काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकहरूका लागि मोटरसाइकल खरिद प्रक्रियालाई थप सहज र किफायती बनाउन नयाँ फाइनान्सिङ योजना सार्वजनिक गरेको छ ।
हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) सँगको सहकार्यमा ल्याइएको यस योजनाअन्तर्गत अब ग्राहकले बजाज मोटरसाइकल खरिद गर्दा ३ वर्षको सट्टा अधिकतम ५ वर्ष (६० महिना) सम्मको ऋण सुविधा पाउनेछन् ।
ऋणको अवधि बढाउनुका साथै कम्पनीले ब्याजदरलाई पनि ९.९९ प्रतिशतबाट घटाएर ८.९९ प्रतिशत कायम गरेको छ । यो व्यवस्थाले मासिक किस्ता (इएमआई) उल्लेख्य रूपमा घट्ने भएकाले पहिलो पटक मोटरसाइकल खरिद गर्ने युवा, जागिरे र सीमित मासिक बजेट भएका परिवारलाई ठूलो राहत पुग्ने कम्पनीले जनाएको छ ।
यो नयाँ फाइनान्सिङ सुविधा प्लाटिना १००इएस देखि डोमिनार ४०० सम्मका सम्पूर्ण बजाज मोटरसाइकलहरूमा लागू हुनेछ ।
कम्पनीका अनुसार यो कुनै सीमित अवधिको छुट योजना नभएर ग्राहकको वास्तविक आवश्यकतालाई ध्यानमा राखेर ल्याइएको दीर्घकालीन व्यवस्था हो ।
मोटरसाइकल खरिद गर्दा कुल मूल्यभन्दा पनि मासिक किस्ता धेरैका लागि चुनौती बन्ने गरेको यथार्थलाई स्वीकार गर्दै बजाजले ऋणको अवधि विस्तार र ब्याजदर कटौती गर्ने निर्णय गरेको बताएको छ ।
नेपाल राष्ट्र बैंकको नियमनमा रहेको हुलास फिनसर्भमार्फत उपलब्ध हुने यो सहज किस्ता सुविधा देशभर रहेका एचएच बजाजका आधिकारिक शोरुमहरूबाट लिन सकिने कम्पनीले जानकारी दिएको छ ।
नयाँ व्यवस्थाअनुसार प्लाटिना १००इएसको मासिक किस्ता ३ हजार २५५ बाट घटेर २ हजार १२४ मा झरेको छ । जसबाट ग्राहकले प्रतिमहिना करिब १ हजार १३१ बचत गर्न सक्नेछन् ।
त्यसैगरी, डोमिनार ४०० को मासिक किस्ता पनि ८ हजार २२७ बाट घटेर ५ हजार ३७० पुगेको छ । जसले मासिक करिब २ हजार ८५७ सम्मको बचत दिलाउनेछ ।
यसका साथै बजाजका चर्चित मोडेलहरू पल्सर १२५, एन१२५, १५०, एन१५०, एन१६०, २२०एफ, २००एनएस, एन२५० र एनएस४००जेड लगायतका सम्पूर्ण मोटरसाइकलमा पनि मासिक किस्ता घटाइएको छ, जसले ग्राहकलाई आफ्नो बजेटअनुसार बाइक रोज्न सजिलो बनाउनेछ ।