राजनीतिक दलले अडान नछोडेपछि सदन खुलाउने विषयमा जुटेन सहमति
फाइल फाेटाे काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् अवरोध खुलाउने उद्देश्यका साथ दलका प्रमुख सचेतकसँग छलफल गरे पनि सहमति जुट्न सकेको छैन । सभामुख घिमिरेको सिंहदरबारस्थित कार्यकक्षमा आइतबार बसेको बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सचेतकले आआफ्नो अडान कायमै राखेपछि संसद् खोल्ने विषयमा सहमति जुट्न नसकेको हो । सभामुख घिमिरेले लगातार संसद् अवरुद्ध हुँदा सांसदप्रति आमजनतामा नकारात्मक सन्देश गएकाले सहमतिका लागि मान्यता प्राप्त दलका प्रमुख सचेतकलाई छलफलमा बोलाएका थिए । बैठकमा प्रमुख प्रतिपक्षी दलका सचेतकले संसद् अवरोधलाई थप सशक्त बनाउने र सत्तापक्षले पनि आफ्नो अडान कायमै राखपछि बैठक निष्कर्षविहीन बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक सन्तोष परियारले जानकारी दिए । बैठकमा रास्वपाका तर्फबाट आफूले आफ्ना विमति भए सदनमै छलफल गर्न र संसद् अवरोध अन्त्य गर्न आग्रह गरेको उनले बताए । बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) तथा प्रमुख प्रतिपक्षी दलबाट नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतकलगायत सहभागी थिए । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुन तस्करीको प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै आएको छ भने सत्तारुढ दलहरु त्यस विषयमा सहमत हुन नसक्दा संसद् सञ्चालन हुन सकेको छैन । प्रतिनिधिसभा बैठक आजै दिउँसो १ बजेका लागि आह्वान गरिए पनि सञ्चालन हुन सकेको छैन । सदनको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग छलफल गर्दैछन् ।
नेपालका बैंक व्यवसाय मैत्री भएनन्, राष्ट्र बैंक पनि चुक्यो : अनुप बराल
काठमाडौं । पछिल्ला वर्षहरुमा नेपाली सडकमा विद्युतीय सवारीको उपस्थिति उल्लेख्य रूपमा बढेको देखिन्छ । जसले पेट्रोल र डिजेलबाट चल्ने गाडीको व्यवसायलाई चुनौति थपिरहेको छ । अर्कोतर्फ, अर्थतन्त्रमा देखिएको शिथिलता र छिटाछिटो फेरिने सरकारी नीतिले पनि अटोमोबाइल्स व्यवसायलाई प्रभावित गरिरहेको छ । यस क्षेत्रमा संलग्न व्यवसायीहरु सकसपूर्ण अवस्थामा रहेको बताउँने गरेका छन् । नेपालमा अटोमोबाइल्सको बजार, अबको सम्भावना, सरकारी नीति र व्यवसायीका समस्या आदि विषयलाई केन्द्रित गरेर नारायणी अटो बिजनेस कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपकुमार बरालसँग विकासन्युजका लागि राजिव न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश : नेपाली बजारमा अटोमोबाइल्सको व्यापारमा सुस्तता आएको चर्चा छ । नारायणी अटो बिजनेसको अवस्था चाहिँ कस्तो छ ? अटो बजार खस्किएको अवस्थाबाट नारायणी अटो पनि अछुतो छैन । आर्थिक मन्दीले अटो व्यवसायलाई ठूलो चोट पारेको छ । हामी पनि त्यही क्षेत्रका परिवारको सदस्य भएकाले खराब अवस्था बाटै गुज्रिरहेका छौं । नेपाली बजारमा विद्युतीय सवारीप्रतिको आकर्षण असाध्यै बढेको छ । सुजुकीले भने अहिलेसम्म विद्युतीय सवारी ल्याएको छैन । विद्युतीय सवारीको सन्दर्भका कम्पनीले के भनिरहेको छ ? सुजुकी भारतको नम्बर वान गाडी निर्माता कम्पनी हो । यसले आफ्नो यात्रा निरन्तर राख्छ । पाइपलाइनमा धेरै गाडीहरू छन् । हामीले नेपालमा सुजुकीको विभिन्न मोडलका गाडीहरू ल्याएर लन्च ग रिरहेका छौं । केही समय अगाडि मात्रै जिम्नी र फ्रोन्क्स गाडी सार्वजनिक गरेका छौं । पछिल्लो समय धेरै कम्पनीहरू ईभीतर्फ लम्कँदै गर्दा सुजुकीले पनि ईभीको योजना बनाइ रहेको होला । हाम्रो कम्पनीको पनि ईभी गाडी आउँछ । तर, कहिले आउँछ भनेर चाहिँ भन्न सक्ने अवस्था छैन । यसको लागि समय लाग्छ । नेपाली ग्राहकको रोजाइमा कस्ता गाडि पर्ने गरेको पाउनुभएको छ ? ग्राहकको रोजाइमा परिवर्तन आएको छ । पहिला साना गाडीहरू धेरैको रोजाइमा पथ्र्यो । अहिले एसयूभी लक्षित ग्राहक धेरै भएको पाएका छौं । किनभने, सानादेखि ठूला गाडीको मूल्य वृद्धि भयो । एकदमै सानो कारको मूल्य २५/२६ लाखदेखि ४० लाख रुपैयाँसम्म पुग्यो । ४० लाख रुपैयाँ हालेर सानो कार किन्नु भन्दा त्यहीँ हाराहारीको मूल्यमा एसयूभीका गाडी पाइने भएकाले यस प्रति ग्राहकको आकर्षण बढेको छ । यस सँगसँगै ग्राहको क्रेज इभी प्रति पनि बढ्दै गएको छ । यो बजारको माग हो । महँगो वा सस्तो गाडीप्रति उपभोक्ताको रूचि वा छनोटको विधि के पाउनुभएकाे छ ? उपभोक्ताले दुई वटा विधिबाट गाडीको छनोट गरेको पाइन्छ । एउटा बजेट र अर्को आवश्यकता । आफ्नो आवश्यकता अनुसारको गाडी र त्यसमा अधिकतम फिचर भयो भने पुग्छ । गाडी छान्ने तरिका नै सबै भन्दा पहिलो ग्राहकको आवश्यकता हुन्छ । मेरो परिवार यति जान छन् । यति सिटर गाडी चाहिन्छ । अथवा ४ वा ५ सिटर गाडी भए हुन्छ । मेरो यति बजेटसम्म भए हुन्छ । र, मेरो घरमा राख्ने स्पेश यत्रो छ । आफ्नो आम्दानी यस्तो छ भन्ने कुरामा निर्भर हुने रहेछ । उहाँहरूलाई सुहाउँदो गाडी किन्नको लागि हामी पनि सुझाव दिन्छौं । बैंक फाइनान्सले पनि गाडी किन्न सकिने भएकाले त्यसको लागि पनि हामी सहयोग गर्छौं । अटोमोबाइल्स बजारप्रतिको सरकारको नीतिलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ? सरकारले पछिल्लो समय विद्युतीय सवारी किन्न प्रोत्साहन गरिरहेको छ । यसअघि कहिल्यै पनि सरकारले सवारी किन्न प्रोत्साहन गर्दैनथ्यो । ईभी गाडीको आयातमा भन्सार छुट लगायतका सेवा सुविधा दिइरहेको छ । आइसीई इन्जिनमा लाग्ने भन्सार ईभीमा पनि लगाएको भए ईभीका गाडी किन्नै नसक्ने अवस्था हुन्थ्यो । बैंकले ईभीको सवारीमा ८० प्रतिशतसम्म फाइनान्स गर्दै आएको छ । त्यो चाहिँ सरकारले गरेको सपोर्ट हो । नेपाली बजारमा ईभी गाडी आएसँगै इन्धनबाट चल्ने गाडीको व्यापारमा गिरावट आएको हो ? ईभी नेपाली बजारमा आएपछि इन्धनबाट चल्ने गाडी व्यापारमा कमी आएको छ । किनभने यस बीचमा अर्थतन्त्रमा समस्या आयो । सरकारले गाडी आयातमा पनि प्रतिबन्ध लगायो । अहिले आयात खुलेको छ, नयाँ विशेषताका गाडीहरू आउन थालेका छन् । त्यो बेला ईभी गाडी भित्रिए । मान्छेको ध्यान ईभीतिर भयो । भन्सार विभागको डाटाले ६० प्रतिशतसम्म ईभीको गाडी भित्रिएको देखाउँछ । त्यो संख्यामा ईभी आउँदा इन्धनका गाडीलाई धक्का परेको हो । चालु आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणपछि इन्टर्नल कम्बसन (आइसी) इन्जिनका गाडीलाई पनि ब्याक हुन सजिलो भएको छ । आइसी इन्जिनमा खर्बौं रुपैयाँ लगानी भएको छ । ईभीमा भर्खर लगानीको सुरुवात हुँदै छ । त्यो बामे सर्दैै गरेको इन्डस्ट्री हो । तर, आइसी इन्डस्ट्रीको इतिहास ६०/७० वर्ष पुरानो छ । यसलाई आँखा चिम्म गरेर बस्ने अवस्था हैन । यद्यपी, हामीले प्रविधिलाई आत्मसाथ गर्नुपर्छ । नेपालको भौगोलिक अवस्था बाटोको अवस्था, नेपालमा हुँदै गरेको पूर्वाधारको विकास यी सबै कुरालाई मध्यनजरमा राखेर ग्राहकले के चाहान्छन, आवश्यकता के हो ? त्यसलाई पहिचान गरेर ग्राहकलाई सन्तुष्ट बनाइ प्रडक्ट बजारमा दिनुपर्छ । अहिले नेपाली अटो बजारले भोगिरहेको मूख्य समस्या के हो ? नीतिगत कारणले गर्दा व्यापार खस्किएको छ । अर्थतन्त्रमा आएको शिथिलताले पनि ब्यापार घटाउन सघायो । एउटा डिलरले करौडौं रुपैयाँ बराबरको ब्याजदरको भार बोक्नु परेको छ । उनीहरूले सबै सम्पत्ती राखेर ऋण लिएका छन् । तर, कारोबार भने भएको छैन । ऋणको ब्याज बढेर करोडौं भएको छ । बैंकले घाटामा गएको ठाउँमा लगानी गर्दैन । राष्ट्र बैंकले जोखिम भार घटाएको छ । कारोबार अनुसारको मात्र लगानी गर्छौं भनेर बैंकहरु भनिरहेका छन् । आयात प्रतिबन्ध भएको बेला पनि कारोबार भएन । त्यसपछि, वित्तीय संस्थामा देखिएको तरलता अभावले पनि कारोबार हुन सकेन । बैंकहरुले लगानी गर्दै गरेनन् । चालु आर्थिक वर्षको बजेटपछि गाडीको व्यपारमा केही चहल पहल देखिन थालेको छ । हामी आशावादी छौं, घाम लागेपछि उज्यालो हुनेछ भन्ने आशामा छौं । गाडीमा आयात प्रतिबन्ध लागेको र अर्थतन्त्रमा शिथिलता आएको कारण कतिपय शोरूम बन्द भएका थिए । अहिलेको अवस्था चाहिँ कस्तो छ ? मेरो आफ्नै कम्पनीको कुरा गर्ने हो भने सोरुममा १८/२० महिनादेखि गाडी थिएन । भएको स्टक सकियो । उठ्नुपर्ने पैसा उठाएर बैंकमा ब्याज ति¥यौं । धेरै व्यपारीकोहरुको बैकिङ च्यानल नै भत्कियो । बैंकसँगको च्यानल नै बिग्रिएपछि अन्य लगानी कहाँबाट जुटाउने ? नेपालका बैंकहरु फ्रेन्ड्ली छैनन् । यसमा राष्ट्र बैंकको पनि भूमिका छ । कारोबार नगर्दा चाहिँ उहाँहरू कारोबार गर्नु पर्याे भन्दै आउनुहुन्छ । ८-९ महिना आयात बन्द हुँदा र तरलता अभाव हुने वित्तिकै तपाईंको घर लिलाम गर्नु पर्याे भन्दै घर अगाडी सेक्युरेटी पठाउनुहुन्छ । बैंकहरु कस्टुमर तथा व्यवसाय मैत्री हुनुप¥यो । उद्योगी व्यवसायीहरू अर्बौैं घाटामा गएको बेला खर्बौं रुपैयाँ बैंकहरुले नाफा गर्छन् । पारस्पारिक लाभ हुने गरी काम नगर्ने हो भने कुनै पनि उद्योग फस्टाउँदैन । केही अघिसम्म कतिपय कम्पनीले कर्मचारीलाई तलब नै दिन नसक्ने अवस्थामा छौं भनेका थिए । तपाईंको कम्पनीको अवस्था चाहिँ कस्तो छ ? मेरो कम्पनीमा यस्तो अवस्था छैन । मेरो कम्पनीमा करिब ५०/६० जना काम गर्नुहुन्छ । आजका दिनसम्म जस्तोसुकै जोखिम आए पनि कर्मचारीको तलब रोक्नु परेको छ्रैन । बरु कम्पनी करोडौं रुपैयाँ घाटामा होला । कर्मचारीलाई चाहिँ समयमै तलब दिदै आएका छौं । उहाँहरू कोही पढ्दै हुनुहुन्छ, केही साथीहरूले बाआमालाई ल्याएर पाल्नु भएको छ । उहाँहरूको पहिलो स्रोत नै जागिर हुन्छ । मैले पनि जागिर नै खाएर आएको भएर होला, मैले उहाँहरूको मर्मलाई बुझेको छु । अहिलेसम्म तलब रोक्नु परेको छैन । भिडियाेमा हेर्नुहाेस्
गोदावरीको टिकाथलीसम्म बस सञ्चालन गर्दै चन्द्रागिरि यातायात
काठमाडौं । चन्द्रागिरि यातायातले नागढुंगा देखि गोदावरीको टिकाथली पुलसम्म बस सञ्चालन गर्ने भएको छ । काठमाडौंको चन्द्रागिरि यातायातले नागढुंगा देखि महालक्ष्मी नगरपालिका ०५ गोदावरीको टिकाथली पुल सम्म बस संचालनमा ल्याएको हो । चन्द्रागिरि यातायातले नागढुंगा, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, रत्नपार्क, माइतीघर, बानेश्वर, कोटेश्वर, जडिबुटी, इमाडोल र ललितपुरको महालक्ष्मी नगरपालिका ०५ गोदावरीको टिकाथली पुलसम्म रुट बस संचालनमा ल्याएको हो । चन्द्रागिरि यातायातले नागढुंगा देखी ललितपुरको महालक्ष्मी नगरपालिका ०५ गोदावरी पुल सम्म ३० ठूला बस संचालनमा ल्याएको हो । चन्द्रागिरी यातायातले चालक, सहचालक र यात्रुको सुरक्षा मापडण्ड अपनाई बसमा चढ्ने व्यवस्था गरिएको छ । ती बसहरु यात्रुको चाप हेरि हरेक ५ देखि १० मिनेटमा छुट्ने बताइएको छ ।
श्रमिकको पारिश्रमिक वृद्धि अनिवार्य, रोजगारदाता विवेकपूर्ण बन्ने बेला
सरकारले १ साउनदेखि लागू हुने श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार तीन सय पुर्याएको छ । सरकारले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै न्यूनतम पारिश्रमिक १० हजार आठ सय २० र महँगी भत्ता ६ हजार चार सय ८० पुर्याएको हो । श्रमिकको न्यूनतम पारिश्रमिक यो वर्ष दुई हजार तीन सय रुपैयाँ बढाइएको हो । त्यस्तै, श्रमिकको दैनिक ज्याला भने ६ सय ६८ पुर्याइएको छ । जसमा आधारभूत पारिश्रमिक चार सय १८ र महँगी भत्ता दुई सय ५० कायम गरिएको हो । श्रमिकको प्रतिघन्टाको ज्याला ८९ रुपैयाँ कायम गरिएको छ । जसमा आधारभूत ज्याला ५६ रुपैयाँ तोकेको छ भने महँगी भत्ताबापत ३३ रुपैयाँ तोकेको छ । साथै, आंशिक रूपमा काम गर्ने श्रमिकको प्रतिघन्टा आधारभूत पारिश्रमिक ९५ रुपैयाँ तोकेको छ । साथै, सरकारले तोकेको ज्यालाभन्दा कम हुने गरी कसैले श्रम सम्झौता गर्न नहुने सरकारले बताएको छ । सरकारले तोकेको यो ज्याला चियाबगानका श्रमिकको हकमा भने लागू हुनेछैन । सरकारले प्रत्येक दुई वर्षमा श्रमिकको पारिश्रमिक परिमार्जन गर्दै आएको छ । दुई वर्षअगाडि नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ तोकिएको थियो । जसअनुसार आधारभूत पारिश्रमिक नौ हजार तीन सय ८५ रुपैयाँ हो भने पाँच हजार ६ सय १५ महँगी भत्ता हो । श्रम मन्त्रालयले गत असारमा नै श्रमिकको परिश्रमिक बढाउन पारिश्रमिक निर्धारण समिति गठन गरेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेको संयोजकत्वमा गठिन समितिमा विभिन्न श्रमिक संगठन तथा व्यवसायीहरूको प्रतिनिधि थिए । श्रमिक संगठनले श्रमिकको पारिश्रमिक पनि सरकारी कर्मचारीको सरह पुर्याउन माग गरेको थिए । तर, व्यवसायीले आर्थिक मन्दीका कारण पारिश्रमिक वृद्धि गर्न नसकिने धारणा राखेका थिए । व्यवसायी र श्रमिक संगठनबीच सहमति जुट्न नसकेपछि पारिश्रमिक निर्धारण समिति समयअघि नै विघटन भएको थियो । त्यसपछि सरकारले तथ्यांक विभाग र नेपाल राष्ट्र बैंकको तथ्यांकलाई आधार बनाएर पारिश्रमिक निर्धारण गरको हो । अर्थतन्त्र मन्दीमा छ । उच्च ब्याजदर, न्युन माग, न्युन उत्पादनका कारण निजी क्षेत्रको मनोबल घट्दो छ । उद्योगहरुको प्रकृति अनुसार उत्पादनमा ७० प्रतिशतसम्म गिरावट आएको छ । उद्योगी व्यवसायीहरुले लगानीका योजना स्थगन गरिरहेका छन् । अर्थतन्त्र शिथिल बन्दै जाने, आन्तरिक उत्पादन नबढ्ने, उत्पादन भएपनि माग नहुने तर उत्पादन लागत बढ्दा त्यसको थप भार उद्योगहरुमाथि पर्नेछ । यस अवस्थामा सरकारले श्रमिकको न्यूनतम तलव तथा ज्याला वृद्धि गरेको छ । विद्यमान चुनौतीपूणर् अवस्थामा सुधार ल्याइ अर्थतन्त्रलाई चलायमान बनाउन, समग्र बजार माग बढाउने नीति अलम्बन गर्न, उत्पादन लागत घटाउने तथा निजी क्षेत्रको मनोबल बढाउनेतर्फ सबै पक्ष अग्रसर हुनैपर्छ । रोजगारदाताका समस्याप्रति सरकारले पनि उचित ध्यान दिनुपर्छ । तर रोजगारदाताले पनि यो ध्यान दिनुपर्छ कि अन्तराष्ट्रिय बजारमा श्रमिकहरुले कति तलव सुविधा पाएका छन् र नेपालमा कति छ ? किन नेपालीहरुले देश छोडेर विदेश गैरहेका छन् ? सीधा जवाफ पाइने छ कि नेपाली श्रमिकले जीवन धान्नै नपुग्ने पारिश्रमिक पाएका छन् । उनीहरु तुलनात्मक रुपमा कहाँ बढी सुविधा पाइन्छ भनेर विदेश पलायन भैरहेका छन् । तसर्थ, आर्थिक सुधारका लागि सरकारले नेतृत्वदाही भूमिका निर्वाह गर्नैपर्छ भने श्रमिकको पारिश्रमिकत वृद्धिमा पनि रोजगारदाता लचिलो बन्नैपर्छ ।
मकवानपुरगढीमा अन्तरिक पर्यटकको घुइँचो
बागमती । वर्षायाममा धेरै मानिस खेतीपातीमा व्यस्त छन् । तर देशकै सबैभन्दा ठूलो ऐतिहासिक मकवानपुरगढी दरवार घुम्नेको सङ्ख्यामा भने कृषिको चटारो अनि झमझम परिरहेको पानीले पनि कमी ल्याउन सकेको छैन । झरीसँगै गढीको ऐतिहासिकता अवलोकन गर्नेको सङ्ख्या मध्यबर्खामा पनि दैनिक पाँच सयदेखि हजारकै हाराहारीमा रहेको छ । गर्मी छल्न मधेस प्रदेशबाट आउने आगन्तुकहरुका कारण पनि गढीमा चहलपहल रहिरहेको गढीमा चटपटे पसल चलाइरहेकी मकवानपुरगढी–२ की सीता तिमल्सिना बताउँछिन् । आर्थिक वर्षको अन्त्यसँगै केही फुर्सदिला बनेका विभिन्न आर्थिक गतिविधिमा संलग्न सङ्घसस्था, वित्तीय संस्थाहरु, सहकारी, विभिन्न स्थानीय तहलगायत सङ्घसंस्थाहरुबाट सामूहिक भ्रमणमा आउने आगन्तुकहरुको सङ्ख्या उल्लेख्य पाइएको बताएको छ । विसं १००० तिरै तुला सेन नाम गरेका पहिलो सेन वंशी राजाले निर्माण गरेको मानिने मकवानपुर गढी ११ औँ शताब्दीको भव्य संरचनामध्येको एक मानिन्छ । तर पुरातत्व विभागका तत्कालीन प्रमुख अनुसन्धान अधिकारी जनकलाल शर्मालाई उदृत गर्दै साफल्य अमात्यको २०२७ सालमा प्रकाशित प्रतिवेदनले एघारौं शताब्दीमा मकवानपुर शक्तिशाली सेन राज्य बनिसकेको थियो भनेर लेखेको छ । सेनहरु मकवानपुरबाट पश्चिततर्फ लाग्दै पाल्पा कब्जा गर्दै शासन गर्न थालेपछि मकवानपुर पनि पाल्पाअन्तर्गत नै रहेकामा १६१० सालदेखि पाल्पाली राजा मुकुन्द सेनका कान्छा छोरा लोहाङ्ग सेनले अलग्गै मकवानपुर राज्य स्थापना गरे । पृथ्वीनाराण शाहले कब्जा गर्नु अघिसम्म मकवानपुर स्वतन्त्र राज्य रहेको इतिहासकारहरु बताउँछन् । लोहाङ्ग सेनले राज्य सञ्चालन गर्दा मकवानपुर हालको बिहारको विभिन्न क्षेत्रहरु, पूर्वी पहाडका सबै क्षेत्र, विजयपुर, मोरङ तथा भारतको पूर्णिया तथा सिक्किमसम्मै मकवानपुर राज्य फैलिएको पुरातत्वविद् जनकलाल शर्माको एक लेखमा उल्लेख छ । विशाल मकवानपुर राज्यको दुई सय नौ वर्षसम्म राजधानी रहेको मकवानपुरगढीको दरबार क्षेत्रमा अहिले आन्तरिक पर्यटकको चललपहल निकै नै हुने गरेको छ । विगतमा हिउँदयाममा प्रशस्त पर्यटकहरु आउने गरे पनि वर्षायाममा भने शून्य जस्तै हुने गरेकामा यो वर्ष भने वर्षायाममा पनि आन्तरिक पर्यटक आइरहेको स्थानीयले बताएका छन् । गढीमा मधेस प्रदेशबाट गर्मी छल्न आउने आन्तरिक पर्यटकको सङ्ख्या बढिरहेको मकवानपुरगढी–२ का स्थानीयबासी बाबुलाल तितुङ बताउँछन् । उनका अनुसार ललितपुर, काठमाडौं, सिन्धुली, चितवनबाट यहाँ नियमितजसो पर्यटकहरु आउने गरेका छन् । पक्की र स्तरीय सडकमार्ग तथा प्रचारप्रसारका कारण मकवानपुरगढी भ्रमण गर्नेहरुको सङ्ख्या बढेको हुनसक्ने मकवानपुरगढीका भीमप्रसाद घिमिरे बताउँछन् । हेटौंडा बजारबाट १७ किलोमिटर उत्तरपूर्वतर्फ कान्तिराज पथ हुँदै लागेपछि गढी क्षेत्र पुगिन्छ । काठमाडौंबाट सिधा आउन चाहनेहरुले भने ७० किलोमिटरको रमाइलो यात्रा तय गर्नुपर्दछ । चापागाउँबाट ललितपुरको माल्टा हुँदै मकवानपुरको ठिङ्गग कटेपछि मकवानपुरगढी गाउँपालिका प्रवेश हुन्छ । विगतमा ठूलो गढीमा मात्रै पर्यटकहरु पुग्ने गरेको भए पनि अचेल मनोरम सानोगढी तथा भारतको रक्सौलसम्म देख्न सकिने उचाइमा रहेको र गुराँस फुल्ने मौसममा गुरासले ढपक्कै हुने ढुङ्गे गढीसमेत पर्यटकले भरिन थालेका छन् । प्रसिद्ध गढीमाई मन्दिरको मूल मन्दिरसमेत रहेकाले ढुङ्गेगढी क्षेत्रमा धार्मिक पर्यटकको समेत भीड लाग्न थालेको स्थानीय सुवास पाख्रिन बताउँछन् । मुसलमानी आक्रमणबाट बँच्न भारतबाट भागेर आएका सेन वंशीय राज खलक तुला सेनले विसं १००० मा निर्माण गरेको भनिए पनि यथेष्ठ प्रमाण पुग्दैन । कतिपय इतिहासकारका अनुसार पनि नेपालका सेन वंशहरुको उद्गमस्थल मकवानपुर नै हो । पाल्पाका राजा मुकुन्द सेनले आफूलाई मकवानी भनेको कतिपय लेखोट तथा शीलालेखहरुमा पाइएकोलाई आधार मान्दा सेनहरु पाल्पाबाट मकवानपुर नभएर मकवानपुरबाट पाल्पा गएको मान्न सकिन्छ । सेनहरुको वंशावली अनुसार १५०० सालतिर खाम सेन नाम गरेका राजाले पाल्पामा राज्य खडा गरेर सेन वंशको सुरुआत गरेका हुन् । मुकुन्द सेन तिनै खाम सेनका पनाति हुन् । खाम सेनका छोरा चन्द्र सेन, चन्द्र सेनका छोरा रुद्र सेन र रुद्र सेनका छोरा मुकुन्द सेन भएको उक्त वंशावलीमा उल्लेख छ । रासस
त्रिभुवन विश्वविद्यालयमा बीई र बिआर्क पढ्न भदौ १९ गतेसम्म आवेदन गर्नुपर्ने
काठमाडौं । कक्षा ११/१२ पछि स्नातक तहमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानमा बीई र बी.आर्क कार्यक्रममा पढ्न चाहने विद्यार्थीले प्रवेश परीक्षाका लागि भदौको १९ गतेसम्म आवेदन गर्नुपर्ने भएको छ । भदौको २५ गतेदेखि कम्प्युटर विधिबाट इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक ललितपुर र पश्चिमाञ्चल क्याम्पस पोखरामा प्रवेश परीक्षा शुरु हुने संस्थानले सूचनामा उल्लेख गरेको छ । जनाएको छ । प्रवेश परीक्षामार्फत् छनौट हुने विद्यार्थीले संस्थान अन्तर्गतको ५ वटा आंगिक र १० वटा सम्बन्धन कलेजमा पढ्न पाउनेछन् । कक्षा ११/१२ मा भौतिकशास्त्र, रसायनशास्त्र र गणित विषय लिएर अध्ययन गरेको वा ए लेभल वा इन्जिनियरिङ डिप्लोमा तहमा ४५ प्रतिशत वा एनइबी फाइनल ग्रेडमा प्रत्येक विषयमा सी ग्रेड प्राप्त गरेको विद्यार्थीले आवेदन गर्न पाउनेछन् ।
सुनकोशी मरिण डाइभर्सन आयोजना : सुरुङ निर्माणमा गति
काठमाडौं । अधिकांश राष्ट्रिय गौरवका परियोजनामा समय र लागत दुवै बढिरहेका बेला एउटा आयोजनाले भने यतिबेला धेरैको ध्यान आकृष्ट गरेको छ । नेपालमा पनि यो गतिमा यसरी काम हुनसक्छ र भन्दै अधिकांशले आश्चर्य प्रकट गरेका छन् । आयोजनाको निर्माणमा देखिएको सकारात्मक प्रभाव अन्यमा समेत पर्ने भन्दै खुसी व्यक्त गर्नेहरु पनि उत्तिकै छन् । सरकारले विकास निर्माणको कामबाट आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्ने र नेपाली नागरिकको विकास प्रतिको भोकलाई सम्बोधन गर्ने लक्ष्यका साथ सुरु गरेका एकाधबाहेकका अधिकांश ठूला आयोजना समयमा निर्माण सम्पन्न भएका छैनन् । केही आयोजना निर्माण सम्पन्न भएर पनि अपेक्षितरुपमा सञ्चालन हुन सकेका छैनन् । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले अपेक्षित लाभ प्रदान गरेपनि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भएर पनि लाभ प्राप्त हुन सकेको छैन । यही मेसोमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोशी मरिण डाइभर्सन आयोजनाले उल्लेखनीय प्रगति गरेको छ । आयोजना प्रमुख मित्र बरालका अनुसार कूल १३.३ किलोमिटर लामो सुरुङमध्ये हालसम्म आठ किलोमिटर बराबरको सुरुङ निर्माण सम्पन्न भएको छ । सुरुङ निर्माणमा हालसम्म ६० प्रतिशत बराबरको भौतिक प्रगति भएको छ । नेपालका विद्युत् तथा अन्य सिँचाइका आयोजनामा सुरुङ निर्माण भए पनि सो आयोजनामा टनेल बोरिङ मेशिन (टिबिएम) प्रयोग गरेर खनिएको छ । यसअघि भेरी-बबई डाइभर्सन आयोजनामा पनि टिबिएमको प्रयोग गरिएको थियो । पहाडी भूभाग बढी भएको नेपालमा विकास निर्माणको काम अगाडि बढाउन अब टिबिएम प्रभावकारी उपकरणका रुपमा स्थापित भएको छ । यसबाट अन्य आयोजनामा समेत अब सोही प्रकृतिको मेसिन प्रयोग गर्न सकिने वातावरण बन्दै गएको देखिन्छ । सुनकोशी नदीको पानी मरिण खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईका एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु गरिएको सो आयोजनाको सुरुङ निर्माणमा अपेक्षितभन्दा बढी प्रगति भए पनि अन्य काम सुरु हुन सकेको छैन । भेरी-बबई आयोजनामा पनि दुई वर्ष पहिल्यै सुरुङ निर्माण सम्पन्न भए पनि बाँधस्थल र विद्युत् गृह निर्माण सकिएको छैन । ती काम कहिले सकिन्छ भन्न सक्ने अवस्थामा आयोजनाका सम्बद्ध अधिकारी छैनन् । सुनकोशी मरिण डाइभर्सन आयोजनाले हाल सञ्चालनमा रहेको बिपी राजमार्गको केही भाग प्रभावित हुनेछ । हाल सञ्चालनमा रहेको राजमार्गलाई नौ सय मिटर डाइभर्सन गर्नुपर्ने हुन्छ । यस्तै बाँधस्थल निर्माणका लागि निर्माण व्यवसायी परिचालित भइसकेका छन् । वर्षाका कारण काम सुरु हुन सकेको छैन । नदीमा पानीको सतह घटन थालेपछि बाँधस्थल निर्माण सुरु गर्ने तयारीमा आयोजना छ । यस्तै, विद्युत् गृह निर्माण हुने स्थानमा मुआब्जा वितरण सम्पन्न भइसकेको छ । यस्तै, प्रसारण लाइन निर्माणका कारण प्रभावित हुने स्थानमा वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न हुने चरणमा छ । यसका लागि निर्माण व्यवसायी परिचालन गर्ने तयारी भइरहेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनाको सुरुङ निर्माण भएको करिब ११ महिनामा नै आठ किमी बराबरको सुरुङ निर्माण हुन आफैँमा महत्वपूर्ण उपलब्धि हो । गत असोज २८ गतेदेखि सो आयोजनाको सुरुङ निर्माण सुरु भएको हो । टिबिएमको प्रयोग गरिएकाले सोचेभन्दा धेरै राम्रो प्रगति भएको आयोजनाको भनाइ छ । गत जेठमा मात्रै सो आयोजनाको कूल एक हजार दुई सय २४ मिटर बराबरको सुरुङ निर्माण सम्पन्न भएको आयोजना प्रमुख बरालले जानकारी दिनुभयो । विश्वव्यापीरुपमा पनि यति छिट्टै यति धेरै सुरुङ निर्माण हुनु पनि आफैँमा रेकर्ड नै भएको जानकारी दिँदै उनले विश्व रेकर्डका लागि नाम लेखाउन आवश्यक प्रक्रिया अगाडि बढाइएको बताए । सो आयोजनाबाट तराई(मधेसका कूल एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ। टिबिएमको प्रयोग गरेर दैनिक तीन सत्रमा निर्माण जारी रहेको उल्लेख गरे । चारवटै कामका लागि समानान्तररुपमा प्रक्रिया अगाडि बढाइएको स्पष्ट पार्दै उहाँले तोकिएको समयभन्दाअगावै सुरुङ निर्माण प्रक्रिया पूरा हुनेछ । चुरे पर्वत शृङ्खलाबाट महाभारत पर्वत शृङ्खलामुनि हाल सुरुङ निर्माण भइरहेको र कडा चट्टानयुक्त क्षेत्र भएकाले काम थप सहज भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि सो आयोजनालाई सबै प्रकारको साधन र स्रोत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । तर, सो आयोजनामा स्रोतको व्यवस्थापन हुन कठिनाइ भइरहेको छ । ऊर्जामन्त्री बस्नेतले सो आयोजनामा भुक्तानीको समस्या देखिएकाले तत्काल समाधान गरिदिन यसअघि नै प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका थिए। राष्ट्रिय गौरवका आयोजना भएकाले स्रोतको कुनै अभाव नहुने प्रधानमन्त्री, ऊर्जामन्त्रीको प्रतिबद्धता छ । यसअघि सुरुङ निर्माणमा भौगर्भिकरुपमा रहेको जटिलताका कारण दुईपटक समस्या देखिएको थियो । सुरुङ निर्माणका क्रममा एकपटक नौ दिन र एक पटक २६ दिन काम नै रोकिएको जानकारी दिँदै आयोजना प्रमुख बरालले महाभारत पर्वत शृङ्खलामुनि निर्माण भइरहेकाले हाल कुनै पनि जटिलता उत्पन्न भएको छैन । सुनकोशी गाउँपालिका-७ कानढुङ्ग्रीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदी पथान्तरण गरिनेछ । सुनकोशीको करीब ६७ क्युमेक पानीलाई सुरूङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका(२ कुसुमटारस्थित मरिण खोलामा पानी खसालिनेछ । त्यसपछि बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ । त्यस्तै सो आयोजनाबाट ३१ मेगावाट बराबरको बिजुलीसमेत उत्पादन हुनेछ । आयोजनाको सुरुङ निर्माणको काम चीनको चाइना ओभरसिज इञ्जिनियरिङ गरिरहेको छ । बाँध निर्माणका लागि नेपालको रमण समूहसँग एक विदेशी ठेकेदार कम्पनीको संयुक्त उपक्रमले जिम्मा पाएको छ । रासस
दुर्गा प्रसाईंको अभिव्यक्तिप्रति आपत्ति, सम्बन्ध बिर्गान खोजेको भन्दै महानगरले निकाल्यो विज्ञप्ति
काठमाडौं । विवादित व्यवसायी व्यवसायी दुर्गा प्रसाईंको अभिव्यक्तिप्रति वीरगन्ज महानगरपालिकाले गम्भीर आपत्ति जनाएको छ । महानगरपालिकाले विज्ञप्ति जारी गर्दै प्रसाईंले मारवाडी समुदायप्रति लगाएको गम्भीर आरोप निन्दनीय र आपत्तिजनक रहेको बताएको छ । ‘सम्पूर्ण मारवाडी समुदायलाई नै लक्षित गरी मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मारवाडी समुदायले नेपालको अर्थतन्त्र तहसनहस तुल्याएको भन्नेजस्ता गैरजिम्मेवारपूर्ण सार्वजनिक अभिव्यक्तिप्रति खेद व्यक्त गर्दछु, कसैको व्यक्तिगत विषयलाई लिएर सम्पूर्ण समुदायलाई नै आघात पुग्ने गरी अभिव्यक्ति दिनु निन्दनीय छ,’ महानगरका मेयर राजेशमान सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा औद्योगिकीकरण र व्यावसायिक लगानीमार्फत मुलुकमा रोजगारी सिर्जना गरी अर्थतन्त्र चलायमान बनाउन मारवाडी समुदायको ठूलो योगदान रहेको उल्लेख छ । विवादित मेडिकल व्यवसायी प्रसाईं पछिल्लो समय सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्तीहरुमाथि आरोप लगाइरहेका छन् । झापास्थित बी एन्ड सी मेडिकल कलेज एवं पूर्वाञ्चल क्यान्सर अस्पतालका सञ्चालक प्रसाईंले बैैंकबाट लिएको ऋण पनि नतिर्ने बताउँदै आएका छन् । उनलाई पक्राउ गर्न माग गर्दै राष्ट्रिय मारवाडी व्यवसायी परिषदले साइबर ब्यूरोमा उजुरी दिएको छ ।