विकासन्युज

यस वर्ष उपत्यकामा २७ पार्क बनाउने विकास प्राधिकरणको तयारी

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरण (केभीडीए)ले उपत्यकाभित्र चालु आर्थिक वर्ष २०८०/८१ मा २७ वटा पार्क बनाउने तयारी गरेको छ । उपत्यका भित्रका अतिक्रमित सार्वजनिक जग्गाको संरक्षण गर्ने उद्देश्यले पार्क निर्माण गर्ने योजना बनाएको केभीडीएले बताएको छ । केभीडीए अन्तर्गतका जिल्ला आयुक्तको कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरमा पार्क निर्माण गर्न लागेका हुन् । तीनवटै जिल्लाका आयुक्तका कार्यालयहरूले कात्तिक अगावै पार्क निर्माणको लागि ठेक्का सम्झौता गरिसक्ने केभीडीएका सूचना अधिकारी सौरब ढकालले बताए । ‘अर्थ मन्त्रालयले कात्तिक मसान्तभित्र ठेक्का सम्झौता गर्न र सम्झौता नभए बजेट फ्रिज हुन्छ भनेको छ, सोहीअनुरूप पार्क निर्माणको तयारी हुन्छ’, उनले भने । कहाँ–कहाँ बन्दै छन् पार्क ? काठमाडौं, भक्तपुर र ललितपुरमा निर्माण हुने छन् । ती जिल्लामा पार्क निर्माणको लागि चालु आर्थिक वर्षमा दुई करोडभन्दा बढी बजेट विनियोजन भएको छ । केभीडीएका अनुसार बुहुवर्षे पार्कलागि पनि बजेटमा रकम राखिएको छ । यस वर्ष सबैभन्दा बढी पार्क काठमाडौं जिल्लामा बन्ने केभीडीएको बजेटमा उल्लेख छ । जिल्ला आयुक्त कार्यालय भक्तपुरले भक्तपुरका विभिन्न स्थानमा तीन वटा पार्क निर्माण गर्दैछ । यस वर्ष चाँगुनारायण नगरपालिका–१ स्थित रोक्का गाउँमा पार्क निर्माण हुनेछ । त्यस ठाउँको सार्वजनिक जग्गा संरक्षणका लागि हरियाली सहितको पार्क निर्माण गर्ने भनिएको छ । उक्त पार्क निर्माणको लागि १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । त्यसैगरी, नगरकोट शान्ति डाँडामा निर्माण हुने पार्कको लागि पनि १५ लाख रुपैयाँ बजेट छुट्टयाइएको छ । भक्तपुर नगरपालिका– ८ र चाँगुनारायण नगरपालिका–९ स्थित ब्रह्मायणी मन्दिर परिसरमा पार्क निर्माणका लागि ५५ लाख रुपैयाँ बजेटको व्यवस्थापन गरिएको छ । यसैगरी जिल्ला आयुक्त कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिकाको–३२ मा २५ लाख रुपैयाँको लगानी गरेर श्रृङ्खला गल्ली कोटेश्वरमा पार्क निर्माण गर्ने भएको हो । त्यसैगरी, बाग्मती किनारको सहयोगी नगरमा रहेको सार्वजनिक जग्गामा बगैंचा तथा पार्क निर्माण गर्नको लागि १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाकाले विभिन्न पाँच स्थानमा पार्क निर्माण गर्ने भएको छ । ६ नम्बर वडामा अवस्थित डुमाखाल जौटार चौरमा पार्क निर्माण गर्नको लागि १५ लाख रुपैयाँ बजेट छुट्याएको छ । वडा नम्बर ७ स्थित दरबार क्षेत्र अन्तर्गत रहेको सार्वजनिक जग्गामा पार्क बनाउनको लागि केभीडीएले १० लाख रूपैयाँ बजेट रहेको जनाएको छ । वडा नम्बर ७ कै कार्की हाइट र अमरसिंह चोक स्थित दरबार क्षेत्र अन्तर्गतको सार्वजनिक जग्गामा पार्क बन्ने भएको छ । उक्त स्थानमा पार्क बनाउनको लागि ३० लाख रूपैयाँ बजेट छुट्टयाइएको केभीडीएले बताएको छ । आयुक्त कार्यालय काठमाडौंले सोही नगरको ७ र ८ नम्बर वडाको सिमानामा पर्ने गोठाटार किरियापुत्री भवन, धारासहित पार्क निर्माण गर्न लागिएको छ । जसको लागि ३० लाख रुपैयाँ बजेट छुट्याइएको केभिडिएले बताएको छ । त्यसैगरी, वडा नम्बर–२ को जालपादेविमा सामुदायिक क्रियापुत्री भवन र पार्क बनाउने योजना रहेको केभीडीएले बताएको छ । भवन र पार्क निर्माणको लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिको वडा नम्बर ४ मा चम्पादेवी पार्क बन्दै छ । यो बहुवर्षे आयोजना हो । जसको लागि यो वर्ष भने १५ लाख रुपैयाँ बजेट छुट्याएको छ । चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ र ९ को सिमानामा रहेको पुच्चछर धारा पार्क निर्माण तथा खोला व्यवस्थापनका लागि २० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । त्यसैगरी, वडा नम्बर १३ बिध्यामन्दिर स्कुल अगाडि रहेको सार्वजनिक जग्गामा बगैंचा तथा पार्क निर्माणको लागि १५ लाख छुट्याइएको छ । टोखा नगरपालिका वडा नम्बर ९ को कार्यालयसँगै रहेको सार्वजनिक जग्गामा पार्क निर्माण गरिने भएको छ । त्यसका लागि ३० लाख रुपैयाँ बजेट छुट्याइएको छ । तारकेश्वर नगरपालिकामा ४ वटा पार्क निर्माणको योजना छन् । नगरको वडा नम्बर ५ मा बिन्ध्बासिनी मन्दिर परिसर, वडा ६ को महांकाल मन्दिर परिसरमा पार्क निर्माण र वडा १ को विन्दवासिनी परिसरमा पिकनिक स्पोर्टसहित पार्क निर्माण गर्न १५/१५ लाख रुपैयाँ बजेट छुट्याइएको छ । सोही नगरपालिकाकै वडा नम्बर–१ साङ्ला नयाँबस्ति रमाइलो डाँडा पार्क निर्माण लागि ३० लाख बजेट विनियोजन भएको छ । दक्षिणकाली नगरपालिकामा दुई वटा पार्क निर्माण गरिने भएको छ । नगरको वडा ७ मा रेटोरिकल पार्क निर्माणका लागि १० लाख रुपैयाँ र दक्षिणकाली मन्दिर परिसरमा पार्क निर्माण गर्न ४५ लाख बजेट विनियोजन भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ९ मण्डीकाटारको फेदीमा रहेको राधाकृष्ण मन्दिर पार्क निर्माणको लागि २० लाख रुपैयाँ विनियोजन भएको छ । शंखरापुर नगरपालिका वडा नम्बर ८ स्थित शालीनदि पार्क निर्माणको लागि ३५ लाख रुपैयाँ बजेट छुट्याइएको छ । यस्तै सोही नगरपालिकाको वडा ९ खर्क डाँडा पिपलमा चौतारा निर्माण र ढिकुरे पाटी परिसरमा वाल र जेष्ठ नागरिक पार्क निर्माण को लागि २५ लाख बजेट विनियोजन भएको केभिडिएले बताएको छ । जिल्ला आयुक्त कार्यालय ललितपुरले जिल्लाभित्र तीन वटा पार्क बनाउने भएको छ । कार्यालयले महालक्ष्मी नगरपालिका वडा नम्बर ८ मा रहेको ढुङ्कोट र लुभु मावि पछाडिको सार्वजनिक जग्गा संरक्षण गरी पार्क निर्माण गर्ने भएको छ । सो ठाउँमा पार्क निर्माण गर्नको लागि ३० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । ललितपुर महानगरभित्र दुई वटा पार्क निर्माण हुने भएका छन् । महानगरको वडा नम्बर २५ सैंबु भैसेपाटीमा पार्क निर्माणका लागि ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ । यस्तै महानगरकै वडा नम्बर २५ भैसेपाटीमा फूलबारी पार्क निर्माण गर्न ४० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । दुई पार्कको स्तारोन्नति हुने यस वर्ष पार्क निर्माण मात्र नभई पार्क स्तारोन्नती गर्ने विषय पनि वार्षिक बजेटमा समेटिएको छ । यस वर्ष भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नम्बर एक मनोरम नगर पार्कको स्तारोन्नति गर्नको लागि २५ लाख रुपैयाँ बजेट छुट्याइएको छ । त्यसैगरी, टोखा नगरपालिकाका वडा नम्बर ६ विन्ध्यवासिनी पार्क स्तरोन्नतिका लागि २५ लाख रुपैयाँ बजेट सुनिश्चित गरिएको छ ।

गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नापी अधिकृतविरुद्ध मुद्दा दायर, १ करोड ४ लाख बिगो दाबी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले नापी अधिकृत पुरीको सार्वजनिक सेवा प्रवेश गरेदेखि गत असार मसान्तसम्मको सम्पत्तिको अध्ययन गरेको थियो । आयोगका अनुसार पुरीले २०५२ पुस ९ गते सार्वजनिक सेवामा प्रवेश गरेका थिए । सो अवधिमा पुरीको वैध आय एक करोड २० लाख ७७ हजार सात सय ४८ रुपैयाँ बराबर रहेको पाइएको छ । त्यसमा पारिश्रमिक, अन्य भत्ता, विभिन्न बैंक तथा वित्तीय संस्था वा सहकारीबाट प्राप्त रकम, ब्याजआय र जग्गाको मुआब्जालगायत रहेको छ । सो अवधिमा पुरीले दुई करोड २४ लाख ८१ हजार छ सय ९० रुपैयाँ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । खर्चको तुलनामा आय कम रहेको तथा वैध स्रोतसमेत नभएको पाइएकाले आयोगले नापी अधिकृत पुरीविरुद्ध एक करोड चार लाख तीन हजार नौ सय ४१ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ । आयोगले बिगो बमोजिम जरिवाना र कैद सजायको माग गरेको छ । सार्वजनिक पदमा रहँदा गैरकानुनीरुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्ति श्रीमती सिर्जना गिरीको नाममा राखेको पाइएको छ । आयोगले सिर्जनालाई समेत प्रतिवादी कायम गर्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए  ।

आम्दानीको स्रोत बन्दै जङ्गली च्याउ, प्रोटिन र भिटामिन प्रशस्त पाइने

गलेश्वर । पश्चिम र उत्तरी म्याग्दीका गाउँमा रहेका होटल तथा  घरबासका मुख्य परिकार हो जङ्गली च्याउ । जङ्गलको ठुटामा पाइने च्याउकै स्वाद लिन आन्तरिक पर्यटक म्याग्दीका ग्रामीण क्षेत्रको होटल तथा घरबास (होमस्टे) पुग्न थालेका छन् । च्याउबाहेक जङ्गली रातो च्याउ, फापर, भाँगोको चट्नी र कोदोको ढिँडो, लोकल कुखुरा र सिमीको दाल ग्रामीण क्षेत्रमा रहेका होटल र घरबासका मुख्य परिकार हुन् । पश्चिम म्याग्दीको दरबाङ बजार कटेपछि रुम, दिच्याम, मुना, मुदी, लुलाङ, गुर्जा, देवीस्थान, बिम जुनसुकै ठाउँका होटल तथा घरबासमा प्राङ्गारिक परिकारले नै  पर्यटकको स्वागत  गरिन्छ । पदयात्रामार्फत धवलागिरि हिमाल आरोहणका लागि जाने विदेशी पर्यटक होउन् वा गुर्जा, मुदी र पश्चिमी क्षेत्रका अन्य पर्यटकीय क्षेत्र पुग्नेहरूको स्थानीय परिकारकारुपमा पहिलो रोजाइ रातो च्याउ पर्ने गरेको मुनाकी कमला तिलिजाले बताए । धवलागिरि, मालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाको अधिकांश जङ्गलमा रातो च्याउ पाइन्छ । जङ्गलमा जोखिमपूर्ण तरिकाले रातो च्याउ टिपेर ल्याउनुपर्ने भएकाले यसको मूल्य निकै महङ्गो हुन्छ । प्रोटिन र भिटामिनका लागि राम्रो मानिने जङ्गली रातो च्याउ म्याग्दीका ग्रामीण बस्तीमा पुग्ने जो कोहीले रुचाउने परिकार हो । घरबासमा आउने अधिकांशले रुचाउने परिकारमध्ये रातो च्याउ प्रमुख भएको मुना घरबासका सञ्चालक रेजिना पुनले बताए । ‘घरबासमा आउने जो कोहीले खानका लागि र कोशेलीका लागि रातो च्याउ खोज्ने गरेका छन्’, उनले भने, ‘पाहुनाले आफ्ना परिवारका सदस्य रहेका युरोप तथा अमेरिकालगायत मुलुकमा समेत कोशेलीका लागि यही रातो च्याउ खरिद गर्दै आएका छन् ।’ रातो च्याउ आलोमा आठ सय र सुकाएको चार हजारमा बिक्री हुने गरेको दरबाङस्थित आत्मनिर्भर साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष शन्तनाथ सुवेदीले बताए । जङ्गली च्याउको माग बढ्दै गएपछि पश्चिम म्याग्दीवासीले जङ्गली च्याउ सुकाएर राख्ने गरेका छन् । सुकेको रातो च्याउको माग धेरै भएपछि पुर्याउनै नसकिएको उनको भनाइ थियो । स्थानीयवासीले जङ्गलमा घाँस दाउरा गर्न जाने क्रममा काठको ठुटामा फलेको रातो च्याउ टिपेर ल्याउने गरेका छन् । हालसम्म रातो च्याउ व्यावसायिकरूपले बिक्रीवितरण नभएको रुम निवासी टेकबहादुर घर्तीले बताए । अहिले जङ्गलमा सानैमा च्याउ टिप्न थालेपछि उत्पादन घट्नाका साथै मूल्य बढ्दै गएको उनको भनाइ थियो । उच्च हिमाली भेगमा ठूला रूखमा रातो च्याउ पाइन्छ । जङ्गलमा पाइने अधिकांश च्याउ विषालु हुने भएकाले स्थानीयवासीले मात्रै खानामा प्रयोग हुने च्याउ पहिचान गर्न सक्दछन् । रुमको उच्च भागमा रहेका घरमा अहिले जङ्गली रातो र सेतो च्याउ थोरधेर सुकाएकै पाइन्छ । रातो च्याउ रुमलगायत देवीस्थान, बिम, दिच्याम, गुर्जा, ओखरबोटलगायत जङ्गलमा पाइन्छ । रातो च्याउ सुकाएपछि लामो समयसम्म रहने भएकाले कोशेलीका रुपमा प्रयोग हुँदै आएको बेनी बजारमा लामो समयदेखि प्राङ्गारिक च्याउ उत्पादनको व्यापार गर्दै आएका सुमन पौडेलले बताए । उनले च्याउको महत्व बुझ्नेले जापान, अमेरिकालगायत देशमा आफन्तलाई कोशेलीका रूपमा पठाउने गरेको जानकारी दिए । देवीस्थानकी रुपमाया घर्ती, रुमका बुद्धबहादुर विक, देविस्थानकी माया सिउथानीलगायत यस क्षेत्रका २० भन्दाबढी व्यक्तिले जङ्गली रातो च्याउ सङ्कलन गरी बिक्री गरेर वार्षिक ५० हजारदेखि  दुई लाखसम्म आम्दानी गर्दै आएका छन् । रुमका बुद्धबहादुर विकले यस वर्षमात्रै ४७ हजार रुपैयाँको रातो च्याउ बिक्री गरेको जानकारी दिए । व्यावसायिक उत्पादन गर्नसके रातो च्याउको भविष्य रहेको उनको भनाइ थियो । सिताके च्याउको व्यावसायिक उत्पादन थालिए जसरी नै रातो च्याउको पनि उत्पादन गर्न सकिने सम्भावना रहेको दरबाङस्थित  आत्मनिर्भर साना किसान सहकारी संस्थाका अध्यक्ष शन्तनाथ सुवेदीले बताए । उनले भने, ‘अब जङ्गललाई घाँस दाउरामा मात्रै सीमित गर्न भएन, जसरी नौ महिनामा फल्ने सिताके च्याउको वैज्ञानिक तरिकाले तीन महिनामै फल्ने बीउ उत्पादन गरियो त्यसरी नै रातो च्याउको पनि बीउ विकास गर्न सकिन्छ ।’ यहाँको रातो च्याउ विदेशमा समेत पठाउन थालिएकाले आम्दानीको राम्रो स्रोत पनि बन्दै गएको छ । रासस

सार्वजनिक खरिद अनुगमन कार्यालय ताहचलमा भुक्तानी नभएको भन्दै निर्माण व्यवसायीको धर्ना

काठमाडौं । निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद अनुगमन कार्यालय ताहचलमा धर्ना दिएका छन् । आइतबार निर्माण व्यवसायीहरुले सरकारले आयोजनाहरुको म्याद थपको आदेश र भुक्तानी लगायतका विषयलाई लिएर सार्वजनिक खरिद अनुगमन कार्यालय ताहचलमा धर्ना दिएका हुन् । महासंघले सोमबार प्रधानमन्त्री निवास अगाडि सेफ्टी हेल्मेट र ज्याकेट लगाएर धर्ना दिने बताएको छ । महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरुका मागहरुलाई प्रधानमन्त्रीदेखि मन्त्री र विभिन्न मन्त्रालयका सचिवहरुलाई ध्यानाकर्षण गराउँदा समेत माग सम्बोधन नभएकाले आन्दोलन गर्न बाध्य भएको बताए । उनले अर्थमन्त्रीले गत आर्थिक वर्षको बजेटमा नै जेठ १५ भित्रै माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएकाले आन्दोलनका कार्यक्रम स्थिगित गरेर बसेको तर सरकारको प्रतिवद्धता अनुसार बजेटमा सम्बोधन नभएको बताए । उनले निर्माण व्यवसायीहरुलाई राज्यले गर्नुपर्ने भुक्तानी समेत प्रतिवद्धता अनुसार हुन नसकेको बताए । अध्यक्ष सिंहले सरकारबाट भुक्तानी नहुँदा देशभरका निर्माण व्यवसायीहरुले मजदुरहरुको भुक्तानी समेत दिन नसकेको बताए । उनले सरकारले निर्माण व्यवसायीहरुलाई भुक्तानी दिन नसक्दा व्यवसायीहरु चेक बाउचमा परेर प्रहरीको धरपकडमा समेत पर्ने थालेको गुनासो गरे । उनले देशभरका निर्माण व्यवसायीहरुले ७७ जिल्लाका प्रमुख जिल्ला कार्यालय र सात प्रदेशका मुख्यमन्त्री कार्यालय अघि धर्ना दिएको बताए । व्यवसायीहले सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर,सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर,जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर,व्यवहारिक माइल स्टेन खारेज गर,गुणस्तर र समयमा निर्माण हाम्रो प्रतिवद्धता,उपभोक्ताबाट निर्माण कार्य गर्ने नियम खारेज गर, खरिद नियमावलीको नियम ६ लाई कडाईका साथ लागू गर र निर्माण व्यवसायी एकता जिन्दावाद लेखेको प्लेकार्ड बोकेर बिरोध प्रदर्शन गरेका छन् ।

एनसीआईटीको परियोजना प्रदर्शनी तथा करियर फेयर सम्पन्न

काठमाडौं । नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी)को वार्षिक कार्यक्रम ‘एनसीआईटी फेस्ट’ शनिबार भएको छ । यस अन्तर्गत स्नातक अध्ययनरत अन्तिम वर्षका विद्यार्थीले तयार पारेका परियोजनाको एक दिने प्रदर्शनी तथा करियर फेयर सम्पन्न गरियो । बालकुमारीस्थित कलेज परिसरमा भएको उक्त प्रदर्शनी कलेजको आयोजनामा भएको हो । यस वार्षिक कार्यक्रमको उद्देश्य एकेडेमिया र उद्योगबीचको अन्तर कम गर्नु रहेको छ । अन्तिम वर्षका विद्यार्थीहरूलाई भविष्य तथा आगामी जीवनबारे छलफल गर्न करियर फेयर गरियो । यसका लागि ६० बढी कम्पनीलाई बोलाइएको थियो । प्रदर्शनीमा सूचना प्रविधिसँग सम्बन्धित विभिन्न ५२ ओटा परियोजना राखिएको थियो । जसमा हाइकी ( इम्पावरिङ ट्रेकिङ एडभेन्चर, ई-स्वास्थ्य, डिजास्टर न्युज क्लासिफिकेसन, पी-टू-पी लेन्डिङ एप, भर्चुअल फिटनेस कोच, हेल्थ मेट, सानोलगानी, होम अटोमेसन, क्लिनगभ, होस्टल फाइन्डर, क्रप रेकमेन्डेसन सिस्टम लगायतका परियोजनाहरू थिए । यसबाहेक ३७ स्टार्टअपको व्यापारिक योजना समेत प्रस्तुत भएको थियो । यसबाहेक ३७ स्टार्टअपको व्यापारिक योजना समेत प्रस्तुत भएको थियो । बिहान ११ बजेदेखि सुरु भएको कार्यक्रममा ५०० बढीले अवकोलन गरे । कार्यक्रममा क्लाउड फ्याक्ट्री, जब्सनिपर, नेपाल ओपेन स्रोस क्लब, भेरिस्क इन्फर्मेसन टेक्नोलोजी, लगपोइन्ट, स्विफ्ट टेक्नोलोजी आदि कम्पनीका प्रतिनिधिहरू आएका थिए ।

ठुला मिटरब्याजी विरुद्ध जिल्ला प्रशासन कार्यालय ललितपुरले थाल्यो कार्बाही

काठमाडौं । बैशाख २० गते गठन भएको अनुचित लेनदेन (मिटरब्याज)को आयोग गठन भएको लगत्तै ललितपुरमा मात्र २०० भदा बढी मिटरब्याज पिडित पक्षले उजुरी दिएका थिए । ललितपुर जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनेमा देशकै सबैभन्दा ठुलो मुद्धा समस्यामा परेको देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाँइले दर्ता गराएका थिए । उनले १५ जना मिटरब्याजी विरुद्ध ५ अर्ब ४० करोड बराबरको मुद्धा असार १२ गते जिप्रका ललितपुरमा दर्ता गराएका थिए । सो मुद्धामा असार २५ गतेदेखि छानवीन सुरु भएको थियो । छानविन सुरु भए लगत्तै २ जना मिटरब्याजीले चलनचल्ती भन्दा बढी लगेको ब्याज फिर्ता गरेका मिटरब्याज पिडित चौलागाइले बताए । उनले उजुरी दिएकामध्ये बाँकी १३ जनासँग ठुलो कारोबार भएको कारण छानबीन गर्न समय लागेको देखिन्छ । चौलागाइले दर्ता गरेको मुद्धामा सबैभन्दा धेरै कारोबार पुल्चोकका रोविन मर्हजनसँग भएको पाइएको छ । उनीसँग करिव ४ अर्ब करोबार भएको चौलागाइको दाबी छ । विवरण हेर्दा रोविन मर्हजनले चौलागाइलाई दिएको कारोबार ६० करोड छ भने उनले चौलागाइसँग ४ अर्ब बराबर बैंकमार्फत लिएको देखिएको छ । सामान्य जग्गाको कारोबार गर्ने रोविन मर्हजनको ३ बर्ष यता करिव ६ अर्ब सम्पति थुप्रिएको सेतले बतायो । उनको ललितपुर सैबु भैसेपाटी आवासभित्र ३ वटा घर, करिव ५० करोड मुल्य बराबारको सातदोबाटोमा २० आनामा आलिसान घर, करिव ३० करोडको वि एण्बी अस्पतालसँगै १७ आना जग्गा, २५ करोड बराबरको झम्सीखेलमा २३ आनामा आलिसान दरबार (जो ५५ करोड भन्दा बढीको छ, जहाँ उनी आफै बस्ने गरेका छन् ), झम्सीखेल डिएभी स्कुल मेनरोडमा २५ आनामा करिव ६० करोडको जग्गा, बखुन्डोल चैतन्य स्पा ३२ आनामा करिव ५० करोडको स्पा, सानेपामा १० आना जग्गा, इमाडोलमा १० आना जग्गामा घर रहेको स्रोतले बतायो छ । उनको ब्यापारका नाममा साम्राट मार्केटिङ नाम गरेको छोराको नाममा कम्पनी समेत छ । जसमा केही ब्यापार छैन । उक्त कम्पनीमा माछापुच्छ्रे बैकले ४ करोड कर्जा दिएको छ । रोविन मर्हजनको पुच्वः नाम गरेको सहकारी पनि छ । उनका नगद करोबार कुमारीपाटी पञ्चशिल सहकारी, ज्योतीपुञ्ज सहकारी, पुच्वः सहकारीमा ठुलो कारोबार गरेको देखिन्छ । सामान्य व्यापारीको नाममा यी सहकारीले अरबौ कारोबार कसरी गरे ? जिल्ला प्रशासन कार्यालयले रोविनको सबै कारोबार मागिसकेको छ । उनको कारोबारमाथी शंका उब्जिसकेको छ । उनको बैंक र सहकारी गरेर करिव ७ अर्ब जतिको कारोबारको कागजपत्र प्रशासन कार्यालयमा पुगिसकेको छ । अरु आउन बाँकी छ भन्ने कुरा मिटरब्याज आयेगले बताएको छ । २०८० सालमा समस्यामा परेको गुडवील सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ अहिले जेलमा छन् । उनको नाममा पनि कारोबार देखिएका कारण उनलाई बयान दिनका लागि जिप्रका बोलाइएको थियो । नीज दिवाकर श्रेष्ठले पनि रोविन मर्हजनले २ अर्ब मिटरब्याज लिएकोले आफनो सहकारीको पैसा फिर्ता दिन नसकेर जेल परेको बताउने गरेका छन् । रोविन लगायत अरु १२ जना रवि मर्हजन, विज्ञान भारी, देवेन्द्र आचार्य, मोहन घिमिरे, सुमन मर्हजन, सञ्जय अधिकारी, रुविन मर्हजन, सिताराम राउत, विवेक केसी, आशिस प्रधान सबै मिटरब्याजी पुष्टि भएको जनाइएको छ । उनीहरु विरुद्ध ज्ञानेन्द्र मर्हजन जस्तै सम्पत्ति सुद्धिकरण गरी जेल चलानसम्म हुनसक्ने सम्भावना रहेको हालै राष्टपतीबाट मिटरब्याज सम्बन्धी विद्ययक पारित हुनुले देखाएको छ । उनीहरु उच्च तहका नेताहरुको संरक्षणमा रहेपनि मिटरब्याजीलाई कार्वाही गर्ने कानुन बनेकाले गलत गर्ने कोही पनि उम्कन नसक्ने देखिएको छ ।

बाह्रबिसे सबस्टेसन तत्काल निर्माण सक्नु पर्ने दबाबमा नेपाल विद्युत प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरण सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्नु पर्ने दबाबमा परेको छ । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा अगाडि बढाइएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत्को निर्माण अन्तिम चरणमा पुगेपछि आयोजनाको विद्युत् जोडिने सबस्टेसन निर्माण सम्पन्न गर्न प्राधिकरणलाई दबाब परेको छ । मध्यकोटीशीको निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने गरी अन्तिम चरणका कामहरु भइरहेका छन् । मध्यभोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । आयोजनाले आफ्नो विद्युतृगृहबाट बाह्रबिसे सबस्टेसनसम्मको प्रसारण लाइनका टावरहरु निर्माण गरिसकेको छ भने तार तान्ने काम भइरहेको छ । बाह्रबिसे सबस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीहरू ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमको कमजोर कार्यसम्पादनका कारण सबस्टेसनको निर्माण ढिलाइ हुँदै आएको छ । प्राधिकरणले कार्यसम्पादनमा सुधार्न पटक पटक दिएको निर्देशक निर्माण व्यवयासीले पालना नगर्दा सबस्टेसन निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको छ । प्राधिकरणले सबस्टेसनको निर्माण सम्पन्न नभएर मध्यभोटेकोशीको विद्युत् जोड्न नसकिएमा त्यसको क्षतिपूर्ति निर्माण व्यवसायीबाट भराउने चेतावनी दिंदै आएको छ । कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ, आयोजना व्यववस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक तारा प्रसाद प्रधान सम्मिलित प्राधिकरणको उच्चस्तरीय टोलीले शनिवार सबस्टेसन निर्माणस्थलको अनुगमन भ्रमण गरेको छ । टोलीले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या, उपकरण आपूर्तिको अवस्था, निर्माण सम्पन्न हुने तालिकालगायतका विषयमा छलफल गरेको थियो । कार्यकारी निर्देशक घिसिङले गत फागुनपछि निर्माण व्यवसायीले आफ्नो कार्यसम्पादनमा केही सुधार गरेको देखिएको बताए । श्रमिकको संख्या थप गरी निर्माणमा तिब्रता दिन निर्देशक दिंदै घिसिङले निर्माण प्रगतिको जानकारी लिन आफूले साप्ताहिक रुपमा सबस्टेसनस्थल आएर नियमित अनुगमन गर्ने बताउनुभयो । ‘पावर ट्रान्सफर्मरलगायतका सबस्टेसन राखिने उपकरणहरु निर्माण स्थलमा आइसकेका छन्,निर्माणमा ढिलाइ गर्नु पर्ने कुनै कारण नै छैन, निर्माणमा हाम्रोतर्फबाट सहजीकरण गर्न तयार छौं, तीन महिनाभित्रमा जसरी पनि निर्माण सम्पन्न गर्नुपर्छ नत्र मध्यभोटेकोशीको विद्युत् खेर फाल्नु पर्ने पीडादायी अवस्था आउन सक्छ,त्यसैले यसलाई ध्यान दिएर सबैले काम गरौं’ उनले भने । कम्पनीले सबस्टेसनमा रहने पावर ट्रान्सफर्मरलगायतका उपकरणहरु ल्याइसकेको छ भने ट्रान्सफर्मर रहने स्थान, नियन्त्रण कक्ष भवन निर्माणाधीन छन् । सबस्टेसनमा २२०÷१३२ केभी, १६० एमभीए र १३२÷११ केभी,५ एमभीएका पावर ट्रान्सफर्मरहरु रहने छन् । बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ । प्राधिकरणले मध्यभोटेशीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरेको छ । तर, त्यसका लागि पनि बाह्रबिसे सबस्टेसनको निर्माण अनिवार्य छ । २२ मेगावाटको माथिल्लो चाकू ए जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभि सिंगल सर्किट प्रसारण लाइनलाई डबल बनाउन लागिएको छ । शिवश्री हाइड्रोपावरले लामोसाँघू सबस्टेसनबाट बाह्रबिसेसम्म बनाउनु पर्ने उक्त लाइनको कामसमेत सुरु हुन सकेको छैन । कम्पनी करिब १० किलोमिटर लाइनमध्ये सात किलोमिटर तार तान्नु पर्ने छ भने बाह्रबिसे बजार नजिकबाट सबस्टेसनसम्म करिब तीन किलोमिटर चार सर्किट (मल्टी सर्किट) प्रसारण लाइन बनाउनु पर्ने छ । तर, कम्पनीले अहिलेसम्म उक्त काम सुरु नै गरेको छैन । प्राधिकरणको उच्चस्तरीय टोलीले निर्माण काम तत्काल सुरु गर्न कम्पनीलाई आग्रह गरेको छ । प्राधिकरणले लामोसाँघू सबस्टेसनमा बे विस्तारको काम गरिरहेको छ । तामाकोशी तथा सुनकोशी नदी र ती नदीहरूका सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोशी–काठमाडौँ प्रसारण लाइन र सबस्टेसन निर्माण सुरु गरिएको हो । एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा प्रसारण लाइन तथा सबस्टेसनको निर्माण भइरहेको छ । तामाकोशी–काठमाडौं २२०÷४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट बाह्रबिसेसम्म ४४ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । त्यस्तै बाह्रबिसेबाट काठमाडौंको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट तथा लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १४ किलोमिटर १३२ केभी प्रसारण लाइन पनि निर्माणाधीन छन् । लप्सीफेदीमा ४००÷२२० र १३२÷११ केभी सबस्टेसन स्थानीय बासिन्दाको अवरोधका कारण निर्माण प्रभावित भएको छ ।

सुनको कनेक्सन जोडिएको भन्दै होटलमा राजश्व विभागको छापा

काठमाडौं । एक सय क्विन्टल सुन प्रकरणमा कनेक्सन जोडिएको भन्दै राजश्व अनुसन्धान विभागले ठमेलको एक होटलमा छापा मारेको छ । आइतबार विहान विभागले ठमेलमा रहेको होलट भियनामा छापा मारेको हो । विभागको टोलीले आइतबार बिहान उक्त होटलका सञ्चालक दावा छिरिङलाई पक्राउ गरेको छ । गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको स्कुटरको ब्रेक शु मा भेटिएको सुनमा दावाको कनेक्सन देखिएकोे भन्दै पक्राउ गरिएको विमाग स्रोतले जानकारी दियो । ठेमलमा रहेको भियना होलटले सञ्चालक दावाको श्रीमति हुन् भने उनी नेपाली मूलका बेल्जियम नागरिक हुन् । दावासँगै विभागले आइतबार नै सो होटलबाट सिसिटिभी फुटेज, कम्प्युटरहरू जफत गरी अनुसन्धान अघि बढाएको छ ।