‘ट्याक्सीमा मिटर प्रणाली लागू भएरै छाड्छ’
काठमाडौं । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले पोखरा उपत्यकाभित्र मिटरमा ट्याक्सी नगुडेको पाइएमा कारबाही हुने बताएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आइतबार आयोजित सवारी व्यवस्थापनका चुनौती र समाधान विषयक अन्तरक्रियामा उनले ट्याक्सी मिटरमा गुडे/नगुडेकोबारे कडाइका साथ अनुगमन गरिएको उल्लेख गरे । “मिटरमा यात्रु बोक्न तयार नहुने ट्याक्सी चालकलाई सवारी ऐनअन्तर्गत कारबाही हुन्छ, ऐनले नै न्यूनतम पाँच हजारदेखि १५ हजारसम्म जरिवाना तोकेको छ”, मन्त्री जुग्जालीले भने, “जस्तो सुकै दबाब र चुनौती आए पनि ट्याक्सीमा मिटर प्रणाली लागू भएरै छाड्छ ।” मन्त्रालयको विशेष पहलमा यही भदौ १ गतेदेखि पोखरा उपत्यकाभित्र चल्ने ट्याक्सीमा मिटर प्रणाली लागू भएको थियो । अहिले पनि कपितय ट्याक्सी चालकले मिटरमा हिँड्न आनाकानी गरिरहेको गुनासो आएको जनाउँदै उहाँले यात्रु ठग्ने ट्याक्सीलाई कारबाही गरिने बताए । ट्राफिक प्रहरीसँगै मन्त्रालयको संयन्त्रले पनि अनुगमन गरिरहेको बताउँदै उनले कुनै ट्याक्सी मिटरमा गुड्न तयार नभएमा सम्बन्धित निकायमा खबर गर्न आग्रह गरे । मन्त्रालयका पदाधिकारीसँग पटकपटकको छलफलपछि ट्याक्सी चालक मिटर प्रणालीमा हिँड्न तयार भएका थिए । वि.सं २०७८ फागुन १ गतेदेखि लागू हुने गरी प्रदेश सरकारले भाडादर समायोजन गरे पनि लामो समयसम्म पोखराका ट्याक्सी मिटर प्रणालीमा चलेका थिएनन् । ट्याक्सीले मनपरी भाडा लिने गरेको जनाउँदै जनगुनासो उठ्दै आइरहेको थियो ।
आज संसदीय समितिले नेतृत्व पाउने, उद्योग तथा वाणिज्य समितिमा भने निर्वाचन हुँदै
काठमाडौं । प्रतिनिधिसभा मातहतका १० विषयगत समितिले नयाँ कार्यकालका लागि आजदेखि नेतृत्व पाउँदैछन् । संविधानसभाबाट वि.सं २०७२ असोज ३ गते संविधान जारी भएपछि दोस्रो कार्यकालका लागि गठन भएको प्रतिनिधिसभा अन्तर्गतका संसदीय समितिका सभापतिको चयन हुन लागेको हो । विषयगत समितिका रुपमा अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित, कानुन, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति छ । त्यस्तै महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समिति प्रतिनिधिसभा मातहतका संसदीय समिति हुन् । आज दिउँसो ३ बजे बस्ने बैठकले ती समितिको सभापति चयन गर्नेछ । ती समितिका सभापति पदका लागि आइतबार उम्मेदवारी दर्ता सम्पन्न भएको थियो । १० संसदीय समिति सभापतिका लागि ११ जनाको उम्मेदवारी परेको छ । नेकपा (एमाले)का ऋषिकेश पोखरेल र किरणकुमार साह, नेकपा (माओवादी केन्द्र) का विमला सुवेदी, नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशी, नेपाली कांग्रेसका सन्तोष चालिसे, आरजु राणा देउवा र रामहरि खतिवडा, जनता समाजवादीका राजकिशोर यादव, जनमत पार्टीका अब्दुल खान, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह र राष्ट्रिय स्वतन्त्र पार्टी (राजस्वपा)का गणेश पराजुलीको उम्मेदवारी परेको छ । ९ समितिमा एक÷एक जनाको उम्मेदवारी परेको छ भने उद्योग तथा वाणिज्य तथा उपभोक्ता हित समितिमा जनमत पार्टीका खान र रास्वपाका पराजुलीबीच प्रतिस्पर्धा हुने बताइएको छ ।
कुमारी क्यापिटलका २ वटा म्युचुअल फण्डको लाभांश घोषणा
काठमाडौं । कुमारी क्यापिटलले दुईवटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । क्यापिटलले कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाको लाभांश घोषणा गरेको हो । कोष ब्यबस्थापक कुमारी क्यापिटलले दुइटै फण्डका इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको हो । कुमारी इक्विटी फण्डका इकाईधनीहरुलाई आर्थिक वर्ष २०७९÷८०को नाफाबाट कर सहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, कुमारी धनवृद्धि योजनाका इकाईधनीहरुलाई आर्थिक वर्ष २०७९÷८०को नाफाबाट कर सहित ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साथै, लाभांश वितरण प्रयोजनार्थ दुवै फण्डले भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले भदौ १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम इकाईधनीहरुले लाभांश प्राप्त गर्न सक्ने छन् ।
नमूना बोलपत्रको कागजात नेपाली भाषामा बनाइने
काठमाडौं । सरकारले आगामी दिनमा सार्वजनिक खरिदका नमूना बोलपत्र कागजातलाई नेपाली भाषामा बनाउने भएको छ । सार्वजनिक खरिदको प्रभावकारिता अभिवृद्धि गर्न खरिद ऐनलाई सामयिक बनाउने र सरल कार्यविधि निर्माणलाई पनि प्राथमिकतामा राख्न लागेको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा.दामोदर रेग्मीले खरिद विषय आफैँमा जटिल र प्राविधिक विषय भएकाले यो जटिलतालाई कागजातले सरल र सहज बनाउनु आवश्यक भएको बताउ । उनले भने, “विभिन्न सरोकारवालाका सुझावअनुरुप सरल खरिद कार्यविधि र नमूना बोलपत्र कागजातलाई नेपाली भाषामा बनाउने कामलाई प्राथमिकता दिइएको हो ।” सचिव रेग्मीले खरिदको प्रभावकारिताले पुँजीगत खर्च बढ्ने मात्र नभई विकास निर्माणका काममा तीव्रता आउने हुँदा सार्वजनिक खरिदलाई वित्त व्यवस्थापनको एउटा महत्वपूर्ण पाटोका रुपमा लिइ सुधारका आवश्यक काम गर्ने क्रममा सार्वजनिक खरिद ऐनलाई पनि सामयिक बनाउन लागिएको उल्लेख गरे । राष्ट्रियस्तरमा प्रयोग हुने कागजातमा आउन सक्ने भाषागत समस्या निराकरण गर्न कार्यालयले त्यस्तो आवश्यकता महसुस गरेको जनाएको छ । त्यससम्बन्धी सुधार कार्यले प्रदेश र स्थानीय तहको खरिद क्षमतामा वृद्धि गर्ने र सबै सार्वजनिक निकायको खरिद क्षमतामा वृद्धि हुने कार्यालयले अपेक्षा गरेको छ । सार्वजनिक निकायमा सबै संवैधानिक अङ्ग वा निकाय, अदालत,सरकारका मन्त्रालय, सचिवालय, आयोग, विभाग वा सो अन्तर्गतका अन्य जुनसुकै सरकारी निकाय वा सबै कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ का प्रवधान पालना गर्नुपर्ने बाध्यता छ । खरिद प्रक्रियामा प्रतिस्पर्धा, स्वच्छता, इमान्दारिता, जवाफदेहिता र विश्वसनीयता प्रवद्र्धन गरी सार्वजनिक खरिदसम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्णयलाई अझ बढी खुला, पारदर्शी, वस्तुनिष्ट र विश्वसनीय बनाउने उद्देश्यका साथ उक्त कार्यहरु गर्न लागिएको सचिव रेग्मीले बताउँछन् । यसैबीच, सार्वजनिक खरिद अनुगमन कार्यालयले यही महिनाको अन्तिम साता पोखरा र हेटौँडामा प्रोक्युरमेन्ट क्लिनिक सञ्चालन गर्न लागेको छ । सार्वजनिक खरिद कार्य जटिल र प्राविधिक विषय भएकाले खरिद एकाइ र खरिद कार्यमा संलग्न जनशक्तिको क्षमता विकास तथा उनीहरुलाई सार्वजनिक खरिदका विषयमा आइपरेका समस्या समाधान गर्ने उद्देश्यले क्लिनिक कार्यक्रम सञ्चालन लागेको हो । सार्वननिक खरिदका विषयमा आएका चुनौती सहभागीबाट व्यक्त गर्ने र विज्ञले ती समस्या समाधानका तरिका बताइदिने गरी ‘प्रोक्युरमेन्ट क्लिनिक’ अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्न लागेको हो । प्रोक्युरमेन्ट क्लिनिक एउटा सफल अन्तर्राष्ट्रिय अभ्यास भएकाले यस विधिबाट खरिद कार्यमा संलग्न जनशक्तिको क्षमता विकास गर्न सकिने विश्वास गरिएको छ । रासस
सोनापुरको आईपीओ खरिद गर्ने आज अन्तिम मौका, स्थानीयलाई आवेदन दिने समय लम्बियो
काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन २९ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज भदौ ११ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई भने आवेदन दिने समय थप गरेको छ । अब स्थानीय लगानीकर्ताहरुले कम्पनीको आईपीओमा भदौ २६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात् १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २ सय कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानीयलाई अंकित मूल्य १ सय रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता छुट्याइएको छ । साथै, सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १० लाख ७६ हजार २६८ कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीलाई अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७।५८ रुपैयाँमा बिक्री गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयले अधिकतम १५ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम १० लाख ७६ हजार २६८ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा स्थानीयले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स बैंक, कुमारी बैंक, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
हाथवे इन्भेष्टमेन्टले ५० रुपैयाँमा भदौ २१ गतेदेखि आईपीओ निष्काशन गर्ने
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले भदौ २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशत अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपैयाँको आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरका २९ लाख २५ हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् २ लाख ९२ हजार ५ सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ५८ हजार ५ सय कित्ता कर्मचारी, १ लाख ४६ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिसकेको छ । अब बाँकी रहेको २४ लाख २७ हजार ७५० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्ने छन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम २० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा भदौ २५ गते र ढिलोमा असोज ४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् ।
अरुण काबेलीको हकप्रद बिक्री खुला, १ सय कित्ता बराबर नयाँ १ सय कित्ता पाउने
काठमाडौं । अरुण काबेली पावर कम्पनीले आज भदौ ११ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर बिक्री खुला गरेको हो । कम्पनीले १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ गत असार २५ गते बुकक्लोज गरेको थियो । त्यसैले असार २४ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरुले कम्पनीको हकप्रद सेयर खरिद गर्न पाउने छन् । सेयरधनीहरुले कम्पनीको हकप्रदमा भदौ ३१ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीको हकप्रदमा सेयरधनीहरुले नबिल इन्भेष्टमेन्ट, अरुण काबेली पावर, हिमालयन बैंक र नबिल बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत सुरक्षित रहेको संकेत गर्दछ ।
हुलास वायरको सम्बर्द्धन कार्यक्रम सम्पन्न
काठमाडौं । हुलास वायर इण्डष्ट्रिज लिमिटेडले हुलास वायर सम्बर्द्धन समारोह आयोजना गरेको छ । आइतबार कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई प्रमुख आतिथ्यतामा हुलास वायरको लोगो तथा विज्ञापनको भिडियो सार्वजनिक गरिएको कम्पनीले बताएको छ । कार्यक्रममा हुलास वायरका ब्राण्ड एम्बेस्डर क्याप्टेन विजय लामा पनि उपस्थित थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले हुलास वायर इण्डष्ट्रिजको सफलताको कामना गरेका थिए ।