नर्भिक अस्पतालले भित्र्यायो थप तीन जना अनुभवी चिकित्सक
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा थप तीन अनुभवी विशेषज्ञ चिकित्सकहरु भित्रिएका छन् । एक न्यूरोलोजिष्ट, एक न्यूरो सर्जन र अर्का एक कार्डियोलोजिष्ट गरी थप तीन अनुभवी विशेषज्ञ चिकित्सकहरुलाई नर्भिकले भित्र्याएको हो । नर्भिकमा पछिल्लो समय विभिन्न अनुभवी विशेषज्ञ चिकित्सकहरु भित्रिने क्रम बढिरहेको छ । सो क्रममा पछिल्लो समय कन्सलट्यान्ट न्यूरोलोजिष्ट डा. निरञ्जन आचार्य, कन्सलट्यान्ट न्यूरोसर्जन डा. पवनबहादुर भण्डारी र कन्सलट्यान्ट कार्डियोलोजिष्ट डा. पराग कार्की भित्रिएका अस्पतालले जनाएको छ । डा. आचार्यले नर्भिकमा प्रत्येक साताको आइतबारदेखि शुक्रबारसम्म बिहान ७ः३० बजेदेखि ९ बजेसम्म ओपिडी सेवा सञ्चालन गर्नेछन् । यस्तै, डा. कार्कीको प्रत्येक साताको आइतबारदेखि शुक्रबारसम्म बिहान ७ः३० बजेदेखि ८ः४५ सम्म नर्भिकमा ओपिडी हुनेछ भने डा. भण्डारी आइतबारदेखि शुक्रबारसम्म बिहान ७ः४५ देखि ८ः४५ बजेसम्म नर्भिकको ओपिडीमा उपलब्ध हुनेछन् । थप तीन चिकित्सकको आगमनले नर्भिकको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको अभियानमा सहयोग पुग्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले बताए ।
काठमाडौं वनस्थलीमा बसले ठक्कर दिँदा २ जनाको मृत्यु, एक घाइते
काठमाडौं । काठमाडौंको वनस्थली ढुङ्गेधारामा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बालाजुबाट कलङ्कीतर्फ जाँदै गरेको ना५ख ५०९२ नम्बरको गोरखा दरौँदी यातायात कम्पनीको बसले आज बिहान विपरीत दिशाबाट आउँदै गरेको प्रदेश०२–०३७प ०७५५ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका घर हुने ३२ वर्षीया अनिता थापा र वतन नखुलेका ३२ वर्षीय रामकुमार भारती रहेका छन् । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले दुर्घटनामा गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको जानकारी दिए । दुर्घटनामा नौ वर्षीय बालिका अनिशा थापा घाइते भएकी छन् । टाउकोमा चोट लागेर घाइते भएकी थापाको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता ढुङ्गेलले बताए ।
जलविरे झरनाबाट २८ लाख रुपैयाँ राजस्व संकलन
चितवन । जलविरे झरना (लामो झरना) चितवनको उत्कृष्ट पर्यटकीय गन्तव्यमध्येको एक हो । इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित प्राकृतिक छटाले भरिपूर्ण झरनामा पुग्ने जो–कोहीको मन लोभिने गरेको छ । यहाँ पुग्ने पर्यटकले शीतलताको छुट्टै आनन्द महसुस गर्छन् । पूर्वाधार निर्माणपछि पर्यटकको चहलपहल बढेको सो झरना पछिल्लो समय गाउँपालिकाको चिनारी समेत बन्दै गइरहेको छ । झरना गाउँपालिकाका लागि आम्दानीको स्रोतसमेत बनेको छ । झरना देखाएर गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा २८ लाख ३५ हजार राजस्व सङ्कलन गरेको छ । यहाँ प्रवेश गर्ने पर्यटकबाट ५० शुल्क लिने गरिएको छ । स्थानीय र विद्यार्थीलाई २० लिने गरेको गाउँपालिकाले जनाएको छ । यहाँ झरनासँगै अन्य पर्यटकीय गतिविधि पनि हुने गरेका छन् । क्यानोनिङ (छाँगावरोहण) र क्लाइम्बिङ, स्विमिङ, स्लाइडिङ, जम्पिङ र हाइकिङ गर्न काठमाडौँ र बाहिरी देशका समेत पर्यटक यहाँ आउने गरेका छन् । विदेशीका लागि क्यानोनिङ प्रतिव्यक्ति पाँच सय, वनभोजको एक हजारदेखि तीन हजारसम्म र फिल्म सुटिङको तीन हजारदेखि पाँच हजारसम्म लिने गरिएको छ । जलविरे झरना पर्यटन विकास समितिका अध्यक्ष देवबहादुर गुरुङले प्राकृतिक सुन्दरता र चिसो एवं शान्त वातावरणका कारण यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको बताए । उनले दैनिक एक सयदेखि डेढ सयसम्म पर्यटक यहाँ घुम्न आउने गरेको जानकारी दिए । ‘नयाँ वर्षका दिन पन्ध्र सय जना आएको तथ्याङ्क छ’, उनले भने, ‘जाडोको समयमा पनि विभिन्न जिल्लाबाट भ्रमण टोली आउने गरेका छन् ।’ उनले यस वर्ष झन् धेरै पर्यटक जलविरे झरनामा घुम्न आउने अनुमान गरिएको बताए । विकास समितिले झरना र यहाँ भइरहेका विकास निर्माणको रेखदेख, पर्यटकका समस्या समाधान र गुनासो सुन्ने काम गरिरहेको उनले बताए । पर्यटक यहाँ स्वतःस्फूर्तरूपमा आउँछन् । भारतबाट समेत आनन्द लिन यहाँ पर्यटक आउने गरेका छन् । जुनसुकै समयमा पुग्ने पर्यटक सो झरना हेरेपछि मन्त्रमुग्ध हुन्छन् । झरनामाथि रहेको गाउँ याकराङमा होमस्टे (घरबास) को समेत व्यवस्था रहेको समितिका अध्यक्ष गुरुङले बताए । नारायणगढ–मुग्लिन सडकअन्तर्गत पर्ने जलविरेको एक सय दुई मिटर लामा झरना नारायणगढबाट मुग्लिनतर्फ २७ किमी र मुग्लिनबाट नारायणगढतर्फ सात किमीको दूरीमा पर्छ । सडकबाट एक किमी उकालो बाटो हिँडेपछि झरनामा पुगिन्छ । हिँडेरै र गाडीबाट पनि झरनासम्म पुग्न सकिन्छ । झरना अवलोकनका लागि चितवन, धादिङ, गोरखा, तनहुँ, काठमाडौँ, नवलपरासी, नुवाकोट, गोरखा, तनहुँ, कास्की, मकवानपुर, पर्सालगायतका जिल्लाबाट पर्यटक आउँछन् । नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गर्ने लामो दूरीका सवारीसाधन पनि यहाँ रोकिएर झरना अवलोकन गर्न पुग्ने गर्छन् । विसं २०६९ देखि पर्यटन विकास सुरु भएको यहाँ पछिल्लो समय पूर्वाधार निर्माणले पनि फड्को मारेको छ । झरना पुग्ने सडक निर्माणसँगै शौचालय, गोलघर, चेन्जिङ रुम र तलाउ निर्माण गरिएको छ । अन्य भौतिक संरचना र झरनाको सौन्दर्यकरणका काम भइरहेका छन् । यस्तै प्रदेश सरकारको सहयोगमा सिँढी, रेलिङ र पौडीपोखरी निर्माण गरिएको छ । यस वर्ष झरनाको विकासका लागि रु ३५ लाख बजेट विनियोजन भएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए । ‘झरनाको प्राकृतिकस्वरुप नबिग्रने गरी जिपलाइन अथवा साइक्लिङ निर्माणको तयारी गरेका छौँ’, गुरुङले भने, ‘पर्यटकीय गतिविधि बढाउने अन्य संरचना पनि निर्माण गर्ने योजनामा छौँ ।’ यस वर्ष गाउँपालिकाले झरनाको सरसफाइमा विशेष ध्यान दिने अध्यक्ष गुरुङले बताए । ‘सरसफाइका लागि कर्मचारीको व्यवस्था गरेका छौँ, झरनासम्म खानेपानी र विद्युत्को समेत व्यवस्था गर्दैछौँ’, उनले भने । झरना नजिकै तीन वटा सटर निर्माण गरिएको छ । त्यहाँ जाने पर्यटकले खाजा खानका लागि सहज हुनेछ । उनले झरनाबाट गाउँपालिकाले आम्दानीभन्दा पनि प्राकृतिक स्रोतको संरक्षण र त्यसको व्यवस्थापनमा जोड दिने बताए । उनले झरना क्षेत्रमा कोसेली घरसमेत निर्माणको तयारीमा रहेको जानकारी दिए । ‘इच्छाकामनामा उत्पादन भएका वस्तु कोसेली घरमा राखिने छ । यहाँ आउने पर्यटकले स्थानीय उत्पादन घर लैजान पाउनु हुनेछ’, उनले भने । यहाँ झरनाकै कारण होटल बढेका छन् भने व्यवसाय पनि बढेको अध्यक्ष गुरुङको भनाइ थियो । रासस
आजको मौसम : वर्षाको सम्भावना
काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । यसका साथै नेपालमा हाल भारतको मध्यप्रदेश र आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेकाले अबको तीन दिन बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी प्रदेशसहित देशका पहाडी भू–भागको केही स्थानमा र बाँकी भू–भागको थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । भोलि सोमबार पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । भदौ ५ गते मङ्गलबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहनुका साथै कोशी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
सिनर्जी पावरको ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला, कति कित्ता आवेदन दिने ?
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टले आज भदौ ३ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको २ कित्ता सेयर बराबर १ कित्ताको अनुपातमा ४० करोड ३२ लाख ८७ हजार ५ सय रुपैयाँको हकप्रद बिक्री गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख ३२ हजार ८७५ कित्ता सेयर बिक्री गरेको हो । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ साउन १२ गते बुकक्लोज गरेको थियो । त्यसैले साउन ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताले भदौ २४ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताले सानिमा क्यापिटल र सानिमा बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
सुन तस्करीमा पक्राउ परेका चिनियासँग भारतीय आधारकार्ड फेला
काठमाडौं । हङ्कङबाट मोटरसाइकलमा राख्ने ब्रेक सुमा हालेर ल्याइएको करिब ६१ किलो सुन तस्करीमा पक्राउ परेका चिनियाँ नागरिकसँग भारतीय आधार कार्ड पनि फेला परेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले पक्राउ परेकामध्ये दुई जनासँग भारतीय आधार कार्ड रहेको पाइएको जानकारी दिए । तीन जना चिनियासँग भने जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट जारी गरिएको नागरिकता र एक जनासँग जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जारी भएको नागकिरता फेला परेको पनि उनले बताए । हालसम्म उनीहरूसहित २३ जनालाई सुन तस्करी प्रकरणमा पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) अनुसन्धान गरिरहेको छ । गत साउन ३ गते ठीक एक महिनाअघि राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर लैजान लागिएको सुनसहितको एक सय ५५ किलो रहेको ब्रेक सु बरामद गरेको थियो । दुई हप्ताको अनुसन्धानपछि थप अनुसन्धानका लागि विभागले प्रहरीको सिआइबीलाई हस्तान्तरण गरेको थियो ।
४० बढी देश ब्रिक्स कन्ट्रीमा सहभागी बन्न इच्छुक
काठमाडौं । ब्रिक्स देशहरुले अन्तर्राष्ट्रिय क्षेत्रमा महत्वपूर्ण भुमिका निभएको भन्दै विद्वानहरु प्रशंसा गरेका छन् । इस्ताम्बुलस्थित मार्मारा विश्वविद्यालयका विद्वान बारिस डोस्टरले अन्तर्राष्ट्रिय क्षेत्रमा ब्रिक्स देशहरुले निभाएको भुमिकाका कारण अहिले केही अन्य देशहरु पनि ब्रिक्स कन्ट्रीमा समावेश हुन चाहना राखेको बताए । ब्रिक्स देशहरुले विश्वको जनसंख्याको ४० प्रतिशत भन्दा बढी र विश्वव्यापी कुल आर्थिक उत्पादनको २० प्रतिशत भन्दा बढी प्रतिनिधित्व गर्दछ । अब यसको प्रमुख काम सदस्यता बिस्तारमा लाग्नुपर्ने बताए । अहिले ४० भन्दा बढी देशहरु ब्रिक्स सदस्य बन्न प्रयास गरिरहेका छन् । ‘हामी संसारको उदाउँदै गरेको अर्थतन्त्र, अमेरिकी अधिपत्यको बिरोध गर्ने देशहरु, ब्रिक्सको वरिपरि एकतावद्ध भइरहेको देख्छौँ र संगठन बिसरतै अकार्षणको केन्द्र बनिरहेको छ’, उनले भने । उनले ब्रिक्समा चीन पनि सम्मिलित भएकाले ब्रिक्सलाई अझ शक्तिशाली बनाएको बताए । एजेन्सीको सहयोगमा ।
नेपाल एयरलाइन्सले साउदी अरेबियाको दमाममा सिधा उडान गर्ने
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियाको दमाममा सिधा उडान गर्ने भएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार आगामी भदौ २० गतेदेखि काठमाडौंबाट दमाममा नियमित सिधा उडान गर्ने गरी आजदेखि टिकट बुकिङ खुला गरिएको हो । नेपाल एयरलाइन्सको यो ११औँ अन्तर्राष्ट्रिय उडान गन्तव्य हो । यसअघि निगमले साउदी अरेबियाको रियादमा पनि उडान गरिरहेको थियो । उडान तालिकाअनुसार काठमाडौं –दमाम–काठमाडौं सेक्टरमा निगमले साताको दुई दिन बुधबार र शनिबार उडान गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने योजना रहेको निगमका प्रवक्ता पौडेलले जानकारी दिए। काठमाडौं –दमामको प्रवर्द्धनात्मक भाडादर ३५ हजार तोकिएको छ । दमाम–काठमाडौंका लागि भने पाँच सय ९६ साउदी रियाल तोकिएको छ । निगमको उडान विस्तारबाट नेपालीहरूको बाहुल्यता रहेको साउदीबाट नेपाल आवागमन सहज र सुलभ हुने विश्वास गरिएको छ । निगमले अहिले दुई थान वाइडबडी र दुई थान न्यारोबडी जहाजमार्फत आठ देशका ११ गन्तव्यमा उडान भरिरहेको छ ।