एनआईसी एशिया बैंकका तीन कर्जा योजना सार्वजनिक, १२ करोडसम्म सेयर कर्जा दिने
काठमाडौं । एनआईसी एशिया बैंकले अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट सेयर धितो कर्जा गरी तीन कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ११.९९ प्रतिशत ब्याज मै सेयर धितो कर्जा दिने भएको हो । बैंकले साउन २५ गतेको बैंकको संचालक समितिको निर्णय अनुसार भन्दै ११.९९ प्रतिशत ब्याज मै सेयर धितो कर्जा दिन सबै शाखाहरुलाई सर्कुलर गरेको छ । औसत आधार दरमा १.८१ प्रतिशत प्रिमियम जोडेर ११.९९ प्रतिशत ब्याजमा सेयर धितो कर्जा दिन बैंकले सर्कुलर जारी गरेको हो । न्यूनतम ५० लाखदेखि अधिकतम १२ करोड रूपैयाँसम्म अठोट सेयर धितो कर्जा दिने र कर्जामा १ वर्षको भुक्तानी अवधि (वार्षिक रुपमा नवीकरण गर्न सकिने) बैंकले जनाएको छ । त्यस्तै, बैंकले न्यूनतम २५ लाखदेखि अधिकतम १२ करोड रूपैयाँसम्मको अठोट घर कर्जा योजना ल्याएको छ । २५ वर्षसम्मको कर्जा अवधि रहेको यस अठोट घर कर्जा ग्राहकहरुले आकर्षक तथा न्यूनतम ब्याजदरमा उपभोग गर्न सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार यस योजना अन्तर्गत ग्राहकले निजी आवासीय घर खरिद गर्न, निजी आवासीय अपार्टमेन्ट खरिद गर्न, निजी आवासीय घर निर्माण गर्न, निजी आवासीय घर मर्मत तथा तला थप्न र निजी आवासीय घर निर्माण गर्न जग्गा खरिद गर्न यो कर्जा सुविधा उपयोग गर्न सक्ने छन् । साथै, अन्य बैंक तथा वित्तीय संस्थामा रहेको व्यक्तिगत आवासीय घरकर्र्जा यस बैंकको अठोट घर कर्जामा स्वापः गर्न सकिने व्यवस्था समेत बैंकले गरेको जनाएको । त्यस्तै, बैंकले ग्राहकहरुको व्यवसाय सञ्चालन तथा विस्तार गर्नका लागि ल्याएको अठोट साना व्यवसाय कर्जामा न्यूनतम २५ लाखदेखि अधिकतम ५ करोड रूपैयाँसम्म कर्जा उपलब्ध हुने जनाएको छ । अधिकतम १५ वर्ष कर्जा अवधि कायम गरिएको यस कर्जामा आकर्षक तथा न्यूनतम ब्याजदर कायम गरिएको बैंकले उल्लेख गरेको छ । साना तथा मझौला व्यवसाय तथा कृषि व्यवसायहरुलाई लक्षित गरी ल्याएको यस कर्जा अन्तर्गत लगानीकर्ताहरुले सञ्चालित वा नयाँ व्यवसायहरुको अल्पकालीन वा दीर्घकालीन लगानी आवश्यकताका लागि यो कर्जा उपभोग गर्न सक्ने बैंकले जनाएको छ। बैंकले ३६० शाखा कार्यालयहरू, ५६७ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुईजना पक्राउ
काठमाडौं । नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङका मनित चौधरी र काठमाडौंस्थित इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार चौधरीलाई आज बिहान मोरङबाट र शिल्पकारलाई गए राति काठमाडौंबाट पक्राउ गरिएको हो । नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध ब्यूरोले अपरेसन थालेको छ । बिहीबार पनि ब्यूरोले पाँच जनालाई पक्राउ गरेको थियो । विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीनजना पक्राउ वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गरी सम्पर्कविहीन भएका तीनजनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरिसार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका–१४ कलङ्की बस्ने ४५ वर्षीय सालिकराम अर्याल, सुनसरीको रामधुनी नगरपालिका–३ घर भई हाल काठमाडौं–३२ बस्ने ४० वर्षीय सन्दीपकुमार चौधरी तथा गोरखाको गण्डकी गाउँपालिका–६ घर भई हाल काठमाडौँ–१५ बस्ने ५० वर्षीया एकमाया पुलामी मगर रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । पक्राउ परेका अर्यालले सरोज गिरीबाट वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै ५० हजार रुपैयाँ, चौधरीले रुपक बुढाथोकीबाट फ्रान्स पठाइदिने भन्दै दुई लाख ५५ हजार रुपैयाँ तथा पुलामी मगरले जङ्ग गुरुङबाट पोर्चुगल पठाइदिने भन्दै दुई लाख ५६ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो । उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको हो । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । रासस
अवैधानिक माध्यमबाट अमेरिका पुर्याइएका काष्ठकला सम्पदा नेपाल फिर्ता
काठमाडौं । अवैधानिक माध्यमबाट अमेरिका ल्याइएका नेपाली काष्ठकलाका सामग्री नेपाल फिर्ता पठाइएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले जफत गरी मङ्गलबार नेपाली काष्ठकलाका ४० सामग्री नेपाल पठाइएको हो । वाशिङ्गटन डिसीस्थित नेपाली नियोगका अनुसार अवैधरूपमा सन् २०१० मा अमेरिकाको हवाई राज्यमा ल्याइपुर्याएका ती सामग्री भन्सार तथा बोडर प्रोक्टेक्सन (सिविपी)ले बरामद गरेको हो । उक्त सामग्री गत मे महिनाको ११ तारिखमा वाशिङ्गटन डिसीस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरिएको थियो । दूतावासले ऐतिहासिक महत्त्वका ती सामग्री नेपाल पठाउन पहल गरेकामा अमेरिकी सरकारी निकायप्रति हार्दिक आभार प्रकट गरेको छ । सन् २०२२ को अप्रिलदेखि अहिलेसम्म नेपालबाट अवैधानिक माध्यमबाट अमेरिका ल्याइएका ४७ सामग्री नेपाल फिर्ता पठाइसकिएको छ । कतार एयरवेजको कार्गोको सहयोगमा नेपाल ल्याउन लागिएका ती सामग्री शनिबार काठमाडौँ आइपुग्ने बताइएको छ । रासस
भक्तपुरबाट १५ लाख नक्कली नोट बरामद, नौ जना पक्राउ
भादगाउँ । प्रहरीले भक्तपुरको चाँगुबाट बिहीबार साँझ ठूलो मात्रामा नक्कली नोट बरामद गरेको छ । प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग चाँगुनारायणको संयुक्त टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका–४ चाँगु बुढाथोकीगाउँबाट १५ लाख नेपाली नक्कली नोट बरामद गरेको हो । प्रहरी वृत्त थानकोटले नक्कली नोटको कारोबारमा संलग्न भएको आरोपमा नौ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सोही क्रममा पक्राउ परेकामध्ये सिन्धुपाल्चोकको बलेफी नगरपालिका–७ घर भई हाल चाँगु बस्ने ४० वर्षीय अर्जुन सुवेदीको डेरा चाँगु बुढाथोकीगाउँस्थित घरमा छापा मारी नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी प्रजित केसीले बताएका छन् । प्रहरीका अनुसार सुवेदीको डेरामा उक्त गिरोहले नक्कली नोट छाप्ने कार्य समेत गर्दै आएका थिए । प्रहरीले सो कोठाबाट कलर प्रिन्टर एक थान, कम्प्युटर एक थान, मोबाइल १२ थान र चार स्कुटरसमेत बरामद गरेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–६ घर भई हाल काठमाडौँको मूलपानी बस्ने २१ वर्षीय मिलन भण्डारी, ३२ वर्षीय शिव भण्डारी र २३ वर्षीय श्रीकृष्ण भण्डारी तथा सुनकोसी गाउँपालिका घर भई काठमाडौँको पेप्सीकोला बस्ने २६ वर्षीय सुशील कार्कीलाई पक्राउ गरिएको छ । यसैगरी नवलपरासीको सराबल गाउँपालिका–१ घर भई हाल काठमाडौँ बस्ने पार्वती नेपाली, गुल्मीको बडागाउँ गाउँपालिका–२ घर भई हाल काठमाडौँको सामाखुसी बस्ने २७ वर्षीय सागर आचार्य, अछाम घर भई हाल काठमाडौँको मातातीर्थ बस्ने २३ वर्षीय अर्जुन बुढा तथा झापा घर भई हाल काठमाडौँको समाखुसी बस्ने २४ वर्षीय युवराज राईलाई समेत प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । बरामद गरिएका सबै सामग्री अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट लगिएको प्रहरी उपरीक्षक केसीले बताए। रासस
चोरी भएको सवारीसाधन पत्ता लगाउने प्रविधि भित्रियो, कसरी पत्ता लगाउँछ ?
काठमाडौं । मोटरसाइकल चोरीसम्बन्धी प्रहरीलाई सूचना प्राप्त गर्ने जिपीएस प्रविधि (लोकोमो) सुरु भएको छ । घर, कार्यालय तथा सुरक्षित पार्किङबाटै पनि मुलुकमा दैनिक ५ वटासम्म दुईपाङ्ग्रे सवारीसाधन हराउने र चोरी हुने गरेको सन्दर्भमा यो प्रविधि प्रयोगमा आएसँगै प्रहरीलाई हराएको मोटरसाइकल फेला पार्न सफलता मिल्नेछ । चोरी तथा सडक सुरक्षा, राजमार्ग यात्रा, महिला सुरक्षालगायतका समस्या प्रविधिको प्रयोगले समाधान गर्न अब भने केही सहज हुने लोकोमो ब्रान्ड एम्बासडर तथा मिडियाकर्मी सुरजसिंह ठकुरीले बताए । अमेरिका र नेपालमा गरिएको २ वर्ष अवधिको प्राविधिक अन्वेषणपछि प्रविधिको प्रयोगका लागि सरकारले स्वीकृति दिएको थियो । मोटरसाइकल चोरी रोक्न र व्यक्तिगत तथा सामाजिक सुरक्षामा सहयोग पुर्याउने उद्देश्यसहित जिपीएस प्रविधि ‘लोकोमो’ले नेपाली बजारमा प्रवेश पाएको हो । लोकोमोले नेपालमा मोटरसाइकल तथा स्कुटर चोरी निर्मूल, महिला सुरक्षा र सार्वजनिक सडक सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । लोकोमो कार्य विभाग प्रमुख अनिता देवकोटाका अनुसार सार्वजनिक स्थानमा सवारी छाड्न परे लोकोमो मोबाइल एपबाट ‘स्मार्ट लक’ गरेमा मोटरसाइकल स्टार्ट हुँदैन र चोरी गर्न सक्दैन । उनी कथंकदाचित चोरी भएमा मोबाइल फोनबाटै आफ्नो मोटरसाइकल बन्द गर्ने र अनि मोबाइलमै लोकेसन पहिचान गरी सवारीसाधन पत्ता लगाउन सकिने बताउँछन् । रोकेर राखेको मोटरसाइकल कुनै अनधिकृत व्यक्तिले चलाउन, तार काट्न अथवा चोरीको प्रयास गरेमा सेन्सर सक्रिय भई सवारीधनीलाई सूचना पठाउने उपकरण जडित हुनेछ । कुनै कारणबाट सवारीसाधन चोरी भएको खण्डमा सवारीधनीले प्रहरीलाई मोबाइलबाटै मोटरसाइकलको लाइभ लोकेसन जानकारी गराउन सक्ने बताइएको छ । नेपाल प्रहरीको प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा जडित सफ्टवेयरबाट मोटरसाइकल तुरुन्तै ट्र्याक गरी कुन रूटमा, कति गतिमा गुडिरहेको भनी हेर्ने र प्रहरी परिचालन हुन सहज हुने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायत बताउँछन् । सवारीधनीले चोरी भएको सवारीकोे लोकेसन प्रहरीलाई नदिँदासम्म लोकेसन हेर्न भने नसक्ने लोकोमोका प्रविधि प्रमुख विक्रममान सिंह बस्नेतले बताए । ‘चोरी पैठारी रोक्नु, सामाजिक सुरक्षामा सहयोग पुर्याउनु प्रमुख उद्देश्य हो,’ उनले भने । महिला स्कुटर चालकको रात्रिकालीन सुरक्षा लक्षित यसको अर्को विशेषता ‘सेफ्टी नेट’ रहेको छ । रातिको समय यात्रा गर्नेले आफ्नो रुट र लाइभ लोकेसन निश्चित समयका लागि परिवारका सदस्यलाई पठाउन सकिने व्यवस्था एपमा गरिएको छ । यस प्रविधिले अभिभावकलाई आफ्ना सन्ततिले प्रयोग गन्तव्य, रुट र गतिबारे घरमै बसेर जानकारी लिन सहज हुनेछ । अन्तर्रास्ट्रिय गुणस्तर प्रमाण चिह्न प्राप्त लोकोमो नयाँ पुराना जुनसुकै मोटरसाइकल, स्कुटर, चारपाङ्ग्रे सवारीमा जडान गर्न सकिने प्रवद्र्धक कम्पनी सेन्टिनेल ल्याबले जनाएको छ ।रासस
निर्माण व्यवसायलाई धरासायी नबनाउन सरकारलाई आग्रह
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण व्यवसायलाई धरासायी नबनाउन सरकारलाई आग्रह गरेको छ । महासङ्घले बिहीबार माइतीघरबाट संसद् भवनसम्म पदयात्रा गरी राजनीतिक नेतृत्वको गलत मनसायका कारण निर्माण व्यवसायीले समस्या भोग्नुपरेको बताएको हो । कार्यक्रममा महासङ्घका अध्यक्ष रवि सिंहले राजनीतिक नेतृत्वको गलत मनसाय र कर्मचारीको आफू टिकिरहनका लागि गरेको दुष्कर्म आफूहरूले भोग्नुपरेको बताए । उनले पूर्ववर्ती सरकारले गरेका गल्ती सच्याएर देश विकासका लागि सरकार सच्चिन आवश्यक रहेको बताए । अध्यक्ष सिंहले सार्वजनिक खरिद नियमावलीको पटक–पटकको संशोधनले पूर्वाधार विकासमा समस्या निम्त्याएको उल्लेख गरे । उनले सरकारले निर्माण व्यवसायीलाई देखाएर निर्माण व्यवसायीले समयमा काम गरेनन् भन्ने भ्रममात्रै सिर्जना गरेको बताए । निर्माण व्यवसायीलाई धरासायी बनाउने काम नगर्न सरकारलाई उनले आग्रहसमेत गरे । व्यवसायीले सार्वजनिक खरिद अनुगमनअघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर्नुपर्ने, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर्नुपर्ने, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर्नुपर्ने भन्दै ‘गुणस्तर र समयमा निर्माण हाम्रो प्रतिबद्धता’, ‘उपभोक्ताबाट निर्माणकार्य गर्ने नियम खारेज गर’ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
काठमाडौं महानगरले माग्यो १९ जना विषय विज्ञ, पुनः आह्वान गर्याे आवेदन
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न पदमा १९ जना विषय विज्ञको आवदेन खुलाएको छ । महानगरपालिकाले विभिन्न पदका लागि १९ जना विषय विज्ञ मागेको हो । महानगरले यसअघि पनि विभिन्न विज्ञ पदका लागि आवेदन आह्वान गरेको थियो । तर, पर्याप्त आवेदन नपरेपछि पुनः सूचना निकालेर आह्वान गरेको हो । ‘काठमाडौं महानगरपालिकाको संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि, २०७८ को दफा १४ मा भएको कानुनी व्यवस्था बमोजिम वातावरणीय अध्ययन प्रयोजनका लागि गठन हुने प्राविधिक समितिमा रहने विज्ञहरूको सूची तयार पार्ने निर्णय भएको हुँदा इच्छुक र योग्य व्यक्तिले यो सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र निवेदन पेस गर्नुहुन अनुरोध गरिन्छ,’ सूचनामा उल्लेख छ । महानगरले वातावरण विज्ञ, फोहोरमैला व्यवस्थापन विज्ञ, केमिकल इन्जिनियर, मेकानिकल इन्जिनियर, जैविक विविधता विज्ञरवन्यजन्तु विज्ञ, वातावरण कानुनविद् माग गरेको हो । त्यस्तै काठमाडौं महानगरले मानवशास्त्री, समाजशास्त्री, पुरातत्त्वशास्त्री, अर्थशास्त्री, जनस्वास्थ्यविद्, भूगर्भशास्त्री÷भूगर्भ इन्जिनियर, आर्किटेक्ट, स्ट्रक्चरल इन्जिनियर, अर्बान प्लानर, ऊर्जा विज्ञ, इलेक्ट्रिकल इन्जिनियर, इलेक्ट्रोनिक इन्जिनियर, जियोम्याटिक्स इन्जिनियर मागेको छ । महानगरका अनुसार यी पदहरूमा मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने छ । सम्बन्धित विषयमा कम्तीमा १० वर्ष काम गरी वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्ने कार्यमा कम्तीमा ३ वर्ष वा सोभन्दा बढी कार्य अनुभव भएको वा माथि उल्लिखित विषयमा १० वर्षभन्दा बढी अध्यापन तथा अनुसन्धान गरेको हुनेपर्नेछ । इच्छुक व्यक्तिलाई ७ दिनभित्र आवदेन दिन पनि महानगरले भनेको छ ।
प्राधिकरणले रोक्यो सिम्रिक एयरको सबै उडान
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै उडानमा रोक लगाएको छ । प्राधिकरणलाई तिर्नुपर्ने ४६ लाख रुपैयाँ नतिरेकाले आज शुक्रबारदेखि कम्पनीका सबै हेलिकोप्टरको उडान रोक्ने निर्णय गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । प्राधिकरणको टोलीले गरेको वित्तीय अडिटबाट सिम्रिक एयरको वित्तीय अवस्था पनि कमजोर देखाएकाले सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै उडान रोकिएको उनको भनाइ छ । “सिम्रिक एयरको वित्तीय अवस्थाका कारण पाइलट तथा कर्मचारीको पारिश्रमिक नै नपाउने अवस्था हुनु उडान सुरक्षाका दृष्टिकोणले गम्भीर मानिन्छ, त्यसैले प्राधिकरणले सिम्रिक एयरका सबै हेलिकोप्टरको उडानमा रोक लगाइएको हो”, सूचना अधिकारी भूलले भने । नागरिक उड्डयन निमयावली–२०५८ र विमानस्थल सेवा शूल्क नियमावली–२०७८ बमोजिम सिम्रिक एयरको उडानमा रोक लगाइएको हो । भुलका अनुसार बक्यौता नतिरेसम्म उडान रोकिने र बक्यौता रकम भोलिनै बुझाएको खण्डमा उडान गर्न दिइने छ । सिम्रिक एयरसँग रहेका चार हेलिकोप्टरमध्ये एक बिग्रिएको र बाँकी तीनले उडान भर्दै आएका थिए । कम्पनीसँग २ वटा बेल र २ वटा एएस ३५० हेलिकोप्टर छन् ।रासस