टोखाभित्र सार्वजनिकस्थलमा धूम्रपान गरे कारबाही
काठमाडौं । टोखा नगरपालिकाले सार्वजनिकस्थलमा धूम्रपान गरे कारबाही गर्ने भएको छ । टोखाले सुर्तिजन्य पदार्थ (नियमन तथा नियन्त्रण गर्ने) ऐन, २०६८ (प्रथम संशोधन २०७६ सहित) मा भएको व्यवस्था बमोजिम सार्वजनिकस्थलमा सुर्तिजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सार्वजनिकस्थलबाट एकसय मिटर वरपरको क्षेत्रभित्र सूर्तिजन्य पदार्थको बिक्री वितरण गरेमा कानुन बमोजिम कारबाही गर्ने जानकारी दिए । सो नगरपालिकाले गतहप्ता मात्रै टोखाभित्रका सार्वजनिक जग्गाको संरक्षण गर्ने नीति लिएर सार्वजनिक जग्गा संरक्षणमा जुटेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा पर्ने टोखामा ११ वडा रहेका छन् ।
आइएमई लाइफद्धारा ६ प्रदेशमा सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम सम्पन्न
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनिले आफ्नो छैटौं बार्षिक उत्सवको अवसरमा श्रावण २० गते शनिबार देशका छ वटा प्रदेशमा रहेका मानव सेवा आश्रम, बृद्धाश्रम र बालआश्रममा सामाजिक उत्तरदायित्वका विभिन्न गतिविधिहरु गरेको छ । कोशी प्रदेशमा बिर्तामोड र बिराटनगर शाखाबाट परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सन्चालित हाम्रो साझा घरमा रहनुभएको ४० जनाभन्दा बढी बृद्ध बृद्धालाई झुल तथा खाद्यान्न सामाग्रि बितरण गरेको छ । उक्त कार्यक्रम १०० जनाभन्दा बढीको उपस्थितिका बिच सम्पन्न भएको थियो । मधेश प्रदेशमा बीरगन्ज र हरिवन शाखाबाट मानव सेवा आश्रम हरिवन र वीरगन्जमा क्रमश खाद्यान्न सामाग्री वितरण गरिएको थियो । वाग्मती प्रदेशबाट काठमाडौंको सोह्रखुट्टेस्थित असहाय जेष्ठ नागरिक आश्रम तथा भक्तपुरको मानव कल्याण समाज सेवा घर तथा नारायणघाट शाखाबाट चितवन मानव सेवा आश्रममा सरसफाइका सामाग्री हस्तान्तरण र खाजा खुवाउने कार्यक्रम गरिएको थियो । त्यसैगरी गण्डकी प्रदेशबाट बाग्लुङ शाखाले बाग्लुङ मानव सेवा आश्रममा बसेका वृद्धवृद्धादेखि बालबालिकासम्मलाई भोजन सहयोग गरेको थियो । वालिङ शाखाले शिव पार्वती बृद्धाश्रम, राम्दिमा रहेका बृद्धहरुकालागि फलफूल, नगद र सिलिङ्ग पंखा वितरण गरेको थियो । दमौलि शाखाबाट उज्यालो मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम गरिएको थियो । कर्णालि प्रदेशबाट नेपाल बीमा प्राधिकरण प्रदेश प्रमुख पदम सोडारीको उपस्थितिमा बादि सरोकार मन्च, सुर्खेतलाई खाद्यान्न सामाग्री वितरण गरिएको थियो । उक्त मन्च अन्तर्गत आश्रममा एक सय दश जना लोपोन्मुख बादि जातिका बाल विद्यार्थीहरु बस्ने गर्छन् । सुदुर पश्चिम प्रदेश अन्तर्गतको धनगढी शाखाले आमाको माया छात्रावासमा अनाथ बालबालिकालाई खाना खुवाउने कार्यक्रम गरेको थियो । लम्की शाखाले बौनिया स्थित सहारा घरमा भोजन वितरण गरेका छ भने बाजुरा शाखामा पनि बालआश्रममा भोजन वितरण गरेको छ । उक्त कार्यक्रमहरुको समापनमा सम्पूर्ण कर्मचारीहरुलाई सम्बोधन गर्दै यस्ता कार्यक्रमहरुले समाजमा सकारात्मक सोंचको विकास गर्ने तथा सामाजिक उत्तरदायित्व निभाउन आईएमई लाइफ इन्स्योरेन्स सदैव तत्पर रहने कुरा बताए । छैटौं वार्षिकोत्सव अन्तर्गत आईएमई लाइफ इन्स्योरेन्सले आगामी दिनमा देशैभर स्वास्थ्य शिविर, युवाहरुलाई वित्तिय सशक्तिकरण तालिम तथा रक्तदान कार्यक्रमको आयोजना गर्न गईरहेको छ ।
लाभांश क्षमतामा नबिल र एनआईसीभन्दा एभरेष्ट अगाडि, आधा दर्जन बैंकका सेयरधनीको हात खाली
काठमाडौं । बैंकहरुको लाभांश क्षमता औषत साढे १२ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण अनुसार बैंकहरुको लाभांश क्षमता १२.५५ प्रतिशत देखिएको छ । गत वर्षको नाफाबाट सेयरधनीहरुलाई एभरेष्ट बैंकले सबैभन्दा धेरै लाभांश वितरण गर्ने देखिएको छ । एभरेष्ट बैंकको लाभांश क्षमता सर्वाधिक ४०.५ प्रतिशत छ । यस्तै, दोस्रोमा एनआईसी एशिया बैंकको लाभांश क्षमता ३१.९९ प्रतिशत छ । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको २९ प्रतिशत, कृषि विकास बैंकको १९.८९ प्रतिशत, सानिमा बैंकको १७.७३ प्रतिशत, माछापुच्छ्रे बैंकको १५.२९ प्रतिशत र नेपाल एसबिआई बैंकको १३.९३ प्रतिशत लाभांश क्षमता देखिन्छ । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणमा पनि लाभांश क्षमता उल्लेख छ । गत वर्ष सबैभन्दा धेरै लाभांश वितरण गरेको नबिल बैंकको भने १४.६४ प्रतिशत लाभांश क्षमता छ । यस्तै, पूर्ण सरकारी स्वामित्वमा सञ्चालन भइरहेको राष्ट्रिय वाणिज्य बैंकको ११.५९ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ८.९४ प्रतिशत, ग्लोबल आइएमई बैंकको ८.२७ प्रतिशत र एनएमबि बैंकको ८.२८ प्रतिशत लाभांश क्षमता रहेको तथ्याङ्कले देखाउँछ । यस्तै, सिटिजन्स बैंकको ७.३ प्रतिशत, नेपाल बैंकको ६.६२ प्रतिशत, सिद्धार्थ बैंकको ५.६५ प्रतिशत, प्राइम बैंकको १.०६ प्रतिशत, प्रभु बैंकको ०.६९ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ०.४६ प्रतिशत लाभांश क्षमता रहेको छ । यस्तै, दुइटा बैंकको वितरणयोग्य नाफा ऋणात्मक भएकाले लाभांश क्षमता पनि ऋणात्मक छ । हिमालयन बैंकको ३.२८ प्रतिशत र कुमारी बैंकको ३.२३ प्रतिशत लाभांश क्षमता ऋणात्मक भएको हो । प्रभुर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको लाभांश क्षमता शुन्य छ भने प्राइमकमसिर्ययल बैंकको १ प्रतिशत भएकोले पनि यी बैंकले लाभांश वितरण नगर्न सक्छन् । यस्तै, ऋणात्मक अवस्थामा रहेका कुमारी र हिमालयन बैंकले पनि लाभांश दिन सक्ने अवस्था छैन । यद्यपि, अघिल्लो वर्षको जगेडामा रहेको रकमलाई पनि बैंकले लाभांशका रुपमा वितरण गर्न सक्छन् । तर, राष्ट्र बैंकले त्यसलाई स्वीकृति दिने अवस्था न्यून रहन्छ ।
प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणिकरण अब पूर्णरुपमा अनलाइनबाट
काठमाडौं । प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणिकरण गर्ने कार्यको शुभारम्भ गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले कन्सुलर सेवा विभागमा आज आयोजित कार्यक्रममा सो सेवाको शुभारम्भ गरे । सो सेवा सुरु भएपछि मोबाइल, कम्प्युटर वा ल्यापटपका माध्यमले अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्रलाई प्रमाणिकरण गर्न सकिने भएको छ । अब त्यसै प्रयोजनका लागि विभागमा भौतिकरुपमा उपस्थित हुनुपर्ने बाध्यताको अन्त्य भएको छ । यसअघि सोही कामका लागि दैनिक करिब एक हजार ५०० जना विभाग पुग्ने गरेका थिए । सो अवसरमा मन्त्री साउदले यो सेवा सार्वजनिक सेवा प्रवाह प्रभावकारीरुपमा प्रदान गर्ने योजनामा कोशेढङ्गा सावित भएको बताउँदै मन्त्रालयका अन्य सेवालाई पनि नयाँ प्रविधिको सदुपयोग गरी अनलाइन माध्यमबाटै प्रदान गरिने जानकारी दिए । यसबाट जनताले खेप्नुपर्ने हैरानीको अन्त्य हुने र खर्चको समेत बचत हुने बताउँदै उनले दुर्गममा बसेर पनि राज्यले प्रदान गर्ने सेवा सहजै प्राप्त हुने उल्लेख गरे । फरक प्रसङ्गमा उहाँले वर्तमान सरकार सदैव छिमेकी तथा मित्र राष्ट्रहरुसँग सुमधुर सम्बन्ध बनाउने र निरन्तरता दिन पक्षमा रहेको स्पष्ट पारे । वर्तमान गठनपछि प्रधानमन्त्री दाहालको फलदायी भारत भ्रमण भएको उल्लेख गर्दै मन्त्री साउदले सो अवसरमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए । उनले अन्तर्राष्ट्रियसम्बन्ध परस्पर राष्ट्रिय हित र स्वार्थका आधारमा अघि बढाउँदा नै मुलुक र जनतको हित हुने उल्लेख गर्दै विदेश नीतिका सम्बन्धमा सबै पार्टी र पक्षबीच सहमति हुनुपर्ने धारणा व्यक्त गरे । रासस
ईसेवा मनि ट्रान्स्फरका सिइओ कोइरालाले प्राप्त गरे बिजनेस एक्सिलेन्स सर्टिफिकेट
काठमाडौं । ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालालाई वर्ल्ड कन्फेडेरेसन अफ बिजनेस ह्युस्टन, टेक्सस, अमेरिकाले प्रतिष्ठित बिजनेस एक्सिलेन्स सर्टिफिकेटबाट सम्मान गरेको छ । रेमिट्यान्स उद्योगमा २० वर्षभन्दा बढी समर्पित सेवाका साथ कोइराला असल नेतृत्वको उत्कृष्ट नमुना पनि बनेका छन् । उनी म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल अवार्ड २०२२ मा म्यानेजर अफ द इयरबाट पनि सम्मानित भएका थिए। वर्ल्ड कन्फेडेरेसन अफ बिजनेसले विश्वभरका विभिन्न संस्थाहरूको व्यावसायिक उत्कृष्टतालाई द बिज अवार्ड, सबैभन्दा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय व्यापार पुरस्कार प्रदान गरेको थियो । वर्ल्ड कन्फेडेरेसन अफ बिजनेस को मिशन विश्वव्यापी रूपमा व्यापार विकासलाई प्रवर्द्धन, बृद्धिलाई सहजीकरण र अग्रणी कम्पनीहरू र उद्यमीहरूको सफलतालाई मान्यता दिई, उनिहरुले प्रदान गर्ने सेवाहरू लाई विश्वभर चिनाउने एक मध्यम हो ।
स्याउ खेतीबाट वार्षिक ५ करोडभन्दा बढी आम्दानी गर्दै पूर्वसांसद
मनाङ । हिमाली जिल्ला मनाङका किसान स्याउखेतीतर्फ आकर्षित भएका छन् । स्याउ उत्पादन र बिक्री वितरण गरी जीविकोपार्जन चलाउने आधार बनाएर यहाँका किसान स्याउखेतीमा आकर्षित भएका हुन् । मनाङको तल्लो क्षेत्र नासों गाउँपालिका-८ ताचैका सोलबहादुर गुरुङका परिवारले परम्परागत खेती गर्दै आएका थिए । उत्पादन वृद्धि गर्ने उद्देश्यले अहिले विकासे (हाइब्रिड) स्याउखेतीतर्फ लागेका हुन् । परम्परागत स्याउ खेतीलाई परिस्कृत गर्दै आम्दानी बढाउन हाइब्रिड स्याउ खेती गर्न थाल्नुभएको गुरुङ बताउँछन् । उनले खेतबारीमा स्थानीय प्रजातिका स्याउ, मकै, भट्मास, आलु, जौ, करु, फापर र राजमाको खेती गर्दै आएका थिए । यी बाली ढिला र कम उत्पादन हुने भएकाले हाइब्रिड स्याउ खेती गर्न थालिएको उनी बताउँछन् । उनी भन्छन्, ‘मेहनतअनुसार खासै आम्दानी लिन नसकेपछि फेरेका हौं ।’ परम्परागत खेतीबाट मेहनतअनुसारको आयआर्जन नभएपछि अहिले मनाङका किसानले विकासे स्याउ खेती गर्न थालेका छन् । विकासे स्याउ खेतीमा उच्च प्रविधिको प्रयोग हुने हुँदा यसलाई विस्तार गर्दै गएका छन् । सुरुआतमा चार रोपनी क्षेत्रफलमा उच्च प्रविधिको ‘हाई डेन्सिटी एम्पल फर्म’ले स्याउ खेती गरेको गुरुङले बताए । यहीँबाट प्रोत्साहन हुँदै मनाङका किसानले उच्च प्रविधिका स्याउ खेती विस्तार गर्दै गइरहेको उनले बताए । ‘यही फर्मबाट अधिकांश मनाङका किसानले विभिन्न प्रजातिका स्याउका बिरुवा विस्तार गर्दै गइरहेका छन्, यसले आम्दानी पनि वृद्धि भएको छ’, उनले भने । फर्मले सुरुआतमा इटाली र सर्बियाबाट ल्याएको धेरै फल दिने फुजी, गाला, गोल्डेन र रेड डिलिसिस जातका स्याउ खेती विस्तार गर्दै गएको छ । चार वर्षअघि विस्तार गरेको स्याउ खेतीबाट अहिले फल दिन थालेको यो दोस्रो वर्ष हो । यो प्रजातिको स्याउको बोटले दुई वर्षदेखि नै दिन थालेको र प्रत्येक वर्ष उत्पादन बढ्दै जाने भएकाले पनि यो प्रजातिको स्याउ खेतीतर्फ किसान आकर्षित भएको उनले बताए । उनले भने, ‘लगाएको एक वर्षदेखि नै उत्पादन लिन थालेको हो, फल दिएको चार वर्ष भयो ।’ करिब १० लाख लगानी गरेको उनले बताए । लगानीअनुसार उत्पादन राम्रो हुने भएपछि उनी खुसी हुन्छन् । त्यस्तै नासों गाउँपालिका-६ तिल्चेका टङ्क गुरुङले पनि विकासे स्याउ खेती शुरु गरेका छन् । तीन रोपनीमा यही प्रजातिका स्याउ खेती गर्दै आएका छन् । यसको प्रजातिको स्याउ खेतीबाट छिटो उत्पादन लिन सकिने भएकाले लगानी छिटै उठ्ने उनले बताए । ‘यहाँ उत्पादित स्याउ बजारसम्म पुर्याउन समस्या भने रहेको छ, उत्पादनले भने आकर्षित भएका छौं’, उनले भने । अहिले यहाँका अधिकांश किसानले परम्परागत खेतीलाई विस्तापित गर्दै उच्च प्रविधियुक्त स्याउ खेतीतर्फ लागेको पाइन्छ । जति चिसो त्यति नै सप्रिने स्याउको बिरुवा भएकाले अनुकूल वातावरण भएमा एउटै बोटबाट ४५ किलोसम्म उत्पादन दिन सक्ने कृषि प्राविधिक बताउँछन् । मनाङमा अधिकांश कृषकले यस प्रविधिको स्याउ खेतीलाई अनुसरण गर्दै गएको कृषि ज्ञान केन्द्र मनाङका प्रमुख राजेश्वर सिलवालले जानकारी दिए । उनका अनुसार उत्पादन वृद्धि हुँदा आयस्तरमा पनि बढ्ने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको पाइएको छ । किसानको बारीमै पुगेर प्राविधिक सेवा दिदै आएको प्रमुख सिलवालले बताए । ‘ज्ञान केन्द्रसँगै पालिकामार्फत पनि किसानको सहज रुपमा समस्या समाधानका लागि प्राविधिक खटिन्छन्, जसले कृषकलाई सहज भएको पाइएको छ’, उनले भने । मनाङको तल्लो भेगदेखि माथिल्लो भेगसम्म यस प्रविधिको स्याउ खेती विस्तार भइरहेको उनले बताए । यस प्रविधिको स्याउको सुरुवात र विकास एग्रो मनाङ प्रालिबाट यस प्रविधिमार्फत स्याउ उत्पादनको पहिलो सुरुआत भएको हो । मनाङको ङिस्याङ गाउँपालिका-१ भ्राताङमा रहेको एग्रो मनाङले सात सय ३५ रोपनी क्षेत्रफलको जमिन भाडामा लिएर व्यावसायिक स्याउ खेती गरिरहेको छ । यहाँ गाला, गोल्डेन र फुजी गरी तीन प्रकारका स्याउ उत्पादन हुँदै आएको छ । यस प्रालिले लगाएको स्याउ टिप्न मात्रै एकदेखि डेढ महिना समय लाग्ने गरेको प्रालिका अध्यक्ष समराज गुरुङले जानकारी दिए । उनका अनुसार यस वर्ष चार सय ५० मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन हुने अनुमान गरिएको छ । गतवर्ष चार सय मेट्रिक टन बढी स्याउ उत्पादन भएको थियो । स्याउबाट वार्षिक पाँच करोडभन्दा बढी आम्दानी गर्ने गरेको उनले बताए । पूर्वसांसद पोल्देन छोपाङ गुरुङले इटाली र सर्भियाबाट विभिन्न प्रजातिका स्याउको बेर्ना ल्याएर स्याउ खेती प्रारम्भ गरेका हुन् । एग्रो मनाङको स्याउ काठमाडौं, पोखरा लगायत विभिन्न प्रमुख शहरका साथै ठूला-ठूला डिमार्टमेन्ट स्टोर्स तथा होटलमा बिक्री हुन्छ। ‘हाइडेन्सिटी’ प्रविधिबाट फलेका स्याउ ‘हिमालयन फ्रेस’ ब्रान्डबाट बजारमा बिक्री भइरहेको छ । समुद्री सतहदेखि दुई हजार नौ सय मिटर उचाइको भ्राताङमा स्याउ फलेको सात वर्ष भयो । स्याउलाई भण्डारण गर्न भ्राताङ, बेसीशहर र काठमाडौंमा चिस्यान केन्द्र (कोल्ड स्टोर्स) निर्माण गरिएको छ । एग्रो मनाङले हालसम्म दुई करोड २४ लाख अनुदान सहयोग पाएको छ । ‘अहिले पनि नेपालमा बाहिरी देशबाट १३ सय करोडको स्याउ आयात हुन्छ, देशको करोडौं रकम बाहिर जान्छ, देशमा खपत हुने गरी स्याउ उत्पादन गर्नुपर्छ, स्याउ खेतीलाई अझ प्रोत्साहन र उत्पादन गरी स्वदेशमा खपत हुने यही उत्पादन हुनुपर्छ’, पूर्वसांसद पोल्देनले भने, ‘हिमाली क्षेत्रमा यसैगरी फर्म सञ्चालन गर्न सके आयात रोकेर निर्यात गराउन सकिन्छ ।’ यो प्रजातिको स्याउ नेपालमै पहिलो पटक रोपिएको र ठूलो क्षेत्रमा रहेको स्याउ फर्म साउथ एसियामै ठूलो रहेको उनको दावी छ । फर्ममा उत्पादित स्याउ भारतको कोलकाता हुँदै तेस्रो मुलुकसम्म निर्यात गर्ने योजना रहेको अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार ङिस्याङ गाउँपालिका–१ भ्राताङमा रहेको पुरानो स्याउबारीसँगै गाउँपालिकासँग थप जग्गा भाडामा लिइएको छ। उक्त जग्गा २७ वर्षका लागि १२ करोड ९१ लाख ११ हजार रुपैयाँमा भाडामा लिएर स्याउ खेतीको क्षेत्रफल बढाइएको उनले बताए । यस फर्ममा अहिलेसम्म ३० करोड लगानी गरिसकेको अध्यक्ष गुरुङले जानकारी दिए । गुरुङका अनुसार स्याउ खेतीका लागि सुरुमा हिमाली परियोजनाले दुई करोड २४ लाख रुपैयाँ अनुदान दिएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट मल, बीउ र प्याकेजिङमा अनुदान पाएको छ । बाँकी लगानी बैंकमार्फत जुटाइएको उनले बताए । फर्ममा रहेका ६२ हजारमध्ये धेरै बिरुवाले उत्पादन दिन थालेका छन् । केही बिरुवा प्रत्येक वर्ष थप्ने गरिएको छ । फर्ममा प्रत्यक्ष रुपमा ३२ जना रोजगार भएका छन् । स्याउको विस्तार कृषि ज्ञान केन्द्र मनाङको तथ्याङ्कअनुसार १३ हजार बढी क्षेत्रफलमा यो प्रविधिको स्याउ खेती विस्तार भएको छ । ज्ञान केन्द्रका अनुसार पछिल्लो समय कृषक छनोट गरी व्यवस्थापनमा ५० र बिरुवामा ७५ प्रतिशत अनुदान समेत उपलब्ध गराएको छ । राम्रो उत्पादन भएमा प्रतिहेक्टर २१ मेट्रिक टनसम्म स्याउ उत्पादन हुने ज्ञान केन्द्र मनाङका प्रमुख सिलवालले बताए । समुद्री सतहबाट एक हजार आठ सय मिटर उचाईभन्दा माथि यस प्रविधिको स्याउ राम्रो फल्ने र स्वादिलो हुने उनले बताए । स्याउ स्वादिलो भएपछि माग समेत उच्च रहेकाले यसतर्फ किसानको आकर्षण बढेको सिलवालले बताए । मनाङमा उत्पादित स्याउ लमजुङको बेसीसहर हुँदै पोखरा, चितवन, काठमाडौं देखि अन्तराष्ट्रिय बजारसम्म निर्यात हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । स्थलमार्गको पहुँचमा समस्या मनाङको स्थलमार्गको पहुँचमा समस्या रहेको छ । यसले गर्दा मनाङमा उत्पादित वस्तु निर्यातमा समस्या हुने गरेको छ । यहाँको स्थलमार्गलाई सहज बनाउन सकेमा उत्पादित वस्तु बजारसम्म पुर्याउन सहज हुन्छ । तर, मनाङ आवतजावतका लागि एउटा मात्रै स्थलमार्ग हुँदा पनि यो मार्ग निर्माणमा कठिनाइ छ । सडक सञ्जालको ट्रयाक खोलिएको २० वर्ष बितिसक्दा पनि सुधार भएको छैन । यसले गर्दा मनाङमा उत्पादित वस्तु बजारसम्म सग्लो पुर्याउन मुस्किल छ । मनाङबाट वस्तु सग्लो प्याकेजिङ गरिए पनि बजारसम्म पुग्दा सडकका कारण एकापसमा ठोक्किएर बिग्रने र बजारमा यहाँबाट ढुवानी भएका स्याउ पुरा बिक्री गर्न नसक्दा किसान नोक्सान व्यहोर्न बाध्य छन् । सडक सञ्जाल सहज भएमा यहाँबाट बजारसम्म पुग्दा स्याउ समयमा र सग्लो पुर्याउन सकिने किसान बताउँछन् । यहाँबाट समयमा बजारसम्म स्याउ पुर्याउन सकेमा जिल्लाकै आयस्तर बढ्ने जिल्लावासीको भनाइ छ । मनाङको विकास र सडक सञ्जाललाई सहज बनाउने कार्यमा सङ्घ सरकार, प्रदेश सरकार र स्थानीय सरकारको चासो पुग्नुपर्ने आवश्यकता छ । रासस
सडकमा फाल्नु परेको गोलभेडाको भाउ कसरी पुग्यो किलोकै १६८ रुपैयाँ ?
काठमाडौं । उत्पादनको कमी र भारत निर्यात भएको कारण गोलभेडाको मूल्य वृद्धि भएको व्यवसायीहरुले बताएका छन् । एक महिना अगाडि मात्रै नेपाली किसानहरुले उत्पादन गरेको गोलभेडाले बजार मूल्य नपाउँदा सडकमा फाल्नु परेको थियो । तर, ठिक एक महिनापछि गोलभेडाको मूल्य एक्कासी माथि पुगेको व्यवसायीहरुले बताए । उनीहरुले पछिल्लो समय किसानहरुले उत्पादन गरेको गोलभेडा भारतमा समेत जान लागेकाले बजार मूल्य बढेको बताए । व्यावसायीहरुले केही समय पहिला नेपाल उत्पादन उच्च रहेको भारतमा पनि नगएको र नेपाली बजारमा १० रुपैयाँमा पनि नबिकेको भन्दै सडकमा गोलभेडा फालिएको बताए । कालिमाटी फलफूल तथा तरकारी बजारकी गोलभेडा व्यापारी तारादेवी मगरले तरकारीको मूल्यमा उतारचढाव आउनुको कारण उत्पादन भएको बताए । उनले अघिल्लो वर्ष एउटा तरकारी धेरै खपत भयो भने अर्को वर्ष सबै किसानले एउटै तरकारी उत्पादन गर्नुको कारणले पनि यस्तो भएको बताए । उनले पछिल्लो समय भारतमा बढी पानी परेर डुबान भएको कारण गोलभेडाको मूल्य उच्च रुपमा बढेको बताए । उनले एक महिनाअघि नेपाली उत्पादन गोलभेडा फालाफाल हुँदा भारतमा समेत गएन तर अहिले नेपाली उत्पादन गोलभेडा करिब ७० प्रतिशत भारतमा गइरहेको बताए । उनले नेपाली बजारमा गोलभेडाको कमी भएको अवस्थामा भारतमा गोलभेडा निर्यात गर्दा मूल्य वृद्धि भएको बताए । उनले भारत नभएको भए ५० रुपैयाँ किलोभन्दा माथि जाने अवस्था नभएको बताए । उनले अघिल्लो वर्ष यही समयमा प्रति क्रेट २००० सम्म रहेकोमा अहिले टनेलभन्दा बाहिरको गोलभेडा २ हजार ५०० र टनेलभित्रको २ हजार ८०० प्रति क्रेट मूल्यमा बिक्रि भइरहेको बताए । उनले भारतमा समेत २ हजार ८०० प्रति क्रेट गोलभेडा गइरहेको बताए । अहिले नेपाली बजारमा गोलभेडा किलो १४० रुपैयाँ रहेको बताए । उनले गोलभेडाको मूल्य एक महिनामा किलामो १० रुपैयाँ बढेको छ । उनले भने,‘तरकारीको मूल्यमा उतारचढाव आउनुको कारण उत्पादन हो । अघिल्लो वर्ष एउटा तरकारी धेरै खपत भयो भनेको अर्को वर्ष सबै किसानले एउटै तरकारी उत्पादन गर्नुको कारण पनि हो । अहिले नेपाली उत्पादन गोलभेडाँ करिब ७० प्रतिशत भारतमा गइरहेको अवस्था हो। त्यसकारण मूल्य वृद्धि भएको हो । भारत नभएको भए ५० रुपैयाँ किलो भन्दा माथि नजानु पर्ने हो । अघिल्लो वर्ष यही समयमा प्रति क्रेड २००० सम्म थियो । सडकमा गोलभेडा फाल्नु पर्ने भएकाले किसानहरुले उपचार नगरी हेल्चेक्राई गरे । औषधी उपचार नगर्नाले उत्पादनमा कमी भयो । भारतमा गोलभेडा गइरहेको कारण नेपाली बजारमा १४० रुपैयाँ किलोसम्म भएको छ। अहिले टनेला भन्दा बाहिरको गोलभेडा २ हजार ५०० छ भने टनेलाभित्रको गोलभेडा २ हजार ८०० प्रति क्रेड मूल्य छ। भारतमा पनि टनेलाभित्रको गोलभेडा २ हजार ८०० प्रति क्रेड गइरहेको छ । तर यता बन्दाको मूल्य भने पौष देखि प्रतिकेजी १० रुपैयाँ भन्दा माथि गएको छैन । किसानले किलो २ रुपैयाँ पनि पाएको छैनन् । गत वर्ष यो समयमा ७५ रुपैयाँ किलो थियो ।’ गोलभेडा व्यवसायी द्वारिका अधिकारीले विगतको तुलनामा यो वर्ष तरकारी सस्तो रहे पनि गोलभेडा अत्याधिक महँगो भएको बताए । उनले अहिले तरकारी बजारमा महँगो भनेको गोलभेडा मात्रै रहेको बताए । उनले १० रुपैयाँ केजीसम्म झरेको गोलभेडाको मूल्य किसानहरुले सडकमा फालेको बताए । उनले गोलभेडाले बजार मूल्य नपाउँदा सडकमा फाल्नु पर्ने भएकाले किसानले औषधी उपचार नगर्दा उत्पादन कम भएकाले बजारमा कमी भएको बताउनु बताए । उनले गोलभेडा बाहेक अन्य तरकारीको उत्पादनमा वृद्धि भएको कारण मूल्य वृद्धि नभएको बताए । उनले बजारमा तरकारीको मूल्य घटबढ नहुनको लागि सरकारले उत्पादित तरकारीको निश्चित मूल्य तोकि दिए मात्रै उपभोक्ताले संधै एउटै मूल्यमा तरकारी खरिद गर्न पाउँने बताए । उनले भने,‘विगतको तुलनामा यो वर्ष तरकारी सस्तो रहेको छ । महँगो भनेको गोलभेडा मात्रै हो। गोलभेडाँ पनि १० रुपैयाँ केजीसम्म आएर किसानहरुले सडकमा फाल्न बाध्य भए । सडकमा फाल्नु पर्ने भएकाले किसानले औषधी उपचार गरेनन् । रोग लाग्नले उत्पादन कम भएकाले बजारमा कमी भएकाले महँगो भएको छ । काउली ३५ रुपैयाँ छ । अन्य तरकारीको उत्पादनमा वृद्धि भएको कारण मूल्य कमी आएको छ । बजारमा तरकारीको मूल्य घटबढ नहुनको लागि सरकारले उत्पादित तरकारीको निश्चित मूल्य तोकि दिए मात्रै उपभोक्ताले संधै एउटै मूल्यमा तरकारी खरिद गर्न पाउँछन् ।’ तरकारी व्यवसायी बद्रीलाल श्रेष्ठले गोलभेडाको मूल्य पछिल्लो ३० वर्षको अवधिमा यो वर्षको जस्तो उतारचढाव नभएको बताए। उनले नेपाली उत्पादन गोलभेडा यो वर्ष नै सडकमा फाल्ने देखि १४० रुपैयाँसम्म मुल्य पुगेको बताए । उनले कालिमाटी तरकारी बजारमा होलसेलमा नै १२० सम्म पुगेको बताए । उनले कृषि उत्पादनमा किसानहरुको ज्ञान नभएर पनि उत्पादन कमी हुने र बजार मूल्य नपाउने जस्ता समस्या आइरहने गरेको बताए । उनले सरकारले कृषि क्षेत्रलाई बेवास्था गर्दा पनि समस्या आउने गरेको बताए । उनले किसानले घर धितो राखेर कृषि गरे पनि कतिबेला के उत्पादन गर्ने भनेर ज्ञान नहुँदा उत्पादन गरेको वस्तुले मूल्य नपाउँदा निराश बन्नु पर्ने अवस्था रहेको बताए । उनले भने,‘गोलभेडाको मूल्य यो वर्षको जस्तो ३० वर्षअघि देखि कहिल्यै पनि भएको थिएन । गोलभेडा यो वर्ष नै यति धेरै सस्तो भयो भने किसानले मूल्य नपाएर फाल्नु पर्ने अवस्था भयो । अहिले आएर यति धेरै महँगो भएको छ । कालिमाटी तरकारी बजारमा होलसेलमा नै १२० सम्म बेचेको अवस्था छ । कृषि उत्पादनमा किसानहरुको ज्ञान नभएर पनि हो । सरकारले कृषिलाई व्यवास्था गरेर हो की जस्तो लाग्छ । किसानले घर धितो राखेर कृषि गरे पनि कतिबेला के उत्पादन गर्ने भनेर ज्ञान छैन। उनीहरुले उत्पादन गरेको वस्तुले मूल्य नपाउँदा किसानहरु हत्योसाहित भएको अवस्था छ ।’ कालीमाटी बजार विकास समितिले आइतबारका लागि नेपाली गोलभेडाको ठूलोका मूल्य प्रतिकिलो १६८.३३ रुपैयाँ कायम गरेको छ ।
वृज एडिटिभ्सका नयाँ उत्पादनहरु बजारमा
काठमाडौं । वृज एडिटिभ्सका नयाँ उत्पादनहरु बजारमा लन्च गरिएको छ । नयाँ संरचना निर्माण तथा पुरानालाई मर्मत सम्भार गर्न वृज एडिटिभ्सका उच्चस्तरीय उत्पादनले स्थायित्व र दीगोपना सुनिश्चित गर्ने कम्पनीको भनाइ छ । जसअनुसार कम्पनीले वाटरप्रुफिङ, रिपेयर तथा एडमिक्सर सलुशन्स बजारमा लिएर आएको छ । वृज एडिटिभ्सले शुक्रबार काठमाडौँको सोल्टीमोडमा रहेको हायात प्यालेसमा भब्य कार्यक्रम गरि यी उत्पादनहरूको औपचारिक रुपमा बजारमा ल्याएको घोषणा गरेको हो । वाटर प्रुफिङ्गका लागी कम्पनीले ल्याएको वेदर प्रोप्लस २५०/ब्रिज सेफक्रेटले घरलाई पानीले पु–याउने क्षतिबाट बचाउने बताइएको छ । साथै पीलर, बीम, स्ल्याब र स्टिललाई खिया आदिबाट जोगाइ निर्माणलाइ मजबुत र दिगोपन प्रदान गर्ने कम्पनीको भनाइ छ । यसका अतिरिक्त कम्पनीले सिल्कन फ्लोमिक्स पीसी ३५०, पीसी ४५०, पीसी ५५० र अल्ट्रा १०० पनि ल्याएको छ । कार्यक्रममा केडिया अर्गनाइजेसनका अध्यक्ष तारा चन्द केडियाले उपस्थित सम्पूर्णमा स्वागत मन्तब्य ब्यक्त गर्दै उत्पादित बस्तुले ग्रहाक तथा निर्माणकर्मीहरुको मन जित्ने आशा ब्यक्त गरिन् । कलाकार जितु नेपाल ‘मुन्दे्र’ ले प्रस्तुती समेत रहेको कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव विश्वबाबु पुडासैनी, रेलवे विभागका महार्निदेशक रोहित बिसुराल, सिंचाई विभागका महार्निदेशक सुशील आचार्य तथा निर्माणकर्मी, इन्जिनियर, कंक्रिड उत्पादनकर्ता र संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।