विकासन्युज

चिरख्वा हाइड्रोको आईपीओ साउन २८ गतेदेखि बिक्री खुला, क-कसले आवेदन भर्न पाउँछन् ?

काठमाडौं । चिरख्वा हाइड्रोपावरले साउन २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ४ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानीय बासिन्दालाई बिक्री गर्नेछ । साथै सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ८० लाख रुपैयाँ बराबरको ८० हजार कित्ता सेयरमा श्रम स्वीकृती लिई विदेशमा रोजगारी गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि स्थानीय लगानीकर्ताले अधिकतम १ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम ५ हजार कित्ता सेयर खरिद गर्न सक्ने छन् । कम्पनीको आईपीओमा भदौ १० गतेसम्म आवेदन दिन सकिनेछ । यदि स्थानीयलाई छुट्याएको सेयमा पूर्ण आवेदन नपरेमा भदौ २५ गतेसम्म समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग रहेको छ । कम्पनीको सेयरमा स्थानीयले राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

प्राइम बैंकको ब्याज आम्दानी १७.६६ प्रतिशत बढ्यो, प्राेभिजन बढ्दा नाफामा असर

काठमाडौं । प्राइम कमर्सियल बैंकको गत आर्थिक वर्षको चौथों त्रैमाससम्म खुद ब्याज आम्दानी १७.६६ प्रतिशत बढेर ७ अर्ब २७ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ६ अर्ब १८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्ष बैंकको ब्याज आम्दानी बढेको भएपनि नाफा भने सामान्य घट्न पुगेको छ । गत असारसम्म बैंकले २ अर्ब २६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो । कर्जा नोक्सानी व्यवस्था बापतको रकम छुट्याउँदा नाफा घट्न पुगेको बैंकले जनाएको छ । आगामी वर्षहरुमा अर्थतन्त्र एवं उद्योग व्यवसायमा सकारात्मक प्रभाव देखिएसँगै सो व्यवस्था रकम फिर्ता भई बैंकको नाफामा बृद्धि हुने बैंकले अपेक्षा गरेको छ । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा १९.०७ प्रतिशत बढेर ६ अर्ब ६९ करोड रुपैयाँ गरेको छ । बैंकका अनुसार गैह्र कोष आम्दानी १२.३७ प्रतिशत बढेर १ अर्ब ८१ आर्जन गरेको छ । बैंकको वितरणयोग्य नाफा २० करोड ४८ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको कुल निक्षेप ७.९५ प्रतिशतले बृद्धि गरी १ खर्ब ७८ अर्ब ५६ करोड रुपैयाँ संकलन गरेको छ । साथै, कर्जा प्रवाह ५.२६ प्रतिशतले बृद्धि गरी १ खर्ब ६३ अर्ब ६ करोड लगानी गरेको छ ।

अप्पर लोहोरे खोला हाइड्रोको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरले साउन १८ गतेदेखि बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिने आज साउन २२ गतृ अन्तिम दिन हो । कम्पनीले जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १ लाख ९८ हजार ८२४ कित्ता विदेशमा रोजगार गरिरहेका नेपालीलाई निष्काशन गरी बाँडफाँट गरिसकेको छ । अब ३९ हजार ७६५ कित्ता सेयरसेमा कर्मचारी, ९९ हजार ४१२ कित्ता सेयरमा सामूहिक लगानी कोष र स्थानीय बासिन्दाले आवेदन नदिएको सेयरसहित १९ लाख ५३ हजार २७९ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको सेयरमा सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् लगानीकर्ताले आवेदन दिन सक्ने छन् । केयर रटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

हिमाल दोलखा हाईड्रोको १५ लाख ७७ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । हिमाल दोलखा हाईड्रोपावर कम्पनीले आज साउन २२ गतेदेखि अवितरित हकप्रद सेयर बिक्री खुला गरको छ । कम्पनीले १५ लाख ७७ हजार २११ कित्ता अवितरित हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले गत जेठ २२ गतेदेखि असार १५ गतेसम्म हकप्रद सेयर बिक्री गरेको थियो । जसमध्ये सर्वसाधारण समूहतर्फको बिक्री नभएको १५ लाख ७७ हजार २११ कित्ता हकप्रद सेयर लिलामीमार्फत् बिक्री गर्ने भएको हो । कम्पनीको सो सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्। लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले साउन २९ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल, लक्ष्मी सनराइज बैंकका विरानगर, बिर्तामोड, विरगञ्ज, जनकपुर, हेटौंडा, नारायणघाट, पोखरा, वाग्लुङ्ग, बुटवल, नेपालगञ्ज, घोराही दाङ, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ ।

शैक्षिक संस्थालाई अब्बल बनाए विद्यार्थी विदेशिन रोकिन्छन् : उपकुलपति सिंह

काठमाडौं । नेपालकै शैक्षिक संस्थाहरूलाई अब्बल बनाए हरेक वर्ष हजारौको संख्यामा विद्यार्थी विदेशिनेक्रम रोकिने मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा. नन्दबहादुर सिंहले बताएका छन् । मोर्गन इन्टरनेसनल कलेजमा कक्षा–११ मा भर्ना भएका विद्यार्थीहरुको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले नै राम्रा शैक्षिक संस्थाहरुलाई विशेष सहयोग उपलब्ध गराएर विद्यार्थी विदेशिनक्रम रोक्नुपर्ने बताए । मोर्गन इन्टरनेसनल कलेजले शुक्रबार नवआगन्तुक विद्यार्थीहरुको लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरेको थियो । मोर्गन इन्टरनेसनल कलेजमा कक्षा ११ मा विज्ञान, व्यवस्थापन र कानून अध्ययनका लागि करीब एक हजार विद्यार्थी भर्ना भएको कलेज प्रशासनले बताएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति सिंहले भने, ‘अस्ट्रेलिया र जापानमा तेस्रो ठूलो संख्या नेपाली विद्यार्थीको छ । विदेशमा अध्ययनको नाममा खर्बौै रूपैयाँ विदेश पठाइरहेका छौं । त्यो लगानी नेपालको शैक्षिक क्षेत्रमा हुने हो भने विश्वस्तरीय शैक्षिक संस्था नेपालमै बन्न सक्छ ।’ तर, पछिल्ला दिनहरुका निजी क्षेत्रको प्रयासमा नेपालमा क्रमशः लोभलाग्दा शैक्षिक संस्थाहरु बन्न थालेको उनले बताए । नेपालको शिक्षा क्षेत्रले उल्लेख्य प्रगति गर्न नसक्नुको दोष प्राध्याकपहरुले पनि लिनुपर्ने सिंहले बताए । ‘नेपालका प्राध्यापकमध्ये ५ प्रतिशतभन्दा कम मात्रै सिर्जनशिल छन् । नेपालका १४ वटा विश्वविद्यालयमध्ये कुनैले पनि पेटेन्ट दर्ता गराउन सकेको छैन । विकसित देशका लाखौ लाख पेटेन्ट दर्ता छन्’, सिंहले भने । नेपालका लागि योग्य विद्यार्थी तयार गर्न यहीँका शिक्षण संस्था बलियो बनाउनुपर्ने उनले बताए । उनले मध्यपश्चिम विश्वाविद्यालय गर्व गर्न लायक विश्वविद्यालयको रुपमा स्थापित भइरहेको सिंहले बताए । विश्वविद्यालयमा अहिले ४७ वटा प्रोजेक्ट सञ्चालनमा रहेको र ती सबै सम्पन्न हुने क्रममा रहेको उनले बताए । ‘नेपालका विश्वविद्यालयमध्ये सबैभन्दा बढी पु्ँजीगत खर्च गर्नेमा मध्यपश्चिम विश्वविद्यालय पहिलो हो । त्यसबाहेक, हामीले अनुसन्धान र विकासमा कुल बजेटको १० प्रतिशत छुट्ट्याउने गरेका छौं’, उनले भने । मोर्गन इन्टरनेसनल कलेजले नेपालको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गरेको भन्दै उपकुलपति सिंहले कलेजको प्रशंसा गरेका छन् । मोर्गन इन्टरनेसनल कलेजका प्रिन्सिपल डा. दीपेन्द्र भण्डारीले मोर्गनका दर्जनौ विद्यार्थीले हरेक वर्ष मेडिकल र इन्जिनियरिङ अध्ययनको प्रवेश परीक्षामा नाम निकाल्नुले नै यसको गुणस्तर प्रमाणित गरेको बताए । कलेजले सबै खालका विद्यार्थीलाई भर्ना लिएर उच्च माध्यामिक शिक्षा परिषदको परीक्षमा सबैलाई उत्कृष्ट नतिजा दिलाउँदै आएको डा. भण्डारीले बताए । कलेजले अभिमुखिकरण कार्यक्रममार्फत कक्षा ११ र १२ मा अध्ययन गर्दा विद्यार्थीले ध्यान दिनुपर्ने विषय र दुई वर्ष राम्ररी अध्ययन गर्दा प्राप्त हुन सक्ने अवसरहरुका बारेमा विद्यार्थीलाई जानकारी गराएको थियो । मोर्गन इन्टरनेसनल कलेजले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा स्नातक र स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । स्नातक तहमा ब्याचलर इन कम्युटर एप्लिकेशन (बीसीए), ब्याचर इन इन्फरमेशन म्यानेजमेण्ट (बीआइएम), ब्याचलर अफ विजेनेश म्यानेजमेन्ट (बीबीएम), ब्याचलर अफ विजनेश स्टडिज (बीबीएस), ब्याचलर अफ आर्टस् अन्तर्गत सोसल वर्क लगायतका विषय अध्यापन भइरहेको छ । स्नातकोत्तर तहमा कलेजले मास्टर्स अफ विजनेस स्टडिजको सम्बन्धन लिएको छ ।

नागढुंगा–नौबिसे सुरूङको रेस्क्यू टनेल सोमबार ब्रेक–थ्रू हुने, मुख्य टनेलको काम १८ प्रतिशत बाँकी

काठमाडौं । नागढुंगा– नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेलको सोमबार ब्रेक–थ्रू हुने भएको छ । २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यू टनेलको सुरुङ निर्माणको काम सोमबारदेखि सकिने भएको छ । आइतबार दिउँसोसम्म एक मिटर मात्र रेस्क्यू टनेलको काम बाँकि रहेको छ । सोमबार दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि रेस्क्यू टनेलको ब्रेक–थ्रू हुने सडक विभाग बैदेशिक महाशाखाका प्रमुख बिजय जैसीले बताए । ‘साउन २२ गते दिउँसो रेस्क्यू टनेल ब्रेक–थ्रू हुँदैछ’ जैसीले भने । २.५ किलोमिटर रहेको नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेलसँग मुख्य टनेलको काम पनि अब १८ प्रतिशत मात्र बाँकी रहेको छ । २.६ किलोमिटर लम्बाइ रहेको मुख्य टनेलको काम अब ५ सय ६ मिटर मात्र बाँकी छ ।

अब विदेशी मुद्रा सटही सुविधा पनि क्वीआर कोडबाट, माछापुच्छ्रे बैंकले थाल्यो यस्तो सेवा

काठमाडौं । विदेशी मुद्रा सटही गर्न चाहने सेवाग्राहीहरु प्रत्यक्ष लाभान्वित हुने गरि डिजिटल भुक्तानी सेवालाई बढावा दिने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको बैंकिङ्ग विभागमा नेपाल पे र फन पे दुबै नेटवर्कको क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दयाराम शर्मा पगेंनी र माछापुच्छ्र्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले संयुक्त रुपमा हस्ताक्षर गरि साउन २१ गतेदेखि सुरुवात गरेका छन् । उक्त सेवाबाट नेपाल राष्ट्र बैंकमा विदेशी मुद्रा सटही लिन आउने सेवाग्राहीहरुले मार्फत भुक्तानी गरी सटही सुविधा लिन सक्ने छन् । जसले गर्दा सेवाग्राहीहरुको काम छिटोछरितो हुन गई नगदरहित कारोबारलाई समेत टेवा पुग्ने देखिन्छ । यस बाहेक फरक फरक माध्यमहरु मार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरुका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन माछापुच्छ्रे बैंक सधैं तत्पर रहेको छ । बैंकले नगदरहित बैकिङ्गलाई बढावा दिदैं पहिलो डिजिटल ‘स्मार्ट बैंक’को रुपमा आफूलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडी बढिरहेको छ ।

बस सेवाको वार्षिकोत्सव अफर : १० दिनमा १०० जनाले निःशुल्क यात्रा गर्न पाउने

काठमाडौं । अनलाइन बस टिकटिङ्ग सेवा प्रदायक बससेवा डटकम नवौं वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले दशौं वर्षमा प्रवेशकाे अवसरमा यात्रुहरूको लागि अफर ल्याएको छ । बससेवा वार्षिक उत्सवको अवसरमा १० दिनसम्म हरेक दिन १० जनाले निःशुल्क यात्रा गर्न सक्ने अफर ल्याएको कम्पनीले बताएकाे छ । कम्पनीका अनुसार हरेक दिन गोलाप्रथा मार्फत सात प्रतिशत क्यासब्याक प्रदान गरिने छ । विजेताको नाम सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिने पनि बताइएको छ । बससेवाले नेपालभरका अधिकांश रूटहरूमा सेवा प्रदान गर्दै आएको छ । यसका साथै भारतका नयाँ दिल्ली, बोधगया, मुजफ्फरपुर लगायतका शहरमा समेत अनलाइन टिकट बुकिङ्ग सेवा प्रदान गर्दै आएको बताएको छ । बससेवा टुर्स एण्ड ट्राभल्स् अन्तर्गत रहेर २०७१ साउन २१ गतेबाट उक्त कम्पनीले सेवा सुरू गरेको थियाे । बससेवामार्फत दैनिक ३ हजार भन्दा बढी यात्रुले टिकट काटी यात्रा गर्दै आएको बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले बताए । बससेवाले यात्रुहरूलाई बस कुर्न झन्झट नहोस् भन्ने उद्देश्यले काठमाडौको ढुङ्गेअड्डामा प्यासेञ्जर लाउञ्ज समेत सञ्चालनमा ल्याएको छ । सो लाउञ्जमा यात्रुहरूलाई वाइफाइ, खानेपानी लगायतका सुविधा उपलब्ध छन् ।  लाउञ्जबाट सिधै बस चढ्न सक्ने व्यवस्था छ । दशौँ वर्ष प्रवेशको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले भने ‘बससेवा डटकमले यातायात क्षेत्रलाई प्रविधिसँग जोड्दै यात्रुहरूलाई अनलाइन मार्फत टिकट प्रदान गर्ने उद्देश्यले आफ्नो सेवा सुरू गरेको हो ।’