विकासन्युज

यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम पूर्वानुमानको आग्रह

फाइल फाेटाे काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ । साथै मनसुन न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उक्त रेखाको पूर्वी भाग केही दिनमा सरदर स्थानभन्दा उत्तरतर्फ सर्ने क्रममा छ । सोही मौसमी प्रणालीका कारण आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षाको सम्भावना छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना छ । लुम्बिनी, गण्डकी, र बागमती प्रदेशको तराई भू–भाग र मधेस प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ । राति पनि बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

सुन तस्करी छानविन संसदीय समितिबाट कि सीआईबीबाट ?

काठमाडौं । योजना आयोगका पूर्वसदस्य डा. जनकराज शाहले सामाजिक सञ्जाल (फेसबुक)मार्फत सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले छानबिन गर्नुपर्ने बताएका छन् । ‘सुन काण्डको छानविन उच्चस्तरीय समितिबाट हैन सीआइबीबाट पाता कसेर हुनु पर्दछ, किनभने यस्तो समितिबाट छानबिन भएका दर्जनौ काण्डहरू प्रतिवेदन बनेर थन्किएका छन् है,’ उनले लेखेका छन् । सौर्य दैनिकका सम्पादक भरत पोखरेल राज्यले सीआइबीका लागि करोडौं खर्च गरेको भन्दै सुन तस्करी प्रकरणको छानबिन सीआइबी बाटै हुनुपर्ने तर्क गर्छन । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कि अनुसन्धानकै लागि राज्यले करोडौं खर्चने सीआइबी खारेज गरौं नत्र सीआइबीभन्दा हाम्रा सांसदहरुसँग के त्यस्तो विशेष खुबी छ र सुनदेखि नुनसम्म छानबिन गर्न संसदीय समिति बनाउन प¥यो ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिएको करिब एक सय क्वीटल सुन तस्करी प्रकरणको छानबिन सीआइबीलाई नै दिनुपर्नेमा धेरैजसो सहमत छन् । तर, संसदमा प्रतिपक्ष दलहरुले भने उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने माग गरेका छन् । उनीहरुले सरकारी संयन्त्रप्रति अविश्वास गर्दै सांसदहरु सम्मिलित छानविन समिति बनाउन माग गरिरहेका छन् । राजनीतिक प्रकृतिको छानविन समिति बनाउँदा सुन तस्करीमा जोडिएकाहरु उम्कन सक्ने भन्दै विद्वत वर्गले छानबिनको जिम्मा सीआइबीलाई दिनुपर्ने बताइरहेका छन् । संसदको प्रमुख प्रतिपक्ष नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने भन्दै संसद नै अवरुद्ध गर्दै आएको छ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पनि सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन समिति बनाएर अध्ययन हुनुपर्ने बताए । तर, माओवादी केन्द्र भने राजनीतिक प्रकृतिको छानविन समिति बनाउने पक्षमा छैन । वर्षमान पुनले कतिपयले आफूलाई पनि सुन तस्कर संक्षककोरुपमा चित्रित गरेको भन्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘जनयुद्धका सहिद परिवार, रोल्पाकी चेली, पार्टी कार्यकर्ता अमला रोकासंग पारिवारिक भेटघाटको सन्दर्भमा ८ वर्ष पहिला नै सार्वजनिक भईसकेको तस्बिरलाई अहिले मसंग जोडेर गरिएको प्रचारप्रति मेरो गम्भीर आपत्ति छ, सरकारले चालेको सुशासनको मुद्दालाई विषयान्तर गर्न गरिएको यस्ता गलत प्रचारको खण्डन गर्दै सुन तस्करीको निस्पक्ष छानविनको म पूर्णरूपमा समर्थन गर्दछु ।’ पूर्व डिआइजी हेमन्त मल्ल सुन तस्करी प्रकरणको छानबिनको जिम्मा नेपाल प्रहरीलाई नै दिनुपर्ने बताउँछन् । ‘राजश्वले ठूलो परिमाणमा सुन जफत गरेर धेरै राम्रो काम गर्याे, यसमा विभागको तारिफ गर्नुपर्छ’, उनले भने, ‘राजश्व अनुसन्धान विभागको मुख्य दायित्व राजश्व छली रोक्नु हो । अबको अनुसन्धान सीआईबीमार्फत गराउनुपर्छ ।’ उनले सुन तस्करीमा राजश्व मात्र नभएर संगठित अपराध जोडिएको विषय रहेको भन्दै नेपाल प्रहरीले मात्र त्यसको अनुसन्धान गर्न सक्ने बताए । ‘सुन तस्करी प्रकरणमा नेपाल मात्र नभएर अन्य देश पनि जोडियो, यस्तो विषयमा अध्ययन गर्ने क्षमता नेपाल प्रहरीसँग मात्र छ, राज्यले यसमा ठूलो लगानी गरेको छ, सुन तस्करी प्रकरणको छानबिनको जिम्मा नेपाल प्रहरीलाई नैै दिनुपर्छ’, मल्लले भने । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै आएका छन् । गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको स्कुटरको ब्रेक–शुमा सुन भेटिएपछि एमालेले उच्चस्तरीय छानबिन समितिको माग गर्दै संसद समेत आवरुद्ध गर्दै आएको छ । त्यसयता एमालेले उच्चस्तरीय छानबिन समिति गठनका लागि सभामुखबाट रुलिङ नभएसम्म बैठक चल्न नदिने अडान राख्दै आएको छ । प्रधानमन्त्रीकै निर्देशनमा संग्लन गराइएन प्रहरी राजश्व अनुसन्धान विभागले भने प्रधानमन्त्रीकै निर्देशनमा नेपाल प्रहरीलाई सुन तस्करी प्रकरणमा समावेश नगरिएको जनाएको छ । ‘प्रधानमन्त्रीज्यूसँग नै समन्वय गरेर अहिले सुन तस्करी प्रकरणको अनुसन्धान भैरहेको छ, उहाँले यो काम विभागले नै गर्नुपर्छ भनेर निर्देशन दिनुभएको कारण प्रहरीलाई संग्लन नगराइएको हो’, विभाग स्रोतले भन्यो । स्रोतकाअनुसार गृहमन्त्री नारायणकाजी श्रेष्ठले समेत सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीसँग छलफल गरेका थिए, छलफलका क्रममा प्रचण्डले विभागबाटै यो मुद्दा टुंग्याउनुपर्छ भनेपछि गृहमन्त्री ब्याक भएका हुन् । विभागले भने सुन तस्करी प्रकरण राजस्व छली भएको भन्दै विभागलाई दिईएको अधिकार अनुसार अनुसन्धान गरिएको जनाएको छ । प्रधानमन्त्रीको स्वकिय सचिव रहेका व्यक्तिलाई राजश्व अनुसन्धान विभागको महानिर्देशक नियुक्त गरिएको एक सातामै ठूलो परिमाणको सुन बरामद गरिएको भन्दै उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने राजनीतिक दलहरुको माग छ । प्रधानमन्त्रीको स्वकीय सचिव नवराज ढुंगाना नै विभागको महानिर्देशक हुँदा छानविन प्रभावित हुनसक्ने भन्दै आलोचना भएपछि विभागले अनुसन्धानका लागि प्रहरीको सहयोग मागेको थियो । विभागले मागेको सहयोग अनुसार प्रहरीले मानव बेचबिखन ब्यूरोमा कार्यरत एसपी कृष्ण पंगेनीलाई अनुसन्धानको जिम्मेवारी दिएको थियो । त्यसयता विभागले अनुसन्धानका लागि कुनै सहयोग नमागेको प्रहरीले जनाएको छ । सामसुम पार्ने षड्यन्त्र नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सुन तस्करी प्रकरणलाई सामसुम पार्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दलकै कारण सुन तस्करी प्रकरण सामसुम पर्ने काम भइरहेको बताएका हुन् । उनले एक सय क्वीन्टल सुन तस्करीमा माथिल्लै तहका व्यक्तिहरु संलग्न भएपछि सीआईबीलाई छानविन गर्न नदिइ सामसुम पार्न खोजिएको आरोप लगाए । सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुन तस्करी प्रकरण छानविनको लागि अर्को समिति आवश्यक नपर्ने बताएकी छिन् । छानविनलाई अन्यत्र मोड्नका लागि राजनीतिक दलहरुले उच्चस्तरीय छानविन समितिको माग गरेको भन्दै प्रधानमन्त्री कार्यालय मातहतको राजश्व अनुसन्धान विभागले नै त्यसको प्रभावकारी छानविन गर्ने शर्माको भनाई छ ।

मन ठूलो भएकी ‘पियारी आमा’

काठमाडौं । खरले छाएको सानो घर । घरछेउको खेतबारीमा धान हरियो छ । हरियो धानखेत देखाउँदै मसिनो स्वरमा पियारी गुरुङले भनिन्, “यो मेरै थियो, स्कुललाई दान गरेँ, मैले त पढ्न पाइनँ, अब अरुले पढ्न पाउन ।” गुरुङको नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–४ मा बसोबास रहेको छ । उमेरले ९६ वर्ष पुगेकी उनलाई सम्मानले बोलाउने नाम बनेको छ ‘पियारी आमा’ । पियारी आमाको घर सानो भए पनि मन भने ठूलो छ । उनले आफूसँग भएको सबै सम्पत्ति विद्यालयलाई हस्तान्तरण गरिन्। पियारी आमाले कावासोती–४ स्थित सरस्वती माविलाई आफ्नो नाममा रहेको सबै आठ कठ्ठा जग्गा दान गरेकी हुन् । निःसन्तान उनी श्रीमानको मृत्यु भएपछि एक्लै बस्दै आएकी छिन् । पियारी आमाको साथी भने पनि साक्षी भने पनि एक कोठासहित सानो खरले छाएको घरमात्रै छ । विद्यालयलाई दिएको जग्गामै उनको घर रहेको छ । खेतमा हुने सबै उब्जनी पियारी आमाले विद्यालयलाई दिने गरेकी हुन् । “मैले दान दिएकी हुँ, दान दिएको फेरि आफूले लिनहुन्न”, उनले भनिन्, “त्यसैले यहाँ जे–जे लगाउँछु पछि विद्यालयलाई लगेर बुझाउने गरेको छु ।” पियारी आमाले आफूसँग भएको जग्गामात्रै होइन, उनका श्रीमान् भारतीय सेनाबाट निवृत्त भएकाले आउने पेन्सनसमेत अरुलाई सहयोग गर्ने गरेकी छिन् । विशेषगरी विद्यालयलाई दान दिनमै उनको रुचि छ । पियारी आमाले विद्यालयमा विभिन्न समयमा आफूसँग भएको पैसा ल्याएर दिने गरेको सरस्वती माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील पौडेलले बताए । “अरूलाई सहयोग गरौँ भन्ने उहाँको भावना छ, विद्यालयमा बेला–बेलामा सहयोग प्रदान गर्नुभएको छ”, उनले भने । अरुबाट केही आश नगर्ने, केही लिन नखोज्ने तर आफूले भने सहयोग गर्ने स्वभाव उनको छ । शिक्षा क्षेत्रमा आफूसँग भएको सबै रकम दान गरेकाले विद्यालयले पियारी आमालाई सर्वस्वदाताका रूपमा सम्मानसमेत गरेको छ । शिक्षाको विकासका लागि निस्वार्थ भावमा आफ्नो सबै जायजेथा दान गरेकाले उनको सम्मानमा अहिले पियारी गुरुङ स्तम्भ निर्माण गर्न लागिएको छ । पियारी आमाको घरछेउमा स्मृतिस्तम्भ निर्माण गर्न लागिएको कावासोती नगरपालिका शिक्षा शाखा प्रमुख क्षेत्रबहादुर भण्डारीले बताए । “शिक्षाको विकासमा बिनास्वार्थ पियारी आमाले गरेको दान ठूलो छ, हामीले दाताको हौसला बढाउनुपर्छ, यसैले सम्मानस्वरुप पियारी गुरुङ स्तम्भ निर्माण गर्न लागेका हौँ”, उनले भने । रासस

निजी फाइदालाई माथि राख्न थाल्यो भने व्यवसायीले अर्को बाटो रोज्छन् : अर्थमन्त्री डा.महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले सबैले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने बताएका छन् । बिहीबार सुक्खा बन्दरगाह वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा उनले भन्सारमा हुने दुरुपयोगलाई कर्मचारीले गम्भीरतापूर्वक लिनसके र सबै इमान्दार भइदिए सजिलै लक्ष्यमा पुग्न सकिने बताए । मन्त्री डा.महतले आयात र माग नहुँदा भन्सार शुल्क नउठ्नु स्वाभाविक भएको र त्यसमा राजस्व नउठ्नुमा कर्मचारीको नियन्त्रण बाहिरको कुरा भएको बताए । तर, बजारमा प्रशस्त मालवस्तु हुँदा पनि राजस्व घटिरहेको छ भने त्यो अवस्थामा प्रश्न गर्न सकिने उनको भनाइ छ । “हामीले यथेष्ट काम गरेनौँ, हामी जिम्मेवार भएनौँ, हामीले आँखा चिम्ल्यौँ अथवा हामीले सार्वजनिकभन्दा निजी फाइदालाई महत्त्व दियौँ भने राजस्व कम उठ्छ”, उनले भने । जायज कुरालाई नजायज बनाउन थालियो, सार्वजनिकभन्दा निजी फाइदालाई माथि राख्न थालियो भने निश्चितरूपमा व्यवसायीले अर्को बाटो रोज्ने उनको भनाइ छ । “राजस्व सङ्कलनमा भन्सार र सुरक्षा निकायको महत्त्वपूर्ण भूमिका हुन्छ । भन्सार नाकाभन्दा बाहिरबाट मालवस्तु आयात भयो भने त्यसलाई सुरक्षा निकायले हेर्नुपर्छ”, मन्त्री महतले भने । सुक्खा बन्दरगाहमा ठूलो मेसिन आए पनि उपयोगमा आउन नसकेको उल्लेख गर्दै उनले भने, “उपयोगमा किन आएन कसैलाई थाहा छैन, अरुले सहयोग नै गर्न चाहेनन् । यो प्रयोगमा आयो भने निजीलाई फाइदा पुग्दैन भन्ने सुनियो, प्रविधि भनेको कामलाई सहजीकरण गर्ने हो, जाँचपास विधिलाई सहज बनाउने हो, त्यसलाई ग्रहण गर्नुपर्छ, त्यसलाई अपग्रेड गर्न स्रोतको कमी हुँदैन, तर तपाईंहरूले सहयोग गर्नुपर्छ ।” आफू फाइदा उठाउन नभई काम गर्न आएको, फाइदा मलाई सरकारले दिएको छ भन्ने कुरा मनन गरेमा भने राजस्वले लक्ष्य भेट्ने उनको जिकिर थियो । राजस्वको लक्ष्य के छ ? गत वर्ष कस्तो प्रगति भयो, के कारणले लक्ष्य प्राप्त गर्न सकिएन ? कार्यालयको योजना के छ ? यसको समाधान गर्ने बाटो के हुनसक्छ ? मन्त्रालयसँग के अपेक्षा छ ? भन्ने कुरामा सबै स्पष्ट रहेको मन्त्री डा महतले प्रष्ट पारे । भन्सार योगदानको ४० प्रतिशत सुक्खा बन्दरगाह भन्सार र वीरगञ्ज भन्सार कार्यालयबाट प्राप्त हुने उल्लेख गर्दै मन्त्री महतले कर्मचारीको जिम्मेवारी कति गहन छ भन्ने यसैबाट बुझ्नुपर्ने बतए । “राजस्वको लक्ष्य प्राप्त गर्नका लागि धेरै ठूलो जिम्मेवारी यी दुई भन्सार कार्यालयको छ”, उनले भने, “त्यसकारण तपाईंहरू सजग रहनुहोस् ।”

२२० वटा सवारीसहित ७ करोड तस्करीका सामान भन्सारलाई बुझाइयो

काठमाडौं । सशस्त्र प्रहरीले महोत्तरीमा भारतीय बजारबाट भन्सार छलेर नेपाल ल्याइएको ७ करोड ५७ हजार रुपैयाँ बराबरको सामान भन्सार कार्यालयलाई बुझाइएको छ । गत आर्थिक वर्ष २०७९÷८० मा जिल्लाका विभिन्न नाका हुँदै भन्सार छलेर ल्याइएका सामान बरामद गरी भन्सारलाई बुझाइएको हो । भन्सार छलेर सामान ल्याउने व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय भिठ्ठामोरलाई बुझाइएको सशस्त्र प्रहरी बल ९ नं गण कार्यालयले जनाएको छ । सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक लेखनाथ खनालका अनुसार गत आव २०७९÷८० मा भारतसँग सीमा जोडिएका जिल्लाको करिब ३९ किलोमिटर क्षेत्रमा विभिन्न नाकाबाट भन्सार छलेर ल्याउन लागिएको सामान नियन्त्रणमा लिई भन्सार कार्यालयलाई बुझाएको हो । भन्सार छलीका सामानमा सबैभन्दा बढी सवारीसाधन रहेका छन् । बरामद गरी भन्सारलाई बुझाइएका २२० सवारीसाधन ३ करोड ४३ लाख रुपैयाँ मूल्य बराबरका रहेका छन् । यसैगरी २३ लाख ८२ हजार रुपैयाँको पशुचौपाया तथा ३ करोड २३ लाख रुपैयाँ मूल्य बराबरका अन्य सामान बरामद गरी भन्सार दाखिला गरिएको एसपी खनालले जानकारी दिए । बरामद गरिएका अन्यमा १ करोड ९ लाख रुपैयाँ मूल्यबराबरका किराना र कस्मेटिक सामग्री, ९१ लाख ६० हजार रुपैयाँका कपडा, २८ लाख ३० हजार रुपैयाँका चौँरी गाईका पुच्छर, २५ लाख ६३ हजार रुपैयाँका इलेक्ट्रोनिक्स सामान लगायत छन् ।

कुमारी बैंकको साढे ७ लाख कित्ता सेयरको मूल्य १०५ रुपैयाँ

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । बैंकले संस्थापक समूहको सेयर साउन १९ गतेदेखि भदौ १ गतेसम्म बिक्री खुला गरेको हो । बैंकले बिक्रीमा राखेको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता १०५ रुपैयाँ तोकेको छ । आवेदन दिँदा सो वा सो मूल्यभन्दा बढी कबोल गरी पेश गर्नुपर्नेछ । खरिद गर्न इच्छुक लगानीकर्ताहरुले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । बैंकको सेयर बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

बेष्ट फाइनान्सको ब्याज आम्दानी साढे १३ करोड रुपैयाँ, निक्षेप १५.७० प्रतिशत बढ्यो

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद ब्याज आम्दानी ३.३९ प्रतिशत बढेर १३ करोड ९ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले १२ करोड ६६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा फाइनान्सको चुक्ता पूँजी ३.१२ प्रतिशत बढेर ८५ करोड ४८ लाख १६ हजार रुपैयाँ, जगेडा कोष ५.२७ प्रतिशत घटेर ५३ करोड २९ लाख ६ हजार रुपैयाँ, निक्षेप संकलन १५.७० प्रतिशत बढेर ४ अर्ब १७ करोड १५ लाख रुपैयाँ र कर्जा लगानी १२.३२ प्रतिशत बढेर ३ अर्ब ५९ करोड १ लाख रुपैयाँ पुगेको छ । गत असारसम्म फाइनान्सको खुद नाफा ७६.८७ प्रतिशत घटेर ३ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले १६ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । फाइनान्सको कूल सञ्चालन आम्दानी १६ प्रतिशत बढेर २३ करोड ५ लाख रुपैयाँ, सञ्चालन नाफा ७३.३३ प्रतिशत घटेर ५ करोड ५८ लाख रुपैयाँ र वितरणयोग्य नाफा २० करोड ८४ लाख रुपैयाँ ऋणात्मक छ । फाइनान्सको प्रतिसेयर आम्दानी ४.५२ रुपैयाँ रहेको छ । यस्तै, फाइनान्सको मूल्य आम्दानी अनुपात ७८.०३ गुणा छ भने प्रतिसेयर नेटवर्थ १३९.७१ रुपैयाँ रहेको छ । फाइनान्सको खराब कर्जा २.२४ प्रतिशतबाट बढेर ३.३० प्रतिशत पुगेको छ । फाइनान्सको आधार दर १४.९९ प्रतिशत, कस्ट अफ फण्ड १०.७५ प्रतिशत सीडी रेसियो ८२.४४ प्रतिशत र स्प्रेडदर ४.५७ प्रतिशत रहेको छ ।

सपोर्ट लघुवित्तले एनपीएल ह्वात्तै घटाउँदा १३२ प्रतिशत बढ्यो नाफा

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा १३२.२३ प्रतिशत बढेर २ करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ९७ लाख रुपैयाँ खुद आर्जन गरेको थियो । लघुवित्तले गत वर्ष खराब कर्जा (एनपीएल) ह्वात्तै घटाएपछि नाफा बढ्न पुगेको हो । लघुवित्तको खराब कर्जा ६.७३ प्रतिशत घटेर १.८३ प्रतिशतमा झारेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तको खराब कर्जा ८.५६ प्रतिशत थियो । गत आर्थिक वर्षको असारसम्म लघुवित्तको खुद ब्याज आम्दानी ११.२४ प्रतिशत घटेर ७ करोड २ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ७ करोड ९१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । लघुवित्तको अन्य सञ्चालन आम्दानी ५५.१६ प्रतिशत बढेर १ करोड ८३ रुपैयाँ, कुल सञ्चालन आम्दानी २.७७ प्रतिशत घटेर ८ करोड ९० लाख रुपैयाँ, सञ्चालन नाफा ४२ प्रतिशत बढेर १ करोड ९१ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ९ करोड ५२ लाख रुपैयाँ, जगेडा कोष ७३.७७ प्रतिशत बढेर ५ करोड २० लाख रुपैयाँ, निक्षेप १२.६१ प्रतिशत बढेर ३० करोड ३३ लाख रुपैयाँ, सापटि ११.५१ प्रतिशत बढेर १ अर्ब ६ करोड १९ लाख रुपैयाँ र कर्जा लगानी ११.९३ प्रतिशत बढेर १ अर्ब ४६ करोड १६ लाख रुपैयाँ पुगेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी ५.४४ रुपैयाँबाट घटेर २.८१ रुपैयाँमा सीमित भएको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात २६२.२५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२०.२६ रुपैयाँ रहेको छ ।