काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म बैंकहरुको खराब कर्जा औसत ३ प्रतिशत कायम भएको छ । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार एनपीएल १.४५ प्रतिशतले बढेर ३ प्रतिशत कायम भएकाे हाे । अघिल्लो वर्षको सोही अवधिमा बैंकहरुको एनपीएल औषत १.२५ प्रतिशत थियो ।
समीक्षा अवधिमा कुनै पनि बैंकले एनपील घटाउन सकेका छैनन् । गत असारसम्म २ वटा बैंकको एनपीएल शून्य प्रतिशतको हाराहारीमा छ भने ५ वटा बैंकको ४ प्रतिशतभन्दा बढी पुगेको छ । तर, गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा बैंकहरुको खराब कर्जा घटेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकहरुको खराब कर्जा ३.२६ प्रतिशत थियो ।
गत असारसम्म एभरेष्ट बैंक र एनआईसी एशिया बैंकको एनपीएल शून्य प्रतिशतमा सिमित राखेका छन् । एभरेष्ट बैंकको ०.६७ प्रतिशत बढेर ०.७९ प्रतिशत र एनआईसी एशिया बैंकको ०.२७ प्रतिशत बढेर ०.८० प्रतिशतमा कायम राखेको छ ।
यस्तै, सानिमा बैंकको ०.१० प्रतिशत बढेर १.३ प्रतिशत, नबिल बैंकको ०.५९ प्रतिशत बढेर १.२३ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकको ०.५८ प्रतिशत बढेर १.१७ प्रतिशत पुगेको छ ।
गत असारसम्म कुमारी बैंकको ३.६६ प्रतिशत बढेर ४.७७ प्रतिशत, हिमालयन बैंकको २.९८ प्रतिशत बढेर ४.५७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको २.८६ प्रतिशत बढेर ४.३५ प्रतिशत, प्राइम बैंकको २.४६ प्रतिशत बढेर ४.२३ प्रतिशत र प्रभु बैंकको २.३० प्रतिशत बढेर ४.१६ प्रतिशत खराब कर्जा पुगेको हो ।
कुमारी, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा र प्रभु बैंक मर्जर तथा एक्विजिशनमा सामेल भएका बैंक हुन् । गत वर्ष मर्जर तथा एक्विजिशनमा जाने बैंकहरुको खराब कर्जा बढेको देखिन्छ ।
यस्तै, सिटिजन्स बैंकको ०.९७ प्रतिशत बढेर ३.१९ प्रतिशत र ग्लोबल आइएमई बैंकको १.८० प्रतिशत बढेर ३.१९ प्रतिशत एनपीएल रहेको छ ।
तथ्याङ्क अनुसार राष्ट्रिय वाणिज्य बैंकको ०.८६ प्रतिशत बढेर २.९५ प्रतिशत, नेपाल बैंकको १.०२ प्रतिशत बढेर २.८५ प्रतिशत, लक्ष्मी सनराइज बैंकको १.९२ प्रतिशत बढेर २.८१ प्रतिशत, एनएमबि बैंकको १.२७ प्रतिशत बढेर २.७२ प्रतिशत, कृषि विकास बैंकको ०.३९ प्रतिशत बढेर २.४८ प्रतिशत, नेपाल एसबिआई बैंकको २.२८ प्रतिशत बढेर २.४३ प्रतिशत, माछापुच्छ्रे बैंकको १.०८ प्रतिशत बढेर २.१२ प्रतिशत र सिद्धार्थ बैंकको ०.९४ प्रतिशत बढेर २.०१ प्रतिशत पुगेको छ ।