चिकित्सा शिक्षा ऐन परिमार्जनको माग गर्दै काठमाडौंमा धर्ना
काठमाडौं । चिकित्सा शिक्षा ऐन परिमार्जनको माग गर्दै चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले धर्ना दिएको छ । शनिवार काठमाडौंको माईतीघरमा भेला भइ संघर्ष समितिले धर्ना दिएको हो । उनीहरुले सिटिइभिटीको तत्काल पुनः संरचना गर्नुपर्ने, स्तरोन्नति गर्न बाँकी रहेका संस्थाहरुको तत्काल भर्ना खोल्नुपर्ने, चिकित्सा शिक्षा आयोग र सिटिइभिटीका कारण बन्द भएका नर्सिङ कलेजहरुमा तत्काल भर्ना खोल्न, कलेज बन्द हुँदा रोजगारी खोसिएका पेशाकर्मी तथा कर्मचारीहरुको रोजगारीको ग्यारेन्टी गर्न,छात्रवृत्तिमा विभेद बन्द गरी समानताका आधारमा अवसरको सुनिश्चितता गर्न, नर्सिङ लगायतका पारामेडिकल विषयहरु चिकित्सा शिक्षाबाट अलग गर्न, खुला बजार अर्थनीतिअनुसार मूल्य निर्धारणको व्यवस्था गर्न, हरेक तहका लागि छुट्टै अस्पताल चाहिने कार्यविधि खारेज गर्न, विश्वविद्यालय, प्रतिष्ठानहरु, विषयगत काउन्सिलहरु र सिटिइभिटीको स्वायत्ततामाथि हस्तक्षेप बन्द गर्न माग गरेका छन् । त्यस्तै, उनीहरुले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को मापदण्ड अनुसारका सबै विधा समेटी दरबन्दी कायम गरी तत्काल पदपूर्ति गर्न, स्वास्थ्यकर्मी तथा संस्थाहरुको सुरक्षा, सुरक्षित काम गर्ने वातावरण, वृत्ति विकास तथा उच्च शिक्षा अध्ययनको अवसरको सुनिश्चितता गर्न, देशमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा भएको लगानीको सुरक्षाको सुनिश्चितता गर्न र नेपाललाई मेडिकल, नर्सिङ तथा पारामेडिकल शिक्षाको गन्तव्य बनाउने नीति अख्तियार गर्दै शिक्षण संस्थाहरुमा कोटा प्रणाली खारेज गर्न माग गरेका छन् । प्रदर्शनका क्रममा बोल्दै चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका संयोजक निर्मल सापकोटाले राज्यमा सञ्चालित विभिन्न शिक्षण संस्थामाथि गरेको दमन, उत्पीडन, शिक्षण संस्थामाथि बदनियतपूर्ण तरिकाले कानूनको व्यवस्था विपरित गरिएको धरपकडका बिरुद्धमा आफूहरुको बिरोध प्रदर्शन रहेको बताए । उनले स्वास्थ्यकर्मीको वृत्ति विकासमा राज्य जिम्मेवार नभएको आरोप लगाए । उनले देशको स्वास्थ्य सेवा प्रणाली संकटको अवस्थामा रहेको बताए । ‘नेपालको चिकित्सा शिक्षाको सरोकारलाई लिएर धर्ना दिएका छौँ । नेपालमा २०७५ सालमा चिकित्सा शिक्षा ऐन आएपछि प्राविधिक शिक्षा तथा व्यवसाय तालिम परीक्षा ऐन र चिकित्सा शिक्षा ऐन अन्तर्गत रहेर देशको प्राविधिक शिक्षा र चिकित्सा शिक्षालाई नियमन गर्न बनेको राज्यका निकायहरुले यो राज्यमा सञ्चालित विभिन्न शिक्षण संस्थामाथि गरेको दमन, उत्पीडन, शिक्षण संस्थामाथि बदनियतपूर्ण तरिकाले कानूनको व्यवस्था विपरित गरिएको धरपकड जस्ता काम, नेपालमा वर्षौंदेखि अध्ययन, अध्यापनमा रहेका विषयहरु जसबाट उत्पादित स्वास्थ्य जनशक्तिको पनि आजसम्म पनि लोकसेवामा पद सिर्जना नहुनु, ती स्वास्थ्यकर्मीको वृत्ति विकासमा राज्य जिम्मेवार नहुनु साथै यी समग्र विषयवस्तु र विश्वको स्वास्थ्यजनशक्तिको मागसँगै देशका स्वास्थ्य जनशक्ति विदेशिने क्रमले हाम्रो देशको स्वास्थ्य सेवा प्रणाली संकटको अवस्थामा पुग्दैछ । यसको बिरुद्ध हामीले नागरिकको आन्दोलनका रुपमा शुरु गरेका हौं, भोलि देशव्यापी रुपमा ¥याली कार्यक्रम हुनेछ’, सापकोटाले भने । प्रदर्शनका क्रममा कुराकानी गर्दै चिकित्सा शिक्षाका विद्यार्थीहरु निता कार्की र मुना पुन मगरले एमइसीका कर्मचारीको छानबिन गर्नुपर्ने र रोकिएको भर्ना सुचारु गर्नुपर्ने बताए । उनले नेपालमै बसेर अध्ययन गर्न पाउनुपर्ने वातावरण बनाउनुपर्ने बताए । त्यस्तै, प्रदर्शनमा सहभागी चिकित्सा शिक्षा अध्यापक नर्मदा खनालले आफूहरुले बिसौँ वर्षसम्म नर्सिङ पेशामा काम गरेको तर अचानक कलेजहरु बन्द हुँदा आफ्नो रोजगारी खोसिएको बताइन् । उनले आफू जस्ता हजारौँ चिकित्सा शिक्षा कर्मचारीहरुको रोजगारीको ग्यारेन्टी सरकारले लिनुपर्ने बताइन् । ‘हामीले बिसौँ वर्ष नर्सिङ पेशामा काम गरिसकेका छौँ । तर अहिले आएर यसरी अचानक कलेज बन्द हुँदा धेरै दिदिबहिनीहरु बेरोजगारी भएर बस्नुपर्ने भयो । कलेज बन्द भएपछि कसलाई पढाउने । यो जिम्मेवारी कसले लिने ? हाम्रो माग बन्द भएका निजी कलेजहरु खोल्नुपर्छ । आवश्यक निगरानी गर्नुपर्छ तर बन्द गर्नु समाधान होइन’, उनले भनिन् । उनीहरुले एमइसी गर्दैछ भ्रमको खेती, युवा विद्यार्थी विदेशमा बेची, नेपालमा पढ्दा चिकित्सा ऐन, विदेशमा पढ्दा मन बेचैन, विद्यार्थी बेच्न पाइँदैन, चिकित्सा शिक्षा आयोग चाहिँदैन, गरिखान देउ सरकार, राज्यले नीति बनाउने की बेथिति, प्राविधि शिक्षा मास्न पाइँदैन, विभेदकारी एमइसी चाहिँदैन, के गर्दैछौ सिटिइभिटी, पारी विद्यार्थी फिटिफिटि लगायतका प्लेकार्ड र नारा लगाइ प्रदर्शन गरेका थिए ।
स्थानीयस्तरमा उत्पादित अङ्गुर त्रिपुरासुन्दरी नगरपालिकाले किन्ने
डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका किसानले उत्पादन गरेको अङ्गुर स्थानीय तहले नै खरिद गर्ने भएको छ । त्रिपुराकोट, गल्ली, रल्ली, खदाङ, फोइलगायतका विभिन्न स्थानमा व्यावसायिक रुपमा उत्पादन गरिएको सबै अङ्गुर त्रिपुरासुन्दरी नगरपालिकाले नै खरिद गर्ने निर्णय गरेको नगरप्रमुख जनचन्द्र रोकायले जानकारी दिए। बजारको अभावमा प्रत्येक वर्ष किसानले बेहोर्नुपरेको ठूलो घाटालाई मध्यनजर राख्दै यसवर्ष नगरपालिकाले नै अङ्गुर खरिद गर्ने निर्णय गरेको उनको भनाइ छ । नगरपालिकाले खरिद गरेको अङ्गुरको जुस बनाएर आफैँले बिक्री वितरण गर्ने योजना रहेको उनले सुनाए । नगरपालिकाले अङ्गुरको भुक्तानी प्रतिकिलो ८० का दरले एकमुष्टरुपमा कृषकलाई उपलब्ध गराउने भएकाले यस वर्ष कृषकलाई डोकोमा बोकेर बजार खोज्दै जानुपर्ने बाध्यता हटेको उनको भनाइ छ । नगरपालिका अन्तर्गतका किसानले उत्पादन गरेको अङ्गुर खरिद गर्दा करिब रु दश लाख खर्च हुने अनुमान गरिएको नगरपालिकाले जनाएको छ । अघिल्ला वर्षहरुमा अङ्गुर बिक्री नहुँदा किसानलाई घाटा भएको थियो । वर्षभरि दुःख कष्ट गरेर उत्पादन गरेको अङ्गुर ग्राहक नपाउँदा कम मूल्यमा बेच्नुपर्ने र सित्तैमा बाँड्नुपर्ने अवस्था आउने गरेको थियो । नगरपालिकाले सम्पूर्ण किसानले उत्पादन गरेको अङ्गुर किन्ने निर्णयले आफूहरु धेरै उत्साहित भएको त्रिपुराकोटका अङ्गुर किसान कमल हमालले बताए। यो निर्णयले किसानको मेहनत खेर नजाने उनको भनाइ छ । नगरपालिकालाई फलफूलमा आत्मनिर्भर बनाउने उद्देश्यले पूर्वमेयर स्व ओमबहादुर बुढाले भारतको नासिकबाट अङ्गुर ल्याएर कृषकलाई व्यावसायिक रुपमा खेती गर्न लगाएका थिए ।
स्वच्छ वातावरणको लागि विद्युतीय सवारी साधनको प्रयोग बढाऔँ : मन्त्री बस्नेत
काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास र समुन्नति सम्भव रहेको बताएका छन् । शनिवार नेपाल विद्युत प्राधिकरणको ३८औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित विद्युतीय सवारीसाधनको ¥यालीमा सहभागी भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री बस्नेतले विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास, समुन्नति र स्वच्छ वातावरणको क्षेत्रमा विद्युतप्राधिकरणले महत्वपूर्ण योगदान गरेको उल्लेख गरे । उनले स्वच्छ वातावरणको लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्नेमा जोड दिए । ‘विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास, समुन्नति र स्वच्छ वातावरणको क्षेत्रमा विद्युतप्राधिकरणले महत्वपूर्ण योगदान गरेको छ, स्वच्छ वातावरणको लागि विद्युतीय सवारी साधनको प्रयोगका साथै समपूर्ण विद्युतीय सामग्रीको प्रचारप्रसार गर्नुपर्छ’, मन्त्री बस्नेतले भने । नेपाल विद्युत प्राधिकरणले भदौ १ गते आफ्नो ३८औं वार्षिकोत्सवम मनाउँदै छ । सो अवसरमा प्राधिकरणले सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
रुपन्देहीमा दुई सय सत्रवटा साना उद्योग बन्द
रुपन्देही । गत आर्थिक वर्ष २०७९/८० मा रुपन्देहीमा दुई सय १७ साना उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय भैरहवा रुपन्देहीका अनुसार तीे उद्योगले लगत कट्टा गरेका हुन् । लगत कट्टा गरी बन्द हुनेमा उत्पादनमूलक उद्योगमा ८४, कृषि तथा वनजन्य उद्योगमा १९, सेवामूलक उद्योग ६३ र पर्यटन उद्योगमा ५१ छन् । लोडसेडिङ, बढ्दो आर्थिकमन्दी, बैंकको चर्को ब्याजदरजस्ता कारणले उद्योग बन्द गर्नुपरेको उद्योगीको भनाइ छ । उद्योग बन्द गर्ने धेरैजसो तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर र बुटवल उपमहानगरपालिका उद्योगी छन् । रुपन्देही उद्योग सङ्घका अध्यक्ष माधव पौडेलले औद्योगिक क्षेत्रका रूपमा चिनिएको रुपन्देहीमा एक वर्षमै दुई सयभन्दा धेरै उद्योग बन्द हुँदा यसले यहाँका उद्योगीको अवस्था खराब रहेको स्पष्ट भएको बताए । उनले रुपन्देहीमा कोभिड महामारी, कर्जाको ब्याजदार, आयात तथा निर्यातमा भएका नीतिगत समस्यालगायतले साना उद्योग बन्द गर्नुपर्ने अवस्था आएको बताए । उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वल कसजुले रुपन्देहीमा सेवामूलक उद्योग बन्द हुनुमा विमानस्थल पूर्णरूपमा सञ्चालन हुन नसक्नु, कर्जाको ब्याज र बजारिकरणको समस्या रहेको बताए । उनका अनुसार केही ठूला उद्योग आफ्नो उत्पादन क्षमता २५ देखि ४० प्रतिशतमा सीमित गरी सञ्चालन गर्दै खर्च धानिरहेका छन् । घरेलु तथा साना उद्योग कार्यालय भैरहवाका सूचना अधिकारी नेत्रप्रसाद भुसालका अनुसार रुपन्देहीमा घरेलु अन्तर्गत करिब एक हजार ३० उद्योग दर्ता छन् । जिल्ला घरेलु कार्यालयले अहिलेसम्म एक हजार एक सय नौ उद्योग नवीकरण भएको जनाएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ स्थित ‘आमाको भान्सा’ मसला उद्योग करिब छ महिनादेखि बन्द छ । उद्योगका सञ्चालक ज्ञानेन्द्र बञ्जाडेले बाँकी रहेको कच्चा पदार्थ र मेसिन घरमै लगेर थन्क्याए बस्नुपरेको छ । उनले पछिल्लो समय उद्योगको लागि भारतबाट आउने कच्चा पदार्थ जिराको चरम मूल्यवृद्धि, अवैध तरिकाबाट आउने अन्य मसलासँग प्रतिस्पर्धा गर्न बजारमा सकस भएपछि बन्द गर्नुपरेको दुःख व्यक्त गरे । उनी जस्तै युवा उद्योगी विष्णुप्रसाद घिमिरेले सञ्चालन गरेको आभास चिया उद्योग करिब एक वर्षदेखि बन्द छ । उद्योगले रुपन्देहीको तिलोत्तमाकै चिया ब्रान्डिङ गरेर बजारमा पुर्याउँदै आएको थियो ।
सरकारसँग तथ्याङ्कको योजना छैन : तथ्याङ्क विज्ञ दिक्षित
काठमाडौं । अर्थशास्त्री तथा तथ्याङ्क विज्ञ आशुतोषमणि दिक्षितले सरकारसँग तथ्याङ्कको योजना नभएको बताएका छन् । तथ्याङ्क विज्ञ दिक्षितले राज्यको नीति तथा योजना बनाउन तथ्याङ्क आवश्यक भएपनि तथ्याङ्कको संकलन, प्रशोधन, प्रकाशन, विविधिकरण र समयसापेक्षीकरण गर्ने योजना नभएको बताएका हुन् । विज्ञ दिक्षितले सरकारलाई योजना तथा नीति बनाउन तथ्याङ्क आवश्यक भएपनि समयमा तथ्याङ्क संकलन गर्ने विषय प्राथमिकतामा नपरेको उल्लेख गरे । उनले सरकारका विभिन्न निकायहरुले संकलन गरेका तथ्याङ्कलाई समेत समय सापेक्षीकरण बनाउन नसकेको बताए । ‘राज्यलाई योजना बनाउँदा तथ्याङ्क चाहिन्छ । तर तथ्याङ्कको लागि राज्यसँग योजना छैन । योजना बनाउने बेलामा राज्यका निकायहरुले तथ्याङ्क खोज्ने गर्छन् । तथ्याङ्क पाएपछि तथ्याङ्कलाई कसरी समय सापेक्ष बनाउने र समयमा तथ्याङ्क संकलन गर्नेकुरा प्राथमिकतामा आउँदैन’, उनले भने । उनले समयमा तथ्याङ्क संकलन गर्ने विषय प्राथमिकता नपर्दा राज्यले बनाएका नीति तथा योजनाहरु कार्यान्वयनमा समस्या आउने गरेको बताए । उनले तथ्याङ्क ऐन २०७९ ले राष्ट्रिय तथ्याङ्क कार्यालयलाई प्रधानमन्त्री कार्यालय मातहतमा ल्याएर बलियो संयन्त्र बनाउन खोजेको बताए । उनले राष्ट्रिय तथ्याङ्क कार्यालयले राज्यका विभिन्न निकायहरुले संकलन गरेको तथ्याङ्कलाई एकीकृत गर्ने कार्यविधि बनाउन आवश्यक रहेको बताए । दिक्षितले शुक्रवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै विभिन्न मन्त्रालय, विभाग,प्रदेश सरकार,स्थानीय सरकारले संकलन गरेका तथ्याङ्कहरुलाई एकीकृत रुपमा एउटै माध्यमबाट एकरुपकता साथ बाहिर ल्याउनुपर्ने बताए । उनले सरकारका निकायहरुले संकलन गरेका तथ्याङ्कहरु फरक–फरक हुने भएकाले राष्ट्रिय तथ्याङ्क कार्यालयले कार्यविधि बनाएर गएमात्रै एकरुपता आउने बताए । ‘अहिले विभिन्न निकायहरुले कागजी ढड्डामा वा सूचना केन्द्रमा राखेको होला । भविष्यको लागि राष्ट्रिय तथ्याङ्क कार्यालयले एउटा गाइड लाइन बनाउनु प¥यो । यो निकायले संकलन गरेको तथ्याङ्कलाई यसरी प्रयोग गर्ने, स्थानीय तहले संकलन गरेकोलाई यसरी गर्ने र संकलन भएका तथ्याङ्कलाई हार्मनाइज गराउने हार्मनिज कोर्ड हुन्छ । त्यो कोर्डले विभिन्न निकायहरुमा भएको तथ्याङ्कलाई एकरुपता ल्याउँछ । म्याथलोजिकल कन्सिसटेन्सी भएपछि विभिन्न निकायहरुमा भएको तथ्याङ्कलाई एक अर्कासँग कुरा गर्नसक्यो भने आवश्यक भएको बेला तथ्याङ्क पाउँछ । त्यसको योजना बनाएर जानुपर्छ’, उनले भने । उनले राष्ट्रिय तथ्याङ्क कार्यालय वा राष्ट्रिय योजना आयोगले तथ्याङ्क संकलन क्यालेण्डर बनाउन आवश्यक रहेको बताए । उनले सरकारले तथ्याङ्क सम्बन्धि काम गर्ने जनशक्ति र प्रयोगकर्ता विश्लेषकहरुको तथ्याङ्क सम्बन्धि क्षमता विकास गर्नुपर्ने बताए । उनले तथ्याङ्कको उत्पादनसँगै धेरै प्रयोग हुन आवश्यक रहेको बताए । नेपालमा भएको समग्र तथ्याङ्क प्रणाली विस्तारै विकास हुने विश्वास व्यक्त गरे ।
कालीमाटी बजारमा गोलभेँडाको होलसेल मूल्य एक सय पचास रुपैयाँ किलो
काठमाडौं । काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा एक सय ५० रुपैयाँ प्रतिकेजीमा गोलभेँडाको होलसेल बिक्री भइरहेको छ । कालीमाटी बजारले शनिबार ठूलो गोलभेँडाको होलसेल मूल्य अधिकतम एक सय ५० रुपैयाँ तोकेको हो । बजारले सार्वजनिक गरेको मूल्यसूची अनुसार सानो गोलभेँडा प्रतिकेजी अधिकतम ६५ र सानो टनेलको गोलभेँडा अधिकतम ८५ रुपैयाँमा बिक्री भइरहेको छ । त्यस्तै, गाजर एक सय १०, घिउ सिमी(राजमा) एक सय २६ र कुरिलो पाँच सय ५० रुपैयाँ अधिकतम होलसेल मूल्यमा बिक्री भइरहेको छ ।
तनहुँमा महिलाको नाममा जग्गा पास गर्ने बढे
फाइल फोटो तनहुँ । गत आर्थिक वर्ष २०७९/८० मा मालपोत कार्यालय तनहुँमा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढेको छ । गत आवमा कूल दुई हजार आठ सय चौरासी वटा लिखत पारित भएको महिलाका नाममा मात्रै दुई हजार छ सय २८ पास भएको कार्यालयले जनाएको छ । गत आवमा जग्गा रजिष्टे«सन पास वापत २४ लाख चौरासी हजार छ सय दुई राजस्वमा छुट दिएको कार्यालयका सुब्बा एवं सूचना अधिकारी टीकाराम शर्मा घोरासाइनेले जानकारी दिए । महिला, दलित तथा जनजाति, सहिद परिवार, अपाङ्गता भएका, ज्येष्ठ नागरिकको नाममा जग्गा पास गर्दा २५ प्रतिशत र कृषि क्षेत्रमा ५० प्रतिशत छुटको व्यवस्था छ । ग्रामीण क्षेत्रका महिलाको तुलनामा सहरी महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या दोब्बर बढी रहेको तथ्याङ्कले देखाएको छ । ग्रामीण क्षेत्रका नौ सय सत्तरी र सहरी क्षेत्रका एक हजार नौ सय १४ महिलाले आफ्नो नाममा जग्गा पास गरेको कार्यालयको भनाइ छ । महिलाका नाममा जग्गा पास गर्दा २५ प्रतिशत राजस्वमा छुट पाउने भएपछि महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढ्दै गएको उनले बताए । मालपोत कार्यालय तनहुँले गत आवमा कूल ३० करोड ८४ लाख तीन हजार ५४ राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार यो अघिल्लो आवको तुलनामा १३ करोड ८२ लाख ७४ हजार छ सय दश कम हो । त्यसैगरी आव २०७८/७९ मा चार हजार पाँच सय ४२ लिखत पारित हुँदा चार करोड ५५ लाख तीन हजार पाँच सय २५ छुट भएको थियो । सो आवमा ४४ करोड ६८ लाख चार हजार छ सय ६४ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख चिरञ्जीवी पौडेलले जानकारी दिए ।
तीन दिन देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेकाले आगामी तीन दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसनुको न्यून चापीय रेखा नेपाल नजिकसँगै भारतको विहारको उत्तर पश्चिम भू(भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेकाले आगामी केही दिनसम्म मनसुनको न्यून चापीय रेखा अझै नेपाल नजिक सर्ने सम्भावना छ । जसका कारण आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षा तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ । महाशाखाले विशेष मनसुन बुलेटिन जारी गर्दै शनिबारदेखि सोमबारसम्म देशको पहाडी भू(भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । साथै, सहरी क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन तथा सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध गरिएको छ । भोलि आइतबार पनि देशभर पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुको साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ । त्यसैगरी साउन २९ गते सोमबार देशभर सामान्यदेखि पूर्णतया बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको विशेष मनसुन बुलेटिनमा उल्लेख छ ।