काठमाडौं । महानगरपालीकाले सडक व्यापारीहरुलाई बिस्थापन गर्न खोजेको भन्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।
सडक व्यापार गर्ने साना व्यवसायीहरुले महानगरपालीकाको कदमबिरुद्ध आईतवार काठमाडौंमा भेला भइ प्रदर्शन गरेका हुन् । काठमाडौं महानगरले जबरजस्ती विस्थापन गर्न खोजेको भन्दै साईकल, ठेलागाडा, फुटपाथमा व्यवसाय गर्ने व्यवसायीहरु र केही सर्वसाधारण आन्दोलनमा उत्रिएका छन् ।
व्यवसायीको आन्दोलनमा सहभागी कानून व्यवसायी सुविन मुल्मीले काठमाडौं महानगरले सडक व्यापारीहरुलाई गरिखान नदिएको बताए उनले गैरकानूनी रुपमा व्यवसायीहरुले सामान महानगरले खोसेको भन्दै कानूनी रुपमा नै उनीहरुको समुचित व्यवस्थापन गर्नुपर्ने बताए । उननले सडक व्यापारलाई कानूनले रोकेको अवस्था नरहेको बताए । महानगरले गैरकानूनी रुपमा व्यवसायीहरुको सामान खोसेर लिलाम गरी पैसा कमाउने काम गरेको आरोप लगाए ।
मुल्मीले भने, ‘सडक व्यापारीहरुलाई गरिखान दिइरहेको अवस्था छैन । उहाँहरुको सामान गैरकानूनी रुपमा खोसिएर लिलाम गरिएको अवस्था छ । सडक व्यापारलाई कानूनी रुपमा नै व्यवस्थापन गर्न आग्रह गर्न आएका हौं । सडक व्यापारलाई कानूनले रोकेको अवस्था छैन ।गैरकानूनी रुपमा उहाँहरुको सामान खोसेर लिलाम गरी पैसा कमाउने काम गरिएको छ । त्यो सबै गैरकानूनी हो । कार्यतालीका नै राखेर अनुमति दिने सिस्टम बनाउनुपर्छ । गरिबको पेटमा लात हान्न मिल्दैन । उहाँहरुलाई गरिखाने व्यवस्था गरिनुपर्छ । सडक व्यापारलाई व्यवस्थापन गर्न मेयर बालेन्द्र साह गम्भिर हुनुपर्छ ।’