नेपालगञ्जमा आवास जोखिम बीमा लागू
जानकी । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले आवास जोखिम बीमा लागू गर्ने भएको छ । उपमहानगरको वडा नम्बर ३ मा दुई सय १२ र वडा नं ७ मा पाँच सय ३७ आवासमा जोखिम बीमा लागू गर्न लागेको हो । बाक्लो बस्तीका घर तथा जोखिमयुक्त घर वडा नं ३ र ७ मा बढी भएको हुँदा सुरुआती चरणमा यिनै वडालाई छनोट गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताए । ‘नगरभित्र अन्य वडाका घर जोखिममा नभएका होइन तर हामीले सुरुआती चरणमा ३ र ७ लाई लिएका छौं, बीमा शुल्कबापत नगरले १५ लाख रुपैयाँसम्मको रकम उपलब्ध गराउनेछ,’ उनले भने । सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी कार्यक्रम (सुपर) अनुसार छनोटमा परेका वडामा २० टोलमा सहरी विपद् र भूकम्पको बुझाइको अवस्था थाहा पाउन लक्षित समूह छलफललगायतका क्रियाकलाप गर्दै अगाडि बढेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले बताए । ‘अहिले अनुमानित रुपमा आठ सय घर मात्र लिएका छौं, यो सङ्ख्या बढ्न पनि सक्छ,‘रिजालले भने,‘ घनत्व बढी भएका भवन आचारसंहिताभन्दा अघि बनेका घर तथा भवनको विद्युत् आचारसंहिता नभएका घरलाई पहिलो प्राथमिकतामा राखेका छौं ।’ जोखिम हस्तान्तरणका लागि नेपालमै पहिलोपटक नेपालगञ्ज उपमहानगरपालिकाले यस्तो कार्यक्रम लागू गर्न लागिएको हो । रासस
आफ्नै तलब खर्च गरेर नगर उपप्रमुखले बाँडे निःशुल्क घाँसको बिरुवा
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले आफूले पाएको तलब खर्चेर किसानलाई घाँसका बिरुवा निःशुल्क वितरण गरेका छन् । पशुपालन व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन गर्दै व्यावसायिक बनाउने उद्देश्यले ११ वडाका पाँच सय २३ किसानलाई उन्नत जातका नेपियर र अम्लिसोको बिरुवा खरिद गरेर निःशुल्क वितरण गरेको नगर उपप्रमुख राईले बताए । नगर उपप्रमुख राईले वडा नं १ दिक्तेलका १००, वडा नं २ सोल्माका ५०, वडा नं ३ बाम्राङका ५०, वडा नं ४ खाल्लेका ३०, वडा नं ५ लफ्याङका ३०, वडा नं ६ नेर्पाका १००, वडा नं ७ दोर्पाचिउरीडाँडाका ५०, वडा नं ९ निर्मलीडाँडाका ३०, वडा नं १३ नुनथलाका ३०, वडा नं १४ बुइपाका ३० र वडा नंं १५ विजयखर्कका ५० जना किसानलाई नेपियर र अम्लिसो जातका घाँसको बिरुवा निःशुल्क वितरण गरेका छन् । वडा नं ८ दोर्पाचिउरीडाँडा र वडा नं ९ निर्मलीडाँडाबाट खरिद गरेर ल्याइएको सुपर नेपियर, स्मार्ट नेपियर, रेड नेपियर र बङ्गाली रेड नेपियर तथा वडा नं ३ बाम्राङबाट खरिद गरिएको अम्लिसो जातको घाँसका बिरुवा निःशुल्क वितरण गरिएको नगर उपप्रमुख राईले जानकारी दिए । पशुपालनलाई व्यावसायिक बनाउन नगरपालिकाबाट यस आवका लागि एक करोड रुपैयाँ बजेटसमेत विनियोजन गरिएको नगर उपप्रमुख राईले बताए । ‘निर्वाहमुखी पशुपालन गर्दै आएका किसानलाई व्यावसायिक बनाउन यो वर्ष भैँसी र बाख्रामा अनुदान दिने योजना बनाएका छौं, पशुपालनमा लगानी गरेर मासु र दूधजन्य पदार्थमा नगरपालिकालाई आत्मनिर्भर बनाउने हाम्रो उद्देश्य छ, ‘उनले भने,‘ व्यावसायिक पशुपालनका लागि सम्भाव्यता अध्ययनसँगै किसानसँग भेटघाट गर्दै आफ्नै खर्चमा खरिद गरेर उन्नत जातको घाँसको बिरुवा निःशुल्क वितरण गरेको हुँ, यसले कृषकसमेत उत्साहित भएका छन् ।’ पशुपालन तथा व्यावसायिक कृषिका लागि नगरपालिकाले यस आवमा ब्याज अनुदानस्वरुप किसानलाई चार करोड रुपैयाँ रकम उपलब्ध गराउने गरी पहल थालेको जनाइएको छ । जिल्लास्थित विभिन्न बैंकसँगको सहकार्यमा नगरपालिकाले ब्याज तिरिदिने सर्तसहित नगरपालिका नै जमानी बसेर रकम उपलब्ध गराउने तयारी गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । पन्ध्र वडा रहेको यस नगरपालिकाले पशु तथा कृषि व्यवसायका लागि पकेट क्षेत्र निर्धारण गर्ने तयारी गरेको छ । ‘एक वडा, एक उत्पादन’ कार्यक्रम बनाएर लागू गर्ने गरी तयारी भइरहेको नगरपालिकाले जनाएको छ । कृषि उत्पादनलाई जोड दिने नीति लिएको नगरपालिकाले पशुपालनसँगै फलफूलका बिरुवा वितरण तथा विभिन्न नगदे बालीमा अनुदान दिँदै आएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रमा रहेको यस नगरपालिकामा अनुदान पाएका कतिपय कृषक व्यावसायिक भएका छन् भने कतिपयले काम नै नगरी अनुदान मात्र लिएको गुनासो आउने गरेको छ । दश स्थानीय तह रहेको जिल्लामा कृषकको आम्दानी वृद्धिका लागि सबैले व्यावसायिक कृषि प्रणालीमा जोड दिएका छन् । जिल्लाका कतिपय स्थानीय तहले कृषि उत्पादनलाई आफ्नै क्षेत्रमा प्रशोधन गरेर बजारीकरण गर्नेसम्मको योजना बनाएका छन् । रासस
कामना सेवा विकास बैंकको ब्याज आम्दानी साढे ८ प्रतिशत बढ्यो, ईपीएस १३.१४ रुपैयाँ
काठमाडौं । कामना सेवा विकास बैंकको गत वर्ष खुद नाफा घटेको भएपनि अधिकांश सूचकहरु सकारात्मक छन् । बैंकको गत असार मसान्तसम्म खुद ब्याज आम्दानी ८.६४ प्रतिशत बढेर २ अर्ब १६ करोड ५० लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९९ करोड २७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा २६.९२ प्रतिशत घटेर ४३ करोड ११ लाख ९८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५९ करोड ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको वित्तीय प्रतिवेदन अनुसार बैंकको वितरणयोग्य नाफा पौने ६ करोड रुपैयाँ रहेको छ । बैंकको असारसम्म ५ करोड ८० लाख ९५ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । सो आधारमा बैंकको लाभांश दिन सक्ने क्षमता १.७७ प्रतिशत छ । बैंकको कुल सञ्चालन आम्दानी ४.५३ प्रतिशत बढेर २ अर्ब ४१ करोड ९४ लाख रुपैयाँ र सञ्चालन नाफा २० प्रतिशत घटेर ६९ करोड १५ लाख १२ हजार रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ४.४२ प्रतिशत बढेर ३ अर्ब २८ करोड ११ लाख रुपैयाँ, जगेडा कोष ३६.३७ प्रतिशत बढेर १ अर्ब ४६ करोड ६२ लाख रुपैयाँ, निक्षेप संकलन १५.६१ प्रतिशत बढेर ५३ अर्ब ४७ करोड २४ लाख रुपैयाँ र कर्जा लगानी ३३.६५ प्रतिशत बढेर ४३ अर्ब ९१ करोड ३९ लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १३.१४ रुपैयाँ छ । मूल्य आम्दानी अनुपात २४.८८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४६.४६ रुपैयाँ छ । बैंकको खराब कर्जा सामान्य ०.३७ प्रतिशत बढेर २.९८ प्रतिशत पुगेको छ । बैंकको आधार दर ११.९३ प्रतिशत, कस्ट अफ फण्ड ९.३७ प्रतिशत र इन्ट्रेस्ट स्प्रेड दर ४.५९ प्रतिशत रहेको छ ।
गुराँस लघुवित्तको नाफा साढे २८ लाख रुपैयाँ
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा ३१.०७ प्रतिशत घटेर २८ लाख ५३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ४१ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असार मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी १७.१४ प्रतिशत घटेर ५ करोड ५९ लाख रुपैयाँ मात्रै गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ६ करोड ७५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । लघुवित्तको सञ्चालन आम्दानी ६१.५४ प्रतिशत बढेर २ करोड १८ रुपैयाँ, कुल सञ्चालन आम्दानी ७.१० प्रतिशत घटेर ७ करोड ८७ लाख रुपैयाँ र सञ्चालन नाफा ३२.८३ प्रतिशत घटेर ४४ लाखमा झरेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १० करोड १४ लाख रुपैयाँ, जगेडा कोष १.४० प्रतिशत बढेर २ करोड ५ लाख रुपैयाँ, निक्षेप ४.७० प्रतिशत बढेर ३० करोड ८८ लाख रुपैयाँ, सापटि रकम ४.१२ प्रतिशत घटेर ८१ करोड ३३ लाख रुपैयाँ र कर्जा लगानी ०.८७ प्रतिशत घटेर १ अर्ब २२ करोड ८२ लाख रुपैयाँ रहेको छ । लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी ५.४४ रुपैयाँबाट घटेर २.८१ रुपैयाँमा सीमित भएको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात २६२.२५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२०.२६ रुपैयाँ छ । लघुवित्तको खराब कर्जा ४.६३ प्रतिशत, आधार दर १८.१९ प्रतिशत, कस्ट अफ फण्ड ११.५४ प्रतिशत पुगेको छ ।
गणपति लघुवित्तको वितरणयोग्य नाफा ८३ लाख ७९ हजार रुपैयाँ, लाभांश क्षमता कति ?
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको वितरणयोग्य नाफा पौने १ करोड रुपैयाँ रहेको छ । बिहीबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार लघुवित्तसँग गत असारसम्म ८३ लाख ७९ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । यो आधारमा लघुवित्तको लाभांश क्षमता ५.५२ प्रतिशत राख्छ । तर, गत आर्थिक वर्षको चौथो त्रैमाससम्म लघुवित्तको खुद नाफा भनेर ६७.८४ प्रतिशत घटेर ७० लाख २८ हजार रुपैयाँ मात्रै आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असार मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी १४.७१ प्रतिशत घटेर ११ करोड ५१ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १३ करोड ४९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा लघुवित्तको खुद फि तथा कमिशन आम्दानी २९ लाख रुपैयाँ ऋणात्मक छ । लघुवित्तको कुल सञ्चालन आम्दानी १६.१७ प्रतिशत घटेर १४ करोड ५५ लाख रुपैयाँ, सञ्चालन मुनाफा ५६.८३ प्रतिशत घटेर ९८ लाख ८८ हजार रुपैयाँमा झरेको छ । असारसम्म लघुवित्तको चुक्ता पूँजी १५ करोड १५ लाख रुपैयाँ, जगेडा कोष ५०.८६ प्रतिशत घटेर ३ करोड ९३ लाख रुपैयाँ छ । लघुवित्तको निक्षेप तथा सापटि ६.९६ प्रतिशत बढेर २ अर्ब १७ करोड ३८ लाख रुपैयाँ र कर्जा लगानी ०.६६ प्रतिशत बढेर २ अर्ब २४ करोड १ लाख रुपैयाँ गरेको छ । नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ९.७८ रुपैयाँ घटेर ४.६४ रुपैयाँमा सीमित भएको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात १७४.७६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२९.२४ रुपैयाँ छ । अघिल्लो वर्ष १.६४ प्रतिशत खराब कर्जा रहेकोमा बढेर ४.५२ प्रतिशत पुगेको छ । यस्तै, लघुवित्तको आधार दर २०.७४ प्रतिशत र कस्ट अफ फण्ड ११.८२ प्रतिशत पुगेको छ । हाल वित्तीय बजारमा उत्पन्न प्रतिकुलताका कारण जोखिम बढेको तथा कर्जा सापटको ब्याजदर उच्च भएकाले लक्ष्य अनुरुप प्रगतीमा कमी आएको लघुवित्तले बताएको छ । राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले अर्गानिक ग्रोथलाई आफ्नो प्रमुख लक्ष्यको रुपमा अगाडि सारेको छ । हालसम्म ४३ वटा शाखा कार्यालय मार्फत् ग्राहक सदस्यहरुलाई आधुनिक तथा गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको लघुवित्तको भनाइ छ । विगतको अनुभवबाट सेवामुखी सुविधा तथा ग्राहक सदस्यहरुको उत्साहले सेवा विस्तार गर्न सफलता प्राप्त गरेपनि वित्तीय बजारमा उत्पन्न प्रतिकुलताका कारण आम्दानीमा असर गरेको लघुवित्तले बताएको छ ।
न्यूनतम २० कित्ता किन्नै पर्ने हाथवे इन्भेष्टमेन्टको आईपीओमा आज आवेदन दिने अन्तिम दिन
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन ४ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज साउन १८ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशत अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्य दरका २९ लाख २५ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १ करोड ४६ लाख २५ हजार रुपैयाँको २ लाख ९२ हजार ५ सय कित्ता सेयरमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने छन् । यस्तै, कम्पनीले २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५ सय कित्ता कर्मचारी, १ लाख ४६ हजार २५० कित्ता र २४ लाख २७ हजार ७५० कित्ता सेयर सर्वसाधारणलाई छुट्याईएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम २० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् ।
नेशनल हाइड्रोको हकप्रद खरिद गर्ने आज अन्तिम मौका
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा आवेदन भर्ने आज अन्तिम दिन रहेको छ । असार २९ गतेदेखि बिक्री खुला गरेको हकप्रदमा आज साउन १८ गते आवेदन भर्ने अन्तिम दिन हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ५ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ६४ करोड ४२ लाख ९१ हजार रुपैयाँको १०ः५ को अनुपातमा प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ असार १ गते बुकक्लोज गरेको थियो । त्यसैले जेठ ३२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् लगानीकर्ताले आवेदन दिन सक्ने छन् । इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
९ प्रतिशत ब्याजमा नेपाल एसबिआई बैंकको ऋणपत्र बिक्री खुला
काठमाडौं । नेपाल एसबिआई बैंकले आज साउन १८ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्षे अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ बिक्री गरेको हो । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्य दरका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् ८० करोड रुपैयाँको ८ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको छ । सर्वसाधारणलाई छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको बैंकले जनाएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा छिटोमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । यदि पूर्ण आवेदन नपरेमा साउन ३२ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।