विकासन्युज

शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा सातजना पक्राउ

एआईद्वारा सिर्जना गरिएको सांकेतिक तस्बिर काठमाडौं । नेपाल प्रहरीले एमबीबीएस कोर्ष अध्ययन गर्न जाने प्रयोजनका लागि शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा सातजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध सञ्चालन गरेको ‘अप्रेसन’मा एमबीबीएस अध्ययन गर्न जाने प्रयोजनका लागि आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाएकाले सातजनालाई पक्राउ गरी शुक्रबार राति सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा अनु फार्मेसी विराटनगरमा कार्यरत मोरङका ३४ वर्षीय मनित चौधरी, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत बाराका ३४ वर्षीय अमित चौधरी, एमडी अध्ययनको तयारी गरेकी काठमाडौँकी २९ वर्षीया एरिना शाह, इसान बाल अस्पताल वसुन्धरामा कार्यरत ललितपुरकी ३३ वर्षीया श्रद्धा शिल्पकार, काठमाडौं २८ वर्षीया पुनम थापा, बागमती अस्पताल रौतहटमा कार्यरत सिरहाका ३२ वर्षीय रामबाबु यादव र चितवन मेडिकल कलेजमा अध्ययनरत सप्तरीका २८ वर्षीय नसिम अख्तर रहेका छन् । ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले शैक्षिक योग्यतामा अङ्क वास्तविकभन्दा थपघट गरी काम गरिरहेको र पढिरहेकाले पक्राउ गरिएको जानकारी दिए। प्रहरीले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरलाई पत्राचार गरी यकिन गरी नक्कली भएको आधारमा पक्राउ गरी अनुसन्धान गरेको हो । पक्राउ परेका सातैजनालाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताए ।

निफ्रा बैंकले ५० करोडभन्दा बढी ऋण दिँदा रेटिङलाई आधार मान्नुपर्ने

काठमाडौं । पुर्वाधार विकास बैंक (निफ्रा)ले ५० करोड रुपैयाँभन्दा बढीको कर्जा प्रवाह गर्दा रेटिङ गरेको हुनु पर्ने छ । नेपाल राष्ट्र बैंकले निफ्रा बैंकलाई निर्देशन दिँदै ५० करोड वा सो भन्दा बढीको कर्जा उपयोग गर्ने ऋणीलाई कर्जा प्रवाह वा नवीकरण गर्दा ऋणी संस्थाको क्रेडिट रेटिङ्ग एजेन्सीबाट गरिएको रेटिङ्गलाई कर्जा मूल्याङ्कनको आधारको रुपमा लिनुपर्ने जनाएको छ । यस्तै, पूर्वाधार विकास बैंकले आवश्यक नीति तर्जुमा गरी प्राथमिक पुँजीको १० प्रतिशतको सीमाभित्र रही जग्गा, भवन वा दुवै खरिद वा भवन निर्माण गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । त्यस्तै, नेपाल राष्ट्र बैंक वा अन्य निकायहरुले खाता रोक्का÷फुकुवा गरेका व्यक्तिहरुको अद्यावधिक सूची तयार गरी यस्तो सूचीलाई ग्राहक पहिचान पद्दतिको आधारको रुपमा लिन निफ्रालाई भनेको हो । यस्तै, पूर्वाधार विकास बैंकको काम कारवाही सम्बन्धी गुनासोको सुनुवाई सहज बनाउन बैंक तथा वित्तीय संस्थाले यस बैंकको गुनासो पोर्टलको लिङ्क आफ्नो वेबसाइटमा राख्नुपर्नेछ ।

विवादित व्यवसायी दुर्गा प्रसाईंविरुद्ध उजुरी, तत्काल पक्राउ गरेर कारवाही गर्न माग

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि उजुरी परेको छ । नेपाल राष्ट्रिय मारवाडी परिषद्ले प्रसाईंलाई कारवाही गर्न भन्दै प्रहरीमा उजुरी दिएको हो । प्रसाईं र उनको समूहले सामाजिक सञ्जाल तथा मिडियाहरूमार्फत् सिंगो मारवाडी समूदायको चरित्र हत्या गरेको भन्दै कारवाहीको माग गर्दै नेपाल प्रहरीको साइबर व्यूरोमा उजुरी दर्ता गरेको हो । साइबर ब्यूरो स्रोतका अनुसार उनीविरुद्द उजुरी परेको हो । परिषदले प्रसाईंसँगै हेमन्त सेढाई विरुद्ध पनि कारबाहीको माग गर्दै उजुरी दिएको बुझिएको छ । पछिल्लो समय प्रसाईंले विभिन्न व्यवसायीको विषयमा आपत्तिजनक ढंगले अभिव्यक्ती दिइरहेका छन् बैंक तथा वित्तीय संस्थाको पनि ऋण नतिर्ने बताइरहेका छन् । उनले पछिल्लो समय मारवाडी व्यवसायीमाथि पनि धावा बोल्दै आइरहेका छन् । उनले मारवाडीहरुले ‘देश लुटेको, क्षणिक लाभका लागि व्यवसाय’ गरेको लगायतका आरोप लगाउँदै आएका छन् । उनले पछिल्लो समय देशमा आर्थिक संकट आउनुको मुख्य कारण मारवाडी समूदाय भएको आरोपसमेत लगाउँदै आएका छन् । नेपाल उद्योग वाणिज्य संघ वीरगन्जका अध्यक्ष अनिल कुमार अग्रवालले एक विज्ञप्ति जारी गर्दै मारवाडी समुदायले अर्थतन्त्र तहस नहस तुल्याएको’ लगायतका अवाञ्छित र गैरजिम्मेवार अभिव्यक्तिप्रति दिएकोप्रति अपत्ति पनि जनाएका छन् । अध्यक्ष अग्रवालले विदेशमा भए यस्ता व्यक्तिलाई कारबाही तुरुन्तै हुने बताउँदै सिंगो निजी क्षेत्रलाई हत्तोसाहित गर्ने गरी प्रसाईं प्रस्तुत भएको प्रति उद्योग वाणिज्य संघ लगायत सम्पूर्ण निजीको ध्यानाकृष्ट भएको विज्ञप्तिमा उल्लेख गरेका छन् । प्रसाईंले बैंकको ऋण तिर्दिनुभन्नु गलत भएको भन्दै विकासन्युजले समाचार पनि सम्प्रेषण गरेको थियो । उक्त समाचारको विषयमा प्रसाईंले आफुलाई कसैले केही गर्न नसक्ने र आफ्नो विषयमा समाचार लेखेमा ज्यान मार्ने धम्की समेत दिएका थिए ।

बाल यौन दुर्व्यवहार मुद्दामा प्रधानाध्यापकलाई नौ महिना कैद सजाय

ओखलढुङ्गा । ओखलढुङ्गामा बाल यौन दुर्व्यवहार मुद्दामा एक प्रधानाध्यापकलाई नौ महिना कैद सजायको भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–२ को गणेश माध्यमिक विद्यालयका प्रधानाध्यपक योगेन्द्रप्रसाद धमलालाई जिल्ला अदालतले नौ महिना कैद सजाय तोकेको हो । दुई छात्रालाई यौन दुव्र्यवहार गरेको कसुरमा धमलाविरुद्ध दायर मुद्दामा जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको इजलासले आफूले पढाएका बालिकालाई यौन दुर्व्यवहार गर्ने धमलालाई नौ महिना कैद सजायसहित  ५० हजार क्षतिपूर्ति र  २० हजार जरिवाना असुलउपर गर्नुपर्ने स्रेस्तेदार विनोदकुमार घिमिरेले बताए । गत चैत ३ गते बालिकाका आफन्तले प्रधानाध्यापकविरुद्ध प्रहरीमा बाल यौन दुव्र्यहारको आरोपमा जाहेरी गरेपछि प्रहरीले पक्राउ गरी जिल्ला अदालतको आदेशबमोजिम साधारण तारेखमा छोडिएको थियो । साधारण तारेखमा छुटेपछि विद्यालयको नियमित काममा फर्किएका धमलाविरुद्ध गत साउन २९ गते सो सजाय सुनाएको थियो । रासस

रिद्धि सिद्धि सिमेन्टको ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ छात्रवृत्ति कार्यक्रमबाट ११ विद्याथी लाभान्वित

काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले मकवानपूर जिल्लालाई लक्षित गरि आयोजना गरेको ‘मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रम सफलतापूर्वक सम्पन्न गरि ११ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । रोबोटिक ल्याबमा बनेको स्मार्ट सिमेन्ट रिद्धि सिद्धि सिमेन्टले आयोजना गरेको छात्रवृत्ति कार्यक्रममा १०९ विद्यार्थीहरु सहभागी भएका थिए र एस.ई.ई परीक्षामा उपलब्ध अङ्क, दौड प्रतियोगिता साथै परीक्षामा सोधिएका सम्पूर्ण अंकहरु जोडी छात्रवृत्तिका लागि उत्कृस्ट ११ स्मार्ट विद्यार्थीहरु छनोट गरिएको थियो । छात्रवृत्ति कार्यक्रम अन्तर्गत कम्पनीले प्रथम हुने विद्यार्थीलाई मासिक रुपमा ५०००, दोश्रो हुनेलाई ३५००, तेश्रो हुनेलाई २५०० साथै सान्त्वना स्वरुप थप ८ विद्यार्थीलाई मासिक रुपमा १५०० एक वर्षसम्म उपलब्ध गराउने निर्णय अनुरुप मकवानपुरका ११ जना विद्यार्थीहरुले छात्रवृत्तिमा छनोट भएका हुन् । छात्रवृत्ति पाउने विद्यार्थीहरुमा प्रथम पुरस्कार पाउने ईशान्त कुमार मिश्र ,दोस्रो पुरस्कार पाउने अंशु कुमारी र तेस्रो पुरस्कार पाउने रिजन कठायत रहेका छन् भने सान्त्वना पुरस्कार पाउने विद्यार्थीहरु ( शिवम् पटेल, भुषण दाहाल, भोला कुमार साह कलवार, सुयोग अर्याल, दिपेश चौलागाईं, मनिषा कुमारी खड्का, जिज्ञासा पौडेल र विजय मोक्तान ) रहेका छन् । विद्यार्थीलाई प्रोत्साहन होस् भन्ने उद्देश्यले रिद्धि सिद्धि सिमेन्टको आयोजनामा संचालन गरिएको स्मार्ट विद्यार्थी स्मार्ट मकवानपुर छात्रवृत्ति योजनाले मकवानपुर जिल्लाका ११ जना विद्याथीलाई शैक्षिक क्षेत्रर्मा लाभान्वित गर्दै नयाँ विद्यार्थीहरुलाई पनि पठन पाठन तर्फ आकर्षित गरेर स्मार्ट विद्यार्थी बन्न थप मनोबल पुग्नेछ भन्ने अपेक्षा गरिएको छ ।

सांग्रिला मोटर्सले शुरु गर्‍यो सिट्रोन ई–सी थ्रीको हस्तान्तरण, कति छ मूल्य ?

काठमाडौं । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले बहुप्रतिक्षित सिट्रोन इ–सि थ्रीको हस्तान्तरण शुरु गरेको छ । कम्पनीका अनुसार सिट्रोन इ–सि थ्रीमा २९.२ किलोवाट आवरको लिथियम आयन फोस्फेट ब्याट्री प्याक रहेको छ । फ्रन्ट ह्वील ड्राइभ सिट्रोन सीथ्रीमा रहेको मोटरले ५७ हर्सपावर तथा १४३ एनएमको टर्क जनेरेट गर्छ । सिट्रोन इ–सि थ्रीको मोटरले जम्मा ६.८ सेकेन्डमा शून्यबाट ६० किलोमीटर प्रतिघण्टाको स्पीडमा गुडाउन सक्छ । यो ईभीको टप स्पीड १०७ किलोमिटर प्रतिघण्टा रहेको छ भने रिजेनेरेटीभ ब्रेकिङ सिस्टमसहित इको र स्ट्याण्डर्ड गरी दुईवटा ड्राइभिङ मोड रहेको छ । एआरएआइका अनुसार सिट्रोन इ–सि थ्रीले एक पटकको फुल चार्जमा ३२० किलोमिटर सम्मको रेन्ज प्रदान गर्छ । यो कारलाई रेगुलर ३.३ किलोवाटको एसी चार्जरले चार्ज गर्दा १० घण्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिन्छ भने डीसी फास्ट चार्जरले चार्ज गर्दा जम्मा ५७ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । साथै, यो डीसी फास्ट चार्जरमा धेरै पटक चार्ज गर्दा पनि ब्याट्रीको जीवनलाई असर नपर्ने कम्पनिले दाबी गरेको छ । कम्पनीले यो कारमा ७ वर्ष वा १ लाख ४० हजार किलोमिटर ब्याट्री प्याकको वारेन्टी दिएको छ । त्यसैगरि यसमा दिएको इलेक्ट्रीक मोटरमा ५ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी रहेको छ । कम्पनीका अनुसार सिट्रोन इ–सि थ्री विश्व बजारमा धेरै रुचाइएको कार हो र नेपालमा पनि यसले उस्तै लोकप्रियता पाउने विश्वास कम्पनीले गरेको छ । आफ्नो कार्बन फुटप्रिन्ट घटाउँदै दिगो भविष्यतर्फ अगाडी बढ्न चाहने जोसुकैको लागि सिट्रोन इ–सि थ्री एउटा उपयुक्त रोजाई हो । लाइभ भेरियन्टको मूल्य ३२.९९ लाख र फिल भेरियन्टको मूल्य ३४.९९ लाख रहेको सिट्रोन इ–सि थ्री थापाथलीस्थित ‘ला मेजन सिट्रोन’ शोरुममा उपलब्ध छ र बिर्तामोड, इटहरी, विराटनगर, नारायणगढ, बुटवल, पोखरा, नेपालगन्ज, दाङ र धनगढीस्थित शोरुमहरुमा एक सातापछि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

यी अवस्थामा कम्पनीको ऋण तिर्ने क्षमतामा ह्रास भएको मानिने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनी डिलिस्ट भएमा ऋण तिर्ने क्षमतामा ह्रास आएको मान्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले निफ्रा बैंकलाई निर्देशन दिँदै नेप्सेमा सूचीकृत कम्पनी डिलिस्ट हुने अवस्था आएमा ऋण तिर्ने क्षमतामा ह्रास आएको मानिने जनाएको छ । ‘ऋणी कम्पनी नेपाल स्टक एक्सचेन्जबाट डिलिस्ट भएमा वा डिलिस्ट हुने प्रक्रियामा रहेमा, कर्जाको किस्ता वा ब्याज भुक्तानीको लागि ऋणीको वास्तविक वित्तीय अवस्था वा अनुमानित वित्तीय अवस्था पर्याप्त नभएमा,’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा उल्लेख छ । कस्ट ओभररन, टाइम ओभररन, क्यासफ्लो मिसम्याच जस्ता अल्पकालिन कारणले आम्दानीमा ह्रास आई कर्जाको किस्ता वा ब्याज निर्धारित भाखामा भुक्तानी नभएमा ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास आएको बुझिने छ । यस्तै, कर्जाको किस्ता वा ब्याज निर्धारित भाखामा भुक्तानी भएतापनि प्रतिकूल बाह्य अवस्था वा अन्य कुनै कारणले ऋणीको भविष्यका किस्ता वा ब्याज निर्धारित भाखामा भुक्तानी हुन नसक्ने अवस्था सिर्जना भएमा ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास आएको बुझिने राष्ट्र बैंकले जनाएको छ ।

सरकारले तोकेको पारिश्रमिक दिन सक्दैनौ : नेपाल उद्योग परिसंघ

काठमाडौं । सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको सन्दर्भमा नेपाल उद्योग परिसंघको ध्यानाकर्षण भएको छ । अर्थतन्त्र मन्दीमा छ । उच्च ब्याजदर, न्युन माग, न्युन उत्पादनका कारण निजी क्षेत्रको मनोबल घट्दो छ । उद्योगहरुको प्रकृति अनुसार उत्पादनमा ७० प्रतिशतसम्म गिरावट आएको छ । उद्योगी व्यवसायीहरुले लगानीका योजना स्थगन गरिरहेका छन् । अर्थतन्त्र शिथिल बन्दै जाने, आन्तरिक उत्पादन नबढ्ने, उत्पादन भएपनि माग नहुने तर उत्पादन लागत बढ्दा त्यसको थप भार उद्योगहरुमाथि पर्नेछ । श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने चाहना हुँदा हुँदै पनि विद्यमान समस्याका कारण हाल बढाइएको पारिश्रमिक दिन सक्ने अवस्थामा निजी क्षेत्र नरहेको परिसंघको धारणा छ । विद्यमान चुनौतीपूर्ण अवस्थामा सुधार ल्याइ अर्थतन्त्रलाई चलायमान बनाउन, समग्र बजार माग बढाउने नीति अलम्बन गर्न, उत्पादन लागत घटाउने तथा निजी क्षेत्रको मनोबल बढाउनेतर्फ अग्रसर हुन सबै सरोकारवाला समक्ष परिसंघ अनुरोध गर्दछ ।