व्यवसायीले कारोबारको ५० प्रतिशतसम्म चालु पुँजी कर्जा पाउने
काठमाडौं । अब उद्योगी व्यवसायीले कुल कारोबारको ५० प्रतिशतसम्म चालु पुँजी कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु पुँजीकर्जा सम्बन्धी मार्गदर्शन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै ५० प्रतिशतसम्म चालु पुँजी कर्जा लिन सक्ने व्यवस्था गरेको हो । यसअघि ४० प्रतिशत रहेको सीमालाई बढाएर राष्ट्र बैंकले ५० प्रतिशत पुर्याएको हो । ‘इजाजतपत्रप्राप्त संस्थाले उद्यम व्यवसायको अपरेटिङ साइकल, क्यास कन्भर्सन साइकल, डेज सेल्स आउट स्टयाण्डीङ, इन्भेन्टरी कन्भर्जन पिरियड, लिड टाइम र एकाउन्ट्स पेईबल पिरियडको विश्लेषण गर्दा औचित्यपूर्ण देखिएमा कर्जा फाइलमा सो कारणहरु उल्लेख गरी अनुमानित वार्षिक वश्लेषण गर्दा औचित्यपूर्ण देखिएमा कर्जा फाइलमा सो कारणहरु उल्लेख गरी अनुमानित वार्षिक कारोबार÷बिक्रीको अधिकतम ५० प्रतिशतले हुन आउने रकमसम्म कुल चालू पुँजी कर्जा सीमा कायम गर्न सक्नेछन्,’ चालु पुँजी कर्जाको मार्गदर्शनमा उल्लेख छ ।
धार्मिक पर्यटकको रोजाइमा नरसिंह धाम, साउनमा १० लाख भक्तजन पुगे
मलेखु । एकातिर बूढीगण्डकी अर्कोतिर नेत्रावती । यही दुई नदीको सङ्गममा छ नरसिंह धाम । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारको फेदीमा रहेको धाममा हिजोआज दैनिक सयौँ भक्तजन पुग्ने गरेका छन् । गोरखा र धादिङ जिल्लाको सिमानामा पर्ने यी दुई नदी मिसिएको दोभान प्राचीन समयदेखि नै नरसिंह देवताको उत्पत्ति स्थलको रूपमा परिचित छ । यशोधरा भन्नाले बुढीगण्डकी र नेत्रावती भन्नाले आँखु खोला भन्ने बुझाउँछ । अघिल्ला वर्षहरुमा खासै चर्चामा नरहेको धाम एकाएक चर्चामा आएसँगै धार्मिक पर्यटकको चहलपहल निकै बढेको छ । साउन महिनामा मात्रै १० लाख बढी भक्तजनले नरसिंह धामको दर्शन गरेका छन् । नरसिंह धाम विकास संरक्षण मूल समितिका अध्यक्ष फणिकान्त छत्कुली भन्छन्–‘साउन महिनाको सुरुवातदेखि एक महिने विशेष मेला आयोजना गरियो । त्यसपछि देशका कुनाकाप्चा र भारतबाट पनि भक्तजन आउन थाले ।’ हिजोआज दैनिक सयौं भक्तजन धाममा पुग्छन् । बिदाको दिन त सानाठूला गरी दुई सय सवारी त्यहाँ पुग्ने गरेको उनको भनाइ छ । धाममा जाने भक्तजन बुढीगण्डकी र नेत्रावतीको दोभानमा नुहाउँछन् र नरसिंहको अवतारमा पूजापाठ गरी भेटी चढाएर फर्किन्छन् । धेरै भीड भएको दिन चार लाख रुपैयाँसम्म भेटी सङ्कलन भएको अध्यक्ष छत्कुलीले बताए । उनका अनुसार त्यही भेटीबाट केही खर्च छुट्याएर धाममा पुग्ने भक्तजनलाई प्रसादीको रुपमा निःशुल्क खाना खुवाउने व्यवस्था गरिएको छ । यस धामको २०६६ फागुनदेखि खोज अनुसन्धान सुरु भयो । शास्त्रीय प्रमाणका आधारमा पं. मोहन लामिछाने स्थानीयवासीको सहयोगमा नरसिंह मन्दिरको स्थापना गरे । २०६७ सालमा आँपको फेदमा बसेर पुराण लगाएर उठेको पैसाले मन्दिरको संरचना निर्माण थालियो । मन्दिर बनाउने स्थान खार्ने क्रममा लिच्छबीकालीन सिक्का पैसा, इँट्टाका मूर्तिलगायत भग्नावषेश फेला प¥यो । त्यसपछि हरेक वर्ष पुराण लगाउन थालियो । २०७२ सालको भूकम्पले मन्दिर भत्किएपछि उत्खनन् गर्दा प्राचीन ढुङ्गा, इँटा र सिक्काहरू भेटिएको थियो । सल्यानटारको तल्लो क्षेत्र सबै बालुवा र ढुङ्गाको डाँडो जस्तो छ । तर यस ठाउँमा भने सात/आठ फिट गहिरो खन्दा चिम्ट्याइलो रातो माटो र इँटाका अवशेष भेटिन्छन् । विसं २०७६ देखि २१ करोडको लागतमा नयाँ मन्दिरको सुरुवात गरिएको छ । मन्दिर निर्माणका लागि विभिन्न पालिकाहरुको लगानी रहेको छ भक्तजनबाट सङ्कलन भएको रकमबाट मन्दिरका अतिरिक्त गुरूकुल भवन, आवास गृह, प्रसादी गृह, गौशालालगायतका भौतिक संरचना निर्माण भइरहेको छ । यहाँ गुरूकुल पनि सञ्चालन भइरहेको छ । यसका लागि शिक्षा मन्त्रालयले दुई वटा विद्यालय भवन बनाउन सहयोग गरेको छ । गुरूकुलमा हाल ५० भन्दा बढी विद्यार्थी छन् । भक्त प्रल्हादले ज्ञान प्राप्त गरेकाे स्थल भएकाले यो स्थान गुरूकुल सञ्चालनको निम्ति अत्यन्त महत्वपूर्ण रहनेको पुरोहित गणेश लोहनी बताउछन् । भक्त प्रह्लादले तपस्या गर्दा भगवान् नरसिंहले नदीबाट प्रकट भएर दर्शन दिएकाले त्यो नदीको नाम नारसिंहे भनेर रहन गयो र त्यो नदी नै अहिले नेत्रावती (आँखु) नामले चिनिन्छ । नेत्रावती नदी भगवान् शिवजीको आँखाबाट बगेकी हुन् भन्ने पनि जनविश्वास पाइन्छ । नरसिंह स्फटिक खम्बाबाट धाम हुँदै आगिञ्चोकसम्म पुग्दा भगवान् नरसिंह प्रकट भएको स्थल, होलीको दहन भएको स्थल (आगिञ्चोक), नारदमुनिले प्रह्लादलाई उपदेश दिनु भएको स्थल पनि यही हो भनिएको छ । विभिन्न पुस्तकहरुमा लेखिएअनुसार यस स्थानलाई श्वेतवराह कल्पमा प्रह्लाद महाराजले तपस्या गरेर भगवान् नरसिंह प्रकट भई दर्शन दिएको स्थल भनी उल्लेख गरिएको छ । अहिलेसम्म तीन सय विद्यार्थी राख्न मिल्ने गुरूकुल भवन, चार सयसम्मलाई खाना खुवाउन सकिने प्रसादी गृह, दुई सय जनालाई राख्न सकिने अतिथि आवास गृह, ४० ओटासम्म गाई पाल्न सकिने गौशालाका साथै भण्डार कक्षहरुको निर्माण सम्पन्न भइसकेको छ । हाल श्रीवास कृष्णदास ब्रह्मचारीको सत्संकल्पमा मन्दिर निर्माणसहित यस क्षेत्रलाई विशिष्ट धामको रूपमा विकसित गर्ने उद्देश्यका साथ काम अगाडि बढिरहेको छ । पुरातत्वविद्ले खोज अनुसन्धानमा यहाँ लिच्छवीकालीन बस्ती भएको अनुमान गरिएको छ । अर्कोतर्फ वैदिक सनातन शास्त्रहरूमा भगवान् नरसिंहदेवको विभिन्न १२ वटा प्राकट्य स्थल र १२ वटा नरसिंह पीठमध्ये यो स्थानलाई पनि एक पीठको रूपमा वर्णन गरिएको छ । शास्त्रीय हिसाबले यी दुई नदी बुढीगण्डकी र नेत्रावतीलाई नार सिंह र ब्राह्मी भनेर स्कन्द पुराण र पद्म पुराणमा व्याख्या गरिएको छ । स्थानीय पाकाहरूको भनाइअनुसार घाटबेंसी जाने पुल बन्नुभन्दा पहिला मानिसहरू गण्डकी नदी पार गर्न जँगार तर्नुपर्दा यहाँ तल आउनुपर्ने बाध्यता थियो । त्यतिखेरसम्म यहाँ पूजाआजा हुने गर्दथ्यो । त्यतिबेला यहाँ मन्दिर थिएन । तर यहाँ नरसिंह देवता छन् भन्दै थुम्कामा फूलपाती र भेटी चढाएर जाने चलन थियो भन्ने कथन छ । त्यतिबेला कतिपय मानिसले जताततै इँटा देखिने हुँदा यस क्षेत्रलाई इँटको डाँडो भन्ने गरेको किंवदन्ती छ । पछिल्लो समय मन्दिर निर्माणको निम्ति उत्खनन् गर्दा पनि २०३५ सालभन्दा अगाडिका झण्डै २ पाथी जति सिक्का भेटिएको थियो । नरसिंह धाम पछिल्लो समय आन्तरिक पर्यटनको गन्तव्य बनिसकेको छ । साउन महिनाभर चलेको पुरुषोत्तम महायज्ञ कथा अर्चना तथा नृसिंह महायज्ञले यसलाई अझ परिचित गराएको छ । विभिन्न सामाजिक संजालहरुमार्फत पनि यसको प्रचार निकै भएको पाइन्छ । धादिङ र गोरखाका स्थानीय सरकारहरुले पनि धामको प्रचार र यस क्षेत्रको पर्यटनको विकासमा राम्रै सहयोग गरिरहेको छ । नरसिंह धामलाई धार्मिक पर्यटनका लागि देशकै नमूना स्थल बनाउने योजनासहित काम गरिरहेको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले बताए । यो वर्ष बाटो स्तरोन्नति गराएर सानाठूला सबै सवारीलाई सजिलै धामसम्म पु¥याउने योजना रहेको उनको भनाइ छ । हाल मन्दिर निर्माण भइरहेको स्थान बुढीगण्डकी जलविद्युत् आयोजनाले डुबानमा पर्ने भएपछि ७० मिटर अग्लोसम्म पानीको ताल जाँदा त्यसलाई थेग्न सक्ने गरी जग राखिएको समितिका अध्यक्ष छत्कुलीको भनाइ छ । ताल बनेपछि मन्दिरसम्म ढुङ्गामा आउने र लिफ्टबाट मन्दिरमा झर्ने र दर्शन गरेर फर्किन सकिने गरी मन्दिरको संरचना निर्माण भइरहेको उनले जानकारी दिए । धादिङको सदरमुकाम धादिङबेसीबाट मुरलीभञ्ज्याङ, ज्यामिरेबजार हुँदै टारीबेसी पुगिन्छ । त्यसपछि देशकै चर्चिक टार सल्यानटार उक्लिएर नरसिंह धामको ओरालो झर्नुपर्छ । धादिङबेसीबाट सयानटारको बसको यात्रा करिब एक घण्टा ४५ मिनेको हो । धादिङबेसीबाट आरुघाट जाने बसले सल्यानटारको पानी ट्याङ्की भन्ने ठाउँसम्म पु¥याउँछ । त्यसपछि म्याजिक भ्यानबाट करिब २० मिनेट नरसिंह धाम परिसर पुग्न सकिन्छ । रासस
गाउँ-गाउँमा साना बजार, ठूला बजारका व्यापार ठप्प
बागलुङ । कुनै समयमा बागलुङ बजार धौलागिरि क्षेत्रको व्यापारिक केन्द्र थियो । बागलुङका दूरदराजदेखि पर्वत, म्याग्दी र मुस्ताङमा यहाँबाट सामान पुग्थ्यो । बागलुङ बजारमा विभिन्न ठाउँका व्यापारी र ग्राहकको भीड नै लाग्ने गर्थ्यो । तर, अहिले बागलुङ बजारदेखि मुख्य व्यापारिक बजार सुनसान बन्दै गएका छन् । स्थानीय तह गठन भएपछि गाउँ–गाउँमा ससाना बजार विस्तार भइरहेका छन् । पहिले बागलुङ बजारमा पाइने सबैथोक अहिले गाउँमा पाइन्छन् । गाउँमा आवश्यक सामान पाइने भएपछि ग्राहक बजारमा आउन छोडेका छन् । बागलुङमा खास गरी दुई मुख्य नाकाबाट सामान भित्रिने गर्छ । एउटा मालढुंगा नाका अर्को हाँडीखोला नाका । मालढुंगा नाकाबाट भित्रिने अधिकांश सामान वीरगन्ज, काठमाडौँ र पोखराबाट आउँछ भने हाँडीखोला नाकाबाट भने बुटवल र सुनौलीबाट सामान भित्रिने गर्छ मालढुंगादेखि भित्रिने सामान पूर्वी बागलुङमा खपत हुने गर्छ भने हाँडीखोलाबाट भित्रिने पश्चिम बागलुङ र पूर्वी रुकुममा बढी खपत हुने गरेको छ । गाउँबाट समान किनमेलका लागि बजार झर्न छोडेपछि बागलुङ बजारमा व्यापार निकै कम भएको छ । गाउँ-गाउँमा मोटरबाटो पुगेपछि बजारमा घट्न थालेको बजार कोरोना संक्रमणकालपछि झन् सुस्ताएको छ । आर्थिक मन्दीका कारण व्यापार निकै कम भएको व्यापारीको गुनासो छ । एक वर्षयता व्यापार ५० प्रतिशतले आधा भएको उनीहरुको भनाइ छ । व्यापार घट्दै गएपछि बागलुङ बजारमा धमाधम व्यापारीले पसल बन्द गर्न थालेको उद्योग वाणिज्य संघ बागलुङका महासचिव ऋषिराम गौतमले बताए । कोभिड–१९ ले सुस्ताएको व्यापार आर्थिक मन्दीका कारण व्यापारी समस्यामा परेको उनको भनाइ छ । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज र महँगो भाडाका कारण व्यापारी पलायन हुने अवस्था आएको उनले बताए । ६ महिनामा बागलुङ बजारका धेरै सटर पसल बन्द भएको उनले जानकारी गराए । केही समयअघि बागलुङमा सञ्चालित शिव शिखर बहुद्देश्यीय सहकारी र इमेज सहकारीका सञ्चालकले व्यापारीको करोडौँ रकम हिनामिना गरेर फरार भएपछि व्यापार व्यवसायमा थप समस्या सिर्जना भएको उनले बताए । ‘चाडवर्प आउन थाल्यो, बजार सुनसान छ, पहिला–पहिले यस्तो हुँदैनथ्यो, यो समय निकै चहलपहल हुन्थ्यो, अहिले व्यापारीलाई सामान खरिद गर्न भ्याइनभ्याइ हुन्थ्यो, अहिले महिनौँ अगाडि ल्याएर गोदाममा राखेको सामान यतिकै थन्किएका छन्,’ महासचिव गौतमले भने, ‘व्यापारीलाई पहिले ल्याएर राखेका सामान कटाउनै मुस्किल छ, नयाँ सामान ल्याएर बिक्री गर्न सक्ने अवस्था छैन, गाउँपालिका/नगरपालिका आएपछि घटेको व्यापार अहिले निकै कम भएको छ ।’ बागलुङ बजारमा ३० वर्षदेखि व्यवसाय गर्दै आएका डिल्ली गौतमले व्यापार सुस्ताउँदा दैनिकी चलाउन गाह्रो हुने स्थिति आउन थालेको बताए । ६ वर्षअघि बागलुङ बजारको व्यापार ५० प्रतिशतले घटेको र कोभिडपछि थप ३० प्रतिशत व्यापार कम भएको गौतमले बताए । पहिले बागलुङ बजार जिल्ला सदरमुकाम र साविक धौलागिरी अञ्चलको केन्द्र भएको हुँदा व्यापार निकै भएको स्मरण गर्दै अहिले गाउँ-गाउँसँग व्यापार बाडिएको बताए । महासचिव गौतमले भने, ‘३० वर्षअघिको तुलनामा अहिले बागलुङ बजारको व्यापार ८० प्रतिशतले कम भएको छ, व्यापार कम हुनुमा पहिलो त संघीयताको प्रभाव हो, त्यसपछि गाउँगाउँमा मोटरबाटो पुग्नु, दुई-तीन वर्ष कोरोना र अहिले आर्थिक मन्दी मुख्य कारण हो, बजारको अवस्था हेर्नुहुन्छ भने कहिले त एउटा सामान पनि बिक्री हुँदैन, दिनभरि पसलमा बस्यो, अरु काम गर्नु पनि छैन, युवा त विदेश जालान्, अरु केही गर्लान्, हामी उमेरले नेटो काट्न लागेका गाउँ फर्किनुको विकल्प हुँदैन ।’ निसीखोलाका व्यापारी वीरबहादुर क्षेत्रीले ६ वर्षदेखि ग्रामीण क्षेत्रमा व्यापार बढ्दै गएको बताए । एक दशक अघिसम्म सुनसान गाउँमा अहिले व्यापारिक चहलपहल बढ्दै गएको उनको भनाइ छ । निसीखोलाको देवस्थान, जुग्जाखोला, झिवाखोला, वडावन खोला, निसी, भल्कोट र सीपमा अहिले व्यापार फस्टाउँदो रहेको क्षेत्रीले बताए । पहिले यहाँका हजारौँ नागरिक सामान्य किनमेलाका लागि घण्टौँ लगाएर बुर्तिबाङ पुग्ने र घोडा खच्चडमार्फत सामान ढुवानी गरेर बेच्ने गरेको सुनाउँदै अहिले घरै अगाडि सडक आएको हुँदा सहज भएको उनी बताउँछन् । ‘अहिले गाउँमा दुःख हरायो, पहिले दोकान, पसल धेरै टाढा हुन्थे, मान्छेले एउटा कपडालाई वर्षौंसम्म सुरक्षित तरिकाले लगाउनुपर्थ्यो, नुनतेल र चामल लामो समयसम्म पुग्ने गरी अड्कल गरेर खानुपर्थ्यो,’ क्षेत्रीले भने, ‘अहिले घरघरमा पसल खुलेका छन्, गाउँलेलाई सहज भएको छ, व्यापार पनि राम्रो छ, पहिलेको जस्तो घोडा खच्चडमा ढुवानी गरेर महँगोमा बेच्नुपर्ने अवस्था पनि छैन, सुविधा पनि आयो, व्यापार पनि भयो ।’ पालिकाको केन्द्र बनेपछि तमानखोलाको बोङ्गादोभान, ताराखोलाको भातखानेडाँडा, बरेङको बरेङडाँडालगायतका गाउँमा व्यापार बढ्दो क्रममा रहेको उनको भनाइ छ । अहिले जिल्लाका बस्ती-बस्तीमा सडक पुगेका छन् । सडकले गर्दा दुर्गम गाउँसम्म पनि ससाना पसल सञ्चालनमा आएका छन्, जसले स्थानीयको दिनचर्या सहज बनाइदिइको छ । बर्खामा भने ग्रामीण सडक पूर्ण रुपमा सञ्चालन हुन सकेका छैनन् । रासस
सुनको मूल्य ४ दिनदेखि स्थिर हुँदा चाँदीको सामान्य घट्यो
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ कायम भएको छ । पछिल्लो चार दिनदेखि सुनको मूल्य स्थिर रहँदै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य स्थिर रहि प्रतितोला एक लाख १० हजार पाँच सय ५० रुपैयाँकायम छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार ४६० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।
सरकारले पहिलो प्राथमिकता स्टार्टअपलाई दिनुपर्छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सरकारले पहिलो प्राथमिकता स्टार्टअपलाई दिनुपर्ने बताएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको स्टार्टअप सम्मेलन २०३० लाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । पछिल्लो समय युवाहरू बिदेश पलायन हुने ठूलो चुनौती रहेको भन्दै उनले स्टार्टअपलाई दीर्घकालीन बनाउनुपर्ने बताए । ‘स्टार्ट अप सम्बन्धि नीति बनाइरहेको भनेपनि चासो दिएको छैन, सबैभन्दा पहिलो प्राथमिकता स्टार्ट अप लाई राख्नु पर्यो सरकारले’, उनले भने, ‘सुरु गरेर मात्रै हुदैन यसलाई निरंतरता दिन सक्नु पर्छ, सफल मुलुक बनाउन स्टार्ट अपको भूमिका महत्पवूर्ण छ ।’
नीतिगत व्यवस्था गरेर स्टार्टअपलाई बढावा दिन्छौँ : मन्त्री रिजाल
काठमाडाैं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नीतिगत व्यवस्था गरेर स्टार्टअपलाई बढावा दिने बताएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको स्टार्टअप सम्मेलन २०३० लाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । उनले स्टार्टअपका लागी उपयुक्त वातावरण सिर्जना गरि लगानी गर्न प्रोत्साहित गर्ने उद्घोष गरे । यस्तै, उनले वैदेशिक रोजगार बाट फर्किएका नेपालीका लागि स्वदेश मै काम गर्ने वातावरण बनाइने बताए ।
एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल
काठमाडौं । एनएलजी इन्स्योरेन्सले हकप्रद सेयर निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केटलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा आइतबार कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्काशन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा एनएलजी इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् । यस एनएलजी इन्स्योरेन्स कम्पनीको हालको पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९०.५० रुपैयाँको प्रति सेयर अंकित १०० रुपैयाँको दरले १० कित्ता सेयरको ६.६ को अनुपातमा ९,६३१,२२०.२२ कित्ता हकप्रद सेयर निष्काशन गर्ने छ ।