विकासन्युज

काठमाडौं महानगरले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई यही भदौदेखि दिवा खाजाको व्यवस्था गर्ने भएको छ । गतवर्ष कक्षा ८ सम्म दिँदै आएको खाजा महानगरले यसवर्ष कक्षा १० सम्मका विद्यार्थीलाई दिने व्यवस्था गरेको महानगरपालिका शिक्षा विभागका अधिकारी सीताराम कोइरालाले जानकारी दिए । उनका अनुसार संघीय सरकारले कक्षा ६ सम्म प्रतिविद्यार्थी १५ रूपैयाँ दिँदै आइरहेकामा महानगरले गत वर्षदेखि १० थप गरेर २५ रूपैयाँ बनाएको थियो । सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीका लागि सरकारले दिँदै आएको १५ मा महानगरले १५ थप गरी ३० रूपैयाँ पुर्‍याएको कोइरालाले बताए। भदौदेखि कक्षा ६ देखि कक्षा १० सम्मलाई पनि दिवा खाजाको व्यवस्थापन गर्न महानगरअन्तर्गत शिक्षा विभागले विद्यालयलाई पत्राचार गरेको छ । रासस

२१.९९ अंकले घटेको बजारमा आइएमइ लाइफको उच्च कारोबार

काठमाडौं । आइतबारको सेयर बजारमा आइएमई लाइफ इन्स्योरेन्स सेयर उच्च कारोबार भएको छ । केही दिनदेखि नेप्से ओरालो लाग्ने क्रम सुरु गरेको छ । सोमबारको बजार पनि २१.९९ अंकले घटेर बन्द भएको छ । घटेको बजारमा आइएमई लाइफ इन्स्योरेन्स सेयर भने सबैभन्दा धेरै कारोबार भएको छ । सोमबार आइएमई लाइफ इन्स्योरेन्स सेयरको मात्रै ६ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारको आधारमा दोस्रो स्थानमा हिमालयन डिस्टिलरी लिमिटेड रहेको छ । हिमालय डिस्टिलरीको ४ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार नेप्से परिसूचक २१.९९ अंक घटेर २०११.१४ विन्दुमा झरेको छ । आइतबार २६९ स्टकको ४३ हजार ३४६ पटकको कारोबारमा एक अर्ब ४४ करोड ७४ लाख रुपैयाँ बराबरको ४४ लाख ५९ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । आइतबारको सेयर बजारमा फरवार्ड लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी अर्थात ४.५७ प्रतिशत बढेको छ ।

काठमाडौं महानगरपालिका विरुद्ध फुटपाथ व्यवसायीको प्रदर्शन

काठमाडौं । महानगरपालीकाले सडक व्यापारीहरुलाई बिस्थापन गर्न खोजेको भन्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । सडक व्यापार गर्ने साना व्यवसायीहरुले महानगरपालीकाको कदमबिरुद्ध आईतवार काठमाडौंमा भेला भइ प्रदर्शन गरेका हुन् । काठमाडौं महानगरले जबरजस्ती विस्थापन गर्न खोजेको भन्दै साईकल, ठेलागाडा, फुटपाथमा व्यवसाय गर्ने व्यवसायीहरु र केही सर्वसाधारण आन्दोलनमा उत्रिएका छन् । व्यवसायीको आन्दोलनमा सहभागी कानून व्यवसायी सुविन मुल्मीले काठमाडौं महानगरले सडक व्यापारीहरुलाई गरिखान नदिएको बताए उनले गैरकानूनी रुपमा व्यवसायीहरुले सामान महानगरले खोसेको भन्दै कानूनी रुपमा नै उनीहरुको समुचित व्यवस्थापन गर्नुपर्ने बताए । उननले सडक व्यापारलाई कानूनले रोकेको अवस्था नरहेको बताए । महानगरले गैरकानूनी रुपमा व्यवसायीहरुको सामान खोसेर लिलाम गरी पैसा कमाउने काम गरेको आरोप लगाए । मुल्मीले भने, ‘सडक व्यापारीहरुलाई गरिखान दिइरहेको अवस्था छैन । उहाँहरुको सामान गैरकानूनी रुपमा खोसिएर लिलाम गरिएको अवस्था छ । सडक व्यापारलाई कानूनी रुपमा नै व्यवस्थापन गर्न आग्रह गर्न आएका हौं । सडक व्यापारलाई कानूनले रोकेको अवस्था छैन ।गैरकानूनी रुपमा उहाँहरुको सामान खोसेर लिलाम गरी पैसा कमाउने काम गरिएको छ । त्यो सबै गैरकानूनी हो । कार्यतालीका नै राखेर अनुमति दिने सिस्टम बनाउनुपर्छ । गरिबको पेटमा लात हान्न मिल्दैन । उहाँहरुलाई गरिखाने व्यवस्था गरिनुपर्छ । सडक व्यापारलाई व्यवस्थापन गर्न मेयर बालेन्द्र साह गम्भिर हुनुपर्छ ।’

प्रतिनिसभा बैठक भदौ ५ गतेसम्मका लागि स्थगित

काठमाडौं । आज १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको छ । सङ्घीय संसद् सचिवालयले अपह्रान्न ३ बजे बैठक स्थगित गरेको सूचना टाँसेको थियो । बैठक भदौ ५ गते दिउँसो ३ बजे बस्ने सूचनामा उल्लेख छ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभाको अर्को बैठक यही ५ गते मङ्गलबारसम्म सारिएको संसदका महासचिवद्वारा जारी सूचनामा उल्लेख छ । संसद्को बैठक सञ्चालन गर्ने सम्बन्धमा संसद्मा प्रतिनिधित्व गर्ने दलको बैठक सिंहदरबारमा आज बसेको थियो । सो बैठकमा पनि सहमति जुट्न नसकेपछि आजको बैठक स्थगित गरिएको हो । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण एक महिनादेखि संसद् बैठक सञ्चालन हुन सकेको छैन ।

फेरि ओरालो लाग्यो सेयर बजार, नेप्से २१.९९ अंक घट्यो

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । आइतबार नेप्से परिसूचक २१.९९ अंक घटेर २०११.१४ विन्दुमा झरेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ३.२५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८६ अंक घटेको छ । आइतबारको सेयर बजारमा कारोबार रकम पनि घटेको छ । आइतबार  २६९ स्टकको ४३ हजार ३४६ पटकको कारोबारमा एक अर्ब ४४ करोड ७४ लाख रुपैयाँ बराबरको ४४ लाख ५९ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । आइतबार फरवार्ड लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी अर्थात ४.५७ प्रतिशत बढेको छ । कारोबार रकमका आधारमा आइतबार आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको यस दिन ६ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । आइतबार १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.३४ प्रतिशत घटेको छ । होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

स्याङ्जामा भदौमै पाक्न थाल्यो सुन्तला, स्याउको मूल्यमा बिक्री

स्याङ्जा । स्याङ्जामा भदौमै सुन्तला पाकेर बिक्रीका लागि तयारी गरिएको छ । पुतलीबजार नगरपालिका–११, मायाटारीका बोधराज अर्यालले लगाएको उन्सु जातको सुन्तला साउनको अन्तिम साताबाटै पाक्न सुरु भएको हो । उनको फार्म करिब एक सय ५० रोपनी क्षेत्रफलमा फैलिएको छ । अर्यालको फार्ममा सुन्तला बँगैचामा उन्सुसहित १५ प्रजातिका १३ सय सुन्तला, अमिला जातका फलफूल, कफी, अदुवा, बेसार, तेजपत्ता, टिमुर, जुनारलगायत ३५ भन्दा धेरै कृषिउपज उत्पादन हुन्छन् । उनले वार्षिक १५ लाखको मात्र सुन्तला बिक्री गर्दै आएका छन् । शान्ति कफी ट्रेड र मायाटारी कफी उद्योग दर्ता गरेर उनले कृषि व्यवसाय सञ्चालन गरेका छन् । सुन्तला उत्पादनका लागि उपयुक्त हावापानी भएको स्याङ्जामा स्थानीयसहित विभिन्न प्रजातिका सुन्तला उत्पादन हुँदै आएका छन् । ‘साउनदेखि फागुनसम्म’ ताजा सुन्तला भन्ने नारासहित साउन, भदौमा उत्पादन दिने जापानिज उन्सु जातको सुन्तला लगाएको अर्यालले जानकारी दिए । ‘उन्सु जातको सुन्तला मात्र एक सय बोट छन्’, उनले भने, ‘अहिले ४० बोटले उत्पादन दिएका छन् भने ६० बोट उत्पादनका लागि ठिक्क छन् ।’ उन्सु जातका सुन्तलाका दाना ठूल्ठूला र निकै स्वादिला हुने उनले बताए । ‘बेमौसममा फलेका कारण स्याउको मूल्यमा बिक्री हुन्छ’, कृषक अर्यालले भने, ‘अहिले घरमा आउने पाहुनालाई खुवाउने र कोसेलीका रुपमा दिने गरेका छौँ ।’ उनले उन्सु जातका सुन्तलाले एक-दुई वर्षमै स्याङ्जामा राम्रो उत्पादन दिने बताए । ‘कीर्तिपुरस्थित राष्ट्रिय सुन्तला अनुसन्धान केन्द्रबाट दुई उन्सु जातका बेर्ना ल्याएर लगाएको थिए’, उनले भने, ‘सुन्तला हुर्केपछि कलमी गरेर एक सय बोट उत्पादन दिने खालका सुन्तला बनाएको छु, नर्सरीमा किन्न चाहनेका लागि थुप्रै कलमी बिरुवा तयार गरेको छु ।’ अर्यालले २०४९ सालमा १० बोटबाट सुन्तलाको व्यावसायिक खेती सुरु गरेका थिए । ‘तत्कालीन समयमा गाउँमा ओमबहादुर केसी नाम गर्नुभएका ज्येष्ठ बुवा थिए, उनले गाउँभरिका सबैलाई सुन्तला रोप्नुपर्छ भनेर निःशुल्क बिरुवा दिन्थे’, उनले पुराना दिन सम्झिए, ‘उनकै प्रेरणा र हौसलाका कारण सुन्तला खेतीमा लागेको छु ।’ अर्यालको फार्मका उत्पादन वस्तु विगत १६ वर्षदेखि जापान निर्यात हुँदै आएका छन् । उनले विशेष गरेर कफी, सुन्तला, अदुवा, बेसार, तेजपत्ता, टिमुर, जुनार, जामलगायत ३५ भन्दा धेरै सामग्री जापान पठाउँदै आएको बताए । उनले पुतलीबजार–१२ पेल्काचौरमा ३० देखि ४० हजार कलमी सुन्तलाका बिरुवा उत्पादन गर्ने उद्देश्यसहित उच्च प्रविधिको नर्सरीसमेत बताएका छन् । उनले उत्पादन गरेको सुन्तला काठमाडौँ, बुटवल, भैरहवालगायतका स्थानमा निर्यात हुने गरेको छ । कृषि क्षेत्रमा तीनै तहका सरकारको राम्रो सहयोग पाएको उनको भनाइ छ । अर्यालकी श्रीमती उमाले श्रीमान्को कृषि कर्मले सामाजिक प्रतिष्ठा निर्माण भएको बताइन् । छोरा उभित उनको कामलाई सघाउनसक्ने भएका छन् । छोरी अनुषा पोखरामा अध्यनरत रहेको सुनाउँदै उभितले फार्म व्यवस्थापनको भूमिका राम्रोसँग निभाउन थालेको अर्यालले बताए । स्याङ्जामा सुन्तला खेतीको सम्भावना राम्रो भएकाले अध्ययन र अनुसन्धान गरेर लाग्न नयाँ आउन चाहने कृषकलाई उनको सुझाव छ । अर्यालले एक सय बढी कृषिसम्बन्धी तालिम लिएका छन् । उनले हाल सुन्तला र कफीसम्बन्धी जिल्ला बाहिर र जिल्लाभित्र प्रशिक्षकका रुपमा तालिमसमेत दिँदै आइरहेका छन् । उनको फार्ममा अहिले पाँच जनाले रोजगारी पाएका छन् भने सुन्तलाको याममा २० जनासम्मले रोजगारी पाउने गरेका छन् । कृषि ज्ञानकेन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले जिल्लामा पुतलीबजार, अर्जुनचौपारी र वालिङ नगरपालिकामा उन्सु जातको सुन्तलाखेती व्यावसायिकरुपमा गर्न थालिएको बताए । उनले स्याङ्जामा २२ सय हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुँदै आएको जानकारी दिए । ‘यहाँ वार्षिक रु १० लाखभन्दा धेरै आम्दानी गर्ने व्यावसायिक कृषक पाँच सयभन्दा धेरै छन्, सहकारी, समूहलगायत रु १० लाखभन्दा कम आम्दानी गर्ने कृषक हजारौँको सङ्ख्यामा छन्’, प्रमुख हमालले भने, ‘यहाँ सुन्तला खेतीका लागि उपयुक्त माटो र हावापानी राम्रो भएकाले किसान सुन्तला खेतीप्रति आकर्षित भएका हुन् ।’ उनले सुन्तला ग्रेडिङ गर्ने मेसिन स्याङ्जामा मात्र रहेको जानकारी दिए । उनका अनुसार कृषि ज्ञान केन्द्रले सुन्तलाखेती विस्तारका लागि बगैँचा व्यवस्थापन, रोग किरा व्यवस्थापन, निःशुल्क बिरुवा वितरण, बारबन्देजलगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ । रासस

सिटिजन्स क्यापिटल र ठूलोखोला हाइड्रोबीच सेयर निष्काशन सम्झौता

काठमाडौं । ठूलोखोला हाइड्रोपावरले आइपीओ निष्काशन गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आइतबार एक समारोहबीच आइपीओ निष्काशनका लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गर्ने  सम्झौता गरेको हो । कम्पनीले आइतबार जारी गरेकाे विज्ञप्तिअनुसार, सम्झौता पत्रमा ठूलो खोला हाइड्रोपावरका तर्फबाट संचालक श्वेता अधिकारी पन्त र सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार, सिटिजन्स क्यापिटलले निकट भविष्यमा ठूलो खोला हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्काशन गर्नेछ । ठूलो खोला हाइड्रोपावर लिमिटेडले निमार्ण गरिरहेको ‘माथिल्लो ठूलाखोला ए जलविद्युत आयोजना’ म्याग्दी जिल्लामा अवस्थित छ । सो आयोजनाकाे २२.५ मेगावाट बिजुली उत्पादन क्षमता रहेको छ ।