विकासन्युज

ललिता निवास जग्गा प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईमाथि पनि अनुसन्धान गर्न सर्वोच्चको आदेश

  काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय गर्ने व्यक्तिहरु माथि पनि अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । आइतबार न्यायाधीश अनिलकुमार सिन्हा र डा. कुमार चुडालको इजलासले नेपाल सरकारको मन्त्रिपरिषदको निर्णय तथा निर्णय प्रमाणित गरी कार्यान्वयन तहमा प्रत्यक्ष रुपमा संलग्न हुनेहरुमाथि अनुसन्धान गर्न आदेश दिएको हो । ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका योगराज पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले यस्तो आदेश सुनाएको हो । सर्वोच्च अदालतको आदेशमा भनिएको छ, ‘२०६६ चैत २९ र २०६७ वैशाख ३१, २०६७ साउन २८ तथा २०६९ असोज १८ को नेपाल सरकारको मन्त्रिपरिषदको निर्णय तथा निर्णय प्रमाणित गरी कार्यान्वयन तहमा प्रत्यक्ष रुपमा संलग्न हुनेहरु, मन्त्रालयस्तरमा सो निर्णय गर्न किटानी प्रस्ताव पेश गर्ने वा प्रस्तावमा संलग्न माथिल्लो तहका पदाधिकारी वा अधिकारीको पदसोपान (अनुसन्धानकर्ताको सवाल बमोजिमको ‘पिरामिड’को माथिल्लो तह ) बाट समेत गरी अब उप्रान्तको थप अनुसन्धान कार्य अविलम्ब सम्पन्न गर्नु गराउनु भनी प्रत्यर्थीहरुको नाममा यो आदेश जारी गरिदिएको छ ।’ सर्वोच्चको यो आदेशले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई माथि अनुसन्धान अघि बढाउन बाटो खुलेको छ । माधव नेपाल नेतृत्वको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री निवास विस्तार गर्ने भन्दै नक्कली मोहीलाई सरकारी जग्गा सट्टा भर्ना दिएको थियो । त्यस्तै, डा. भट्टराई नेतृत्वको मन्त्रिपरिषद बैठकले अस्तित्वमै नरहेको पशुपति टिकिन्छा गुठीका नाममा ललिता निवासको जग्गा दर्ता गर्न सैद्धान्तिक स्वीकृति दिएको थियो । त्यस्तै मन्त्रिपरिषदको निर्णय प्रमाणित गर्ने तत्कालिन मुख्य सचिवहरु माधवप्रसाद घिमिरे र लीलामणि पौडेल पनि अनुसन्धानको दायरामा आउने भएका छन् । घिमिरे भने सडक दुर्घटना परेर बेपत्ता छन् ।

सिटिजन्स बैंकका ग्राहकले ट्रिबोन्स रिसोर्टमा १० प्रतिशत छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले ट्रिबोन्स रिसोर्टमा १० प्रतिशत छुट पाउने भएका छन् । ललितपुरको लाकुरी फेदस्थित रिसोर्टमा सिटिजन्स बैंकको कार्ड वा मोबाइल बैकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट पाइने बैंकले आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । छुट सम्बन्धी सम्झौताले बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारलाई डिजिटल कारोबारमा बदल्न सहयोग मिल्ने बैंकलेब बताएको छ ।

हिमालयन ब्रोक्रेजबाट हुने सेयर कारोबारको भुक्तानी इ–सेवाबाटै हुने

काठमाडौं । हिमालयन ब्रोक्रेज मार्फत हुने सेयर खरिद–बिक्री सेटलमेन्टको भुक्तानी इ–सेवामार्फत गर्न सकिने भएको छ । त्यसैगरी, हिमालयन ब्रोक्रेजको मेरो सेयर र डिम्याट खाता नविकरण शुल्क पनि इ–सेवामार्फत तिर्न सकिने कम्पनीले बताएको छ । लगानीकर्ताहरुलाई हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) बाट गरेको सेयर खरिद बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुने भएको छ । यस्तो अनलाइन भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इ–सेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र हिमालयन ब्रोक्रेजका अध्यक्ष सागर ढकालले हस्ताक्षर गरेका छन् । इ–सेवा एप्लिकेशन एण्ड्रोइड तथा आइओएस मोबाइलमार्फत करिब ७५ लाख ग्राहकले प्रयोग गरिरहेको उक्त कम्पनीले बताएको छ । देशभर रहेका दुईलाखभन्दा बढी एजेन्टमार्फत अप्रत्यक्ष रुपमा डेढ करोडभन्दा बढि जनसंख्याले इ–सेवामार्फत डिजिटल कारोबारको सेवा लिइरहेको कम्पनीले बताएको छ ।

बैंकहरुले उल्लेख्य नाफा देखाउँदा पनि किन झस्किए लगानीकर्ता ?

काठमाडौं । बैंकहरुले वित्तीय विवरण सार्वजनिक गरेपछि सेयर बजारमा नकारात्मक प्रभाव परेको छ । गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण सार्वजनिक गरेपछि बैंकिङ्ग उपसमूहको नेप्से परिसूचक १.७० प्रतिशत घटेको छ । बैंकहरुले गत आर्थिक वर्षमा उल्लेख्य नाफा गरेको विवरण प्रकाशन गरेको भए पनि सेयर बजारमा भने नकरात्मक प्रभाव परेको छ । आइतबार बैंक उपसमूह १.५७ प्रतिशत अर्थात २२.३४ अंक घटेर १२८५.३२ अंकमा बन्द भएको छ । कारोबारमा आएका अधिकांश बैंकको सेयर मूल्य घटेको छ भने ३ बैंकको मात्रै मूल्य बढेको छ । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले ७० अर्बभन्दा बढी नाफा गरेको वित्तिय विवरण सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार २० वटा वाणिज्य बैंकहरुले ७० अर्ब १७ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा २५ प्रतिशत अर्थात् १४ अर्ब रुपैयाँ बढेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकहरुले ५६ अर्ब १७ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । बैंकहरुले प्रकाशन गरेको प्रशस्त नाफाको रिपोर्ट कार्डलाई लगानीकर्ताहरुले नपत्याएको देखिन्छ । त्यसको असर आइतबारको सेयर बजारमा प्रतिबिम्बित भएको छ । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणमा नाफा बढेको देखिए पनि वितरणयोग्य नाफा घटेका कारण सेयर मूल्य प्रभावित भएको एक लगानीकर्ताले विकासन्युजलाई बताए । लगानीकर्ताले नाफा मात्रै नहेरेर अन्य सूचक पनि केलाउँदा वितरणयोग्य नाफा अधिकांशको कम र केही बैंकको ऋणात्मक समेत पाएपछि लगानीकर्ताहरु निराश भएको उनको विश्लेषण छ । त्यसैको प्रभाव सेयर मूल्यमा परेको उनको भनाइ छ । ‘बैंकहरुको नाफा लगायतका सूचक बढेका छन् तर, बैंकले कमाएको सबै नाफा बाँड्दैनन्, लगानीकर्ताहरुले वितरणयोग्य नाफा पनि हेर्छन्,’ उनले भने, ‘सेयरधनीहरुलाई बाँड्ने नाफा घटेका कारण बजार प्यानिक भएको हो ।’ आज बैंकहरुमध्ये सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयर मूल्य घटेको छ । उक्त  बैंकको ५.१६ प्रतिशत अर्थात् ९.९० रुपैयाँ घटेर सेयर मूल्य १८२ रुपैयाँमा झरेको छ । यस्तै, हिमालयन बैंकको ४.९३ प्रतिशत अर्थात् ११ रुपैयाँ घटेर २१२ रुपैयाँ, कुमारी बैंकको ४.९१ प्रतिशत अर्थात् ८.५० रुपैयाँ घटेर १६४.७० रुपैयाँमा झरेको छ । यस्तै, प्रभु बैंकको ४.३३ प्रतिशत अर्थात् ७.७० रुपैयाँ घटेर १७०.२० रुपैयाँ, प्राइम बैंकको ४.३१ प्रतिशत अर्थात् ८.७० रुपैयाँ घटेर १९३.३० रुपैयाँ, नेपाल एसबीआई बैंकको ४.०२ प्रतिशत अर्थात् १४ रुपैयाँ घटेर ३३४.२० रुपैयाँ, ग्लोबल आइएमई बैंकको ३.७१ प्रतिशत घटेर २१५.७० रुपैयाँमा झेरेको छ । नेप्सेकाअनुसार आइतबार एनएमबी बैंकको ३.३५ प्रतिशत अर्थात् ८ रुपैयाँ घटेर २३१.१० रुपैयाँ, सिटिजन्स बैंकको १.९९ प्रतिशत अर्थात् ३.८० रुपैयाँ घटेर १८७.१० रुपैयाँ, सिद्धार्थ बैंकको १.९७ प्रतिशत घटेर २५८.९० रुपैयाँ, एनआईसी एशिया बैंकको १.३९ प्रतिशत अर्थात् ११ रुपैयाँ घटेर ७७८ रुपैयाँमा झरेको छ । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य ०.५९ प्रतिशत अर्थात् ३.३० रुपैयाँ घटेर ५५६.७० रुपैयाँ, नेपाल बैंकको ०.३५ प्रतिशत घटेर २५७ रुपैयाँ, माछापुच्छ्रे बैंकको ०.१९ प्रतिशत घटेर २६० रुपैयाँ र नबिल बैंकको ०.१६ प्रतिशत घटेर ६१२ रुपैयाँमा सेयर मूल्य कायम भएको छ । आइतबार कृषि विकास बैंक, सानिमा बैंक र एभरेष्ट बैंकको सेयर मूल्य बढेको छ । कृषि विकास बैंकको सेयर मूल्य ६.७३ प्रतिशत अर्थात् १६.७० रुपैयाँ बढेर २६५ रुपैयाँ पुगेको छ । यस्तै, सानिमा बैंकको सेयर मूल्य १.७१ प्रतिशत अर्थात् ५ रुपैयाँ बढेर २९७ रुपैयाँ र एभरेष्ट बैंकको सेयर मूलय ०.८३ प्रतिशत अर्थात् ५ रुपैयाँ बढेर ६०४ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ । लगानीकर्ता छोटेलाल रौनियार नकारात्मक हल्ला फैलाएकाले बजार घट्न पुगेको बताउँछन् । बैंकहरुको वित्तीय विवरण सकारात्मक आएको तर, बजारमा नकरात्मक हल्ला फैलिएको उनले बताए । केही बैंकहरुको लाभांश क्षमता घटेको भएपनि डराएर बिक्री गरिहाल्नुपर्ने स्थिति नरहेको उनले बताए । ‘बैंकहरुको रिपोर्ट राम्रो आएको छ, कोही पनि डराउनु र आत्तिनु पर्ने स्थिति छैन,’ उनले भने, ‘बजार हल्लामा चल्न थाल्यो, बजारमा लाभांश क्षमता घट्यो भनेर हल्ला चलेपछि घटेको हो ।’ उनले हल्लाको पछि लागेर सेयर कारोबार नगर्न आग्रह गरे । नेप्सेमा १९ वाणिज्य बैंक सूचीकृत छन् । जसमध्ये आइतबार १८ बैंकको सेयर कारोबार भएको थियो । हालै मर्ज भएका लक्ष्मी र सनराईज (लक्ष्मी सनराईज बैंक) बैंकको एकीकृत करोबार प्रयोजनार्थ सेयर कारोबार रोक्का छ ।

‘म्याक्स टाइगर’को लक्की ड्रमा विजेताले पाए मोबाइलदेखि गाडीसम्मका उपहार

काठमाडौं । एग्रो थाई फुड प्रालिले उत्पादन गरेको इनर्जी ड्रिङ्क्स म्याक्स टाइगर ‘लक्की ड्र’को विजेताहरुलाई उपहार प्रदान गरिएको छ । म्याक्स टाइगर उपहार योजनामा व्यवसायीले भरेको कुपरको आधारमा ‘लक्की ड्र’ कार्यक्रम आयोजना गरिएको थियो । कम्पनीले केही समयअगाडि ‘म्याक्स टाइगर लक्की ड्र’ उपहार योजना ल्याएको थियो । उपहार योजनामा देशभरिबाट १२ हजार व्यवसायीले कुपन भरेको कम्पनीले बताएको छ । ‘म्याक्स टाइगर लक्की ड्र’ मा काठमाडौंको आरुबारीस्थित अमित स्टोर (कुपन नम्बर ३४०५१ )ले मारुती भ्यान जितेको छ । त्यसैगरी, कार्यक्रममा १० जनालाई माउन्टेन बाइक (साइकल), ५ जनालाई मोबाइल, ३ जनलाई टिभी र २ जनालाई होन्डा युनिकोन बाइक परेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । गोंगबुको बिगमार्ट, बनेपाको आरबीके स्टोर, गौरको प्रकाश स्टोर, हिलेको गणेश टे«डर्स, कुपन नम्बर ४२८९५, तुलसीपुरको सुमन एन्ड सुदन स्टोर, शान्तिनगरको कल्पना इण्टरप्राइजेज, कुपन नम्बर ४८०३८, गोलढुंगाको प्रशन्न प्राप्ती र कुपन नम्बर ३७७८० ले माउन्टेन बाइक जितेको कम्पनीले बताएको छ । त्यसैगरी, स्मार्ट मोबाइल पाउनेहरू आयुसा (कोहलपुर), कुपन नम्बर ४३९६, कुपन नम्बर ३७८११, कुपन नम्बर ४८२५१, कुपन नम्बर ३७४६५ रहेको कम्पनीले बताएको छ । उपहार योजनामा श्रेष्ठ स्टोर, कुपन नम्बर ४११५४ र धादिङका हरि भट्ट (कुपन नम्बर ३४४६९)ले ४० इन्चको टिभी जितेको कम्पनीले बताएको छ । त्यसैगरी, ७५ इन्चको टिभी ४८१८३ कुपन नम्बरलाई परेको छ । कुपन नम्बर ३२०३४ र ३७७८४ ले होन्डा युनिकर्न बाइक जितेको बताइएको छ । एग्रो थाई फुडले उत्पादन गरेका म्यास टाइगरसँगै टाइगर सार्क, टोनिक वाटर, जीरा कोला, सोडा, एप्पल एक्स, ओआरएस स्पोर्टलगायत १८ भन्दाबढी ब्राण्डका पेय पदार्थहरु नेपाली बजारमा बिक्री भइरहेका छन् । यी उत्पादनहरूले नेपालको ६० प्रतिशतभन्दा बढी बजार ओगटेको कम्पनीको दावी छ ।

गुगललगायत विद्युतीय कारोबार गर्ने ६ विदेशी कम्पनीले तिरे कर

काठमाडौं । विद्युतीय कारोबार गर्ने ६ विदेशी कम्पनीले कर तिर्न सुरु गरेका छन् । गत आर्थिक वर्ष २०७९/८० देखि लागू गरेको विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स-डिएसटी)वापत हालसम्म त्यस्ता कम्पनीबाट करिब रु १० करोड राजस्व सङ्कलन भएको ठूला करदाता कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार हालसम्म नेपालमा विद्युतीय सेवासम्बन्धी कारोबार गर्ने नौ कम्पनी दर्ता भएका र छ कम्पनीले कर तिरेका छन् । कार्यालयका अनुसार सिङ्गापुरमा कार्यालय रहेका दुई कम्पनी गुगल एसिया प्यासिफिक प्राइभेट लिमिटेड र लिङ्क्डइन सिङगापुर प्राइभेट लिमिटेड दर्ता भएर कर तिर्न थालेका छन् । आयरल्यान्डको डब्लिनमा ठेगाना राखेर दर्ता भएको गुगल आयरल्यान्ड लिमिटेडले पनि कर तिर्न थालेको छ । त्यस्तै, संयुक्त राज्य अमेरिकाको वेल्मिङ्टनमा प्रधान कार्यालय रहेको एनसिएस पिअर्सन इन्कर्पोरेसन लिमिटेड, अमेजन डट कम सर्भिस एलएलसी र अमेजन वेभ सर्भिस इन्कर्पोरेसन लिमिटेड नेपालको कर प्रणालीमा दर्ता भएर डिएसटी तिर्न थालेका छन् । ठूला करदाता कार्यालयमा दर्ता भइसके पनि तीन कम्पनीले भने कर तिर्न बाँकी रहेको पाइएको छ । वेल्मिङ्गटन, काउन्टी अफ न्यू क्यासल ठेगाना रहेको इब्स्को इन्टरनेशनल इन्कर्पोरेस, डब्लिन आयरल्यान्ड ठेगाना भएको मेटा प्लाटफर्म्स  आयरल्यान्ड लिमिटेड र सिङ्गापुर ठेगाना राखिएको माइक्रोसफ्ट रिजनल सेल्स प्राइभेट लिमिटेडले कर तिर्न बाँकी छ । गत आवको आर्थिक ऐनले नेपालमा पहिलोपटक विद्युतीय सेवामा करको प्रावधान गरेको थियो । आर्थिक ऐनमा डिएसटीको विषय राखिएसँगै नेपालमा विद्युतीय सेवा दिइरहेका कम्पनी कर प्रणालीमा दर्ता हुन थालेकाले राजस्व पनि उल्लेखरुपमा सङ्कलन भएको ठूला करदाता कार्यालयका कर अधिकृत साधुराम पुडासैनीले बताए । ‘विद्युतीय सेवाको कारोबार गर्ने विदेशी कम्पनीलाई करको दायरामा ल्याउने विषय गत आवको आर्थिक ऐनमा व्यवस्था गरेको भए पनि कम्पनीहरु दर्ता भएर काम सुरु भएको दुई-तीन महिना मात्रै भयो । यस अवधिमा कर सङ्कलन राम्रो भएको छ’, उनले भने, ‘हालसम्म नौ वटा विदेशी कम्पनी दर्ता भएर कर तिर्न थालेका छन् ।’ विद्युतीय सेवा कर तिर्ने सबै कम्पनी ठूला करदाता कार्यालयमा दर्ता भइरहेका छन् । नेपालको कर प्रणालीमा हालसम्म दर्ता भएका यी नौवटा कम्पनी सूचना प्रविधि र डिजिटल सेवाका क्षेत्रमा काम गरिरहेका छन् । यस्ता कम्पनीलाई करको दायरामा ल्याउन सरकारले कानुन बनाएको भएपनि अझै अधिकांश कम्पनी भने कर प्रणाली बाहिर छन् । गत आर्थिक वर्षको आर्थिक ऐनले ‘गैर बासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा दुई प्रतिशतका दरले विद्युतीय सेवा कर लगाई असुल गरिनेछ’ भनी व्यवस्था गरेको थियो । वार्षिक २० लाख सम्मको कारोबारमा भने यस्तो कर नलाग्ने व्यवस्था आर्थिक ऐनमा राखिएको छ । ऐनको व्यवस्थाअनुसार नेपालमा विद्युतीय सेवा उपलब्ध गराउने व्यक्तिले आयवर्ष अनुसार आफ्नो कारोबारको विवरण तथा कर दाखिला गर्नुपर्छ । तर ठूला करदाता कार्यालयमा दर्ता हुन नआएका कम्पनीलाई कसरी आवद्ध गराउने र कर तिराउने भन्ने स्पष्ट छैन । नेपालमा सेवा दिइरहेका सबै सूचना प्रविधि क्षेत्रका लागि यस्तो कर प्रणाली बाध्यकारी हुन नसक्दा अधिकांश कम्पनी कर प्रणालीभन्दा बाहिरै रहेको देखिन्छ । गत वर्षको आर्थिक ऐनले तोकिएको समयभित्र विवरण दाखिला नगरेमा वार्षिक कारोबार रकमको शून्य दशमलव एक प्रतिशत प्रतिवर्षका दरले हुने रकम शूल्क लाग्ने र कर तिर्नुपर्ने तोकिएको मितिभित्र कुनै व्यक्तिले कर दाखिला नगरेमा वार्षिक १५ प्रतिशतका दरले ब्याज लाग्ने व्यवस्था रहेको छ । यसरी दाखिला गर्नुपर्ने कर रकम कम दाखिला गरेमा वा लुकाए छिपाएमा त्यसरी कम गरेको कर रकमको ५० प्रतिशत जरिवानासमेत लाग्नेछ भनी व्यवस्था गरिएको छ । तर विदेशमा सेवा दिइरहेका कम्पनीले नेपालमा कर तिर्नका लागि अनिवार्यरुपमा दर्ता हुनुपर्ने व्यवस्था आर्थिक ऐनमा भने राखिएको देखिदैन । नेपालभित्र सेवा दिइरहेका सामाजिक सञ्जाललगायत डिजिटल कारोबार गर्ने कम्पनीहरुलाई करको दायरामा ल्याउन नसक्दा ठूलो परिमाणमा राजस्व गुमिरहेको सरकारी अध्ययनले देखाएका छन् । रासस

क्‍वीन्टल सुन तस्करीको अनुसन्धान अब नेपाल प्रहरीले गर्ने

काठमाडौं । राजस्व अनुसन्धान विभागले करिब एक सय किलो सुन तस्करी अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई दिने निर्णय गरेको छ । आइतबार विभागका महानिर्देशक नवराज अधिकारीले सुन प्रकरणमा अहिलेसम्म भेटिएकाप्रमाण सहित थप अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई दिने निर्णय भएको बताए । ‘संगठित अपराध अन्तर्गत अनुसन्धकान गर्ने र यसको सबै काम नेपाल प्रहरीबाट हुनेगरी हालसम्म संकलन भएका सबै तथ्य र बरामद भएका प्रमाण नेपाल प्रहरीलाई पठाउने निर्णय गरेका छौं’, अधिकारीले भने । साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय हुँदै बाहिरिएको करीब एक सय किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

४४ वाटको फ्ल्यास चार्जिङ सहितको भिभो वाइ २७ नेपाली बजारमा

काठमाडौं । भिभोले आफ्नो वाइ सिरिजमा नयाँं मोडलको वाइ २७ फोन नेपाली बजारमा सार्वजनिक गरेको छ । आकर्षक डिजाइन र शक्तिशाली पर्फर्मेन्सको साथ आएको यो वाइ २७ एक उत्कृष्ट मास्टरपिस रहेको कम्पनीले जनाएको छ । डुअल रिङ डिजाइन र २.५ डि फ्ल्याट फ्रेम रहेको यो वाइ २७ अरु स्मार्टफोन मोडलहरु भन्दा अलग देखिन्छ । जसले गर्दा आफ्नो साथीहरुको भन्दा अलग र छुट्टै फोन बोक्न चाहने युवा पुस्ताको चाहनालाई सम्बोधन गरेको कम्पनीको भनाइ छ । ४४ वाटको फ्ल्यास चार्जिङ सपोर्ट गर्ने वाइ २७ मा ५००० एमएएचको ब्याट्रि रहेको छ । त्यस्तै यसमा नाइट टाइम चार्जिङ प्रोटेक्सन पनि रहेको छ । ६ जिबि र्याम र ६ जिबिको एक्स्टेन्डेड र्याम भएकोले गर्दा एपहरु स्विच गरिरहनु पर्ने, धेरै ट्याबहरू खोलेर वेब ब्राउज गर्ने र संगीत सुन्ने प्रयोगकर्ताहरूका लागि यो फोन विशेष रूपमा उपयोगी छ । नेपाली बजारमा यसको मूल्य २३,९९९ रुपैयाँ तोकिएको छ ।