विकासन्युज

फेसबुक आईडी ह्याक गरेर लाखौँ ठगी गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विभिन्न व्यक्तिको ३० वटा फेसबुक आइडी ह्याक गरेर उनीहरुका नजिकका व्यक्तिसँग पैसा उठाएर ठगी गर्ने कार्यमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१७ रामनगर घर भई हाल काठमाडौं महानगरपालिका नयाँ बसपार्क बस्ने सीमान्त लामा, अमन्त लामा, अनुप श्रेष्ठ, रोहन गुरुङ तथा पोखरा महानगरपालिका–१० घर भई नयाँ बसपार्क बस्ने शुभेक्षा गुरुङ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार पक्राउ परेको उक्त समूहले हालसम्म विभिन्न व्यक्तिको ३० वटा फेसबुक आइडी ह्याक गरी त्यसबाट उनीहरुले १४ लाख ५८ हजार रुपैयाँ ठगी गरेको खुलेको तथा हालसम्म २२ जना पीडित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सम्पर्कमा आएका छन् । विभिन्न व्यक्तिका फेसबुक आइडी ह्याक गरेर उनीहरुले म्यासेन्जरबाट म्यासेज गरी ई–सेवा र खल्तीजस्ता वालेटमा पैसा हाल्न लगाइ ठगी गर्ने गरेका थिए । त्यसमा सीमान्तले आइडी ह्याक गर्ने गर्थे भने अमन्तले विभिन्न बहानामा रकम माग गर्ने, शुभेच्छा तथा अनुपको काम भनेको वालेटमा आएको रकम झिक्ने काम रहेको र रोहनले भने उनीहरुलाई सीमकार्ड उपलब्ध गराउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए । पक्राउ परेकालाई ठगी तथा विद्युतीय कारोबार ऐन २०६३ बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

ग्लोबल आइएमई लघुवित्तले माग्यो कर्मचारी

काठमाडौं । जागिर खोज्नेहरुका लागि खुसिको खबर छ । ग्लोबल आइएमई लघुवित्तले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । लघुवित्तले ४ पदका लागि विभागीय प्रमुखमा १ जना, अनुगमन अधिकृतमा केही, शाखा प्रमुखका लागि केही र सहायक कनिष्ठ सहायक, व्यवस्थापन प्रशिक्षार्थी तथा प्रशिक्षार्थी सहायकका लाग केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । व्यवस्थापकिय श्रेणीमा आवेदन दिनका लागि २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । अधिकृत श्रेणीका लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र सहायक श्रेणीका लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने कम्पनीले जनाएको छ । दुई पाङ्ग्रे सवारी साधन चालक अनुमतिपत्र भएकालाई विशेष प्राथमिकता दिने लघुवित्तले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले तोकिएको कागजातसहित १५ दिनभित्र आवेदन दिनुपर्ने जनाएको छ ।

चेम्बर अफ कमर्स जितपुर बाराका अध्यक्षद्वारा टिभिएस शोरुम उद्घाटन

बारा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका वाडा नम्बर ७ जीतपुरमा टिभिएस मोटरसाईकलको शोरूमको स्थापना भएको छ । जीतपुरको स्वास्तिक ट्रेड एण्ड कन्सर्नले टिभिएसको अधिकारिक डिलर लिएर बिहिबार जीतपुरको पहाडीटोलमा शोरूमको समउद्घाटन सम्पन्न गरेको हो । जीतपुरमा टिभिएसको आधिकारिक विक्रेता स्वास्तिक ट्रेड एण्ड कन्सर्नले एक कार्यक्रम आयोजना गरेर शोरूमको उद्घाटन गरेको छ । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले रिबन काटेर शोरूमको उद्घाटन गरेका थिए । अध्यक्ष शर्माले शोरूमको उद्घाटन गर्दै संचालक र टिभिएस टिमलाई व्यवसायको सफलताको शुभकामना दिएका थिए । करिब २ करोड २५ लाखको लागतमा संचालनमा आएको टिभिएस मोटरसाईकलको आधिकारिक विक्रेता स्वास्तिक ट्रेड एण्ड कन्सर्न जीतपुरका संचालक किरन पुरीका अनुसार जीतपुरको टिभिएस शोरूममा टिभिएसको नँया मोटरसाईल, स्कुट, पार्टस र सर्भिसिङ लगायतका सम्पुर्ण कामहरू हुने छ । स्वास्तिक ट्रेड एण्ड कन्सर्नका संचालक किरन पुरीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा प्रमुख अतिथि रहेका थिए ।

व्यावसायीक बाख्रापालनमा कम्प्युटर इन्जिनियर, वार्षिक २० लाखसम्म आम्दानी

गल्याङ। स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ वेल्टारीका त्रिभुवन न्यौपानेले उन्नत जातका बाख्रापालन गरेर मनग्य आम्दानी गरेका छन् । भारतको पन्जाब टेक्निकल युनिभर्सिटीबाट ब्याचलर अफ कम्प्युटर एप्लिकेसनको अध्ययन पूरा गरेका ३५ वर्षीय न्यौपानेले भूमिका कृषि तथा पशुपालन फार्ममार्फत व्यावसायिक बाख्रापालन सुरु गरेका हुन् । भारतमा पढाइ सकेर विसं २०६९ मा नेपाल फर्किएक उनले यतिबेला बाख्रापालनबाट वार्षिक १५ देखि २० लाखसम्म आम्दानी गर्दै आएका छन् । ‘सुरुमा घरकै तरकारी बारी जोत्न हाते ट्रयाक्टर किने’, न्यौपानेले भने, ‘हाते ट्रयाक्टरको धेरै माग भएपछि आम्दानी पनि राम्रो भयो, त्यही आम्दानीबाट बाख्रापालन सुरु गरेको हुँ ।’ न्यौपानेले विसं २०७० मङ्सिरमा ७७ हजारबाट बाख्रापालन व्यावसाय सुरु गरेको बताए। ‘गाउँका कृषकको हातेट्रयाक्टरले खेतबारी जोतेर कमाएको ७७ हजारले तीनवटा बोयर माउ र एउटा बोयर बोका किनेर ल्याएँ, चारवटा स्थानीय जातका माउबाख्रा घरमै थिए’, उनले भने, ‘आठवटा बाख्राबाट भूमिका कृषि तथा पशुपालन फार्म दर्ता गरेर औपचारिकरूपमै व्यवसाय सुरु गरेँ ।’ न्यौपानेको बाख्रापालनमा करिब ८० लाखको लगानी पुगेको छ । उनीसँग हाल १६ लाखमा निर्माण गरिएको आधुनिक बाख्राको खोरमा शुद्ध अष्ट्रेलियन बोयर बोकासहित शुद्ध बोयर माउ र खरी जातमा बोयर क्रस एक सयवटा बढी माउ पाठापाठी छन् । न्यौपानेको फार्मबाट धेरैजसो बीउ उत्पादनका लागि बाख्रा बिक्री हुन्छ । यहाँ उत्पादित बाख्रा कास्की, पर्वत, धादिङ, पाल्पा, चितवन, रुपन्देहीबाट पश्चिम बर्दियासम्म र पूर्व झापासम्म निर्यात हुन्छ । फार्मबाट १५ हजारदेखि साढे दुई लाखसम्म पर्ने प्रतिबाख्रा बिक्री हुँदै आएका छन् । न्यौपानेले करिब एक सय रोपनी जग्गामा मेन्दुला, भटमासे, डिस्मोडियम, मुलेट्रो, सिग्नल, नेपिएर सिओ थ्रि, सिओ फोर, सुपरनेपिएर, राई खनियो, निमारो, चुलेत्रो, तेजपत्ता, कपुर, बडहर, टाँकी, सुडान, जै, वर्षिम, लुसर्न, स्टाइलो, इपिलिपी, किम्बु, ग्वाटेमाला, सितलचिनीलगायत विभिन्न प्रकारका घाँसखेती गरेका छन् । खोर व्यवस्थापन राम्रोसँग नगरिए बाख्रामा धेरै रोग लाग्ने न्यौपानेले बताउँछन् । बड्क्यौलाबाट निस्कने अमोनिया ग्यासबाट बाख्रामा रुघाखोकी, आँखामा कचेरा लिने, तुहिने, थुनेलो, ख्याउटेलगायतका रोग लाग्ने गरेको उनको अनुभव छ । ‘भारतमा पढ्दै जागिर गर्थेँ, जति क्षमता प्रयोग गरे पनि जागिरमा हुने सीमित तलबले आर्थिक समृद्धि हुन सकिँदैन भन्ने लाग्यो’, न्यौपानेले भने ‘व्यवसायमा सही तरिकाले क्षमता प्रयोग गर्न सकिएमा आर्थिकरूपमा बलियो बन्न सकिन्छ भनेर कृषि पेसामा आबद्ध भएको हुँ ।’ ‘अनुदानको नाममा पैसा दुरुपयोग भयो, किसानलाई पैसामा होइन उत्पादनका आधारमा प्रविधिका लागि अनुदान दिनुपर्छ’, उनले, गाउँका कृषकका लागि बैंकमा कर्जा प्रक्रिया झन्झटिलो भयो, गाउँमा मेरो एक करोडको लगानी छ, मैले ऋण पाउँदिन तर सहरमा घरघडेरी हुनेलाई मात्र ऋण दिइन्छ ।’ विदेशमा भएको प्रविधि नेपालमा भित्र्याउन सके कृषिमा अझ राम्रो हुने उनको विश्वास छ । बाख्रामा हाडनाता प्रजननमात्र रोक्न सके नेपाल सजिलै मासुमा आत्मनिर्भर बन्न सक्ने न्यौपानेको दाबी छ । ‘कृषि विशाल विज्ञान हो, अध्ययन–अनुसन्धान र प्रयोग राम्रो गर्न सकियो भने नेपाल कृषिमा छिट्टै आत्मनिर्भर बन्न सक्छ’, उनले भने । विदेशमा गर्ने श्रम नेपालमै खर्च गर्ने हो भने स्वदेशमै राम्रो आम्दानी गर्न सकिने न्यौपानेको भनाइ छ । उनले फर्केपछि पनि नेपालमै गर्न सकिने काम रोज्न विदेशिएकालाई आग्रह गरे। न्यौपानेकी श्रीमती उर्मिलाले श्रीमान्ले बाख्रापालन व्यवसायमा पाउनुभएको सफलताले निकै गर्व महसुस हुने गरेको बताए। ‘समाजमा उदाहरणीय बन्छु भन्ने अठोटका साथ बाख्रा पाल्न सुरु गरेका थिए’, उनले भने, ‘सुरुमा सशङ्कित बने पनि अहिले सबैको प्रशंसा पाएका छौँ ।’ हाल भूमिका कृषि तथा पशुपालन फार्म बाख्रापालक कृषकका लागि अध्ययन, अवलोकन र भ्रमणको माध्यम बनेको छ । न्यौपानेले बाख्रापालनबाट पाएको यो सफलताले आफूलाई आत्मसम्मान मिलेको बताए। युवाका लागि नमूना बाख्रागाउँ अभियानका प्रमुख सचेतक सुुशील अर्यालले जिल्लामा बाख्रापालनको सम्भाव्यता राम्रो रहेको बताए । उनले आफूले सल्लाह दिएर सञ्चालन भएका फार्म जिल्लामा उत्कृष्ट भएको बताए । अर्यालले युवालाई स्वरोजगार बनाउने र जिल्लालाई खसीबोकामा आत्मनिर्भर बनाउने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको जानकारी दिए । कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत देवेन्द्र पाण्डेले पालिकाभित्र कृषि गर्न चाहने सबैलाई गाउँपालिकाको सहयोग रहने भनाइ व्यक्त गरे। उनले पालिकालाई स्वरोजगारउन्मुख बनाउन कृषि क्षेत्रलाई विशेष प्राथामिकता दिएको बताए । पाण्डेले कृषकका समस्या र गुुनासा पहिचान गरेर निरन्तर समाधानको बाटोमा लागेको दाबी गरे । रासस

बरू सरकार छाड्छाैं, भ्रष्टहरूको धम्कीबाट डराउदैनौं : उपप्रधानमन्त्री श्रेष्ठ

फाइल फाेटाे गोरखा । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासन अभियानविरुद्ध भ्रष्टाचार र तस्करका संरक्षकहरूले घेराबन्दी गर्न र धम्की दिन खोजेको बताएका छन् । अजिरकोट गाउँपालिका–२ स्थित भच्चेकमा ‘भच्चेक आधारभूत अस्पताल’ को शुक्रबार उद्घाटन गर्दै उनले ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरुको धम्कीबाट आफू नडराउने, अप्ठेरोमा पार्न खोजे बरु सरकार छाड्ने, सुशासनको अभियान कुनै हालतमा नरोक्ने बताएका हुन् । ‘सरकारलाई, मन्त्रीलाई घेराबन्दीमा राख्छौं भनेर कसैले नसोचे हुन्छ, हामी पदका लागि होइन, देश र जनताको सेवा गर्न आएका हौं, जुन दिनसम्म सरकारमा रहन्छौं, यो सुशासनको अभियान रोकिंदैन,’ उनले भने । नागरिकलाई छिटो र चुस्त सेवा दिएर तथा दण्डहीनता अन्त्य गरेर नै सुशासनको थालनी हुने र अध्यक्ष दीपक देवकोटा तथा उपाध्यक्ष अनिता भुजेलले उदाहणीय नेतृत्वबाट अजिरकोट गाउँपालिकाले विकासमा फड्को मार्दै गएकोमा उपप्रधानमन्त्री श्रेष्ठले खुशी व्यक्त गरे । राजनीतिक परिवर्तनलाई सामाजिक–आर्थिक परिवर्तनसँग जोड्नुपर्ने, त्यसका लागि सामाजिक न्यायसहितको समृद्धि सबै तहका सरकारको प्राथमिकता हुनुपर्ने र प्रधानमन्त्री प्रचण्डको मुल ध्येय पनि यही रहेको उनले बताए ।

राष्ट्रिय वाणिज्य बैंकले पायो ब्रोकर लाइसेन्स

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा स्थापना भएको सहायक कम्पनी आरविवि सेक्युरिटिज कम्पनीलाई नेपाल धितोपत्र बोर्डले सिमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको रुपमा धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्रदान गरेको छ । २० करोड रुपैंया चुक्तापुँजी रहेको सेक्युरिटिज कम्पनीले नेपाल स्टक एक्स्चेन्जको सदस्यता प्राप्त भएपश्चात् निकट भविष्यमा नै स्टक ब्रोकरको कारोबार सुरु गर्नेछ । हाल शहरी क्षेत्रमा मात्र सिमित रहेको धितोपत्र दोस्रो बजारको कारोबारलाई ग्रामिण क्षेत्रमा समेत आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने र दूरदराजमा रहेका जनताहरुले पनि पुँजी बजारको सेवा लिन सकिने विश्वास गरिएको छ । यसअघि बैंकले मर्चेन्ट बैंकिङ्ग सम्बन्धी कारोबार गर्नका लागि सहायक कम्पनीको रुपमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको स्थापना गरी मर्चेन्ट बैंकिङ्गको सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

एक करोड रुपैयाँभन्दा बढीको भ्याट अब मासिक रुपमै भुक्तानी गर्नुपर्ने

काठमाडौं । अब मूल्य अभिवृद्धि कर (भ्याट) मासिक रुपमा भुक्तानी गर्नुपर्ने भएको छ । आन्तरिक राजश्व विभागले शुक्रबार एक सूचना जारी गर्दै वार्षिक १ करोड रुपैयाँभन्दा माथिको भ्याटको कारोबार विवरण अब मासिक रुपमा बुझाउनुपर्ने जनाएको हो । ‘मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम २६ मा संशोधन भई साविकमा रहेको ईंटा उद्योग, होटल, पर्यटन तथा चलचित्र घरले चाहेमा विवरण पेश गर्ने अवधि चौमासिक कायम गर्न सक्नेछ भन्ने व्यवस्था खारेज भएको छ’, विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘संशोधित व्यवस्था अनुसार मूल्य अभिवृद्धि करमा दर्ता भएका वार्षिक एक करोड रुपयाँ भन्दा बढीको कारोवार भएका ईंटा उद्योग, होटल, पर्यटन तथा चलचित्र घरले २०८० साउनदेखि मासिक रुपमा मूल्य अभिवृद्धि करको विवरण दाखिला गर्नुपर्नेछ ।’ यस्तै, विभागले हाल द्वैमासिक अवधिमा मूल्य अभिवृद्धि कर विवरण दाखिला गर्ने सुविधा नरहेकोले वार्षिक एक करोड रुपयाँ भन्दा बढीको कारोवार भएका करदाताले मासिक रुपमा नै विवरण दाखिला गर्नुपर्ने स्पष्ट पारेको छ । साना करदातालाइ सहुलियत विभागले एक कराेड रूपैयाँभन्दा कम काराेबार गर्ने साना करदातालाइ सहुलियत दिएकाे छ । यसअघि मासिक रूपमा विवरण दाखिला गर्दै आएका साना करदाताले अब चौमासिक रुपमा विवरण पेशको समय पाएका छन् । विभागले उक्त कारोबार भएका व्यवसायीहरुलाई कर सहभागिता लगात र समय दुबै घटाएर सहुलियत दिईएको समेत जनाएको छ । उक्त करदाताले अब साउनदेखि कात्तिकसम्मको कर विवरण मंसिर २५ गतेभित्र बुझाउन सक्नेछन् । यसअघि उक्त करदाताले समेत मासिक रुपमा कर विवरण दाखिला गर्दै आएका थिए । वार्षिक एक करोडसम्म र सो भन्दा बढीका करदाताले मासिक कर विवरण दाखिला गर्न चाहेमा सम्बन्धित आन्तरिक राजस्व कार्यालय/करदता सेवा कार्याल्यमा १५ दिनभित्रै जानकारी गराउनसमेत विभागले आग्रह गरेको छ ।

कैलालीमा पाइप लाइनबाट घरघरमा ग्यास

कैलाली । कैलालीको टीकापुर नगरपालिका–२ सीतापुरका भुवन चौधरी अचेल निकै खुसी छन् । दाउराकै भरमा जीवनयापन गर्दै आएका उनलाई पाइप लाइनबाट घरमा ग्यास आउला भन्ने विश्वास थिएन । तर हिजोआज चौधरीको घरमा पाइप लाइनबाट ग्यास उपलब्ध छ । वर्षौँदेखि दाउराबाट खाना पाक्ने उनको घरमा अहिले खाना ग्यासमा पाक्न थालेको छ । ‘नजिकै जङ्गल छ । दाउराको समस्या हुँदैन । आर्थिक स्थितिले ग्यास सिलिन्डर किन्न सकिएको थिएन । दाउराकै भरमा अहिलेसम्म जीवनयापन हुँदै आएको थियो’, चौधरी भन्छन्, ‘अहिले घरमा पाइप लाइनबाट ग्यास पुगेको छ । यो त सोचेकै थिइँन ।’ टीकापुर नगरपालिका–५ स्थित सामुदायिक चौपाया व्यवस्थापन गरिएको क्षेत्रमा निर्माण गरिएको बायो ग्यास प्लान्ट सञ्चालनमा आएपछि स्थानीयको घर–घरमा पाइप लाइनबाट ग्यास पुगेको हो । स्थानीय धनादेवी चौधरी ग्यास उपलब्ध भएपछि दुःखका दिन सकिएको बताइन् । ‘दाउराको भरमा खाना पकाउन समस्या थियो’, उनी भन्छिन्, ‘अहिले एक घन्टामा खाना पाक्छ । समयमा काममा जान सकिएको छ । भाँडाकुडा माझ्न पनि समय लाग्दैन । हाम्रा लागि नसोचेको भएको छ ।’ ग्यास नियमित नहुँदा भने कहिलेकाहीँ समस्या हुने गरेको चौधरीको गुनासो छ । ग्यास प्लान्ट परीक्षणमा रहेकाले नियमित भने छैन । अहिले दिनमा चार घन्टा ग्यास आउने गरेको स्थानीय फरहरि थारू बताउँछन् । उनले कहिलेकाहीँ भनेको समयमा ग्यास नआउने र खाना पकाउँदै जाने हुँदा समस्या भएको भन्दै नियमित गर्न आग्रह गरे । ग्यास प्लान्ट परीक्षणका क्रममा हुँदा स्थानीयले निःशुल्क ग्यास उपभोग गर्न पाएका छन् । दुई महिनादेखि परीक्षणका लागि ग्यास प्लान्ट सञ्चालनमा रहेको छ । ग्यास नियमित भए वर्षौँदेखिको दाउराबाट खाना पकाउनुपर्ने बाध्यताको अन्त्य हुने स्थानीय बबिता चौधरी बताउँछिन् । ‘दीर्घकालीन बन्ने/नबन्ने थाहा भएन, दीर्घकालीन भयो भने हाम्रा लागि धेरै राम्रो छ । हामीले नियमित खोजेका छौँ’, उनी भन्छिन् । दुई सय घनमिटर क्षमताको बायो ग्यास प्लान्टले उत्पादन सुरु गरेसँगै अहिले ५५ घरधुरीमा ग्यास पुगेको छ । ग्यास प्लान्टको क्षमता एक सय ५० घरधुरीका लागि छ । ग्यास घर–घरमा पुगेपछि वन विनाशको क्रम रोकिने विश्वास नगरपालिकाको छ । एक करोड ६० लाखको लागतमा निर्माण सम्पन्न भएको प्लान्ट निर्माणको काम नेपाल ऊर्जा विकास कम्पनीले पाएको थियो । गौशालामा चौपायाको गोबरबाट ग्यास उत्पादन गरेर त्यो ग्यास गाउँमा पठाउने गरिएको छ । ‘चौपायाको गोबरलाई सङ्कलन गरेर प्लान्टमा राख्छौँ । त्यसबाट प्रशोधन भएर ग्यास बस्तीमा जान्छ । त्यसबाट निस्केको गोबरलाई कम्पोस्ट मलका रूपमा बिक्री सुरु गरेका छौँ ।’ सामुदायिक चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समितिका अध्यक्ष लोकबहादुर बुढाक्षेत्रीले भने, ‘गोबर पर्याप्त छैन । आवश्यकतानुसार गोबर अभावका कारण दिनमा चार घन्टामात्रै ग्यास प्लान्ट सञ्चालन हुँदै आएको छ ।’ गौशालामा कम्पोस्ट मल उत्पादन सुरु भइसकेको छ । मल भण्डारका लागि भण्डारकक्षसमेत नगरपालिकाले निर्माण गरेको छ । प्रशोधन भएर आएको गोबरबाट गड्यौला मल उत्पादनको तयारी भइरहेको समितिका अध्यक्ष बुढाक्षेत्री बताउँछन् । ‘एकातिर मल बेचेर आम्दानी गर्न सकिन्छ भने अर्कोतिर स्थानीयलाई सहुलियत ग्यास वितरण गरे’, बुढाक्षेत्रीले भने, ‘नगरपालिकाले एक वर्षको लागि परीक्षणकालका रूपमा सञ्चालनको जिम्मा दिएको छ । त्यो अवधिमा गौशालालाई व्यावसायिक गौशालाको रूपमा स्थापित गरेर छाड्छौँ ।’ नगरपालिकाका इन्जिनियर नवराज जोशीले यसबाट नगरपालिकाभित्रका सामुदायिक चौपाया व्यवस्थापन हुनु, स्थानीयले ग्यास प्राप्त गर्नुका साथै खेतका लागि कम्पोस्ट मलसमेत उत्पादन हुने बताए । नगरपालिकाले उक्त बायो ग्यास प्लान्टबाटै बजार क्षेत्रबाट सङ्कलन भएको फोहरको व्यवस्थापन गर्ने तयारीसमेत गरेको छ । त्यसका लागि बजार क्षेत्रमा कुहिने र नहुहिने फोहरको वर्गीकरण गरेर व्यवस्थापनका लागि डस्टबिनको व्यवस्था गरिएको नगरपालिकाका फोहर व्यवस्थापन उपशाखा प्रमुख लोकबहादुर बुढाले बताए । गौशालासँग सुदूरपश्चिम प्रदेशको नवप्रवर्द्धन आयोजना जोडिएको छ । नगरपालिकाले प्रदेश सरकारलाई पेस गरेको प्रस्तावनाअनुसार गौशालालाई व्यावसायिक बनाउनका लागि सहयोग गरेको छ । गौशालाका गाईबाट दूध उत्पादन गरेर बजारीकरणका लागि आवश्यक भाँडाकुँडा, ग्यास प्लान्टबाट प्रशोधन भएको गोबरलाई भण्डारणका लागि भण्डारकक्ष, ग्यासका लागि बजार क्षेत्रमा सङ्कलन हुने कुहिने फोहरको छुट्टै व्यवस्थापनका लागि डस्टबिनको व्यवस्थालगायतमा सहयोग गरेको इन्जिनियर जोशीले बताए । रासस