नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, सवारीसाधन र यात्रुहरू अलपत्र
नारायणगढ । नारायणगढ-मुग्लिन सडकखण्डमा आइतबार बिहान पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार बिहान ९ बजे इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा लेदोसहितको पहिरो खसेको हो । पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन् । पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन भएको उनले बताए । पहिरोका कारण यस सडकखण्ड पटक-पटक अवरुद्ध हुँदै आएको छ ।
अधिकृतले आफूखुसी कर निर्धारण गरेको भन्दै व्यवसायीको मुद्दा
काठमाडौं । पछिल्लो समय करदाता र सरकारी अधिकारीबीच विवाद हुँदा करसँग सम्बन्धित मुद्दा दर्ताको क्रम बढ्दो रुपमा रहेको पाइएको छ । कर अधिकृतहरुले आफूखुसी कर निर्धारण गरेको भन्दै राजश्व न्यायाधिकरण पुल्चोकमा उजुरी गर्ने करदाताको संख्या बढ्दाे रुपमा रहेको पाइएको हो । कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष ४ सय ८४ वटा मुद्दा दर्ता भएका भएका थिए । जसमा सबैभन्दा धेरै आयकरसँग सम्बन्धित छन् । करसँग सम्बन्धित विवाद समाधानका लागि गठन गरिएको राजश्व न्यायाधिकरण कार्यालयमा करदाताले सरकारी अधिकारीले गरेका काम कारवाहीमा चित्त बुझ्दो जवाफ नआए मुद्दा दर्ता गर्ने अधिकारी दिइएको छ । उक्त अधिकारको प्रयोग गर्दै करदाताले मुद्दा दर्ता गर्ने क्रम बढ्दो रहेको कार्यालयका सूचना अधिकारी रामप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा ३ सय १३ वटा मुद्दा दर्ता भएकोमा ५ सय ५५ वटा मुद्दा फस्यौट भएका छन् । अघिल्ला चार आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा धेरै मुद्धा फछ्यौट भएका हुन् । ‘गत आर्थिक वर्षको लामो समयसम्म कार्यालय अध्यक्ष विहीन बन्यो, आर्थिक वर्ष सुरु भएदेखि नै अध्यक्ष सहित सदस्यहरु कार्यालयमा हुनुभएको भए धेरै मुद्दाकोे फछ्यौट हुन्थ्यो’, उनले भने । उनले करिब ५ महिनाको अबधिमा ५ सयभन्दा बढी मुद्दा फछ्यौट भएको बताए । एक वर्षको अबधिमा आयकरसँग सम्बन्धित १६५, मूल्य अभिवृद्धि करका ७७, भन्सार करका ५४, अन्त शुल्कका २० र अन्यमा १ वटा दर्ता भएको छ । गत आर्थिक वर्ष ५ शिर्षकमा करमा ३ सय १३ वटा नयाँ मुद्दा दर्ता भएका थिए भने ११८ वटा निवेदन प्रतिवेदन, ४९ फुटकर निवेदन गरी जम्मा ४ सय ८४ थान नयाँ मुद्दा दर्ता भएका थिए । यस्तै, अघिल्लो आर्थिक वर्षबाट गत आर्थिक वर्ष आयकरसँग सम्बन्धित ६ सय ४६, भ्याट २ सय २०, भन्सार ७९ र अन्तःशुल्क सम्बन्धी २७ गरी ९ सय ७२ मुद्दा सर्दै आएका थिए । नयाँ दर्ता भएका र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका १ हजार २८९ थान मुद्दा रहेकोमा ५ सय ५५ फछ्यौट गरी चालु आर्थिक वर्षका लागि ७ सय ३४ थान मुद्दा सरेका छन् । आर्थिक वर्ष २०७५/०७६ मा ४ सय ७९ मुद्दा रहेकोमा २१५ वटा मुद्दाको मात्र फछ्यौट भएको थियो । गत आर्थिक वर्षसम्म आइपुग्दा ७ सय ३४ मुद्दा फछ्यौट हुन बाँकी छन् । यस्तै, २०७६/०७७ मा कुल ७ सय १८ वटा मुद्दा रहेकोमा एक वर्षको अवधिमा मात्र १३९ वटा मुद्दा मात्र फछ्यौट भएर ५ सय ७९ मुद्दा बाँकी रहेका थिए । २०७७/०७८ मा १२ सय ३ वटा मुद्दा रहेकोमा १ सय ५२ वटा मात्र मुद्दा फछ्यौट हुँदा १ हजार ५१ वटा मुद्दा बाँकी रहेका थिए । तीन आर्थिक वर्षसम्म न्यून मात्रामा मुद्दा फछ्यौट हुने गरेकोमा अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ३ सय ३२ वटा मुद्दा फछ्यौट भएका थिए । उक्त आर्थिक वर्षमा १ हजार ३०४ वटा मुद्दा रहेकोमा ३३२ मुद्दा फछ्यौट भएर ९ सय ७२ मुद्दा बाँकी भएका थिए । गत आर्थिक वर्ष २०७९/०८० को एक वर्षको अबधिमा हालसम्मकै धेरै मुद्दा फछ्यौट भएको छ । चार वर्ष (आर्थिक वर्ष) को अबधिमा ८ सय ३८ वटा मात्रै मुद्दा फछ्यौट भएकोमा गत आर्थिक वर्षमा ५ सय ५५ वटा मुद्दा फछ्यौट भएको हो ।
राष्ट्रपतिको उपचार खर्च ब्यहोर्ने सरकारको निर्णयविरुद्ध परेको रिट न्यायाधीश सिन्हाको इजलासमा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च सरकारले ब्यहोर्ने निर्णयविरुद्ध परेको रिटको पेसी न्यायाधीश अनिल कुमार सिन्हाको इजलासमा परेको छ । अधिवक्ता विष्णुकुमार गिरीले पेस गरेको रिट निवेदन सर्वोच्च अदालतको आदेशमा शुक्रबार दर्ता भएको थियो । सरकारले विशिष्टहरुको उपचार खर्च व्यहोर्न नेपालमा उपचार सम्भव नहुने भन्ने मेडिकल बोर्डबाट सिफारिस लिनुपर्नेमा राष्ट्रपति पौडेलले उपचारका लागि दिल्ली जानुअघि मेडिकल बोर्डबाट सिफारिस नलिएकाले उक्त रकम दिन निमिल्ने दाबी रिटमा गरिएको छ । मन्त्रिपरिषदको निर्णयका आधारमा राजनीतिक व्यक्तिले मनलाग्दी उपचार खर्च लिने प्रचलन बढेपछि जनस्वास्थ्य सेवा ऐन, २०७५ ल्याइएको थियो । यस ऐनमा नेपालमा सम्भव भएका उपचारका लागि विदेश जाँदा उपचार खर्च नव्यहोर्ने व्यवस्था गरिएको छ । ऐनको दफा ३० मा कुनै पनि व्यक्तिले विदेशमा उपचार गरेमा सरकारले खर्च उपलब्ध नगराउने भनिएको छ । ‘कुनै पनि व्यक्तिलाई विदेशमा उपचार गर्नुपर्ने भएमा उपचारका लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’, ऐनको दफा ३० मा भनिएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको सेवा सुविधा सम्बन्धी ऐन, २०७४ को दफा ९ मा पनि नेपालमा उपचार हुन नसकेमा मेडिकल बोर्डको सिफारिसमा विदेशमा उपचार गराउँदा लागेको उपचार खर्च सरकारले व्यहोर्ने उल्लेख छ । ‘राष्ट्रपति वा उपराष्ट्रपति स्वदेशमा अस्पताल भर्ना भई उपचार गराउँदा वा नेपालमा उपचार हुन नसक्ने भई मेडिकल बोर्डको सिफारिसमा गई उपचार गराउँदा लागेको उपचार खर्च नेपाल सरकारले व्यहोर्नेछ’, ऐनमा भनिएको छ ।
यातायात व्यवस्था कार्यालय नवलपुर : १८ दरबन्दीमा सात जनामात्र
त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रहेको यातायात व्यवस्था कार्यालयमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ । कार्यालयमा आवश्यकतानुसार कर्मचारी अभाव हुँदा सहजरूपमा सेवा प्रदान गर्न समस्या हुने गरेको कार्यालय प्रमुख टेकबहादुर घर्तीमगरले जानकारी दिए । कार्यालयमा १८ जनाको दरबन्दीमा सात जनामात्रै कर्मचारी रहेको उनले बताए । ‘दरबन्दी अनुसार कर्मचारी छैनौँ, सेवाग्राहीको चाप हुँदा समयमा सेवा प्रदान गर्न समस्या हुने गर्दछ’, उनले भने । करारमा रहेका छ कर्मचारी हटेसँगै थप समस्या भएको उनको भनाइ छ । चालु आर्थिक वर्षदेखि करारमा कर्मचारी नियुक्ति नगर्ने प्रदेश सरकारको नीति रहेको छ । कर्मचारी कम हुँदा कार्यालयबाहेकको समयमा समेत सेवाग्राहीको आवश्यकता हेरी सेवा दिनुपर्ने अवस्था रहेको उनले बताए । कार्यालयमा कर्मचारी कम भएपछि पालैपालो बिहान बेलुकाको समयमा सवारी चालक अनुमतिपत्रको लिखित तथा ट्रायल परीक्षा लिने गरेको कार्यालय प्रमुख घर्तीमगरले बताए । समयमा काम गर्न नसक्दा सेवाग्राहीको गुनासो बढ्न सक्ने भएकाले थप कर्मचारीको व्यवस्थापन गर्न प्रदेश सरकारसँग उनले आग्रह समेत गरे । पूर्व– पश्चिम राजमार्गको मध्यभागमा रहेको कार्यालय हुँदा सवारी चालक अनुमतिपत्रका लागि यस कार्यालयमा धेरै सेवाग्राही आउने गरेका छन् । यसैबीच कार्यालयले गत आर्थिक वर्षमा ३१ करोड रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा कार्यालयबाट उपलब्ध विभिन्न सेवासुविधा प्रवाह गरेवापत ३१ करोड ६६ लाख ४८ हजार ४५ रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख घर्तीमगरले जानकारी दिए । आव २०७८/७९ मा २६ करोड ६६ लाख ६९ हजार पाँच सय ४८ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । गत आवमा यातायात क्षेत्रको आम्दानी, प्रशासनिक सेवा शुल्क, चालक अनुमतिपत्र, सवारी दर्ता किताब, सवारीसाधन कर सङ्कलन, सवारी आयकरलगायत सेवा शुल्कमा केही रकम वृद्धिसँगै पहिलेको तुलनामा गत आवमा चार करोड ९९ लाख ७८ हजार चार सय ९७ रुपैयाँ बढी राजस्व सङ्कलन भएको हो । सवारीसाधन लाइसेन्स नवीकरण, परीक्षणकालीन लाइसेन्स वितरण, स्मार्ट कार्डलगायत सवारी दर्ता लगायतको सेवा कार्यालयले उपलब्ध गराउँदै आएको छ । रासस
बाँदर आतङ्कले किसान हैरानी : कुरुवा बस्दै बित्छ दिन
बागलुङ । बागलुङको अधिकांश ग्रामीण क्षेत्र जङ्गलसँग जोडिएका छन् । जङ्गल नजिक बस्ती हुँदा बाँदरले स्थानीयलाई हैरानी बनाउँदै आएको छ । हिउँदमा घरको आँटीमै पुगेर अन्न खाइदिने र सामान फुटाइदिने गर्छ भने बर्खामा बारीमा लगाएका मकै, भटमासलगायतका बाली नष्ट गरिदिन्छ । यति बेला किसानमा बारीमा भर्खर मकैले घोगा निकाल्न थालेका छन् । बारीको अधिकांश छेउछाउमा स–साना त्रिपालका छाप्रा देखिन्छन् । छाप्रोमा दैनिक एक–दुई जना बाँदर धपाउने कृषक पनि हुन्छन् । उनीहरू यी छाप्रामा मकै, भटमास र कोदो बाली नभित्र्याउँदासम्म बस्ने गर्छन् । एकै छिन बाहिर गए आउने बेला बारीमा मकै नरहने हुँदा किसान दिनभरि बारी छेउमै बस्न बाध्य छन् । यो बेला किसानका लागि कामको चटारो हुने समय भए पनि बाँदर धपाउनका लागि कुरुवा राख्नुपर्ने बाध्यतामा उनीहरू छन् । जिल्लाको धेरै स्थानमा रातो बाँदर पाइन्छन् भने केही स्थानमा सेतो प्रजातिका बाँदरले पनि आतङ्क मच्चाउने गरेको कृषकले गुनासो गर्दै आएका छन् । हरेक वर्ष बाँदरले लाखौँको खाद्यबाली नष्ट गरिदिने गरेको पाइन्छन् । तर बाँदर नियन्त्रणका लागि स्थानीय पालिकाले कुनै नीति नल्याउँदा किसान निराश छन् । सयौँको सङ्ख्यामा रहेको बाँदरले बारीमा रहेको मकै एकैछिनमा नष्ट गर्ने हुँदा एक जना कुरुवा अनिर्वाय राख्नुपर्ने बाध्यता रहेको ढोरपाटन नगरपालिकाका किसान कृष्णबहादुर विकले बताए । असार अन्तिम सातादेखि बारी छेउमा छाप्रो बनाएर बस्न थालेको जनाउँदै उनले अब असोजमा मकै भित्र्याएपछि मात्रै कुरुवा बस्न नपर्ने बताए । बिहान सबेरै उठेदेखि रात झमक्क नपर्दासम्म बारीमै बस्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । ‘पहिले–पहिले बाँदर कम लाग्थ्यो, अहिले निकै ठूलो सङ्ख्या आउँछन्, दुई–तीन सयको सङ्ख्यामा आउने बाँदरले सिङ्गो बारीको मकै १० मिनेटमै सखाप पारिदिन्छ, त्यही भएर बिहानैदेखि यहाँ बस्नुपर्छ’, उनले भने, ‘के गर्ने बल्लतल्ल दुःख गरेर बाली लाइयो, यहाँ कुरेर बसिएन भने वर्षभरि भोकै बस्नुपर्छ, यो गाउँको सबैभन्दा ठूलो शत्रु नै बाँदर हो, हामी वर्षौँदेखि आजित भएका छौँ, सरकारले यो समस्या समाधानका लागि केही उपाय दिए ठूलो राहत मिल्ने थियो ।’ कतिपय किसानले बाँदरलाई डराउन दिनका लागि बारीको छेउछाउमा कुकुर बाँध्ने, पुरानो कपडाको डमी बनाएर राखेको देखिन्छन् । पहिले–पहिले कुकुर र डमीदेखि डराएर बारीमा बाँदर कम आउने गरे पनि अहिले डराउन छाडेको निसीखोलाका किसान निमबहादुर घर्तीले बताए। उनले घरमा कम सदस्य हुने परिवारले मान्छे खोजेर भए पनि कुरुवा राख्ने गरेको बताए । बाँदर कुर्दा घरको अन्य काम गर्न नपाउने घर्तीले दुःखेसो पोखे । बाँदरले हैरानी बनाएपछि गाउँका खेतीयोग्य जमिनमा बाली लगाउन छाडिएको उनको भनाइ छ । घर्तीले भने, ‘बाँदर नियन्त्रण गर्न धेरै कोसिस गरियो, धेरै उपाय पनि अपनाइयो तर सकिएन, दिनभरि कुरुवा नबसेसम्म बाली जोगिन्न, पहिले–पहिले कुकुरदेखि डराउने बाँदर अहिले उल्टै कुकुरसँग लड्न थालेको छ, मान्छे हैरान भइसके, त्यही भएर खेती पनि गर्न छाडे, हामी सानो–सानो हुँदा गाउँमा कुनै पनि बारी बाँझो रहँदैनथ्यो, अहिलेजस्तो बाँदर आतङ्क पनि थिएन, राम्रो उत्पादन हुन्थ्यो, अहिले घर अगाडिकै बारीमा आएर बाँदरले बाली खाइदिन्छ, त्यही भएर पनि मान्छेहरू बसाइँ सरे ।’ बाँदर नियन्त्रणका लागि निसीखोला गाउँपालिका–४ ले अघिल्लो वर्ष रु साढे चार लाख छुट्याएर काम गरेको थियो तर प्रभावकारी भने हुनसकेको थिएन । यस वर्ष नयाँ प्रविधिको प्रयोग गरेर बाँदर नियन्त्रण गर्ने योजना रहेको वडाध्यक्ष टीकानिधि पौडेलले बताए । पछिल्लो समय लेक–लेकबाट मध्यगाउँमै बाँदर आउन थालेको उनको भनाइ छ । कृषकलाई आधुनिक प्रविधिसँग जोडेर बाँदर आतङ्कबाट मुक्त बनाउनका लागि तीनवटै सरकारले सहकार्य गर्नुपर्ने अध्यक्ष पौडेल बताउछन् । ‘बाँदर आतङ्क बढ्दै गएको छ, पहिले यस्तो समस्या हुँदैनथ्यो, बसाइँसराइको प्रभाव हो कि, के हो अहिले गाउँगाउँमै बाँदर बस्न थालेको छ, हामीहरूले यसको नियन्त्रणका लागि केही प्रयास गर्यौँ तर त्यत्ति प्रभावकारी भएन’, उनले भने, ‘अब अलि फरक तरिकाले लाग्नुपर्ने देखियो, बाँदर धपाउने बन्दुक पट्काउँदा सुरुमा डराउने गरेको पाइयो पछिपछि टेर्न छाड्यो भन्ने गुनासो सुनियो, अब यसको दीर्घकालीन समाधान के हो त्यसका लागि विज्ञसँग बुझ्ने र समधान गर्नतर्फ लाग्नुपर्ने भयो ।’ रासस
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध
पाल्पा । तिनाउ गाउँपालिका–३ स्थित ड्यामसाइड क्षेत्रमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले गएरातिदेखि खसेको पहिरो पन्छाउने प्रयास भइरहेको जनाएको छ । सडक अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधन बीचबाटोमै अलपत्र परेका छन् । माथिबाट ठूलो ढुङ्गासहित अझै पहिरो खस्ने खतरा रहेको जनाइएको छ । बेला–बेलामा पाल्पा–बुटवल सडकको सिद्धबाबा क्षेत्रमा पहिरो खसेर समस्या भइरहेको छ । सडकमाथिबाट चट्टानसहितको पहिरो खसेर वर्षायाम मात्र नभई अन्य समय पनि यात्रा गर्ने यात्रु तथा सवारीसाधनले सास्ती भोग्नुपरिरहेको छ ।
विकासमा निजी लगानीलाई प्रोत्साहित गर्दै लगिने छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी बोर्डलाई सक्षम संस्थाको रूपमा विकास गरिने बताएका छन् । लगानी बोर्डको कार्यालयको वार्षिक प्रतिवेदन आज बिहान ग्रहण गर्दै उनले बोर्डलाई चुस्त, प्रभावकारी तथा विज्ञको ज्ञान एवं अनुभवलाई कार्यान्वयनमा लैजान सक्ने संस्थाका रूपमा अघि बढाइने बताए। प्रधानमन्त्री दाहालले बोर्डलाई सक्षम बनाउन आवश्यक नीतिगत, कानुनी तथा संस्थागत सुधारको खाका प्रस्तुत गर्न प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिए । उनले बोर्डलाई रणनीतिक पूर्वाधार परियोजना निर्माणमा मुख्य संरचनाका रूपमा विकास गर्ने सरकारको सोच रहेको बताए । समन्वय, सहकार्य र साझेदारीका क्षेत्रमा बोर्डको कार्यालयबाट पर्याप्त कार्य भएको आफूले महसुस गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले लगानी बोर्डलाई नयाँ उचाइ दिएर राष्ट्रको समृद्धि र विकासमा योगदान पुर्याउन आग्रह गरे । आगामी वर्ष पनि विगतमा जस्तै प्रभावकारी कार्यसम्पादन गर्न निर्देशन दिँदै उनले आफ्ना तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । गत आवमा बोर्डको कार्यालयबाट भएका कामले देशमा ठूला पूर्वाधार निर्माणमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) सहित निजी क्षेत्रको लगानी जुटाउन सकिन्छ भन्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले विकासमा निजी लगानीलाई प्रोत्साहित गर्दै लैजान सरकार प्रतिबद्ध रहेको बताए । बोर्डबाट एउटा उच्चस्तरीय व्यावसायिक संस्थाका रूपमा काम भएको र अन्तर्राष्ट्रियस्तरका केही संस्थाबाट समेत बोर्डको कार्यालयको व्यावसायिकता र कार्यसम्पादनका सम्बन्धमा पाएको प्रतिक्रियाले आफू निकै उत्साहित भएको उनको भनाइ थियो । प्रधानमन्त्री दाहालले परियोजना विकासमा बार्डले अपनाएको ‘स्क्रिनिङ’ प्रक्रिया वैज्ञानिक तथा समयसापेक्ष भएको र अब परियोजनाको पहिचान र ‘स्ट्रक्चरिङ’मा सम्बन्धित मन्त्रालयबाट सहयोग लिई काम गर्नुपर्ने बताए । सो अवसरमा कार्यसम्पादन प्रतिवेदन पेस गर्दै बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टले गत आवमा बोर्डको म्यान्डेट, बोर्डको व्यावसायिक योजनासहितको रणनीतिक योजना तथा नेपाल सरकारको बजेट तथा कार्यक्रमको अधिनमा रही सम्पन्न भएका कार्यप्रगतिबारे विस्तृत प्रतिवेदनमा प्रस्तुत गरिएको बताए । उक्त प्रतिवेदनमा चार खम्बे रणनीतिबमोजिम परियोजना व्यवस्थापन, लगानी प्रवर्द्धन, संस्थागत विकास र समन्वय, सहकार्य र साझेदारीअन्तर्गतका कार्य प्रस्तुत गरिएको छ । प्रत्येक कार्यलाई परिणाममा आधारित सूचक एवं संक्षिप्त व्याख्यासहित राखिएको छ । कार्यकारी अधिकृत भट्टले गत आवमा चारवटै स्तम्भमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताउँदै आगामी आर्थिक वर्षमा आफूले सम्पन्न गर्ने मुख्य कार्य संक्षिप्तरूपमा प्रधानमन्त्रीलाई ‘ब्रिफ’ गरेका थिए । प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष समक्ष कार्यकारी अधिकृतले प्रतिवेदन पेस गर्ने तथा बोर्ड अध्यक्ष र कार्यकारी अधिकृतबीच कार्यसम्पादन करार गर्नुपर्ने व्यवस्था छ ।
नयाँ बसपार्कमा यात्रुको झोला तानेर हैरानी दिने व्यक्ति पक्राउ
काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको नयाँ बसपार्कमा यात्रुको झोला जथाभावी तानेर यात्रुलाई दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँबसपार्कमा यात्रुको झोला तानेर दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरी कारबाही गर्दै आएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल अधिकारीले विभिन्न स्थानबाट काठमाडौँ आएका यात्रुलाई जबर्जस्ती झोला तानेर दुःख हैरानी दिने ट्याक्सी चालक, होटेल सञ्चालक र होटलमा कार्यरत कर्मचारीलाई पक्राउ गरिएको जानकारी दिए। प्रहरीले शनिवार मात्र नयाँबसपार्कबाट १० जनालाई नियन्त्रणमा लिएको छ। जसमध्ये चारजना होटेल सञ्चालक रहेका छन्। ‘सुरुको समयमा सम्झाइबुझाई गरेर छाडेका छौँ, उक्त घटना दोहोरिएको खण्डमा कारबाही प्रक्रिया अगाडि बढाउँछौँ’, उनले भने। प्रहरीले उक्त अभियानलाई निरन्तरता दिने उनको भनाइ छ। नेपाली होटेल व्यवसायी सङ्घका अध्यक्ष गणेश ढकालले होटेल व्यवसायी सङ्घ र नेपाल प्रहरीको संयुक्त टोलीले यात्रुलाई दुःख हैरानी दिनेलाई कारबाहीका लागि अभियान सञ्चालन गरेको बताए। यात्रुलाई दुःख तथा हैरानी दिने जो–कोहीलाई कारबाही हुनुपर्ने उनको भनाइ छ। ‘यात्रुले सुरुमै आफ्नो गन्तव्यस्थल पहिचान गरी काठमाडौँ आएका हुन्छन्, उनीहरूलाई बसपार्कमा गएर जथाभावी झोला तान्ने तथा दुःख हैरानी दिने काम गर्नु हुँदैन, यात्रु पनि कुनै किसिमको प्रलोभनमा पर्नुहुँदैन’, उनले भने। सङ्घले पछिल्लो समय होटेल क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न तथा व्यवस्थित रूपमा होटेल सञ्चालन गर्नका लागि होटलमा अनिवार्यरूपमा ‘सिसी क्यामेरा’ जडान गर्ने कामलाई समेत अगाडि बढाएको छ।