विकासन्युज

फाजिल कर्मचारी समायोजन गर्न वन मन्त्रालय सहमत

काठमाडौं । करिब ४ वर्षदेखि सङ्घ सरकारको पुल दरबन्दीमा रहेर विभिन्न प्रदेशमा फाजिल कर्मचारीका रुपमा काम गर्दै आएका फरेष्टरको समायोजन गर्न वन तथा वातावरण मन्त्रालय सहमत भएको छ । नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, वन विभागअन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, रा।प।अनङ्कित द्वितीय श्रेणीका खरिदार वा सो सरहका फरेष्टर पदका ३ सय ८४ कर्मचारी अहिले फाजिलमा काम गर्दै आएका छन् । अहिले कोशी प्रदेशमा ७४, मधेस प्रदेशमा ५३,, बागमती प्रदेशमा ६९, गण्डकी प्रदेशमा २५, लुम्बिनी ७३, कर्णाली प्रदेश ५४ र सुदूरपश्चिम प्रदेशमा ३२ गरी ३ सय ८४ फाजिल कर्मचारी कार्यरत छन् । उनीहरुको समायोजनका लागि प्रदेशसँग आवश्यक समन्वय गर्ने कार्यलाई मन्त्रालयले अगाडि बढाउने भएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि फाजिलमा रहेका कर्मचारी व्यवस्थापनका लागि वन तथा वातावरण मन्त्रालयलाई अनुरोध गरेको छ । सङ्घ सरकारको पुल दरबन्दीमा समायोजन गरी कामकाजका लागि विभिन्न प्रदेशमा खटाएकोमा उनीहरुको समायोजन व्यवस्थापन गर्न सामान्य प्रशासन मन्त्रालयले वन मन्त्रालयलाई सम्बन्धित प्रदेशसँग आवश्यक समन्वयका लागि अनुरोध गरेको छ । प्रदेशका तत्तत् कार्यालयमा दरबन्दी सिर्जना गरी कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम फरेष्टर पदका कर्मचारीलाई समायोजन÷मिलान सहमतिसम्बन्धी पत्रका आधारमा उनीहरुको प्रदेशमा समायोजन गर्न उपयुक्त हुने राय सामान्य प्रशासन मन्त्रालयले वन मन्त्रालयलाई दिएको छ । करिब ११ दिनदेखि फाजिल कर्मचारीले सिंहदरबारस्थित वन तथा वातावरण मन्त्रालयमा फाजिल कर्मचारीलाई एक तह बढाएर प्रदेशमा समायोजन गर्न दबाब दिँदै आएका थिए । लामो समयको दबाबपछि बिहीबार वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोसँग भेटवार्ता भएको फरेष्टर सन्तोष अधिकारीले जानकारी दिए । उनका अनुसार फाजिल कर्मचारीको व्यवस्थापनका लागि वन मन्त्रालय मन्त्रिपरिषद्मा फाइल लिन तयार भएको छ ।

गार्डियन माइक्रो लाइफको नाफा २५ लाख ३५ हजार रुपैयाँ, यस्ता छन् अन्य सूचक

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९÷८० को वित्तीय विवरण सार्वजनिक गरेको छ । माइक्रो इन्स्योरेन्सले २५ लाख ३५ हजार रुपैयाँ खुद नाफा गरेको छ । इन्स्योरेन्सका अनुसार गत असारसम्म इन्स्योरेन्सले ९१ हजार रुपैयाँ खुल बीमा शुल्क आर्जन गरेको छ । यस्तै, कम्पनीले गत असारसम्म १२७ बीमा लेख जारी गरेको छ । कम्पनीले हालसम्म १ लाख ४१ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको चुक्ता पूँजी ५२ करोड ५० लाख रुपैयाँ, जगेडा कोष २२ लाख ८१ हजार रुपैयाँ र महाविपत्ति कोष २ लाख ५३ हजार रुपैयाँ रहेको छ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले गत असार २२ गतेदेखि जीवन लघुबीमा व्यवसाय शुरु गरेको हो । कम्पनीको मूख्य कार्यालय कोशी प्रदेश अर्थात मोरङको विराटनगरमा रहेको छ । कम्पनीको अध्यक्षमा उदिप श्रेष्ठ, सीईओमा चिरायु भण्डारी र नायव प्रमुख कार्यकारी अधिकृतमा ज्योति प्रकाश पाण्डे छन् ।

२०६ रुपैयाँमा माण्डु हाईड्रोको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । माण्डु हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत असार २८ गतेदेखि बिक्री खुला गरेको आईपीओमा स्थानीय बासिन्दाहरुले आज साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशत अर्थात् १६ लाख ३६ हजार ३७७ कित्ता सेयर अंकित मूल्य १ सय रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा बिक्री गरेको हो । कम्पनीले जारी पूँजीको मध्ये २ प्रतिशत अर्थात् २ लाख ७२ हजार ७३० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र ललितपुरको बागमति गाउँपालिका १ र २, मकवानपुरको भिमफेदी गाउँपालिका ५, ६, ७ र ८ र इन्द्रासरोवर गाउँपालिकाको ३ स्थानीय बासिन्दाहरुलाई छुट्याईएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, प्राइम बैंकको भीमफेदी, हेटौडा शाखा, कुमारी बैंकको बागमती शाखा, प्रभु बैंकको हेटौडा शाखा र आवश्यकता अनुसार अन्य संकलन केन्द्र पनि थप गर्न सकिने कम्पनीले जनाएको छ । साथै, सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेका मेरो सेयर मार्फत् आवेदन दिन सकिनेछ । इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको सक्षम रहेको कम्पनीको रुपमा जनाउँदछ ।

रिलायबल लाइफको आईपीओ खरिद गर्ने आज अन्तिम मौका

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलेको आईपीओमा आवेदन दिने आज अन्त्मि दिन रहेको छ । कम्पनीले साउन २३ गतेदेखि बिक्री खुला गरेको आईपीओमा सर्वसाधारण लगानीकर्ताले आज साउन २६ गतेसम्म आवेदन दिन सक्ने छने । कम्पनीले जारी पूँजी ४ अर्बको ३० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५७ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयरमा सामूहिक लगानी कोष, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयरमा कर्मचारी र बाँकी रहेको ९६ लाख कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छन् । कर्मचारीले भने प्रतिकित्ता १ सय रुपैयाँमा खरिद गर्न पाउने छन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ ।

एक वर्षमा एनसेलले थप्यो ३३८ वटा नयाँ मोबाइल टावर

काठमाडौं । एनसेल गत आर्थिक वर्षमा ३३८ वटा नयाँ बेस ट्रान्ससिभर स्टेशन (बीटीएस) टावरहरु जडान गरेको बताएको छ । मोबाइल सेवाको गुणस्तर सुधारको लागि यी नयाँ मोबाइल टावर जडान गरिएको एनसेलले बताएको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले नेपालभर राम्रो दूरसञ्चार नेटवर्क निर्माण गर्ने प्रयासका लागि यी टावर जडान भएको बताए । ‘डिजिटल नेपालको परिकल्पनामा योगदान गर्न आधारभूत मोबाइल र उच्च गतिको मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा पहुँच सुनिश्चित गर्दै देशका विभिन्न भागका दुर्गम र क्षेत्रहरूलाई हाम्रो सेवाले जोडेका छौं’, कायुमोभले भने । एनसेलले फोरजी क्षमता अभिवृद्धि गर्दै गत आवमा ६० जिल्लाका झण्डै एक हजार ४५० मोबाइल टावरहरुको स्तरोन्नती गरेको पनि बताएको छ । फोरजी अन्तर्गत उच्चगतिको मोबाइल ब्रोडब्याण्ड र भ्वाइस ओभर लङ्ग टर्म इभोलुसन (भोल्टे) सेवा दिनका लागि देशभरी एनसेलका चार हजारभन्दा बढि फोरजी टावरहरु संचालनमा रहेको कम्पनीले बताएको छ ।

सनराइज फर्स्ट म्युचुअल फण्डले १६ प्रतिशत प्रतिफल दिने, क्यापिटलले पनि बाँड्ने भयो लाभांश

काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले गत आर्थिक वर्षको आम्दानीबाट इकाई धनीलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ । आर्थिक वर्ष २०७९/०८० का लागि सनराइज फर्स्ट म्युचुअल फण्डका ईकाइधनीहरुलाई कर सहित १६ प्रतिशतका दरले हुन आउने १३ करोड ७६ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय भएको सनराइज क्यापिटलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पछिल्लो ३ वर्षमा ईकाइधनीहरुलाई ६९ प्रतिशत प्रतिफल वितरण गरेको पनि क्यापिटलले जनाएको छ । सनराइज क्यापिटलले गत आर्थिक वर्षको आम्दानीबाट क्यापिटलका लगानीकर्तालाई ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बिहीबार बसेका कम्पनी सञ्चालक समितिकोे बैठकले यस्तो निर्णय गरेको हो ।

डाक्टर रञ्जितकुमार यादव र अमृत चौधरी पक्राउ, दुर्गा प्रसाईं पनि सीआइबीमा

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले डाक्टर रञ्जितकुमार यादव र शिक्षण अस्पतालका डा. अमृत चौधरीलाई पक्राउ गरेको छ । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा उनीहरुलाई पक्राउ गरेको सीआईबी स्रोतले बताएको छ । बिहीबार नै सीआईबीले नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मालाई पक्राउ गरिसकेको छ । सीआईबीले चलाएको ‘अपरेसन चार्ली फक्सट्रोट’ अन्तर्गत आजै तीन जना डाक्टर पक्राउ परेका हुन् । पक्राउ परेका डा. शर्मालाई भेट्न विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं सीआइबीमा पुगेको सिआईबी स्रोतले बताएको छ ।

आईएमई लाइफले सम्पन्न गर्‍याे सातै प्रदेशमा १३ स्वास्थ्य शिविर

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आसन्न छैठौं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा स्वास्थ्य शिविर आयोजना गरेको छ । आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलका अनुसार, सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै सबै प्रदेशका विभिन्न १३ स्थानमा स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरिएको हो । आईएमई लाइफ इन्स्योरेन्सले भाद्र १ गते छैठौं वार्षिकोत्सव मनाउँदै छ । कोशी प्रदेशको बिर्तामोड, बुधबारे, इनरुवा, धनकुटा तथा ओखलढुंगामा आँखा शिविर र धनकुटामा दन्त शिविर आयोजना भएको थियो । त्यस्तै, मधेश प्रदेशको बारा, जीतपुर कलैयामा जनरल स्वास्थ्य शिविर सञ्चालन गरिएको कम्पनीले बताएको छ । बागमती, प्रदेशको चापागाउँ स्वास्थ्य चौकीमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको समन्वयमा आँखा शिविर आयोजना भएको थियो । गण्डकी प्रदेशको शुक्लागण्डकी ११ मा जनरल स्वास्थ्य जाँच शिविर संचालन गरिएको थियो । लुम्बिनी प्रदेशको गुल्मी तथा कर्णाली प्रदेशको तातोपानी गाउँपालिका जुम्लामा दन्त शिविर संचालन गरिएको कम्पनीले बताएको छ । सुदूरपश्चिम प्रदेशको कैलालीस्थित टिकापुरमा जनरल स्वास्थ्य जाँच शिविर, धनगढीमा दन्त शिविर र बेलौरीमा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर संचालन गरिएको कम्पनीले बताएको छ ।