विकासन्युज

सुन तस्करी प्रकरण : थप दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । सुन तस्करीको अभियोगमा प्रहरीले थप दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरूलाई गए राति पक्राउ गरेको हो । प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार पक्राउ परेकाहरुबारे अनुसन्धान भइरहेको छ । प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन । दुवै जनालाई काठमाडौँबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत साउन ३१ गते पनि ब्यूरोको टोलीले चार चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । पक्राउ परेकामाथि अवैध सुन ओसारपसार तथा सङ्गठित अपराधअन्तर्गत मुद्दा चलाइएको छ । सुन तस्करी प्रकरणमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २३ जना पुगेको प्रवक्ता कडायतले बताए ।

भोलि काठमाडौंका यी ८ स्थानमा विद्युत अवरूद्ध हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा भोलि शनिवार विद्युत अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले शनिबारका दिन काठमाडौंका ८ स्थानमा विद्युत् आपूर्ति अवरूद्ध हुने जानकारी दिएको छ । प्राधिकरणका अनुसार लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाअन्तर्गत टेकु सबस्टेसनमा चार्जको कार्य भइरहेकाले काठमाडौंका ८ स्थानमा बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्तिमा अवरोध हुने छ । प्रथम चरणको सबस्टेशन निर्माण कार्य सम्पन्न गर्न टेकु स्युचाटार ६६ केभी लाइन १३२ केभीमा जडान गरिने भएकाले स्युचाटार सवस्टेसनबाट आपूर्ति भइरहेको फिडरहरूमा विद्युत सेवा अवरूद्ध प्राधिकरणले जानकारी दिएको छ । सीतापाइला फिडरअन्तर्गत बाफल, बुडाथोकी कोल्डस्टोर, सिविल होम्स तथा अलकत्रा, सरनपुर, थापाचोक, स्वाइट गुम्बा, सिंगल ट्री इचंगुनारायण मन्दिर क्षेत्रमा विद्युत् अवरूद्ध हुने छ । त्यस्तै बाफल, बलम्बु र खड्का गाउँ फिडरअन्तर्गत ज्ञानोदय, गाई बाच्छा पाटी, स्वयम्भू, सानो र्भयाङ, बारूदखाना क्षेत्र, बलम्बु, ढुंगेअड्डा नैकाप, सतुङ्गल, बोसीगाउँ सालिक चोक, एलआरआई, न्यु डाइमण्ड, सिर्जना चोक, इन्द्रयान, गुर्जुधारा, हिल भिजन कोलोनी, पाटीचोक, गौतम गाउँ, हसनटार, गोदामथोक, रामकोट, भीमढुङ्गा, छत्रे देउरालीसम्म पनि अवरूद्ध आदि क्षेत्रमा पनि विद्युत अवरूद्ध हुने प्राधिकरणले जानकारी दिएको छ । त्यस्तै दुर्गानगर, स्युचाटार पुल, मकालु पेट्रोल पम्प, शहीद अस्पताल, कालीमाटी तथा मालपोत, खसीबजार, सुनारगाउँ, बल्खु, कुलेश्वर, ट्याङ्लाफाँट, कीर्तिपुर बजार, मैत्रीनगर, बाघ भैरव, मन्दिर इलाका, पाङ्गा दोबाटोसम्म विद्युत सेवा अवरूद्ध हुने प्राधिकरणले बताएको छ ।

माछापुच्छ्रे बैंकले बढायो ब्याजदर

काठमाडौं । माछापुच्छ्रे बैंकले भदौमा ब्याजदर बढाएको छ । बैंकले विभिन्न खातामा आज भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर बढाएको हो । बैंकले भदौ महिनामा साधारण बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ८ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले यसअघि साउनमा न्यूनतम ४.८५ प्रतिशतदेखि अधिकतम ७.८५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो । यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.४९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याज प्रदान गर्नेछन् । बैंकले रेमिट्यान्स खातामा १०.९९ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि साउनमा बैंकले संस्थागततर्फ ७ प्रतिशत र ब्यक्तिगततर्फ ९ प्रतिशत ब्याज तोकेको थियो भने रेमिट्यान्समा १० प्रतिशत थियो । बैंकले कर्जाको ब्याजदरमा भने आधारदरमा अधिकतम ४ प्रतिशतसम्म प्रिमियम लिने भएको छ ।

थप ५ कम्पनीले पाए ब्रोकर लाइसेन्स

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप ५ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ । सेबोनले बिहीबार गरेको निर्णयअनुसार ५ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको हो । सेबोनका अनुसार सजिलो ब्रोकर लिमिटेड, रोडसो सेक्युरिटिज, बेनी सेक्यूरिटिज, हिमालयन सेक्युरिटिज र सनी सेक्यूरिटिजलाई लाइसेन्स दिएको प्रवक्ता मुक्ति श्रेष्ठले जानकारी दिए । एनका अनुसार सजिलो ब्रोकर, रोडसो र बेनी सेक्यूरिटिजले सिमित कार्य गर्ने र हिमालयन र सनी सेक्यूरिटिजले पूर्ण कार्य गर्ने लाइसेन्स पाएका हुन् । नेपाल धितोपत्र बोर्डबाट नयाँ ब्रोकरको संख्या ३७ पुगेको छ । ब्रोकर लाइसेन्सका लागि आवेदन दिएकामध्ये ४३ कम्पनीहरुलाई आशयपत्र प्राप्त गरेका छन् ।

प्रभु बैंकको नयाँ ब्याजदर सार्वजनिक, आजदेखि लागू हुने

काठमाडौं । प्रभु बैंकले भदौमा ब्याजदर बढाउने निर्णय गरेको छ । बैंकले विभिन्न खातामा आज भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर बढाएको हो । बैंकले भदौ महिनामा साधारण बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ८ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले यसअघि साउनमा न्यूनतम ४.५० प्रतिशतदेखि अधिकतम ७.५० प्रतिशत ब्याजदर प्रदान गरेको थियो । यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ८ प्रतिशत र ब्यक्तिगततर्फ १० प्रतिशतसम्म ब्याज प्रदान गर्नेछन् । बैंकले रेमिट्यान्स खातामा ११ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि साउनमा बैंकले संस्थागततर्फ ७.२५ प्रतिशत र ब्यक्तिगततर्फ ९.५० प्रतिशत ब्याज तोकेको थियो भने रेमिट्यान्समा १०.५० प्रतिशत थियो । बैंकले कर्जाको ब्याजदरमा भने आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम लिने भएको छ ।

तारागाउँ रिजेन्सी होटलको नाफामा १ सय प्रतिशत छलाङ, ईपीएस २०.२८ रुपैयाँ

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा ३८ करोड २६ लाख ४० हजार रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ५ लाख ५७ हजार रुपैयाँ खुद नाफा गरेको थियो । कम्पनीले अघिल्लो वर्षको तुलनामा गत वर्ष १०१ प्रतिशत बढाएको हो । गत असारसम्म कम्पनीको कूल आम्दानी ८५ प्रतिशत बढेर १ अर्ब ५७ करोड २ लाख ७४ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८४ करोड ८८ लाख ७१ हजार रुपैयाँ कूल आम्दानी गरेको थियो । समिक्षा अवधिमा अन्तर्राष्ट्रिय पर्यटक आवागमनमा वृद्धि भएकोले कारोबार बढेकाले नाफा बढेको कम्पनीले जनाएको छ । साथै, चीनले समेत वायुसेवाका उडानहरु नियमित गरेकाले आगामी वर्षमा व्यवसाय वृद्धि हुने कम्पनीको अपेक्षा छ । होटलको अक्यूपेन्सी बढाउने, उपलब्ध अत्याधुनिक साधनहरुको प्रयोग लगायतका सबै उपायहरु अवलम्बन गरी आम्दानी वृद्धि गरिने कम्पनीले जनाएको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ र जगेडा कोषमा ६५ करोड ७७ लाख रुपैयाँ जम्मा छ । कम्पनीको नाफा बढेसँगै प्रतिसेयर आम्दानी २०.२८ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १०.१० रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १३४.८६ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३८.९७ गुणा रहेको छ ।

यातायात अवरुद्ध भएपछि माथिल्लो मैलुङको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई भदौ १७ गतेसम्म आवेदन सदने समय थप गरेको हो । कम्पनीले यसअघि गत साउन ४ गतेदेखि भदौ १ गतेसम्म आवेदन समय खुला गरेको थियो । तर, अविरल वर्षाले बाढी पहिरो लगायतले यातायात संचालन अवरुद्ध भएको थियो । त्यसैले आईपीओ संकलन केन्द्रमा आवेदन बुझाउन सहज नभएकाले भदौ १७ गतेसम्म आवेदन दिने समय थप गरिएको कम्पनीले जनाएको छ । कम्पनीले आयोजना अति प्रभावित क्षेत्र रसुवाको उत्तरगया गाउँपालिका १ (साबिक हाकु गा.वि.स. ८ र ९ तथा डाँडागाउँ गा.वि.स. ७, ८ र ९)का बासिन्दालाई ५ लाख ७१ हजार ४३० किता, आयोजना प्रभावित क्षेत्र उत्तरगया गाउँपालिका २, ३, ४ र ५ (साबिक डाँडागाउँ गा.वि.स. १, २, ३, ४, ५ र ६, ठुलोगाउँ गा.वि.स. १, २, ३, ४, ५, ६, ७, ८ र ९, लहरेपौवा गा.वि.स. १, २, ३, ४, ५, ६, ७ र ९) र नुवाकोटको किस्पाङ गाउँपालिका ५ (साबिक मनकामना गा.वि.स. १, २, ३, ४, ५, ६, ७, ८, र ९)का स्थानीय बासिन्दालाई २ लाख ८५ हजार ७२० किता र रसुवाको अन्य क्षेत्रका बासिन्दालाई १ लाख ४२ हजार ८५० किता गरी कूल १० लाख कित्ता सेयर बिक्री गरेको हो । यस्तै, सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १ लाख १५ हजार कित्ता सेयरमा विदेशमा रोजगार गरी रहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले सानिमा बैंकका विदुर, किस्पाङ, धुन्चे शाखाबाट आवेदन दिन सकिनेछ । साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो, प्रतिघण्टा ८९ रुपैयाँ पाउने

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार तीन सय रूपैयाँ हुने गरी वृद्धि गरेको छ । बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो । चिया बगान बाहेकको क्षेत्रमा मासिक पारिश्रमिक लिएर काम गर्ने श्रमिकले न्यूनतम १० हजार ८२० रुपैयाँ न्यूनतम पारिश्रमिक र ६ हजार ४८० रूपैयाँ महङ्गी भत्ता पाउने गरी सरकारले श्रमिकको पारिश्रमिक निर्धारण गरेको छ । दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकले भने दैनिक ४१८ रुपैयाँ आधारभूत पारिश्रमिक र २५० रुपैयाँ महंगी भत्ता गरी ६६८ रूपैयाँ तोकिएको छ । त्यसैगरी, प्रतिघण्टा ५६ रुपैयाँ आधारभूत पारिश्रमिक र ३३ रुपैयाँ महंगी भत्ता गरी ८९ रुपैयाँ तोकिएको छ । आंशिक समय मात्रै काम गर्ने श्रमिकले भने प्रतिघण्टा ९५ रुपैयाँ पाउने गरी सरकारले पारिश्रमिक तोकेको छ । चिया बगानमा काम गर्ने श्रमिकले भने आधारभूत पारिश्रमिक आठ हजार ९३४ र महंगी भत्ता चार हजार ९५९ गरी कुल १३ हजार ८९३ पाउने गरी न्यूनतम पारिश्रमिक तोकिएको छ । सरकारले साउन १ गतेबाटै लागू हुने गरी पारिश्रमिक निर्धारण गरेको बताएको छ ।