विकासन्युज

भोलि सुदूरपश्चिममा सार्वजनिक बिदा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले भोलि शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारले ओल्के पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको जनाएको छ । भदौ १ गतेका दिन सुदूरपश्चिम प्रदेशमा ओल्के पर्व मनाइँदै आएको छ । साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुशियालीमा सुदूरपश्चिमका पही जिल्लामा ओल्के पर्व मनाउने चलन छ । ओल्को भन्नाले ‘उपहार’ वा ‘कोसेली’ भन्ने बुझिन्छ । आफूभन्दा ठूलाबडा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठोरमसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो । गाउँका मुखिया तथा मान्यजनको घरमा हरियो सागपात दिएर वर्षायाममा दैवी प्रकोपबाट बाँचिएको खुशीयालीमा सद्भाव बाँड्ने गरिन्छ ।

सेवा प्रवाहमा सबै तहका कर्मचारीको समान दायित्व हुन्छ : मन्त्री शर्मा

प्युठान । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सबै तहका कर्मचारीले राज्य सञ्चालनमा समान दायित्व महसुस गरेर सेवा प्रवाहका काम गर्नुपर्ने बताएकी छिन् । सरकारले सुशासनलाई प्राथमिकतामा राखेको र सुशासन सेवा प्रवाहबाट नै संभव हुने भएकाले सबै तहका कर्मचारीले समान दायित्वका साथ काम गर्नुपर्ने उनले बताए । प्युठानको सदरमुकाम खलंगामा आयोजित सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरुसँगको भेटघाटमा उनले सुशासनको सवाल एउटा निकायले मात्र गरेर नहुने बताइन् । ‘सुशासन प्रधानमनन्त्री र मुख्यसचिवले कायम गरेर मात्र हुने होइन । मन्त्री र मन्त्रालयका सचिवहरुले मात्र गरेर हुने विषय पनि होइन’, उनले भनिन् । सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले भनिन्– ‘ती निकायले निर्देशित गर्ने पक्कै हो तर जिल्ला र तलतलसम्म रहेका कार्यान्वायन इकाईले राम्रो काम गरे मात्रै सुशासन संभव हुने हो ।’ आम सेवाग्राही माथिल्लो तहका पदाधिकारी र कर्मचारीसँग सम्पर्क नहुने भएकाले पनि सबैभन्दा तल्लो तहमा रहेका कर्मचारीले जति राम्रो सेवा प्रवाह गर्छन्, जनताले त्यति नै राम्रो सेवा प्राप्त गर्ने र सुशासन कायम हुने पनि उनले स्पष्ट गरिन् । ‘तपाइँ राम्रोसँग सेवाग्राहीसँग बोलिदिनुभयो भने मात्रै पनि सेवा प्रवाह प्रभावकारी भएको मानिन्छ’– उनले कर्मचारीलाई सम्बोधन गर्दै भनिन्– ‘जनताको कामसँग प्रत्यक्ष जोडिने कार्यालयमा सुब्बा, खरिदार, अस्पतालका नर्स आदिले गर्ने काममार्फत सरकारको व्यवहार प्रस्तुत हुने गर्दछ । त्यसैले जनतासँग जोडिएर काम गर्ने कर्मचारीहरुको सेवा प्रवाह र बोलीव्यवहार राम्रो बनाउनुहोला ।’ पिँधमा बसेर काम गर्ने कर्मचारीबाट नै सरकारको सफलता असफलता निर्धारण हुने भएकाले सरकारले पनि तल्लो तहका बसेर काम गर्ने कर्मचारीहरुको उच्च मूल्यांकन गर्ने नीति लिएको उनले बताइन् । केही दिनअघि भएको नेपाल सरकारको बार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत प्रधानमन्त्रीको सम्बोधनलाई मार्गदर्शनको रुपमा लिएर सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानलाई सहयोग पुुग्ने गरी हरेक निकायले कार्ययोजना बनाउनुपर्ने पनि मन्त्री शर्माले स्पष्ट गरिन् । उनले राजनीतिक र प्रशासनिक नेतृत्वबिचमा राम्रो बुुझाइ र समझदारी आवश्यक रहेको पनि बताइन् । नेपालमा सरकारले धेरै गर्न खोजे पनि राजनीतिक र प्रशासनिक नेतृत्वबिच पूर्ण समझदारी नहुँदा अपेक्षित नतिजा प्राप्त नहुने उल्लेख गर्दै उनलाई यो असझदारी हटाउनैपर्ने बताइन् । ‘त्यसका लागि हामीले केन्द्रमा प्रधानमन्त्री, मन्त्रीदेखि मुख्य सचिव सचिवहरुसम्म दोहोरो संवाद गर्ने सोंच बनाएका छौं, सरकार सञ्चालनका सवालमा हामीबाट कमजोरी भएका छन् भने पनि प्रशासनिक नेतृत्वले भनिदिनुपर्छ र प्रशासनिक नेतृत्वबाट हुने कमजोरी पनि राजनीतिक नेतृत्वले सच्याएर लैजानुपर्छ भन्ने लागेको छ’, मन्त्री शर्माले भनिन् । यसैबीच मन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको बर्तमान सरकार सुशासन र भ्रष्टाचारविरुद्ध प्रतिबद्ध रहेको उल्लेख गर्दै घरभित्रकै मान्छे भए पनि नछाडिने बताइन् छ । नेपाल पत्रकार महासंघ प्युठान शाखाले गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकार सुरुदेखि नै बिकृती, बिसंगती अन्त्य र सुशासन कायम गर्दै भ्रष्टाचार अन्त्यका लागि निर्ममढङ्गले अगाडि बढेको बताइन् । प्रधानमन्त्री ‘प्रचण्ड’ले भ्रष्टाचारमा मै परेपनी मेरो घरकै मान्छे संलग्न भएपनि नछाड्ने बताएको जानकारी दिँदै मन्त्री शर्माले सुन तस्करी, ललिता निवास, भुटानी शरणनार्थीलगायत सबै प्रकरणलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताइन् । उनले भनिन्– ‘सरकारले भष्ट्राचारसँग जोडिएका सबै प्रकरणको मिहिनढंगले अनुसन्धान गरिरहेको छ, छिट्टै निष्कर्षमा पुग्छौं ।’ शुसासन कायम गर्न र सेवा प्रवाहलाई चुस्त बनाउने कुरामा सरकारले प्राथमिक्ताका साथ काम गरिरहेको मन्त्री शर्माले सुनाइन् । उनले गल्ती गर्ने जोसुकैलाई पनि कानुनी कारबाही हुन्छ भन्ने सन्देश दिन सरकार सफल भएको स्पष्ट गर्दै भनिन्– ‘सरकारले कानुन सबैका लागी बराबर हुन्छ भन्ने सन्देश दिएको छ।’ संविधान र कानुनको मातहतमा सबै रहेकोले गल्ती गर्ने जो सुकैलाई पनि नछोड्ने गरी सरकारले स्पष्ट रुपमा काम गरिरहेको उनले बताइन् ।

पानीको जार र बोतलमा तोकेभन्दा बढी मूल्य नलिन आग्रह

काठमाडौं । नेपाल बोटल वाटर उद्योग सङ्घले खानेपानीको जार र बोतलमा सरकारले तोकेको भन्दा बढी शुल्क नलिन आग्रह गरेको छ । सङ्घले आज पत्रकार सम्मेलन गरी पानीमा सरकारले तोकेभन्दा बढी मूल्य लिएको गुनासो आएको जनाउँदै बढी शुल्क नलिन व्यवसायीको ध्यानाकर्षण गरेको हो । सङ्घका अध्यक्ष धुव्र गौतमले विचौलियाका कारण आम उपभोक्तालाई पानीको मूल्य सरकारले तोकेभन्दा बढी परेको जनाउँदै सङ्घले बजार अनुगमलाई तीव्रता पार्न खोजेको बताए । ‘उपत्यकाभित्र जारको पानीमा बढीमा ४५ देखि ४७ रुपैँयासम्म र बोतलको पानीमा प्रतिबोतल १६ रुपैँयासम्म र उपत्यका बाहिर जारको पानीमा ६० रुपैँयासम्म र बोतलको पानीमा प्रतिवोतल २० रुपैँयासम्म पर्छ, त्यसभन्दा बढी मूल्यमा बेच्ने व्यापारीलाई कारबाही हुन्छ,’ उनले भने । सङ्घले पानीको बजार अनुगमन गर्नका लागि सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विक्रम लिम्बू चेम्जोङको संयोजकत्वमा बजार अनुगमन समिति बनाएर बजार अनुगमनको कार्यलाई अगाडि बढाइसकेको छ । उक्त समितिले बजारमा रहेका थोत्रा जार, अधिकतम मूल्य, बिक्रेताको गुणस्तर परीक्षणको प्रमाणपत्र राखे नराखेको, ट्रेडमार्क मिस्युज, उत्पादन मिति र उपभोग्य मितिलगायतका विषयमा अनुगमन गर्नेछ । यसअघि उक्त समितिले ५० भन्दा बढी उद्योगी तथा बिक्रेतालाई कारबाही गरिसकेको छ । वरिष्ठ उपाध्यक्ष चेम्जोङले पानीको गुणस्तर हेरेर उपभोग गर्न आम उपभोक्तालाई आग्रहसमेत गरेका छन् । सङ्घका सल्लाहकार गोकर्ण सिलवालले सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले गरेको निर्णयका आधारमा पानीको मूल्य समायोजन भएको भन्दै समायोजन गरेकै मूल्यमा पानी खरिद गर्न आम उपभोक्तालाई आग्रह गरेका छन् । ‘उपभोक्तालाई ठगी गर्ने व्यवसायीलाई कारबाही गछौँ,’ उनले भने । हाल काठमाडौँ उपत्यकाभित्रमा मात्र दैनिक दुई लाख ५० हजार जार खपत हुँदै आएको छ । नेपालबाट आर्थिक वर्ष २०७९÷८० मा मात्र ६० करोड रुपैयाँमूल्य बराबरको पानी विदेश निर्यात भएको सङ्घले जनाएको छ । हाल काठमाडौँ उपत्यकाभित्र झण्डै २०० र देशभर ५०० भन्दा बढी पानी उद्योग रहेका छन् ।

सेयर बजारमा झिनो सुधार, काराेबार रकम घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजारमा सामान्य सुधार देखिएको छ । बिहीबारको कारोबारमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । पछिल्ला तीन दिन सेयर बजार राताम्मे भएको थियो । बिहीबार भने नेप्से परिसूचक ८.०१ अंक बढेर २०३३.१३ विन्दुमा पुगेको छ । बिहीबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने सामान्य घटेको छ । अघिल्लो दिन एक अर्ब ६७ करोडको शेयर खरिद बिक्री भएको बजारमा बिहीबार २७१ स्टकको ४३ हजार ५९१ पटकको कारोबारमा एक अर्ब ५४ करोड १३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । बिहीबारको सेयर बजारमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाई सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसैगरी, कारोबारमा आएको लिबर्टी इक्विटी फण्डको इकाई मूल्य सर्वाधिक ७.४३ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ । सो कम्पनीको यस दिन साढे १३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । यस दिन आइएमई लाइफ इन्स्योरेन्सको करिब ८ करोडको शेयर खरिदबिक्री भएको छ भने घोराही सिमेन्टको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ । सेयर बजारका १३ उपसमूहमध्ये बिहीबार एक उपसमूहको परिसूचक घटेको छ भने बाँकी १२ उपसमूहको परिसूचक बढेको छ ।

बाजुरामा ‘स्क्रब टाइफस’का बिरामी बढ्दै

बाजुरा । वर्षायाम सुरु भएसँगै जिल्ला अस्पताल बाजुरामा स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । मौसममा आएको परिवर्तनका कारण बिरामीको सङ्ख्या बढ्न थालेको अस्पताल स्रोतले जनाएको छ । उपचारका लागि आउने बिरामीको सङ्ख्या केही दिनयता बढेको अस्पतालका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए । उनका अनुसार पछिल्लो समयमा स्क्रब टाइफस, मलेरिया, डेङ्गु झाडापखाला, आँखा पाक्नेलगायत समस्या लिएर बिरामी उपचारमा आउने गरेका छन् । पछिल्लो एक महिनाको अवधिमा नौ जना स्क्रब टाइफसका बिरामी उपचाररत रहेका सूचना अधिकारी गिरीले जानकारी दिए । उनका अनुसार जिल्लामा नौ स्क्रब टाइफस, एक मलेरिया र दुई डेङ्गु सङ्क्रमित बिरामी फेला परेका छन् । “स्क्रब टाइफस एक सरुवा रोग हो । यो जुम्राजस्तै एक प्रजातिले टोकेपछि लाग्ने गर्छ । यो रोग लागेका बिरामीलाई ज्वरो आउने, ढाड दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्नेलगायतका लक्षण देखिन्छ”, अस्पतालका निमित्त कार्यालय प्रमुख डा .मिलन जोशीले भने । उनले मलेरिया र डेङ्गु लामखुट्टेको टोकाइबाट सर्ने भएकाले गर्मीयामका घरआँगन अगाडि फोहर नगर्ने, पानी जम्ने खाल्डाखुल्डी भए त्यसलाई सफा गर्ने र पानी जम्न नदिने, लामो लुगा लगाउने, राति सुत्दा झुल लगाएर मात्रै सुत्नेलगायत सावधानी अपनाउनुपर्ने बताए । त्यस्तै स्क्रब टाइफसबाट बच्न विशेषगरी मुसाको नियन्त्रण गर्ने, झारमा काम गर्दा सावधानी अपनाउनुपर्ने डा. जोशीको भनाइ थियो । सबैले सरसफाइमा विशेष ध्यान दिनुपर्ने भन्दै उनले जिल्लामा अहिले आत्तिनुपर्ने अवस्था भने नआएको बताए । जिल्लामा मार्तडी र कोल्टीमा डेङ्गुको सङ्क्रमण फैलिनसक्ने भएकाले त्यस क्षेत्रका बासिन्दाले विशेष सावधानी अपनाउनुपर्नेमा डा. जोशीले जोड दिए । सदरमुकाम क्षेत्र भएकाले यहाँ धेरै भीडभाड हुनुका साथै बजारबाट आउने ढलको उचित व्यवस्थापन नहुँदा लामखुट्टेको खतरा बढी रहेको उनको भनाइ थियो । डेङ्गुको सङ्क्रमण भएमा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, थकान महसुस हुने, गिँजाबाट रगत बग्ने, पेट दुख्ने, बारम्बार बान्ता हुने, श्वास फेर्न गाह्रो हुने, पेट तथा खुट्टा सुनिनेलगायत लक्षण देखापर्ने स्वास्थ्यकर्मीको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराले भने डेङ्गु, मलेरिया, स्क्रब टाइफसको अहिलेसम्म कुनै रिपोर्ट नआएको जनाएको छ । रासस

बन्दीपुर केबलकार असोजदेखि सञ्चालन गरिने

तनहुँ । बन्दीपुर केबलकार एण्ड टुरिजमले निर्माण गरेको केबलकार सम्पन्न भएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकसम्मको एक हजार सात सय मिटर दूरीमा केबलकार निर्माण गरेको हो । एशियाकै ठूलो भनिएको यहाँको सिद्धगुफा र हरियाली डाँडाको मनोरमदृश्य अवलोकन गर्दै उक्त केबलकारबाट यात्रा गर्न सकिनेछ । केबलकारको अहिले पुनःपरीक्षणको काम भइरहेको बन्दीपुर केबलकार एण्ड टुरिजमका निर्देशक तथा इञ्जिनियर हरिदत्त पौडेलले जानकारी दिए । केबलकारमा एक्काइस डिब्बा यात्रु बोक्ने, छ डिब्बा रेष्ट्रो क्याबिन र दुई एड्भेन्चर गरी २९ वटा डिब्बा हुनेछन् । एक डिब्बामा आठ जनासम्म यात्रु बस्नसक्ने क्षमताको छ । एड्भेञ्चर डिब्बा भने अन्य डिब्बाको तुलनामा फरक किसिमको (सिसैसिसाको र आधुनिक किसिमबाट निर्माण गरिएको) हुने उनले बताए। ‘केबलकार भित्रै सुत्न र खान पाइने व्यवस्थासहित रेष्ट्रो क्याबिनसमेत सञ्चालन गर्ने योजना रहेको छ’, निर्देशक पौडेलले भने । पृथ्वीराजमार्गमा रहेको बटम स्टेशनबाट माथि बन्दीपुर बजारमा कलेज पढ्न जाने र आउने विद्यार्थीलाई  ५०, पत्रकारलाई तीन सय ५०, अन्य यात्रुका लागि पाँच सय रूपैयाँ, रेष्ट्रो क्याबिनको  २५ हजार पर्नेछ भने ६५ वर्ष माथिका नागरिकलाई भने टिकटमा सहुलियत दिइने कम्पनीले जनाएको छ । केबलकार र पाँचतारे होटल गरी कूल  तीन अर्ब ५८ करोडको लागतमा निर्माण गर्न लागिएको हो । बन्दीपुर आउने पर्यटकले केबलकारमा सुतेरै रमणीय प्राकृतिकस्थल अवलोकन गर्दै भरपुर मनोरञ्जन लिन सक्नेछन् । मिति नतोकिए पनि दसैँ अगाडिदेखि केबलकार सञ्चालनमा ल्याउने योजना भइरहेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । केबलकारमा अबको करिब डेढ महिना सुरक्षाको हिसाबले पटकपटक परीक्षणका काम भइरहेको र अब असोजदेखि व्यावसायिकरुपमा सञ्चालनमा ल्याइने उनले बताए । ‘क्वीन टावर’ नाम दिइएको सत्र तल्लाको पाँचतारे होटलबाट बन्दीपुर उपत्यकासहित विभिन्न जिल्लाका डाँडाकाँडा र फाँट सजिलै देख्न सकिनेछ । उक्त होटलको ९२ प्रतिशत काम सम्पन्न भइसकेको छ । रङरोगन र फिनिसिङलगायत करिब आठ प्रतिशत कार्य गर्न बाँकी रहेको अध्यक्ष शर्माले बताए । नब्बे कोठा रहेको हिलटपमा ७८ वटा कोठा प्रयोगमा ल्याइनेछ । सेमिनारलगायत अन्य कामका लागि एक हजार क्षमताको ठूलो कक्षसमेत निर्माण गरिएको छ । होटलको सुरुको तलाबाट सत्र तलासम्म क्याप्सुल लिफ्टबाट सिधै ‘क्वीन टावर’ सम्म जान सकिने व्यवस्था मिलाइएको छ । त्यसैगरी केबलकारको प्रवेशद्वारमा  २६ करोडको लागतमा अर्को सुविधा सम्पन्न आधुनिक होटल निर्माण भइरहेको छ । उक्त होटल पनि छिट्टै सञ्चालनमा ल्याउने गरी निर्माण काम भइरहेको सो कम्पनीले जनाएको छ । बन्दीपुरमा घुम्न आउने पर्यटकलाई नयाँपन र भरपुर मनोरञ्जन प्रदान गर्नु कम्पनीको मुख्य लक्ष्य रहने उनले जानकारी दिए । केबलकारमा यात्रुको आवतजावतको समयपश्चात् साँझपख केबुलकारभित्र रेष्टुरेन्ट सञ्चालन गरी खाना र सुत्न मिल्ने सुविधा प्रदान गरिनेछ । प्रत्येक दिन साँझ ५ बजेपछि केबलकारमा सो सुविधा प्रदान गरिने योजना रहेको अध्यक्ष शर्माले बताए । केबलकारभित्र रेष्ट्रोको सुविधामा प्रत्येक दिन आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको खाली समय साँझ ५ बजेदेखि ९ बजेसम्म उक्त सेवा दिइनेछ । तल्लो र माथिल्लो स्टेशनमा रेष्टुरेन्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा पर्यटकलाई सेवा दिइनेछ । उनले भने, ‘कम्पनीले शाकाहारी, मांशाहारीलगायत खानेकुरासँगै पेयपदार्थसमेत उपलब्ध गराउनेछ ।’ बन्दीपुरमा ठूलो सङ्ख्यामा आउने पर्यटकलाई लक्ष्य गर्दै केबलकार, रेष्ट्रोकार र तारेस्तरसम्मका होटल निर्माण गरिएको छ । पृथ्वीराजमार्गमा रहेको बटम स्टेशनबाट बन्दीपुरमा निर्माण गरिएको सत्रतले होटलभित्रै केबलकार पुगेर टुङ्गिनेछ । बटम स्टेशन (तल) हाइवेसँग जोडिएको छ, जहाँबाट सिधै माथि बन्दीपुरस्थित होटलभित्र पुग्न सकिनेछ । बटम स्टेशनको भवन अन्य केबलकारको भन्दा फरक किसिमको टर्मिनल भवन रहेको छ, सोही भवनमा भिआइपी लन्च, ओपन रेष्टुरेन्ट (टुरिष्ट कोच), अतिथि स्वागतलगायत कार्य एउटै भवनबाट हुनेछ । रासस

नेपालबाट बङ्गलादेश विद्युत निर्यातको प्रारम्भिक सहमति, अहिलेलाई ४० मेगावाट विद्युत लैजाने

काठमाडौँ । नेपालको बिजुली बङ्गलादेश निर्यातका लागि बहुपक्षीय सहमति भएको छ । नेपाल, भारत र बङ्गलादेशबीच बिजुली निर्यातका लागि सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ । प्रारम्भिक चरणमा बङ्गलादेशले नेपालबाट ४० मेगावाट बराबरको बिजुली लैजाने भएको छ । नेपाल विद्युत् प्राधिकरणले भारतीय नोडल एजेन्सी एनभीभिएन बङ्गलादेश निर्यातका लागि सहमति गरिसकेको छ । सोही संस्थामार्फत नेपालको बिजुली बङ्गलादेश पुग्नेछ । बिजुली निर्यातका लागि आवश्यक सहमति भएको र केही विषय बाँकी रहेपनि त्यसलाई छिट्टै टुङ्गोमा पुर्‍याइने प्राधिकरणका विद्युत व्यापार विभागका निर्देशक प्रबल अधिकारीले जानकारी दिए । इमेल आदानप्रदान गरेर एकापसमा सहमति जनाइएको र त्यसलाई भौतिक उपस्थितिमा नै दुई देशका अधिकारीले हस्ताक्षर गर्ने सहमति भएको उनले बताए । कुन आयोजनाको बिजुली बङ्गलादेश पठाउने, प्रतियुनिट कति मूल्य लिने र प्रसारण शुल्कबापत भारतीय कम्पनीलाई के कति भुक्तानी गर्ने भन्ने विषयमा सहमति हुनबाँकी रहेको उनले बताए। स्वतन्त्र ऊर्जा उतपादकको संस्था नेपाल (इपान)का अध्यक्ष गणेश कार्कीका अनुसार तत्कालका लागि कति मात्रामा बङ्गलादेश बिजुली पठाउन लागियो भन्ने भन्दा पनि बाटो खुल्यो भन्ने विषय महत्वपूर्ण हो । यसले नेपालको बिजुली तेस्रो देश पनि निर्यात हुन थाल्यो भन्ने सन्देश प्रवाह हुने र लगानी भित्र्याउन सहज हुने उनको भनाइ छ । अध्यक्ष कार्कीले निजी क्षेत्रलाई पनि बिजुली निर्यातका लागि अनुमति दिन आग्रह गरेका छन् । “हामीले अनुमति पाएको खण्डमा भारत र बङ्गलादेशका निजी क्षेत्रसँग छलफल गरेर थप निर्यातका लागि मार्ग प्रशस्त गर्न सक्छौँ” उनले भने, “यसमा सरकार र निजी क्षेत्र दुवैको साझा प्रयास हुनु जरुरी छ । हामी त्यसका लागि तयार छौँ ।” सन् २०४० सम्म बङ्गलादेशले नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने आफ्नो रणनीतिक योजनामा समावेश गरेको छ । हाल भारतले बङ्गलादेशलाई बिजुली निर्यात गरिरहेको छ । स्वच्छ ऊर्जाको खोजीमा रहेको बङ्गलादेशले नेपालका केही महत्वपूर्ण आयोजनामा लगानीका लागि चासोसमेत व्यक्त गरेको छ । गत जेठ २ मा बङ्गलादेशमा सम्पन्न नेपाल बङ्गलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको पाँचौँ बैठकले बिजुली निर्यातको निर्णय गरेको थियो । सो बैठकले अन्तरदेशीय प्रसारण लाइनको निर्माण तथा व्यवस्थापन गर्ने, सुनकोशी तेस्रो जलविद्युत् आयोजनाको निर्माण र विकास गर्ने तथा अन्तरदेशीय विद्युत् आयात निर्यात गर्नेलगायतका विषयमा गम्भीर छलफल भएको थियो । सोही बैठकले ४० मेगावाट बिजुली निर्यातका लागि नेपाल विद्युत् प्राधिकरण, एनटिपीसी विद्युत् व्यापार निगम, भारत र बङ्गलादेशबीच पावर डेभलपमेन्ट बोर्डबीच विद्युत् बिक्री सम्झौतामा यथाशीघ्र हस्ताक्षर गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार त्रिपक्षीय सम्झौता भएको हो । नेपालबाट खरिद गर्ने बिजुलीको खरिद दरका विषयमा आवश्यक निर्णय गर्न एक समिति आवश्यकपर्ने बङ्गलादेशको नियम रहेको छ । सो समितिमा रहने सदस्यको नाम समेत प्रस्ताव भइसकेको बङ्गलादेशले जानकारी गराइसकेको छ । नेपालका तर्फबाट यही भदौको दोस्रो सातासम्म आवश्यक सबै प्रक्रिया टुङ्गो लगाउन प्रस्ताव गरिएको छ । सबै प्रक्रिया मिलाएर निर्यात सुरु गरी हाल्ने योजना तय गरिएको छ । “वर्षायामको बिजुली नै ‘टोकन’का रुपमा पठाउन लागिएको हो । हिउँद लागेपछि त्यसको कुनै सम्भावना नै रहन्न । सोही भएर हामीले आवश्यक तयारी छिटोछिटो गरिरहेका छौं” यस प्रक्रियामा सहभागी ऊर्जा मन्त्रालयका एक सहसचिवले भने, “दुई देशका ऊर्जा सचिवस्तरीय बैठकले गरेको निर्णय क्रमशः कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।” नेपाल र भारतका ऊर्जा सचिवबीच गत फागुनमा सम्पन्न १०औँ बैठकमा बङ्गलादेश बिजुली निर्यातका लागि आवश्यक सहमति भएको थियो । तत्कालका लागि ५० मेगावाट बिजुली निर्यातका लागि भारतीय प्रसारण प्रणाली प्रयोग गर्न दिन भारतीय पक्ष सहमत भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो भारत भ्रमणमा समेत यस विषयमा महत्वपूर्ण सहमति भएको छ । आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली आयात गर्नेदेखि नेपालको बिजुली बङ्गलादेश निर्यातका लागिसमेत भारत सहमत भएको थियो । कूल ६ सय ८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो आयोजना निर्माणका लागि आवश्यक पूर्वतयारीको काम समेत भइरहेको छ । गत जेठमा सम्पन्न नेपाल र बङ्गलादेशका ऊर्जा सचिवस्तरीय बैठकले छ महिनाभित्र आयोजना विकासका लागि संयुक्त उपक्रम तयार पार्ने सहमति भएको थियो । बङ्गलादेशले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको पाँच सय मेगावाट बिजुली खरिद गर्ने तयारी गरेको छ । यद्यपि, सो आयोजनाको प्रवद्र्धक ग्रान्धी माल्ल्किाजुर्न राव ९जिएमआर०ले वित्तीय व्यवसथापन गर्न नसक्दा अगाडि बढ्नसकेको छैन । लगानी बोर्डको प्रस्तावमा सरकारले आयोजनाको म्याद अन्तिम पटक दुई वर्षका लागि थप गरेपनि हालसम्म कुनै प्रगति हुनसकेको छैन । नेपाल र बङ्गलादेशबीच भारतीय भूमि प्रयोग गरेर ‘डेडिकेटेड’ रुपमा उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्ने विषयमासमेत सहमति भएको छ । नेपालको प्राधिकरण र बङ्गलादेशको बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डबीच सहमति गरेर छिट्टै बिजुली निर्यातका लागि आवश्यक निर्णय गर्ने तयारी गरिएको छ । रासस

नागरिक उड‍्डयन प्राधिकरणको नयाँ व्यवस्था : अतिरिक्त समयको उडानमा प्रमुख चालक र डिस्प्याचरको लिखित घोषणा अनिवार्य

काठमाडौं । नेपाल नागरिक उड‍्डयन प्राधिकरणले पहाडी क्षेत्रका छोटो धावनमार्ग भएका विमानस्थलमा हुने उडान र अवतरणको लागि तीन वटा नयाँ नियम लागु गर्ने निर्णय गरेको छ । पहाडी क्षेत्रका विमानस्थलमा हुने उडान सञ्चालनलाई सुरक्षित तथा व्यवस्थित बनाउनको लागि साउन ३२ गतेबाट नयाँ व्यवस्था लागु गर्ने निर्णय भएको प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । उडान र अवतरणको लागि छोटो धावनमार्ग भएका विमानस्थलमा अतिरिक्त समयमा उडान सञ्चालन गर्दा गन्तव्य, हवाई मार्ग र वैकल्पिक विमानस्थलमा भएको मौसमको ‘भीएमसी मिनिमा’ कामय भएको सुनिश्चित गरी प्रमुख चालक र डिस्प्याचरको लिखित घोषणा पश्चात मात्रै उडान अनुमित प्रदान गरिने व्यवस्था गरिएको भुलले बताए । नेपालगञ्ज विमानस्थलबाट पहाडी क्षेत्रका विमानस्थलमा उडान गर्दा वायुसेवा कम्पनीले नेपालगञ्ज विमानस्थलमा अनिवार्यरुपमा फ्लाइट अपरेसन अफिसरको व्यवस्था गर्नुपर्ने निर्णय पनि प्राधिकरणले गरेको छ । त्यसैगरी, उडान सञ्चालन सम्बन्धी सम्पूर्ण कार्य फ्लाइट अपरेसन अफिसरमार्फत गर्नुपर्ने प्राधिकरणले निर्णय गरेको भुलले बताए । प्राधिकरणले पहाडी क्षेत्रका र छोटो धावनमार्ग भएका विमानस्थलको सञ्चालन समय पुनरावलोकन गर्ने तथा इनरुट वेदरको उपलब्धता बारे अध्ययन गर्न प्राधिकरणका उपमहानिर्देशकको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको भुलले जानकारी दिए ।