विकासन्युज

शिक्षा विधेयकको विरुद्ध संस्थागत विद्यालयहरुले आन्दोलन गर्ने

काठमाडौं । सरकारले अगाडि बढाएको ‘विद्यालय शिक्षा ऐन, २०७९’ विधेयकको विरुद्धमा निजी शैक्षिक संस्थाहरुले आन्दोलन गर्ने भएका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन)का अध्यक्ष पाण्डव हमालले समग्र निजी विद्यालयलाई मुलुकबाट विस्थापित गर्ने षडयन्त्र भएकाले आन्दोलनको तयारीमा रहेको बताएका छन् । ‘समग्र निजी विद्यालय शिक्षालाई यो मुलुकबाट विस्थापित गर्ने षडयन्त्रका बीच अबको हाम्रो गन्तव्य स्पष्ट गर्यो, त्यसैले सबै तयार रहौं, सवाल रहने की नरहने भन्ने हो, बाटो एउटै छ, दुर्भाग्यवश अब हामी आन्दोलनको तयारीमा’, अध्यक्ष हमालले निजी विद्यालयहरुलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत् आह्वान गरेका छन् । अहिले एनप्याब्सनका प्रतिनिधिहरुले सरकारको सम्बन्धित तहमा विधेयकको धारणाबारे भेटघाट तथा छलफल गरिरहेको हमालले विकासन्युजलाई बताए । साथै उनले  विधेयक  निर्माण प्रकृयामा सरोकारवाला निकायलाई सहभागी नगराईएको समेत उनले बताए ।

शिखर इन्स्योरेन्सका अध्यक्ष अग्रवालले ग्रहण गरे शपथ

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीका अध्यक्ष गौरव अग्रवालले पद तथा गोपनियताको सथप ग्रहण गरेका छन् । उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष शपथ ग्रहण गरेका हुन् । अध्यक्ष सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज शिखर इन्स्योरेन्स कम्पनीको संचालक समितिका अध्यक्ष अग्रवाललाई अध्यक्ष पदको शपथ गराएका हुन् । त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल र शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे उपस्थित रहेको थियो ।

चौथो त्रैमासमा बैंकहरुको खराब कर्जा घट्यो, दुई बैंकको एक प्रतिशत कम

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म बैंकहरुको खराब कर्जा औसत ३ प्रतिशत कायम भएको छ । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार  एनपीएल १.४५ प्रतिशतले बढेर ३ प्रतिशत कायम भएकाे हाे । अघिल्लो वर्षको सोही अवधिमा बैंकहरुको एनपीएल औषत १.२५ प्रतिशत थियो । समीक्षा अवधिमा कुनै पनि बैंकले एनपील घटाउन सकेका छैनन् । गत असारसम्म २ वटा बैंकको एनपीएल शून्य प्रतिशतको हाराहारीमा छ भने ५ वटा बैंकको ४ प्रतिशतभन्दा बढी पुगेको छ । तर, गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा बैंकहरुको खराब कर्जा घटेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकहरुको खराब कर्जा ३.२६ प्रतिशत थियो । गत असारसम्म एभरेष्ट बैंक र एनआईसी एशिया बैंकको एनपीएल शून्य प्रतिशतमा सिमित राखेका छन् । एभरेष्ट बैंकको ०.६७ प्रतिशत बढेर ०.७९ प्रतिशत र एनआईसी एशिया बैंकको ०.२७ प्रतिशत बढेर ०.८० प्रतिशतमा कायम राखेको छ । यस्तै, सानिमा बैंकको ०.१० प्रतिशत बढेर १.३ प्रतिशत, नबिल बैंकको ०.५९ प्रतिशत बढेर १.२३ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकको ०.५८ प्रतिशत बढेर १.१७ प्रतिशत पुगेको छ । गत असारसम्म कुमारी बैंकको ३.६६ प्रतिशत बढेर ४.७७ प्रतिशत, हिमालयन बैंकको २.९८ प्रतिशत बढेर ४.५७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको २.८६ प्रतिशत बढेर ४.३५ प्रतिशत, प्राइम बैंकको २.४६ प्रतिशत बढेर ४.२३ प्रतिशत र प्रभु बैंकको २.३० प्रतिशत बढेर ४.१६ प्रतिशत खराब कर्जा पुगेको हो । कुमारी, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा र प्रभु बैंक मर्जर तथा एक्विजिशनमा सामेल भएका बैंक हुन् । गत वर्ष मर्जर तथा एक्विजिशनमा जाने बैंकहरुको खराब कर्जा बढेको देखिन्छ । यस्तै, सिटिजन्स बैंकको ०.९७ प्रतिशत बढेर ३.१९ प्रतिशत र ग्लोबल आइएमई बैंकको १.८० प्रतिशत बढेर ३.१९ प्रतिशत एनपीएल रहेको छ । तथ्याङ्क अनुसार राष्ट्रिय वाणिज्य बैंकको ०.८६ प्रतिशत बढेर २.९५ प्रतिशत, नेपाल बैंकको १.०२ प्रतिशत बढेर २.८५ प्रतिशत, लक्ष्मी सनराइज बैंकको १.९२ प्रतिशत बढेर २.८१ प्रतिशत, एनएमबि बैंकको १.२७ प्रतिशत बढेर २.७२ प्रतिशत, कृषि विकास बैंकको ०.३९ प्रतिशत बढेर २.४८ प्रतिशत, नेपाल एसबिआई बैंकको २.२८ प्रतिशत बढेर २.४३ प्रतिशत, माछापुच्छ्रे बैंकको १.०८ प्रतिशत बढेर २.१२ प्रतिशत र सिद्धार्थ बैंकको ०.९४ प्रतिशत बढेर २.०१ प्रतिशत पुगेको छ ।

निर्माण व्यवसायीको माग सम्बोधन गर्न सरकारसँग परिसंघको अनुरोध

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको जायज माग यथासक्य छिटो सम्बोधन गर्न नेपाल उद्योग परिसंघ नेपाल सरकारसमक्ष अनुरोध गरेको छ । उच्च ब्याजदर, न्युन माग, न्युन उत्पादन एवं रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगनलगायतका चुनौतीहरुको सामना निजी क्षेत्रले गरिरहेको छ । विद्यमान चुनौतीपूर्ण अवस्थामा निर्माण व्यवसायीहरुले निर्माण कार्य सम्पन्न गरेको भुक्तानी नपाउँदा त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा समेत परेकोतर्फ परिसंघले ध्यानाकर्षण गराउन चाहेको बताएको छ । कूल गार्हस्थ उत्पादनमा निर्माण क्षेत्रको ठूलो योगदान छ । निर्माण व्यवसायीहरुका जायज माग सुनुवाइमा ढिला हुँदा त्यसको असर समग्र अर्थतन्त्रमा पर्नेतर्फ सचेत बन्न समेत परिसंघले अनुरोध गरेको छ ।

नरैनापुरका अध्यक्षद्वारा भारतको श्रावस्तीमा भएको कार दुर्घटनाप्रति शोक व्यक्त

नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले भारतको श्रावस्तीमा भएको कार दुर्घटनामा परी नेपालगंजका २ परिवारका ६ जनाको मृत्यु भएकोमा शोक व्यक्त गरेका छन् । गए राति भारतको श्रावस्ती जिल्लामा कार दुर्घटना हुँदा नेपालगन्ज सदरलाइन निवासी एकै परिवारका ३५ वर्षीय बैभव गुप्ता, उनकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ता र नेपालगन्जको त्रिभुवनचोकस्थित एस कुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताको छोरा २२ वर्षीय निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिता गुप्ताको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका कार चालक अजय मिश्रको उपचार भइरहेको छ । अध्यक्ष शाहले सामाजिक सञ्जालमा लेख्नु भएको छ –’ भारतको श्रावस्ती जिल्लामा सवारी दुर्घटना हुँदा नेपालगंजका ६ जनाको दुखद् निधनको खबरले मर्माहत भएको छु । दुर्घटनामा परी निधन हुनुभएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु । दुर्घटनामा परी घाइते हुनुभएका गाडी चालकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

शृङ्गारका सामग्री आयातमा बाहिरिन्छ ठूलो रकम

काठमाडौं। दैनिक जीवनमा प्रयोग हुने सामग्रीको आयातमा ठूलो धनराशि खर्च भएको पाइएको छ । सिन्दुर, टुथपेस्ट, कपाल स्याहारको सामग्री आयातमा ठूलो धनराशि विदेशिएको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार त्यस्ता सामग्रीको आयातका लागि मात्रै ठूलो परिमाणमा विदेशी मुद्रा खर्च भइरहेको छ । विभागका अनुसार गत आर्थिक वर्षमा ‘नेइल पोलिस’को आयातमा मात्रै  पाँच करोड २७ लाख १८ हजार बाहिरिएको छ ।  त्यस्तै फेसक्रिम आयतमा ७८ करोड पाँच लाख ८१ हजार रुपैयाँ विदेशिएको छ । त्यस्तै आर्थिक वर्ष २०७९/८० मा  ४६ करोड नौ लाख ८९ हजार मूल्य बराबरको ‘बडी लोसन’ आयात भएको छ । यसबाट सरकारले  २३  करोड चार लाख ८३ हजार राजस्व सङ्कलन गरेको छ । एक करोडको सिन्दुर आयात  विशेष गरी हिन्दू महिलाले प्रयोग गर्ने सिन्दुरको आयातमा पनि ठूलो धनराशि खर्च भएको छ । पछिल्लो एक वर्षमा मुलुकमा  एक करोड पाँच लाख ६५ हजारको सिन्दुर आयात भएको छ । गत आवमा सिन्दुर भारत र इन्डोनेसियाबाट आयात भएको छ । तीन अर्ब बढीको कपाल स्याहारका सामग्री आयात  विभागका अनुसार गत आवमा  तीन अर्बभन्दा बढीको कपाल स्याहारका वस्तु आयात भएका छन् । कपालको स्याहारमा प्रयोग हुने स्याम्पु, तेल, क्रिम, रङलगायत वस्तु आयातमा उक्त धनराशि खर्च भएको हो । गत आवमा  ६३ करोड २१ लाख ३३ हजार मूल्यको स्याम्पु आयात भएको छ  भने ६९ करोड ७७ लाख ७९ हजार मूल्यका कपालमा लगाउने तेल आयात भएको छ । साथै  सात करोड ३२ लाख ३८ हजार बराबरको कपालमा लगाउने क्रिम आयात भएको छ । त्यस्तै कण्डिस्नर आयातमा  १० करोड ४५ लाख ४७ हजार खर्च भएको छ । कपाल रङ्गाउने वस्तु आयातमा  ६२ करोड २० लाख ८३ हजार बाहिरिएको देखिन्छ । त्यस्तै कपाल हेरचारका अन्य वस्तु आयातमा  ९७ करोड ६१ लाख २० हजार भन्दा बढी रकम विदेशिएको छ । आँखा र ओठ शृङ्गारमा  ५५ करोड  विभागका अनुसार गत आवमा ओठ र आँखा शृङ्गारका सामान आयातमा करोडौँ बाहिरिएको छ । गत आवमा मेकअपका सामान आयातमा ३६ करोड ४४ लाख ६० हजार बाहिरिएको छ । जसमा आँखा मेकअपका लागि मात्रै  १९ करोड ४० लाख ८० खर्च भएको छ । त्यस्तै अन्य शृङ्गारका सामग्री आयातमा  तीन अर्ब १३ करोड भन्दा बढी रकम मुलुकबाट बाहिरिएको छ । १६ करोडको टुथपेस्ट त्यस्तै विभागका अनुसार गत आवमा मुलुकमा  ७१ करोड ३२ लाख ५८ हजार मूल्य बराबरको टुथपेस्ट (मञ्जन) आयात भएको छ । यस्तै,  ५४ करोड ८४ लाख ८३ हजार मूल्य बराबरको मञ्जन निर्यात भएको छ । पेन्सिल, मार्कर आयातमा एक अर्ब बाहिरियो  विवरण अनुसार गत आर्थिक वर्षमा  एक अर्बभन्दा बढीको पेन, पेन्सिल, मार्कर तथा यसका वस्तु आयात भएका छन् । गत आवमा  ५७ करोड ७६ लाख ९८ हजारको वलपेन आयात भएको छ । त्यस्तै १४ करोड ३८ लाख भन्दा बढिको पेन तथा मार्कर आयात भएको छ । विभागका अनुसार गत आवमा  ५४ करोड ५१ लाखभन्दा बढीको पेन्सिल तथा पेन्सिलको लिड आयात भएका छन् । गत आवमा रु एक करोड ७२ लाकको पेनका निव, रु तीन करोड ७२ लाखका पेनको रिफिल तथा मसी आयात भएको तथ्याङ्क छ । पकेट लाइटर आयातमा  ५२ करोड खर्च गत आवमा  ५२ करोडभन्दा बढीको पकेट लाइटर आयात भएको छ । त्यसमा  ४६ करोड ७२ लाख १५ हजारको पुनः ग्यास भर्न नमिल्ने, एक करोड २३ लाख ९८ हजार रुपैयाँको ग्यास भर्न मिल्ने तथा अन्य लाइटर  ५१ लाख ५५ हजारको आयात भएको देखिन्छ ।  ६८ लाखको सेल्फी स्टिक आयात  विभागका अनुसार मोबाइलबाट फोटो खिच्न प्रयोग हुने विशेष प्रकारको लठ्ठी (सेल्फी स्टिक) को आयातमा  ६८ लाख ४४ हजार खर्च भएको छ भने दुई करोड ५५ लाख २६ हजार बराबरको ट्राइपड आयात भएको छ ।   रासस

सेयर बजारमा वित्तीय विवरणको प्रभाव, दोहोरो अंकले घट्यो

काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले गिरवाट आएको छ । आइतबार नेप्से ३८.३७ अंक घटेर २०५१.४७ अंकमा बन्द भएको छ । कारोबार खुलेको केही समयपछि बजार ओरालो लागेको हो । आज दिनभरिमा २६५ कम्पनीको ८० लाख ७ हजार ३६१ कित्ता सेयर ६१ हजार ९१७ पटक खरिद बिक्री हुँदा २ अर्ब ६८ करोड ७१ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार सबै समूहमा राताम्य छाएको छ । आइतबार होटल तथा पर्यटन समूह ३.५९ प्रतिशत, फाइनान्स समूह ३.४३ प्रतिशत, विकास बैंक समूह २.५० प्रतिशत, ब्यापार समूह २.३५ प्रतिशत, जीवन बीमा समूह २.०९ प्रतिशत र निर्जीवन बीमा समूह २.०५ प्रतिशत घटेको छ । अन्य समूह भने २ प्रतिशतभन्दा कम घटेका छन् । आइतबार बैंक तथा वित्तीय संस्थाहरुले सार्वजनिक गरेको गत वर्षको चौथौं त्रैमाससम्मको वित्तीय विवरणमा लाभांश क्षमता घटेको र खराब कर्जा बढेपछि नकारात्मक प्रभाव परेको लगानीकर्ताहरु बताउँछन् । सेयर बजारमा राताम्य छाएपनि आइतबारदेखि कारोबारमा आएका आइएमई लाइफ इन्स्योरेन्स र नेपाल रिपब्लिक मिडियाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आइएमईको सेयर मूल्य ९.९९ प्रतिशत बढेर ५८२.४० रुपैयाँ र रिपब्लिकाको ९.९८ प्रतिशत बढेर २७५.४० रुपैयाँ पुगेको छ । यस्तै, सानिमा बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । बैंकको सेयर १२ करोड ६९ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, एभरेष्ट बैंकको १२ करोड २१ लाख २४ हजार रुपैयाँ र एनआईसी एशिया बैंकको ११ करोड १२ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

पाल्पामा एक वर्षमा १४३ फर्म खारेज

रामपुर । पाल्पामा गत आर्थिक वर्षमा एकसय ४३ उद्योग खारेज भएका छन् । आव २०७९/८० मा उद्योगतर्फ एक सय ४३ र वाणिज्यतर्फ एक सय ९४ फर्म खारेज भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । आव २०७८/७९ मा एक सय ८८ उद्योग र दुईसय ३९ फर्म खारेजी भएको थियो । प्रदेश सरकारले जारी गरेको कानुनबमोजिम पाँच लाखभन्दा कम पूँजी लगानी भएका उद्योग तथा वाणिज्य फर्म स्थानीय तहबाट नियमन गर्ने व्यवस्था भएकाले यस कार्यालयमा दर्ता भई सञ्चालनमा आएका उद्योग, व्यवसाय लगतकट्टा गरिन थालिएको छ । कार्यालयले पनि सम्बन्धित उद्योगी, व्यवसायीलाई दोहोरो करको मारमा नपरुन् भनी जानकारी गराउँदै आएको छ । पाँच लाखसम्मका उद्योग तथा व्यवसाय स्थानीय तहमा नै दर्ता हुने व्यवस्था आएपछि कार्यालयमा अगाडि नै दर्ता भएका (नयाँ व्यवस्था आउनुअघि) उद्योग, व्यवसाय स्थानीय तहमा नै सारेकाले कार्यालयबाट खारेज गरिएको घरेलु तथा साना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता मनोज घिमिरेले जानकारी दिए । ‘स्थानीय तहमा नै  पाँच लाखसम्म उद्योग, व्यावसाय दर्ता गर्ने नयाँ व्यवस्था लागू भएपछि पछिल्ला वर्षमा घरेलु कार्यालयबाट सारेर सम्बन्धित स्थानीय तहमा लैजाने गरिएको छ’, उनले भने, ‘यसले उद्योगी, व्यवसायीले दोहोरो कर (स्थानीय तह तथा घरेलु तथा साना उद्योग कार्यालयमा) बुझाउनु परेन ।’ पाँच लाखसम्म मात्रै उद्योग, व्यवसाय दर्ता गरेका केही व्यवसायीले भने पुँजी बढाएर घरेलु कार्यालयमा नै नविकरण गरी सञ्चालन गर्दै आएका छन् । व्यवसाय बढाउन नचाहनेले आफ्नै स्थानीय तहमा स्थानान्तरण गर्ने गरेको पाइएको छ । केहीले नयाँ व्यवस्थाबारे प्रष्ट नहुँदा  पाँच लाखसम्म दर्ता भएका उद्योग, व्यवसायको घरेलु तथा साना उद्योग कार्यालय एवां स्थानीय तहमा नै दोहोरो कर बुझाएको पाइन्छ । नयाँ व्यवस्थाबारे अध्ययन र चासो नदिँदा सम्बन्धित उद्योगी, व्यवसायीले दोहोरो कर बुझाउनु परेका विषयमा आफू मारमा परिरहेको गुनासो गर्ने गरेका छन् । आव २०७९/८० मा उद्योगतर्फ दुई सय १३ र वाणिज्य फर्मतर्फ एक सय ८४ गरी तीन सय ९७ नयाँ फर्म दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग विकास अधिकृत देवीराम भण्डारीले बताए । उनका अनुसार गत वर्ष उद्योगतर्फ उत्पादनमूलक १९, कृषि तथा वनजन्य एक सय ३३, पर्यटनमा ३६ र सेवामूलक २५ उद्योग नयाँ दर्ता भएका छन् । ‘नयाँ व्यवस्था लागू भएपछि साना उद्योग, व्यवसाय (पाँच लाखसम्मका) दर्ता, नवीकरणका लागि स्थानीय तहमा अधिकार दिएपछि धेरै सहज भएको छ, नयाँ व्यवस्था लागू भएका सुरुका वर्षमा उद्योगी, व्यवसायीले झट्ट नबुझ्दा समस्या भएको हो, अहिले कार्यालयले पटकपटक यसबारेमा जानकारी गराएपछि स्थानान्तरण गर्न थाल्नुभएको छ’, उनले भने । कार्यालयबाट आव २०७८/७९ मा उद्योग पाँच सय २१ र वाणिज्यतर्फ तीन सय ७१ गरी आठसय ९२ नयाँ फर्म दर्ता, आव २०७७/७८ मा छ सय १९ उद्योग र तीन सय ८३ वाणिज्य फर्म दर्ता भएका छन् । दर्ता भएका उद्योगमध्ये अधिकांश निजी उद्योग छन् भने केही साझेदारी र प्रालि छन् । आव २०७९/८० मा कार्यालयले नयाँ फर्म दर्ता, नवीकरण, पूँजी वृद्धिबाट उद्योगतर्फ  १९ लाख ४६ हजार एक सय ६४ र वाणिज्यतर्फ  २६ लाख २० हजार तीन सय ७८ गरी ४५ लाख ६६ हजार पाँच सय ४२ राजस्व सङ्कलन गरेको छ । जिल्लामा कृषि तथा वनजन्य उद्योग नै बढी सञ्चालन हुने भएकाले साना लगानीमा सञ्चालन हुने ती उद्योग अहिले स्थानीय तहमा नै दर्ता हुँदै आएका छन् । पाल्पामा हाल उद्योगतर्फ तीन हजार नौ सय एक र वाणिज्यतर्फ चार हजार चार सय २० व्यवसाय घरेलुमा दर्ता भएर सञ्चालनमा छन् । कार्यालयले लघु, घरेलु तथा साना उद्योगमात्र दर्ता गर्न पाउने अधिकार रहेको छ ।  १० करोडसम्म पूँजी भएका उद्योगलाई साना उद्योग, दश करोडदेखि २५ करोडसम्म पूँजी भएका उद्योगलाई मझौला उद्योग र  २५ करोडदेखि माथिकालाई ठूला उद्योगका रुपमा वर्गीकरण गरिएको छ ।  १० करोड माथिका उद्योग विभागमा पुगेर दर्ता गर्नुपर्ने प्रावधान छ । रासस