एभरेष्ट बैंकले ल्यायो चाडपर्व लक्षित स्किम, १०.७४ प्रतिशतको स्थिर ब्याजदरमा घर कर्जा
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ठूला चाडपर्वहरु तीज, दशैं, तिहार र छठको अवसरमा ‘एभरेष्ट फेस्टिभ बोनान्जा २०८०’ को घोषणा गरेको छ । भाद्र १ गतेदेखि लागू हुने यस अफरमा न्युन ब्याजदरमा कर्जा सुविधा उपलब्ध हुनुका साथै सेवा शुल्कमा समेत विशेष छुटको व्यवस्था रहेको बैंकले बताएको छ । बैंकका नायब महाप्रबन्धक गौरव कुमारका अनुसार यस अफर अन्तर्गत घर कर्जा १०.७४ प्रतिशतको स्थिर व्याजदरबाट शुरु हुनुका साथै घर निर्माणका लागि १०० प्रतिशतसम्म बैंक लगानी रहने छ । सवारी कर्जा १०.९९ प्रतिशतको स्थिर ब्याजदरमा प्राप्त गर्नुका साथै विद्युतीय सवारीमा ८० प्रतिशतसम्म बैंक फाइनान्स रहने छ । साथै व्याक्तिगत तथा संस्थागत प्रयोजनार्थ आकर्षक ब्याजदरमा शेयर कर्जाको समेत उपभोग गर्न सकिने बैंकले बताएको छ । तीन महिनाको लागि लागु हुने ‘एभरेष्ट फेस्टिभ बोनान्जा २०८०’ मा कृषि साना तथा मझौला कर्जा आधार दर र १.५० प्रतिशतको प्रिमियम दरमा उपभोग गर्न सकिने छ ।
गरिमा विकास बैंकले ल्यायो ११.९९ प्रतिशत फिक्स्ड ब्याज दरमा सरल घर कर्जा
काठमाडौं । गरिमा विकास बैंकले ११.९९ प्रतिशत फिक्स्ड ब्याज दरमा सरल घर कर्जा र सरल एसएमई आवधिक कर्जा योजना ल्याएको छ । हरेक नेपालीको ‘आफ्नै घर–आफ्नै व्यवसाय’को सपनालाई साकार पार्ने उद्देश्यसहित बैंकले फिक्स्ड कर्जा योजना सार्वजनिक गरेको हो । कर्जासम्बन्धी सम्पूर्ण कागजात पेस गरेको २ कार्यदिनभित्र स्वीकृत हुने गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमर्ई कर्जाको ब्याज ७ वर्षसम्म ११.९९ प्रतिशत निश्चित रहने बैंकले बताएको छ । हाल गरिमा विकास बैंकले देशभरका १२१ शाखा कार्यालय, ५० एटीएम र डिजिटल बैंकिङमार्फत सेवा प्रदान गर्दै आएको छ ।
सिटिजन्स बैंकका ग्राहकले हार्ड रक क्याफेमा १५ प्रतिशत छुट पाउने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्गस्थित हार्ड रक क्याफे बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । अब सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले हार्ड रक क्याफेमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस्तो सहकार्यले बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास गरिएको बैंकले बताएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न यस्ता सुविधाहरु ल्याउने गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी १८८ वटा शाखा, १४७ वटा एटिएम ३ विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ३१ हजार भन्दा बढी ग्राहकहरुलाई बैंकिङ सुविधा दिइरहेको बताएको छ ।
मर्जरमा जाने लघुवित्तलाई राष्ट्र बैंकको राहत, लाभांश वितरणमा भने कडाइ
काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरमा सामेल हुने लघुवित्तलाई राहतको कार्यक्रम ल्याएको छ । एक आपसमा गाभ्ने÷गाभिने संस्थाका कारण एकल ग्राहक कर्जा सीमा नाघेको ऋणीको कर्जालाई साविक बमोजिमको भुक्तानी तालिका अनुसार तोकिएको सीमा भित्र ल्याउन सकिने सुविधा राष्ट्र बैंकले दिएको हो । यस्तै, राष्ट्र बैंकले लाभांश वितरणमा भने कडाइ गरेको छ । वार्षिक १५ प्रतिशत भन्दा बढी लाभांस (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशत साधारण जगेडा कोषमा, ३५ प्रतिशत ग्राहक संरक्षण कोषमा तथा १० प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्याउनुपर्ने व्यवस्था मध्ये १० प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्याउनुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था एकीकृत कारोबार शुरु गरेको मितिले एक वर्षसम्म छुट दिने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । यसअिघ वार्षिक २० प्रतिशत भन्दा बढी लाभांस (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको २५ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्थामा २०८० असार मसान्त सम्मको लागि छुट प्रदान गर्ने व्यवस्था थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका सबैकाे मुद्दा एकै साथ हेर्न उच्च अदालतको आदेश
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाएका सबै अभियुक्तहरूको मुद्दा एक साथ राखेर हेर्न उच्च अदालत पाटनले आदेश दिएको छ । न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासले थुनामा रहेका १० जनाको पुनरावेदनमाथि सुनुवाई गर्दै ‘लगाउका मुद्दा साथै राख्न’ आदेश दिएको हो । निलम्बित सचिव टेकनारायण पाण्डे तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका पूर्व सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, नरेन्द्र केसी, सानु भण्डारी, आङटावा शेर्पा, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मिया र गोविन्द चौधरीको निवेदनमाथि बिहीवार उच्च अदालतमा बिहीबार सुनुवाइ भएको थियो । काठमाडौं जिल्ला अदालतले थुनामै राखी मुद्दाको पुर्पक्ष गर्ने भनी दिएको आदेशविरुद्ध उनीहरू उच्च अदालत पुगेका थिए । पूर्वमन्त्रीद्वय टोपबहादुर रायमाझी र बालकृष्ण खाँणको निवेदनमा भने अन्तिम सुनुवाइ शुरू भएको छैन ।
क्यापिटल म्याक्स सेक्युरिटिज र सनराईज क्यापिटलबीच पोर्टफोलियो व्यवस्थापनको सम्झौता
काठमाडौं । क्यापिटल म्याक्स सेक्युरिटिजले सनराईज क्यापिटलसँग पोर्टफोलियो व्यवस्थापनको सम्झौता गरेको छ। यस सम्झौता अनुरुप अब हरेक क्यापिटल म्याक्सका ग्राहकहरुलाई सनराईज क्यापिटलले पोर्टफोलियो व्यवस्थापनमा ५० प्रतिशत छुट दिनेछ। यसरी भारी छुट दिएर पोर्टफोलियो व्यवस्थापन गरीदिने सो सम्झौता अनुरुप सनराईज क्यापिटलले दक्ष तथा अनुभवि जनशक्ति प्रयोग गर्ने र ८ प्रतिशत सम्मको मुनाफा हरेक वर्ष नभएसम्म कुनैपनि पर्फमेन्स शुल्क नलिने कुरा सनराईज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले जनाए । यस व्यवस्थापन अनुरुप शेयर बजारमा हुने अनियमित उतारचढावबाट सिर्जना हुन सक्ने जोखिम र अनिश्चितताको सनराईज क्यापिटलले धेरै हदसम्म न्युनिकरण गरिदिने बिश्वास क्यापिटल म्याक्स सेक्युरिटिजका कार्यकारी अध्यक्ष अतित लाल श्रेष्ठले बताए ।
नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तालाई अध्यक्ष ढकालको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राकृतिक स्रोतसाधन, दक्ष जनशक्ति, चीन र भारतसँगको सहज बजार पहुँचलाई उपयोग गर्न लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । चीन साउथ एसिया बिजनेस फोरमको तर्फबाट युनान प्रान्तको कुनमिङमा आयोजित चाइना (युनान) नेपाल इन्डस्ट्रियल को अपरेसन प्रमोसन एण्ड इन्टरप्राइजेज म्याचमेकिंग बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले, प्राकृतिक स्रोत साधन, दक्ष जनशक्ति, बजार पहुँच र चीन तथा भारतसँग भएका सहुलियतपूर्ण व्यापार सम्झौताले नेपाल लगानी गन्तव्यको रूपमा विकसित भइरहेको बताए । अध्यक्ष ढकालले युनान र नेपालको मिल्दोजुल्दो भौगोलिक अवस्था र जलस्रोतले भरिपूर्ण रमणीय स्थलहरू लगायतका समान विशेषताका कारण पनि चिनियाँ लगानीकर्ताहरूका लागि नेपालमा लगानी गर्न सहज हुने उल्लेख गरे । अध्यक्ष ढकालले कुनमिङ र पोखराबीचको भगिनी सहर सम्बन्ध रहेको उल्लेख गर्दै सांस्कृतिक आदानप्रदान, पर्यटन र अनुसन्धान तथा विकास सहकार्यलाई प्रवर्द्धन गर्ने यो सम्बन्धलाई उपयोग गर्नुपर्ने बताए । ढकालले चिनियाँ ड्रागन बोट फेस्टिभलमा सिचुआन एयरलाइन्सको हालै पोखराको पहिलो उडानले नेपालमा चिनियाँ पर्यटन पर्वद्धनमा सहयोग पुगेको बताए । ऊर्जा, पर्यटन पूर्वाधार, यातायात, व्यापार सहजीकरण, साना तथा मझौला उद्योग, आईसीटी र कृषि जस्ता विविध क्षेत्रहरूमा नेपालमा थप लगानीका आकर्षक अवसरहरू रहेको जानकारी पनि अध्यक्ष ढकालले गराए । नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनीहरूले निरन्तर नाफा कमाएको उल्लेख गर्दै भारत, ईयू र अन्य विकसित बजारमा नेपालले पाएको सहुलियतपूर्ण व्यापारिक पहुँचलाई लगानीकर्ताहरूले उपयोग गर्न सक्ने पनि अध्यक्ष ढकालले उल्लेख गरे । अध्यक्ष ढकालले युनान र नेपालबिचको आर्थिक सम्बन्ध थप सुदृढ गर्ने, व्यापार र अन्तर सरकारी सम्पर्कलाई थप विस्तार गर्न पनि आह्वान गरे । यसले लगानी, पर्यटन, व्यापार र औद्योगिक साझेदारीमा थप अभिवृद्धि हुने विश्वास समेत अध्यक्ष ढकालको छ । अध्यक्ष ढकालले चाइना साउथ एसिया एक्स्पोमा नेपाल कन्ट्री प्याभिलियनमा नेपालको जीवन्त संस्कृति र लगानीको सम्भावना पहिचान गर्न सबै सहभागीहरूलाई निमन्त्रणा समेत गरे । कार्यक्रममा चीन, नेपाल र दक्षिण एसियाली देशका विशिष्ट नेताहरू, सरकारी अधिकारीहरू, व्यवसायीहरू र सञ्चारकर्मीहरूको सहभागिता थियो ।
मेरै कारण बैंकिङ क्षेत्रले ठूलो फड्को मार्यो, अरू अर्थमन्त्रीले के काम गरे ?
पूर्व अर्थमन्त्री हुन् डा. प्रकाशचन्द्र लोहनी । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता समेत रहेका डा. लोहनी अहिले पनि सक्रिय राजनीतिमा छन् । उमेरको उत्तरार्धमा पनि लेखनमा सक्रिय नेता लोहनीले नेपालको निजी क्षेत्रको विकासमा महत्वपूर्ण भूमीका खेलेका छन् । पञ्चायती कालमा अर्थमन्त्री बनेका उनको कार्यकालमा बनेका केही नीतिगत व्यवस्थाले नेपाली बैंकिङ तथा बीमा क्षेत्रले एक किसिमको फड्को नै मारेको छ । अमेरिकामा फुलबाइट कार्यक्रम अन्तर्गत इन्डियाना युनिभर्सिटीबाट एमबीए र युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट विद्यावारिधी गरेका डा. लोहनी एक परिचित अर्थशास्त्री हुन् । उनै लोहनीसँग देशको वर्तमान अर्थतन्त्र र अर्थमन्त्रीका रुपमा उनको कार्यकालमा भएका कामको विषयमा संक्षिप्त कुराकानी गरेका छौं । पछिल्लो समय देशको अर्थतन्त्र समस्यामा पर्यो, आर्थिक मन्दी आयो भन्ने धारणा धेरैको छ, यो विषयलाई तपाईंले कसरी नियालिरहनु भएको छ ? हामी रेमिट्यान्सले बाँच्नु पर्ने अवस्था छ । देशमा उत्पादन केही पनि छैन । रोजगारी घटिरहेको छ । उद्योगीको उत्पादनमा संकट छ । रेमिट्यान्सबाट आएको करले प्रधानमन्त्री, मन्दी र सांसदहरु गाडी चढिरहेका छन् । हाम्रो जग कमजोर छ । अर्थतन्त्र कस्तो भन्न्का लागि निर्यात आयातको ट्रेण्ड हेर्नु पर्छ । भ्रष्टाचार कति नियन्त्रण भइरहेको छ, यो विषय पनि केलाउनु पर्छ । नेपाल उपभोग गर्ने राष्ट्र मात्रै भयो । आयात मात्रै बढ्ने भयो । यसले संसारमा कुनै पनि देश माथि गएको छैन । यो एउटा ‘डच डिजिज’ हो । अहिले जमिन बाँझो भइरहेको छ । काम गर्ने श्रमिक छैन । विश्व बजारमा प्रतिस्पर्धा गर्ने क्षमता कम भइरहेको छ । हाम्रो अर्थतन्त्र सुकुलगुण्डा जस्तो छ । सरकारले चालु आर्थिक वर्षको सुरुदेखि नै आन्तरिक ऋण उठाउन थालेको छ, धेरैले यसलाई संकटको संकेतका रुपमा लिएका छन्, तपाईंले यस विषयलाई कसरी लिनुहुन्छ ? पछिल्लो समय बैंकको कर्जा घट्न थालेको छ । सरकारले पनि ब्याज घटेकै बेला ऋण उठाऔं भन्ने योजना पनि बनाएको हुन सक्छ । अर्को भनेको राजश्व संकलनमा संकुचन आएको छ । राजश्व असुलीमा कमि आएर पनि सरकारले चालु खर्च धान्नका लागि आन्तरिक ऋण उठाएको हुन सक्छ । अहिले नै यस्तो हो भनेर भन्न सकिने अवस्था छैन । पछिल्लो समय उद्योगी व्यवसायीहरुले बैंकको ब्याज धेरै भयो भनेर गुनासो गरिरहेका छन्, यस्तो बेला बैंकको ब्याज घट्नु पर्छ वा बढ्नु पर्छ, तपाईंको बुझाइ के हो ? बैंक तथा वित्तीय संस्थाको ब्याजदर तपाईं हामीले अपेक्षा अनुसार हुँदैन । जस्तै, वस्तुको माग बढ्यो भने मूल्य बढ्छ, माग घट्यो भने मूल्य पनि घट्छ । बैंकको ब्याजदर पनि त्यस्तै हो । कर्जाको माग बढी भयो भने ब्याज बढ्छ, माग नै छैन भने ब्याजदर घट्छ । कहिले काहीँ नियाकक नेपाल राष्ट्र बैंकले पनि केही निर्देशनमार्फत् काम गरिरहेको हुन्छ । राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चितीलाई हेरेर कर्जाको वृद्धि कति गर्ने, म्रदा कति बढाउने भन्ने विषयमा रणनीतिक हिसाबमा योजना बनाएर ब्याजलाई अप्रत्यक्ष रुपमा चलाउन सक्छ । यो बिचमा खेल्ने भनेको बैंक वित्तीय संस्थाले नै हो । तपाईंसँग अर्थमन्त्री बनेको अनुभव पनि छ, देशको अर्थतन्त्रलाई नजिकबाट नियाल्ने र त्यसलाई चलाउने अवसर पनि पाउनु भएको छ, धेरै अर्थमन्त्री आउने जाने क्रम मात्रै भइरहेको तपाईं अर्थमन्त्री बन्दा देशले के पायो ? म अर्थमन्त्री हुँदा धेरै नीतिहरु बनेका थिए । जसले अहिलेसम्म पनि निजी क्षेत्रका लागि महत्वपूर्ण काम गरिरहेका छन् । नेपाली बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुका लागि म अर्थमन्त्री भएपछि नै धेरै उपलब्धि हासिल भएको छ । म अर्थमन्त्री भएको २०४० सालमा हो । देश विकासमा सबैभन्दा बढी आवश्यक पर्ने भनेको पुँजी हो । पुँजी दिने संस्था खोज्नु पर्छ । म अर्थमन्त्री हुँदा सुरुमा नेपाल बैंक र वाणिज्य बैंक मात्रै थिए । विदेशी बैंक ल्यायो भने तिनले हाम्रो राष्ट्रिय सम्पत्ति लुट्छन् भन्ने बुझाइ धेरैमा थियो । जुन बकम्फुसे कुरा थियो । मैले नै नेपालमा नयाँ बैंक खोल्नु पर्छ भन्ने कुरा गरेँ । बैंक नेपाली नै हुनु पर्यो, तर विदेशी लगानी र बैंक म्यानेज्मेन्ट पनि विदेशी आउनु पर्यो भन्ने नीति बनायौं । ‘थ्री इन वान’को सिद्धान्त अघि सार्यौं । सुरुमा नेपाल अरब बैंक आयो । त्यसमा एक तिहाई उसको, एक तिहाई यताको व्यवसायी र एक तिहाई सर्वसाधारणको सेयर हुने भनेर नीति बनायौं । त्यसको उद्घाटन मैले नै गरेँ । त्यसपछि अरु बैंकहरु आउने क्रम सुरु भएको हो । आजभन्दा ४६ वर्ष अगाडि मैले घर बनाउँदा ५ लाख रुपैयाँ लाग्यो । आवासमा फाइनान्सिङ गर्ने अभ्यास त्यतिबेलादेखि नै सुरु भएको हो । हाउजिङ फाइनान्स कम्पनी, बीमा कम्पनी ऐन लगायत धेरै कामहरु त्यो बेला भए । नयाँ बैंक, नयाँ बीमाहरु आए । म अर्थमन्त्री हुँदा नै शिक्षामा निजी क्षेत्रको प्रवेश भएको हो । त्यससँगै बैंकको कर्जालाई सर्वसाधारणको पहुँचमा पुर्याउनका लागि पनि त्यतिखेर केही महत्वपूर्ण काम गरियो । गरिबको पहुँचमा बैंक पुगे । कृषि अनुदानमा पनि सहुलियत दिने विषय त्यतिखेर नै आएको हो । अहिले नेपालमा कर्पोरेट सेक्टर भनेकै बैंक भएको छ । त्यो नीतिले नै नेपाली बैंकिङको विकास भयो । अब नेपालमा विदेशी बैंकर ल्याउनु पर्दैन । ‘नलेज ट्रान्सफर’ भयो । बरु नेपाली बैंकरहरु विदेशी बैंकमा काम गर्न गइरहेका छन् । यस्तै काम अन्य क्षेत्रमा पनि हुनु पथ्र्यो तर भएन । मैले यति धेरै काम गरेँ, तयसपछि आएका अर्थमन्त्रीले के काम गरे ? कति प्रगति भयो ? नेपालमा रोजगारी पाइएन भनेर विदेशिने युवाहरुको संख्या दिनप्रतिदिन बढ्दैछ, व्यवसायीहरुले पनि देशमा व्यवसायिक वातावरण बनेन भनेर गुनासो गर्छन्, यसभित्रको समस्या के हो ? यो सबै कन्फिडेन्टको अभाव हो । कुनै पनि व्यक्ती वा व्यवसायीलाई नेपालमा भविश्य छैन भन्ने वातावरण सिर्जना गरिएको छ । जुन दुःखद हो । व्यवसाय गर्नेलाई पनि हेर्ने नजर बेग्लै छ । यो देश व्यवसायबाट नाफा गर्ने व्यक्ती चौतफी रुपमा घेराउमा पर्छ । सबैको आँखा त्यो तर्फ नै हुन्छ । नेपालमा लगानी गर्नेहरु निरुत्साहित भएर विदेशमा लगानी गर्न खोजिरहेका छन् । अहिले नेपालमा शिक्षाको नाममा पैसा बाहिरिरहेको छ । अहिले वार्षिक तीन लाख विद्यार्थीले १२ कक्षा पास गरेका छन् भने १ लाख जना विद्यार्थी विदेश गइरहेका छन् । ती विद्यार्थीसँगै पुँजी पनि पलायन भइरहेको छ । बैधानिक किसिमले नै विदेशमा पुँजी पलायन भइरहेको छ । विदेशी मुद्रामै पैसा गइरहेको छ । कतिपय विद्यार्थीका आमाबुवाहरुले पढ्नका लागि भनेर विदेश पैसा पठाइरहेका छन् । त्यो पैसा पढ्नका लागि नभएर उतै व्यवसाय गर्नका लागि हो । नेपालको सम्भावना र ग्रोथरेट पनि निर्यात भइरहेको छ । यसको लागि अहिलेको सिस्टम नै फेलर भइरहेको छ । अहिले राजनीतिक दलहरु आफु बनौं र आफ्नो पार्टी बनाऔं भन्नेमा छन् । कतिपय मान्छेहरु पार्टीको भएकोले प्रहरीले पक्राउ गर्न सकेको छैन । नक्कली मान्छेहरुलाई पक्राउ गरिरहेको छ । जतिसुकै भष्टाचार भएपनि पार्टीका ठूला मान्छेलाई कारवाही नहुने अघोषित कानुन छ । यो अवस्थामा कसरी बन्छ देश ? अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि के गर्न आवश्यक छ ? जसको जे जिम्मेवारी छ, त्यो जिम्मेवारीलाई अनुशासित भएर पुरा गर्ने हो । अबको बाटो भनेको सुधार नै हो । समस्याको पहिचान गर्न सक्नुपर्छ । व्यक्तिलाई रोग लागेको छ भने के रोग लागेको हो, त्यो रोगको पहिचान गरेर उपचार गर्ने हो । त्यस्तै, अर्थतन्त्रमा पनि त्यस्तै हो गर्ने हो । अहिले अर्थतन्त्रमा देखिएको समस्या के हो ? त्यो समस्या पहिचान गरेर समाधानको बाटो खोज्ने हो । आर्थिक अनुशासन कायम गर्नु पर्छ । समस्याको पहिचान मात्रै गर्न सकियो भने ५० प्रतिशत समस्या समाधान हुन्छ । बजेटलाई खेलौना सोच्नुभएन । मेहेनत गर्नु पर्यो । व्यवसायीहरुमा विश्वासको वातावरण सिर्जना गर्नु पर्यो । अहिले अधिकांश व्यवसायीहरु लगानीलाई होल्ड गरेर बसेका छन् । त्यो भनेको असुरक्षा र जोखिम भएर हो । त्यसका लागि सरकारले उनीहरुलाई विश्वास दिलाउन सक्ने वातावरण सिर्जना गर्नु पर्छ ।