विकासन्युज

विवाह नगरेका नारी पुरुष एउटै सवारी साधनमा बस्न नपाउने

तस्वीर : सामाजिक सञ्जालबाट इन्डोनेसिया । इन्डोनेसियाको अति-रुढिवादी आचे प्रान्तका अधिकारीहरूले विपरीत लिङ्गीलाई एउटै सवारी साधनमा बस्न नपाइने आदेश जारी गरेका छन् । पारिवारिक सम्बन्ध नभएका पुरुष र महिला तथा विशेष गरी विवाह नगरेका विपरीत लिङ्गीलाई सवारी साधन र सार्वजनिक स्थानमा अलग्गै बस्न आदेश दिएका हुन् । स्थानीय सरकारले उक्त आदेश कडाइका साथ कार्यान्वयन गरिने बताउँदै त्यसको पूर्ण पालना गर्न सम्बद्ध सबैलाई निर्देशन दिएको छ । एकान्त, सार्वजनिक र सवारी साधानमा विवाह नगरेका नारीपुरुष बस्न नपाइने परिपत्र गत साता जारी गरिएको हो । दैनिक जीवनमा इस्लामिक मूल्य मान्यता पालन गराउने प्रयासस्वरुप उक्त आदेश जारी गरिएको आचे सरकारका प्रवक्ता मुहम्मद एमटीएले बताएका छन् । इस्लामिक धर्मगुरुहरूसँगको परामर्शपछि उक्त आदेश जारी गरिएको उनले स्पष्ट गरेका छन् । सुमात्रा टापुको उत्तरी छेउमा अवस्थित आचे इस्लामिक कानून लागू गर्ने विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुस्लिम बहुल देशको एक मात्र प्रान्त हो । व्यापक आलोचनाको बाबजुद उक्त आदेश कार्यान्वयनको प्रयास भएको छ । जकार्ताले दिएको व्यापक स्वायत्तताअन्तर्गत शरिया कानुन भएको आचेमा जुवा खेल्ने, मदिरा सेवन गर्ने र विवाह बाहिर पनि सम्बन्ध राख्नेलगायतका अपराधमा सार्वजनिकरूपमा कोर्रा हानिन्छ । रासस/एएफपी

दुई लाख लाइसेन्स यातायात व्यवस्था कार्यालय एकान्तकुनामा अलपत्र

काठमाडौं । नागरिकले चालक अनुमतिपत्र पाउन डेढ वर्षसम्म कुरिरहँदा लाखौँ सेवाग्राहीले भने छापिएर आएको अनुमतिपत्र लिएका छैनन् । अहिले झण्डै दुई लाखभन्दा बढी अनुमतिपत्र थन्किएर रहेको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले जनाएको छ । कतिपय सेवाग्राहीले एउटा वर्गभन्दा थप वर्गको अनुमतिपत्र लिएकाले, कतिपय विदेश गएकाले र कतिपय काठमाडौँ उपत्यका बाहिर गएकाले छापिएर आइसकेको अनुमतिपत्र बुझ्न नआएका हुन् । अहिले सेवाग्राहीले चालक अनुमतिपत्र नवीकरण गरेपछिको एकडेढ वर्षमा मात्रै अनुमतिपत्र पाउने अवस्था रहेको जनाइएको छ । धेरै सेवाग्राहीले एउटा अनुमतिपत्र नवीकरणका लागि निवेदन दिएर त्यो नआउँदै दोस्रो वर्गको सवारीसाधनको अनुमतिपत्रका लागि परीक्षा दिने गरेको कार्यालयका प्रमुख राजकुमार कपालीले बताए । उनले भने, ‘नयाँ छापिएर आएपछि सेवाग्राहीले नवीकरण गर्न दिएको अनुमतिपत्र चाहँदैनन् र वर्षौंसम्म त्यसै रहन्छ ।’ एकै समयमा नवीकरणका लागि पनि आउने र अर्को प्रकारको ‘ट्रायल’ पास गरेर नयाँ लिने सेवाग्राहीको सङ्ख्या धेरै रहेको छ । पुरानो रद्द गरेर मात्रै नयाँ छापिने व्यवस्था नहुँदा एउटै व्यक्तिको एकै समयमा दुई अनुमतिपत्र छापिने गरेको उनले बताए । राज्यले दोहोरो परिचयापत्र छाप्नुपर्दा घाटा र अर्कातर्फ यातायात कार्यालयमा अनुमतिपत्र बढी हुँदा व्यवस्थापनमा समस्या हुने गरेको प्रमुख कपालीको भनाइ छ । एकै समयमा एउटै व्यक्तिको दुई वटा अनुमतिपत्र हुँदा वितरण गर्नका लागि धेरै जनशक्ति लाग्ने गरेको उनले बताए । प्रमुख कपालीले भने, ‘अहिले हामीसँग अनुमतिपत्रको सङ्ख्या दुई लाख छ तर एक दिनमा लिन आउने पाँच सय जना छ ।’ अहिले कार्यालयमा तीन-चार वर्ष पुराना धेरै अनुमतिपत्र छन् । कतिपय सेवाग्राहीको अनुमतिपत्र लिन नआउँदै अवधि सकिने गरेको उनले बताए । एकातिर अनुमतिपत्र छापिएर आउनै एक वर्ष बढी लाग्ने र अर्कातिर सेवाग्राही छापिएर आउनासाथ नआउने हुँदा धेरैभन्दा धेरै अनुमतिपत्र थन्किने गरेको कार्यालयमा कार्यरत कर्मचारीको भनाइ थियो । अनुमतिपत्र लिन आउँदासम्म अवधि सकिएको भन्दै धेरै सेवाग्राही कर्मचारीसँग झगडा गर्ने गरेको देखिन्छ । कहिले आउँदा अनुमतिपत्र आएको छैन भन्ने र छापिएर आउँदा पहिले नै अवधि सकिने भन्दै उनीहरुले आक्रोस पोख्ने गरेका हुन् । कार्यालयले विभागबाट आउनासाथ वितरण गर्ने भए पनि छापिएर आउनै लामो समय लाग्ने गरेको प्रमुख कपालीले बताए । सम्बन्धित व्यक्ति आफैँ पनि नवीकरणका लागि निवेदन दिएर तीन चार वर्षमा आउँदा अवधि सकिने गर्छ । रासस

व्यावसायिक संस्थालाई लाभान्वित बनाउँदै नेपाल टेलिकम, बढायो इन्टरनेटको क्षमता

काठमाडौं । नेपाल टेलिकमले १ जीबीपीएस (१००० एमबीपीएस)सम्म उच्च गति भएको एफटीटीएच इन्टरनेट सेवा शुरु गरेको छ । यसअघि १०० एमबीपीएससम्म उच्च गति भएको एफटीटीएच सेवा उपलब्ध गराइरहेको कम्पनीले अब एकैपटक १ जीबीपीएस क्षमता भएको इन्टरनेट सेवा उपलब्ध गराएको हो । हाल कम्पनीले जीपोन प्रविधिमार्फत उपलब्ध गराइरहेको एनटी फाइबर इन्टरनेट मध्ये सबैभन्दा उच्च गति १०० एमबीपीएस रहेकोमा अब एक्सजीपोन प्रविधिमा आधारित उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएको हो । सो सेवा ५०० एमबीपीएस र १ जीबीपीएस गरी दुई वटा प्याकेजमा उलपब्ध हुनेछ । यसको डाउनस्ट्रिम क्षमता १० जीबीपीएस र अपस्ट्रिम क्षमता २.५ जीबीपीएस हुनेछ । प्रिमियम एफटीटीएच ५०० एमबीपीएस अन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना ३५० मिनेट कल गर्न सकिनेछ । यो प्याकमा ०.५ टीबी डाटा प्रतिदिन प्रयोग गर्न सकिने छ । प्रिमियम एफटीटीएच १ जीबीपीएस अन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना ५ सय मिनेट कल गर्न सकिनेछ । यो प्याकमा १ टीबी डाटा प्रतिदिन प्रयोग गर्न सकिनेछ । दुवै प्याकेजमा एउटा आईपीटीभी, सीपीई र सेटटप बक्स तथा ३०० मिटर ड्रप फाइबर निःशुल्क उपलब्ध हुनेछ । ५०० एमबीपीएसको ‘प्रिमियम एफटीटीएच ५०० एमबीपीएस’ प्याकेज वार्षिक ८० हजार रुपैयाँ र १ जीबीपीएसको ‘प्रिमियम एफटीटीएच १ जीबीपीएस’ प्याकेज वार्षिक १ लाख १० हजार रुपैयाँमा उपलब्ध हुनेछ । यो सेवा वा अन्य एफटीटीएच सेवा प्राप्त गर्न चाहनुहुने मुलुकभरका सेवाग्राहीहरुले १९८–१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी) मा डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा जडान तथा मर्मतका लागि दर्ता गर्न सकिने व्यवस्था छ । हालका लागि काठमाडौं उपत्यकामा यो सेवा उपलब्ध गराइएको छ । व्यावसायिक संस्थाहरु यो सेवा प्रयोगबाट लाभान्वित हुने नेपाल टेलिकमले अपेक्षा गरेको छ ।

अपर तामाकोशीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अपर तामाकोशी हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको छ । हाइड्रोको १०० प्रतिशत हकप्रद सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन भएसँगै हाइड्रोको सेयर मूल्य प्रतिकित्ता २४३.०५ रुपैयाँ कायम भएको छ । बिहीबार हाइड्रोको अन्तिम कारोबार प्रतिकित्ता ३८६.१० रुपैयाँमा भएको हो । हाइड्रोले हकप्रद जारी तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । यससँगै अबको बजारमा हाइड्रोको सेयर कारोबार समायोजित मूल्यका आधारमा हुनेछ ।

सांसद शर्मा पक्राउ, मेडिकल व्यवसायीका रुपमा छन् परिचित

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले उनलाई गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो । सांसद शर्मालाईनक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको अभियोगमा पक्राउ गरिएको बुझिएको छ । साउन ५ गते संसदमा कांग्रेस सांसद शर्माले सुन तस्करी प्रकरणमा सुन तस्करी बारेको छानबिनमा सहयोग गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा दिनुपर्ने बताएका थिए । मोरङ क्षेत्र नम्बर ३ बाट गत मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट शर्मा निर्वाचित भएका थिए। शर्मा काठमाडौं मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक हुन्।

डेङ्गु परीक्षणका लागि ६ सय रुपैयाँ लाग्ने

भरतपुर । भरतपुर महानगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाले डेङ्गु परीक्षणमा मनपरी शुल्क लिन थालेपछि भरतपुर महानगरपालिकाले शुल्क तोकेको छ । डेङ्गु परीक्षणका लागि आधिकतम ६ सय तोकिएको हो । महानगरप्रमुख रेनु दाहालले शुल्कमा एकरूपता गराउन र नागरिकलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन शुल्क तोकिएको बताए । उनले महानगरका सम्बन्धित सबै स्वास्थ्य संस्थालाई समयमै रिपोर्ट दिन समेत अनुरोध गरे । जिल्लाका प्रदेशस्तरका स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण निःशुल्क हुने गरेको छ । भरतपुर अस्पतालले भने आठ सय रुपैयाँ लिँदै आएकोमा अब छ सय रुपैयाँमात्र लिने जनाएको छ । पछिल्लो समय जिल्लामा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । साउनयता जिल्लामा ५२ जनामा उक्त सङ्क्रमण पुष्टि भइसकेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले जाजरकोटका उद्यमीलाई सहुलियतपूर्ण ऋण दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जाजरकोट जिल्लाको नलगाड नगरपालिकाका उद्यमीलाई सहुलियतपूर्ण ऋण दिने भएको छ । सो सम्बन्धमा बैंक र नलगाड नगरपालिकाबीच बिहीबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नलगाड नगरपालिकाका नगर प्रमुख डम्बरबहादुर रावतले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि नगरपालिकाले आफ्नो क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ । सम्झौताले नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५(संशोधन समेत) अन्र्तगत को कर्जा कार्यान्वयनमा सहयोग पुर्याउने विश्वास लिइएको छ । समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले यो सम्झौताले कर्णाली प्रदेशमा बैंकले प्राथमिकताका साथ सहुलियतपूर्ण कर्जा लगानी गरेको बताए । नलगाड नगरपालिकाका नगर प्रमुख डम्वरबहादुर रावतले नगर क्षेत्र कृषिको पकेट क्षेत्र भएकाले कृषि उत्पादनमा सहयोग पुग्ने बताए । कर्णाली प्रदेशका पूर्व मन्त्री गणेशप्रसाद सिंहले बैंकको सहुुलियतपूर्ण कर्जाले जनताको जीवनस्तर उकास्ने बताए । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले राज्यले अबलम्बन गरेको सहुलियतपूर्ण कर्जा प्रवाहको पृष्ठभूमिको बारेमा बताउँदै उत्पादन, रोजगारी र आय श्रृजना गरी आर्थिक विकासमा योगदान पुर्याइरहेको बताए । उक्त कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु विमल डंगोल, दुर्गाकुमारी कँडेल, विभागीय प्रमुखहरु सरोज वस्नेत, अच्युत गौतम तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । कृषि तथा सामाजिक बैंकिङ्ग विभागका विभागीय प्रमुख ऋषभ भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

एकैदिन पौने २७ करोडले बढ्यो सेयर कारोबार, सबैभन्दा बढी सोल्टी होटलको

काठमाडौं । बिहीबारको बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबै बढेको छ । बजारमा परिसूचक ५.१३ अंकले बढेर २०६६.०५ बिन्दुमा पुगेको छ । जुन बुधबारको तुलनामा ०.२४ प्रतिशतले बढी हो । त्यस्तै, कारोबार रकम पनि २६ करोड ८२ लाख रुपैयाँले बढेको छ । बुधबार एक अर्ब ८८ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबार भने बढेर २ अर्ब १५ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । दिनभरको कारोबारमा २६९ वटा स्क्रिप्सहरु कारोबारमा आएका थिए । जसमध्ये सोल्टी होटलको सबैभन्दा बढी सेयर कारोबार भएको छ । बिहीबार होटलको १६ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार गर्नेको दोश्रो स्थानमा अपर तामाकोशी हाइड्रोपावर रहेको छ । जसको एकैदिन ११ करोड २५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । जसमध्ये अभियान लघुवित्त वित्तीय संस्थाको सेयर भने सर्किट लेभलमा कारोबार भएको छ । जसको सेयर मूल्य ९.०९ प्रतिशतले प्रतिकित्ता ७८० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतिकित्ता ६५ रुपैयाँले बढी हो । यता टप लुजरको शीर्ष स्थानमा पनि लघुवित्त संस्था छ । हिमालयन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.५३ प्रतिशतले घटेर प्रतिकित्ता ६१६ रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ४३ रुपैयाँले घटेको छ ।