विकासन्युज

भ्रष्टाचारमा मुछिएकाहरूको भारी बोकिन्न : गगन थापा

इलाम । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारमा मुछिएका व्यक्तिहरूको भारी आफ्नो पार्टीले बोकेर नहिँड्ने बताएका छन् । ललिता निवास प्रकरणमा संलग्न भनिएकाहरूको फाइल नखोल्ने भनेर बाहिर आएको समाचारप्रति महामन्त्री थापाले गठबन्धनमा रहेर यस्तो निर्णय गर्न नहुने बताए । ‘अपराध गर्ने मान्छे पर्छ, यसमा कसैले टाउको दुखाउनु हुँदैन ।’ नेपाललाई भ्रष्टाचारमुक्त देश बनाउन पहल सबै मिलेर गर्नुपर्नेमा जोड दिँदै उनले कांग्रेसको बैठक सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण भएजस्तो अब गठबन्धनको बैठक पनि प्रत्यक्ष जनतामाझ पुर्याउन आँट गर्नुपर्ने बताए । भ्रष्टाचारमा जोडिएका जो–कोहीलाई छाड्न र उन्मुक्ति दिन नहुने उनको भनाइ छ । महामन्त्री थापाले जोसुकैसँग जोडिएका विषय पारदर्शी हुनुपर्ने औँल्याए । अब पार्टीको मात्र नभएर गठबन्धन वा जुनसुकै राष्ट्रिय सवालमा भएका निर्णयसमेत पारदर्शी बनाउनुपर्नेमा उनले जोड दिए। नेपाली कांग्रेस इलाम नगर कार्यसमितिको दोस्रो नगर सम्मेलन उद्घाटनका क्रममा महामन्त्री थापाले जनता र युवा पिँढीमा रहेको नैराश्यता अन्त्य गर्न कांग्रेसले पहल गर्नुपर्नेमा जोड दिए। इमान्दार भएर काम गरेमा परिवर्तन सम्भव हुने उनको भनाइ छ ।

‘एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३’ का २२ जना अन्तिम प्रतिस्पर्धीहरू सार्वजनिक

काठमाडौं । उमंग क्रियसनको आयोजनामा एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३ का २२ जना अन्तिम प्रतिस्पर्धीहरू सार्वजनिक भएका छन् । शनिबार आयोजित एक समारोहका बिच पाँच सय जना प्रतिस्पर्धीहरू मध्ये २२ जना अन्तिम प्रतिस्पर्धीहरू सार्वजनिक भएका हुन् । जसमा देश विदेशमा रहेका नेपाली महिला सुन्दरीहरूको सहभागीता रहेको थियो । २२ जना मध्ये दुईजना विवाहित महिला र एक जना ट्रान्स महिलाको समेत सहभागीता रहेको छ । एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३ को फाइनल भदौ २३ गते गोदावरीको कन्फेन्स सेन्टरमा आयोजना हुने, उमंग क्रियसनका म्यानेजिङ डाइरेक्टर उद्धव अधिकारीले बताए । उनले विभिन्न प्रतिस्पर्धीहरूलाई आत्मविश्वासका साथै सुन्दरीहरूको प्रतिमूर्तिका रूपमा स्थापित हुनका लागि यो उत्कृष्ट अवसर भएको बताए । प्रतिस्पर्धीहरूलाई प्रशान्त ताम्राकारको कोरियोग्राफिमा प्रस्तुत गरिएको थियो । प्रतिस्पर्धीहरूमा प्राप्ति खड्का, सबिना चौधरी, च्यानल श्रेष्ठ, प्रेमा लामगडे, डा. पुजा भगत, रोजिना काफ्ले, गरिमा घिमिरे, पलिष्ट बज्राचार्य, डा. अमिषा बस्नेत, संस्कृति क्षेत्री कार्की, तृष्णा बाँनिया, बुद्धसार सुनार, पुजा पौडेल, जेन दीपिका ग्यारेट, मनिता पासवान, सुष्मा आरएल शाही, अभिलाषा लम्साल, एलिस्टा सुवेदी, मौसमी श्रेष्ठको सहभागीता रहेको थियो । २२ जना अन्तिम प्रतिस्पर्धीहरू मध्येबाट विजेताले नोवेम्बरमा एलसाल्वा डोरमा हुने हुने मिस युनिभर्समा नेपाललाई नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने छिन् ।

संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत छैन : एमाले उपाध्यक्ष नेम्वाङ

धुलिखेल । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत नभएको बताएका छन्। सङ्घीय संसद्द्वारा आज यहाँ आयोजित ‘संसद् र सञ्चार सम्बन्ध’ विषय अन्तक्र्रियामा उनले मुलुकको संसदीय अभ्यासमा देखिने गरेको संसद् अवरोध नियमसँग नभएको उल्लेख गरे । नेकपा (एमाले) संसदीय दलका उपनेता नेम्वाङले भने, ‘संसद् अवरोध नियमसङ्गत छैन, नियमले अवरोध गर्न मिल्दैन, संविधानले पनि अनुमति दिएको छैन, राजनीतिकरुपमा गरिने हुनाले यसको पुनःपुष्टि गर्ने सम्बन्धित दलको जिम्मेवारी हो ।’ मुलुकमा पछिल्ला समय विमानस्थल बाहिर बरामद गरिएको सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्ने किन गर्ने भन्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच मतैक्यता हुन नसकेपछि सङ्घीय संसद्का दुवै सदन अवरुद्ध हुँदै आएका छन् । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सदनमा पछिल्लो समय भइरहेको अवरोधप्रति आफ्नो सकारात्मक भाव नरहेको टिप्पणी गरे । उनले भने, ‘सदन अवरुद्ध मलाई मन परेको छैन, अवरोध नगरौँ, संवाद गरौँ, संवादको विकल्प संवाद मात्रै हो । अहिले भइरहेको अभ्यासले संसदीय पद्धतिको विकासमा सहयोग गर्दैन कि भन्ने लाग्छ ।’ संसद्को हालसम्मको काम कारबाहीको मूल्याङ्कन गर्दै थप प्रभावकारी तुल्याउन नागरिक समाजसहित व्यक्ति रहेको उच्चस्तरीय स्वतन्त्र संयन्त्र बनाउनुपर्ने आवश्यकतामा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले जोड दिए । संसद्ले दिने सूचना पूर्ण, चुस्त र आधिकारित हुनपर्ने आवश्यकता औँल्याउँदै उनले लोकतन्त्रको ज्यानका रुपमा रहेको संसद् र प्रजातन्त्रका पक्षमा सञ्चार जगत्लाई सधैँभर खबरदारी गर्न सुझाव दिए। उपसभामुख इन्दिरा रानाले पत्रकारिता संसद् र आमनेपाली जनताको ऐनाका रुपमा रहेको धारणा व्यक्त गरिन् । ‘मुलुकको सञ्चार जगत्ले राष्ट्र र जनताको हितका पक्षमा सधैँ चनाखो भएर कलम चलाउन आवश्यक छ’, उनले भनिन् । काठमाडौं उपत्यकाबाट प्रकाशन एवं प्रसारण हुने राष्ट्रिय सञ्चारमाध्यममा रही सङ्घीय संसद्लाई मुख्य बिट बनाएर समाचार सङ्कलन गर्र्दै आएका करिब ५० पत्रकार दुईदिने उक्त अन्तक्र्रियामा सहभागी थिए ।

काठमाडौं वसन्तपुरमा ‘तस्बिरमा बालबालिका’ नामक फोटो प्रदर्शनी

काठमाडौं । काठमाडौंको वसन्तपुरमा ‘तस्बिरमा बालबालिका’ नामक फोटो प्रदर्शनी आयोजना गरिएको छ । १८४ औं विश्व फोटोग्राफी दिवसको अवसर पारेर राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे) सिविन नेपालको सहयोगमा शनिवार (आज) एकदिने सो फोटो प्रदर्शनी आयोजना गरेको हो । प्रदर्शनीमा बालबालिकाका गौरवगाथाहरुलाई चित्रण गर्ने खालका ६० भन्दाबढी तस्बिरहरु समावेश गरिएका छन् । बालबालिकाहरुमा खुशीयाली ल्याउन सो प्रर्दशनी आयोजना गरिएको एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए । ‘१८४ औं विश्व फोटोग्राफी दिवसको असरमा हामीले शनिवार वसन्तपुरको डबलीमा सिविन नेपालको सहयोगमा ह्याप्पी बालबालिका, जो राष्ट्रिय गौरव हुन भन्ने नाराका साथ फोटो एक्जीविशन गरेका छौं । यसमा करिव ६० वटा फोटो राखिएको छ । बालबालिकाहरु गुम्न आउने, खेल्न आउने भएको यो ठाउँमा विभिन्न जिल्लाका बालबालिकाहरुको क्रियाकलापहरु समेटिएको फोटो प्रर्दशन गरिएको हो । बालबालिकाहरुमा खुशीयाली ल्याउन पनि यो प्रर्दशनी आयोजना गरिएको हो’, अध्यक्ष पन्तले भने । ‘बालबालिका राष्ट्रका गौरव हुन्’ भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रर्दशनीमा विभिन्न जिल्लाका बालबालिकाहरुले खुशीका साथ गरेका क्रियाकलापहरु समावेश गरिएको तस्स्बिरहरु छन् । एनएफपीजेले आफ्नो स्थापनाको २५ वर्ष पुगेको अवसर पारेर खेल, मनोरञ्जन र काममा खुशीका साथ सहभागी भएका बालबालिकाहरुलाई थप उत्साही बनाउने उद्देश्यका साथ सो प्रदर्शनी गरिएको जनाएको छ ।

राज्यका जिम्मेवार संयन्त्रले काम गरिरहेकाले उच्चस्तरीय समिति आवश्यक छैन : गृहमन्त्री श्रेष्ठ

कास्की । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन काण्डको अनुसन्धानलाई अन्तिम निष्कर्षमा पु¥याएर यसको नेटवर्कको पहिचान गरी दोषीमाथि कारबाही गरिने बताएका छन् । राज्यको व्यावसायिक, पेसागत रुपमा दक्ष र जिम्मेवार संरचना र संयन्त्रहरुले काम गरिरहेकाले सुन काण्डको अनुसन्धानका लागि अर्को उच्चस्तरीय समिति बनाउन आवश्यक नरहेको उनले उल्लेख गरे । प्रेस सेन्टर नेपालले शनिबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा गृहमन्त्री श्रेष्ठले सुन काण्डको सिआइवीले अनुसन्धानको प्रक्रिया अघि बढाउँदा दोषीहरु पत्ता लाग्ने र उनीहरुलाई कानुनको दायरामा ल्याउन सकिने स्पष्ट पारे । ‘यससघि यस्तै काण्डमा संसद्बाट समिति बनाइएयो, समितिको रिपोर्ट आयो, सिद्धियो, अर्को एकपटक केपी ओली प्रधानमन्त्री भएका बेला ३३ किलो सुन काण्डका लागि छानबिन समिति बनाइयो, समितिको रिपोर्ट आयो अन्य केही पनि आएन, न सुन आयो, न सिफारिस कार्यान्वयन भयो, त्यसैले हामीले अनुसन्धानका लागि विकसित गरेका हाम्रा दक्ष संरचनाले अनुसन्धान र अभियोजनको दुवै प्रक्रिया अघि बढाउँछ, त्यसैलाई नै जिम्मेवारी दिनु उपयुक्त हुन्छ’, उनले भने । उपप्रधानमन्त्री श्रेष्ठले सुशासन र भ्रष्टाचार विरुद्धको अभियान अघि बढाउने प्रक्रियाले निरन्तरता पाइरहेका बेलामा प्रमुख प्रतिपक्षी दलबाट संसद् अवरोध हुनु दुःखद भएको उल्लेख गरे। उनले सरकारको अभियानमा सबै पक्षले साथ र सहयोग गर्नु आवश्यक रहेकामा जोड दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण सुरक्षा र व्यवस्थापनलाई समीक्षा गरेर नयाँ नीति तथा योजनाअनुसार अगाडि बढाइने उनले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान गठबन्धन सरकारलाई अझै व्यवस्थित गरेर निरन्तरता दिइने बताए । उनले भने, ‘सरकारले चालेको कदम कुनै पनि हालतमा विश्राम हुँदैन, गठबन्धनको सरकारलाई पनि अझ व्यवस्थित ढङ्गले अगाडि बढाउने, निरन्रता दिने र सरकारले अहिले चालेको सुशासनको अभियान जुन समृद्धिका आधारका लागि गरिरहेका छौँ, त्यसलाई पनि निरन्तरा दिने गरी अघि बढेका छौँ ।’ नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका उनले पार्टीले तय गरेको रुपान्तरण अभियानको तयारीका लागि हाल देशभर पार्टीका बैठक सञ्चालन भइरहेका जानकारी दिए ।

‘बालबालिकालाई सकेसम्म बाहिरको खाने कुरा खान नदिऔं’ : विनिता पन्त (पोषणविद्)

बालबालिकाको जीवन रक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण महत्वपूर्ण मानिन्छ । शरीरमा सन्तुलित आहारको मात्रा पुग्यो भने बालबालिका स्वस्थ रहन्छन् । राम्रो पोषण पाएका बालबालिकाहरू राम्रो सिक्न र हुर्कन सक्छन् र समुदायमा सहभागी हुन र योगदान दिन तथा रोग, विपत्ति र अन्य विश्वव्यापी संकटहरूसँग लड्न सक्छन् । तर, अहिलेपनि कर्णाली तथा सुदूरपश्चिमका बालबालिकाले उपयुक्त पोषण पाउन सकिरहेका छैनन् । यसले बालबालिकाको शारीरिक र मानसिक विकासलाई कमजोर बनाउँछ । प्रस्तुत छ, सन्दर्भमा केन्द्रित रहेर अल्का हस्पिटलमा कार्यरत पोषणविद् (डाइटेसियन) विनिता पन्तसँग गरेको कुराकानी । हाम्रो शरीरका लागि पोषण किन चाहिन्छ ? हाम्रो शरीरका लागि पोषण एकदमै आवश्यक छ । पौष्टिक तत्वको प्रयोग हुने प्रकृया भनेकै पोषण हो । शरीरमा बन्ने विभिन्न कम्पाउण्डहरु हेमोग्लोविन, रगत, चिल्लो पदार्थका लागि पोषण चाहिन्छ । हाम्रो शरीरमा पौष्टिक तत्वको उपयोग हुनुपर्ने हुन्छ । यदी शरीरमा पौष्टिक तत्वको प्रयोग भएन भने कुपोषण लागेको भन्ने गरिन्छ । शरीरलाई शक्ति प्रदान गर्न पोषणको भुमिका हुन्छ । शरीरका विभिन्न अगंलाई सरचारु गर्न पनि पोषण चाहिन्छ । पोषण भन्ने बित्तिकै सन्तुलीत खानाको राम्रो प्रवन्ध गरेको भनेर बुझिन्छ । शरीरका लागि कस्तो पौष्टिक आहारको आवश्यकता पर्छ ? हामीले सन्तुलित खानेकुरा खानुपर्छ । सन्तुलित आहार भन्ने बित्तिकै पाँच वटा खाद्य समूह भनेर बुझ्नुपर्छ । हामीले खाने अन्न समूह, दाल गेडागुडी समूह, फलफूल र तरकारी समूह, माछा मासु, दुध र अण्डा समूह र चिल्लो–गुलियो समूह । यी सबै खानेकुरा ठिक्क मात्रामा र शरीरको लागि आवश्यकता अनुसार (उचाई, तौल, उमेर, शारीरिक क्रियाकलाप) मिलाएर खायौँ भने शरीरमा प्रयोग हुने भयो । यी खानेकुराले न शरीरलाई दुब्लो हुन दिन्छ न त मोटो हुन दिन्छ । सन्तुलित खानेकुराको प्रवन्ध मिलाउनुलाई नै पोषण भन्छौं । शरीरमा पोषण कमी भएर कस्ता खालका बिरामीहरु आउने गर्दछन् ? नेपालको सन्दर्भमा स्वस्थ मान्छे अस्पतालमा आएर खानेकुराको परामर्श लिएको देखिँदैन । हामीकहाँ कस्तो अवस्थामा बिरामी आउनुहुन्छ भने बिग्रिसकेपछि, केही न केही नसर्ने रोगले छोइसकेपछि । धेरैजसो त मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्या, क्यान्सरको समस्या लगायत भइसकेपछि अस्पताल आउनुहुन्छ । आज भोलि अलिकति ट्रेण्ड बदलिएको छ, हामी कहाँँ मोटोपना समस्या भएकाहरु पनि आउनुहुन्छ । उहाँहरुको आवश्यकता अनुसार उहाँको रोग के हो ? उहाँले कस्तो खानेकुरा खाइरहनुभएको छ । उहाँको स्वास्थ्य चेकजाँचको रिपोर्ट के छ ? र, उहाँलाई के आवश्यकता पर्छ भनेर हामीले खानेकुराको परामर्श गर्छौं । जस्तैः काठमाडौंमा बस्नुहुन्छ वा गाउँमा गएर खेतिपाती गर्नुहुन्छ, के रोग छ ? त्यो अनुसार नै चाहिने आवश्यकता अनुसार पौष्टिक तत्व कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, विभिन्न भिटामिनहरु, खनिज पदार्थको मात्रा मिलाएर खानेकुरा दिएर पठाउँछौं । पोषणका कारणले कस्ताकस्ता रोगहरुले आक्रमण गर्छ ? अहिलेको अवस्था हेर्र्दा धेरै मानिसको जीवनशैली अस्तव्यस्त छ । सबै मानिसहरु व्यस्त हुनुहुन्छ । यो सँगसँगै मोटोपनको समस्या बढ्दो छ । मोटोपनको समस्याले गर्दा ल्याउने रोगहरु जस्तैः मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गाैलाको समस्याहरु यो चाहीँ हामी सँगसँगै आइरहेको हुन्छ । त्यसले गर्दापनि यो जोखिम बढीरहेको देखिन्छ । सामान्यतया न्युन पोषण भएर आउने एकदमै कम हुनुहुन्छ । कुपोषण भएका बालबालिकाहरु यहाँ आउने स्थिति पनि छैन होला । यहाँ त हामिकहाँ अधिक पोषण भएर आउनेहरुको संख्या धेरै छ । बच्चाबाट नै उच्च कोलेस्ट्रोल भएकाहरु आउने गरेका छन् । यस्तै, हामी कहाँ उच्च रक्तचाप, मधुमेह देखिएर आएकाहरु आउनुहुन्छ । कस्तो खाना खानुपर्छ ? बालबालिकाहरुलाई सकेसम्म बाहिरको खाने कुरा खान नदिऔं । जस्तोः जंकफुड, चाउचाउ, केक बाहिरको खानेकुरा सकेसम्म खान नदिऔँ । बिहानदेखि साँझको खानेकुरा घरमै बनाएको, घरमै पकाएको हुनुपर्छ । घरमा पाँच वटा खाद्य समूह खान आवश्यक छ । अन्न भनेर भन्दाखेरी बाहिरको चाउचाउ, ब्रेड, पप होइनकी घरमै बनाएको रोटी होला, चिउरा होला, पपकर्न होला, मकै होला बरु त्यसैलार्ई पकौडी बनाइदिनुहोस्, घरमै बनाइदिनुहोस्, स्वच्छ तेलमा बनाइदिनुहोस् । बच्चालाई खानेकुरा चिल्लो खानै दिन नहुने, तारेको खानै दिन नहुने होइन तर, घरमा बनाएको खानेकुरा बिहानदेखि साँझसम्म दैनिक रुपमा दिन सकियो भने बच्चा पक्कैपनि सुपोषित हुनसक्छ । खानेकुरा चाहीँ एकदमै धेरै खाने र अर्को कुरा बच्चाहरुको खेल्ने माहोल छैन, हाम्रो शारीरिक क्रियाकलाप नै एकदमै न्युन छ । त्यसले गर्दा घरकै खानेकुुरा खुवाए पनि ओभर इटिङ (धेरै खाना) छ भने त्यो पनि अर्को समस्या देखिएको छ । त्यसैगरी बच्चैदेखि आमाहरुले यति धेरै खुवाउनुहुुन्छ की दिनमा चाहिने भन्दा नचाहिने पौष्टिक तत्व खुवाउनुभएको हुन्छ । इनर्जी, प्रोटिनहरु चाहिने भन्दा एकदमै धेरै खुवाउनुभएको हुन्छ । त्यसकारणले गर्दा सानै उमेरबाट मोटोपनको समस्या बढ्दै आएको छ । अहिले म कहाँ आइपुुग्नुहुने प्रत्येक आमाहरुलाई मैले के सोध्ने गर्छु भने बच्चा जन्मदा कति तौलको थियो ? कति खुवाउनु हुन्थ्यो ? बेष्ट फ्रेडिङ खुवाउनुभएको हो वा फर्मुला मिल्क ? घरको खानेकुरा खुवाउनुभएको हो की बजारबाट किनेको ? त्यो बाटनै शुरु गरेर मैले काउन्सिलिङ गर्ने गर्छु । मोटोपनको समस्या फर्मुला मिल्क (दुध) बढी खुवाएको बालबालिकामा देखिएको छ । कुपोषणका कारण ख्याउटेपना, पुड्कोपनाको समस्या देखिएको छ, रोकथामका लागि के गर्नुपर्ला ? पुड्कोपनाको समस्या भनेको आमाको समस्याबाट नै जाने गर्छ । आमा, बुवामा पुड्कोपना छ भने उहाँबाट जन्मिने बच्चामा पनि पुड्कोपनाको समस्या देखिन सक्छ । त्यसका लागि मातृपोषण कार्यक्रम आवश्यक हुन्छ । त्यो सँगसँगै बच्चा आमाको गर्भावस्थामा रहँदा आमाले खानेकुरा कति सुुरक्षित छन् ? कति पौष्टिक तत्व पुगेको छ ? त्यसलार्ई एकदमै ध्यान दिनुपर्ने हुन्छ । बच्चा जन्मिसकेपछि खुवाउने खानेकुरा कस्तो छ ? आमाले सुत्केरी अवस्थामा कति खानेकुरा पाउनुभएको छ ? त्यो कुरालाई सरकारलेपनि ध्यान दिनुपर्ने हुन्छ । र, घरको परिवार वा सम्बन्धित स्थानीय तहको जनप्रतिनिधिले पनि कसरी व्यवस्थापन गरिरहेको छ ? त्यसमा पनि भर पर्ने कुरा हो । सुरक्षित खानेकुराको पनि आवश्यक हुन्छ । आमामा पोषणको अभाव भयो भने कम तौलको बच्चा जन्मिने सम्भावना हुन्छ । समय नपुगि बच्चा जन्मिदा बच्चाको तौल, उचाई पुगेको हुँदैन । यसले गर्दा कुपोषण निम्त्याउँछ । कुपोषण सँगसँगै विभिन्न संक्रामक रोगहरु लाग्नसक्छ । र, यसले गर्दाखेरी बच्चालाई मृत्युको मुखसम्म पु¥याउन सक्ने सम्भावना हुन्छ । विद्यालय तहमा पोषण शिक्षाको आवश्यकता देखिन्छ । किन भने विद्यार्थीले शिक्षा पाए भने घरमा गएर अभिभावकलाई जानकारी गराउनुहुन्छ । खाद्यान्नको अभाव भएको ठाउँमा सरकारले खाद्य सुरक्षाका कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ ।

समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने कांग्रेसको लक्ष्य हो : प्रवक्ता डा. महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले कांग्रेसको लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने भएको बताएका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३(२) को प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै डा. महतले भने, ‘विचार र सिद्धान्तका हिसाबले हामी ठीक ठाउँमा छौं । हाम्रो लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने हो, प्रवक्ता डा. महतले भने, ‘समृद्धि केही व्यक्तिमा सीमित हुनु भएन । समृद्धि हासिल गर्न पार्टी बलियो बनाउनुपर्छ । हामी पार्टी बलियो हुने मिसनमा लागौं । हरेक दिन हामी काम गरौं र त्यो कामको प्रचार पनि गरौं ।’ डा. महतले संगठनमा एक व्यक्तिलाई अपरिहार्य बनाउन नहुने तर्क गरेका छन् । उनले भने, ‘यो व्यवस्थापनको सिद्धान्त हो । यो नभई केही हुँदैन भनियो भने त्यो संगठनको असफलता हो ।’ ‘कोही व्यक्ति छैन भने अर्को आउँछ, पार्टी अविछिन्न अघि बढ्छ । पार्टी बलियो हुन्छ, संगठन निरन्तर अघि बढ्छ भन्ने सिद्धान्तमा पार्टी चल्नुपर्छ’ प्रवक्ता डा. महतले भने, ‘त्यसकारण हामीले हाम्रो सम्पूर्ण शक्तिलाई जोड्नुपर्छ । सोच्ने, बोल्ने, लेख्ने, बाटो देखाउने सबैलाई एक ठाउँमा जोडनुपर्छ । यी सबै जोड्यो भने पार्टी बलियो हुन्छ, मिसन सफल हुन्छ ।’ ‘एक्लैले केही हुनेवाला छैन, हामी सबैमा भएको क्षमता र गुणलाई जोडौं भने मात्र कायापलट हुन्छ । कसैको बोल्ने क्षमता होला, कसैको संगठन गर्ने क्षमता होला, कसैको नबोली राजनीति कता जाँदैछ भनेर विश्लेषणसहित निर्णय गर्ने क्षमता होला’ प्रवक्ता डा. महतले भने, ‘कोही पनि सर्वगुण सम्पन्न हुँदैन । हनुमानले पहाड उचालेजस्तो कांग्रेसमा एक्लै पार्टी उचाल्ने मान्छे कोही छैन । सबैको बल र बुद्धि उपयोग गरियो भने मात्र पहाड उचाल्न सक्छौं ।’ ‘सामाजिक सञ्जालको अवसर र चुनौतिको बीचमा जनतामाँझ सही कुरा सुसूचित गर्ने अधिकार र त्यसका आधारमा दृष्टिकोण बनाउने अधिकारलाई कसरी सुनिश्चित गर्ने चुनौतिका बीचमा हामी छौं । नयाँ पार्टीले आधा मिनेटको टिकटकमा समाजसेवा गर्छन्, अस्पतालमा पुर्याउँछन्’ उनले भने, ‘कार्यालयमा काहिँ सहयोग गरेको देखाउँछन् । यो दृश्य पटक पटक देखिन्छ । खोल्यो कि त्यही देखिन्छ । गज्जब गरेछन् भनेर हाम्रो ब्रेन वास हुन थाल्छ ।’ यथार्थमा कांग्रेस कार्यकर्ताले त्योभन्दा बढी यो समाजमा सहयोग गरिरहेका बताउनु हुँदै डा. महतले भने, ‘यी कुरा भिडियो खिचेर देखाउनुपर्छ भनेर हामीले सोचेनौं । यस्ता काम हामी सधैं गरिरहेका हुन्छौं, देशैभरि हाम्रा साथीहरुले गरिरहेका हुन्छन्, तर कांग्रेसले देखाउनका लागि गरेका छैनन् । देखाउने हाम्रो लक्ष्य होइन, हाम्रो लक्ष्य काम गर्ने हो ।’ कांग्रेस र अन्य दलको फरक देखाउँदै प्रवक्ता डा. महतले भने, ‘यो फरक हामीले जनतालाई बुझाउनुपर्छ । अब हामीले सूचना प्रविधिको पनि उपयोग गर्नुपर्छ । गरेको काम अब कांग्रेसले पनि देखाउनुपर्छ । यदि यो काम गरेनौं भने बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्ने भनाइ पुष्टि हुन्छ ।’ म चाहिँ ठूलो, राम्रो र योग्य, म भए पार्टीको कायापलटै गर्दिन्थे, अरु भएर बिग्रेको हो भनेर हामी सामाजिक सञ्जालमा बढी समय खर्चिन्छौं । यसको सट्टा हामीले पार्टीको इतिहास, सिद्धान्त, गरेका काम, गरिरहेका काम र गर्ने कामका बारेमा सामाजिक सञ्जालमा समय खर्चिऔं भने मात्र हाम्रो मिसन सफल हुने उनले बताए ।

उमेरले छेकेन प्रेमकुमारीको पढ्ने रहरलाई

बाँके । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा हजुरआमा उमेरकी ६१ वर्षीया प्रेमकुमारी गिरीले ध्यान दिएर पढ्छिन् । बाँकेको कोहलपुर नगरपालिका–११ बगियामा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत गिरी कक्षा कोठाको अघिल्लो लाइनमा बस्छिन् । कक्षामा नियमित उपस्थित हुने उनको अरू विद्यार्थीसरह पढाइमै ध्यान केन्द्रित हुन्छ । ज्ञानज्योति माविको कक्षा ६ मा दिनहुँ देखिने यो दृश्यले हिजोआज धेरैलाई आश्चर्यचकित बनाएको छ । यसले सबैलाई खुसी पनि तुल्याएको छ । कोहलपुर–५ एनसिसिएन टोल निवासी गिरी इच्छाशक्ति भए पढाइलाई उमेरले छेक्न नसक्ने गतिलो उदाहरण बनेकी छन् । ‘हरेक व्यक्तिले शिक्षा अनिवार्य लिनुपर्छ पढाइभन्दा ठूलो चीज जीवनमा अरू केही छैन्’, उनी भन्छन्, ‘नातिनातिनासँग पढ्न पाउँदा र छोराहरुले मलाई सिकाउँदा निकै खुसी लागिरहेको छ ।’ प्रेमकुमारीले आफ्ना छ सन्तान हुर्काइसकेकी छन् । उनका छोराछोरी आ–आफ्नो व्यापार व्यवसायमा सक्रिय छन् । कान्छी छोरी उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलियामा छन् । पढ्ने इच्छा हुँदाहुँदै पनि विगतमा घरपरिवार र छोराछोरी हुर्काउँदा विद्यालय जान नपाएको उनको भनाइ छ । अहिले घरपरिवारमा फुर्सद मिलेपछि विद्यालय भर्ना भएर पढाइ सुरु गरेको प्रेमकुमारीले बताइन्। ‘मैले सानोमा पढ्न पाइनँ, घरकै काममा व्यस्त हुनुपर्यो, उनले भनिन्, ‘बाल्यकालमा पढ्न नपाए पनि विद्यालय जाने ठूलो धोको थियो, त्यही धोको पूरा गर्न अहिले पढ्न थालेकी छु ।’ नातिनातिना उमेरका सहपाठीसँग पढ्दा रमाइलो हुने गरेको उल्लेख गर्दै उनले भनिन्, ‘बिहान खाना खाएर विद्यालय आएपछि कक्षामा पढ्दा समय बितेको थाहा हुँदैन, बालबच्चासँग रमाइलो गरी पढ्ने गरेकी छु ।’ आफ्नो वडाको विद्यालय घरबाट टाढा पर्ने भएका कारण ११ नं वडामा रहेको विद्यालयमा भर्ना भएको उनको भनाइ छ । ज्ञानज्योति माविको कक्षा ६ मा ७७ विद्यार्थी छन् । विद्यालयमा नियमित रुपमा उपस्थित हुने प्रेमकुमारीको कक्षा कोठा सिकाइस्तर सामान्य रहेको विद्यालयका प्रधानाध्यापक गोविन्द ढकालले बताए। ‘कहिलेकाहीँ बिरामी हुँदा आउनुहुन्न, अरू बेला कक्षामा उहाँ नियमित रुपमा उपस्थित हुनुहुन्छ’, प्रधानाध्यापक ढकालले भने, ‘लामो समयसम्मको पढाइ छुटेकाले सिकाइस्तर भने सामान्य रहेको छ ।’ मलाई पढ्ने रहर लाग्यो, विद्यालयमा भर्ना गरिदिनूस् भनेपछि कक्षा ६ मा प्रेमकुमारीलाई भर्ना गरिदिएको प्रधानाध्यापक ढकालले जानकारी दिए । पाँच सय ६८ विद्यार्थी रहेको सो विद्यालयमा कक्षा ६ मा अन्य दुई विद्यार्थी पनि ३० वर्ष माथिको उमेर समूहका रहेको प्रधानाध्यापक ढकालले बताए। विद्यालयले आयोजना गरेको विद्यार्थीसँग मेयर कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले बिहीवार ६१ वर्षीय विद्यार्थी प्रेमकुमारी गिरीलाई सम्मान गरेका थिए । उनले इच्छा शक्ति भए जुनसुकै उमेरमा पनि पढाइ गर्न सकिने कुरालाई प्रेमकुमारीले पुष्टि गरेको भन्दै खुसी व्यक्त गरे। प्रेमकुमारीले पढ्ने गरेको सकारात्मक कार्यको अन्य दिदीबहिनी तथा आमाहरुले पनि देखासिकी गरी अध्ययन कार्य गर्न लाज नमान्न नगरप्रमुख आचार्यले आग्रह गरे ।