मर्जर बिनै अब्बल बन्दै सिटिजन्स र माछापुच्छ्रे बैंक, कुन सूचकमा कुन बलियो ?
काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएसँगै बैंक तथा वित्तीय संस्थाहरु गत वर्ष २०७९/८० को हिसाब मिलानमा व्यस्त छन् । गत आर्थिक वर्षका वित्तीय उपलब्धिहरुलाई एकत्रित गरेर बैंकहरु सार्वजनिक गर्ने लहर सुरु भइसकेको छ । । वाणिज्य बैंकहरुमध्ये सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । पछिल्ला हरेक वर्षलाई नियाल्ने हो भने सिटिजन्स र माछापुच्छ्रे बैंकले नै सुरुमा वित्तीय विवरण सार्वजनिक गरेका छन् । गत वर्ष बैंकिङ्ग क्षेत्रका लागि खासै उत्साहजनक रहेन । तरलता अभावदेखि आन्दोलनकाे सामना बैंकहरुले गरे । तेस्रो त्रैमाससम्म बैंकिङ्ग क्षेत्र चुनौतीपूर्ण रहे पनि बैशाखयता भने राम्रो गरेको देखिन्छ । साथै, उच्च ब्याजदर निरन्तर ओरालो लाग्दै गएपछि बैंकहरुलाई केही सहज भएको देखिन्छ । यस्तै, पछिल्लो समय बैंकको संख्या धेरै भएको भन्दै मर्जरको माध्यमबाट घटाइँदैछ । गत वर्ष एक दर्जन बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एक्विजिशनमा सामेल भए । मर्जर तथा एक्विजिशन भएर वाणिज्य बैंकको संख्या २० वटामा झरेको छ । तर, केही बैंकहरु मर्जरबिना नै आफूलाई बैंकिङ्ग क्षेत्रमा अब्बल बनाइरहेका छन् । जसमध्ये सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकले मर्जर बिना नै प्रतिस्पर्धा गरिरहेका छन् । वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंकमा पेश गर्ने र दशैं अगावै वार्षिक साधारण सभा गर्ने तयारीमा जुटेको दुवै बैंकले बताएका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार यी दुवै बैंकका अधिकांश सूचकहरू बलिया छन् । बिग मर्जर बिनै र थोरै पूँजी भएर पनि यी दुइ बैंकले सेयरधनीहरुलाई उच्च लाभांश दिने दावी व्यवस्थापकहरुकाे छ । सिटिजन्स बैंकले गत आर्थिक वर्षमा २ अर्ब २१ करोड ४४ लाख २५ हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ५६ लाख १० हजार रुपैयाँ नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले १०.४१ प्रतिशत बढी नाफा गरेको हो । यस्तै, माछापुच्छ्रे बैंकले गत वष खुद नाफा ९.७५ प्रतिशत बढाएर १ अर्ब ८५ करोड ११ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६८ करोड ६६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको नाफाबाट सिटिजन्स बैंकले ७.३० प्रतिशत र माछापुच्छ्रे बैंकले १५.२९ प्रतिशत लाभांश दिने क्षमता राख्छ । गत असारसम्म सिटिजन्स बैंकको वितरणयोग्य नाफा १ अर्ब ३ करोड ७२ लाख ७६ हजार रुपैयाँ छ भने माछापुच्छ्रे बैंकको १ अर्ब ५६ करोड ८७ लाख ४४ हजार रुपैयाँ छ । चुक्ता पूँजीका आधारमा माछापुच्छ्रे बैंकभन्दा सिटिजन्स बैंकभन्दा अगाडि छ । सिजिन्सको १४ अर्ब २० करोड रुपैयाँ छ भने माछापुच्छ्रेको १० अर्ब २ करोड रुपैयाँ छ । यस्तै, जगेडा कोष, निक्षेप संकलन, कर्जा लगानीमा पनि सिटिजन्स बैंक नै अगाडि छ । सिटिजन्स बैंकको जगेडा कोष ६ अर्ब ७४ करोड रुपैयाँ, निक्षेप संकलन १०.५० प्रतिशत बढेर १ खर्ब ६८ अर्ब ८४ करोड २१ लाख रुपैयाँ र कर्जा प्रवाह ६.९० प्रतिशत बढेर १ खर्ब ४० अर्ब ४० करोड १५ लाख रुपैयाँ पुगेको छ । यस्तै, माछापुच्छ्रे बैंकको जगेडा कोष ४३.४२ प्रतिशत बढेर ६ अर्ब ६ करोड ४८ लाख रुपैयाँ, निक्षेप संकलन ६.३१ प्रतिशत बढेर १ खर्ब ५४ अर्ब १७ करोड ९६ लाख रुपैयाँ र कर्जा लगानी १.६४ प्रतिशत घटेर १ खर्ब २६ अर्ब ४६ करोड ५९ लाख रुपैयाँ छ ।
म्याग्दीमा २३८ मेगावाटका १३ जलविद्युत् आयोजना
म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रमा २३८.२३ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना निर्माणाधीन छन् । विद्युत् प्राधिकरणले निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्नका लागि प्रसारण लाइन र सवस्टेशन बनाउन थालेपछि निर्माणाधीन आयोजनाको कामले तीव्रता पाएका हुन् । प्राधिकरणले मालिका गाउँपालिका-७ मा १३२ केभी क्षमताको सवस्टेशन र त्यहाँदेखि राहुघाट जोड्ने प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ । सन् २०२४ भित्र डाँडाखेत सवस्टेशन र प्रसारण लाइन निर्माण सम्पन्न गर्ने तयारीसहित काम थालिएको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले बताए । उनका अनुसार उक्त आयोजनाले मालिका गाउँपालिकाको शिवरात्रि खोलादेखि भारवाङ, कल्लेनी, छहरी, खारा, खाम्ला हुँदै नाउरासम्म १० किलोमिटरभन्दा बढी सडक मार्ग खोलेको छ । ‘शिवरात्री खोलाको पहरामा अड्किएको सडक धवलागिरि गाउँपालिकाले बजेट विनियोजन गरेपछि मार्ग खोलिएको हो’, अग्रवालले भो, ‘हाइड्रो इम्पायर प्राली काठमाडौँले धवलागिरि-४ मा ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणको अनुमति लिएको छ ।’ आयोजनाका अध्यक्ष जीतबहादुर घर्तीले पहुँचमार्ग निर्माण सकेर सुरुङ, विद्युतगृहको काम थालिएको बताए । उनका अनुसार सिन्कोस र म्याग्दी खोलाको दोभानभन्दा एक सय ३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा आयोजनाको बाँध प्रस्ताव गरिएको छ । धौलागिरि हिमालको फेदि भएर बग्ने म्याग्दी नदीबाट विद्युत् उत्पादनका लागि विद्युत् विकास विभागबाट तीन आयोजनाले निर्माण अनुमति पाएका छन् । ५३ मेगावाट क्षमताको अपर म्याग्दी पहिलो, १४.७० मेगावाटको मुदीखोला र ५७.३० मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले निर्माणको अनुमति लिएका छन् । अपर म्याग्दी जलविद्युत् आयोजनाले छहरीमा साइट कार्यालयको भवन बनाएको छ । धवलागिरि–४ मा २३ दशमलव ७० मेगावाट क्षमताको म्याग्दीखोला ‘ए’ र धवलागिरि–१ गुर्जामा १५ मेगावाट क्षमताको धौलाखोला जलविद्युत् आयोजना निर्माणाधीन छन् । त्यस्तै, एभरेष्ट इनर्जी एण्ड इन्फ्रास्ट्रक्चर प्रालिले धवलागिरि-४ मा १४.७० मेगावाट क्षमताको मुदिखोला, सुसमित हाइड्रोपावर लिमिटेडले धवलागिरिमा २० मेगावाट क्षमताको कुनबान खोला जलविद्युत् आयोजना निर्माणका लागि अनुमति लिएका छन् । त्यस्तै, छ दशमलव पाँच मेगावाटको दरखोला, धवलागिरि-४ मा तीन दशमलव ४५ मेगावाटको सिम्कोश, धवलागिरि-४ मुदीमा १२ दशमलव ७३ मेगावाटको अपर मुदी, नौ दशमलव पाँच मेगावाटको म्याग्दीखोला ‘बि’ र चार दशमलव छ मेगावाटको तिरिजा खोला जलविद्युत् आयोजनाका लागि सर्वेक्षणको अनुमति लिएका छन् । जिल्लामा जलविद्युत् आयोजना भित्रिएसँगै सडक सञ्जाल विस्तारका साथै भौतिक पूर्वाधार निर्माणले गति लिएको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए । आयोजनाले बनाएका पूर्वाधारबाट स्थानीयले रोजगारी पाउने, लगानी गर्ने वातावरण बन्ने, सुविधा उपभोग गर्न पाउनुका साथै दीर्घकालीन हिसाबले पालिकालाई विद्युत्बाट आम्दानीसमेत हुने उनको भनाइ थियो । रासस
प्रभु बैंकले भिजि इम्पेक्सका ग्राहकलाई विद्युतीय सवारीसाधनमा सस्तो कर्जा दिने
काठमाडौं । प्रभु बैंक र भिजि इम्पेक्सबीच विद्युतीय सवारीसाधनमा कर्जा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनु प्रसाद पाण्डे र भिजि इम्पेक्सका तर्फबाट उपाध्यक्ष रुपेश शर्मा भट्टले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अनुसार भिजि इम्पेक्सबाट आयात गरिएको इलेक्ट्रिक भेहिकल, इच्छुक ग्राहकले खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ । हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।
माछापुच्छ्रे बैंकको सेयरमा वित्तीय विवरणको प्रभाव, शिवमको सर्वाधिक कारोबार
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तिम समयमा बढेर बन्द भएको छ । नेप्से सूचक दिनभरीमा घट्दैबढ्दै अन्ततः ९.२५ अंकले बढेर २०८६.८४ अंकमा बन्द भएको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको मौद्रिक नीतिपश्चात् ओरालो लाग्दै आएको नेप्से बुधबार भने बढेको हो । बुधबार दिनभरिमा २६९ कम्पनीको ९३ लाख ६१ हजार ७८६ कित्ता सेयर ३५ हजार ८३५ पटक खरिद बिक्री हुँदा १ अर्ब ८१ करोड २४ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार दिनभरिमा ११७ कम्पनीको सेयर मूल्य बढेको छ भने ८१ कम्पनीको सेयर मूल्य घटेको छ । आज शिवम् सिमेन्टको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ११ करोड १९ लाख ३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, सानिमा बैंकको ८ करोड ९० लाख २७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । प्रभु स्मार्ट फण्डको सेयर मूल्य सर्वाधिक १० प्रतिशत घटेको छ । सो फण्डको मूल्य ०.९३ रुपैयाँ घटेर ८.३७ रुपैयाँमा झरेको नेप्सेको तथ्याङ्क छ । यस्तै, नेप्सेका अनुसार जलविद्युत, लघुवित्त र ब्यापार समूहबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । जलविद्युत समूहको ०.२४ प्रतिशत, लघुवित्त समूहको ०.२८ प्रतिशत र ब्यापार समूहको ०.०६ प्रतिशतले घटेको छ । बुधबार फाइनान्स समूह १.६९ प्रतिशतले बढेको छ । यस्तै, विकास बैंक समूह १.०१ प्रतिशत र होटल तथा पर्यटन समूह १.४० प्रतिशतले बढेको नेप्सले बताएको छ । बुधबार वित्तीय विवरण सार्वजनिक गरेको माछापुच्छ्रे बैंकको सेयर मूल्य बढेको छ । बैंकको सेयर मूल्य ३.०१ प्रतिशत अर्थात् ७.६० रुपैयाँ बढेर २६०.४० रुपैयाँ पुगेको छ ।
वेइजिङमा १४० वर्षपछि भीषण वर्षा
बेइजिङ । चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा हालै परेको मुसलधारे वर्षा एक सय ४० वर्षपछि भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन् । बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा ७४४ दशमलब आठ मिलिमिटर वर्षा भएको छ । सन् १८९१ मा ६०९ मिलिमिटर पानी परेको थियो । राजधानी र आसपासका क्षेत्रमा शनिबारदेखिको मुसलधारे वर्षाबाट १३ करोड चिनियाँ प्रभावित भएका छन् । वर्षाको यो अभिलेख विगत ४० घण्टाको हो । राजधानी बेइजिङ र छिमेकी हेबेई प्रान्तमा नौ लाख ७४ हजार चार सय जना विस्थापित भएका छन् । वर्षामा कमी आएसँगै नदीमा जलस्तर पनि घट्दै गएको छ । अधिकारीहरूले जोखिमसूचक तहबाट पानीको सतह तल झरेको बताएका छन् । साथै उनीहरूले सर्वसाधारणलाई सचेत गराउने चेतावनीका सूचना पनि हटाएका छन् । बाढीपहिरामा परी कम्तीमा २० जनाले ज्यान गुमाएका छन्भने केयौँ घाइते भएका छन् । राजधानीका एक लाख बाढीपीडितको उद्धार गरिएको छ भने रेलमा अलपत्र परेका यात्रीलाई हेलिकप्टरबाट खानेकुरा खसाएर सहयोग गरिएको थियो । साथै उनीहरूलाई सैनिक जवानले उद्धार गरेका थिए । उद्धारका क्रममा मङ्गलबार दुई जनाले बेइजिङमा ज्यान गुमाएका बताइएको छ । रासस
व्यवसायजन्य स्वास्थ्य सुरक्षाको सर्वेक्षण प्रतिवेदन सार्वजनिक
काठमाडौं । उद्योग संगठन मोरङले सदस्य उद्योग प्रतिष्ठानहरुमा व्यवसायजन्य स्वास्थ्य सुरक्षाको अवस्था र गर्नुपर्ने सुधारका विषयमा गरेको सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरेको छ । व्यवसायजन्य स्वास्थ्य सुरक्षाका तय मापदण्डलाई आधार रही सर्वेक्षण गरिएको थियो । प्रतिवेदन सार्वजनिक कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले असल उत्पादनका अभ्यास र व्यवसायजन्य स्वास्थ्य सुरक्षाको अन्तरसम्बन्ध हुने बताए । वर्तमान कार्यसमितिले असल उत्पादनका अभ्यासलाई प्राथमिकता राखी सोही अन्तर्गतका गतिविधिलाई बढावा दिने स्पष्ट पारे । उनले व्यवसायजन्य स्वास्थ्य सुरक्षा उत्पादकत्व अभिवृद्धि, दुर्घटना न्यूनिकरण र मानिसको स्वास्थ्यसंग प्रत्यक्ष सम्बन्ध राख्ने भएको बताउँदै आगामी दिनमा संगठनका तर्फबाट उद्योग प्रतिष्ठानहरुमा जनचेतनामूलक कार्यक्रम संचालन गरी सुधारका पक्षमा ध्यान केन्द्रित गरिने जानकारी दिए । सर्वेक्षक विजु थपलियाले प्रतिवेदन प्रस्तुत गर्दै स्वास्थ्य सुरक्षाका लागि व्यवहारिक पक्षहरु सुधार गर्नुपर्नेमा जोड दिए । उनले व्यवसायजन्य स्वास्थ्य सुरक्षाका सन्दर्भमा व्यवस्थापकिय तह र श्रमिक तहमा चेतना स्तर फरक रहको बताउँदै जोखिम न्यूनिकरण, श्रमिकको सुरक्षा चेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । स्वस्थ्य कार्यस्थल निर्माण संस्कृति विकासका लागि उद्योग प्रतिष्ठानहरुले आपतकालिन सुरक्षा योजना बनाउनु पर्नेमा जोड दिए । संगठनले इन्स्योर परियोजनाको सहकार्यमा गरेको सर्वेक्षणका आधारीत रही निकट भविष्यमा यस क्षेत्रको संगठनको सदस्य उद्योग प्रतिष्ठानहरुमा व्यवसायजन्य स्वास्थ्य सुरक्षा अडिट गर्नेछ । सो कार्यक्रममा संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, कार्यसमिति सदस्य दिपक अग्रवाल, इन्स्योर/हेल्भेटासका प्रदेश परियोजना प्रमुख संजिव राई लगायतका प्रतिनिधि र विभिन्न उद्योग प्रतिष्ठानका संचालक एवं व्यवस्थापकको सहभागिता रहेको थियो ।
८० प्रतिशत काम सम्पन्न भएपछि सडकको बजेट रोकियो
भरतपुर । भरतपुरको बसपार्कबाट आँपटारीसम्मको बाइपास सडक निर्माणको काम ८० प्रतिशत सम्पन्न भएपछि बजेट रोकिएको छ । बहुवर्षीय योजनाअन्तर्गत विसं २०७१/७२ देखि निर्माणको काम हुँदै आएको यो सडक निर्माणका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन नभएको हो । सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार दुईवटा ठेक्कामा काम भइरहेको सो सडक निर्माणको अन्तिम चरणमा पुग्दै गर्दा सरकारले योजनामा नै राखेको छैन । उनले भने, ‘एउटा ठेक्का ९७ प्रतिशत र अर्को ठेक्का ७० प्रतिशत सकिएको छ, तर सरकारले यो आयोजना सम्पन्न गर्न बजेट विनियोजन गरेको छैन ।’ योजनामा नपरेपछि सडक विभागमा आफूले पत्राचार गरेको उनले बताए । बाइपास सडक निर्माणका लागि पहिलो ठेक्का केन्द्रीय बस टर्मिनलबाट विशाल चोकसम्म र दोस्रो ठेक्का विशाल चोकबाट आँपटारीसम्म लागेको थियो । पहिलो ठेक्का चार किलोमिटर सडक दुई लेन बनाउनका लागि ठेक्का गरिएको भए पनि स्थानीयको मागसँगै त्यसलाई छोट्याएर दुई किलोमिटर चार लेन निर्माण गरिएको हो । यो ठेक्काको काम ९७ प्रतिशत सकिएको छ । गौरी पार्वती निर्माण सेवासँग १२ करोड रुपैयाँमा ठेक्का सम्झौता भइ काम भइरहेको छ । अहिले यो सडक सम्पन्न हुन केहीमात्रै बाँकी रहेको उनले बताए । उनका अनुसार रायमाझी पशुपति जेभीले ठेक्का सम्झौता गरेर काम गर्दै आएको दोस्रो ठेक्काको कामसमेत ७० प्रतिशत सकिएको छ । मङ्सिर महिनाभित्र पूर्णरूपमा सम्पन्न गर्ने गरी काम भइरहेको सो ठेक्काका लागि २९ करोडमा सम्झौता भएको थियो । अहिले फुटपाथ निर्माणको काम भइरहेको भए पनि बजेट नहुँदा कार्य पूरा गर्न कठिन भएको उनले बताए । उनले भने, ‘ठेकेदार कम्पनीले बिल भुक्तानीका लागि निवेदन दिइसकेका छन्, कार्यालयसँग बजेट छैन ।’ सम्झौताअनुसार निकासा दिनुपर्ने बजेटसमेत निकासा दिन नसकिएको उनले बताए । यो सडक गत आर्थिक वर्षमा निर्माण सम्पन्न हुनुपर्नेमा बजेटको कठिनाइका कारण काम हुन नसकेको उनको भनाइ छ । रासस
गणपती बनस्पतीका आधिकारीक डिलरलाई नबिल बैंकले फाईनान्सिङ्ग सुबिधा दिने
काठमाडौं । नबिल बैंकले लक्की ग्रुप अन्तर्गतको खाने तेल प्रशोधन गर्ने उद्योग गणपती बनस्पतीका आधिकारीक डिलर तथा बिक्रेतालाई च्यानल फाईनान्सिङ्ग सुबिधा दिने भएको छ । मंगलबार राजधानीको एक होटलमा आयोजित कार्यक्रममा गणपती बनस्पतीको तर्फबाट कम्पनीका अध्यक्ष तथा लक्की ग्रुपका प्रबन्ध निर्देशक अमित मोर र नबिल बैकको तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्घानाले उक्त सम्झौतामा हस्ताक्षर गरे । सो कार्यक्रममा कम्पनीका तर्फबाट लक्की ग्रुपका अध्यक्ष सतिश कुमार मोर, उपाध्यक्ष श्रबण कुमार मोर र राजकुमार मोर साथै कार्यकारी निर्देशकहरु अनन्ता मोर, क्रषिराज मोर, राजिब मोर र कम्पनीका उच्च पदस्थ कर्मचारीको उपस्थिती थियो भने बैकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृतहरु मनोज ज्ञवाली, सुजित शाक्य, भुपेन्द्र पाण्डे, कर्पोरेट हेड ज्ञानेन्द्र शाह लगायतका कर्मचारीको उपस्थिती थियो ।