विकासन्युज

हामीसँग ३३.९९ प्रतिशत तरलता छ, भ्रमको पछि नलाग्नु होला : सहकारी बैंक

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले आफुसँग ३३.९९ प्रतिशत तरलता रहेकोले ढुक्क रहन आग्रह गरेको छ । अर्थतन्त्रमा देखिएको पछिल्लो अवस्थालाई चित्रण गर्दै सहकारी बैंकको विषयमा पनि भ्रमपूर्ण सूचनाहरु बाहिरिएको बताउँदै बैंकले त्यस्ता भ्रमपूर्ण सूचनाको पछि नलाग्न पनि आग्रह गरेको हो । सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारसंग सहकारी अभियानका तर्फबाट विभिन्न तरिकाले पहलकदमी भइरहेको बताउँदै बैंक र बैंकको नेतृत्वको विषयमा सम्प्रेषण भइरहेको भ्रमपछि नलाग्न देशभरका सदस्य सहकारी संघसंस्था, नियामकीय निकाय, तथा सम्पूर्ण सरोकारवालाहरुलाई अनुरोध गरेको हो । बैंकले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै उक्त आग्रह गरेको हो । यस्तो छ विज्ञप्ति: सहकारी क्षेत्रमा नेपाल राष्ट्र बैंक समेतको नियमनमा रही नियमनकारी निकायका निर्देशनहरु पूर्ण रूपमा पालना गर्दै संस्थागत सुशासन सहित सञ्चालित राष्ट्रिय सहकारी बैंक लिमिटेड सहकारी क्षेत्रको प्रवर्द्धन र विकासमा केन्द्रीत रहदै आएको छ । सहकारीहरुको संस्थागत विकास र वित्तीय व्यवस्थापन लगायत सहकारीको समग्र विकासमा बैंकले आफ्नो तर्फबाट सक्दो पहल, प्रयत्न र संयोजनकारी भूमिका निर्वाह गर्दै आइरहेको छ । विभिन्न समयमा बैंक र बैंकका अध्यक्ष के. बी. उप्रेतीलाई लक्षित गरी सार्वजनिक हुने गरेका समाचारप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको छ । समाचार र त्यसका आधारमा हुने गरेका चर्चाहरुको पछि नलाग्न तथा बैंकको बारेमा सत्य तथ्य बुझेर धारणा बनाउनु हुन सम्पूर्ण सहकारी संघ, संस्था, सहकारीकर्मी एवम् सरोकारवालाहरुलाई हार्दिक अनुरोध गर्दछौं । बैंकका ५ वटा सदस्य सहकारी संस्थाहरु एकिकरण हुँदा साविकको सदस्य संस्था हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा बैंकको कर्जा रकम रु २८ करोड रहेको र बैंकको नीति बमोजिम सबै सहकारीको एकल कर्जा सीमा भित्रै रहेको अवस्थामा एकिकरण भएका सबै संस्थाले लिएका कर्जाको कूल रकम एक अरब नजिक रहन पुगेको हो । सहकारी विभागले सम्बन्धित संस्थाहरुले नै बैंकको कर्जा सिमा भित्र ल्याउने योजनाका साथ एकीकरण गर्न अनुमति दिएको र बैंकको नीति अनुसार आगामी तिन वर्षभित्र एकीकृत संस्थाले कर्जालाई सिमा भित्र ल्याउनु पर्ने व्यवस्था रहेको समेत जानकारी गराउँदछौं । नेपाल राष्ट्र बैंक एवं सहकारी विभागसमेतको निर्देशन अनुसार बैंकले आफ्ना सम्पूर्ण वित्तीय विवरणहरु सार्वजनिक गर्दै आएको छ, जसबाट बैंकको अवस्थाको बारेमा जानकारी लिन सकिन्छ । कोभिड -१९ तथा रुस र युक्रेनवीचको युद्धले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थतन्त्र प्रभावित भएसँगै सहकारी संस्थामा तरलता अभाव भई सिर्जित समस्याले सहकारी क्षेत्र प्रति संसय पैदा भएको हामी सबैलाई सर्वविदितनै छ । पछिल्लो समय विस्तारै अर्थतन्त्र चलायमान भई तरलता संकटको अवस्थामा क्रमशः सुधार हुँदै गएको यो विषम परिस्थितिमा मिति २०८० असार मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको तरलताको अवस्था ३६.९९ प्रतिशत कायम रहेको छ । बैंकमा दोस्रो कार्यकाल अध्यक्षको जिम्मेवारीमा रहनु भएका श्री के.बी. उप्रेतिले विगतमा १५ वर्षसम्म बैंकको प्रबन्ध सञ्चालक (महाप्रबन्धकको जिम्मेवारी हेर्ने गरी) पदमा, पटक–पटक राष्ट्रिय सहकारी बिकास बोर्डको विज्ञ सदस्यको पदमा र राष्ट्रिय सहकारी महासंघको लेखा सुपरीवेक्षण समितिको संयोजकको पदमा रही कार्य सम्पन्न गर्नुका साथै हाल उक्त महासंघको सञ्चालक पदमा समेत कार्यरत हुनुहुन्छ । व्यवस्थापन संकायमा स्नातकोत्तर तहसम्म अध्ययन गर्नु भएका यस बैंकका अध्यक्ष बैंकिङ क्षेत्रमा लामो अनुभव रहेको आधारमा नेपाल सरकार मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत  ”सहकारी क्षेत्र सुधार सुझाव कार्यदल २०८०” को विज्ञ सदस्य (वित्त विश्लेषक) पदमा गत बैंशाखमा नेपाल सरकार (विभागीय मन्त्रिस्तर) को निर्णयानुसार नियुक्त हुनु भएको हो । सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारदेखि सहकारी अभियानका तर्फबाट विभिन्न तरिकाले पहलकदमी भैरहेको सन्दर्भमा देशभरका सदस्य सहकारी संघ /संस्था, नियामकीय निकाय तथा सम्पूर्ण सरोकारवालाको विश्वासबाट सञ्चालित बैंकलाई लक्षित गरी भएका विभिन्न गतिविधिहरुबाट भ्रममा नपर्न सम्पूर्ण सहकारीकर्मी एवम् सरोकारवालाहरुमा अनुरोध गर्दछौ । देश भरका सहकारी संघ/ संस्थाको विश्वास, साथ र सहयोगद्वारा स्थापित एवम् सञ्चालित यस बैंकलाई विगतमा भै साथ/सहयोग दिनुहुनेछ भन्ने पूर्ण विश्वास सहित सम्पूर्ण सरोकारवालामा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

राष्ट्र बैंकका सह प्रवक्ता पोखरेलसहित ४ जना निर्देशकको सरूवा

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ जना निर्देशकहरुको सरुवा गरेको छ । राष्ट्र बैंकले सहप्रवक्ता नारायण प्रसाद पोखरेलसहित ४ जना निर्देशकको सरुवा गरेको जनाएको छ । राष्ट्र बैंकका अनुसार निर्देशकहरु नारायण प्रसाद पोखरेल, डा. डिल्लीराम खनाल, केशव बहादुर केसी र तेज प्रकाश उप्रतीको सरुवा गरेको हो । राष्ट्र बैंकको आन्तरिक नीति अनुसार निर्देशकहरुको सरुवा गरेको सह प्रवक्ता पोखरेलले बताए । यसअघि सूचना अधिकारी तथा सह प्रवक्ता रहेका पोखरेल आर्थिक अनुसन्धान विभागमा सरुवा भएका हुन् । विदेशी विनिमय व्यवस्थापन विभागमा काम गरिसकेका पोखरेल राष्ट्र बैंकको नेपालगञ्ज कार्यालयमा हुँदा उपनिर्देशक थिए । त्यसअघि उनी आर्थिक अनुसन्धान विभागमा नै थिए । यस्तै, आर्थिक अनुसन्धान विभागका निर्देशक डा. डिल्लीराम पोखरेल गभर्नर कार्यालयमा सरुवा भएका छन् । साथै उनलाई सूचना अधिकारी तथा सह प्रवक्ताको जिम्मेवारी दिएको राष्ट्र बैंकले बताएको छ । अर्थशास्त्रमा पीएचडी गरेका सह प्रवक्ता पोखरेल १४ वर्षदेखि आर्थिक अनुसन्धान विभागमा कार्यरत छन् । त्यसअघि उनले राष्ट्र बैंकको पोखरा कार्यालय प्रमुख भएर काम गरेका थिए । यस्तै, लघुवित्त संस्था सुपरिवेक्षण विभागका निर्देशक केशव बहादुर केसी सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा सरुवा भएका छन् । यस्तै, सम्पत्ति तथा सेवा व्यवस्थापन विभागबाट तेज प्रकाश उप्रेती लघुवित्त लघुवित्त संस्था सुपरिवेक्षण विभागमा सरुवा भएका हुन् ।

सार्वजनिक विद्युतीय सवारी २३४ प्रतिशतले बढ्यो, निजी कार १२४ प्रतिशतले वृद्धि

काठमाडौं । गत वर्ष नेपालमा विद्युतीय सार्वजनिक सवारी साधनको प्रयोग २३४ प्रतिशतले बढेको छ । निजी र सार्वजनिक सवारी साधनको प्रयोगमा देखिएका समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा यातायात विज्ञ आशिष गजुरेलले प्रस्तुत गरेको तथ्यांकअनुसार, पछिल्लो एक वर्षमा नेपालमा सार्वजनिक सवारी साधन २३४ प्रतिशतले बढेको हो । गजुरेलका अनुसार, आर्थिक वर्ष २०७७/७८ मा नेपालमा विद्युतीय सार्वजनिक सवारी २६ वटा मात्रै थिए । अघिल्लो आर्थिक वर्ष ०७८/७९ मा त्यो संख्या बढेर ८४ मा पुग्यो भने गत आर्थिक वर्ष ०७९/८० मा आउँदा सार्वजनिक विद्युतीय सवारीको संख्या २८१ पुगेको छ । तीन वर्षको अवधिमा विद्युतीय सवारीको खरिद र प्रयोग अत्याधिक रुपमा बढेको देखिन्छ । विद्युतीय कारको प्रयोग १२४ प्रतिशतले बढ्यो यातायात विज्ञ गजुरेलले प्रस्तुत गरेका तथ्यांक अनुसार, निजी कारको प्रयोग पनि तीब्ररुपमा बढेको देखिन्छ । आर्थिक वर्ष २०७७/७८ मा विद्युतीय कार २४९ वटा थियो भने ०७८/७९ मा आउँदा एक हजार ८०७ पुग्यो । गत आर्थिक वर्ष ०७९/८० मा आइपुग्दा निजी विद्युतीय कारको आयात नै चार हजार ५० आयात भएको उनले बताए । आर्थिक वर्ष २०७७/७८ बाट ०७८/७९ मा आउँदा विद्युतीय निजी कारको प्रयोग २५ प्रतिशतले बढेको र ०७९/८० मा आइपुग्दा त्यस्तो वृद्धि १२४ प्रतिशतले उकालो लागेको उनले बताए । गत एक आर्थिक वर्षमा मात्रै नेपालले १२ अर्ब रूपैयाँ भन्दा बढीको विद्युतीय सवारी साधन आयात गरेको भन्सार विभागको तथ्यांक छ । नेपालले विद्युतीय सवारीको प्रयोगलाई बढावा दिदैं जानुपर्ने उनले बताए । ‘अन्य मुलुकहरु विद्युतीय सवारी साधनमा गए पनि नगए पनि नेपाल जानुपर्छ । किनकी नेपालमा विद्युत उत्पादनको ठूलो सम्भावना छ । पेट्रोलियम पदार्थको सम्भावना नेपालमा नभएकाले विद्युतीय सवारी साधनमा जानुपर्ने बाध्यता छ’, गजुरेलले भने । विद्युतीय सवारी विश्वभर महङ्गो भएको सन्दर्भ उल्लेख गर्दै उनले विद्युतीय सवारीलाई सस्तो बनाउन सरकारले कम कर लगाउनुपर्ने गजुरेलले बताए ।

ढोरबाराहीमा पर्यटकको आकर्षण बढ्दै, बोली नफुटेको बच्चा कुण्डमा डुबाएपछि बोल्ने विश्वास

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-९ वाजस्थलामा अवस्थित ढोरबाराही मन्दिरमा प्रत्येक दिन कुण्डमा बालबच्चालाई चुर्लुम्म डुबाएर निकालेको देखिन्छ । बच्चालाई कुण्डमा डुबाउनुको रहस्य भने अचम्मको छ । लामो समयसम्म बच्चाको बोली नफुटेको अवस्थामा मन्दिरको दर्शन गराएर बच्चालाई त्यहाँको कुण्डमा डुबाएर निकालेपछि बोल्छन् भन्ने विश्वासका कारण पछिल्लो समयमा टाढा–टाढाबाट बालबच्चा लिएर अभिभावक मन्दिरमा पुग्ने गरेको मन्दिरका पुजारी चिरञ्जीवी लम्सालले बताए । ‘बच्चा नबोलेको भन्दै मन्दिरमा दैनिक न्यूनतम एक–दुई जनादेखि १२–१५ जनासम्म बच्चा लिएर आउने गरेका छन्’, उनले भने, ‘मन्दिरको दर्शन गरी कुण्डमा डुबाएर लगेपछि यहाँ आउनेमध्ये अधिकांशको बोल्ने आउने गरेको पाइएको छ ।’ बोली खुलाउनका लागि कैयौँ स्थानमा उपचार गरेर सम्भव नभएका पनि यहाँ आएर दर्शन गरेसँगै बोल्ने गरेको विश्वासका कारण मन्दिरप्रतिको आस्था अझै बढेको छ । बोली नखुलेर पूजा गरी गएका अभिभावकहरू बच्चा बोलेपछि पुनः दर्शनका लागि आउने गरेका कारण पनि विश्वास झन्–झन् बढ्दै गएको उल्लेख गर्दैै उनले पछिल्लो समयमा सञ्चारमाध्यमबाट हुने गरेको प्रचार–प्रसारले पनि मन्दिरप्रतिको आस्था अझै जगाएको बताए । चारैतर्फ वनजङ्गलले घेरिएको पहाडको बीचमा रहेको यस मन्दिर र परिसरमा नै रहेको रहस्यात्मक लहरी आउने पानीको कुण्ड यहाँको विशिष्टता हो । बराहलाई भगवान् विष्णुको तेस्रो अवतारका रुपमा लिने गरिएको छ । मन्दिर स्थापनाको यकिन तथ्य फेला नपरे पनि प्राचीनकालदेखि नै यसको अस्तित्व रहँदै आएको पाइएको छ । स्कन्दपुराणको हिमवत्खण्डमा ढोरबाराहीको महिमाबारे चर्चा गरिएका कारण पनि यसको महिमा र गरिमा चुलिएको छ । मन्दिर जीर्णोद्धारका क्रममा फेला परेका घन्टमध्ये एउटामा नेवारी भाषामा नेपाल संवत् ९६७ लेखिएको पाइएको पुजारी लम्सालको भनाइ छ । त्यसअघिका अन्य प्रमाण भने फेला नपरेको उनले बताए । मन्दिरमा प्रत्येक नयाँ वर्षको दिन, बडादसैँ, चैतेदसैँको दुर्गा पक्ष, श्रीपञ्चमीका साथै अन्य तिथि र पर्वमा ठूलो सङ्ख्यामा भीड लाग्ने गरेको छ । मन्दिरमा बोका, राँगाको बलि दिइन्छ भने परेवा उडाउने प्रचलन छ । मन्दिरमा एकादशी, औँसी, सोह्रश्राद्ध, तीजको पञ्चमी तथा साउन महिनाभर भने बलि दिइँदैन । ती दिनमा अन्य नियमति पूजाआजा भने गरिन्छ । मन्दिरमा तनहुँसँगै देशका विभिन्न भागबाट दर्शनार्थी आउने गरेका छन् । बोली नखुलेका बच्चाको बोली आउने विश्वासका कारण पछिल्ला समयमा टाढा–टाढाबाट दर्शनार्थी आउने गरेको पुजारी लम्सालले बताए । विदेशमा विभिन्न सेवा पेसाका क्रममा गएका व्यक्तिहरू पनि बच्चाको बोली नखुलेपछि नेपालमा फर्केर ढोरबाराहीको दर्शन गर्ने गरेका छन् । मन्दिर परिसरमा रहेको कुण्डमा रहस्यात्मक लहरी ‘पानी घटबढ हुने’ छुट्नु यहाँको अर्को विशिष्टता हो । परिसरमा लगभग १५ फिट फराकिलो पोखरी र पोखरीको बीचमा दुईवटा शिला छन् । सामान्यतः पन्ध्र मिनेटदेखि आधा घन्टाको अन्तरालमा छुट्ने लहरीलाई धार्मिक आस्था विश्वाससँग जोडेर हेरिन्छ । लहरी चलेर एकैक्षणमा भरिने पानीको कुण्ड क्षणभरमा नै सुक्ने गर्दछ । लहरी चलेका बेलामा गरिने पूजाआजालाई अझै महत्वका साथ हेर्ने गरिएको छ । नबोल्ने बच्चालाई मन्दिरमा दर्शन गराए लहरी चलेका बेलामा कुण्डमा डुबाएर निकाल्ने प्रचलन छ । ढोरबाराही माता प्रशन्न हुँदा लहरी छुट्ने धार्मिक कथन एवं यहाँ छुट्ने लहरीलाई महत्वपूर्ण दैवीशक्तिका रूपमा लिइने गरिएको छ । लहरी छुट्ने मुख्यद्वारमा बस्ने रजबामलाई साक्षत् बराह भगवान्का रूपमा लिने गरिन्छ । लहरीका क्रममा मात्रै देखिने रजवामको दर्शनलाई भक्तजनले शौभाग्यका रूपमा लिने गरेका छन् । हिउँदयाममा केही समय लहरी नछुट्ने र त्यस समयमा ढोरबाराही माता माइत जाने भएकाले लहरी नछुट्ने किंवदन्ती पनि चल्दै आएको छ । ढोरबराहप्रतिको आस्था र विश्वास बढ्दै गएका अवस्थामा स्थानीय युवाहरू पनि यहाँको संरक्षण र विकासमा लागिपरेका छन् । ढोरबराह क्षेत्रको संरक्षण र विकास गर्दैै यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सम्बद्ध क्षेत्रमा निरन्तर खबरदारी गर्दैै आइएको फिर्दी युनाइटेड क्लबका सचिव मनोज बानियाँले बताए । ढोरबराह मन्दिरप्रतिको धार्मिक पर्यटकीय आकर्षण दिनप्रतिदिन बढ्दै गएको ढोरबाराही मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं शुक्ला गण्डकी नगरपालिका–९ का वडाध्यक्ष बाबुराम पुलामीले बताए । ‘बोली नखुलेकाको मन्दिरको दर्शन गरेपछि बोल्न थालेका प्रत्यक्ष प्रमाणहरू हाम्रा वरपर नै छन्’, उनले भने, ‘पछिल्लो समयमा प्रचार–प्रसारले देशका टाढा–टाढाका साथै विदेश गएका व्यक्तिहरू पनि बोली आउने विश्वाका कारण मन्दिरमा दर्शन गर्न आउँछन् ।’ रासस

सुदूरपश्चिममा एक हजार ६०० डेङ्गु सङ्क्रमण, तीनको मृत्यु

बैतडी । सुदूरपश्चिम प्रदेशमा डेङ्गुबाट एक हजार छ सय बढीमा सङ्क्रमण भएको छ । सन् २०२२/२०२३ मा गरेर एक हजार छ सय १४ जनामा सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशले जनाएको छ । यस प्रदेशमा सन् २०२३ को सुरुआतदेखि हालसम्म तीन सय २५ जनामा सङ्क्रमण देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी पहाडी जिल्ला दार्चुलामा एक सय ९१ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । यस्तै कञ्चनपुरमा ५७, अछाममा ३१, कैलालीमा २४, बझाङमा छ, बैतडीमा पाँच, डोटीमा पाँच, बाजुरामा चार र डडेल्धुरामा दुई जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमणका कारण यस वर्ष मृत्यु भने शून्य छ । यसअघि गत वर्ष यस प्रदेशमा एक हजार दुई सय ८९ जनामा सङ्क्रमण देखिएकामा तीन जनाको मृत्यु भएको थियो । लामखुट्टेको टोकाइबाट हुने डेङ्गु गर्मी र वर्षात्को समयमा हुने भएकाले बिरामीको सङ्ख्या बढ्दै गएको जोशीले बताए । उनले भने, ‘गर्मी र वर्षात्मा सङ्क्रमण बढी देखिने गरेको छ, असोजसम्म बढी जोखिम हुन्छ ।’ जोखिम कम गर्न निर्देशनालयले प्राविधिक सहजीकरण, कीट आपूर्ति र बिरामी व्यवस्थापनमा सहयोग गर्ने गरेको छ । स्थानीय तहहरूले उक्त रोग नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान  सञ्चालन गरिरहेका जोशीले बताए । तराईका जिल्लामा बढी हुने डेङ्गु सङ्क्रमण पछिल्लो समय पहाडमा पनि फैलिँदै गएको छ ।  निर्देशनालयको तथ्याङ्कले पहाडी जिल्लामा पनि डेङ्गुको जोखिम बढेको देखिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । तराईबाट लामखुट्टे पहाड उक्लिएकाले पहाडमा पनि जोखिम बढेको छ ।  उनले भने, ‘लामखुट्टे पहाडमा पनि देखिन थालेपछि पहाडी जिल्लामा पनि सङ्क्रमण बढ्दै गएको छ, पहाडी जिल्लामा पनि सङ्क्रमितलाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था छ ।’ वर्षातमा दैनिकरूपमा डेङ्गुका बिरामी बढ्दै गएपछि प्रदेशभरि डेङ्गु सङ्क्रमण फैलाउने लामखुट्टे नष्ट गर्ने र सरसफाइ अभियानका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ । डेङ्गु भएमा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण देखापर्ने गर्दछन् । यसका साथै गम्भीर प्रकृतिको डेङ्गु सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, श्वास फेर्न गाह्रो हुने, पेट तथा खुट्टा सुनिनेजस्ता लक्षण देखापर्ने निर्देशनालयले जनाएको छ । रासस

थप सुन्दर बनाइँदै पर्यटकीय गन्तव्य महेन्द्र गुफा

पोखरा । पोखराको पर्यटकीय गन्तव्यका रूपमा रहेको महेन्द्र गुफालाई थप व्यवस्थित र सुन्दर बनाउन तयार गरिएको गुरुयोजनाअन्तर्गत यहाँको कार्य अगाडि बढेको छ । धार्मिक, ऐतिहासिक एवं प्राकृतिक महत्वको उक्त गुफाको सौन्दर्यकरण एवं संरचना निर्माणका लागि प्रदेश सरकारमार्फत विनियोजित १० करोडबाट भौतिक संरचनाको काम अघि बढाइएको महेन्द्र गुफा चमेरे गुफा पर्यटन विकास समितिका सदस्य सचिव शिशिर पौडेलले जानकारी दिए । उनका अनुसार पोखरा महानगरपालिका वडा नं १६ बाटुलेचौरमा रहेको महेन्द्र गुफा र चमेरे गुफा पोखराका प्रमुख पर्यटकीय गन्तव्यको सूचीमा पर्छन् । बहत्तर वर्ष लामो इतिहास बोकेको यस गुफामा पर्यटकलाई थप आकर्षित गर्न तयार गरिएको गुरुयोजनाअन्तर्गत गन्धर्व सङ्ग्रहालय, ढुङ्गे धारा, म्युजियम, स्कप्चर, अडिटोरियम हल, बगैँचा, गजेवो, एम्पीथियटर, वाटर फाउन्टेन, पारागोलालगायतका संरचना निर्माणकार्य भइरहेका छन् । विसं २०१६ मा तत्कालीन राजा महेन्द्र बाटुलेचौर आउँदा त्यहाँका स्थानीयले गुफाको अवलोकन गर्न लगेका र तत्पश्चात गुफाको नाम महेन्द्र गुफा रहन गएको थियो । त्यसअघि यसको नाम अँधेरी भुवन भनेर चिनिन्थ्यो । महेन्द्र गुफाबाट पाँच सय मिटरको दूरीमा चमेरे गुफा पर्छ । गुफाभित्र पसेपछि चट्टानभरि झुन्डिएका चमेराका लोभलाग्दा दृश्य देख्न सकिन्छ । यस गुफामा चमेराहरू भएकाले यसको नाम चमेरे गुफा रहन गएको मानिन्छ । दुई सय मिटर लामो रहेको चमेरे गुफामा ‘एडभेन्चर क्लाइमिङ’ गरेर पनि बाहिर निस्कन सकिने र विश्वका दुर्लभ पाँच प्रजातिका चमेरा पनि पाइने भएकाले यसको थप महत्व रहेको पौडेलको भनाइ छ । गुफा हेर्नका लागि विद्यार्थीलाई तीस र अन्य आन्तरिक पर्यटकलाई ५० शुल्क राखिएको छ । भारत र सार्क मुलुकका पर्यटकका लागि ८० र अन्य विदेशी पर्यटकका लागि एक सय ५० शुल्क तोकिएको छ । आर्थिक वर्ष २०७९/८० मा यस गुफाबाट करिब एक करोड ७० लाख आम्दानी भएको पौडेलले जानकारी दिए । पछिल्लो समय गुफा हेर्न जाने भारतीय पर्यटकको सङ्ख्या उल्लेख्य रहेको छ । महेन्द्र गुफाको लम्बाइ एक सय २५ मिटर छ । विसं १९९० को भूकम्पअघि गुफाभित्रबाट कालिखोलासम्म निस्केको अनुभव अग्रजहरूले सुनाउने गरेको महेन्द्र गुफाका पुजारी श्रीराम अधिकारी बताउछन् । गुफामा हिन्दू धर्मसंस्कारसँग जोडिएका विभिन्न भगवान्का मूर्ति एवं आकृति देख्न सकिन्छ । गुफाको अन्तिम विन्दुमा जलविनायकको आकृति र त्योसँगै जलकुण्ड छ । जलकुण्ड कहाँबाट कसरी निर्माण भयो भन्ने विषय रहस्यमय रहेको पुजारी बताउँछन् । गुुफाको संरक्षक संस्थाको रूपमा विन्ध्यवासिनी मावि रहेको छ । यो सामुदायिक विद्यालय नमूना विद्यालय हो । चमेरे गुफा विन्ध्यवासिनीकै स्वामित्वमा रहेको छ । उक्त विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले महेन्द्रगुफा चमेरे गुफालाई उत्कृष्ट गन्तव्य बनाउन करिब २४ करोडको गुरुयोजना तयार गरेको जानकारी दिए। ‘हामीले बृहत् योजना तयार गरेर प्रदेश सरकारसमक्ष बुझाएका छौँ । पहिलो चरणमा १० करोड विनियोजित भएर केही काम हुँदैछ । आगामी दिनमा थप सौन्दर्यकरणका लागि हाम्रो पहल निरन्तर हुनेछ ।’ गुफाबाट प्राप्त आम्दानीले त्यस क्षेत्रको मात्र नभई आसपासको भौतिक तथा पर्यटकीय विकासका लागि पनि आफूहरूले सहयोग गरेको उनको भनाइ छ । परियोजना सम्पन्न भएपश्चात वडा नं १६ स्थित महेन्द्र गुफा र चमेरे गुफा पोखराका उत्कृष्ट गन्तव्यको रूपमा विकास गर्नका लागि थप प्रचार–प्रसार गरिने वडाध्यक्ष अमृत शर्मा तिमिल्सनाले जानकारी दिए । ‘वडा नं १६ मा क्रेजी गुफा, कुमारी गुफा, गौतमबुद्ध गुफा पनि रहेकाले गुफा कनेक्टिङ रोड बनाउने प्याकेजको कार्यक्रम तय गरिएको छ’, तिमिल्सनाले भने । उनले कुमारी गुफाका लागि पर्यटन मन्त्रालयबाट २० लाख विनियोजन भएर केही पूर्वाधारका काम सम्पन्न भएको र आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको जानकारी दिए । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट विनियोजित रकमबाट निर्माणकार्य अगाडि बढेको महेन्द्र चमेरे गुफा पर्यटकीय विकास समितिका संयोजक गुरुदत्त भट्टराईले जानकारी दिए । उनका अनुसार अहिले ५५ प्रतिशत कार्य सम्पन्न भएको छ । निर्माणकार्यको जिम्मा पाएको कम्पनीका आयोजना प्रमुख राकेश श्रेष्ठ गत असोज १ देखि आगामी भदौ १९ गते सम्पन्न गर्ने सम्झौता भए पनि सुरुआतमा केही प्राविधिक समस्या उत्पन्न भएकाले समयमै निर्माणकार्य सम्पन्न गर्न नसकेको जानकारी दिए । महेन्द्रगुफा चमेरे गुफालगायतका गुफासँगै पोखरा–१७ मा रहेको गुप्तेश्वर गुफाले पनि पर्यटकलाई लोभ्याउने गरेको छ । योसँगै भलाममा पनि हरिहर सन्यासी गुफा रहेको छ । हरिहर सन्यासी गुफामा विशेषगरी बालाचतुर्थीका अवसरमा सतबिज छर्नका लागि भक्तजन जाने गर्दछन् । रासस

मारवाडी सेवा समाजलाई भाडा नविकरण गर्न १५ दिनको म्याद

काठमाडौं । मारवाडी सेवा समाजले प्रयोग गर्दै आइरहेको पशुपति धर्मशालाको जग्गाको भाडा पुनरावलोकन गरी सम्झौता गर्न १५ दिनको म्याद दिइएको छ । आज बिहान सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयमा बसेको पशुपति क्षेत्र विकास कोषको बैठकले सो निर्णय गरेको हो । मारवाडी सेवा समाजले २०६० जेष्ठ ९ गतेबाट क्षेत्र विकासकोषको गौसलामा रहेको ९ रोपनी जग्गा बार्षीक ५१ हजारमा प्रयोग गर्दै आइरहेको थियो । कोडीको भाउमा प्रयोग गर्दै आएको उत्तल जग्गामा मारवाडी सेवा समाजले धर्मशाला सञ्चालन गर्दै आइरहेको छ । धर्मशालको नाममा शुल्क समेत लिदै आएकोले जनस्तरमा यसको चर्को विरोध भैरहेको बेला क्षेत्र विकास कोषले भाडा पुन मुल्याङ्कन गरि सम्झौता गर्न १५ दिनको म्याद दिने निर्णय गरेको हो । क्षेत्र विकास कोषका अध्यक्षा समेत रहेका सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले यस बारे बौल्दै भनेका छन्, ‘संबन्धित संस्थाले गरेको समाज सेवाको उच्च मुल्याङ्कन गर्दै नेपालको प्रचलित कानुनु,अत्तियार अनुसन्धन आयोगको निर्देशन र सर्वोच्च अदालनको फैसलाको आधारमा समय सापेक्षा सम्झौता र दिर्घकालिन समस्य समधानका लागि आज सम्मको सम्झौता खारेज गर्ने निर्णय गरेको हो ।’ यस अघि अख्तियार दुरुपयोग अनुसन्धन र सर्वोच्च अदालतले समेत भाडा पुन नविकरण गर्नु निर्णय गरेको थियो । तथापी विभिन्न बहानामा मारवाडी सेवा समाजले उक्त निर्णय कार्यन्वयन गर्न आलटाल गरिरहेको थियो ।

चितवनमा विशेष प्याकेज घोषणा गर्दै रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू निर्वाचित भएको एक सय दिनको अवसरमा आफ्नो क्षेत्रका लागि विशेष कार्यक्रम सार्वजनिक गरेका छन् । उनले आज एक कार्यक्रमकाबीच निर्वाचन क्षेत्र विशेष कार्यक्रमको घोषणा गरेका हुन् । घोषणा गरिएका कार्यक्रममा महिलाका लागि एउटा बस आफ्नो निर्वाचन क्षेत्रमा आजैबाट निःशुल्क सञ्चालन गर्ने उल्लेख गरेका छन् । पार्टीको झण्डामा प्रयोग भएको रङ्ग निलो बस भएकाले बसलाई ‘ब्लु बस’ भनिएको छ । बसमा महिला मात्र सवार गर्न सक्नेछन् । बस चितवन क्षेत्र नं २ का सहरी क्षेत्रमा सञ्चालनमा आउने छ । बस चढ्नेहरुका लागि कार्ड वितरण गरिने छ । बसभित्र महिलाका लागि अत्यावश्यक सामग्रीसँगै सांसद लामिछानेलाई चिठ्ठी राख्ने ठाउँको व्यवस्था हुने छ । लामिछानेले निर्वाचनको समयमागरेको विदेशमा रहेका एक सय जनालाई नेपालमा रोजगारीको घोषणा गरेको छन्। उनीहरुलाई मासिक  ४० हजारदेखि एक लाख ५० हजारसम्मको तलबको व्यवस्था हुने छ । लामिछानेले हरेक चार–चार महिनामा सार्वजनिक सुनुवाइ गर्ने भन्दै पहिलो कार्यक्रम आगामी भदौ १० गतेका लागि घोषणा गरेका छन् । पैसठ्ठी वर्ष माथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै मोबाइल क्लिनिक सञ्चालनमा ल्याइएको छ । त्यसमा मेडिकल अधिकृतसहितको स्वास्थ्यकर्मीको समूहले घरमा नै पुगेर सेवा दिने छ । थप उपचार आवश्यक परेमा परामर्श गरी अस्पताल पठाउने व्यवस्था मिलाइने भएको छ । उनले स्वास्थ्य चितवन अभियानअन्तर्गत आफ्नो क्षेत्रका विपन्न नागरिकलाई रु पाँच लाख बराबरको स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिने बताए । पहिलो चरणमा एक सय जनालाई समावेश गरिने छ । लामिछानेले पहिलो चरणमा दुई विद्यालयका कक्षा ११ र १२ लाई नमुना विद्यालयका रुपमा विकास गर्ने बताएका छन्। भरतपुर महानगरपालिकाको रामनगर मावि र कालिका नगरपालिकाको चतुर्मुखी माध्यामिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीलाई पहिलो चरणमा उत्कृष्ठ शिक्षा दिएर ती दुई विद्यालय नमुना बनाइने छ । यससँगै अन्य कक्षा र अरु विद्यालय नमुना बनाउँदै लगिने छ । उनले इच्छाकामनाको भाराङ्को आधारभूत विद्यालयलाई नमुना शैक्षिक संस्थाका रुपमा विकास गरी आवासीय विद्यालय बनाउन सुरु गरिएको जानकारी दिए। कार्यक्रमको घोषणाका क्रममा नारायणगढ–मुग्लिन सडकमा वर्षातको समयमा यात्रुले दुःख पाउने गरेको भन्दै उनले २० जनाको स्वयमसेवी समूह (आरएटि) परिचालन गरिने बताए । वर्षातको समयमा मात्र यो ¥यापिट एक्सन टिम परिचालन हुने छ । उनकै कार्यक्रममा आफूले प्राप्त गरेको मत ५४ हजार एक सय ७४ बराबर फलफूल र अन्यका बिरुवा निर्वाचन क्षेत्रमा रोपिने जनाइएको छ । मतदाताको सम्मानमा ‘एक मत एक बिरुवा’ रोप्न लागिएको हो । कार्यक्रमका लागि आवश्यक बजेट जुटाउन चितवन क्लब गठन गरिने छ । क्लबमा विदेशमा रहेका चितवनवासीलाई समावेश गरेर आर्थिक सहयोग जुटाइने उनले बताए । लामिछानेले आजै भरतपुरको बसेनीमा सम्पर्क कार्यालय स्थापना गरेका छन् । कार्यालयमा प्रमुख कार्यकारी अधिकृतका रुपमा हेमन्त बराललाई नियुक्त गरिएको छ । कार्यालयको लामिछानेसहित पार्टीका नेताले घण्टी बजाएर उद्घाटन गरेका हुन् । लामिछाने पहिलोपटक निर्वाचित भएपछि नागरिकताको विवादका कारण सर्वोच्चको फैसलासँगै पद रिक्त भएको थियो । उपनिर्वाचन भएर दोस्रो पटक निर्वाचित भएको आज एक सय दिन पुगेको हो । रासस