चौथो बरियताका रायमाझीलाई हिमालयनले नवौंमा झारेपछि छाडे बैंक, अब विदेश जाँदै
काठमाडौं । हिमालयन बैंकबाट सचिनजङ्ग रायमाझी बाहिरिएका छन् ।असिस्टेन्ट चिफ एक्जिक्यूटिभ अफिसर रायमाझी हिमालयन बैंकमा कुरा नमिलेपछि बैंक छोड्न बाध्य भएका हुन् । तत्कालीन सिभिल बैंकबाट सीईओ सुनिल पाेखरेल बाहिरिएपछि साे बैंकको कर्मचारीको तर्फबाट रायमाझीको नेतृत्वमा हिमालयन बैंकमा गाभिएको थियो । उनी हिमालयन बैंकमा चौथो वरियतामा रहने बताइएको थियो । तर, अहिले उनलाई नवौं तहमा झारेपछि उनी असन्तुष्ट बन्दै बैंक छाड्न बाध्य भएका हुन् । रायमाझीले हिमालयन बैंकमा आफुले काम गर्ने सहज वातावरण नपाएपछि बैंक छोड्न बाध्य भएको बताएका छन् । उनले मर्जर तथा एक्विजिशनमा गएका सबै बैंकका कर्मचारीहरु अहिले समस्यामा रहेको सुनाए । ‘मर्जरपछि ठूलो बैंकले सानो बैंकलाई हेप्ने गरेका छन्, त्यो अनुभव पनि गरियो, आफ्नो गल्ति ढाकछोप गर्न सबै दोष सानो बैंकलाई दिइने रहेछ, पछिल्लो समय आफ्नो स्वार्थका लागि मात्रै मर्ज भएको जस्तो देखिन्छ, कर्मचारीले सकस भोगिरहेका छन्,’ रायमाझीले भने । अब उनले विदेशी बैंकमा काम गर्ने बुझिएको छ । उनी पपुवा न्यूगिनीको दि टिचर सेभिङ्ग एण्ड लोन सोसाइटी (टिसा) बैंक लिमिटेडको चिफ रिस्क अफिसर पदमा नियुक्त भएर जाने भएका हुन् । साविक सिभिल बैंक छोडेका सुनिल पोखरेल सो बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रुपमा काम गरिरहेका छन् । सीईओ पोखरेलले नै रायमाझीलाई टिसा बैंकमा बोलाएका हुन् । रायमाझी हिमालयन बैंकबाट बाहिरिएसँगै विदेशी बैंक टिसाको चिफ रिस्क अफिसर पदमा नियुक्त भएर जान लागेको जानकारी दिए । उनका अनुसार उनी टिसा बैंकमा तीन वर्षका लागि काम गर्न जान लागेका हुन् । साढे दुई दशकको बैंकिङ अनुभव भएका उनले नेपाल बंगलादेश बैंकबाट करिअर सुरु गरेका थिए । उनले प्रभु बैंकको नायव महाप्रबन्धक भएर पनि काम गरिसकेका छन् ।
फोटोन इलेक्ट्रिक पिकअप ट्रकको पहिलो डेलिभरी एरामेक्सलाइ
काठमाडौं । नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले फोटोन मोटर्सको इलेक्ट्रिक पिकअप ट्रकको पहिलो डेलिभरी एरामेक्सलाइ गरेको छ । सम्झौता अनुसार कम्पनीले कार्गो प्रयोजनको लागि यस पिकअप ट्रकको डेलिभरी एरामेक्सलाइ गरेको हो । सिंगल चार्जमा २८० किलोमिटर रेन्ज दिने यस इलेक्ट्रिक पिकअप ट्रकले १४०० केजीको भारबहन क्षमता रहेको कम्पनीले जनाएको छ। एसी, टच स्क्रिन, पावरविन्डो जस्ता प्रिमियम फिचरका कारण यस इलेक्ट्रिक पिकअप ट्रक एकदमनै लक्जरी रहेको छ जसका कारण धेरै ग्राहकहरुको रोजाई रहेको कम्पनिले जनाएको छ । कम्पनीका सेल्स हेड नविन आचार्यका अनुसार यी इलेक्ट्रिक पिकअप ट्रकको प्रयोगले राजमार्गहरूमा कार्बन उत्सर्जन कम गर्नुका साथै उपभोक्ताले डिजेल गाडीको तुलनामामा कम लगानीमा बढी भन्दा बढी आम्दानी गर्न सक्ने छन् । यसअघि कम्पनीले २३५ किलोमिटर रेन्जको बिभिन्न कार्गो तथा १४ र १५ सिटर प्यासेन्जर भ्यान नेपाली बजारमा उपलब्ध गराउदै आएको छ। पर्यावरण र ग्राहकको हितका लागि सधैव सक्रिय रहने कम्पनिको दावी छ ।
तोक्पेगोलामा २ करोड लागतमा गुम्बा निर्माण
ताप्लेजुङ । विभिन्न दातासँग सहयोग सङ्कलन गरेर तोक्पोगोलामा गुम्बा निर्माण गर्न थालिएको छ । समुद्र सतहदेखि चार हजार एक सय मिटर उच्चाइमा रहेको ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलाका स्थानीयवासीले सहयोग सङ्कलन गरेर गुम्बा निर्माण जुटेको गुम्बा निर्माण समिति अध्यक्ष तेन्जिङ शेर्पाले बताए । उनका अनुसार यस क्षेत्रमा परापूर्वकालदेखि नै गुम्बा रहेको थियो तर मर्मतसम्भार नहुँदा जीर्ण हुँदै गएपछि नयाँ गुम्बा बनाउँन स्थानीय जुटेका हुन् । गुम्बा निर्माण लागत दुई करोड रुपैयाँ बजेटमा सम्पन्न हुने निर्माण समितिले जनाएको छ । तोक्पेगोलामा जन्मिएर रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेका व्यक्तिले ठुलो सहयोगमा गुम्बा निर्माण प्रक्रिया अगाडि बढेको स्थानीयवासीको भनाइ रहेको छ । तोक्पेगालामा जन्मिएर अमेरीका पुगेकाले सहयोग सङ्कलन गरेर ४५ लाख पठाएपछि गुम्बा निर्माण प्रक्रिया सुरुआत भएको निर्माण समिति अध्यक्ष शेर्पाले बताए । उनका अनुसार गुम्बा निर्माण गर्नका लागि एक जर्मनी नागरिक समेतले आठ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । मिक्वाखोला गाउँपालिकाबाट २१ लाख उपलब्ध भएको निर्माण समितिले जनाएको छ । गुम्बा निर्माणका लागि अनुमानित दुई करोड लागत भए पनि अहिले २५ लाख ऋण रहेको निर्माण शेर्पाले जानकारी दिए । निर्माण कार्यमा कार्यरत मजदुरका लागि ज्याला दिनबाहेक आवश्यक सामग्री खरिदमा भएको खर्च २५ लाख ऋण रहेको उनले बताए । गुम्बामा राखिने गौतमबुद्धका प्रतिमा भिन्न दाताबाट जम्मा भएको छ । आठ लाखका तीन वटा प्रतिमा, आठ लाख ५० हजार र पाँच लाख ५० हजारका एक एक गौतमबुद्धका प्रतिमा दाताबाट उपलब्ध भएका छन् । अन्य आवश्यक पुस्तक र सामग्रीसमेत दाताबाट उपलब्ध भएको छ । समितिका अनुसार यसै आउँदो आर्थिक वर्षको साउनमा गुम्बाको उद्घाटन गर्ने तयारीका साथ काम भइरहेको छ । गुम्बा नियमित पूजापाठ, मन्त्र जब गर्नका लागि लामा व्यवस्थापन गर्नका लागि छुट्टै कोष स्थापना गर्ने योजना रहेको निर्माण समिति अध्यक्ष शेर्पाले बताए । उनले भने, ‘गुम्बामा लामा व्यवस्थापन गर्नका लागि देश विदेशमा बसोबास गर्ने दातासँग समन्वय भइरहेको छ । गाउँपालिकाले पनि सहयोग गर्दछ भन्नेमा विश्वास लिएका छौँ ।’ तोक्पेगोला क्षेत्रका स्थानीय गुम्बा निर्माण निकै महत्वपूर्णरुपमा लिएका छन् । तोक्पेगोला बस्तीमा ढोक्प्या जातिका करिब १७ घर छन् । स्थानीय ढोक्प्या जाति भनिए पनि सीमान्तकृत समूहमा तोक्पेगोला भनी सूचीकृत गरिएको छ । झुरुप्प घर । काठले छाएको छानो । भोटे झ्याल । टाढाबाट देख्नेबित्तिकै लाग्छ कि यो ठाउँ उत्सव स्थल पो हो कि ! किनकी घरैपिच्छे खम्बामा गाडिएका मन्त्रयुक्त ध्वजापताका फरफराउँदा थकित शरीरले शितलता महसुस गर्छ । गुम्बा र मन्दिरले पौराणिक तथा ऐतिहासिक महत्व झल्काउँछ । हिमाली ठाउँ भएकाले आफैँमा सुन्दर त हुने नै भयो । ताप्लेजुङको पर्यटकीय गन्तव्यमध्ये तोक्पेगोला क्षेत्रको पनि ठूलो स्थान रहेको छ । तोक्पेगोला बस्ती नजिकै सोदु पोखरी रहेको छ । सोदु पोखरी एक धार्मिक महत्व बोकेको एक पोखरी हो । प्रत्येक वर्ष सोदु पोखरीमा पूजापाठ गर्न जाने धार्मिक पर्यटकको पनि सङ्ख्या बढ्दै गएको तोक्पेगोलाका स्थानीय तेन्जिङ शेर्पाले बताए । तोक्पेगाला बस्तीमा गुम्बा निर्माण हुनुलाई धार्मिक प्रतिष्ठाको रुपमा हेरिएको मिक्वाखोला –५ का वडाध्यक्ष ग्यान्जे शेर्पाले बताए । गुम्बा निर्माण सम्पन्न गर्नका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने उनको भनाइ छ । गम्बामा धर्मग्रन्थ र विशिष्ट धर्म गुरुको भनाइअनुसार गुरु पध्मसम्भवलाई सझिने वा उनको मन्त्र उच्चारणमात्र गर्नाले पनि विघ्नबाधा हट्नुका साथै असिम पुण्य सञ्चय गर्न सकिने जनविश्वास छ । अझ उनको थाङ्का वा प्रतिमा नै स्थापना गर्न सकियो भने त्यसको प्रभवले समस्त प्राणिको उद्धार, पूर्वजन्मको कुकर्मको प्रायश्चित, मानव जीवन सुन्दर, विघ्न बाधारहित शान्तिमय हुने, विश्वमा शान्ति फैलिने र मोक्ष प्राप्त गर्न सकिने जनविश्वास रहिआएको छ । भौगोलिक/तिक दृष्टिकोणबाट पनि यस स्थानलाई धार्मिक पर्यटकीयस्थलका रुपमा परिचित गराउने उद्देश्यले गुम्बा स्थापना गरी निरन्तर रुपमा धर्मीक कार्य सञ्चालन गर्नुका साथै आवश्यक संरचना निर्माण गर्दै आइरहेको छ । रासस
फेरिए जाजरकोट र अछामको प्रमुख जिल्ला अधिकारी
काठमाडौं । गृह मन्त्रालयले जाजरकोट र अछाममा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) पठाएको छ । जाजरकोटको रिक्त प्रजिअमा हाल मन्त्रालयमा कार्यरत उपसचिव सुरेश सुनार र अछाममा शरदकुमार पोखरेललाई जिम्मेवारी दिईएको मन्त्तालयले जनाएको छ । अछामका सीडिओ शिवराम न्यौपानेले स्वास्थ्य समस्या देखाउँदै सरुवा मागेपछि मोरङ जिल्ला प्रशासन कार्यालयमा सहायक प्रजिअको रुपमा कार्यरत उपसचिव पोखरेलले जिम्मेवारी दिईएको हो । जाजरकोटको सीडिओको जिम्मेवारी पाएका सुनार यसअघि मोरङ र बाकेँमा सहायक प्रजिअका रूपमा काम गरिसकेका छन् । त्यस्तै पोखरेलसँग मुगु र दार्चुलाको प्रजिअ भैसकेको अनुभव छ भने राष्ट्रिय परिचयपत्र विभाग तथा प्रहरी किताबखानाको निर्देशक समेत भैसकेका हुन् । यस्तै, उनी काठमाडौं, तनहुँ, धनुषा र मोरङमा सहायक प्रजिअको रुपमा जिम्मेवारी पुरा गरिसकेका छन् ।
आजको मौसम : भारी वर्षाको सम्भावना
काठमाडौं । नेपालमा मनसुनी वायुको साथै भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशखाले जनाएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै मधेस तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाइएको छ । यसैगरी देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको र कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आईएफसी उपाध्यक्ष सुसान लन्डले गरे उपाय फुलफिलमेन्ट सेन्टरको भ्रमण
काठमाडौं । अन्तर्राष्ट्रिय वित्तीय निगम (आईएफसी)को निजी क्षेत्र विकास तथा सुशासनकी उपाध्यक्ष सुसान लन्डले हालै उपायको काठमाडौं स्थित फुलफिलमेन्ट सेन्टरको अवलोकन भ्रमण गरी नेपालको लजिस्टिक परिदृश्यबारे बुझेकी छन् । नेपालको तीनदिने भ्रमणमा रहेकी उपाध्यक्ष सुसानलाई उपायका सहसंस्थापक तथा प्रवन्ध निर्देशक सुमन रायमाझी तथा बोर्ड सदस्य रञ्जीव श्रेष्ठले उपाय फुलफिलमेन्ट सेन्टरमा स्वागत गरेका थिए । उपाय फुलफिलमेन्ट सेन्टरको अवलोकन भ्रमणका क्रममा उपाध्यक्ष सुसानलाई नेपालको लजिस्टिकको समग्र इतिहास तथा उपायको नेपाली लजिस्टिक क्षेत्रको रुपान्तरणका लागि भावी कार्यक्रमबारे प्रवन्ध निर्देशक रायमाझीले प्रकाश पारेका थिए। यसका साथै सुसानलाई उपायको थ्रीपीएल (थर्ड पार्टी लजिस्टिक्स) सेवा तथा सुविधाका बारेमा संक्षिप्त जानकारी प्रदान गरिएको थियो । उक्त भम्रणमा डोल्मा इम्याकट फन्डका प्रतिनिधि र आईएफसीका अन्य पदाधिकारीको पनि उपस्थिति थियो । उपाय नेपालको लजिस्टिक क्षेत्रमा प्रविधिमार्फत गुणस्तरीय सेवा प्रदायक कम्पनी हो । सन् २०१८ मा स्थापित यो कम्पनीले छोटो समयमै नेपाली लजिस्टिकमा उल्लेखनीय भूमिका खेल्न सफल भएको छ। हाल उपायले विभिन्न व्यवसायमा संग्लग्न व्यक्ति र संस्थालाई आफ्नो चारवटा भर्टिकलमार्फत सेवा प्रदान गर्दै आएक छ । पेप्सीकोलास्थित उपाय फुलफिलमेन्ट सेन्टर (उपाय स्पेस) १० हजार वर्गफिटमा फैलिएको गोदाम हो । जसले नेपालभर १५० स्थानमा अर्डर लिने र सामान वितरणलाई आधुनिक थ्रीपीएल सुविधामार्फत सेवा प्रदान गर्दै आएको छ ।
सहकारी ठग्ने अर्बपतिको नक्कली डिभोर्स, सदस्य दम्पत्तिहरुको दुःखदायी बिच्छेद
काठमाडौं । यदि तपाईं कुनै सहकारीको सदस्य हुनुहुन्छ र तपाईंको पैसा सहकारीमा फसेको छ भने श्रीमती वा श्रीमानसँग तपाईंको सम्बन्ध कस्तो छ ? राम्रो, सन्तोषजनक वा चिन्ताजनक ? पछिल्लो समय सहकारीमा देखिएको सकस र त्यसले सदस्यहरुमा पारेको पीरले अधिकांश सहकारीका सदस्यहरुको दम्पतीच राम्रो सम्बन्ध नभएको विभिन्न घटनाक्रमहरुले देखाएको छ । सहकारीमा बचत गरेको ठूलो रकम सञ्चालकहरुले झ्वाम पारेपछि सदस्यहरुको बिचल्ली भएको र त्यसले घर झगडा, कलह र अन्त्यमा सम्बन्ध बिच्छेदसम्मका घटना हुने गरेका उदाहरणहरु व्याप्त सुनिन्छन् । सुरुमा बहस गरौं सहकारीका सदस्यको बचत ठग्ने सञ्चालकहरुको । कानुनका छिद्रहरु प्रयोग गरेर पीर पार लगाउने अनेक जुक्तीहरु हुन्छन् हुनेखानेहरुसँग । उनीहरुले आफ्नो टाउको माथिको बोझ हटाउन यतिसम्मको घृणित काम गर्छन् भन्ने सोच्न धेरै टाढा जानु पर्दैन । उनीहरुले विभिन्न उपायहरु अपनाएर समस्याबाट भाग्ने प्रयत्न गर्छन् । तर, अन्तिममा आफ्नो निर्णय नै उनीहरुका लागि महँगो सावित हुन हुन्छ । र, विडम्वना बास जेलको हुन्छ । कुनै मान्छे चाँडै धनी बन्ने सपना राख्छ भने उसले सहकारी खोल्ने प्रवृति र अभ्यास थियो कुनै बेला । त्यो नीति निर्माता होस्, सरकारी कर्मचारी वा कुनै व्यवसायी नै किन नहोस् । सहकारी खोलेर मनग्य कमाउने धन्दामा लाग्थे उनीहरु । कुनै पनि क्षेत्रमा काम गर्न नसकेको व्यक्ति, आफन्त वा नजिकको मान्छे छ भने त्यसलाई नीति निर्माता र सरकारी उच्च तहका कर्मचारीले पनि सहकारी खोलेर खाउ भन्ने गरेको विषयको बहस र छलफल विभिन्न अनौपचारिक फोरमहरुमा पनि नहुने गरेका होइनन् । त्यो धन्दा अन्तिममा सम्बन्ध विच्छेदको बाटोमा पुग्छ र त्यो प्रवृति प्रयोग गरेका पात्रहरु पछि प्रक्राउ पर्छन् । यस्तै धन्दामा थिए सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पनि । सामान्य व्यवसायी घरजग्गा र सहकारीको बचतकर्ताकै पैसा प्रयोग गरेर अर्बपतिको लाइनमा आए । तर, पछि तिनै सहकारीका बचतकर्ताको पैसा तिर्न नसकेर उनी अहिले जेलमा छन् । त्यो बिचमा उनले त्यो सकसबाट उम्कन अनेक प्रयत्न गरे । यतिसम्मकी श्रीमती सिर्जना शाक्य तामाङसँग सम्बन्ध बिच्छेदसम्मको कागज बनाए । सदस्यहरुबाट ठगेको पैसाले जाडेको सम्पत्ति जोगाउनकै लागि उनले श्रीमती शाक्यसँग मिलेमतो गरेर सम्बन्ध बिच्छेद गरेको हौवा बजारमा फैलाए । उनले श्रीमतीसँग डिभोर्स गरेर नै तत्कालीन सिभिल बैंकको संस्थापक सेयर बिक्री गरेका थिए । श्रीमान बैंकको अध्यक्ष भएका बेला श्रीमतीले सेयर बेच्न नपाउने कानुनी व्यवस्था भएपनि उनले सम्बन्ध बिच्छेद गरेर सो सेयर बिक्री गरेका थिए भने सदस्यहरुबाट ठगेको पैसा सम्बन्ध बिच्छेद भइसकेको श्रीमतीको नाममा राखेका थिए । तर, अन्ततः कानुनको कठघरामा भने आउनै पर्छ, केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)ले इच्छाराज र सिर्जनालाई पक्राउ गर्यो । यस्तै, सदस्यहरुबाट उठाएको पैसा फिर्ता नगर्ने नियतका साथ श्रीमतीसँग सम्बन्ध बिच्छेद गर्ने सहकारीका सञ्चालक हुन् सुधिर बस्नेत । ओरेन्टल सहकारीका अध्यक्ष बस्नेत पनि महत्वांकाक्षी व्यवसायी थिए । सहकारीका सदस्यबाट पैसा उठाएर उनी घरजग्गामा लगाउँथे । पछि घरजग्गामा मन्दी आएपछि उनी समस्यामा परे । र, श्रीमतीसँग सम्बन्ध बिच्छेदको नाटक गरे । बचतकर्ताको रकम हिनामिना गरेको अभियोग बस्नेत माथि पनि लाग्यो । सदस्यहरुको पैसा फिर्ता गर्न नसकेपछि उनले श्रीमती नितु थापा बस्नेतसँग सम्बन्ध बिच्छेद गरे । त्यसको पुष्टि उनकै श्रीमती नितुले गरेकी थिइन् । नितुले सुधिरसँग सम्बन्ध विच्छेद भएको भन्दै आफ्नो नाममा रहेको सेयर फुकुवा गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा निवेदन पनि दिएकी थिइन् । बस्नेत केही समय हिरासतमा पनि बसे । अहिले उनी बचतकर्ताको रकम फिर्ताको अभियानमा लागेका छन् । तर, उनको त्यो सम्बन्ध बिच्छेद पनि नाटक थियो । अदालतमाथि भद्दा मजाक थियो र एउटा समधुर सम्बन्ध भएको दम्पत्तिमाथिको सांकेतिक खेलवाड थियो । यस्तै, खेलवाड गरे भरत महर्जनले पनि । जुन खेलवाडमा खलनायकको भूमिकामा रहिन् उनकी श्रीमती राजमाया महर्जन । सुमेरु सहकारीका सदस्यहरुको पैसा ठगेको आरोप उनीमाथि छ । दुई दशकअघिसम्म सामान्य मान्छे व्यवसायी रहेका उनी पछिल्लो समय अर्बपति नै भेर चिनिन्थे । उनले असाधारण व्यवसायिक साम्राज्य खडा गरेका थिए । तर, कालोधनले कसको मन पो सेता हुन्छ होला र । सहकारी सकसको ठूलो जञ्जालमा उनी पनि परे । र, सदस्यहरुबाट जोगिन देश नै छाड्नु पर्यो । अहिले उनले सहकारीका बचतकर्ताबाट असुलेको पैसाले जोडेको सम्पत्ति जोगाउन श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेको खुलेको छ । उनी निकट व्यवसायीहरुका अनुसार उनले दुई वर्ष अगाडि नै श्रीमति राजमायासँग सम्बन्ध बिच्छेद गरेका थिए । उनले सम्बन्ध बिच्छेद गरेर अंशबण्डा समेत गरिसकेको बुझिएको छ । हाल उनी स–परिवार बेलायत पुगेको स्रोतको दावी छ । यी केही उदाहरण मात्रै हुन् । सहकारीका सदस्यहरुको बचत ठगेर त्यो पैसालाई बचाउत श्रीमतीसँग नक्कली डिभोर्स गर्नेहरुको संख्या बढ्दो छ । तर, ती घटनाहरु भने बाहिर आउन सकेका छैनन् । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)का अनुसार बचतकर्ताको पैसा ठगेको आरोप लागेर अनुसन्धान भइरहेको अधिकांश केसहरुमा यस्ता घटनाहरु देखिएका छन् । सिआईबीका प्रवक्ता सञ्जय सिंह थापाका अनुसार समस्या परेर भन्दा पनि नियमवस् र मिलेमतोमै दम्पत्तिहरुले सम्बन्ध बिच्छेद गर्ने गरेको अनुसन्धानको क्रममा खुल्छ । सदस्य दम्पत्तिको सम्बन्ध पनि सकसपूर्ण रुपन्देहीका बिक्रम पौडेलको जिन्दगाी सहकारीमा बचत गर्नु अघि सामान्य चल्दै थियो । उनले घरसल्लाहमै ललितपुरको देउराली सहकारी र बुटवलको हिमपात बचत तथा ऋण सहकारी संस्थामा बचत गर्ने भए । सुरुमा उनले बचत फिर्ता पनि पाउँथे । तर, जब सहकारीमा समस्या आयो उनलाई पनि सकस पर्यो । उनले आफ्नो बचत फिर्ता पाउन सकेनन् । परिणामस्वरुप उनको पीडा श्रीमतीको सम्बन्धसँग ठोक्कियो । आफुले पेटमा लात हानेर सहकारीमा जम्मा गरेको ३५ लाख रुपैयाँ सहकारीले फिर्ता नगरेपछि घरमा दिनरात कलह हुन थाल्यो । विदेशमा कमाएको पैसा उनले सुरुमा त बैंकमा जम्मा गरेका थिए । तर, पछि बढी ब्याजको लोभले घरसल्लाहमै सहकारीमा राखे । विडम्वना, उनको त्यो सावाँ ब्याज पनि गुम्यो र जीवन संगिनी पनि सदाका लागि घरबाट बाहिरिन् । केही दिन अघि सहकारीको पीडितहरुले गरेको आन्दोलनमा माइतीघरमा आइपुगेका उनले निराश हुँदै भने, ‘त्यही पैसाले मेरो डिभोर्स गरायो, सहकारीमा पैसा जम्मा गरेर ब्याज आएपछि अष्ट्रेलिया जाने योजना थियो, सबै योजना चकनाचुर भयो, घर बिग्रियो, सम्बन्ध बिग्रियो ।’ माइतीघरकै आन्दोलनमा देखिएकी काठमाडौं धापासीकी रञ्जना लामाले पनि सहकारीमा राखेको पैसाले नै श्रीमानसँग सम्बन्ध बिच्छेदको अवस्था आइलागेको गुनासो गरिन् । गाडी चालक रहेका श्रीमानबाट आएको पैसा उनले सहकारीमा जम्मा गर्थिन् । तर, अहिले सो पैसा फिर्ता नआएपछि उनी समस्यामा परेकी छिन् । उनको श्रीमानलाई सहकारीमा पैसा जम्मा भएको थाहा थिएन । अहिले थाहा पाएपछि उनलाई घर बस्न सक्ने अवस्था छैन । सुरुमा उल्लेख भए अनुसार सहकारीमा पैसा जम्मा गरेका हरेक श्रीमान–श्रीमतीबीच अहिले दरार सिर्जना भएको छ । श्रीमानले श्रीमती र श्रीमतीले श्रीमानलाई सराप्दै बस्नुपर्ने बाध्यतामा हरेक दम्पत्ति छन् । जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दिपक दाहाल आर्थिक बिचलनका कारण श्रीमान श्रीमतीबीच सम्बन्ध बिच्छेद हुने घटना बढेको बताउँछन् । उनका अनुसार सहकारीमा राखेको बचतको कारण सम्बन्ध बिच्छेद भनेर आफुहरुलाई जानकारी हुने नभएपनि आर्थिक बिचलनका समस्याले नै डिभोर्सका निवेदनहरु बढ्न थालेका छन् ।
काठमाडौं टेक्निकल स्कूल र क्राउन इन्स्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजीबीच सहकार्य हुने
काठमाडौं । काठमाडौं टेक्निकल स्कूल र क्राउन इन्स्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी, अष्ट्रेलियाबीच नेपालमा प्राविधिक शिक्षाको विकास तथा नेपाली विद्यार्थीहरुलाई विश्वव्यापी अवसर प्रदान गर्ने सम्बन्धी महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । शुक्रबार काठमाडौं टेक्निकल स्कूलको सुकेधारास्थित कार्यालयमा भएको विशेष कार्यक्रममा स्कूलका अध्यक्ष मनोज पौडेल र टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत दिपक खड्काले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । यस समझदारीपछि स्कूलले क्राउन इन्स्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी, अष्ट्रेलियाको प्राविधिक विशेषज्ञता र अनुभवमार्फत नेपाली विद्यार्थीहरुलाई विश्वस्तरीय प्राविधिक शिक्षामा पहुँच प्रदान गरेर नेपालको शैक्षिक गुणस्तरमा व्यवहारिक परिवर्तन ल्याउने जनाइएको छ । हस्ताक्षर कार्यक्रममा बोल्दै स्कूलका अध्यक्ष पौडेलले सो साझेदारीमार्फत नेपाली विद्यार्थीलाई अहिलेको प्रतिस्पर्धात्मक युगमा उत्कृष्टता हासिल गर्न आवश्यक ज्ञान र सीपले सुसज्जित पार्दै दक्ष जनशक्ति उत्पादन गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । क्राउन इन्स्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी, अष्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत खड्काले स्कूलमार्फत आफ्नो विशेषज्ञता र अनुभव नेपाल ल्याउन पाएकोमा खुशी व्यक्त गर्दै नेपाली विद्यार्थीहरुलाई आवश्यक सैद्धान्तिक तथा व्यवहारिक ज्ञानमार्फत दक्ष र सीपयुक्त बनाउन आफूहरुको सहकार्य भएको स्पष्ट पारेका थिए । हस्ताक्षर समारोहमा आइएलओ नेपालका राष्ट्रिय परियोजना संयोजक प्रकाश शर्मा, स्कूलका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।