विकासन्युज

नेवानिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँ दिल्ली उडान गर्ने, काठमाडौं ट्रान्जिट

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘ट्रान्जिट’ बनाएर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँदिल्ली उडान गर्ने भएको छ । भदौ १२ देखि दुई गन्तव्यमा उडानका लागि टिकट बुकिङ खुला गरेको हो । नेपाल वायु सेवा निमगले आइतबार विज्ञप्ति प्रकाशन गरेर टिकट बुकिङ खुल्ला गरेको बताएको हो । भैरहवाबाट हरेक मंगलबार साताको एक उडानबाट सुरु गरी बजार माग तथा बजार व्यवस्थापनअनुसार उडान संख्या बढाउँदै लैजाने योजना रहेको निगमले बताएको छ । उडान तालिकाअनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौं अवतरण गर्ने छ । त्यसपछि ट्रान्जिट भई हङकङ र दिल्ली जाने यात्रु नेवानिकै ‘कनेक्टिङ’ उडानमा चढ्ने छन् । यात्रु सुविधाका लागि ‘चेक इन’ गर्ने बेला गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको वायु सेवा निमगले बताएको छ ।

आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न परिसंघको आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघले विदेशस्थित नेपाली राजदूतावासहरुमार्फत स्वदेशी वस्तुहरुको निर्यात एवं प्रबद्र्धनलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आइतबार परराष्ट्र मन्त्री एनपी साउदसँग गरेको छलफलमा वैदेशिक लगानी भित्र्याउन, स्वदेशी वस्तुहरुको प्रबद्र्धन गर्न, पर्यटन प्रबद्र्धन गर्नका लागि आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको हो । अध्यक्ष अग्रवालले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न नीतिगत स्थायित्व, सहज व्यवसायिक वातावरण र छिटो छरितो निर्णय गर्ने संयन्त्र आवश्यक रहेकोमा जोड दिएका थिए । उनले नेपालमा वैदेशिक लगानी आकर्षित गर्न सम्बन्धित देशका लगानीकर्तासँगको व्यवसायिक सम्बन्ध विस्तार गर्न आवश्यक रहेको बताए । यसका लागि नेपाली दूतावासहरुले व्यवसायिक प्रतिनिधिमण्डलको नियमित भ्रमण तथा अन्तरक्रिया गर्न सहजिकरण गर्नुपर्ने उनले बताए । भारतदेखि विराटनगरसम्म सुरु भएको कार्गो रेल्वे सेवा संचालनका लागि निरन्तरता दिनुपर्ने, नेपाल भारतबीच मोटर भइकल एग्रीमेन्ट गरी नेपाली मालबाहक एवं अन्य सवारी साधनहरुको आवतजावतलाई सहज बनाइनुपर्नेमा परिसंघले जोड दिएको बताएको छ । मन्त्री साउदले परिसंघले उठाएका विषयहरुलाई उच्च प्राथमिकतामा राख्ने बताएका छन् । छलफलमा परिसंघका उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे, परिसंघका महानिर्देशक दीपकराज जोशीलगायत सहभागी थिए ।

विदेशमा सिकेको सीप, अनुभव र पूँजी नेपालको विकासमा लगाउन अर्थमन्त्री डा.महतको आग्रह

क्यानाडा । अर्थमन्त्री डा. प्रकाश शरण महतले क्यानाडाको भ्यानकुभरस्थित नेपाली समुदायलाई विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पूँजीलाई नेपालको विकासमा लगाउन आग्रह गरेका छन् । क्यानाडाको भ्यानकुभरमा रहेका नेपाली समुदायसँग छलफल तथा अन्तरक्रिया गर्ने क्रममा अर्थमन्त्री महतले यस्तो आग्रह गरेका हुन् । अहिले नेपालमा लगानीमैत्री वातावरण निर्माण हुँदै गएको तथा उर्जा, पर्यटन, सूचना प्रविधि एवं कृषि उद्यम लगायतका क्षेत्रहरू लगानीको लागि आकर्षक रहेको मन्त्री महतले बताए । यसैगरी, नेपालमा विशेषज्ञ जनशक्तिको अभाव पुरा गर्न नेपाली डायसपोरालाई मद्दत गर्न उनले आग्रह गरेका छन् । नेपाली समुदायले उच्च शिक्षाका लागि क्यानाडा आउने विद्यार्थीहरू पर्याप्त सूचना विना आउने गरेको र विभिन्न समस्यामा परेको जानकारी गराएका थिए । अर्थमन्त्री डा. महत ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औँ विश्व सम्मेलनमा भाग लिन २० अगष्ट २०२३ मा क्यानाडा गएका थिए । उनी भोली साँझ स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले बताएको छ ।

प्रधानमन्त्रीले दिए प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई भैसेपाटी निवासको साँचो [तस्वीरहरु]

काठमाडौं । ललितपुरको भैंसेपाटीमा बनेको मुख्यमन्त्री र प्रदेश प्रमुखहरुको नयाँ कार्यालय तथा निवासको साँचो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हस्तान्तरण गरेका छन् । आइतबार आयोजित एक समारोहमा प्रधानमन्त्री दाहालले मुख्यमन्त्री र प्रदेश प्रमुखहरुलाई नयाँ निवासको साँचो हस्तान्तरण गरेका हुन् । कार्यक्रममा केन्द्रीय सरकारका मन्त्री, प्रदेश प्रमुख र प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुको उपस्थिति थियो । सहरी विकास मन्त्रालयको बनाएको प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको निवासमा १४ वटा ब्लक छन् । प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु काठमाडौं आउँदा बस्नको लागि बनाइएको उक्त निवास तयार गर्दा सरकारले ८५ करोड रुपैयाँ खर्च गरेको बताएको छ ।  

पदयात्रामार्फत दृश्यावलोकन गर्न ‘भिरलाखुरी’

गलकोट । कतिपय सम्भावित पर्यटकीय क्षेत्र सदरमुकाम आसपास भएर पनि ओझेलमा पर्दैआएका छन् । सामाजिक सञ्जाल र समाचार पहुँचका कारण कुनाकाप्चाका पर्यटकीय स्थलसमेत उजागर भइरहेको अबस्थामा कतिपय सम्भावित क्षेत्र सुविधासम्पन्न क्षेत्रका स्थलसमेत ओझेलमा परेका हुन् । बागलुङ सदरमुकाम नजिकैको भिरलाखुरीलाई प्रवर्द्धन गर्न थालेपछि अहिले हाइकिङका लागि स्थानीय पर्यटक त्यहाँ पुग्न थालेका छन् । पछिल्लो समय झरना तथा दृश्यावलोकनका लागि पदयात्रामा जान, प्रकृतिसँग रमाउन, टिकटक बनाउन र फोटो खिच्न आउने पर्यटक बढ्न थालेपछि बागलुङ बजारदेखि ४५ मिनेटमै पुग्न सकिने भिरलाखुरीलाई प्रवर्द्धन गर्न थालिएको हो । भिरलाखुरी भ्यूपोइन्टको प्रचारप्रसार, प्रवर्द्धन र पूर्वाधारपछि अहिले बागलुङ बजारको दृश्यावलोकन गर्न आउनेको सङ्ख्या वृद्धि भइरहेको छ । बागलुङ नगरपालिका–६ मा पर्ने भिरलाखुरी पछिल्लो समय बागलुङ बजारको नजिकैको एक आकर्षक पर्यटकीय गन्तव्यको रुपमा परिचित हुन थालेको छ । भिरलाखुरी भ्यूपोइन्टबाट बागलुङ बजारका साथै पर्वतका नाग्लीबाङदेखि कुश्मा बजारसम्म देख्न सकिने भएकाले चर्चामा आउन थालेको त्यहाँका वडाध्यक्ष रुद्र केसीले बताए । अहिले भिरलाखुरी पुग्ने पदमार्ग, रेलिङ र होर्डिङबोर्ड कुर्ची, पिङ् खेल्ने झुलालगायत पूर्वाधारसमेत निर्माण गरिएपछि पर्यटकको सङ्ख्या वृद्धि भएको उनको भनाइ थियो । गत आर्थिक वर्षमा नगरस्तरीय योजनामामार्फत तीन लाख र अघिल्लो आर्थिक वर्षमा दुई लाख रुपैयाँको लागतमा पदमार्ग बनाइएको थियो । “भिरलाखुरीको प्रवर्द्धनका लागि कलाकार रामजी नेपालीसहित विभिन्न पर्यटन क्षेत्रमा सक्रिय रहेका युवाको साथ र सहयोगका कारण उक्त क्षेत्रले चर्चा बटुल्दै आएको छ” वडाध्यक्ष केसीले भने, “खासगरी बागलुङ बजारबासी हाइकिङका लागि त्यहाँ पुग्ने गरेका छन्, बागलुङबजारको पूरै दृश्य देखिने उक्त स्थल धेरैको रोजाइमा पर्न थालिसकेको छ ।” पदमार्गका लागि भिरलाखुरी पुग्नुभएका स्थानीय पर्यटन अभियान्ता सुलभ खड्काले भिरलाखुरी स्थल उत्कृष्ट गन्तव्य बन्न थालेको बताए । बागलुङबाट बिहान मर्निङक वाक गर्नेहरु समेत त्यहाँ पुग्ने गरेका छन् । पदमार्गसहित बागलुङ बजार र कुश्मा बजारको दृश्वावलोकन गर्न, फोटो तथा भिडियो खिच्न यहाँ आउने गरेको स्थानीय रामजी नेपालीले जानकारी दिए । “सूर्योदय र सूर्यास्तको दृश्यले मनै लोभ्याउने भएकाले त्यहाँ आउनेको सङ्ख्या वृद्धि भएको छ, बागलुङ बजारबाट हिँडेर ४५ मिनेट र मोटरसाइकलमा १० मिनेटमै त्यहाँ पुग्न सकिन्छ” उनले भने “टाढाको गन्तव्यमा जान समय र पैसा दुबै खर्च हुन्छ, समय र खर्चको बचतसँगै प्रकृतिसँग रमाएर दृश्वावलोकन गर्न भिरलाखुरी भ्यु पोइन्ट गज्जबको पर्यटकीय गन्तव्य हो ।” नेपालीले भिरलाखुरीको थप प्रचार र पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए । नेपाली र वडाकार्यालयको नेतृत्वमा दुई हप्ताअघि मात्रै भिरलाखुरीको प्रबद्र्धनमा सामूहिक पदमार्ग आयोजना गरिएको थियो । समुद्र सतहदेखि जम्मा एक हजार तीन सय ५० मिटरको उचाइमा रहेको उक्त स्थलको प्रचारप्रसार र पूर्वाधारको विकाससँगै चर्चामा आएको हो । भिरलाखुरी आमा समूहकी अध्यक्ष सङ्गीता परियारले अघिपछि ४०/५० जना र शनिबार एक सय भन्दाबढी आन्तरिक तथा बाह्य पर्यटक यहाँ पुग्ने गरेका र पर्यटकको चहलपहलले आफूहरुमा उत्साह थपिएको बताए । रासस

लक्ष्मी सनराइज बैंकको सेयर नेप्सेमा सूचीकृत, सोमबारदेखि कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लक्ष्मी सनराइज बैंककाे सेयर सूचीकृत भएको छ । साविक लक्ष्मी र सनराइज बैंक मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको नामबाट सेयर सूचीकृत भएको हो । आइतबार बैंकको कुल २१ करोड ६७ लाख २ हजार ३७९ कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । नेप्सेले पहिलो कारोबारका लागि लक्ष्मी सनराइज बैंकलाई प्रतिकित्ता १७३.०५ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । सोही मूल्यबाट सोमबारदेखि दोस्रो बजारमा कारोबार हुने छ । नेप्सेले मर्जरपछि बनेको लक्ष्मी सनराइज बैंकलाई ‘एलएसएल’ कारोबार संकेत प्रदान गरेको छ । साबिक लक्ष्मी र सनराइज बैंक १ः१ अनुपातमा मर्ज भएका हुन् । यी दुवै बैंकले गत असार २९ गतेबाट एकीकृत कारोबार सुरु गरेका थिए । नेप्सेले असार २९ गतेबाट मर्जर प्रयोजनका लागि यी दुवै बैंकको सेयर कारोबार रोक्का गरेको थियो ।

एनसेलले जित्यो ‘अर्गनाइजेशनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३’

काठमाडौं । एनसेल आजियाटाले शुक्रबार राजधानीमा आयोजित सातौं सेल्स समिट २०२३ मा प्रतिष्ठित अर्गनाइजेशनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३ जित्न सफल छ । एनसेलको तर्फबाट एनसेलका सेल्स म्यानेजर अभय कुमार निधिले अर्गनाइजेसनल सेल्स एक्सिलेन्स अवार्ड २०२३ का निर्णायक मण्डलका सदस्य आशिष तिवारीबाट उक्त अवार्ड ग्रहण गरेका थिए । एनसेल मार्केटिङ डोमेन इन्स्टिच्युसनल क्याटेगोरी अन्तर्गत यो अवार्ड २०२३ बाट सम्मानित भएको हो । एनसेलले जितेको अवार्डले कम्पनीले सेल्स तथा मार्केटिङ कार्यसम्पादनमा देखाएको निरन्तरको उत्कृष्टतालाई झल्काउँछ । यो अवार्ड कम्पनीले उत्कृष्ट बिक्री नतिजा प्राप्तिका लागि गरेका प्रयासहरु, बजारको परिवर्तनशील गतिशीलतालाई अनुकूलन गर्ने क्षमता र ग्राहकको अपेक्षा अनुसार निरन्तर गरेका कार्यहरुको सम्मान हो । ‘यो प्रतिष्ठित अवार्डबाट सम्मानित हुन पाउँदा हामी गौरवान्वित छौं । यो सम्मान हाम्रो सम्पूर्ण एनसेल टिमको कडा परिश्रम र समर्पणको प्रमाण हो । नवप्रवर्तन र ग्राहक सन्तुष्टिप्रतिको अटल प्रतिबद्धता हाम्रो सफलताको प्रमुख कडी हो,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने । ‘हामी सेल्स र मार्केटिङको क्षेत्रमा उद्योगलाई प्रेरित गर्दै र इनोभेसनलाई बढावा दिदै ग्राहकहरूलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्न जारी राख्नेछौं ।’ विभिन्न विधा अन्तर्गतका अवार्ड विजेताहरू निश्चित मापढण्ड भित्र रहि निर्धारण गरिएका थिए । एक सम्मानित अनुसन्धान फर्मसँगको सहकार्यमा स्वतन्त्र निर्णायक मण्डलले सेल्स र मार्केटिङ कार्यमा उत्कृष्टता र नवीनता देखाउने संस्थाहरूको पहिचान गर्न उनीहरुको विवरणहरुलाई ध्यानपूर्वक मूल्याङ्कन र विश्लेषण गरेको थियो । शुक्रबारको अवार्ड समारोह ग्रोथ सेलर्स प्रा.लि.को स्वायत्त सहायक संस्था ग्रोथ लिडरसिप एकेडेमीले आयोजना गरेको सेल्स समिट २०२३ को एक प्रमुख कार्यक्रम थियो । सेल्स समिट ग्रोथ लिडरशिप एकेडेमीले वार्षिक रुपमा आयोजना गर्ने एक प्रमुख कार्यक्रम हो । यो नेटवर्किङ, नलेज एक्सचेन्ज, र बिक्रीमा उत्कृष्ट अभ्यासहरूको सम्मान गर्ने एक अनुपम प्लेटफर्म हो ।

देशबन्धुको नेतृत्वमा १७ सदस्यीय पर्यटन समिति विस्तार, समेटिए विक्रम पाँडेदेखि शशिकान्त अग्रवालसम्म

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले देशबन्धु वस्नेत (अजित) नेतृत्वको पर्यटन तथा हवाई यातायायत समिति विस्तार भएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र सभापति वस्नेतको उपस्थितीमा महासंघमा एक कार्यक्रमकाबीच उक्त समिति विस्तार गरिएको हो । भुकम्प र कोरानापछि थिलथिलो भएको नेपालको पर्यटन क्षेत्रलाई उजागर गरी देशको ठूलो संख्यामा विदेशी पर्यटक भित्र्याउने उद्देश्य सहित उक्त समिति विस्तार गरिएको हो । सो समितिको उपसभापतिमा टानका अध्यक्ष निलहरी वस्तोला र नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईँ रहेका छन् । यसैगरी सदस्यहरुमा हानका अध्यक्ष विनायक शाह, नाराका अध्यक्ष शिव अधिकारी, एनटीभएका अध्यक्ष कुलप्रसाद न्यौपाने, वेष्ट रिसोर्टका प्रबन्ध निर्देशक सचिन ढकाल र पर्यटन बोर्डका तर्फबाट सिर्जना नेपाली रहेका छन् । यसैगरी आमन्त्रित सदस्यहरुमा रेवानका उपाध्यक्ष संघर्ष विष्ट, पाटा नेपाल च्याप्टर अध्यक्ष विभुती चन्द ठकुरी, होटल स्टर्न स्टारका अध्यक्ष भावेशकुमार श्रेष्ठ, एचपीएफएनका निवर्तमान अध्यक्ष अमृत भुजेल र एभरेष्ट ग्रूपका नर्देशक प्रनिल प्रधान रहेको छन् । यस्तै उक्त समितिको सल्लाहकारहरुमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी, मेरिएट काठमाडौंका अध्यक्ष शशिकान्त अग्रवाल, लुम्बिनीका सद्धभावना दूत विक्रम पाँडे, डोल्मा फण्ड अन्तरगत प्राक्टिक टुरिजमका प्रमुख उप्पल मजुम्दर रहेका छन् । समितिका सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्दै महासंघ अध्यक्ष ढकालले अहिलेको अवस्थामा उक्त समितिले पर्यटन क्षेत्रको सुधारका साथै महासंघको साख उचो बनाउन भुमिका खेल्ने विश्वास लिएका छन् । यसैगरी समितिका सभापति देशबन्धु वस्नेतले उक्त समितिले देशमा विदेशी मुद्रा भित्र्याउन महत्वपूर्ण भुमिका रहेको पर्यटन क्षेत्रलाई देश विदेशमा प्रचारप्रसार तथा प्रवद्र्धनात्मक कार्यक्रम गरिने बताए । ‘हामीले अहिलेको पर्यटन क्षेत्रको प्रवद्र्धन तथा हवाई क्षेत्रलाई विस्तार गर्ने उद्देश्य अनुरुप यससँग आवद्ध सबैजसो संघसंस्थाका प्रतिनिधिहरुलाई समेट्ने प्रयास गरेका छौं,’ उनले भने, ‘आशा छ यस समितिले नजिता निकाल्ने गरी काम गर्नेछ ।’