मन्त्री गुरुङको निर्देशन- समस्या देखाएर पन्छिने होइन, समाधान गरेर काम गर्नुहोस्
काठमाडौं । शहरी विकास मन्त्री सीता गुरुङले कर्मचारीहरुलाई परिणाममुखी काम गर्न निर्देशन दिएकी छन् । आयोजनामा रहेको समस्या समाधान गर्न आफू प्रतिबद्ध रहको बताउँदै उनले परिणाम आउने गरी काम गर्न निर्देशन दिएकी हुन् । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागको २०७९/०८० को बार्षिक प्रगति समीक्षा तथा आर्थिक बर्ष २०८०/०८१ को बार्षिक कार्यक्रम कार्यान्वयन सम्बन्धी गोष्ठिलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री गुरुङले मनदेखि नै काम गर्न आयोजना प्रमुखहरुलाई निर्देशन दिएकी हुन् । उनले भनिन्, ‘समस्या छ भनेर मात्र होइन, समाधान गर्ने गरी अघि बढनुहोस्, मन्त्रालयले गर्नुपर्ने निर्णय समयमा नै गरेर अघि बढछ ।’ आयोजना, विभाग र मन्त्रालयको समन्वयको कामलाई प्रभावकारी रुपमा अघि बढाइने प्रतिबद्धता जनाउदै गुरूङले अन्तर मन्त्रालयको समन्वयको कामलाई पनि उच्च प्राथमिकता दिइने बताइन् । मन्त्रालयले गत आर्थिक बर्षमा अपेक्षाअनुसार पुँजीगत खर्च गर्न नसकेको बताउँदै मन्त्री गुरुङले यस आर्थिक बर्षमा लक्ष्य अनुसारको पुँजीगत खर्च बढाउनको लागि आयोजनाका प्रमुखहरुलाई निर्देशन दिएकी छिन् । कार्यक्रममा शहरी विकास मन्त्रालयका रविन्द्रनाथ श्रेष्ठले रुग्न आयोजनाहरुमा अब धेरै अलमलिन नहुने बताउँदै काम नगर्ने निर्माण व्यवसायीहरुसँग ठेक्का तोडेर अघि बढन निर्देशन दिएका छन् । ‘पुँजीगत खर्च बढाउन ध्यान दिनुपर्छ, अहिलेको पुँजीगत खर्च सन्तोषजनक छैन, यस आर्थिक बर्षमा लक्ष्य अनुसारको खर्च गर्न समयमा नै काम अघि बढाउनुहोस्’, श्रेष्ठले भने । शहरी विकास तथा भवन निर्माण विभागले गत आर्थिक बर्षमा ३८ अर्ब ९५ करोड ७९ लाख ४ हजार विनियोजन भएकोमा ५९ प्रतिशत वित्तिय र ६५ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । यस आर्थिक बर्षमा विभागको लागि २९ अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरेको छ ।
ज्ञानेन्द्र मल्ल : गल्ली क्रिकेटदेखि विश्वस्तरीय खेलसम्मको सहयात्री
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले १८ वर्षे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । शुक्रबार एक कार्यक्रम आयोजना गर्दै मल्लले क्रिकेट करियरबाटै संन्यास लिएको घोषणा गरेका हुन् । मल्ल नेपाली राष्ट्रिय क्रिकेटका टोलीका भरपर्दा ब्याट्सम्यान थिए । एशिया कपको तयारीका लागि श्रीलंकामा हाइ पर्फमेन्स प्रशिक्षण गरेर नेपाली टोली फर्किएको भोलिपल्ट नै ज्ञानेन्द्रले क्रिकेट करियरबाट सन्यास घोषणा गरेका हुन् । क्रिकेट करियरबाटै सन्यासको घोषणा गर्दा उनी केहीबेर भावुक भएका थिए । कप्तान र उपकप्तानको भूमिकाबाट देशको झण्डा बोक्नु जीवनकै खुशीको क्षणको रूपमा लिएको मल्लले बताए । डिभिजन ६ देखि नेपालले ट्वान्टी–२० विश्वकपसम्मको यात्रा तय गर्दा ज्ञानेन्द्र नेपाली टोलीका महत्वपूर्ण सदस्य थिए । घरेलु क्लव यङ्गालबाट क्रिकेट खेल्न शुरु गरेका मल्ले उमेरसमूहदेखि नै नेपालको प्रतिनिधित्व गर्दै आएका थिए । सन् २००६ को यु–१९ विश्वकप खेलेका उनले सिनियर टोलीबाट ट्वान्टी–२० विश्वकपसम्म यात्रा तय गरे । सन् २००८ को यु–१९ विश्वकपमा नेपाली युवा टोलीको उपकप्तान रहेका मल्ल सिनियर टोलीबाट पनि लामो समय सोही जिम्मेवारीमा रहे । तत्कालीन कप्तान पारस खड्काले राजीनामा दिएसँगै मल्लले नेपाली राष्ट्रिय क्रिकेट टोलीको नेतृत्व सम्हालेका थिए । खेलाडीहरूको पारिश्रमिक विषयलाई लिएर नेपाल क्रिकेट संघ(क्यान)सँग विवाद भएपछि क्यानले मल्ललाई कारबाही गर्दै सो जिम्मेवारीबाट हटाएको थियो । त्यसपछि मल्ल सन्दीप लामिछाने र रोहित पौडेलको कप्तानीबाट खेल्दै आएका थिए ।
‘बरामद होइन, सुन कति उम्कियो भन्ने मुख्य प्रश्न हो’
काठमाडौं । संसदीय समितिले ललिता निवास, नक्कली भूटानी शरणार्थीदेखि सुनकाण्डसम्मका घटनाले सुशासनको विषयमा लज्जाबोध गराएको जनाउँदै त्यस्ता घटनाको गहिरो अनुसन्धान र निष्पक्ष छानबिनको माग गरेको छ । राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सदस्यहरुले संसद् नचलेको तथा कार्य क्षेत्र भित्र परेको विषयसँग सम्बन्धित १ सय किलो सुन प्रकरणसहितका घटनाबारे गृहमन्त्रीलाई बोलाएर समितिमा प्रखर छलफलको आवश्यकता औँल्याए । राज्यव्यवस्था र सुशासनसँग सम्वन्धित विषयमा अत्यन्तै प्रभावशाली र क्रियाशील हुनुपर्नेमा एकपछि अर्को काण्ड भइरहेको समयमा अझ बैठक घनिभूत हुन आवश्यक रहेको बताउँदै उनीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चामा रहेका ३ वटै घटनाको निष्पक्ष छानबिन र अनुसन्धानबारे गृहमन्त्रीसँग जानकारी लिनुपर्ने सुझाव दिए । समितिको कार्य क्षेत्र भित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा र गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान, निर्वाचन र लोक सेवा आयोगसहित पर्छ । समिति सदस्य रवी लामिछानेले अन्तर्राष्ट्रिय सञ्जाल, सङ्गठित अपराधसँग जोडिएका घटनाले भ्रष्टाचार नियन्त्रण, सुशासनलाई चूनौति दिएको बताउँदै गहिरो अनुसन्धान र निष्पक्ष छानबिनका लागि समितिको निर्देशन माग गरे । समितिका पूर्वसभापति एवं सदस्य हृदयराम थानीले मुलुकमा भएका पछिल्ला घटनाबारे गृहमन्त्रीबाट आवश्यक जानकारी लिनु स्वभाविक भएको बताए । समिति सदस्य लिलानाथ श्रेष्ठले मुलुकमा पछिल्लो समय भएका ठूला घटनामा सङ्लग्न मुख्य व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गर्न सरकारलाई कसले चुनौति खडा गर्यो भनी प्रश्न गरे । सांसद ईश्वरी न्यौपानेले विदेशमा पसिना बगाएर आउने श्रमिकले बोकेको चार आना देख्ने तर क्वीन्टलका क्वीन्टल सुन भन्सार पार हुँदा नदेख्ने घटनाले सुशासनको धज्जी उडाएको विचार राखे । समिति सदस्य विश्वप्रकाश शर्माले १ सय किलो सुन बरामदको नभई कति उम्कियो भन्ने मुख्य प्रश्न भएको बताउँदै नक्कली शरणार्थीदेखि सक्कली सुनसम्मका घटनाको गहिरो अनुसन्धान र निष्पक्ष छानबिनका लागि समितिमार्फत सरकारको ध्यानाकर्षण गराए । सदस्य कृष्ण गोपाल श्रेष्ठले मुलुकमा पछिल्लो पटक सार्वजनिक भएका महत्त्वपूर्ण घटनालाई अनुसन्धान र छानबिनका हिसाबले टुङ्गोमा पुर्याउन आवश्यक रहेको धारणा राखे । सदस्य दिलेन्द्रप्रसाद वडूले १ सय किलो सुन काण्डले भन्सार र सुरक्षाको क्षमतामाथि प्रश्न खडा गरे पनि सरकारकै संयन्त्रले पक्राउ गरेको घटनालाई पनि अन्यथारुपमा हेर्न नहुने तर्क गरे । यसअघि बैठकमा समिति सचिवालयले तयार गरेको आन्तरिक कार्यविधि २०८० माथि भएको छलफलमा सदस्यले समितिलाई प्रभावकारी तुल्याउन तथा समयको परिमालनामा जोड दिँदै प्रेसलाई बैठकमा सहज पहुँच दिने विषयमा अन्यथा लिन नहुने धारणा राखे ।
बजार अनुगमनका लागि जनशक्ति पर्याप्त भएन : वाणिज्य विभाग
\काठमाडौं । बजार अनुगमनका लागि कर्मचारी अभाव भएको गुनासो वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको छ । विभागमा आज आयोजित भेटघाटका क्रमका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले विभागको दैनिक कार्य सञ्चालनकै लागि कर्मचारी अभाव रहेको र बजार अनुगमनको कामसमेत प्रभावकारी हुन नसकेको बताए “विभागका कार्यलयभित्रकै काम गर्नका लागि पर्याप्त कर्मचारी छैनन् । सूचना प्रविधि (आइटी) शाखामा अहिले कर्मचारी नै छैनन् । बजार अनुगमनमा खटिने कर्मचारीको पनि अभाव छ”, उनले भने, “अब चाँडबाड नजिकिँदै गर्दा बजार अनुगमन बढाउनुपर्ने भएकाले हामीले कम्तीमा एक जना उपसचिव र १० जना शाखा अधिकृतसहितको टोली माग गरेका छौँ ।” त्यस्तै अहिले स्थानीय तहलाई नै बजार अनुमगनको अधिकार भएकाले सम्बन्धित क्षेत्रभित्र पालिकाबाटै बजार अनुगमन हुनु जरुरी रहेको उनको भनाइ छ । विभागले आजै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै सबै स्थानीय तहलाई बजार अनुगमनका काममा गम्भीर हुन भनेको छ । पछिल्लो समय चामलमा भइरहेको मूल्यवृद्धिबारे स्थानीय तहले अनुगमन बढाउन आवश्यक रहेको विभागको भनाइ छ । “हाल भारतबाट चामल निर्यातमा प्रतिबन्ध लगाइएको भन्ने बहानामा विभिन्न स्थानमा चामल आदि खाद्यान्न वस्तुको मूल्यवृद्धि भएको भनि समाचार एवं गुनासो प्राप्त भइरहेको साथै निकट भविष्यमा चाडबाड नजिकिइरहेका बेला स्थानीय तहबाट पनि बजार अनुगमन गर्ने संवैधानिक एवं कानूनी व्यवस्थाअनुसार नियमित बजार अनुगमनका लागि सम्पूर्ण स्थानीय तहलाई लेखिपठाइ दिनहुन सादर अनुरोध छ ।” विभागले मन्त्रालयलाई पठाएको पत्रमा भनिएको छ ।
समृद्धि फाइनान्सका ग्राहकलाई होटल ठमेल पार्कमा २० प्रतिशतसम्म छुट
काठमाडौं । समृद्धि फाइनान्सका ग्राहकले होटल ठमेल पार्कमा छुट पाउने भएका छन् । फाइनान्स र होटलले शुक्रबार छुट सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत टिकानिधि लोहनी र होटल ठमेल पार्कका तर्फबाट व्यवस्थापक प्रमुख कृष्णप्रसाद ढकालले हस्ताक्षर गरेका छन् । समृद्धि फाइनान्सको मोबाइल बैकिङ्ग, डेविट कार्ड तथा क्यूआर प्रयोग गरी भुक्तान गर्दा २० प्रतिशतसम्म छुट पाउने बताइएको छ । उक्त होटलमा समृद्धि फाइनान्सका ग्राहकले स्पामा २० प्रतिशत, फुड, वेभरेज तथा कोठामा १५ प्रतिशत छुट प्राप्त गर्ने छन् ।
ग्लोबल इक्विटी फण्ड र उर्जा डेभलपर्सले ऊर्जा इम्प्याक्ट फण्ड सिर्जना गर्ने
काठमाडौं । ऊर्जा इम्प्याक्ट फण्ड सिर्जना गर्न ग्लोबल इक्विटी फण्ड र उर्जा डेभलपर्सबीच सम्झौता भएको छ । हरित ऊर्जा र नवीकरणीय ऊर्जा परियोजनामा लगानी गर्ने उद्देश्यका साथ ऊर्जा इम्प्याक्ट फण्डमा सम्झौता भएको हो । उर्जा इम्प्याक्ट एक हरित ऊर्जा केन्द्रित कोष हो । यस फण्डले जलविद्युत परियोजनाहरू, सौर्य परियोजनाहरू, र अफ(ग्रिड सौर्य परियोजनाहरू (रुफटप सोलार प्लान्टहरू) मा लगानी गर्नेछ । ग्लोबल इक्विटी फण्ड र उर्जा डेभलपर्सले उर्जा इम्प्याक्ट फण्डमा कोष प्रबन्धको रुपमा रहेर स्वदेशी तथा अन्तर्राष्ट्रिय संस्थागत लगानीकर्ता, विकास वित्त संस्था र आईएफसी र एडिबि जस्ता संस्थामार्फत् फण्ड संकलन गर्नेछ । नवीकरणीय ऊर्जा विकास नेपालको लागि स्वच्छ ऊर्जामा रूपान्तरण र महत्वपूर्ण जलवायु लक्ष्यहरू पूरा गर्नका लागि आर्थिक र सामाजिक विकासलाई सशक्त बनाउन सर्वोपरी रहेको ग्लोबल इक्विटी फण्डका प्रबन्ध निर्देशक डा.मनिष थापाले बताए । उनका अनुसार उर्जा डेभलपर्ससँगको साझेदारीले स्वच्छ बिजुली ल्याउने परियोजनाहरूको वित्तपोषणलाई उत्प्रेरित गर्न, निम्न समुदायहरूको आर्थिक विकास र दिगो जीविकोपार्जनलाई प्रवद्र्धन गर्न अति आवश्यक पूँजी उपलब्ध गराएर स्वच्छ ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ । ग्लोबल इक्विटी फण्ड नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट इजाजतपत्र प्राप्त प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फन्ड प्रबन्धक कम्पनी हो । जसले विभिन्न आकार र फोकसका कोषहरू चलाउँदै आएको छ । उर्जा डेभलपर्स कम्पनी नवीकरणीय ऊर्जा क्षेत्रका लागि समाधान प्रदायक कम्पनी हो । जसले सन् २०३० सम्ममा १ गिगावाट कार्बन न्यूट्रल ऊर्जाको उत्पादन गन
विद्युतीय हाजिरी मेसिन नै प्राध्यापकहरुले बोकेर हिँडे : उपकुलपति बास्कोटा
काठमाडाैं । त्रिभुवन विश्वविद्यालय(त्रिवि)का प्राध्यापकहरुले विद्युतीय हाजिरी मेसिन समेत राख्न नदिएको खुलासा भएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले पढाउँदै नपढाई तलब बुझ्ने बेथितिलाई निरुत्साहित गर्न आफूले व्यवस्था गरेको विद्युतीय हाजिरी मेसिन प्राध्यापकहरुले बोकेर हिँडेको बताएका छन् । शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा बोल्दै बास्कोटाले विद्युतीय हाजिरी मेसिन बोकेर हिँड्नेहरुलाई कारबाही गर्न दिएको निवेदन प्रहरीले समेत बुझ्न नमानेको गुनासो गरे । ‘हाम्रा त शिक्षकहरु पनि यस्ता भएकी २२ गते पुगेपछि एकाउन्टेनले हाजिर गर्न आउनुस् भन्ने चलन छ । आएर हाजिर गरेर तलब बुझ्ने चलन । यसलाई निरुत्साहित गर्न डिजिटल हाजिरी राखिदिएको शिक्षकहरुले बोकेर हिँडिदिए’, बास्कोटाले भने । उपकुलपति बास्कोटाले उनीहरुलाई कारबाहीका लागि काठमाडौंको कुनै एक होटलमा आफूहरुले गरेको मिटिङको माईन्युट समेत संगठनको आवरणमा केही मानिसहरुले लुटेर लगेको र तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलले बुझेकोमा असन्तुष्टि समेत व्यक्त गरे । विश्वविद्यालय राजनीतिक भागबण्डाको थलो भएकाले यसको सुधारमा लागि आफू एक्लैको प्रयासले सम्भव नहुने पनि उनले बताए । उपकुलपति बास्कोटाले त्रिविका कतिपय विषयका विद्यार्थीभन्दा शिक्षक बढी भएको स्वीकार गर्दै अब उनीहरुलाई आवश्यक्ताको आधारमा अध्यापन कार्यमा खटाउने गरी विद्युतीय प्रणालीको व्यवस्था गरिएको बताए ।
इन्जिनियरिङ पढाईको शुल्क नबढाउन माग गर्दै विद्यार्थीको प्रदर्शन
काठमाडौं । थापाथली क्याम्पसमा इन्जिनियरिङ पढाइको शुल्क मनोमानी ढंगले बढाउन खोजेको भन्दै विद्यार्थीहरुले विरोध गरेका छन् । शुक्रबार स्वतन्त्र विद्यार्थी युनियनले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान(आईओई)ले इन्जिनियरिङ पढाईको शुल्क मनोमानी ढंगले बढाउन खोजेको भन्दै प्रदर्शन गरेको हो । विद्यार्थीहरुले इन्जिनियरिङ पढाईको शुल्क सरकारले १४० प्रतिशतसम्म बढाउन लागेको बताए । उनीहरूले त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले तीन लाख ३० हजार रूपैयाँबाट बढाएर सात लाख ७७ हजार बनाउन नहुने भन्दै त्यसको बिरोधमा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् । त्यस्तै, थापाथली क्याम्पस सानो क्षेत्रमा सञ्चालनमा रहेको भन्दै इन्जिनियरिङ क्याम्पसलाई अर्को ठाउँमा स्थानान्तरण गर्नुपर्ने माग उनीहरुको छ ।