विश्व रुपान्तरणको युगमा रोबोटिक्स
काठमाडौं । चौथो औद्योगिक क्रान्तिको चरणमा विश्व अगाडि बढीरहँदा रोबोटले विश्वव्यापी समुदाय र औद्योगिक क्षेत्रलाई रुपान्तरण गर्ने प्रकृयामा आकार प्रदान गरिरहेको छ । स्वचालित उत्पादन प्रकृयादेखि वौद्धिक रोबोटहरुको माग निकै आकाशीन पुगेको छ । विश्वले रोबोटिक्स विकासको सम्भावनालाई अंगालेको छ, यद्यपी यसले निम्त्याउन सक्ने चुनौतीलाई पनि सम्बोधन गर्न आवश्यक छ । चुनौतीलाई सम्बोधन गर्दै विश्व समुदायको मागलाई हेरेर अगाडि बढ्दा नै रोबोटलाई कम भन्दा कम जोखिम सहित मानव समुदायको हितमा प्रयोग गर्न सकिन्छ । प्रविधिको विकसित परिदृश्यमा सधैँ आर्टिफिसियल इन्टेलिजेन्स र इन्टरनेट अफ थिंग्स र मेसिन लर्निङको प्रमुखताले विश्वव्यापी स्तरमा रोबोटिक्स र स्वचालनमा उल्लेखनीय प्रगतिको लागि मार्ग प्रशस्त गरेको पाइन्छ । स्वचालित र रोबोटिक्सको समायोजित प्रविधिले औद्योगिक उत्पादनको प्रकृयामा क्रान्तिकारी रुपान्तरणको अवस्था सिर्जना गरिदिएको छ । उदाहरणका लागि वस्तुहरुको संकलन, छनोट, प्याकेजिङ र डेलिभरीमा रोबोटले कायम गर्न सकेको गुणस्तरले यसको मागमा थप वृद्धि हुँदै गइरहेको छ । आजको दिनमा रोबोटिक्सले उत्पादनमुखी उद्योगहरु, स्वास्थ्य सेवा, गार्मेन्ट र कृषि क्षेत्रमा आफूलाई अनुकरणीय रुपमा प्रस्तुत गरेको पाइन्छ । व्यवसायहरु स्वचालित र सरलिकृत भइरहेका छन् । सभाहरुमा लाइन मिलाउनेदेखि स्वास्थ्य उपचारको क्रममा सल्यकृयामा रोबोटले अनुकरणीय प्रदर्शन गर्न सफल भएको छ, जसले गर्दा मानिसहरुलाई यसप्रतिको विश्वास र माग बढ्दै गएको अनुमान गर्न सकिन्छ । अत्याधुकि रोबोटिक्स प्रणालीका चुनौतिहरु रोबोटको सञ्चालनमा मुख्य समस्या भनेको यसलाई संवेदनायुक्त बनाउनु र मानिसको हात जस्तै बनाउनुसँग रहेको छ । रोबोटमा यी विषयहरुको विकास गर्न सकियो भने यसले स्वास्थ्य क्षेत्र, गार्मेन्ट क्षेत्र र उत्पादनको क्षेत्रमा थप महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । आधुनिक रोबोटिक्सको विकाससँगै उद्योगहरुलाई पनि आफ्नो नेतृत्वदायी र व्यवस्थापकीय क्षमता वृद्धिको चुनौती देखिएको छ, जसले लक्षित उद्देश्य हासिल गर्न सकियोस । सबै सरोकारवाला मानिसहरुले सामूहिक रुपमा रोबोटिक्स शिक्षाको प्रवर्द्धन गर्दै हाम्रो दैदिक जीवनमा रोबोटसँगको सामञ्जस्यपूर्ण सम्बन्ध कायम राख्दै इकोसिस्टम निर्माण गरेर चुनौतीको सामना गर्दै अगाडि बढ्न आवश्यक छ । एजेन्सीको सहयोगमा ।
म्याग्दीमा गणित र विज्ञानका शिक्षक पाउनै मुस्किल
फाइल फोटो म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको सर्वोदय माविले माध्यमिक तहका लागि पाँचौँ पटकसम्म सूचना प्रकाशन गर्दा पनि गणित शिक्षक पाएको छैन । माध्यामिक विद्यालय तेस्रो तहको दरबन्दीअनुसार मासिक ४३ हजार छ सय ७९ रुपैयाँ तलब हुने यो पदमा कसैले दरखास्त नदिएपछि गत पुसदेखि दरबन्दी खाली भएको हो । शिक्षक अभावमा विद्यालयले माध्यामिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीका लागि छिमेकी मुक्तिमार्ग माविका शिक्षक विमल बरुवाललाई बिहान–बेलुकी तथा शनिबार पढाएर कोर्स सक्ने गरी ‘पार्टटाइम’ नियुक्त गरी पठनपाठन चलाएको प्रअ गोविन्द थापाले बताए । ‘कक्षा ९–१० लाई विज्ञान विषयका र तल्लो कक्षाका शिक्षकले माथिल्लो तहमा पढाउन लगाएर कक्षा खाली हुन रोकेका छौँ’, उनले भने, ‘दरबन्दीका विषयगत शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको छ ।’ मङ्गला गाउँपालिका–१ पूर्णगाउँको राष्ट्रिय जनजागृति माध्यमिक विद्यालयले मासिक ३० हजार तलब हुने गरी गणित विषयका शिक्षक भर्ना गर्न दशौँ पटक विज्ञापन गरेपनि कसैको दरखास्त परेको छैन् । पटक–पटक विज्ञापन गर्दा पनि शिक्षक नपाएकै कारण पठनपाठन प्रभावित भएका सर्वोदय र राष्ट्रिय जनजागृति मावि जस्तै धेरै विद्यालयहरु छन् । गाउँका सामुदायिक विद्यालयमा मात्र होइन सदरमुकाम बेनीका सुविधायुक्त निजी विद्यालयले समेत विज्ञान, गणित र कम्प्युटर विषयका शिक्षकको अभाव खेपिरहेका छन् । विज्ञान, गणित र कम्प्युटर विषयका शिक्षक करार र अस्थायी दरबन्दीमा आउन मान्दैनन् । अन्यत्र जागिर सुरक्षित नहुँदासम्म शिक्षण पेसामा आएका शिक्षक पनि सहरी इलाकामै खोसाखोस हुने भएकाले दुर्गममा नआएका राष्ट्रिय जनजागृति माविका प्रअ टेकबहादुर राम्जालीले बताए । पेसाप्रतिको घट्दो आकर्षणले गर्दा शिक्षाशास्त्र पढेका उम्मेदवार शिक्षणभन्दा निजामती सेवातर्फ आकर्षित छन् । जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका अनुसार गत वर्ष म्याग्दीका सात जना विज्ञान शिक्षक शिक्षण पेसाबाट निजामती सेवातर्फ गए । त्यसैगरी शिक्षक सेवा आयोगबाट मधेसी कोटा र अन्य जिल्लाबाट नाम निकालेर यहाँ नियुक्ति लिएर आउने र एक वर्षपछि सरुवा मिलाएर जाँदा गणित र विज्ञान विषयका शिक्षक सधैँ अभाव हुने अर्को कारण हो । शून्य दरबन्दी भएका विद्यालयमा सरकारले शिक्षण सहायता अनुदानस्वरुप १२ महिनाको रकम दिन्छ । यही रकमले करारमा नियुक्त हुने हो । पारिश्रमिक पनि कम हुने भएकाले आकर्षण कमी हुनुको अर्को कारण भएको शिक्षक महासङ्घ म्याग्दीका अध्यक्ष जयराम सुवेदीले बताए । ‘विद्यालयले शिक्षक आवश्यकता खुलाउँछन्’, उनले भने, ‘अन्यत्र पढाइरहेका शिक्षकले नै पायक पर्ने वा अनुकूलको विद्यालयमा निवेदन दिन्छन् । नयाँ अनुहारले शिक्षण सेवामा आउन चाहेको देखिँदैन ।’ सदरमुकाम बेनी र आसपासमा रहेको सामुदायिक तथा संस्थागतबाहेक जिल्लाका सबै माध्यमिक तहका विद्यालयले हरेक वर्ष विज्ञान वा गणित विषयको शिक्षक टिकाउन सकेका छैनन् । ‘विज्ञान, गणित र कम्प्युटर विषयका शिक्षक नपाउने वा टिकाउनै नसकिने समस्या छ’, जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख दलबहादुर थापाले भने, ‘कक्षा ६ देखि विज्ञान विषय अनिवार्य गरिएको छ तर पढाउन जनशक्ति पर्याप्त छैन । सम्बन्धित विषयका जनशक्ति पनि शिक्षण सेवामा भन्दा निजामतीतर्फ आकर्षित छन् ।’ गणित, विज्ञान, कम्प्युटर विषय शिक्षण गर्ने जिल्लाकै उत्पादन नहुनु र बाहिरबाट आएकाहरू एक वर्षमै सरुवा मिलाउने भएकाले समस्या दोहोरिएको उनको भनाइ छ । शिक्षण लाइसेन्स परीक्षामा विषय नमिल्दो र अव्यवहारिक हुँदा पनि शिक्षक समस्या भएको थापाको भनाइ छ । आधारभूत तह कक्षा ६ देखि नै सरकारले विज्ञानलाई अनिवार्य विषयमा राखेको छ । एकाइको तथ्याङ्कानुसार म्याग्दीमा एक सय ७५ वटा आधारभूत तह (कक्षा ६–८) र एक सय १५ माध्यमिक तहमध्ये जम्मा २२–२२ जनामात्र दरबन्दीका गणित र विज्ञान शिक्षक छन् । बाँकी विद्यालयले राहत तथा निजी स्रोतबाट करारका विज्ञान शिक्षक राखेका छन् । विज्ञान र गणित शिक्षक करार र अस्थायी दरबन्दीमा आउन मान्दैनन् । गणित शिक्षक हुनका लागि विद्यालय तहदेखि नै ऐच्छिक गणित पढ्न जरुरी छ । तर गणितप्रति विद्यार्थीको आकर्षण छैन । चारवर्षे स्नातक तहमा शिक्षाशास्त्रतर्फ गणित, विज्ञान र कम्प्युटर विषय अध्यापन गराउने जिल्लाको एक्लो म्याग्दी बहुमुखी क्याम्पस छ । बीएड पहिलो वर्षमा चार जना, दोस्रोमा छ, तेस्रोमा तीन र चौथोमा तीन जना विद्यार्थीले मात्र गणित विषय अध्ययन गरिरहेका छन् । बीएडतर्फ विज्ञान लिएर पढ्ने तीन जनामात्र छन् । क्याम्पसले गत शैक्षिकसत्रदेखि विज्ञान र कम्प्युटर विषयको शिक्षक अभाव पूर्ति गर्ने उद्देश्यले बीएडमा विज्ञान र कम्प्युटर तथा सूचना प्रविधि विषय अध्ययन/अध्यापन सुरु गरेको छ । त्यसनिम्ति जिल्लाका सबै स्थानीय तहले आर्थिक स्रोत व्यवस्थापन गरेका छन् । ‘जिल्लाका विद्यालयमा शिक्षकको धेरै माग भएकाले बीएडमा गणित, विज्ञान र कम्प्युटर तथा सूचना प्रविधि विषय अध्यापन सुरु गरेका हौँ’, म्याग्दी क्याम्पसका प्रमुख गोरख जिसीले भने, ‘स्नातक तहमा गणित विषय अध्यापन गराउने म्याग्दी क्याम्पसका स्रोत विद्यालय जम्मा पाँच छन् । ती विद्यालयबाट स्नातक पढ्न आउने जम्मा चार–पाँच जना विद्यार्थी हुन् । ती पनि चौथो वर्ष पुग्दासम्म हराइसक्छन् अनि कसरी गणित विषयका शिक्षक उत्पादन हुन्छ ?’ रासस
नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गत साता विभिन्न ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गत साउन ७ गते आइतबारदेखि साउन १२ गते शुक्रबारसम्म नेशनल लाइफ इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त र एनएमबि लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस बापत ३७ लाख १२ हजार ३४५.५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र ६.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको ४.७५ प्रतिशत बोनस बापत ६७ हजार ३२९.११ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, एनएमबि लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत बोनस बापत ६ लाख ५५ हजार ८६२.८६२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
एक सहकारीले भन्यो – ‘ललितपुरका राकेश शाक्यसँग होसियार रहनु’
काठमाडौं । मानसरोवर कृषि सहकारी संस्थाले ललितपुरका राकेश शाक्यसँग होसियार रहन आग्रह गरेको छ । सहकारी संस्थाले पूर्व कर्मचारी ललितपुर महानगरपालिका ११ का राकेश शाक्यसँग होसियार रहन आग्रह गरेको हो । शाक्य गैरकानुनी क्रियाकलाप र जानाजान ठगीमा संलग्न रहेकाले मानसरोवर कृषि सहकारीको कुनै कागजपत्र, चेकबुक वा मुद्दती बचत रसिद ल्याएर कारोबार गर्न खोजेको खण्डमा कारोबार नगर्न आग्रह गरेको हो । सहकारीका अनुसार ललितपुर महानगरपालिका ११ घर भई हाल गोदावरी नगरपालिका १० बस्ने शाक्य वि.सं. २०७६ साउन १ गतेका दिन प्रबन्धक पदमा नियुक्त भए । उनले वि.सं. २०७७ भदौ १ गतेदेखि स्वेच्छाले संस्थाको जागिर छाडेका थिए । संस्था छाडेर जाँदा आफ्नो जिम्मेवारीमा संस्थाको चलअचल सम्पत्ति बुझाई, हरहिसाब फरफारक गरेर जानुपर्ने हो । तर, उल्टै कृषि विकास बैंकको चापागाउँ शाखामा रहेको यस संस्थाको बैंक खातामा दस्तखत चल्ने सञ्चालकहरुले दस्तखत गरिसकेको चेक नं. १२९८४७०१ चोरेर लगी ४६ लाख ५० हजार रुपैयाँको चेक काटेर त्यसलाई बाउन्स गराए । त्यस्तै, उनले संस्था सञ्चालक समितिका सदस्यहरुलाई कालोसूचीमा राख्न सम्बन्धित निकायमा निवेदन समेत दर्ता गराए । खाता सञ्चालनमा प्रयोग हुने दस्तखत वि.सं. २०७७ असोज ३० गते नै परिवर्तन भइसकेको थियो । तर, शाक्यले वि.सं. २०७९ चैत १३ गतेको मितिमा चेक काटेर त्यसलाई बाउन्स गराएर संस्थालाई बदनाम गराउने, दुःख दिने र आफूले गैरकानुनी लाभ लिने नियत रहेको संस्थाको आरोप लगाएको छ । त्यसैले शाक्यले आगामी दिनमा पनि यस्ता गैरकानुनी क्रियाकलाप गर्न सक्ने भएकाले संस्थासँग कारोबार गरिरहेका बैंक तथा वित्तीय संस्था, सहकारी संघ र संस्थाका सेयर सदस्यहरुलाई सजग रहन आग्रह गरेको हो । साथै, संस्थासँग लिएको ऋणको साँवा ब्याज भुक्तानी गर्न र हिनामिना गरेको रकमको हिसाब एक हप्ताभित्र बुझाउन भनेको छ । अन्यथा संस्थालाई पुर्याएको हानिनोक्सानी उपर कानुनी कारवाही अघि बढाउने सहकारीले चेतनावनी दिएको छ ।
कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो
काठमाडौं । इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको छ । आइतबार सूचना जारी गर्दै पानी जहाज कम्पनीमा कामदार आवश्यक परेको हुँदा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिने शाखाले जनाएको छ । नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी पत्र अनुरूप रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियामा नेपाली नागरिकलाई लैजान लागिएको सूचनामा उल्लेख छ । साउन २० गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिने शाखाले जनाएको छ । र, इच्छुक आवेदक १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले हुनुपर्ने छ ।
सिटिजन लाइफको आईपीओ २५७ रुपैयाँमा खरिद गर्ने आज अन्तिम दिन
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले असार ३१ गतेदेखि प्रिमियम मूल्यमा बिक्री खुला गरेकोमा आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज साउन १४ गते आवेदन दिने अन्तिम दिन हो । कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको अंकित मूल्य १ सय रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५७ रुपैयाँका दरले १ करोड १२ लाख ५० हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम अधिकतम सम्पूर्ण ११ लाख २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी आइआर त्रिपलबी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको समयमा नै वित्तीय दायित्व बहन गर्न मध्यम स्तरको सुरक्षित कम्पनीको रुपमा जनाउँदछ ।
११६ रुपैयाँमा भगवती हाईड्रोको आईपीओ खरिद गर्ने आज अन्तिम मौका
काठमाडौं । भगवती हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार २४ गतेदेखि बिक्री खुला गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आज साउन १४ गते आवेदन दिने अन्तिम दिन हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दालाई अंकित मूल्य १ सय रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७ सय रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ७२ लाख ६ हजार ५ सय रुपैयाँ बराबरको ५ लाख ७२ हजार ६५ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री खुला गरेको हो । कम्पनीको सेयरमा कास्कीको पोखरा महानगरपालिकावडा नम्बर १३, १४, २६ र २७ ९साविकको पोखरा उप–महानगरपालिका वडा नम्बर १३, १४, १८ २२ र लेखनाथ नगरपालिका वडा नम्बर २, ३, ४, ५, ६ र ७० का स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक, कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत् आवेदन दिन सकिनेछ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
अपि पावरले साउन ३१ गतेदेखि हकप्रद बिक्री गर्दै, कति कित्ता आवेदन दिन पाइन्छ ?
काठमाडौं । अपि पावर कम्पनीले साउन ३१ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ ०.४० कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको हो । कम्पनीको हाल कायम चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँको १ः०.४० को अनुपातमा प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ असार २२ गते बुक क्लोज गरेको थियो । त्यसैले असार २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताले भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।