विकासन्युज

ललिता निवास प्रकरण : गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजय गच्छदारविरुद्ध ललिता निवास क्याम्प भित्रको जग्गा हिनामिना प्रकरणमा  पक्राउ पुर्जी जारी भएको छ । ललिता निवास प्रकरणमा मुछिएका पूर्वउपप्रधान तथा गृहमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह,  दुई पूर्व भूमिसुधार मन्त्री डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशी विरुद्ध जिल्ला अदालत काठमाडौंले प्रहरीलाई पक्राउ अनुमति दिएको हो। संगठित अपराधमा संलग्न रहेको आरोपमा उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी भएको प्रहरी स्रोतले बताएको छ । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उक्त प्रकरणमा ४ पूर्वसचिवसहित ४ सय ६ जनाविरुद्ध पक्राउ पूर्जी लिईसकेको छ । बालुवाटारस्थित ११२ रोपनी ४ आना एक पैसा जग्गा हिनामिना प्रकरणमा चारवटा मुद्धामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

आँखा पाक्ने सङ्क्रमण बढ्दै गएपछि विद्यालय बन्द

चितवन । आँखा पाक्ने सङ्क्रमण फैलिएपछि चितवनको भरतपुर महानगरपालिकाले पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । भरतपुर महानगरपालिकाले आइतबार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालय बिदा गरेको हो । हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी आजदेखि २६ गतेसम्म सबै विद्यालय बन्द गरिएको नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालले जानकारी दिए । आँखा पाक्ने रोग (एडिनो भाइरस) को सङ्क्रमण चितवनमा पनि बढ्दै गएको छ । यस्तै आँखा पाक्ने समस्या बढ्दै गएपछि रत्ननगर नगरपालिकाका सबै विद्यालय बन्द हुने भएका छन् । रत्ननगरले आइतबार एक सूचना जारी गर्दै सोमबारदेखि साउन २४ गतेसम्म पालिकाभित्रका कक्षा १२ सम्म सञ्चालन भएका संस्थागत विद्यालय बन्द गर्न अनुरोध गरेको हो । साथै बन्दको सूचना गर्नुपूर्व आँखाको सुरक्षासम्बन्धी सचेतीकरण गर्नसमेत अनुरोध गरेको छ । रासस

दुई महिने नाबालकको हत्या आरोपमा आमाबाबु पक्राउ

गलकोट । बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए । यही साउन १८ गते बिहीबार राति विक दम्पतीबीच विवाद हुँदा बालकलाई खोसाखोसरतानातान गर्ने क्रममा आफ्नै घरभित्र भुईमा खसी बझारिएपछि घटनास्थलमै बालकको मृत्यु भएको बताइएको छ । प्रहरीले घटनाको विषयमा तीन दिनपछि मात्रै जानकारी पाएको थियो । त्यसलगत्तै प्रहरीले हत्या आरोपमा प्रहरीले विक दम्पतीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । प्रहरीले जिल्ला अदालत बागलुङमा आइतबार ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर पाँच दिनको म्याद थप गरी अनुसन्धान थालेको छ ।

सदनमा अवरोध हटाउने विषयमा सभामुखले शीर्ष नेतासँग छलफल गर्ने

काठमाडौं । सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउने विषयमा शीर्ष दलका नेताहरूसँग छलफल गर्ने भएका छन् । सोमबार संसद् बैठक बस्नअघि शीर्ष दलका नेतासँग छलफल गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जानकारी दिएको छ । सभामुख घिमिरेले आइतबार सदनको अवरोध हटाउने विषयमा सचेतकहरूसँग छलफल गरेका थिए । तर, छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आआफ्नो अडान कायम राखेपछि उनले सोमबार अपराह्न १२ बजे शीर्ष दलका नेतासँग सदन अवरोधको निकास खोज्न बैठक तय गरेका हुन् । आइतबारको बैठकमा सत्तापक्षका सचेतकहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्णयअनुसार नै भ्रष्टाचारको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिको आवश्यकता नभएको बताएको थियो । उनीहरुले सरकारी निकाय नै पर्याप्त भएको अडान लिएका थिए । यता, प्रतिपक्षका सांसदले अहिलेको सरकारी संयन्त्रले छानबिनको काम गर्न नसक्ने र ठूला दलका नेतालाई अनुसन्धानको दायरामा ल्याउन नसक्ने बताए । उनीहरुले उच्चस्तरीय छानबिन समिति गठन गराँै भन्ने पक्षमा अडान लिए । सभामुखको कार्यकक्षमा भएको छलफलमा नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, नेकपा (एमाले)का सांसद लीलानाथ श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार, जनता समाजवादी नेपालका प्रमुख सचेतक प्रदीप यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाही सहभागी थिए । नेकपा (माओवादी केन्द्र)का प्रतिनिधि सहभागी थिएनन् । नेकपा (एमाले) सचेतक महेशकुमार बर्तौलाले सदनको अवरोध हटाउन सभामुखले शीर्ष नेताको तहमा पहल गर्नुपर्ने बताए । उनले सत्तापक्षले संवादबाट निकास खोज्न तयार नरहेको बताए । उनले भने, “अवरोध हामीले होइन सत्तापक्षको अडानले गर्यो । उच्चस्तरीय छानबिन समिति गठनको मामिलामा हामी लचक हुँदैनौँ, हामीले उठाएको मागलाई सम्बोधन गरेर सदन अघि बढाउनुपर्छ ।” रास्वपाका प्रमुख सचेतक परियारले आजको बैठकमा शीर्ष दलका नेताहरूबाटै यस विषयलाई टुङ्गोमा पु¥याउन सभामुखलाई सुझाव दिएको बताए । उनले भने, “प्रमुख सचेतकहरू मात्र बसेर पनि विषयले टुङ्गो नपाएपछि हामीले सभामुखलाई शीर्ष नेताबीच छलफल गर्न सुझाव दिएका हौँ ।” सत्तापक्ष र प्रतिपक्षको बीचमा सदन अवरोध गर्न नहुने धारणा राख्दै आएको रास्वपाले उच्चस्तरीय छानबिन समिति गठन गर्नमा सरकार लचक हुनुपर्ने बताउँदै आएको छ । “हिजो अस्ति हामी जहाँ थियौँ त्यही छाँै । सत्तापक्ष र प्रतिपक्षका बीच सदन बन्दी बन्नुहुन्न, जनताका मुद्दा बिर्सिन्न हुँदैन”, प्रमुख सचेतक परियारले भने, “सदन चल्नुपर्छ र अर्कातर्फ सरकारले सुन तस्करी प्रकरणको विषयलाई टुङ्गोमा पु¥याउनुपर्छ ।” प्रतिपक्ष एमालेका सांसदले यही साउन १० गतेदेखि संसद् बैठक सञ्चालनमा अवरोध गर्दै आएको छ । सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक तय गरिएको छ । रासस

नागढुङ्गा–नौविसे सुरुङको ‘रेस्क्यू टनेल’ आज ‘ब्रेक थ्रू’ हुने

काठमाडौं । नागढुङ्गा–नौविसे सुरुङमार्गको ‘रेस्क्यू सुरुङ (उद्धार सुरुङ)को आज सोमबार ‘ब्रेक थ्रू’ हुने भएको छ । वि.सं २०७६ कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो । ‘रेस्क्यू टनेल’ को सोमबार खनिसकिने भएको छ । सोमबार दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि रेस्क्यू टनेलको ‘ब्रेक थ्रू’ हुने सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख डा विजय जैसीले बताए । साढे २ किलोमिटर लम्बाइ रहेको नागढुङ्गा–नौविसे सुरुङ मार्गको ‘रेस्क्यू टनेल’ सँगै मुख्य सुरुङको काम पनि अब १८ प्रतिशतमात्र बाँकी रहेको छ । २.६ किमी लम्बाइ रहेको मुख्य सुरुङको ५०६ मिटर बाँकी रहेको आयोजनाले जनाएको छ ।

अलैँचीका बोट मर्न थालेपछि किसान चिन्तित

काठमाडौं । बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा वि.सं २०७६ देखि यहाँका कृषकले व्यावसायिक अलैँची खेती गर्दै आएका छन् । सुरुमा अलैँचीका बिरुवा हुर्किदै गएपछि उत्साहित बनेका कृषक अहिले निराश बनेका छन् । अलैँचीले फल दिने बेला सुकेर मर्न थालेपछि कृषक चिन्तित बनेका छन् । ४ वर्ष अगाडि गाउँमा फाट्टफुट्ट अलैँची खेती गरे पनि व्यावसायिकरुपमा भने गरिएको थिएन । गाउँपालिकाले पूर्वी नेपालबाट बिरुवा लिएर अनुदानमा दिएपछि कृषक व्यावसायिकरुपमा अलैँची खेती गर्न थालेका हुन् । असार महिनादेखि अलैँची फूल्न थालेपछि बोट सुक्न थालेको हो । अहिलेसम्म सयौँ बोट सुकेर नष्ट भएका छन् । अपरिचित रोगबाट अलैँची मर्न थालेपछि कृषक सशङ्कित बनेका छन् । अघिल्लो वर्ष केही बोट सुक्ने समस्या देखिए पनि धेरै समस्या नआएको स्थानीय कुलबहादुर घर्तीमगरले जानकारी दिए । आफूले २ रोपनी क्षेत्रफलमा स्थानीय जात र ९ रोपनीमा भार्लाङ जातको गरी ११ रोपनी क्षेत्रफलमा अलैँची लगाएको बताए । त्यसमध्ये हालसम्म २० प्रतिशत बोट सुकेर नष्ट भएको उनले बताए । ताराखोला –२ अर्गल गाउँका खोला किनारमा धेरै किसानले अलैँची लगाएको जनाउँदै सबैको अलैँचीको बोट सुक्दै गएको स्थानीय घर्तीमगरले बताए । गाउँमा अलैँची राम्रो हुने सम्भावना देखेपछि आफूले रु चार लाखमा जग्गा खरिद गरी बिरुवा लिएर लगाएको जनाउँदै अहिले समस्या आएपछि लाखौँको नोक्सान हुन थालेको उनको भनाइ छ । अलैँचीमा समस्या देखिएपछि गाउँपालिकाको कृषि प्राविधिकलाई जानकारी गराएको घर्तीमगरले बताए । “गाउँमा पहिले स्थानीय जातको अलैँची लगाएको थिएँ, त्यो निकै राम्रो भएको थियो, फल पनि राम्रो दिएको थियो, त्यही देखेर उन्नत जातको बीउ पूर्वबाट लिएर लगाइयो, केही समय राम्रो भएको थियो, अहिले समस्या आयो”, स्थानीय घर्तीमगरले भने, “एघार रोपनीमध्ये दुई रोपनीमा स्थानीय जातको र नौ रोपनीमा बाहिरबाट ल्याएर लगाए, पोहोर सालनै केही बोट मरेका थिए, अहिले धेरैमा यो समस्या देखियो, गाउँमा अरु किसानले लगाएको अलैँचीमा पनि यही समस्या छ, के भएर मरे ?, अब कसरी अरु बिरुवा बचाउने भन्ने चिन्ता छ ।” कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले ढुसीजन्य रोगका कारण अलैँचीका बोट मर्न थालेको बताए । उनले ताराखोला मात्रै नभएर अलैँची खेती हुने जिल्लाको काठेखोला र बरेङमा पनि यो समस्या आएको बताए । सुक्खाको कारणले अलैँचीमा ढुसीजन्य रोग लाग्ने र बोट मर्ने भट्टराईको भनाइ छ । यो रोगका कारण जिल्लामा पछिल्लो केही वर्षयता उत्पादनमा कमी आउन थालेको उनी बताउँछन् । “किसानले अलैँची बगैँचा बनाउँदा सुक्खा ठाउँ चयन गर्नु हुँदैन, जहाँ चिस्यान छ, पानीको पर्याप्त उपलब्धता छ, त्यहाँ मात्रै यसको खेती गर्नुपर्ने हुन्छ, ताराखोलामा अहिले यो समस्या आयो, काठेखोला र बरेङमा पहिलेदेखि नै समस्या थियो”, प्रमुख भट्टराईले भने, “सुक्खाको कारण समस्या भएको हो, अब किसानले नियमित सिँचाइको व्यवस्था मिलाउनुपर्छ, सिँचाइको व्यवस्थापन भयो भने समस्या समाधान हुन्छ ।” कृषि ज्ञान केन्द्र प्रमुख प्रमुख भट्टराईका अनुसार बागलुङमा एक सय हेक्टर जमिनमा खेती हुने गरेको छ । जिल्लामा हरेक वर्ष ३८ मेट्रिक टन उत्पादन हुने र किसानले राम्रो मूल्य पाएको उनको भनाइ छ । अलैँची खेती गर्नुपूर्व यससम्बन्धी सामान्य ज्ञान लिन जरुरी रहेको उनले सुझाव दिए । रासस

सोनापुर मिनरल्सले साउन २९ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्ने, कसलाई कति ?

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलले साउन २९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात् १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २ सय कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानीयलाई अंकित मूल्य १ सय रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता बिक्री गर्नेछ । साथै सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १० लाख ७६ हजार २६८ कित्ता सेयर श्रम स्वीकृती प्राप्त लिई विदेशमा रोजगार गरिरहेका नेपालीलाई अंकित मूल्य १ सय रुपैयाँमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँमा बिक्री गर्नेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयले अधिकतम १५ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम १० लाख ७६ हजार २६८ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा भदौ ११ गतेसम्म आवेदन दिन सकिनेछ । यदि स्थानीयलाई छुट्याइएको सेयरमा पूर्ण आवेदन नपरेमा भदौ २६ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा स्थानीयले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स बैंक, कुमारी बैंक, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

सुनसान बन्दै पर्यटकीयस्थल मानुङकोट

काठमाडौं । पछिल्लो केही वर्षयता चर्चा कमाएको तनहुँको व्यास नगरपालिका–५स्थित मानुङकोटमा अहिले पर्यटकको चहलपहल घटेको छ । कोभिड सङ्क्रमणकै बीचमा सो स्थान अत्याधिक चर्चामा आएको थियो । तत्कालीन समयमा देशका विभिन्न जिल्लाबाट समेत आन्तरिक पर्यटक मानुङकोट आउँथे तर यतिबेला अहिले सो स्थानमा पर्यटकको चहलपहल घटेको छ । विशेष गरी जाडो महिनामा कुहिरो र सूर्योदय हेर्न मानुङकोटमा पर्यटकको चहलपहल हुने गरेको छ । गर्मी मौसम भएका कारण पर्यटक मानुङ नउक्लिएको हुनसक्ने आँकलन गरिएको छ । जाडो महिनामा मानुङकोटमा पर्यटकको भीड हुने व्यास–५वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए । उनले भने, “मानुङकोटको विशेषता भनेको जाडोयामको हो, जाडोयाममा कुहिरोले ढपक्क ढोकेको दृश्य र सूर्योदयको मनोरम दृश्य हेर्न विभिन्न ठाउँबाट पर्यटक आउँछन् ।” अहिले पनि अलिअलि पर्यटक आउने उनको भनाइ छ । जाडो मौसममा भने दैनिक सयौँको सङ्ख्यामा पर्यटक मानुङकोट पुग्ने गरेका छन् । मानुङकोटमा पर्यटकको चहलपहल बढेपछि होटल खुुल्ने क्रम बढेको छ । उनले भने, “मानुङकोटको पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले पनि प्रयास गर्दै आइरहेको छ । प्रत्येक वर्ष मानुङकोटबाट पुलिमराङसम्म अल्ट्रा म्याराथन प्रतियोगिता हुँदै आएको छ ।” मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । जाडो मौसम भएको र मानुङकोटमा बिहानै घाम लाग्ने भएकाले पनि आन्तरिक पर्यटक बिहानै यहाँ पुग्ने गरेका छन् । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । खानेपानीको अभावमा यहाँका स्थानीयवासीले गाउँ छाडेका थिए । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ । खानेपानीको अभावमा विसं २०५२ मा मानुङकोट छाडेकी बसन्ती थापाले अहिले मानुङकोटमै होटल सञ्चालन गर्दै आएकी छिन् । मानुङकोटमा पर्यटकको चहलपहल बढेकाले दमौली छाडेर पुनः मानुङकोट उक्लिएको उनले बताइन् । मानुङकोट जाने सडक कालोपत्र भइसकेको छ । सहरी विकास मन्त्रालयको आर्थिक लगानीमा मानुङकोटसम्म पुग्ने सडक कालोपत्र गरिएको हो । अलैंचेबाट मानुङकोटसम्मको चार हजार तीन सय मिटर सडक कालोपत्र भएको हो । कालोपत्र गर्न अप्ठ्यारो रहेको ठाउँमा एक सय ८० मिटर आरसिसी ढलान गरिएको छ । रासस