुकमा सामान्य प्रविधि र कच्चा पदार्थ प्रयोगमा उत्पादन हुने वस्तुसमेत ठूलो मात्रामा आयात भएको देखिन्छ । पछिल्लो समय विभागले सार्वजनिक गरेको तथ्याङ्कानुसार गत आर्थिक वर्षमा एक करोडभन्दा बढी मूल्यको दाँत कोट्याउने सिन्को (टुथपिक) आयात भएको देखिन्छ । विभागका अनुसार गत आवमा एक करोड १३ लाख ३७ हजार मूल्य बराबरको दाँत कोट्याउने सिन्को आयात भएको छ । बाँस र काठबाट बनेको यस्तो सिन्का मुख्यतया चीनबाट भित्रिने गरेको । त्यस्तै करिब एक करोड बराबरको कपडा झुण्ड्याउने ह्याङ्गर आयात भएको छ । विभागका अनुसार गत आवमा दुई करोड पाँच लाख ४९ हजार मूल्य बराबरको ह्याङ्गर निर्यात पनि भएको छ । दुई करोडको सियो र सेफ्टी पिन आयात विभागका अनुसार गत आवमा लुगा सिउने सियो र सेफ्टी पिनको आयातमा रु दुई करोडभन्दा बढी रकम बाहिरिएको छ । गत आवमा एक करोड ७३ लाख ९१ हजारको सेफ्टी पिन र ६३ लाख १० हजार मूल्य बराबरको सियो आयात भएको छ । जसबाट सरकारले रु ६७ लाख ४९ हजार बराबरको राजस्व सङ्कलन गरेको छ । एक अर्बभन्दा बढीको नटबोल्ट र स्क्रु आयात विभिन्न यन्त्र उपकरण तथा सवारी साधानमा प्रयोग हुने नटबोल्ट र पेचकिलाजन्य वस्तु आयातमा समेत अर्बौं रकम मुलुकबाट बाहिरिरहेको छ । सार्वजनिक विवरणअनुसार गत आवमा रु एक अर्बभन्दा बढी मूल्यको फलाम तथा स्टिलका नटबोल्ट आयात भएका छन् । एक वर्षमा एक अर्ब २६ करोड ५४ लाखभन्दा बढी मूल्य बराबरका पेचकिला (स्क्रुु) तथा बोल्ट र १४ करोड ९४ लाख ३५ हजार मूल्य बराबरको नट आयात भएको छ । विभागका अनुसार गत आवमा १५ कारोड ८५ लाख बराबरको फलाम तथा स्टिलको किला आयात भएको छ ।

मुलुकलाई चामलमा आत्मनिर्भर बनाउने लक्ष्यमा वीरेन्द्रबहादुर बस्नेत

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव बान कि-मुनले कार्यकालको उत्तरार्धतिर विश्व खाद्य सम्मेलनमा ‘भात खाने बानी हटाऊ स् अरु चिज खानेतर्फ ध्यान दिउँ’ भनेका थिए। विश्वमा धान चामल उत्पादनमा उल्लेखनीय ह्रास आएपछि उनले विश्वका उपभोक्तालाई यस्तो आग्रह गरेका थिए । संयुक्त राष्ट्र सङ्घका अनुसार अहिले विश्वभर सात करोड ८० लाख मानिस भोकमरीमा छन् भने करिब एक तिहाइ खाद्य उत्पादन कम भएको छ । साथै करिब तीन अर्ब मानिसले सन्तुलित भोजनको पहुँचमा पुग्न सकेका छैनन् । विश्वमा पछिल्लो समय देखिएको भूराजनीति तथा अर्थतन्त्रको आपूर्ति शृङ्खलामा आएको अवरोधले खाद्य सुरक्षाको चिन्ता बढाएको छ । यसै सन्दर्भमा हालै छिमेकी मुलुक भारतले पनि आगामी निर्वाचनलाई मध्यनजर गर्दै चामल निर्यातमा प्रतिबन्ध लगाएको छ । एकातिर धान उत्पादन हुने उर्बर भूमि घट्दो क्रममा छ भने कृषिमा काम गर्ने जनशक्ति विदेश पलायन भइरहेका छन् । जसले कृषि उत्पादन घटाउँदै परनिर्भरता बढाएको छ । गत आर्थिक वर्षमा मात्रै नेपालले रु ३६ अर्ब ६६ करोड बराबरको चामल आयात गरेको भन्सार विभागको तथ्याङ्क छ । विश्वभर खाद्यसङ्कट निम्तन सक्ने सम्भावित जोखिम र नेपालले आफ्नै भूमिमा उत्पादन बढाएर धान चामलमा आत्मनिर्भरताको बाटोमा अघि बढ्न हालको निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायमुखी बनाउन अपरिहार्य भइसकेको छ । यही आवश्यकतालाई मध्यनजर गर्दै एयरलायइन्स व्यवसायमा सफल वीरेन्द्रबहादुर बस्नेत कृषिकर्ममा लागेका छन्। निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरका प्रबन्ध निर्देशक बस्नेतले मोरङको डाँगिहाटमा ५० करोडभन्दा बढी लगानीमा अत्याधुनिक उपकरणयुक्त ‘आरजु राइस मिल’ सञ्चालनमा ल्याएका छन् । कम्पनीका कार्यकारी अध्यक्षसमेत रहेका बस्नेतले निर्वाहमुखी धानखेतीलाई आत्मनिर्भरतर्फ लैजाने उद्देश्यले किसानलाई प्रेरित गर्दै मिल सञ्चालनमा ल्याएका हुन्। नेपाली किसानले उत्पादन गरेको धानको चामल नेपाली उपभोक्तामाझ पुर्‍याउने र किसानलाई धानको न्यूनतम समर्थन मूल्य तोकेर उपभोक्तालाई कम मूल्यमा चामल उपलब्ध गराउने उद्देश्यले उनी कृषि क्षेत्रमा होमिएका हुन् । किसानलाई प्रोत्साहित गर्दै उपभोक्तालाई स्वदेशी गुणस्तरीय चामल विभिन्न देशमा समेत पुर्‍याउने उद्देश्यले कृषिमा हामिएको भन्दै उनले यसबाट बढ्दो खाद्य सङ्कट समाधानमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । उनले यसमार्फत आफू मात्रै होइन, २० हजारभन्दा बढी किसानलाई पनि सँगै लैजाने योजना बनाएका छन् । ‘बढ्दो खाद्य सङ्कट कम गर्न नेपाली उपभोक्ताले नेपाली चामल खरिद गरेर खानुपर्छ’, कार्यकारी अध्यक्ष बस्नेतले भने, ‘यस्ता मिलले गर्दा किसानलाई प्रोत्साहित गर्छ, उनीहरुलाई सही मूल्य दिन्छ । यो मोडल सफल भए देशभर विस्तार गर्ने लक्ष्यसमेत छ ।’ लामो समयदेखि एयरलाइन्स व्यवसायमा संलग्न बस्नेतको परिवार त्यसअघि पनि कृषि पेसामै रहेको उनको भनाइ छ । ‘हाम्रो परिवार ३५र३६ वर्षदेखि कृषि क्षेत्रमै छ । बुध्द एयर सुरु गर्नुभन्दा अघिको परिवारको मुख्य पेसा नै कृषि थियो’, उनले भने । व्यावसायिक खेती हुन नसक्नु आजको ठूलो समस्या भएको भन्दै बस्नेतले जलवायु परिवर्तनका कारण पनि धानखेतीका लागि चुनौती थपिएको उल्लेख गरे । उनले भने, ‘धान उत्पादनमा ह्रास आएको छ । धानको सङ्कट चुलिँदै गएको मैले अनुभव गरेको छु र वास्तविकता पनि त्यस्तै छ ।’ पर्यटन पूर्वाधार, होटल, बैंक तथा वित्तीय संस्था, ऊर्जा, शिक्षा र सूचना प्रविधिमा ठूला–ठूला लगानी भएका छन् तर, कृषि प्रधान देश नेपालमा कृषिलाई प्राथमिकता दिन नसकिरहेको अवस्थामा आफू यसको आवश्यकता महसुस गर्दै विभिन्न चुनौतीका बाबजुद कृषिमा होमिएको उनको भनाइ छ । ‘हामी नपाली किसानको मात्रै धान खरिद गर्छौं’ ,उनले भने, ‘निर्वाहमुखी कृषिलाई औद्योगीकरण गर्नु हाम्रो २० वर्षे योजना पनि हो ।’ कृषि विभागका अनुसार नेपालमा समुद्री सतहबाट तराईमा ६० मिटरदेखि संसारको सबैभन्दा उच्च स्थानमा जुम्लाको छुमचौरमा तीन हजार ५० मिटर उचाइसम्म धानको खेती गरिन्छ । मुलुकको कूल गार्हस्थ्य उत्पादनमा करिब २४ दशमलव एक प्रतिशत कृषिको योगदान रहेकोमा कृषि क्षेत्रको गार्हस्थ उत्पादनमा धानको १५ प्रतिशत योगदान छ । आव २०७९/८० मा १४ लाख ४७ हजार हेक्टर क्षेत्रफलमा धान खेती भई ५४ लाख ८६ हजार मेट्रिक टन धान उत्पादन भएको छ । यद्यपि अझै पनि मुलुकमा १० देखि १२ लाख मेट्रिक टन धान अपुग हुँदै आएको छ । ‘खाद्य सुरक्षा चुनौतीपूर्ण छ । मित्रराष्ट्र भारतबाट खाद्यान्य आयात नगरेको खण्डमा हामी भोकमरीमा पर्छौं’,उनले भने, ‘अहिले जसरी भारतले चामल निर्यातमा प्रतिवन्ध लगाएको छ । त्यसले ठूलो हाहाकार मञ्चिएको छ, हल्लाखल्ला भएको छ तर, अहिले भारतमा पनि खाद्यान्य सङ्कट ठूलो समस्याको रुपमा आएको छ ।’ बस्नेतको बुझाइमा भारतले कुनै दबाब सिर्जना गर्न चामल निर्यात प्रतिबन्ध गरेको होइन । जलवायु परिवर्तनका कारण विश्व खाद्य कार्यक्रमजस्ता विश्व प्रसिद्ध सङ्गठनले खाद्यान्न सङ्कट आउने प्रक्षेपण गरिरहेका छन् । जलवायु परिवर्तनका कारण पर्याप्त पानी नपरेकाले धान उत्पादन कमजोर भएको छ । बेमौसमी वर्षा हुनेजस्ता कारण धान उत्पादन कमजोर बन्दै गएको उनको बुझाइ छ । यो समस्या अर्को वर्ष अझ बढ्ने छ । अघिल्लो वर्ष पनि भारतले चामल निर्यातमा प्रतिबन्ध गरेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार २०८० साउन ६ गतेसम्म मुलुकभर ६८ प्रतिशत रापाइँ सम्पन्न भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ८८ प्रतिशत रोपाइँ भएको थियो । मुलुकलाई खाद्यान्न विशेष गरी चामलमा आत्मनिर्भर बनाउन निर्वाहमुखी किसानलाई व्यवसायमुखी बनाउन जरुरी भएको व्यवसायी बस्नेतले उल्लेख गरे । मुलुकमा चामलको सङ्कटलाई समाधान गर्न नेपालनै आत्मनिर्भर हुनुपर्छ भन्ने उद्देश्यले अत्याधुनिक राइस मिल सञ्चालन गरिएको उनले बताए । ‘चामल निर्यात प्रतिबन्ध लगाउने भारतको हालैको निर्णयले चामलको भाउ बढे पनि हामीले उत्पादन र आपूर्ति गर्ने चामलको भाउ बढ्दैन, किन भने हामीलाई भारतको निर्णयले असर गर्दैन’, उनले भने, ‘किसानसँगै धान किनेर चामल सस्तो मूल्यमा उपभोक्तामाझ लगिरहेका छौँ । त्यसैले गर्दा किसान र उपभोक्ता दुवैलाई फाइदा पुगेको छ ।’ उनका अनुसार ठूलो लगानीमा अत्याधुनिक मिल खोलेर किसानबाट धान पनि खरिद गरिए पनि बजार व्यवस्थापनमा निकै चुनौती भने कायमै छ । रासस ।

भरतपुर भ्रमण वर्ष : ७७ देशमा रहेका चितवनवासीलाई निमन्त्रणा

चितवन । भरतपुर भ्रमण, २०२४ का अवसरमा ७७ देशमा रहेका चितवनवासीलाई निमन्त्रणा गरिने भएको छ । भ्रमण वर्ष सफल बनाउन विभिन्न देशमा बसोबास गर्ने चितवनवासी र उनीहरुका विदेशी आफन्तलाई निमन्त्रणा गर्न लागिएको हो । भ्रमण वर्ष, २०२४ अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक सोम सापकोटाका अनुसार हालसम्म ५२ देशका चितवनवासीसँग प्रतिनिधिमूलक रुपमा सम्पर्क भइसकेको छ । गैरआवासीय नेपाली सङ्घका प्रवक्ता एवं पर्यटन प्रवद्र्धन समितिका संयोजकसमेत रहेका सापकोटाले अन्तर्राष्ट्रिय क्षेत्रमा समन्वयको काम गरिरहनुभएको छ । यसका लागि ‘साथीलाई घर पठाऔँ (सेन्ड होम अ फ्रेण्ड)’ नारा दिएर अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार सुरु गरिएको छ । सापकोटाका अनुसार विभिन्न देशमा नेपालीले सञ्चालन गरेका होटल, रेष्टुराँ, ग्रोसरीलगायतमा ‘भिजिट भरतपुर’ को ब्रोसर, पोष्टरलगायतका सामग्री राखिँदै छ । ती देशमा स्थानीय प्रतिनिधिसँग समन्वय गरी भ्रमणको निम्तो दिइँदै छ । विश्वभर रहेका चितवनवासीकाबीचमा समन्वय गरेर सन् २०२४ मा परिवारसहित आफ्नो घर फर्किन र सँगै काम गर्ने एवं चिनजान भएका त्यहाँका साथीभाइलाई यहाँ ल्याउन आग्रह गरिएको छ । सापकोटाले माल्टा, जापान र बेलायतका स्थानीय सरकारका प्रमुखलाई निमन्त्रण गरिसकिएको छ । अन्य देशमा निम्तो गर्ने क्रममा रहेको उनले जानकारी दिए। नेपाल सरकार र पर्यटन बोर्डले विदेशमा आयोजना गर्ने कार्यक्रममा भरतपुर भ्रमणको प्रचारसमेत गर्ने कार्यक्रम राखिएको छ । चितवनवासी भएका देशमा राजदूतावासमा निम्ता दिनका लागि छोटा भिडियो, फोटोमार्फत प्रचार गरिँदै छ । विश्वका ७७ देशमा चितवनवासी भएको भन्दै उनले हालसम्म ५२ देशका चितवनवासीसँग सम्पर्क गरिएको र बाँकी देशमा सम्पर्कको क्रममा रहेको बताए। यकिन तथ्याङ्क नभए पनि पाँच लाख हाराहारी चितवनवासी विदेशका विभिन्न देशमा रहेको अनुमान छ । भ्रमण वर्षको अवसरमा दुई लाखभन्दा बढी विदेशीलाई चितवन भित्र्याउने लक्ष्य लिइएको छ । सापकोटाका अनुसार गैरआवासीय नेपाली सङ्घको ९० देशमा समिति छ । विश्वका एक सय १८ देशमा नेपाली रहेको उहाँको भनाइ छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भ्रमण २०२४ लाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म प्रचारप्रसार गरी विशेषरुपमा मनाउने बताइन् । छिमेकी देश भारत र चीनसँगै अन्य देशमा समेत व्यापकरुपमा प्रचारप्रसार गरी चितवन पर्यटक भित्र्याउने उनको भनाइ छ । विभिन्न समितिमार्फत् काम अघि बढिरहेको उनको भनाइ छ । भ्रमण वर्षको अवसरमा सङ्घीय सरकारको मन्त्रिपरिषद्को बैठक भरतपुरमा बस्न अनुरोधसमेत गर्न लागिएको उनले जानकारी दिइन् । देशकै मध्यभागमा रहेको पर्यटकीय दृष्टिले महत्वपूर्ण भरतपुरलाई ‘घुमौँ भरतपुर’ नाराका साथ भ्रमण वर्ष मनाउन लागिएको हो । भ्रमण वर्षमा दुई लाख विदेशी र सात लाख स्वदेशी पर्यटक भित्र्याउन लागिएको उनको भनाइ छ । नेपाल र विदेशमा फरक–फरक समिति बनाएर काम अघि बढाइएको दाहालले जानकारी दिइन्। भ्रमण वर्षअघि नै भौतिक पूर्वाधारलगायतका काम यथाशीघ्र सम्पन्न गर्ने योजनाका साथ काम अघि बढाइएको छ । भरतपुर महानगरलाई हरियाली बनाउन महानगरले बजेट विनियोजन गरी छिट्टै काम अघि बढाउँदै छ । महानगरभित्र ३० भन्दा बढी महत्वपूर्ण पर्यटकीय गन्तव्य रहेको भन्दै उनले ती गन्तव्यको प्रचारप्रसार गरी पर्यटकलाई घुमाइने बताइन् । महानगरपालिकासँगै चितवन राष्ट्रिय निकुञ्ज जोडिएको छ । जुन विश्वमा परिचित छ । भरतपुर भ्रमण वर्षले भरतपुर मात्रै नभएर सिङ्गो चितवनको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने दाहालको विश्वास छ ।