विकासन्युज

उमेरले छेकेन प्रेमकुमारीको पढ्ने रहरलाई

बाँके । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा हजुरआमा उमेरकी ६१ वर्षीया प्रेमकुमारी गिरीले ध्यान दिएर पढ्छिन् । बाँकेको कोहलपुर नगरपालिका–११ बगियामा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत गिरी कक्षा कोठाको अघिल्लो लाइनमा बस्छिन् । कक्षामा नियमित उपस्थित हुने उनको अरू विद्यार्थीसरह पढाइमै ध्यान केन्द्रित हुन्छ । ज्ञानज्योति माविको कक्षा ६ मा दिनहुँ देखिने यो दृश्यले हिजोआज धेरैलाई आश्चर्यचकित बनाएको छ । यसले सबैलाई खुसी पनि तुल्याएको छ । कोहलपुर–५ एनसिसिएन टोल निवासी गिरी इच्छाशक्ति भए पढाइलाई उमेरले छेक्न नसक्ने गतिलो उदाहरण बनेकी छन् । ‘हरेक व्यक्तिले शिक्षा अनिवार्य लिनुपर्छ पढाइभन्दा ठूलो चीज जीवनमा अरू केही छैन्’, उनी भन्छन्, ‘नातिनातिनासँग पढ्न पाउँदा र छोराहरुले मलाई सिकाउँदा निकै खुसी लागिरहेको छ ।’ प्रेमकुमारीले आफ्ना छ सन्तान हुर्काइसकेकी छन् । उनका छोराछोरी आ–आफ्नो व्यापार व्यवसायमा सक्रिय छन् । कान्छी छोरी उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलियामा छन् । पढ्ने इच्छा हुँदाहुँदै पनि विगतमा घरपरिवार र छोराछोरी हुर्काउँदा विद्यालय जान नपाएको उनको भनाइ छ । अहिले घरपरिवारमा फुर्सद मिलेपछि विद्यालय भर्ना भएर पढाइ सुरु गरेको प्रेमकुमारीले बताइन्। ‘मैले सानोमा पढ्न पाइनँ, घरकै काममा व्यस्त हुनुपर्यो, उनले भनिन्, ‘बाल्यकालमा पढ्न नपाए पनि विद्यालय जाने ठूलो धोको थियो, त्यही धोको पूरा गर्न अहिले पढ्न थालेकी छु ।’ नातिनातिना उमेरका सहपाठीसँग पढ्दा रमाइलो हुने गरेको उल्लेख गर्दै उनले भनिन्, ‘बिहान खाना खाएर विद्यालय आएपछि कक्षामा पढ्दा समय बितेको थाहा हुँदैन, बालबच्चासँग रमाइलो गरी पढ्ने गरेकी छु ।’ आफ्नो वडाको विद्यालय घरबाट टाढा पर्ने भएका कारण ११ नं वडामा रहेको विद्यालयमा भर्ना भएको उनको भनाइ छ । ज्ञानज्योति माविको कक्षा ६ मा ७७ विद्यार्थी छन् । विद्यालयमा नियमित रुपमा उपस्थित हुने प्रेमकुमारीको कक्षा कोठा सिकाइस्तर सामान्य रहेको विद्यालयका प्रधानाध्यापक गोविन्द ढकालले बताए। ‘कहिलेकाहीँ बिरामी हुँदा आउनुहुन्न, अरू बेला कक्षामा उहाँ नियमित रुपमा उपस्थित हुनुहुन्छ’, प्रधानाध्यापक ढकालले भने, ‘लामो समयसम्मको पढाइ छुटेकाले सिकाइस्तर भने सामान्य रहेको छ ।’ मलाई पढ्ने रहर लाग्यो, विद्यालयमा भर्ना गरिदिनूस् भनेपछि कक्षा ६ मा प्रेमकुमारीलाई भर्ना गरिदिएको प्रधानाध्यापक ढकालले जानकारी दिए । पाँच सय ६८ विद्यार्थी रहेको सो विद्यालयमा कक्षा ६ मा अन्य दुई विद्यार्थी पनि ३० वर्ष माथिको उमेर समूहका रहेको प्रधानाध्यापक ढकालले बताए। विद्यालयले आयोजना गरेको विद्यार्थीसँग मेयर कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले बिहीवार ६१ वर्षीय विद्यार्थी प्रेमकुमारी गिरीलाई सम्मान गरेका थिए । उनले इच्छा शक्ति भए जुनसुकै उमेरमा पनि पढाइ गर्न सकिने कुरालाई प्रेमकुमारीले पुष्टि गरेको भन्दै खुसी व्यक्त गरे। प्रेमकुमारीले पढ्ने गरेको सकारात्मक कार्यको अन्य दिदीबहिनी तथा आमाहरुले पनि देखासिकी गरी अध्ययन कार्य गर्न लाज नमान्न नगरप्रमुख आचार्यले आग्रह गरे ।

तनहुँ ब्यास शिव माविका विद्यार्थीलाई पढाइसँगै नौमती बाजा बजाउन सिकाइँदै

तनहुँ । व्यास नगरपालिका–१० स्थित शिव माध्यमिक विद्यालयका केही शिक्षक र विद्यार्थी हिजोआज नियमित कक्षा लिनाका अलावा विद्यालयमा बाजा बजाउँदै नाचगान गरिरहेका भेटिन्छन् । विद्यार्थीलाई जीवनोपयोगी शिक्षा दिन विद्यालयले नौमती बाजा बजाउने तालिम दिएपछि अहिले विद्यालयका छ विद्यार्थी, सोही सङ्ख्यामा शिक्षक र तीन अभिभावक गरी १६ जना नियमित नौमती बाजा बजाउने अभ्यासमा व्यस्त हुने गरेका छन् । गत साउन १८ गतेदेखि बागलुङका नौमती बाजा प्रशिक्षक प्रकाश थापाले दमाहा, सहनाई, नरसिंहा, ढोलक, झ्याली, ट्याम्को बजाउने तालिम दिएपछि सहभागी बजाउन सक्ने भएका हुन् । तालिम पहिलो चरणमा एक महिनासम्म सिकाइने विद्यालयले जनाएको छ । ‘यति छिट्टै बजाउन सकिएला भन्ने लागेको थिएन’, तालिमको दौरान ट्याम्को बजाउँदै गरेका कक्षा १० का विद्यार्थी आश्रुत लामिछानेले भने, ‘सुन्दा आनन्द लाग्ने धुन निकाल्न बढी नै मेहनत चाहिने रहेछ ।’ नौमती बाजा बजाउने तालिममा लामिछानेसहित कक्षा ७ का साहिल नेपाली, सफल विक, कक्षा ८ का पुरन थापा, सुमन नेपाली र निम दोर्जे शेर्पा, शिक्षकहरु नेत्रबहादुर दरै, सञ्जीता दरै, शान्तिकुमारी दरै, रमा दरै, अस्मिता आले, भरतबहादुर श्रेष्ठ र गोपाल थापा, अभिभावकहरुमा नेत्रप्रसाद पौडेल, दुर्गा सापकोटा र विद्यालय व्यवस्थापन समिति अध्यक्ष विकास रिजाल रहेका छन् । आफूले तालिममा सहभागी विद्यार्थी, शिक्षक र अभिभावकलाई नौमती बाजाको ताल र चरणका बारेमा जानकारी गराएको प्रशिक्षक थापाले बताए। सहभागीले सबै बाजा बजाउन १० दिनमै सिके पनि सहनाइ र नरसिंहा बजाउन भने करिब तीन महिनाको समय लाग्ने प्रशिक्षक थापाको भनाइ छ । ‘तालिममा सहभागीहरुले निकै अभिरुचिका साथ बाजा बजाउन सिक्नुभएको छ’, प्रशिक्षक थापाले भने, ‘सहनाई र नरसिंहा बाजा बजाउन भने अझै समय लाग्छ ।’ यसअघि आफूले विभिन्न समुदायलाई नौमती बाजा बजाउने तालिम दिए पनि विद्यालय स्तरका बालबालिका, शिक्षक र अभिभावकलाई तालिम दिएको यो दोस्रो भएको प्रशिक्षक थापाले बताए। विद्यालयस्तरकै बालबालिकालाई यसरी नौमती बाजा बजाउन सिकाउनुले संस्कृतिको संरक्षणमा टेवा पुग्ने आफूले ठानेको उनले बताए । नियमित कक्षालाई असर नपर्ने गरी अतिरिक्त कक्षाका रुपमा आफूहरुले विद्यार्थी, शिक्षक र केही अभिभावकलाई नौमती बाजा बजाउने तालिम प्रदान गरेको विद्यालयका प्रधानाध्यापक चन्द्रमणि कोइरालाले जानकारी दिए । लोप हुँदै गएको बाजालाई विद्यालय तहबाटै संरक्षण गर्नुपर्ने ठानेर आफूहरुले एक महिने तालिम दिएको उनको भनाइ छ । तालिममा सहभागीले बाजा बजाउन सिकेर नौमती बजाउन इच्छुक अन्य विद्यार्थीलाई समेत सिकाउँदै लैजाने योजना विद्यालयको रहेको प्रधानाध्यापक कोइरालाले बताए। नौमती बाजाका अलावा विद्यालयले नृत्य शिक्षकसमेत राखेर विद्यार्थीलाई नृत्य प्रशिक्षण दिँदै आएको जनाएको छ । नौमती बजाउने तालिमका लागि करिब रु एक लाख खर्च हुने विद्यालयले जनाएको छ । ‘नौमती बाजा लोप हुँदै गएको छ, अब विद्यालय तहबाटै संरक्षण गर्नुपर्छ भनेर नै हामीले तालिम प्रदान गरेका हौँ’, उनले भने, ‘यो तालिम दिएपछि सबैतिरबाट अहिले सकारात्मक प्रतिक्रियाले झनै हौसला मिलेको छ ।’ तालिममा सिकेका सीपलाई व्यवहारमा लागू गर्न आफूहरुले तिहारमा खेलिने देउसीभैलो, विभिन्न सांस्कृतिक पर्व र विद्यालयका अतिरिक्त क्रियाकलापमा विद्यार्थीबाट नौमती बजाइने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिजालले बताए । ‘सिकेको सीपलाई त्यसै खेर जान दिइने छैन’, उनले भने, ‘नौमती बाजाको संरक्षणका लागि हाम्रा विद्यार्थी अग्रसर भएका छन् भन्ने सन्देश दिन आवश्यक छ ।’ विद्यार्थी, शिक्षक र अभिभावकको संयुक्त बैठक बसी नौमती संरक्षण गर्न अग्रसर रहने प्रतिबद्धता गरी तालिम दिने निर्णय गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिजालले जानकारी दिए । उक्त विद्यालयमा हाल दुई सय १२ विद्यार्थी र २१ शिक्षक कार्यरत छन् ।

प्राधिकरणले जारी गरेका निर्देशिका कार्यान्वयन गर्नु बीमा कम्पनीहरुको दायित्व हो : अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणले जारी गरेका निर्देशिकाहरू पालना गर्नु बीमा कम्पनीहरूको कर्तव्य मात्र नभई दायित्व समेत भएको बताएका छन् । नेपाल बीमा प्राधिकरणबाट यही भदौ १ गते शुक्रबार काठमाडौंमा आयोजित निर्जीवन बीमा कम्पनीहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले सो बताएका हुन् । ‘प्राधिकरणले बीमा कम्पनीहरूका सुझाव, तथ्यांकहरूको विश्लेषण र अन्तर्राष्ट्रिय अभ्यासहरू समेतका आधारमा देशको आवश्यकता अनुरूप लगानी निर्देशिका जारी गरेको हो, यो समग्र बीमा कम्पनीको हितमा छ, निर्देशिकाले संसारमा चलेका लगानीका क्षेत्र खुला गरेको छ, अब बीमा कम्पनीहरूले बैंकमा मात्र रकम जम्मा नगरेर लगानीका क्षेत्रको अध्ययन गरी लगानी विविधीकरण गर्नुपर्छ’, उनले भने । लगानी निर्देशिकाले बीमा कम्पनीहरूलाई लगानी गर्न कुनै अप्ठ्यारो नपारेको उल्लेख गर्दै अध्यक्ष सिलवालले भने, ‘बीमा कम्पनीहरूको संरक्षण र विकास गर्न प्राधिकरण सजग छ, कम्पनीहरू पनि सोही अनुसार अगाडि बढ्नुपर्छ, प्राधिकरणले बीमा व्यवसाय गर्ने वातावरण तयार गरेको छ, त्यसमा बसेर तोकिएको मापदण्ड बमोजिम कम्पनीहरूले काम गर्नुपर्छ, घर तथा सम्पत्ति बीमालाई प्रोत्साहित गर्न सामूहिकरूपमा पहल गर्नुपर्छ ।’ अध्यक्ष सिलवालले संस्थागत सुशासनलाई अझ सशक्त बनाउन, समस्याहरू दोहोरिन नदिन, जोखिमको प्रतिवद्धतालाई तल माथि पर्न नदिन, कूल गार्हस्थ उत्पादनमा योगदान बढ्ने गरी लगानी गर्न, बजार विश्लेषण गरेर शाखा खोल्न, अत्याधुनिक सफ्टवेयरमा लगानी गर्न र साना बीमा दाबी प्रदेश कार्यालयबाट नै दिनेगरी अधिकार प्रत्यायोजन गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । कानूनबाट प्रश्न उठ्ने गरी कुनै काम नगर्न बीमा कम्पनीहरुलाई निर्देशन दिँदै अध्यक्ष सिलवालले मर्जरमा गएका बीमा कम्पनीहरूलाई दिने सुविधा, कोरोना बीमाको बाँकी दाबी भुक्तानी र कृषि बीमा अनुदानका बारेमा सम्बन्धित मन्त्रालयमा पहल भइरहेको जानकारी दिए । बीमा कम्पनीहरूले एउटै समस्या पटक पटक दोहोर्याएमा, अस्वस्थ प्रतिस्पर्धा जारी राखेमा र प्रचलित कानूनको उल्लंघन गरेमा कारवाहीको विकल्प नहुने उल्लेख गर्दै उनले बीमा कम्पनीहरू १० वर्षसम्ममा पनि न्यून आय भएका बर्ग एवम् सीमान्तकृत समुदायमा नपुगेकाले त्यसको जिम्मेवारी लघुबीमा कम्पनीहरूलाई दिइएको बताए । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूको स्थलगत निरीक्षणबाट देखिएका समस्याहरूको समाधानका लागि सहजीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । कार्यकारी निर्देशक पौडेलले गत आर्थिक वर्षमा सुशासन, स्वस्थ प्रतिस्पर्धा, उधारो बीमा नियन्त्रण, कृषि बीमा, लगानी विविधीकरण लगायतमा केही सुधारहरू देखिए पनि अझै समस्याहरू रहेको स्थलगत निरीक्षणबाट देखिएको उल्लेख गरे । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले निर्जीवन बीमा व्यवसाय संचालनमा देखिएका समस्याहरू सम्बन्धी प्रस्तुती गरेका थिए । यसैगरी, नेपाल बीमक संघका उपाध्यक्ष वीरेन्द्र बैदवारले निर्जीवन बीमा कम्पनीका विद्यमान चुनौतीहरू सम्बन्धी प्रस्तुती गरेका थिए । नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले संचालन गरेको कार्यक्रममा प्राधिकरणका निर्देशक पूजन ढुंगेल (अधिकारी), नेपाल बीमक संघका पदाधिकारी, निर्जीवन बीमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत र पुनर्बीमा कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

दुई सातादेखि अवरुद्ध बाजुराको कोल्टी हवाई उडान सञ्चालनमा

बाजुरा । कोल्टी विमानस्थलमा शुक्रबारदेखि नियमित हवाई उडान हुन थालेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि उडान नगर्न हिमाली तथा पहाडी जिल्लामा निर्देशनपछि बन्द भएको उडान सेवा फेरि सञ्चालन भएको नागरिक उड्डयन कोल्टी शाखाका प्रमुख वीरबहादुर बुढाले राससलाई जानकारी दिएका छन् । सुदूरपश्चिम र कर्णालीका पहाडी र हिमाली जिल्लामा वर्षायामको समयमा जोखिम उडान हुने भएको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरणले गत साउन १४ गतेदेखि सुदूर र कर्णलीका पहाडी र हिमाली जिल्लामा हवाई उडानमा रोक लगाएको थियो । चौतर्फी आलोचना तथा जनगुनासोपछि प्राधिकरणले बिहीबारबाट मौसम अनुकूल भए सुदूर र कर्णलीका विमानस्थलमा १२ः३० बजेपछि पनि उडान भर्न पाइने निर्णय गरेको नेपाल नागरिक उड्ययन प्राधिकरण कोल्टीका प्रमुख वीरबहादुर बुढाले जानकारी दिए । ‘विमानस्थलको ‘अब्जेक्सन आवर’ बिहान ६ बजेदेखि दिउँसो साढे १२ बजेसम्म हो, सुदूर र कर्णलीका सबै विमानस्थलमध्ये जुम्लाको ‘जुम्ला’ विमानस्थल बाहेक सबैको ‘अब्जेक्सन आवर’ ६ बजेदेखि दिउँसो साढे १२ बजेसम्म हो’, उनले भने । त्यसैले ‘जुम्ला’ विमानस्थलबाहेक सुदूर र कर्णलीमा सञ्चालनमा रहेका सबै विमानस्थलमा प्राधिकरणले यो अवधिमा मात्रै उडान जोखिममुक्त हुने भएकाले वर्षायाममा विमानस्थलले आफ्नो ‘अब्जेक्सन आवर’ भित्र मात्रै उडान भर्न पाउने निर्णय गरेको थियो । जनगुनासो तथा पहाडी र हिमाली जिल्लाका नागरिकको अवस्थालाई मध्यनजर गर्दै प्राधिकरणले फेरि मौसम अनुकूल भए बिहाज ६ बजेदेखि साँझ ६ बजेसम्म उडान भर्न पाउने निर्णय गरेको हो । प्राधिकरण कोल्टीका अनुसार बाजुराको विकट क्षेत्रमा रहेको ‘कोल्टी’ विमानस्थलबाट दैनिक दुईदेखि बढी नियमित हवाई उडान हुन्छन् । कोल्टी–नेपालगञ्ज,नेपालगञ्ज–कोल्टी,कोल्टी–धनगढी र धनगढी–कोल्टीका लागि नेपाल एयरलाइन्स, सीता एयर, तारा एयर र समिट एयरले कोल्टीबाट उडान भर्दै आएका छन् ।

भोलि सदन खुल्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आईतवारबाट संसदको अवरोध हट्ने बताएका छन् । शनिवार स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री दाहालले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा यस्तो बताएका छन् । उनले संसद गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै आज पनि संसद अवरोध अन्त्यका लागि पहल गर्ने प्रतिवद्धता जनाए । उनले आज साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद गतिरोध खुलाउन प्रयास गर्ने र आईतवार संसद सुसञ्चालन हुनेमा आशावादी रहेको उल्लेख गरे । ‘हामीले निरन्तर पहल गर्दै आएको तपाईहरुलाई थाहा छँदैछ । हिजो मात्रै पनि सभामुखजीसँग बालुवाटार नै उहाँ आउनु भयो र उहाँसँग कुरा भएको छ । आज बेलुकासम्म हामी प्रयास बढाउँदैछौँ । आशा छ भोलि सदन खुल्छ’, उनले भने । प्रधानमन्त्री दाहालले संसद अवरोध खुलाउनका लागि आफूले सभामुखसहित प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग छलफल अघि बढाइरहेको पनि बताए ।

भत्किएको महानगरलाई कसले बनाउने ? (फोटोफिचर)

सामाकोशी नदि उत्खननपछि खोला किनाराका पसलहरु । काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका क्षेत्र अहिले अस्तव्यस्त र अव्यवस्थित छन् । महानगर भित्रका संरचनाहरु भत्काइएका छन् तर बनाइएका छैनन् । सार्वजनिक एवं सरकारी जग्गाहरु मिचेर निजी स्वार्थका लागि संरचना बनाउनु गलत हो । त्यसैले पनि काठमाडौं महानगरपालिकाले त्यसरी निर्माण गरिएका संरचना भत्काइदिएको छ । यतिसम्म की खहरे खोला, नदीहरु मिचेर समेत घर, भवनहरु निजी स्वार्थका लागि बनाइएको पाइएको छ । केही दिनअघि मात्रै खहरे खोला मिचेर बनाइएका कपन क्षेत्रका घरहरुमा महानगरले डोजर चलाएको थियो । खोला खोलेपछि कपन मिलनचोक । त्यतिमात्रै होइन, हात्तिसारमा टुकुचा खोला मिचेर बनाइएका संरचना, सामाखुशीमा नदी उत्खनन, रत्नपार्कमा हडपेर राखिएका पसलहरु लगायत मिचेर बनाइएका संरचना महानगरपालिकाले भत्काउँदै आएको छ । तर यसको असर र यसबाट मानव स्वास्थ्यमा उत्पन्न हुने समस्याका बारेमा महानगर अनविज्ञ झैँ छ । भत्काइदिएको त छ तर त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने योजना महानगरको हालसम्म पनि देखिँदैन । खोला हेर्दै कपन मिलनचोकका बासिन्दा । महानगर क्षेत्रमा अव्यवस्थित र सार्वजनिक सम्पती हडपेर बनाइएका संरचनामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले डोजर लगाएका त छन् तर त्यसलाई व्यवस्थित बनाउने योजना उनीबाट अहिलेसम्म पनि आएको देखिँदैन । किनभने महानगरपालिकाले संरचनाहरु भत्काएर मात्रै छोडेको छ, बनाउन थालेको कतै छैन । कपनका खोला उत्खननका क्रममा साततले । भत्काइएका संरचनामाथि झारपात उम्रिसकेका छन् । सामाखुशी नदी उत्खननपछि खोला किनारका पसलहरुको अस्तव्यस्तता हेर्नुहोस् वा रत्नपार्कका पसलहरु हटाएर सार्वजनिक शौचालय निर्माणका लागि सम्याइएको जमिनको अवस्था हेर्नुहोस्, अवस्था भद्रगोल छ । कपनका खोला उत्खननपछिको अवस्था होस् वा अनामनगरस्थित सार्वजनिक जग्गामा बनेको भद्रकुमारी घले आश्रमको घर भत्काइएपछिको दुरावस्था हेर्नुहोस् । कतैपनि भत्काइएपछि व्यवस्थित बनाइएको छैन । हात्तिसारमा टुकुचा खोलामाथि खनेपछि उम्रेको झारपात । त्यसैले महानगरपालिकाले भत्काउनेसँगै व्यवस्थित र नागरिकलाई हिँडडुल गर्न सहज बनाइदिनेसँगै काठमाडौंलाई अझ सुन्दर बनाउने काममा लाग्दा अझ उपयुक्त र नागरिक जनप्रतिनिधिप्रति आशावादी हुनेछन् । फोटो न्युज एजेन्सी नेपाल ।

भीमफेदी कारागारले बायो ग्यास उत्पादन गर्ने

मकवानपुर । मकवानपुरको भीमफेदी कारागार व्यवस्थापनले फोहर बायो ग्यास उत्पादन सुरु गर्ने भएको छ । कारागारले आगामी असोजको अन्तिम साताबाट बायो ग्यास उत्पादन प्रक्रिया सुरु गर्ने जानकारी दिएको छ । यसका लागि कारागार व्यवस्थापनले बोलपत्र आह्वान गरिसकेको र भदौको तेस्रो सातासम्ममा बोलपत्रलाई स्वीकृत गर्ने लक्ष्य रहेको भीमफेदी कारागारका जेलर तीर्थराज पौडेलले जानकारी दिए । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भीमफेदी कारागारबाट निस्कने फोहरको सदुपयोग गर्न चालु आर्थिक वर्ष २०८०र८१ मा रु ३० लाख अनुदान रकम उपलब्ध गराइएको छ । बायो ग्यास उत्पादन गर्ने क्रममा विभिन्न उपकरणको खरिद गरी जडान गर्न सो अनुदान रकम खर्च गरिने भएको कारागारका जेलर पौडेलले बताए । कारागारबाट निस्कने फोहर सिधै भूमिगत पाइपबाट भीमफेदीको विभिन्न खोलामा मिसाउने गरिएको थियो । कारागारमा उत्पादन हुने वायु ग्यास कारागारमै खपत गरिनेछ । भीमफेदी कारागारमा हाल एक हजार ७० जना कैदीबन्दी छन् । तीमध्ये ३१ जना महिला छन् ।

भरतपुर अस्पतालमा चार सय शय्या निःशुल्क हुने

चितवन । भरतपुर अस्पतालले अन्तरङ्ग सेवाका चार सय जनरल बेड ९शय्या० निःशुल्क गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार अस्पतालले शुक्रबारदेखि शय्या निःशुल्क उपलब्ध गराएको हो । अस्पतालका प्रवक्ता वरिष्ठ फिजिसियन डा गोविन्द कँडेलले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी अस्पतालले निःशुल्क शय्या उपलब्ध गराउन सुरु गरेको जानकारी दिए । उनले क्रिटिकल केयर (आइसियु, सिसियु, पिआइसियु, एनआइसियु), पोष्टअपरेटिभ वार्ड, क्याबिन, एचडियु, स्पाइन, कार्डियाक, न्यूरोसर्जरी र अर्थोपेडिक बार्डमा भने न्यूनतम सेवा शुल्क कायम गरिएको बताए । अस्पतालमा हाल छ सय शय्या सञ्चालनमा छन् । अस्पतालमा ओपिडि (बहिरङ्ग) सेवाको टिकट पनि निःशुल्क छ । भरतपुर अस्पतालमा देशभरबाट उपचारका लागि बिरामी आउने गर्दछन् । अस्पतालमा पछिल्लो समय दैनिक एक हजार पाँच सयदेखि दुई हजार बिरामी उपचारका लागि आउने गरेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताए ।