विकासन्युज

नेपाली बैंकर भेषराज खतिवडा म्यानमार सिटिजन्स बैंकको सीईओ नियुक्त

  काठमाडौं । पूर्व नेपाली बैंकर भेषराज खतिवडा म्यानमार सिटिजन्स बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन् । शुक्रबार म्यानमार सिटिजन्स बैंक लिमिटेडले खतिवडालाइ प्रमुख कार्यकारीको जिम्मेवारीमा नियुक्त गरेको हो । यसअघि खतिवडा उक्त बैंकको चिफ अपरेटिङ अफिसर थिए । म्यानमारको बैंकमा जानुअघि खतिवडाले एनआईसी एसिया बैंकमा सहायक प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए भने उनसँग प्रभु बैंकमा चिफ अपरेटिङ अफिसरको काम गरेको अनुभव थियो । उनले प्रभु बैंकमा नै प्रमुख कर्जा अधिकृतको जिम्मेवारी पनि समालेका थिए । उनले नविल बैंकबाट बैंकिङ क्षेत्र करिअर शुरू गरेका थिए ।

माछापुच्छ्रे बैंकले ल्यायो अफलाइन ‘ट्याप एन्ड पे’ सेवा

काठमाडौं । माछापुच्छ्रे बैंकले मोबाइल बैंकिङ एप्लिकेसनमा कन्ट्याक्टलेस अफलाइन ‘ट्याप एन्ड पे’ सेवा सुरु गरेको छ । नेपाली बैंकिङ क्षेत्रमा पहिलोपटक ईएमभी स्ट्यान्डर्डमा आधारित ‘टोकनाइज्ड’ प्रविधिको प्रयोग गरी यस्तो एप्लिकेसन सुरु गरेको बैंकले बताएको छ । टोकनाइजेसनलाई विश्वमै सबैभन्दा बढी सुरक्षित र भरपर्दो प्रविधिका रुपमा लिने गरिन्छ । जसमा ग्राहकको खाता विवरणको सट्टा सिस्टम जेनेरेटेड कोडबाट कारोबार हुने हुँदा ग्राहकको विवरण गोप्य र सुरक्षित रहन्छ । माछापुच्छ्रे बैंकले उक्त सेवा सुरु गरेसँगै बैंकका ग्राहकले तोकिएका निश्चित मर्चेन्टहरुबाट पोसमार्फत कारोबार गर्दा बैंकको मोबाइल बैंकिङ एप्लिकेसन एमबीएल एम–स्मार्ट प्रयोग गरी आफ्नो फोनको माध्यमबाट ट्याप गरी भुक्तानी गर्न सक्नेछन् । अहिलेलाई यो सेवा एनएफसी सपोर्ट गर्ने एन्ड्रोइड मोबाइलबाट प्रयोग गर्न सकिने बैंकले बताएको छ । सेवा प्रयोग गरेबापत ग्राहकलाई कुनै पनि शुल्क नलाग्ने बताइएको छ । बैंकले साझेदारी र सहकार्यलाई आत्मासात गर्दै एफवान सफ्ट इन्टरनेसनल प्रालि, नेपाल क्लियरिङ हाउस र सिटीटेक्स प्रालिसँगको संयुक्त प्रयासमा उक्त सेवा विस्तार गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंकले टोकनाइजेसनलाई विस्तारै अन्य प्रोडक्ट तथा सर्भिसमा पनि प्रयोगमा ल्याउने जानकारी गराएको छ ।

सेन्ट्रल फाइनान्सको वित्तीय साक्षरता र डष्टबिन वितरण कार्यक्रम सम्पन्न

काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेड भैरहवा शाखाले वित्तीय साक्षरता तथा डस्टबिन वितरण कार्यक्रम आयोजना गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डीस्थित मदरसा अरबीया अशरफिया फैजुल इसलाममा उक्त कार्यक्रम आयोजना गरेको फाइनान्सले बताएको छ । कार्यक्रममा संस्थाको भैरहवा शाखा प्रमुख अरुण अधिकारीले मदरसालाई ७ थान डस्टबिन तथा मदरसाका विद्यार्थीहरुलाई एक थान कपि, कलम, २५ थान ज्योमेट्री बक्स वितरण गरेका थिए । शाखा प्रमुख अधिकारीले ‘सेन्ट्रल फाईनान्स लिमिटेडले वित्तीय कारोबारसँगै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रम गर्दै आएको बताए । कार्यक्रममा मदरसाका प्रधानाध्यापक फैजुल्लाह मुसलमान, शिक्षक, विद्यार्थी तथा संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । सेन्ट्रल फाइनान्सले नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाको रुपमा विगत २६ वर्षदेखि बैंकिङ्ग सेवा दिंदै आएको छ । उक्त संस्थाको १९ वटा शाखा र भक्तपुरको सल्लाघारीमा एक एक्सटेन्सन काउन्टर सञ्चालनमा छन् ।

सबैभन्दा बढी कर तिर्ने बैंकको ताज ग्लोबल आइएमईलाई, अनुभवी बैंकर बज्राचार्यको टीमलाई सफलता

काठमाडौं । सरकारलाई सबैभन्दा बढी कर तिर्ने वाणिज्य बैंकमध्ये ग्लोबल आइएमई बैंक अग्रस्थानमा देखिएको छ । गत आर्थिक वर्ष २०८९/८० मा सबै भन्दा धेरै कर दाखिला गर्ने वाणिज्य बैंक ग्लोबल आइएमई बनेको हो । अर्थ मन्त्रालयको स्रोतअनुसार ग्लोबल आइएमई बैंकले गत आवमा ५ अर्ब ४३ करोड रुपैयाँ कर तिरेको हो । यसअघि अन्य बैंक उत्कृष्ट कर तिर्ने बैंक बनेपनि गत वर्ष भने त्यो ताज ग्लोबलले प्राप्त गरेको हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब १७ करोड रुपैयाँ कर दाखिला गरेको थियो । २१ वटा बैक तथा वित्तीय संस्थाहरु मिलेर बनेको ग्लोबल आइएमई बैंक चुक्ता पूँजीको आधारमा सबैभन्दा ठूलो बैंक बनेको छ । अन्य धेरै सूचकमा यो बैंक अगाडि देखिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल बैंकको सञ्चालक समितिको अध्यक्ष छन् भने बैंकको सीईओमा रत्नराज बज्रचार्य छन् । नेपाली बैंकिङमा बज्राचार्य अनुभवी बैंकरका रुपमा परिचित छन् । सीईओ बज्राचार्यसहित उनको नेतृत्वको टीमलाई यो एउटा सफलता पनि हो । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण पनि उत्कृष्ट देखिएको छ । बैंकले गत आवमा ४६.२६ प्रतिशत खुद नाफा बढाएर ७ अर्ब २५ करोड ३४ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ९५ करोड ९२ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत आर्थिक वर्षको असारसम्म बैंकको खुद ब्याज आम्दानी ६६.३७ प्रतिशत बढेर १७ अर्ब ११ करोड ८२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १० अर्ब २८ करोड ९५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्षको असारसम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ९५ करोड ६९ लाख रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ५०.३३ प्रतिशत बढेर ३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ, जगेडा कोष ६४.३२ प्रतिशत बढेर २२ अर्ब ९१ करोड १६ लाख रुपैयाँ पुगेको छ । यस्तै, बैंकको गत वर्ष निक्षेप ५३.९३ प्रतिशत बढेर ४ खर्ब २६ अर्ब ३२ करोड रुपैयाँ र कर्जा लगानी ३८.०९ प्रतिशत बढेर ३ खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात ८.९६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६४.०५ रुपैयाँ छ । बैंकको कस्ट अफ फण्ड ८.१८ प्रतिशत, आधार दर १०.२ प्रतिशत, स्प्रेड दर ४.९६ प्रतिशत र सीडी रेसियो ८३.४७ प्रतिशत छ ।

अमेरिकी सहायता प्राप्त आयोजनाको प्रगति समीक्षा, ग्रामीण पूर्वाधारमा लगानी बढाउनुपर्नेमा जोड

काठमाडौं । नेपालमा अमेरिकी सहायतामा सञ्चालित आयोजनाहरुको प्रगति समीक्षा बैठक सम्पन्न भएको छ । अर्थ मन्त्रालय र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी)को सहभागीतामा शुक्रबार बैठक आयोजना भएको हो । बैठकको उद्घाटन शत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा, स्वास्थ्य, कृषि, विपद् व्यवस्थापन, लोकतन्त्र र सुशासनका क्षेत्रमा अमेरिकाले निरन्तरता दिइरहेको द्विपक्षीय सहयोगको प्रशंसा गरेका छन् । मन्त्री महतले नेपाली जनताको जीविकोपार्जनकालागि ग्रामीण सडक, खानेपानी र सुधारका लागि प्रत्यक्ष सहयोग गर्ने ग्रामीण पूर्वाधार आयोजनामा लगानी गरेर ठोस नतिजा हासिल गर्न अमेरिकी सहयोग परिचालन गर्नुपर्ने बताएका छन् । अमेरिकी राजदूत डीन थम्पसनले विकासका विभिन्न क्षेत्रमा नेपाल–अमेरिकाबीच लामो समयदेखि साझेदारी रहेकोमा सन्तुष्टि व्यक्त गरेका छन् । यूएसएआईडीको सहयोग सम्झौता अन्तर्गत सञ्चालित आयोजनाहरुको उपलब्धि, कोष प्रवाह, स्थानीय संस्थाहरूको उपयोगमा बढेको बजेट आदिका बारेमा समीक्षा र जिम्मेवारीहरू स्पष्ट गर्नका लागि बैठक आयोजना गरिएको बताइएको छ । बैठकले नेपाल अमेरिकाबीच साझेदारीलाई सुदृढ सहयोग मिलेको बताइएको छ । विकास उद्देश्य सम्झौता बाट गत वर्ष नेपाल र अमेरिकाबीच भएको द्विपक्षीय छाता सम्झौतामा पाँच वर्षको अवधिमा ६५ करोड ९० लाख अमेरिकी डलर उपयोग गर्ने उद्देश्यले नेपालको बजेट प्रणालीबाट अमेरिकी सहायता प्रयोग गर्ने व्यवस्था छ । बैठकमा अर्थमन्त्री डा. महत, अर्थसचिव अर्जुनप्रसाद पोखरेल, नेपालका लागि अमेरिकी राजदूत थम्पसन, युएसएआईडीका मिसन निर्देशक सेपिदेह किभनशाद, मन्त्रालयका अधिकारीहरू, युएसएआईडीका पदाधिकारीहरू लगायतको उपस्थिति थियो ।

एसवाई प्यानलका प्रडक्ट पहिलाे पटक भारत निर्यात

काठमाडौं । एसवाई प्यानल कम्पनीले उत्पादन गरेका सामग्री भारत निर्यात हुन थालेको छ । बिहीबारबाट कम्पनीले आफ्ना उत्पादन भारत निर्यात थालेको हो । कम्पनीले वाल र छानाका प्रडक्टहरू निर्यात गरेको एसवाई प्यानल कम्पनीका निर्देशक बिमलराज गोसाईंले बताए । नेपालबाट वाल र छानाका प्यानल विदेश निर्यात गर्ने यो पहिलो कम्पनी हो । कम्पनीले पहिलो चरणमा १५ लाख रुपैयाँको निर्माण सामाग्री निर्यात गरेको गोसाईंले बताए । प्रत्यक्ष विदेशी लगानी मार्फत सन् २०१७ देखि कम्पनीले चितवनमा प्यानल उत्पादन गर्दै आएको छ । ती प्यानलहरु कम खर्चमा सुन्दर घरहरु बनाउन प्रयोग हुन्छन् । कम्पनीले कोरियन प्रविधिको प्रयोग गरी नयाँ र आधुनिक घरहरूका लागि प्यानल बनाउने गरेको निर्देशक गोसाईंले बताए ।

समृद्धि फाइनान्सको सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण

काठमाडौं । समृद्धि फाइनान्सले वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । संस्थाले हरेक महिना कार्यतालिका नै बनाएर सामाजिक उत्तरदायित्वको काम गर्दै आएको छ । त्यसअन्तर्गत साउन महिनामा वृक्षारोपणको तालिका कार्यन्वयन गरेको समृद्धि फाइनान्सले बताएको छ । साउन २६ मा मधुवन, खरेन्द्रपुर शाखाले वृक्षारोपण गरेको छ । साउन २१ गते कसाह शाखाबाट बृक्षारोपण कार्यक्रम आयोजना गरिएको थियो । साउन महिनाभर संस्थाका ७ वटा शाखाहरूबाट वृक्षारोपण कार्यक्रम आयोजना भएको कम्पनीले बताएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।

कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या आयोः मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या देखिएको बताएका छन् । शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कृषिमन्त्री भुसालले यस्तो बताएका हुन् । उनले अहिलेसम्म कृषि नीति नभएकाले सरकारले कृषि क्षेत्रका नीतिगत रुपमा देखिएको समस्याहरुलाई समाधान गर्न कृषि नीति बनाउने तयारी गरेको समेत बताए । तराई मधेसमा केही समय यता देखिएको सुख्खाको कारणले मारमा परेका किसानहरुलाई बाढीले पु¥याएको क्षतीले थप समस्या बनाएको भन्दै उनले बाढीले किसानहरुलाई पु¥याएको क्षतीको लागि सरकारले सहयोग गर्ने विषयमा नीतिगत रूपमा छलफल गरिरहेको बताए । उनले अहिले विश्वव्यापी रूपमा आएको समस्याको कारणले खाद्य संकट आउन सक्ने अवस्था रहेको भन्दै नेपालमा खाद्यसंकट आउन नदिनको लागि सरकार सचेत रहेको बताए । ललिता निवास जग्गा प्रकरणमा पाटीका अध्यक्ष र गौर हत्या काण्डमा पीडितहरुसँग प्रधानमन्त्रीले गरेको सहमतिले गठबन्धनमा समस्या नआउने उनको भनाई छ । उनले पार्टी अध्यक्षको ललिता निवास जग्गा प्रकरणमा संलग्नताका विषयमा सत्यता नरहेको स्पष्ट पारे ।