विकासन्युज

अर्थतन्त्रमा सेवा क्षेत्र हाबी बन्दै, कृषि क्षेत्रको योगदान र वृद्धिदर घट्यो

काठमाडौं । नेपालको अर्थतन्त्रमा सेवा क्षेत्र हाबी बन्दै गएको देखिन्छ भने कृषि क्षेत्रको योगदान प्रत्येक वर्ष घट्दै गएको छ । राष्ट्र बैंकले तथ्याङ्क अनुसार सेवा क्षेत्रको योगदान प्रत्येक वर्ष बढेको छ । गत वर्ष कृषि क्षेत्रको योगदान र वृद्धिदर दुवै घटेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष सेवा क्षेत्र र उद्योग क्षेत्रको वृद्धिदर घटेको भएपनि योगदान भने बढेको देखिन्छ । कूल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान गत वर्ष २४.१२ प्रतिशत छ । जबकी अघिल्लो वर्ष २४.६७ प्रतिशत र आर्थिक वर्ष २०७७/७८ मा २५.८० प्रतिशत योगदान कृषि क्षेत्रको योगदान थियो । यस्तै, उद्योग क्षेत्रको योगदान अघिल्लो वर्ष १४.०९ प्रतिशत रहेकोमा गत वर्ष घटेर १३.४५ प्रतिशत मात्रै छ । आर्थिक वर्ष २०७७÷७८ मा भने उद्योग क्षेत्रको योगदान १३.८२ प्रतिशत थियो । यस्तै, कूल ग्राहस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान अघिल्लो वर्ष ६१.२४ प्रतिशत रहेकोमा गत वर्ष बढेर ६२.४३ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७७÷७८ मा सेवा क्षेत्रको योगदान ६०.३८ प्रतिशत थियो । राष्ट्रिय तथ्याङ्ग कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा आर्थिक वृद्धि उत्पादकको मूल्यमा १.८६ प्रतिशत रहने अनुमान छ । जसमध्ये कृषि क्षेत्रको वृद्धि २.७३ प्रतिशत, उद्योग क्षेत्रको ०.५९ प्रतिशत र सेवा क्षेत्रको वृद्धि २.३३ प्रतिशत रहने अनुमान छ । जबकी आर्थिक वर्ष २०७८/७९ मा कृषि क्षेत्रको वृद्धि २.२४ प्रतिशत, उद्योग क्षेत्रको १०.८० प्रतिशत र सेवा क्षेत्रको वृद्धि ५.३२ प्रतिशत रहेको थियो । गत असारसम्म कुल गार्हस्थ्य बचतको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ६.४१ प्रतिशत रहेको छ । कुल स्थिर पुँजी निर्माण र कुल राष्ट्रिय बचतको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात क्रमशः २५.२१ प्रतिशत र ३१.६६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९/८० मा कुल विद्युतको जडित क्षमता वृद्घि भई २६८४.४ मेगावाट पुगेको छ । जसमध्ये जलविद्युतको २५३७.९ मेगावाट, सोलारको ८७ मेगावाट, कोजेनेरेसनको ६.० मेगावाट र थर्मलको ५३.४ मेगावाट विद्युत उत्पादन क्षमता रहेको छ । गत वर्ष कुल पर्यटक आगमन संख्यामा उल्लेख्य वृद्धि भएको छ । समीक्षा अवधिमा ८ लाख ६२ हजार ९९२ जना पर्यटक नेपाल आएका छन् । आर्थिक वर्ष २०७८÷७९ मा उक्त संख्या ३ लाख ७४ हजार १४७ जना मात्रै थिए ।

उद्योगी व्यवसायीले सकसपूर्ण भनिरहेको अर्थतन्त्रको वास्तविक अवस्था यस्तो छ

काठमाडौं। नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्मको आर्थिक अवस्था सार्वजनिक गरेको छ । उद्योगी व्यवसयीहरुले अर्थतन्त्र समस्यामा परेको भन्दै चिन्ता व्यक्त गरिरहेको बेला राष्ट्र बैंकले भने सन्तोषजनक अवस्थामा रहेको अर्थतन्त्रका सूचकहरु सार्वजनिक गरेको हो । असारसम्मको तथ्यांक अनुसार मूल्यवृद्धि बढेको देखिएको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको १२ महिनामा उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत कायम भएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ६.३२ प्रतिशत थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप-समूहको मूल्यवृद्धि १४.४२ प्रतिशत, मरमसलाको १२.५० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १०.७० प्रतिशत, सुर्तीजन्य पदार्थको ९.८८ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ९.२३ प्रतिशत रहेको छ । साढे १५ खर्ब पुग्यो विदेशी मुद्राको सञ्चिति गत आर्थिक वर्ष २०८० असार मसान्तमा विदेशी मुद्राको सञ्चिति पौने १५ खर्ब रुपैयाँ पुगेको छ । २०७९ असार मसान्तसम्म कुल १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले वृद्घि भई २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० असार मसान्तमा २३.१ प्रतिशतले वृद्घि भई ११ अर्ब ७४ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा २०८० असार मसान्तमा २७.४ प्रतिशतले वृद्घि भई १३ खर्ब ४५ अर्ब ७८ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१५९ अर्ब ४१ करोड रहेकोमा २०८० असार मसान्तमा २१.४ प्रतिशतले वृद्धि भई.१ खर्ब ९३ अर्ब ५९ करोड पुगेको छ । २०८० असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ । रेमिट्यान्स आप्रवाह २१.२ प्रतिशतले बढ्यो समीक्षा अवधिमा विप्रेषण आप्रवाह २१.२ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७९÷८० मा रेमिट्यान्स १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले वृद्धि भई ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतलेवृद्धि भई ४ लाख ९७ हजार ७०४ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३९२.० प्रतिशतले बढेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई २ लाख ७७ हजार २७२ पुगेको छ । आयात र निर्यात घट्यो गत आर्थिक वर्ष आयातसँगै निर्यातमा कमी आएको छ । आर्थिक वर्ष २०७९/८० को तथ्यांक अनुसार केन्द्रिय बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार एक वर्षको अबधिमा निर्यातमा २१.४ प्रतिशत र आयातमा १६.१ प्रतिशतले कमी आएको हो । एक वर्षको अबधिमा नेपालले १ खर्ब ५७ अर्ब १४ करोड बराबरको निर्यात गरेको छ । अघिल्लो वर्ष यस्तो निर्यात ४१.७ प्रतिशतले बढेको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३१.३ प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ११८.३ प्रतिशत र १०.७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आयात २४.७ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.४ प्रतिशत, १५.९ प्रतिशत र २०.७ प्रतिशतले घटेको छ । शोधान्तर स्थिती २ खर्ब ९० अर्ब बचतमा गत आर्थिक वर्ष २०७९/८० मा वर्षमा शोधनान्तर स्थिति झण्डै ३ खर्ब रुपैयाँ बचतमा छ । गत असारसम्म २ खर्ब ९० अर्ब ५२ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब १५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा २ अर्ब २१ करोड रुपैयाँले बचतमा छ । यस्तै, गत वर्ष चालु खाता ७२ अर्ब १६ करोड रुपैयाँले घाटामा रहेको देखिएको छ । अघिल्लो वर्ष चालु खाता ६२३ अर्ब ३८ करोड रुपैयाँ घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ५ अर्ब १७ करोडले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा ५५ करोड ७१ लाख रुपैयाँले घाटामा रहेको छ । सरकारको खर्च पनि बढ्यो आर्थिक वर्ष २०७८/७९ मा नेपाल सरकारको कुल खर्च १२ खर्ब ९६ अर्ब २४ करोड रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा यस्तो खर्च १४ खर्ब २९ अर्ब ५६ करोड रहेको छ । जसमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था वापतको खर्च क्रमशः १० खर्ब ५ अर्ब ७६ करोड, २ खर्ब ३३ अर्ब ७० करोड र १ खर्ब ९० अर्ब ११ करोड रहेको छ । आर्थिक वर्ष २०७९/८० मा राजस्व संकलन (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत) ९ खर्ब ५७ अर्ब १५ करोड छ । अघिल्लो वर्षको सोही अवधिमा कुल राजस्व संकलन १० खर्ब ६७ अर्ब ९६ करोड रहेको थियो ।

बङ्गलादेशबाट प्लेन चार्टर्ड गरेर आए ७०० पर्यटक, एअरपोर्टमा पञ्चेबाजा बजाएर स्वागत

काठमाडौं । बङ्गलादेशबाट सात सय पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका निर्देशक जहाज चार्टर्ड गरेर नेपाल आएका बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । नेपाल आएका बङ्गलादेशी पर्यटकलाई नेपालको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले ‘ग्राउण्ड ह्यान्डलिङ’ गरेको छ । उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सिएन पाण्डेका अनुसार बङ्गलादेशबाट उडानमार्फत नेपाल आएको टोली हालसम्मकै ठूलो हो । राजधानी ढाकामा रहेको माउन्टेन क्लबमार्फत बङ्गलादेशी पर्यटक नेपाल आएका हुन् । एउटै कम्पनीमार्फत ठूलो समूहमा बङ्गलादेशी पर्यटक भित्रिएको पहिलो पटक भएको पाण्डले बताए ।

कामना सेवा विकास बैंकका ग्राहकलाई टि थ्री थकालिमा छुट

काठमाडौं । कामना सेवा विकास बैंक र टि थ्री थकालि ग्रुपबीच बिहीवार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले एयरपोर्ट, सिनामङ्गल, काठमाडौं स्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा आफ्नो ग्राहकहरुलाई १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्ने बैंकले जनाएको छ । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राकहले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

नेप्सेमा पौने ४ खर्बको धितोपत्र सूचीकृत, २२ अर्ब ३८ करोडको आईपीओ जारी

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा आर्थिक वर्ष २०७९/८० मा कुल ३ खर्ब ७२ अर्ब ३८ करोड बराबरको धितोपत्र सूचीकृत भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आथिंक वर्षको १२ महिने तथ्यांक अनुसार कम्पनीहरुको विभिन्न सेयर सूचीकृत भएका हुन् । जसमध्ये १ खर्ब ७९ अर्ब ८८ करोड बराबरको साधारण सेयर, १ खर्ब ५ अर्ब बराबरको विकास ऋणपत्र, ४० अर्ब ५९ करोड रुपैयाँ बराबरको बोनस सेयर, ३५ अर्ब ५९ करोड रुपैयाँ बराबरको डिबेन्चर, ७ अर्ब १४ करोड रुपैयाँ बराबरका म्युचुअल फण्ड, ४ अर्ब १३ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ३ करोड ७९ लाख बराबरको गरी कुल ३ खर्ब ७२ अर्ब ३८ करोड बराबरको धितोपत्र सूचीकृत भएका छन् । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले २२ अर्ब ३८ करोड रुपैयाँ बराबरको साधारण सेयर, १६ अर्ब १५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, १५ अर्ब ९८ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ११ अर्ब ६० करोड रुपैयाँ बराबरको डिबेन्चर गरी कुल ६६ अर्ब ११ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । २०७९ असार मसान्तमा २००९.५ रहेको नेप्से सूचकाङ्क २०८० असार मसान्तमा २०९७.१ कायम भएको छ । २०८० असार मसान्तमा धितोपत्र बजार पँुजीकरण ३० खर्ब ८२ अर्ब ५२ करोड कायम भएको छ । २०७९ असार मसान्तमा बजार पुँजीकरण २८ खर्ब ६९ अर्ब ३४ करोड रुपैयाँ थियो । २०८० असार मसान्तमा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको संख्या २५४ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३६ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ७९ जलविद्युत्कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ६ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । २०७९ असारमा सूचीकृत कम्पनीहरूको संख्या २३४ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६३ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १३.२ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४ं.४ प्रतिशत, होटेलको हिस्सा ३.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.४ प्रतिशत रहेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० असार मसान्तमा सूचीकृत ७ अर्ब ३९ करोड शेयरको चुक्ता मूल्य ७ खर्ब २८ अर्ब ९५ करोड रहेको छ ।

बैंकको कर्जा प्रवाह ३.८ प्रतिशत मात्रै बढ्यो, ६८ प्रतिशत कर्जाको धितो घरजग्गा

काठमाडौं । गत वर्ष बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाहमा कमी आएको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह ३.८ प्रतिशत मात्रै बढेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा १३.१ प्रतिशत कर्जा प्रवाह बढेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.३ प्रतिशत र ३६.७ प्रतिशत रहेको थियो । समीक्षा वर्षमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.५ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह ७.६ प्रतिशतले र वित्त कम्पनीहरुको ०.६ प्रतिशतले बढेको छ । गत असारमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये ६८ प्रतिशत कर्जा घर जग्गाको धितोमा र ११.६ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७९ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.४ प्रतिशत र १२.३ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थाहरुको कृषि क्षेत्रतर्फको कर्जा ६.८ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.३ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २१.० प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.९ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.७ प्रतिशतले बढेको छ । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा ३२.० प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ५.६ प्रतिशतले र हायर पर्चेज कर्जा १.३ प्रतिशतले बढेको छ भने ट्रष्ट रिसिट (आयात) कर्जा ६.२ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ६७.७ प्रतिशतले, डिमान्ड तथा चालु पूँजी कर्जा १३.२ प्रतिशतले र मार्जिन प्रकृति कर्जा ५.२ प्रतिशतले घटेको छ ।

१२.३ प्रतिशत बढ्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन

काठमाडौं । गत आर्थिक वर्ष गत आर्थिक वर्ष २०७९÷८० मा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन १२.३ प्रतिशत बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा वित्तीय संस्थाहरुले ९ प्रतिशत निक्षेप बढाएका थिए । गत असारसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.७ प्रतिशत, २६.६ प्रतिशत र ५८.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेपको अंश क्रमशः ८.९ प्रतिशत, २७.६ प्रतिशत र ५५.८ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.६ प्रतिशत रहेको छ । २०७९ असारमा यस्तो निक्षेपको अंश ३८.३ प्रतिशत रहेको थियो ।

वन पैदावार बिक्रीबाट २० करोड आम्दानी

गण्डकी । वन पैदावार बेचेर गण्डकी प्रदेशका सामुदायिक वन उपभोक्ता समूहले गत आवमा २० करोड ३९ लाख ८७ हजार पाँच सय २३ रुपैयाँ आम्दानी गरेका छन् । ११ लाख ७४ हजार पाँच सय ६६ रुपैयाँ क्युफिट काठ, २८ सय ३२ चट्टा दाउरा र ८० हजार पाँच सय ८४ किलो जडीबुटी बिक्री भएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव विशाल घिमिरेका अनुसार सोही अवधिमा मन्त्रालयले १३ करोड ४३ लाख ७३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । दण्ड–जरिवाना, काठ दाउरा, जडीबुटी, ठेक्का बिक्री आदिबाट उक्त राजस्व उठेको हो । वन पैदावार सङ्कलनबाट तीन लाख रुपैयाँ श्रम दिनभन्दा बढी रोजगारी सिर्जना भएको सचिव घिमिरले बताए । सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य प्रेम लामिछानेले वन पैदावारमा आधारित उद्योग विस्तार गर्ने सके उपभोक्ताको आयआर्जन बढ्ने बताए । ‘हाम्रो वनमा भएका रुख कुहिएका छन् विदेशबाट महँगो काठ ल्याउनुपर्ने अवस्था छ’, उनले भने, ‘जडीबुटी खेतीलाई पनि व्यावसायिक बनाउनुपर्ने अवस्था छ ।’ उनले वन क्षेत्रमा रहेका खाली जग्गामा फलफूलजन्य बोट बिरुवादेखि जडीबुटी खेती विस्तारमा राज्यले जोड दिनुपर्ने धारणा राखे । ‘वनजन्य उत्पादनको संरक्षण, व्यवस्थापन र सदुपयोगका लागि उचित नीति तथा कार्ययोजना ल्याउनुपर्छ’, सदस्य लामिछानेले भने, ‘यसले वन समूहलाई पनि बलियो बनाउँछ, अर्कातिर वन पैदावारबाट राजस्व पनि बढ्छ ।’ सामुदायिक वन समूहले गरेको आम्दानी सामुदायिक विकासमा नै खर्च हुँदै आएको छ । विपन्न समुदाय, वन विकास र सामुदायिक विकासमा लगानी हुने गरेको सदस्य लामिछानेले बताए । गण्डकी प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको वन विधेयकमा सामुदायिक वनबाट हुने आम्दानीको ३० प्रतिशत प्रदेश सञ्चित कोषमा जम्मा गर्नुपर्ने व्यवस्था अव्यवहारिक रहेको वन समूहले जनाएका छन् । मन्त्रालयका सूचना अधिकारी सरोज पन्थीले अन्य प्रदेशमा निर्यात गर्न सक्ने गरी वन पैदावारको उत्पादन तथा सङ्कलन नभएको बताए । जडीबुटी विकास कार्यक्रमअन्तर्गत गत आवमा दुई करोड ९० लाख रुपैयाँ खर्च भएको उनको भनाइ छ । वन पैदावारको संरक्षण तथा सदुपयोग गर्न ढलापडा काठदाउरा सङ्कलनको व्यवस्था, वनमा आधारित उद्योग र वन क्षेत्रको दूरी निर्धारणलगायत काम गरिएको सूचना अधिकारी पन्थीले जानकारी दिए । मन्त्रालयले गत आवमा छ दशमलव ०१ प्रतिशत वन अतिक्रमणसमेत नियन्त्रण गरेको जनाइएको छ । नौ वटा सामुदायिक वनमा पर्यापर्यटन प्रवद्र्धनको काम गरिएको छ । ९२ पोखरी, नौ वटा सिँचाइ कुलो र ४७ वटा उद्यान निर्माण गरिएको मन्त्रालयले जनाएको छ । दुई सय २५ वटा सामुदायिक वन र ४२ वटा कबुलियती वनको कार्ययोजना नवीकरण गरिएको सूचना अधिकारी पन्थीले बताए । मन्त्रालयले जलाधार तथा सिमसार व्यवस्थापन, राष्ट्रिय वन विकास तथा व्यवस्थापन, ताल संरक्षण, वन अनुसन्धान, वातावरणको जगेर्नालगायत क्षेत्रमा काम गर्दै आएको छ । रासस