इंग्ल्यान्डको पुरुष टोली क्रिकेट खेल्न नेपाल आउँदै
काठमाडौं । इंग्ल्यान्डको पुरुष क्रिकेट टोली नेपाल भ्रमण गर्ने सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय टोली बन्न सक्ने सम्भावना देखिएको छ । इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी)ले सन् २०२७–३१ इन्टरनेशनल तालिकाको कुनै चरणमा नेपालमा छोटो टी–२० अन्तर्राष्ट्रिय तालिका आयोजना गर्ने सम्भावनाबारे अध्ययन गरिरहेको हो । पछिल्ला वर्षहरूमा नेपाली क्रिकेट तीव्र गतिमा अघि बढिरहेको छ । गत वर्ष संयुक्त अरब इमिरेट्स (यूएई) मा वेस्ट इन्डिजलाई हराउँदै नेपालले पहिलो पटक पूर्ण आईसीसी सदस्य राष्ट्रविरुद्ध शृंखला जितेको थियो । तर अहिलेसम्म टेस्ट खेल्ने कुनै राष्ट्रले नेपालमा औपचारिक अन्तर्राष्ट्रिय भ्रमण गरेको छैन । यो अवस्था भने यसै वर्ष परिवर्तन हुन सक्ने देखिएको छ । क्रिकेट आयरल्याण्डले मार्चमा क्रिकेट संघ नेपाल (क्यान) सँग पाँच वर्षे ‘रणनीतिक साझेदारी सम्झौता’ गरेको घोषणा गर्दै सन् २०२६–२७ को जाडोयाममा सीमित ओभरको भ्रमण गर्ने योजना सार्वजनिक गरेको थियो । इंग्ल्यान्ड र नेपालबीच पहिलो पटक गत फेब्रुअरीमा टी–२० विश्वकपमा भेट भएको थियो । वानखेडे स्टेडियममा नेपाली समर्थकहरूले भरिएको वातावरणमा इंग्ल्यान्डले अन्तिम बलमा रोमाञ्चक जित निकालेको थियो । त्यस खेलपछि भारतमै क्यानका सचिव तथा नेपालका पूर्वकप्तान पारस खड्काले ईसीबी अधिकारीहरूसँग भेट गरेको जानकारी ईएसपीएनक्रिकइन्फोले जनाएको छ । ईसीबीले पछिल्ला महिनाहरूमा अन्य अन्तर्राष्ट्रिय बोर्डहरूसँग मिलेर सन् २०२७–३१ को ‘फ्युचर टुर्स प्रोग्राम’ (एफटीपी) मा काम गरिरहेको छ । तर नयाँ विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटीसी) को ढाँचाबारे आईसीसीको अन्तिम निर्णय आउन बाँकी रहेकाले अझै केही विषय टुंगो लाग्न बाँकी छन् । यसमा शृंखलामा कम्तीमा दुई टेस्ट हुनुपर्ने नियम हटाइने वा नहटाइने विषय पनि समावेश छ । यद्यपि ईसीबीले उक्त चक्रभित्र कुनै समय नेपालमा छोटो पुरुष भ्रमण गर्ने सम्भावनालाई गम्भीर रूपमा विचार गरिरहेको छ । सम्भवतः अर्को सीमित ओभरको भ्रमण जस्तै, भारत भ्रमण अघि नेपाल भ्रमण तालिकामा राख्न सकिनेछ । अन्तर्राष्ट्रिय खेलतालिका अत्यन्त व्यस्त भएकाले थप खेल थप्न ईसीबी सतर्क भए पनि दुई वा तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखलाले अर्को शृंखलाको तयारीको रूपमा काम गर्न सक्ने र तालिकामा केही दिन मात्र थप्ने विश्वास गरिएको छ । नेपालका कप्तान रोहित पौडेलले टी–२० विश्वकपका क्रममा कुनै ठूलो राष्ट्रले नेपाल भ्रमण गर्नुले क्रिकेटलाई ‘विश्वव्यापी बनाउन मद्दत’ पुग्ने बताएका थिए । ‘विशेषगरी अस्ट्रेलिया वा इंग्ल्यान्ड नेपाल आए त्यो हाम्रो लागि धेरै ठूलो कुरा हुनेछ,’ उनले भनेका थिए, ‘यसले विश्व क्रिकेटलाई नेपाल पनि क्रिकेट खेल्छ र राम्रो क्रिकेट खेल्छ भन्ने देखाउनेछ । यो अत्यन्त महत्वपूर्ण कुरा हो ।’ बेलायतको प्रमुख टेलिभिजन अधिकारधारी स्काइ स्पोट्र्सले आइतबार ‘नेपालस् क्लाइम्बिङ क्रिकेट्स माउन्टेन’ नामक वृत्तचित्र प्रसारण गरेको थियो । उक्त वृत्तचित्रमा नेपालको क्रिकेटप्रतिको उत्साहलाई देखाइएको छ । त्यस क्रममा पारस खड्काले प्रमुख अन्तर्राष्ट्रिय टोलीहरूलाई नेपाल भ्रमण गर्न र नेपाली क्रिकेटलाई ‘एक्सपोजर’ दिन आग्रह गरेका थिए । ‘अहिले नेपाली क्रिकेटलाई सबैभन्दा आवश्यक कुरा भनेको एक्सपोजर हो,’ खड्काले भने, ‘हामी एकदिवसीय मान्यता प्राप्त देश भएकाले टेस्ट खेल्ने राष्ट्रहरूसँग खेल्न चाहन्छौं । किनभने राम्रो क्रिकेटरसँग खेल्दा र बलिया प्रतिद्वन्द्वीसँग भिड्दा मात्रै खेलाडीको स्तर उकासिन्छ। त्यही बेला खेल सिकिन्छ ।’ ‘यसले नेपालका नयाँ पुस्ताका बालबालिकामा थप उत्साह जगाउनेछ, किनभने क्रिकेट अहिले युवा नेपालीहरूको मनमा बसिसकेको छ । क्रिकेट केवल खेल मात्र होइन, यो देशलाई एकताबद्ध बनाउने सबैभन्दा ठूलो माध्यम बनेको छ,’ उनले थपे । सन् २०२७ को घरेलु गर्मीयाममा इंग्ल्यान्डले प्रतिष्ठित एसेस शृंखलाअन्तर्गत अस्ट्रेलियाको सामना गर्नेछ । साथै पाकिस्तान (जुन) र न्युजिल्यान्ड (सेप्टेम्बर) पनि सीमित ओभरको शृंखलाका लागि इंग्ल्यान्ड भ्रमणमा जाने सम्भावना छ । आईसीसीले डब्लुटीसीको २०२७–२९ संस्करणको ढाँचाबारे अन्तिम निर्णय गरेपछि पाकिस्तान भ्रमणमा एक टेस्ट खेल पनि समावेश हुन सक्नेछ । इंग्ल्यान्ड महिला टोलीले पनि सेप्टेम्बरमा बंगलादेश र अस्ट्रेलियाविरुद्ध एसेस शृंखला आयोजना गर्ने कार्यक्रम रहेको छ । तर खेल तालिका श्रीलंकामा हुने पहिलो महिला च्याम्पियन्स ट्रफीको तालिकामा निर्भर रहनेछ ।
एसईईको नतिजा आज साँझ सार्वजनिक गरिँदै
काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज साँझ ७ बजेपछि सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आजै नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ । यसका लागि अहिले साँझ ५ बजे बोर्ड सदस्यहरूलाई डेमो देखाउने तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए । ‘हामीले बोर्ड बैठक साँझ ५ बजे बोलाएका छौं, जहाँ डेमो दोखाउने कार्यक्रम छ, डेमो देखाउने कार्यक्रम सफल भएको एक दुइ घण्टापछि नतिजा सार्वजनिक गर्छौ,’ परीक्षा नियन्त्रक अधिकारीले विकासन्युजसँग भने । उनले साँझ ७ बजे नतिजा सार्वजनिकका लागि पत्रकारलाई बोलाउने तयारी भइरहेको बताए । यस वर्ष पहिलोपटक परीक्षा सकिएको एक महिनाभित्रै एसईईको नतिजा सार्वजनिक हुन लागेको हो । गत चैत १९ देखि २९ सम्म सञ्चालन भएको यस वर्षको एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसईईको नतिजा एसएमएस गरेर, आईभीआर वा सिधै वेबसाइटमा गएर हेर्न सकिनेछ ।
दृष्टिविहीनका लागि बैंकिङ सहज बनाउन कामना सेवाको पहल
काठमाडौं । कामना सेवा विकास बैंकले समावेशी बैंकिङलाई प्रवर्द्धन गर्दै दृष्टिविहीन व्यक्तिहरूलाई बैंकिङ पहुँचसँग जोड्ने उद्देश्यका साथ वित्तीय साक्षरता तथा हस्ताक्षर तालिम कार्यक्रम सम्पन्न गरेको छ । सर्वोदय परियोजनासँगको सहकार्यमा आयोजित उक्त दुईदिने कार्यशालामा दृष्टिविहीन सहभागीहरूलाई वित्तीय ज्ञान प्रदान गरिएको थियो । कार्यक्रममा बैंकका ब्रान्डिङ तथा सीएसआर प्रमुख सुशील पौडेलले बचतको महत्व, व्यक्तिगत तथा पारिवारिक बजेट निर्माण, आर्थिक अनुशासन, आर्थिक लक्ष्य, भविष्यका लगानी अवसर, डिजिटल कारोबार तथा डिजिटल ठगीजस्ता विषयमा वित्तीय साक्षरता प्रदान गरेका थिए । साथै, हस्ताक्षर सम्बन्धी व्यावहारिक अभ्यासमार्फत सहभागीहरूलाई बैंकिङ प्रक्रियामा सहजता र आत्मविश्वास बढाउने प्रयास गरिएको थियो । कार्यक्रममा ४० जना दृष्टिविहीन व्यक्तिहरूको सहभागिता रहेको थियो । बैंकले यस्ता तालिमहरूले दृष्टिविहीन व्यक्तिहरूलाई बैंकिङ सेवा सहज रूपमा उपयोग गर्न सहयोग पुग्ने विश्वास लिएको छ । सर्वोदय परियोजनाका अध्यक्ष युवराज वाग्लेले कामना सेवा विकास बैंकको समावेशी बैंकिङ पहल तथा हस्ताक्षर तालिमप्रति खुशी व्यक्त गर्दै कार्यक्रम उपयोगी र प्रभावकारी रहेको बताए । सोही संस्थाका सौगात वाग्लेले आफू पनि दृष्टिविहीन भएको उल्लेख गर्दै बैंकिङ सेवामा सहज पहुँचका कारण सुरक्षित रूपमा सेवा उपयोग गर्न सकिरहेको अनुभव साझा गरे । कामना सेवा विकास बैंकले दृष्टिविहीनहरूलाई लक्षित गर्दै ‘स्वाभिमान बचत खाता’ सञ्चालनमा ल्याएको छ । उक्त खाता खोल्ने ग्राहकले मोबाइल बैंकिङ, एटीएम कार्डलगायतका सुविधा प्रयोग गर्न सक्नेछन् । दृष्टिविहीन ग्राहकका लागि अतिरिक्त कागजात वा साक्षी आवश्यक नपर्ने तथा खाता सञ्चालनसम्बन्धी शर्तहरू ब्रेल लिपिमा समेत उपलब्ध गराइने बैंकले जनाएको छ। कार्यक्रमको समापनमा बैंकका सीएसआर प्रमुख सुशील पौडेलले तालिमलाई आगामी दिनमा अझ प्रभावकारी र विस्तारित बनाउँदै दृष्टिविहीन व्यक्तिहरूलाई आत्मनिर्भर तथा सहज बैंकिङ अभ्यासतर्फ प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बैंकले यस्ता कार्यक्रमहरूले वित्तीय पहुँचसँगै सामाजिक समावेशिता र आत्मविश्वास वृद्धि गर्न सहयोग पुग्ने विश्वास लिएको छ ।
दाङको हापुरेमा कजारिया टायल्सको नयाँ शोरुम सञ्चालनमा
काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले दाङको हापुरेमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । हापुरे मार्बल प्रा.लि.द्वारा व्यवस्थापन गरिने यस शोरुमले स्थानीय बासिन्दा, आर्किटेक्ट तथा डिजाइनरहरूलाई कम्पनीका उच्च गुणस्तरीय टायल्स र इन्टेरियर समाधानहरूको उत्कृष्ट अनुभव प्रदान गर्ने जनाएको छ । शोरुमको औपचारिक उद्घाटन आइतबार सम्पन्न भएको हो । उद्घाटन समारोहमा कजारिया रमेश टायल्स लिमिटेडका प्रतिनिधि तथा हापुरे मार्बल प्रा.लि.को टोलीको उपस्थिति रहेको थियो । कार्यक्रममा स्थानीय समुदायलाई नयाँ शोरुमको अवलोकनका लागि स्वागत गरिएको थियो । नयाँ शोरुमलाई ग्राहकमैत्री र सहज किनमेल अनुभव हुने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ । यहाँ कजारियाका अत्याधुनिक फ्लोर तथा वाल टायल्सका विभिन्न कलेक्सन उपलब्ध छन् । ग्राहकहरूले विभिन्न टेक्सचर र फिनिस प्रत्यक्ष रूपमा अवलोकन गर्न सक्ने भएकाले घर तथा परियोजनाका लागि उपयुक्त छनोट गर्न सहज हुने अपेक्षा गरिएको छ । उद्घाटनका क्रममा कजारिया रमेश टायल्स लिमिटेडका प्रतिनिधिले हापुरे मार्बल प्रा.लि.सँगको सहकार्यमा दाङका बासिन्दासम्म आफ्ना उत्पादन पुर्याउन पाउँदा खुसी लागेको बताए । उनले ग्राहकलाई उच्च गुणस्तरका सामग्री उपलब्ध गराउँदै सपनाको घर सजाउन सहयोग गर्नु कम्पनीको मुख्य उद्देश्य रहेको उल्लेख गरे । नयाँ शोरुम हाल पूर्ण रूपमा सञ्चालनमा आएको छ । कम्पनीले हापुरे तथा आसपासका क्षेत्रका बासिन्दालाई नयाँ कलेक्सन अवलोकन गर्न हार्दिक आमन्त्रण गरेको छ ।
प्राधिकरण कञ्चनरूप वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । नेपाल विद्युत प्राधिकरण सप्तरीस्थित कञ्चनरूप वितरण केन्द्रका प्रमुख महेन्द्रकुमार दास विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्राहकसँग १ लाख ४० हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । दासमाथि चार्जिङ स्टेशनको लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने भन्दै ग्राहकसँग घुस लिएको आरोप छ । सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले दासलाई उक्त रकमसहित नियन्त्रणमा लिएको थियो ।
३८ अंकले बढ्यो नेप्से, फर्स्ट माइक्रोको सेयरमा सकारात्मक सर्किट
काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८ अंकले बढेर २७८३ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार २४७ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको सेयर मूल्य घटेको छ । ४ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३३२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको छ । साथै सबैभन्दा धेरै कारोबार रिलाइन्स स्पिीनिङको भएको छ । रिलाइन्सको २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै नेसनल हाइड्रोको १७ करोड, एसवाई प्यानलको १६ करोड, रिडि पावरको १५ करोड ८८ लाख र साहस ऊर्जाको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । फर्स्ट माइक्रो फाइनान्सको सेयर मूल्य १४.१९ प्रतिशले बढेर सकारात्मक सर्किट लागेको छ । सोमबारको कारोबारमा सबै उपसमूहका सूचकमा हरियाली छाएको छ । बैंकिङ १.०२ प्रतिशत, डेभलपमेन्ट बैंक १.३६ प्रतिशत, फाइनान्स १.८१ प्रतिशत, होटल तथा टुरिजम ०.६९ प्रतिशत, हाइड्रो १.७९ प्रतिशत, इन्भेष्टमेन्ट १.२५ प्रतिशत, लाइफ इन्स्योरेन्स ०.९९ प्रतिशत, उत्पादन तथा प्रसोधन १.३० प्रतिशत, माइक्रोफाइनान्स १.७० प्रतिशत, म्युचल फन्ड ०.०६ प्रतिशत, नन लाइफ इन्स्योरेन्स १.६० प्रतिशत, अन्य २.११ प्रतिशत र ट्रेडिङको १.१५ प्रतिशतले बढेका छन् ।
सभामुख र उपसभामुख नहुँदा सभा चलाउन ७ सदस्य मनोनित
काठमाडौं । प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले सभामुख र उपसभामुख नहुँदा सभा सञ्चालन गर्न सात सदस्य मनोनित गरेका छन् । सोमबार (आज) प्रतिनिधि सभाको बैठकमा उनले मनोनित गरेको जानकारी गराएका हुन् । मनोनित हुने सदस्यमा कामिनी कुमारी, गंगालक्ष्मी अवाल, ताहिर अलि भाट, पूर्णप्रसाद लिम्बू, बलावती शर्मा, मिङमा ग्याबु शेर्पा र यज्ञबहादुर बोगटी छन् रहेका छन् ।
सर्वोच्चले भन्यो : विद्यार्थी संगठन खारेज नगर्नू
काठमाडौं । सर्वोच्च अदालतले विश्वविद्यालयभित्र रहेका विद्यार्थी संगठनहरू खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । वर्तमान सरकारले विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज गर्ने निर्णय गरेपछि त्यसविरुद्ध आठ विद्यार्थी संगठनले संयुक्त रूपमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको हो । अदालतले दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन पनि आदेश दिएको जनाएको छ । सरकारको निर्णयपछि विद्यार्थी संगठनहरूले लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप भएको भन्दै विरोध जनाउँदै आएका थिए । अदालतको आदेशसँगै तत्कालका लागि विश्वविद्यालयमा विद्यार्थी संगठनहरू यथावत रहने भएका छन् ।