उपत्यकाबाट ५२ लाख ७५ हजार नक्कली नोटसहित नौ जना पक्राउ
काठमाडौं । काठमाडौं र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोटसहित नौ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरले शुक्रवार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । साउन २५ गते बिहीबार लु १ प ५ नम्बरको पर्यटक बसलाई नाकढुंगा चेकपोष्टमा चेकजाँच गर्ने क्रममा डिक्कीमा चाउचाउको कार्टुनमा प्याक गरी राखिएको अवस्थामा सो नक्कली नोट बरामद गरिएको परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । त्यसपछि सो बसका चालक र सहचालकलाई नियन्त्रणमा लिएर सोधुपुछ गर्दै जाने क्रममा बालाजु बसपार्क र भक्तपुरको बुढाथोकी गाउँबाट थप १७ लाख दुई हजार रुपैँया हजार दरका नक्कली नोट बरामद गरिएको थियो । एसएसपी कार्कीले भने, ‘उनीहरुबाट ५२ लाख ७५ हजार रुपैयाँ नक्कली नोट बरामद गरिएको छ । उनीहरुलाई मुद्रा कसुरमा मुद्दा दायर गरिनेछ ।’ सिन्धुपाल्चोकका अर्जुन सुवेदीको डेराबाट सो नक्कली नोट बरामद गरिएको थियो । सो नक्कली नोटको कारोबारमा सिन्धुपाल्चोकका अर्जुन सुवेदी, सुशील कार्की, मिलन भण्डारी, शिव भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र नवलपरासीकी पार्वती नेपाली रहेकी छन् । उनीहरुलाई मुद्रा कसुर अन्तरगत मुद्दा चलाउने पनि प्रहरीले जनाएको छ ।
झोलुङ्गे पुलले बागलुङमा पर्यटक बढाउँदै, दैनिक १ हजार पर्यटक घुम्न आउने
ढोरपाटन । हिउँद होस् या बर्खा । बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुल खाली नै हुँदैन । कालिगण्डकी नदिमाथि निर्माण भएको विश्वकै लामो भनेर जिकिर गरिएको झोलुङ्गे पुलमा पछिल्लो समय दैनिक पर्यटकको आगमन बढ्दै बढ्न थालेको छ । पुल सञ्चालनमा आएको तीन वर्ष भयो । यो अवधिमा लाख बढी आन्तरिक तथा बाह्य पर्यटक यहाँ आएको स्थानीयवासीको अनुमान छ । कोभिड–१९ सङ्क्रमणका बेला सञ्चालनमा आएको पुल अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । नजिकै प्रसिद्ध बागलुङ कालिका मन्दिर, छेउमै कालीगण्डकी नदी, केहीमाथि धार्मिक पर्यटकीयस्थल पञ्चकोट र शालिग्राम सङ्ग्रहालय रहेको हुँदा पछिल्लो समय बागलुङमा धार्मिक पर्यटकको आवागमन बढेको हो । तीन वर्ष अगाडिसम्म यहाँ आउने पर्यटकको सङ्ख्या साह्रै न्यून थियो तर अहिले हरेक दिन बागलुङ बजारमा पर्यटकको चहलपहल बढेको छ । पहिले अधिकांश पर्यटक बागलुङ कालिका मन्दिरसम्म आएर फर्कने गर्थे भने अहिले लामो झोलुङ्गे पुलले गर्दा बजार हुँदै पञ्चकोटसम्म पु¥याउने गरेको छ । पुल सञ्चालनमा आएपछि मुस्ताङको मुक्तिनाथ र म्याग्दीको गलेश्वर जाने पर्यटक पनि बागलुङमा आउन थालेका छन् । झोलुङ्गे पुलका कारण बागलुङसहित पर्वत र म्याग्दीमा पनि पर्यटकको सङ्ख्या बढ्दै गएको छ । अहिले लामो पुलमा बालबालिकादेखि युवायुवती र बूढापाकाको भीड हुने गरेको छ । पुलमा फोटो खिच्ने, टिकटक बनाउनेको सङ्ख्या पनि निकै ठूलो देखिन्छ । अझ बिदाको दिन सयौँले पुल अवलोकनका साथै वारपार गर्ने गरेका छन् । हरेक दिन जिल्लामा पर्यटकको सङ्ख्या बढ्दै गएपछि कोभिडका कारण थला परेका जिल्लाका होटल व्यवसायीलाई यतिबेला भ्याइनभ्याइ छ । पर्यटकीय क्षेत्रको तीव्र प्रचार र सही व्यवस्थापन हुँदा पर्यटकको भित्रिने सङ्ख्या पनि बढ्दै गएको हो । पहिले यहाँ भारतीय पर्यटक निकै कम आउने गरेकामा अहिले दैनिकजसो पुल तर्नका लागि आउने गरेका छन् । भारतको चण्डिगढबाट घुम्न आएका पोकस चौधरीले यहाँको वातावरण, मन्दिर र लामो झोलुङ्गे पुल निकै रमणीय रहेको बताए । परिवारसहित मुक्तिनाथ दर्शनका लागि आएका उनले बागलुङका बारेमा धेरै पटक सुनेको हुँदा यसपालि घुम्न आएको बताए । ‘मुक्तिनाथ तीन पटकसम्म आएँ, मुक्तिनाथ जाने बेला गाडीबाट आकाशमाथि झोलुङ्गे पुल देखेको थिएँ, यहाँ आउन पहिलेदेखि नै मन लागेको थियो, विभिन्न कारणले आउन पाइएको थिएन, अहिले परिवारसहित आएको बेला पुल तरियो, कालिका मन्दिरको दर्शन पनि ग¥यौँ’, चौधरीले भने, ‘अहिले पनि हतार भयो, अर्को समय आउँदा अरु धेरै ठाउँ घुमेर जाने छौँ, यो ठाउँ साँच्चिकै ‘एमेजिङ’ रहेछ, धेरै खुसी लाग्यो ।’ कपिलवस्तु चन्द्रौटाका नविन बेलवासेले यहाँको लामो झोलुङ्गे पुलसँगै पञ्चकोट, शालिग्राम सङ्ग्रहालय र बागलुङ कालिका सामाजिक सञ्जालमा देखेर नै घुम्न आएको बताए । यहाँका स्थल भिडियो युट्यु र फेसबुक पेजमा धेरै भाइरल भएको भन्दै त्यसले धेरैलाई आकर्षित गरेको उनको भनाइ थियो । आफूहरु सात जनाको समूह बनाएर यहाँ आएको र धार्मिक तथा पर्यटकीय ठाउँको भ्रमण गरेर फर्किने बेलवासले बताए । उनले भने, ‘यसभन्दा अगाडि बञ्जीजम्पमा आएको थिए, अहिले यहाँसम्म आएका छौँ, गर्मी बिदाको मेसो मिलाएर आएको बेला ढोरपाटनसम्म पुग्ने योजना छ, यो पुल तर्ने ठूलो रहर थियो, तरियो, बीचमा पुग्दा डर पनि लाग्दो रैछ रमाइलो पनि भयो, यति लामो पुल अहिलेसम्म देखेको थिएन, हाम्रोतिर त छोटोछोटो मात्रै पुल बनेका छन् ।’ पछिल्लो समय अहिलेसम्मकै धेरै पर्यटक बागलुङ आउने गरेको होटल व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले बताए । उनले लामो पुलले गर्दा बागलुङमा पर्यटक बढेको र होटल व्यवसाय पनि फस्टाएको बताए । पहिले कालिकामा आउने पर्यटकमध्ये १० प्रतिशत मात्रै बजारमा आउने गरेकामा अहिले ५० प्रतिशत बढी आउन थालेको अध्यक्ष चोखालको भनाइ थियो । अहिले अधिकांश पर्यटक पुल नै हेर्न र पार तर्न आउने गरेको देखिन्छ । ‘अहिले होटल व्यवासय राम्रो भईरहेको छ, होटलमा आउने पाहुनाको संङ्ख्या पनि बढीराखेको छ, हामीहरुले कस्तो सेवा दिएका छौँ, उनीहरुले मूल्याङ्कन गर्ने विषय हो, अहिले पर्यटक बढ्नुको मुख्य कारण भनेकै लामो झोलुङ्गे पुल हो’, उनले भने, ‘पुलको व्यापकरुपमा प्रचार भएकै कारण पर्यटक बढेका हुन्, अहिले अन्य पर्यटकीय ठाउँको पनि विकास भयो, त्यसले गर्दा पनि होला दिनप्रति दिन बागलुङमा आउनेको सङ्ख्या बढिरहेको पाएका छौँ ।’ मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ र म्याग्दीको गलेश्वरको प्रवेशद्वारमै लामो पुल हुँदा दैनिक एक हजार बढी पर्यटक यहाँ घुम्न आउने अध्यक्ष चोखालको भनाइ थियो । पुल हेर्न आएकामध्ये डेढ सय बढी पर्यटक बागलुङका होटलमा बास बस्ने गरेका छन् । अहिले राति घुम्न आउने पर्यटकलाई लक्षित गरी विद्युतीय बत्तीसमेत जडान गरिएको छ । ‘सिङ्गल स्पान’ मा संसारकै लामो भनिएको यो पुल पाँच सय ६७ मिटर लामो छ । विसं २०७७ देखि सञ्चालनमा आएको यो पुल बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ पाङसँग जोडिएको छ । पुल करिब नौ करोड २५ लाखमा सम्पन्न भएको थियो । पुल आसपासमा अहिले व्यावसायिक प्रयोजनका लागि पूर्वाधार निर्माण भइरहेका छन् । रासस
मोटरसाइकल र स्कुटी चोरीमा संलग्न ६ जना पक्राउ
दाङ । दाङको तुलसीपुर प्रहरीले मोटरसाइकल र स्कुटी चोरी गर्ने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । विभिन्न मितिमा मोटरसाइकल र स्कुटी चोरी गर्ने छ जनालाई पक्राउ गरी तुलसीपुर इलाका प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको हो । मोटरसाइकल चोरी गर्ने तीन र स्कुटी चोरी गर्ने तीन जनालाई विभिन्न समय र स्थानबाट पक्राउ गरिएको उक्तकार्यालयका प्रमुख प्रहरी तथा नायब प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । मोटरसाइकल चोरीमा पक्राउ पर्नेमा बाँके जिल्ला बैजनाथ गाउँपालिका–४ बस्ने १९ वर्षीय विशाल बुढा, सोही ठाउँ बस्ने २८ वर्षीय प्रशान्त खड्का, जिल्ला सल्यान बनगाड कुपिन्डे नगरपालिका–१० थापाचौर घर भएका २८ वर्षीय मोहन भन्ने मुस्कान घर्ती रहेका छन् । मुस्कान घर्तीको योजनामा मोटरसाइकल चोरी गरेको भन्ने खुलेपछि अनुसन्धान गर्दै जाँदा सल्यान शारदा नगरपालिका–९ सुनचौर भन्ने स्थानमा लुकाई राखेको अवस्थामा सल्यान जिल्ला प्रहरी कार्यालयको सहयोगमा रा७प ३०८४ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएकोे नायब प्रहरी उपरीक्षक मल्लले बताए । यसैबीच स्कुटी चोरी गर्ने तीन जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१३ घर भई हाल वडा नं ५ बस्ने १६ वर्षीय सङ्केत, तुलसीपुर उपमहानगरपालिका–५ बस्ने २८ वर्षीय सन्तोष परियार र दङ्गीशरण गाउँपालिका वडा नं ६ बस्ने १९ वर्षीय नविन परियार रहेका छन् । यही साउन २० गते तुलसीपुर उपमहानगरपालिका– ९ स्थित सोही ठाउँ बस्ने लिना कठायतको रा८प ८४२ नम्बरको स्कुटी आफ्नै घरमा राखेको अवस्थामा च्यानल गेटको ताला फोडेर चोरी गरिएको थियो । भोलिपल्टै निजले दङ्गीशरण गाउँपालिका–६ बस्ने १९ वर्षीय नविन परियारलाई रु दस हजारमा उक्त स्कुटी बिक्री गरेका थिए । नविनले स्कुटी खरिद गरेर घरको कोठामा लुकाइछिपाइ राखेको अवस्था प्रहरीले बरामद गरेको थियो । पक्राउ परेका उनीहरूलाई चोरीसम्बन्धी कसुर मुद्दा दर्ता गराएर जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान भइरहेको प्रमुख मल्लले जानकारी दिए । रासस
रास्वपाले संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने घोषणा गरेका छन् । शुक्रबार संसद भवनअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सभापति रवि लामिछानेले सो बारेमा जानकारी दिएका हुन् । उनले लोकतान्त्रिक विधि अपनाएर संसदीय अभ्यासभित्र रहेर संसद सुचारु गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरेको पनि बताए । संसद नचलेको अवस्थामा कुनैपनि बेलामा हामीले हाजिरि मात्र गरेर तलव सुविधा लिनु उचित नरहेको ठानेर यसअघि अवरुद्ध भएको संसद बैठक र अब हुने संसद अवरुद्ध बैठकबाट आउने सेवासुविधा नलिने जानकारी दिए । ‘हामीले सम्माननीय सभामुखज्युलाई संसद सुचारु गर्नको निमित्त र लोकतान्त्रिक विधि अपनाएर संसदीय अभ्यासभित्र रहेर हामीले औपचारिक रुपमा पत्र दिएका छौँ । काम नगर्दा नेपाली जनताले तिरेको करको पैसा लिनेकुरा स्वीकार्य छैन । संसद अवरुद्ध भएको बेलामा प्राप्त हुने तलव सुविधा अघिका दिनका पनि काटिदिन आग्रह गरेका छौँ’, उनले भने । सभापति लामिछानेले सुन प्रकरणबारे आफूले गरेको संकेतलाई केलाएर हेर्ने हो भने नयाँ तथ्यहरु फेला पर्ने बताए ।
नयाँ प्याकेजिङ र स्वादका साथ सिग्नेचरका व्हिस्की बजारमा
काठमाडौं । सन् १९९४ मा स्थापित बिश्व प्रसिद्ध व्हिस्की ब्रान्ड सिग्नेचरका दुई व्हिस्की, सिग्नेचर प्रिमियर व्हिस्की र सिग्नेचर रेयर व्हिस्की नयाँ प्याकेजिङ र बोटलिङका साथ नेपाली बजारमा उपलब्ध भएका छन् । सिग्नेचर कम्पनीका अन्य अरु पेयहरु नेपाल लिकर्सको मातहतमा नेपाली बजारमा बिगतका कैयौँ बर्ष देखि बिक्री हुँदै आएका छन् र प्रयोगकर्ताका मनमा बस्न सफल भएका छन् । सिग्नेचर पेयलाई नेपाली बजारमा उपलब्ध गराउने नेपाल लिकर्सले यस पल्ट भने नयाँ प्याकेजिङ , बोटलिङ र स्वादका साथ दुई व्हिस्कीलाई बजारमा भित्राएको हो । नेपाल लिकर्सले आफ्नो स्वामित्वमा विभिन्न पेयहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ, जस मध्ये एन्टिक्यटुी ब्लू व्हिस्की, सिग्नेचर प्रिमियर व्हिस्की , सिग्नेचर रेयर व्हिस्की, रोयल च्यालेन्ज व्हिस्की, स्मिरनफ भोड्का , ब्लूरिब्यान्ड जिन र मिस्टर डोवेल नम्बर १ लक्जरी व्हिस्की आदि पर्दछन् । केहि समय अघि नेपाल लिकर्सले बजारमा ल्याएको स्मिरनफ भोड्का पनि नेपाली बजारमा उत्तिकै लोकप्रिय बन्दै गएको छ । यो पटक भने संसारकै परिचित ब्राण्ड सिग्नेचरका दुई उत्पादनलाई नयाँ प्याकेजिङका साथ नेपाली बजारमा भित्राएको हो । हालसालै नयाँ प्याकेजिङ, बोटलिङ र स्वादमा भित्रिएका दुई पेय, सिग्नेचर प्रिमियर व्हिस्की र सिग्नेचर रेयर व्हिस्की, बजारमा एक लिटर , ७५०, ३७५ र १८० एमएलका प्याकहरुमा उपलब्ध छन् ।
थप ३ ब्रोकर कम्पनीले पाए ब्रोकर लाइसेन्स
काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ३ ब्रोकर कम्पनीलाई लाइसेन्स प्रदान गरेको छ । बोर्डको गत साउन २४ गतेको निर्णय अुनसार थप ३ कम्पनीलाई लाइसेन्स दिने निर्णय गेको प्रवक्ता मुक्ति श्रेष्ठले जानकारी दिए । उनका अनुसार जे.बि.एन.एल. सेक्युरिटिज लिमिटेड, आर.वि.वि. सेक्युरिटिज कम्पनी लिमिटेड, सि.वि.आई.एल. सेक्युरिटिज लिमिटेडलाई लाइसेन्स प्रदान गरेको हो ।
वर्षाका कारण चीनमा २९ जनाको मृत्यु, १६ बेपत्ता
एजेन्सी । उत्तरी चीनको हेबेई प्रान्तमा भर्खरै आएको भीषण वर्षाका कारण उत्पन्न विपद्मा परी बिहीबारसम्म २९ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् । स्थानीय अधिकारीहरूले शुक्रबार जानकारी दिए अनुसार अविरल वर्षा र भीषण बाढीले प्रदेशका ११० जिल्लाका विभिन्न शहरहरूमा व्यापक क्षति पु¥याएको छ । शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विपद् प्रभावित क्षेत्रमा यातायात, विद्युत, सञ्चार, खानेपानीलगायतका पूर्वाधारमा क्षति पुगेको छ । यो सँगै प्रान्तले ९५.८१ बिलियन युआन (लगभग १३.३८ बिलियन अमेरिकी डलर) को प्रत्यक्ष आर्थिक क्षति बेहोरेको बताइएको छ । साथै प्रकोप सृजित क्षतिको समग्र मूल्याङ्कन र प्रमाणीकरण कार्य भइरहेको पनि बताइएको छ । बिहीबारसम्म बाढीबाट करिब ३० लाख ८९ हजार मानिस प्रभावित भएका छन् । साथै कुल ३१९,७०० हेक्टर बाली प्रभावित भएको छ भने १ लाख ३१ हजार ५०० हेक्टर क्षेत्रफल खेतियोग्य भूमिमा क्षति पुगेको छ । प्रकोपबाट ४० हजार ९०० घरहरू भत्किएका छन् भने १,५५,५०० घरहरू नराम्ररी क्षतिग्रस्त भएका छन्। शिशु शिक्षालयसहित १ हजार १ सय ५० प्राथमिक र माध्यमिक विद्यालयमा क्षति पुगेको छ । रासस
डाक्टर पुनम थापा नक्कली प्रमाण पत्रको आरोपमा पक्राउ
काठमाडौं । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा एक चिकित्सक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनलाई काठकाडौँबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा डा पुनम थापा रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार थापालाई आज काठमाडौँबाट पक्राउ गरिएको हो । नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध ब्यूरोले अपरेसन थालेको छ । प्रमाणपत्र कीर्ते प्रकरणमा थापासहित पक्राउ पर्नेको सङ्ख्या आठ पुगेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले जनाएको छ । यसअघि कांग्रेसका सांसद सुनील शर्मासहित सात जनालाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ ।