विकासन्युज

महँगी घटाउन भारतले नेपालबाट टमाटर किन्दै, प्रतिकेजी २ सय भारुलाई ८० मा झार्ने

काठमाडौं । भारतले मूल्यवृद्धि रोक्नका लागि नेपालबाट टमाटर लिने भएको छ । अहिले भारतीय बजारमा विभिन्न तरकारी तथा फलफूलको मूल्य बढिरहेको बेला नेपालबाट टमाटर आयात गरेर महँगी कम गर्ने रणनीति भारतले बनाएको हो । यसको जानकारी भारतकी अर्थमन्त्री निर्मला सितारमणले गराएकी छन् । बिहीबार लोकसभामा बोल्दै उनले भारतीय बजारमा टमाटरको मूल्य कम गर्न नेपालबाट आयात गर्ने जानकारी गराइन् । यसअघि भारतमा विदेशी टमाटर आयात प्रतिबन्ध थियो । तर, भारतले अहिले बजारमा टमाटर महँगो भएपछि नेपालको टमाटर खरिद गर्ने योजना बनाएको हो । ‘हामीले टमाटरको आयात गर्नका लागि आयात प्रतिबन्ध हटाएका छौं, अब नेपालबाट हामी टमाटर आयात गर्नेछौं, यसले महँगी रोक्ने हाम्रो विश्वास छ,’ उनले भनिन् । हाल दिनप्रतिदिन बढिरहेको टमाटरको मूल्य नेपालबाट आयात गरेपछि प्रतिकेजी ७० रुपैयाँ कायम हुने भारतको विश्वास छ । अहिले भारतमा एककेजी टमाटरको मूल्य २ सय रुपैयाँसम्म पुगेको छ । नेपालबाट आयात भएको टमाटरको मूल्य स्थानीय बजारमा ८०÷८५ रुपैयाँसम्म पर्न जाने उनको भनाइ छ । अहिले नेपालमा पनि प्रतिकेजी टमाटरको मूल्य १६० रुपैयाँसम्म पर्छन । केही दिन अघि टमाटरले बजार नपाएको भन्दै किसानले सडकमै टमाटर फालेका थिए । अहिले मूल्य बढ्दै गएको हो ।

अल्फा बिटाको आयोजनामा अस्ट्रेलिया एजुकेसन फेयर सम्पन्न

काठमाडौं । शैक्षिक परामर्शदाता अल्फा बिटाले अस्ट्रेलिया एजुकेसन फेयेर २०२३ आयोजना गरेको छ । नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले एजुकेसन फेयेरको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा अस्ट्रेलियाका शीर्ष विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको जारी विज्ञप्तिमा उल्लेख छ । काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फा बिटा कम्प्लेक्सको चौथो तलामा आयोजित एजुकेसन फेयेरमा विद्यार्थीहरुले अस्ट्रेलियामा उत्कृष्ट शैक्षिक अवसर सहयोग गरेको कम्पनीले बताएको छ । अस्ट्रेलियाका शैक्षिक संस्थतामा शतप्रतिशतसम्म छात्रवृत्तिको अवसर विद्यार्थीहरुले पाएको अल्फाबिटाले बताएको छ । एक दिनका लागि आयोजित फेयरमा अस्ट्रेलियामा अध्ययनका लागि भर्ना हुने विद्यार्थीहरूलाई ५० प्रतिशत छुट र प्रोसेसिङ शुल्कमा पनि ५० प्रतिशत छुट प्रदान गरिएको बताइएको छ ।

गार्डियन र क्रेष्ट माईक्रो लाइफको पहिलो महिना : कसले कति उठाए प्रिमियम ?

काठमाडौं । जीवन लघुबीमा व्यवसाय सञ्चालन गर्न अनुमति पाएका दुई इन्स्योरेन्सले पहिलो महिनामा २ लाख ५ हजार रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार गत असारदेखि कारोबार शुरु गरेका गार्डियन माईक्रो र क्रेष्ट माईक्रो लाइफले सो मात्राको बीमाशुल्क अर्थात प्रिमियम संकलन गरेका हुन् । जसमध्ये गार्डियन माइक्रो लाइफले सबैभन्दा बढी अर्थात एक लाख ४१ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । इन्स्योरेन्सले असार महिनामा मात्रै १२७ वटा बीमालेख बिक्री गरेको छ । त्यस्तै, क्रेष्ट माइक्रो लाइफले ६४ हजार रुपैयाँ बराबरका प्रिमियम संकलन गरेको छ । जसले असार महिनामा मात्रै ९२ वटा बीमा पोलिसी बिक्री गरेको प्राधिकरणले जनाएको छ । दुई कम्पनीले छोटो अवधिमै सो मात्राको बीमाशुल्क संकलन गरेका हुन् । दुई इन्स्योरेन्समध्ये गार्डियन माइक्रो लाइफले गत असार २२ गतेदेखि र क्रेष्ट माइक्रो लाइफले गत साउन १० गतेदेखि औपचारिक रुपमा व्यवसाय सञ्चालन गरेका हुन् । त्यस्तै, गार्डियनको केन्द्रीय कार्यालय कोशी प्रदेशको विराटनगरमा छ भने क्रेष्ट माइक्रो कणाली प्रदेशको विरेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको छ ।

निजी विद्यालयको ऋणको मागमा पछाडि हट्न थाले बैंक : प्याब्सन अध्यक्ष ढुंगाना

काठमाडौं । निजी विद्यालयको ऋण मागमा बैंक पछाडि हट्न थालेका छन् । आज सरकारले अगाडि बढाउन लागेको विद्यालय शिक्षा विधेयकको विरुद्ध आन्दोलनको क्रममा बोल्दै निजी विद्यालयहरुको छाता संगठन प्याब्सनका अध्यक्ष डिके ढुंगानाले सो बताएका हुन् । उनले सरकारले अगाडि सारेको विद्यालय शिक्षा विधेयक संसदमा टेबुल भएमा बैंक तथा वित्तीय संस्थाहरुले निजी स्कूलहरुलाई ऋण नदिने अवस्था आउने बताएका छन् । ‘अहिले जतिपनि कम्पनीमा लगानी गरेका स्कूलहरु छन्, त्यहाँ ठूलो आर्थिक दायित्व सिर्जना भएको छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको छ, भोलि यो संसदमा टेबुल हुने वित्तिकै बैंक वित्तीय संस्थाले हामीलाई लोन कल गर्छन्, उनीहरुले हामीलाई ऋण तिर्न ताकेता गर्छन् र अहिले यो भर्खरै यो चर्चामा आइसकेपछि पनि कतिपय बैंकहरुले हाम्रा साथीहरुको फाइल रोकीसकेको सन्दर्भ छ’, उनले भने । उनले निजी शैक्षिक क्षेत्रमा लगानी गरेका व्यक्तिहरु दिवालिया हुने जीवन नै संकटमा पर्ने समेत बताए । ‘यसो भयो भने भोलि सम्पूर्ण विद्यालय सडकमा आउने र जीवन नै यसमा लगाएका मान्छेहरु दिवालिया हुने अवस्था छ’, उनले भने, ‘यसले भोलि मान्छेको जीवन नै संकटमा पर्ने भएपछि यसमा वेट एन्ड सीको कुरा रहेन, हामीले प्र्रो–एक्टिभ भएर सबैलाई जानकारी होस् भन्ने उद्देश्यका साथ यो विरोध पदर्शन गरेका हौं ।’ अहिले गुठीमा भएका विद्यालयहरु नै समस्यामा भएको भन्दै अध्यक्ष ढुंगानाले सरकारको प्रस्ताव खेदजन्य भएको बताए । ‘यो प्रस्तावित र मन्त्रीपषिदले पास गरेको जुन चाहिँ शिक्षा विधेयक छ, त्यसमा चाहिँ उहाँहरुले पाँच वर्षभित्रमा कम्पनीलाई गुठीमा रुपान्तरण गर्ने र सम्पूर्ण दायित्व फरफारक गर्ने भन्ने प्रावधान छ, (हामीले देख्यौं), यो प्रावधान खेदजन्य छ ।’ उनले सरकारकै नीतिमा निजी स्कूलहरु विभिन्न चरणमा कम्पनी, गुठी वा सहकारी मोडेलमा सञ्चालन भएको समेत बताए । ‘अहिले कम्पनीलाई गुठीमा लैजान खोजिएको छ । गुठीमा भएका विद्यालयहरु आँफैमा प्रताडित छन्, उनीहरुले धेरै दुःख पाएका छन्’, उनले भने, ‘उनीहरुले काम गरेको इन्सेन्टिभ पाउन सकेका छैनन् ।’ अध्यक्ष ढुंगानाले आफ्ना मागहरु शिक्षा मन्त्रालयले छिटो सुन्दियोस भन्ने चाहेको समेत बताए । ‘हामी चाहन्छौं, चाँडो भन्दा चाँडो शिक्षा मन्त्रालयले सुनोस्, अन्यथा हामीले कार्यक्रम घोषणा गरिसकेका छौं, हामीलाई अप्रिय लाग्छ बन्द भन्ने शब्द, बन्द गर्ने होइन, खुलाएर विद्यार्थीलाई पढाउने मान्छे हौं’, उनले भने । साथै उनले शिक्षण संस्था, बालबालिका शान्ति क्षेत्र हो भनिरहेको सन्दर्भमा हाम्रो अस्तित्व नै संकटमा पर्ने कानून आउन लागेको आन्दोलनमा आउन परेको उनले बताए ।

नेपाल लाइफका १३१ अभिकर्तासहित विभिन्न एजेन्सी मेनेजर सम्मानित, दत्तचित्त भई अघि बढ्न आग्रह

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका विभिन्न अभिकर्ता तथा एजेन्सी मेनेजर सम्मानित भएका छन् । कम्पनीले आयोजना गरेको तीन दिवसीय लिडरशीप एक्सेलेन्स अवार्डस्, २०२३ कार्यक्रममा इन्स्योरेन्सका १३१ अभिकर्तासहित विभिन्न एजेन्सी मेनेजरहरु सम्मानित भएका हुन् । कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट ८१ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानको साथ साथै २० जनालाई सम्राट पदक, २३ जनालाई रत्न पदक र ६३ जनालाई समृद्धि पदकबाट पनि विभुषित गरिएको थियो । त्यस्तै, एजेन्सी मेनेजर तर्फबाट क्रमश प्रथम, द्धितीय र तृतीय हुने बसन्ती शर्मा, मदन भट्ट र स्नेहा भट्ट तथा व्यक्तिगत कोड तर्फबाट क्रमस नेपाल प्रथम, द्धितीय र तृतीय हुने खुशी भट्ट, शान्ता राजबंशी, भीमा पन्थीलाई अवार्डको साथै नगद पुरस्कारले पनि सम्मान गरिएको थियो । इन्स्योरेन्सले चितवनको सोल्टी वेस्टइन्ड रिसोर्टमा ‘सार्क वर्ष : पराक्रमी गति, आक्रामक नीति’ नाराका साथ उक्त कार्यक्रम सम्पन्न गरेको हो । जसमा देशभरबाट उत्कृष्ट व्यवसाय गर्ने १३० भन्दा बढी एजेन्सी तथा एजेन्सी मेनेजरहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको उद्घाटन कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवाल, संचालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले गरेका हुन् । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले सम्मानित भएका अभिकर्तालाई बधाई तथा शुभकामना दिए । सीईओ पराजुलीले अभिकर्ताहरुलाई गत आर्थिक वर्षको कार्य सम्पादनको लागि धन्यवाद र चालु आर्थिक वर्षको व्यापार लक्ष्य पुरा गर्न शुरुबाट नै दत्तचित्त भई कार्य गर्न आव्हान गरेका थिए । गएको आर्थिक वर्षको व्यापार समीक्षा गर्दै उनले चालु आर्थिक वर्ष २०८०/८१ मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराएका थिए । प्रमुख कार्यकारी अधिकृत पराजुलीले यस कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ताहरु रहेको र उनीहरुकै मेहनत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफु विश्वस्त रहेको बताए । अभिकर्ताहरुको चौतर्फी विकासका निम्ति कम्पनी निकै नै संवेदनशील रहेको समेत प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए । कार्यक्रममा बोल्दै कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवालले देश आर्थिक मन्दीबाट गुज्रीरहेको समयमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको बताए । पराक्रमी गति आक्रामक नीति नारासहित सार्क वर्षको अवधारणालाई आत्मसाथ गर्दै कम्पनी अघी बढेको देख्दा मन प्रफुल्लित भएको उनले बताए । जसरी सार्कले समुन्द्रमा अधिपत्व कायम गरेको हुन्छ त्यसैगरि नेपाल लाइफले जीवन बीमा क्षेत्रमा अधिपत्व कायम गर्नेमा आफु विस्वस्त रहेको जाहेर गरे । ग्राहकको सहजताका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग, लगानीको उच्च प्रतिफलका लागि लगानीको विविधिकरण गर्ने कार्यहरु शुभारम्भ भई सकेको समेत उनले बताए । कार्यक्रममा सञ्चालक विमल प्रसाद ढकालले कम्पनीका बीमा अभिकर्ताहरुले बीमालाई नेपालीको घरदैलोमा पुर्याउन गरेका योगदानका निम्ति धन्यवाद ज्ञापन गरे । आव २०७९/८० मा उत्कृष्ट व्यवसाय गर्दै सम्मानित भएका सम्पूर्ण बीमा अभिकर्ताहरुलाई बधाई तथा आगामी दिनमा सफलताको लागि शुभकामना व्यक्त गरे । कार्यक्रममा बोल्दै उनले आगामी दिनमा व्यवसाय गर्दा नियमनकारी निकायद्वारा जारी गरिएका नीतिनियमको अधिनमा रही व्यवसाय गर्न सबैलाई आग्रह गरे । यसका साथ साथै एएमएल सीएफटीको महत्व र अपराहर्यताको बारेमा प्रकाश पारे । यहाँसम्म आइपुग्दा धेरैनै उतार चढावको सामना गर्नु परेको बताउँदै उनले आगामी दिन थप चुनौतिपूर्ण हुने हुँदा थप जोश र जाँगरका साथ नविनतम प्रविधिको प्रयोग गरि कार्यसम्पादन गर्न आग्रह गरे ।

कारागारमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको आग्रह : मलाई मुक्त गर्नुहोस्

सामाजिक सञ्जाल इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई कारागारबाट मुक्त गर्न आफ्ना वकिलहरूसँग आग्रह गरेका छन् । आफूलाई भेट्न आएका वकिलहरूलाई नेता खानले यस्तो आग्रह गरेका हुन् । साथै पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का अध्यक्षले पनि आफू जेलको कोठरीमा कष्टपूर्वक बसेको बताएका छन् । भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय पाएका पूर्वअन्तरराष्ट्रिय क्रिकेट स्टार खानलाई राजधानी इस्लामाबादबाट करिब ६० किलोमिटर पश्चिममा अवस्थित एटक सहरको औपनिवेशिक युगको जेलमा राखिएको छ । ‘ट्रायल कोर्ट’को तीन वर्ष जेल बस्नुपर्ने निर्णयलाई चुनौती दिँदै नेता खानका वकिलहरूले हिजो पुनरावेदन दायर गरेका थिए । गत शनिबार पक्राउ परेका उनलाई उक्त कारागारमा सोही दिन राखिएको हो । उनलाई पाँच वर्षको अवधिका लागि राजनीतिक गतिविधिमा भाग लिनबाट पनि प्रतिबन्ध लगाइएको छ । गत वर्षको अप्रिलमा सदनमा विश्वासको मत नपाएपछि प्रधानमन्त्री पटबाट हटेका उनीमाथि दुई सयभन्दा बढी मुद्दा लगाइएको छ । पदमा रहँदा आफूले प्राप्त गरेका उपहारको वास्तविक घोषणा नगरेकामा दोषी ठहर्याएर उक्त अदालतले शनिबार नै उनलाई तीन वर्षको जेल सजाय सुनाएको थियो । ‘अहिले पाकिस्तानमा कानुनी शासन छैन, हामी एक अदालतबाट अर्को अदालतमा हतार गरिरहेका छौं, मानवका लागि उपयुक्त नहुने दुःखद अवस्थामा उनलाई राखिएको छ, अति थोरै उज्यालो हुने, पङ्खा मात्र भएको साह्रै सानो सी-क्लासको जेलमा राखिएको र सुत्न र प्रार्थना गर्न एकमात्र गद्दा दिइएको छ,’ ७० वर्षीय नेता खानलाई विशिष्ट व्यक्तिलाई थुन्ने कारागारमा राख्न मागसमेत गरिएको उल्लेख गर्दै युसुफजाईले सञ्चारकर्मीहरूलाई बताएका छन् । झिँगा र कीराले विद्रप पारेको कालकोठारीमा नेता खानलाई कोचेको वकिलहरूको भनाइ छ । त्यस्तो वातावरणमा बसेका उनले दासत्व नस्वीकार्ने प्रण पनि गरेका छन् । यद्यपि उनले सजाय भोग्ने तर घुँडा नटेक्ने बताएका छन् । प्रतिकूल परिस्थितिका बाबजुद नेता खान हतोत्साही नभएको वकिलहरूले बताएका छन् । रासस/एएनआई

पहिलेको झाडी अहिले कागती बगैँचा, दुई क्विन्टल भन्दा बढी बिक्री

दाङ । पाँच वर्षअघि निल काटा र सैँजनको झाडी रहेको दाङको गढवा गाउँपालिका–३ गोबरडिहाको विद्यानगर अहिले कागतीको बगैँचामा परिणत भएको छ । जताजतै झाडी मात्रै देखिने पाखोबारीमा अहिले चारैतिर हरिया बोटमा लटरम्म कागती फलेका छन् । यहाँ पुग्ने जोकोहीको ध्यान फलेका कागतीका बगैँचाले तान्ने गरेका छन् । गोबरडिहाका किसान अन्जित चौधरीले पाखोबारीमा व्यावसायिकरुपमा उन्नत जातको कागती खेती सुरु गरेपछि उनको दैनिकी फेरिएको छ । चौतिस वर्षिय चौधरीले १० बिघा जमिन भाडामा लिइ कागती खेती सुरु गरेका हुन् । बगैँचा अवलोकन गर्न र खरिद गर्नका लागि विभिन्न ठाउँका मानिस यहाँ आउने गरेका चौधरीले बताए । विसं २०७४ मा यहाँको १० बिघा जमिन भाडामा लिएर व्यावसायिकरुपमा उन्नत जातको कागती खेती सुरु गरिएको उनले जानकारी दिए । धनकुटास्थित वनस्पति उद्यानबाट उन्नत जातका सुन कागती–१ र सुन कागती–२ का तीन हजार बिरुवा खरिद गरी खेती थालेको बताउँदै चौधरीले अहिले बगैँचामा पाँच हजारको हारहारीमा कागतीका बोट रहेका जानकारी दिए । गत वर्ष दुई क्विन्टल भन्दाबढी बिक्री गरेको जनाउँदै उनले यस वर्ष खडेरीका कारण फलेका कागती बढ्न नसके पनि उत्पादनमा भने कमी नभएको बताए । उत्पादित कागती बिक्रीका लागि बजारको कुनै समस्या नरहेको भन्दै चौधरीले प्रतिकेजी एक सय ५० देखि दुई सय रुपैयाँसम्ममा बिक्री गरिरहेको जानकारी दिए । जग्गा प्रयोग गरेबापत उनले वार्षिक दुई लाख रुपैयाँ भाडा तिरिरहेका छन् । खेती गर्न थालेको पाँच वर्ष भएको बताउँदै उनले राम्रो आम्दानी भइरहेको सुनाए । चौधरीका अनुसार यहाँ दुई जनाले पूर्ण र सात जनाले आंशिक रोजगारी पनि पाएका छन् । ’अहिले कागती बगैँचा फस्टाउँदै गएको छ । खेती गरेको जग्गा सरकारी जमिन हो । देउखुरीको प्राविधिक शिक्षालयको भवनमा बसेपछि जमिन प्राविधिक शिक्षालयलाई दिनुपर्ने भन्दै बगैँचा खाली गरिदिन भनिरहेका छन्’, उनले भने, ’गरिरहेको व्यावसाय कहाँ लैजानु समस्या भएको छ ।’ ’बाबुबाजेले धान, मकै, गहुँखती गर्नुभयो र कृषि क्षेत्रमा नै रमाएर बस्नुभयो । अहिले क्याम्पसमा पढ्दै  परम्परागत खेतीको विकल्पका रुपमा कागती खेती सुरु गरेको हुँ’, चौधरीले भने, ’सफल पनि भएको छु । यतिधेरै लगानी गरेर बगैँचा बनाइसके अब कहाँ गएर यो खेती गरुँ ?’ यस खेतीका लागि सुरुका वर्ष गढवा गाउँपालिकाले तीन लाख र कृषि ज्ञानमाला केन्द्र घोराहीले दुई लाख रुपैयाँ अनुदान उपलब्ध गराएको उनले बताए । उनको यस कागती बगैँचा यस क्षेत्रकै सबैभन्दा ठूलो रहेकाले के कसरी खेती गरिन्छ भन्ने जानकारी लिन, शैक्षिक अवलोकन गर्न विद्यार्थी, सञ्चारकर्मी, सर्वसाधारण, कृषक तथा कृषि क्षेत्रका सरकारी व्यक्तित्वहरु आउने गरेका जानकारी दिए । नेपालमा ८० प्रतिशत कागती भारतलगायतका देशबाट आउने र २० प्रतिशतलाई मात्र यहाँ उत्पादन हुने भन्ने समाचार पढेकाले यस खेतीमा लाग्न सोही समाचारले आकर्षित गरेको चौधरीको भनाइ थियो । कृषि प्रधान हाम्रो देशमा कृषिका अत्यन्तै सम्भावना रहेका भन्दै उनले यही माटोमा मेहनत गरे मनग्य आम्दानी गर्नसकिने अनुभव सुनाए । यस पटक भएको आम्दानीबाट थोपा सिँचाइ र तारजाली लगाउने योजना रहेको चौधरीले बताए । राम्रो उत्पादन तथा आम्दानी भएमा कागती प्रशोधन केन्द्रसमेत खोल्ने आफ्नो योजना रहेको उनले सुनाए । चौधरीले बर्सेनि युवाशक्ति रोजगारका लागि भारत तथा खाडीमुलुक जाने गरेकामा यसलाई राज्यले रोकेर आफ्नै देशमा आधुनिक आयमूलक काममा लगाउनुपर्ने सुझाव दिए । सरकारले कृषि क्षेत्रमा लागेकालाई अनुदानमा ऋण, किटनाशक औषधि, बीउबिजन, मल, सिँचाइको व्यवस्था गरिनुपर्नेमा उनले जोड दिए । युवालाई लक्षित गरी एकीकृत कृषि व्यवसाय फाराम सञ्चालनमा ल्याउने, तालिम, सीपमूलक कृषि कार्यक्रमलगायत रोजगारी केन्द्रीत योजना उपलब्ध गराउन सके वैदशिक रोजगारीमा जाने युवाको सङ्ख्यामा कमी आउने चौधरीको भनाइ थियो । रासस

संसदमा पेस गर्न लागेको शिक्षा ऐन गोप्य रुपमा उल्टियो, उल्ट्याउनेको खोजी गर्दै प्रचण्ड

काठमाडौं । मन्त्रीपरिषदले संघीय संसदमा पेस गर्ने निर्णय गरेको विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गोप्य रुपमा उल्ट्याउने काम भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सिंहदरबारमा भएको सरकारको गत आवको वार्षिक समिक्षा तथा चालु आवको कार्यसम्पादन सम्झौतामा बोल्दै संसदमा पेस गर्न पास गरिएको शिक्षा विधेयक गोप्य रुपमा उल्ट्याइएको र उल्ट्याउने व्यक्तिको खोजी गर्ने बताएका हुन् । मन्त्रीपरिषदले संसदमा पेस गर्न भनेर पास गरेको विधेयक उल्टिएर आएपछि त्यसलाई संसदमा पेस गर्न नसकिएको उनले बताएका छन् । ‘संघीय शिक्षा ऐन शुरुमा जस्तो थियो त्यो बनेर आउँदा त बिल्कुल उल्टो बनेर झन नेगेटिभ भएर आयो भन्ने देखियो र हामीले सदनमा पठाइहाल्न खोजेको ऐनलाई पनि रोक्यौं’, प्रधानमन्त्रीले भने । साथै उनले उल्टिएर आएको विधेयकलाई सुधार नगरीकन संसदमा पेस गर्न नहुने समेत बताए । साथै उनले कसले विधेयकको ड्राफ्ट उल्ट्याएको हो भन्ने विषयमा पनि खोजी गर्ने बताएका छन् । उनले भने, ‘यसलाई त सुधार नगरिकन पठाउन हुँदैन भन्यौं । हामी त्यसको खोजिमा छौं, कसले यसो गर्यो, कहाँबाट कुन ठाउँबाट यो भयो भन्ने कुरा ।’ क्याबिनेटमा राम्रोसँग अध्ययन समेत गर्न नपाएको विधेयकको ड्राफ्ट बजारमा गएर बहस भइरहकोमा पनि प्रधानमन्त्री दाहालले आश्चर्य व्यक्त गरेका छन् । ‘अर्कोतिर क्याबिनेटमा हामीले राम्रोसँग हेर्न पाएकै छैनौ मिडिया र बजारमा यो गलत र सही भन्ने आउने स्थिति कसरी भयो ? या त त्यो विषयमा कि त त्यो विषयमा पार्टनरहरुको पहिल्यै नै सल्लाह गरेर छलफल गरेर राय सल्लाह लिने हुन पर्यो’, प्रधानमन्त्री प्रचण्डले भने, ‘टुंगिएको विषय बजारमा सरकारको हातमा भन्दा पहिले कसरी पुग्यो भन्ने कुरा पनि अल्लि गम्भिर नै देखिएको छ ।’ अर्को प्रसंगमा मन्त्री तथा सचिवहरुलाई लक्षित गरेर बोल्दै प्रधानमन्त्री प्रचण्डले क्याबिनेटले गरेका निर्णयहरु कार्यान्वयन गर्न कठिनाइ भएको समेत बताए । ‘कैयौं निर्णय क्याबिनेटले गर्छ, क्याबिनेटको निर्णय लागू हुन अप्ठयारो भएको स्थिति बडो अनौठो स्थिति एकआध देखा पर्यो ।’