चाडपर्वको खर्च जोहो गर्न भारत जानेको लर्को
जानकी । शनिबार बढैयाताल गाउँपालिका–२ बर्दियाका खटकराज बुढा दसैँ–तिहारका लागि खर्च जुटाउन भन्दै भारत जानका लागि नेपाल–भारत सीमानाका जमुनाहमा भेटिए । उनले नेपालगन्जको गर्मी, शरीरभरि पसिनैपसिना खटकराजले पसिना पुछ्दै बर्खे खेतीबाली सकेर चाडपर्व खर्चको जोहो गर्न भारतको सिम्ला जान लागेको बताए । साठी वर्ष पार गरिसकेका उनले बर्खे बाली लगाउन घर आउने र लगाइसकेपछि फेरि कमाउन भारतको सिमला जाने गरेको बताए । ‘परिवार एक्लैले बर्खा खेती लगाउन सक्दैनन् भनेर म लगाउन आउँछु । खेती लगाइसकिएपछि पैसा कमाउनका लागि फेरि भारतको सिमलामै जान्छु’, उनले भने, ‘मिले दसैँ–तिहारमा घर फर्कन्छु, नमिले साथीभाइ आउँदा उनीहरूसँगै चाडबाड मनाउने पैसा पठाइदिन्छु ।’ बुढाले विगत ३५ वर्षदेखि खेती लगाउन घर आउने र लगाइसकेपछि फेरि कमाउनका लागि भारत जाने गर्दै आएका छन् । नेपालमा जति काम गरे पनि राम्रो पारिश्रमिक नपाउने र पाए पनि ठेकेदारले पैसा नै नदिने उनले गुनासो गरे । ‘नेपालमै केही गरौँ भन्ने सोच र जाँगर भए पनि कामको उचित व्यवस्थापन छैन, न त मूल्य नै छ’, उनले भने, ‘घरपरिवार छाडेर अर्काको देशमा काम गर्न जाने रहर त मलाई पनि कहाँ छ र ? तर गुजाराका लागि पनि जानैपर्ने बाध्यता छ ।’ बुढाजझैँ सुर्खेत मेलकुनाका हरि ओली पनि असारे खेतीबाली लगाएर परिवारको छाक टार्न भारतमा मजदुरीका लागि जाँदै गर्दा जमुनाहमा भेटिए । घरमा स्कुल पढ्ने छोराछोरी छन् । पढाउनलाई र दसैँ–तिहारको जोहो गर्न आफू भारत जानुपर्ने बाध्यता भएको उनले बताए । उनले भने, ‘हाम्रो देशमा व्यवसाय गर्न पनि लगानी चाहिन्छ । लगानी लगाएर व्यवसाय गर्न मेरो हैसियतले भ्याउँदैन । रहरले भन्दा पनि बाध्यताले भारतमा मजदुरी गर्न जानुपरेको छ ।’ उमेरले ५६ वर्ष पार गरिसकेका ओलीले भारत गएर कमाउन थालेको २२ वर्ष भएको बताए । यसैगरी रोजगारीका लागि भारत जाँदै गरेका दैलेखका विनय क्षेत्रीको पनि कथाव्यथा बुढा र ओलीको जस्तै छ । उनी पनि बर्खे खेती लगाउनका लागि घर आएको र खेती लगाएर दसैँ–तिहारको जोहो गर्न भारतको सिमला जान लाग्दै गर्दा जमुनाहनाकामा भेटिए । उमेरले ४८ वर्ष लागेका क्षेत्रीले नेपालमा रोजगारीको अभावसँगै स्वरोजगारका लागि सीप र लागतको पनि अभावले आफू बर्षैँपिच्छे भारत जानुपरेको बताए । ‘आफूसँग हातमा सीप छैन, व्यापार–व्यवसाय गर्न लगानी छैन, अनि महिना दिन ढुक्कले काम गर्ने रोजगारी पाइँदैन । भारतमा त जस्तो भन्यो त्यस्तै काम पाइन्छ अनि दाम पनि । त्यसैले मजदुरी गर्न भारतको सिमला जान लागेको हुँ ।’ बुवा र काकाको साथमा सानै उमेरदेखि भारतमा गएर मजदुरी गर्दै आएको विनयले बताए । विगत १८ वर्षदेखि भारतमा गएर काम गर्न सुरु गर्नुभएका विनयलाई सुरुमा भारतमा जानका लागि आफ्नो देशको नाका पार गर्दा नमज्जा लागेको अनुभव सुनाए । ‘पहिलोपटक काम गरेर पैसा कमाउन बुवा र काकासँग भारत गएको थिएँ । त्यतिबेला यही नाकामा म मनैमन रोएको पनि थिएँ । साह्रै नमज्जा लागेको थिए । अहिले त बानी परिसक्यो’, उनले भने, ‘आफ्नै गाउँठाउँमा बस्ने रहरलाई मारेर अर्काको देशमा खुन पसिना बगाउन मलाई मन छैन तर यो बाध्यता हो ।’ प्रत्येक वर्ष नेपालगन्जस्थित जमुनाहनाका हुँदै दसैँ–तिहारका लागि खर्च जुटाउन भारत जाने नेपालीको लर्को लाग्ने गर्दछ । यस वर्ष पनि असारे खेतीबाली सकेर दसैँ–तिहारका लागि खर्च जुटाउन भारत जाने नेपालीको लर्को सीमानाकामा देख्न सकिन्छ । असारे खेतीबाली लगाएर रोजगारीको सिलसिलामा दैनिक भारत जाने नेपालीको सङ्ख्या योपटक भने दुई सयभन्दा बढी भएको सीमानाका जमुनाहले जनाएको छ । रासस
बेलायतमा कोरोनाको नयाँ भेरियन्ट ‘एरिस’ काे जोखिम बढ्दै
काठमाडौं । बेलायतमा फेरि एकपटक कोराना भाइरसको जोखिम बढेको छ । कोरोनाको नयाँ भेरियन्ट एरिसले स्वास्थ्य विभागलाई चिन्तित बनाएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार नयाँ भेरियन्ट एरिसको वैज्ञानिक नाम ईजी.५.१ हो र यो ओमिक्रोनबाट उत्पन्न भएको हो । बेलायतमा यो भेरियन्ट जुन महिनामा पत्ता लागेको थियो । त्यसदेखि यताको समयमा दैनिक नयाँ–नयाँ समस्याहरु सार्वजनिक भैरहेका छन् । ३१ जुलाईमा यसलाई नयाँ भेरियन्टको रुपमा वर्गीकृत गरिएको थियो । युके हेल्थ सेक्युरिटी एजेन्सीले कोभिड संक्रमण भएका हरेक सात जनामध्ये एकजनालाई ईजी.५.१ संक्रमण देखिएको बताएको छ । एसियामा संक्रमण बढ्दै गएकाले बेलायतमा पनि यो समस्या बढेको बताइएको छ । तर, एसियाका कुन–कुन देशहरुमा नयाँ संक्रमण देखिएको छ भन्ने बारेमा भने एजेन्सीले उल्लेख गरेको छैन । विश्व स्वास्थ्य संगठनले भ्याक्सिन लगाएका मानिसहरु सुरक्षित रहेको तर सतर्क हुनुपर्ने जनाएको छ । विश्व स्वास्थ्य संगठनले दुई साता अगाडि कोभिडको नयाँ संस्करणको विषयमा अनुगमन सुरु गरेको थियो । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनोम गेबियसले खोपका कारण मानिसहरु सुरक्षित रहेको बताएका छन् । एजेन्सीको रेस्पिरेटरी डाटामार्ट प्रणालीबाट रिपोर्ट गरिएका चार हजार तीन सय ९६ वटा नमूना मध्ये ५ दशमलब ४ प्रतिशतमा कोरोना संक्रमण देखिएको जनाइएको छ । जबकी पछिल्लो समयमा चार हजार चार सय तीन नमूनामा परीक्षण गर्दा तीन दशमलब सात प्रतिशतमा मात्रै कोरोना संक्रमण देखिएको थियो । पछिल्लो समयमा अस्पताल भर्ना हुने संख्यामा पनि वृद्धि भइरहेको छ । ताजा तथ्यांकअनुसार प्रत्येक एक लाख आवादी भएको ठाउँमा एक दशमलब ९७ प्रतिशत कोभिड विमारी अस्पताल भर्ना भएका छन् । जसमध्ये अधिकांश वृद्धवृद्धा रहेका छन् । एजेन्सीकाे सहयाेगमा ।
काभ्रेपलाञ्चोकमा उत्कृष्ट विद्यार्थीलाई एक लाख सहित सम्मान
काभ्रे । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण छात्रछात्रालाई जनही एक लाख रुपैयाँद्वारा सम्मान गरेको छ । गाउँपालिकाले आफ्नो क्षेत्रमा एसइई परीक्षा दिएकामध्ये उत्कृष्ट एक छात्र र एक छात्रालाई शनिबार एक कार्यक्रमकाबीच सम्मान गरेको हो । गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल र उपाध्यक्ष दावा लामाले अरुणोदय माध्यमिक विद्यालय सिम्थलीका छात्रा सोनिया खड्का र प्रकाश मावि भुम्लुटारका सन्देश उपे्रतीलाई जनही एक लाख रुपैयाँद्वारा संयुक्तरूपमा सम्मान गरेका थिए । यस्तै गाउँपालिकाभित्रका माध्यमिक विद्यालयतर्फ एसइई परीक्षामा औसत सर्वोत्कृष्ट अङ्क ल्याउने विषयगत नौ शिक्षकलाई पनि जनही २५ हजार रुपैयाँका दरले सम्मान गरिएको छ । कार्यक्रममा भुजेल र लामाले हाल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा अध्ययनप्रति ऊर्जा एवं प्रोत्सहान प्रदान गर्न गाउँपालिकाले एसइईमा उत्कृष्ट छात्रछात्रालाई सम्मान गर्ने परम्पराको सुरुआत गरिएको बताए । गाउँपालिकाभित्र सर्वोत्कृष्ट छात्रा खड्काले तीन दशमलव २० र छात्र उप्रेतीले तीन दशमलव ५५ अङ्क प्राप्त गरेका थिए । गाउँपालिकाका दुई सय विद्यार्थीले २०७९ सालको एसइई परीक्षा दिएका थिए । यसैगरी जिल्लाको रोशी र तेमाल गाउँपालिकाले पालिकाभित्रबाट एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई नगदसहित सम्मान गरेका छन् । रोशीमा गाउँपालिका अध्यक्ष दिनेश लामाले तीन जनालाई प्रोत्साहनस्वरुप ५० हजारका दरले नगदसहित सम्मान गरेका छन् । तेमालको वडा नं २ मा माध्यमिक विद्यालयबाट एसइई परीक्षामा उत्कृष्ट नम्बर प्राप्त गरेका तीन विद्यार्थीलाई प्रोत्साहनस्वरुप जनही ५० हजार प्रदान गरिएको वडाध्यक्ष देव तामाङले बताए । यसअघि नेपाल विद्यार्थी सङ्घ काभ्रेले जिल्लामा एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामा, नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय उदयशम्शेर राणा र कुन्दनराज काफ्लेको उपस्थितिमा बनेपामा सम्मान गरेको थियो । सङ्घले निजी विद्यालयबाट तीन दशमलव ९५ जिपिए ल्याउने १२, सामुदायिक विद्यालयबाट तीन दशमलव ७५ जिपिए ल्याउने सामुदायिक विद्यालयका नौसहित विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने नौ सय ५० विद्यार्थीलाई सम्मान गरेको हो ।
काठमाडौंको तारकेश्वरमा पहिराले घर पुरिँदा दुईको मृत्यु
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–५ मा पहिराले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । तारकेश्वर –५ चो गाउँमा गए राति आएको पहिराले नुवाकोट सामरी घर भई हाल तारकेश्वर स्थित चोगाउँमा भाडामा बस्दै आएका ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आस्मा तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिए । उनका अनुसार गए राति घरमाथिबाट खसेको पहिराले तामाङ भाडामा बस्दै आएको घर (टहरो) पुरिएको हो । सोही घटनामा परी आमा सञ्जु तामाङ घाइते भएको र उनको प्राथमिक उपचार गरिएको प्रहरीले जनाएको छ ।
दोहरो कर हटाउन स्थानीय तहलाई मन्त्री रिजालको आग्रह
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बारा र पर्साका स्थानीय तहलाई कवाडीकरको नाममा कच्चा पदर्थमा समेत लगाइएको कर हटाउन आग्रह गरेका छन् । जितपुरसिमरा उद्योग वाणिज्य सङ्घको छैटौँ स्थापना दिवसका अवसरमा शनिबार बाराको जितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहले यो कर नहटाए सङ्घीय सरकारले उचित कदम चाल्ने बताए । मन्त्री रिजालले उद्योगी–व्यापारीले आर्जन गरेको आयकर तिरे पनि एकीकृत सम्पत्ति कर लगाएर दोहोरो कर स्थानीय सरकारले लिने गरेको जनाउदै तत्काल फिर्ता लिन स्थानीय तहलाई आग्रह गरे । उनले भने, “जीर्ण उद्योगलाई अब निजी क्षेत्रसमेतको सहभागितामा सञ्चालन गर्ने र सिमरामा रहेको विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योगले तिर्नुपर्ने जग्गाको भाडा न्यून गरेर व्यवसायीलाई आकर्षित गर्ने योजना रहेको छ ।” निर्यातजन्य उद्योग स्थापना गर्न निःशुल्क जमिनसमेत उपलब्ध गराउन सकिने उनले जानकारी दिए । जितपुरसिमरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवाल, नेपाल–भारत सहयोग मञ्चका अध्यक्ष अशोक दास, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य डा सुबोधकुमार गुप्ता, उद्योग वाणिज्य महासङ्घका मधेस अध्यक्ष अशोक टेमानी, स्थानीय कृष्णब्रत सिंहलगायतले उद्योग र स्थानीय उद्योग क्षेत्रका समस्याका बारेमा चर्चा गरेका थिए ।
भारतको श्रावस्तीमा कार दुर्घटना हुँदा नेपालगन्जका ६ जनाको मृत्यु
काठमाडौं । भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी नेपालगन्जका दुई परिवारका छ जनाको मृत्यु भएको छ । भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गए राति गाईसँग ठोक्किँदा दुर्घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । दुर्घटनामा परी नेपालगन्ज सदरलाइन निवासी एकै परिवारका ३५ वर्षीय बैभव गुप्ता, उहाँकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ता र नेपालगन्जको त्रिभुवनचोकस्थित एस कुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताको छोरा २२ वर्षीय निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिती गुप्ताको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका गाडी चालक अजय मिश्रको उपचार भइरहेको छ । शनिबार बिहान निलान्स र सुनिती मामाघर घुम्न र बैभव माइतीमा रहनुभएकी श्रीमती दिपीकालाई लिन बलरामपुर पुगेर फर्किने क्रममा दुर्घटना भएको सन्तोष गुप्ताले जानकारी दिए । दुर्घटनाको खबरले नेपालगन्जको त्रिभुवनचोक क्षेत्र शोकमा डुबेको छ । त्रिभुवन चोकका बासिन्दा मृत्युको खबर पाएदेखि रातभर सुतेका छैनन् । गुप्ताको घरमा आफन्तजन र स्थानीयवासीको भीड लागेको स्थानीय दीपानन्द गुप्ताले बताए । स्थानीय ब्राइटल्यान्ड कलेजमा बिबीएस तेस्रो सेमेस्टरमा अध्ययनरत सुनितीको निधनको खबरले कलेजका विद्यार्थी शोकमग्न भएको सहपाठी आकृति रानाले बताए । मृतकको भारतको बहराइचमा परीक्षणपछि शव नेपाल ल्याउनका लागि आवश्यक प्रक्रियाको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक राठौरले जानकारी दिए । रासस
बिग मर्जर गरेकै बैंकहरुको नाफामा छलाङ्ग, ७७ प्रतिशतसम्मको वृद्धि
काठमाडौं । गत वर्ष वाणिज्य बैंकहरुले ७० अर्बभन्दा बढी नाफा गरेका छन् । गत आर्थिक वर्ष २०७९/८० को सार्वजनिक वित्तीय विवरण अनुसार २० वटा बैंकहरुले ७० अर्ब १७ करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेका हुन् । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा २६.०५ प्रतिशत अर्थात् १४ अर्ब रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकहरुले ५६ अर्ब १७ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । मर्जर तथा एक्विजिशन गएका बैंकहरुको सिनर्जी देखिन थालेको छ । गत आर्थिक वर्षको सार्वजनिक गरेको वित्तीय विवरण अनुसार मर्जरमा गएका बैंकहरुको नाफामा सिनर्जी देखिन थालेको हो । गत वर्ष एक दर्जन बैंकहरु मर्जरमा सामेल भएका थिए । जसमध्ये अघिल्लो वर्ष मर्जर भएको नबिल बैंकको नाफा उल्लेख्य बढेको छ । गत वर्ष सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक अग्रस्थानमा छ । नबिल बैंकको नबिल बैंकको ७६.८६ प्रतिशत बढेर ७ अर्ब ५२ करोड रुपैयाँ नाफा गरेको छ । यस्तै, ग्लोबल आइएमई बैंकको ४६.२६ प्रतिशत बढेर ७ अर्ब २५ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको १४.५४ प्रतिशत बढेर ४ अर्ब ९१ करोड रुपैयाँ, एनआइसी एशिया बैंकको १०.३५ प्रतिशत बढेर ४ अर्ब ६५ करोड रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १३.१४ प्रतिशत बढेर ४ अर्ब २९ करोड रुपैयाँ नाफा गरेका छन् । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ५६.२७ प्रतिशत बढेर ३ अर्ब ५२ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ४९.४५ प्रतिशत बढेर २ अर्ब २६ करोड रुपैयाँ, प्रभु बैंकको ४८.५४ प्रतिशत बढेर २ अर्ब ८२ करोड रुपैयाँ र कृषि विकास बैंकको ३९.२४ प्रतिशत बढेर ३ अर्ब ९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यस्तै, हिमालयन बैंकको ३७.९६ प्रतिशत बढेर ३ अर्ब २६ करोड रुपैयाँ, भरेष्ट बैंकको ३६.८५ प्रतिशत बढेर ३ अर्ब ३९ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको ३६.८२ प्रतिशत बढेर २ अर्ब ४२ करोड रुपैयाँ, सानिमा बैंकको २५.१३ प्रतिशत बढेर २ अर्ब ६१ करोड रुपैयाँ र नेपाल बैंकको १६.७ प्रतिशत बढेर ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा गरेका छन् । यस्तै, सिटिजन्स बैंकको १०.४१ प्रतिशत बढेर २ अर्ब २१ करोड रुपैयाँ, सिद्धार्थ बैंकको ९.९१ प्रतिशत बढेर ३ अर्ब १९ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको ९.७५ प्रतिशत बढेर १ अर्ब ८५ करोड रुपैयाँ र एनएमबि बैंकको ३.६३ प्रतिशत बढेर ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । गत वर्ष कुमारी बैंक र प्राइम बैंकको नाफा सामान्य घटेको हो । गत वर्ष कुमारी बैंकको २४.१३ घटेर १ अर्ब ९५ करोड रुपैयाँ र प्राइम बैंकको १.०५ प्रतिशत घटेर २ अर्ब २६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
राष्ट्रिय वाणिज्य बैंकको नाफा ५ अर्ब रुपैयाँ, जगेडा कोष साढे ३६ अर्ब पुग्यो
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गत वर्ष ५ अर्ब रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको वित्तीय प्रतिवेदन अनुसार बैंकले गत असारसम्म खुद नाफा १४.५६ प्रतिशत बढेर ४ अर्ब ९१ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब २९ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य नाफा १ अर्ब ८१ करोड २८ लाख रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १२ अर्ब ३५ करोड ८३ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ९ अर्ब २९ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको चक्ता पूँजी १५ अर्ब ६३ करोड रुपैयाँ र जगेडा कोष ३६ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले ३ खर्ब २१ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ३० अर्ब १ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्ष बैंकको खराब कर्जा २.०९ प्रतिशतबाट बढेर २.९५ प्रतिशत पुगेको छ ।