
काठमाडौं । गत वर्ष नेपालमा विद्युतीय सार्वजनिक सवारी साधनको प्रयोग २३४ प्रतिशतले बढेको छ ।
निजी र सार्वजनिक सवारी साधनको प्रयोगमा देखिएका समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा यातायात विज्ञ आशिष गजुरेलले प्रस्तुत गरेको तथ्यांकअनुसार, पछिल्लो एक वर्षमा नेपालमा सार्वजनिक सवारी साधन २३४ प्रतिशतले बढेको हो ।
गजुरेलका अनुसार, आर्थिक वर्ष २०७७/७८ मा नेपालमा विद्युतीय सार्वजनिक सवारी २६ वटा मात्रै थिए । अघिल्लो आर्थिक वर्ष ०७८/७९ मा त्यो संख्या बढेर ८४ मा पुग्यो भने गत आर्थिक वर्ष ०७९/८० मा आउँदा सार्वजनिक विद्युतीय सवारीको संख्या २८१ पुगेको छ ।
तीन वर्षको अवधिमा विद्युतीय सवारीको खरिद र प्रयोग अत्याधिक रुपमा बढेको देखिन्छ ।
विद्युतीय कारको प्रयोग १२४ प्रतिशतले बढ्यो
यातायात विज्ञ गजुरेलले प्रस्तुत गरेका तथ्यांक अनुसार, निजी कारको प्रयोग पनि तीब्ररुपमा बढेको देखिन्छ । आर्थिक वर्ष २०७७/७८ मा विद्युतीय कार २४९ वटा थियो भने ०७८/७९ मा आउँदा एक हजार ८०७ पुग्यो । गत आर्थिक वर्ष ०७९/८० मा आइपुग्दा निजी विद्युतीय कारको आयात नै चार हजार ५० आयात भएको उनले बताए ।
आर्थिक वर्ष २०७७/७८ बाट ०७८/७९ मा आउँदा विद्युतीय निजी कारको प्रयोग २५ प्रतिशतले बढेको र ०७९/८० मा आइपुग्दा त्यस्तो वृद्धि १२४ प्रतिशतले उकालो लागेको उनले बताए ।
गत एक आर्थिक वर्षमा मात्रै नेपालले १२ अर्ब रूपैयाँ भन्दा बढीको विद्युतीय सवारी साधन आयात गरेको भन्सार विभागको तथ्यांक छ ।
नेपालले विद्युतीय सवारीको प्रयोगलाई बढावा दिदैं जानुपर्ने उनले बताए ।
‘अन्य मुलुकहरु विद्युतीय सवारी साधनमा गए पनि नगए पनि नेपाल जानुपर्छ । किनकी नेपालमा विद्युत उत्पादनको ठूलो सम्भावना छ । पेट्रोलियम पदार्थको सम्भावना नेपालमा नभएकाले विद्युतीय सवारी साधनमा जानुपर्ने बाध्यता छ’, गजुरेलले भने ।
विद्युतीय सवारी विश्वभर महङ्गो भएको सन्दर्भ उल्लेख गर्दै उनले विद्युतीय सवारीलाई सस्तो बनाउन सरकारले कम कर लगाउनुपर्ने गजुरेलले बताए ।