नियमावलीको विवादित प्रावधान फिर्ता गर्न कांग्रेसको माग
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावली मस्यौदामा राखिएका केही प्रावधानप्रति गम्भीर आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले नियमावलीमार्फत भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने प्रयास गरिएको भन्दै विरोध जनाएका हुन् । उनले नियमावलीको नियम ४७ को उपनियम ३ प्रति आपत्ति जनाउँदै संसद् संविधान र प्रचलित कानुनभन्दा माथि हुन नसक्ने बताए । 'भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने प्रयास किन गरिएको हो ? संसद् संविधान र कानुनभन्दा माथि कसरी हुन सक्छ ?' भन्दै उनले प्रश्न उठाए । राईले आफूलाई इलामका जनताले 'बेदाग प्रतिनिधि' का रूपमा संसद्मा पठाएको उल्लेख गर्दै दाग बोकेर फर्किन नचाहने बताए । उनले नियमावलीका विवादित प्रावधानहरू भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३(१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ सँग बाझिएको दाबी गरे । उनले संसद्, संसदीय समिति र सांसदहरूको हकमा प्रचलित अन्य कानुन लागू नहुने व्यवस्था गर्न खोजिएको भन्दै त्यसप्रति पनि आपत्ति जनाए । 'नियम २३९ मा विशेष कानुन सरह लागू हुन्छ भनिएको छ । नियमावली कसरी विशेष कानुन हुन्छ ?' भन्दै उनले प्रश्न गरे । राईले प्रतिनिधिसभा सदस्यलाई विशेष अधिकार दिने गरी नियमावलीमा गरिएको व्यवस्था लोकतान्त्रिक मूल्य र विधिको शासनविपरीत भएको जिकिर गरे । उनले विवादित नियमावली तत्काल टेबुल नगरी पुनः समितिमा फिर्ता पठाउन माग गर्दै पर्याप्त छलफल, सहमति र पुनर्लेखनपछि मात्र सदनमा ल्याउनुपर्ने बताए ।
प्रतिनिधिसभा बैठक सञ्चालन
काठमाडौं । प्रतिपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभा बैठक सञ्चालन भएको छ । सोमबार केहीबेरअघि सुरु भएको प्रतिनिधिसभा बैठकको सुरुमै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाउँदै अवरोध गरेका थिए । बैठक प्रारम्भ हुनासाथ विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले संसद् सञ्चालनमा सहयोग गर्न र अवरोध हटाउन आग्रह गरेका थिए । त्यसपछि सदन सुरु भएको छ ।
मेरोविरुद्ध समाचार लेखेर अपमान गरियो : सांसद खरेल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले आफ्नो विषयमा प्रकाशित समाचारप्रति आपत्ति जनाएका छन् । उनले सोमबार प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै सांसद खरेलले म स्विजरल्याण्ड गएको भोलिपल्ट सुटुक्क भागे’ भन्ने आशयमा प्रकाशित समाचार भ्रामक र तल्लोस्तरको पत्रकारिता भएको टिप्पणी गरे । उ नले उक्त समाचारले आफ्नो राजनीतिक जीवन र पार्टीको अपमान गरेको बताए । ‘यो निरर्थक र तल्लोस्तरको पत्रकारिता हो । मेरो राजनीतिक जीवन र पार्टीप्रति अपमान गरिएको छ,’ उनले भने । सांसद खरेलले आफूले कुनै निर्णय वा फाइल अगाडि बढाएको प्रमाण भए राजनीतिक जीवनबाटै बिदा हुन तयार रहेको चुनौती दिए । ‘एउटा मिटिङ, एउटा फाइल अगाडि बढाउने निर्णय भएको छ भने म राजनीतिक जीवनबाट बिदा हुन सक्छु,’ उनले भने । उनले समाचार लेख्ने सञ्चारमाध्यम, सम्पादक तथा सञ्चालकलाई कारवाही हुनुपर्ने धारणा राखे । साथै, प्रेस काउन्सिल नेपाललाई अझ शक्तिशाली बनाउन आवश्यक रहेको धारणा पनि उनले राखे ।
हर्क साम्पाङको प्रश्न : राष्ट्रिय बजेट आउँदैछ कि रास्वपाको ?
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई साम्पाङले सरकारले ल्याउन लागेको बजेटलाई लिएर प्रश्न उठाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै उनले बजेट निर्माण प्रक्रियामा प्रतिपक्ष दलसँग पर्याप्त छलफल नभएको भन्दै सरकारको आलोचना गरे । सांसद साम्पाङले भने, ‘बजेट राष्ट्रिय बजेट हो कि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बजेट हो ?’ उनले बजेट निर्माण गर्दा सबै राजनीतिक दल र सरोकारवालासँग परामर्श आवश्यक रहेको बताए । उनले लिपुलेक क्षेत्रमा भारत र चीनबीच व्यापार सुरु भएको विषयमा पनि सरकार मौन बसेको आरोप लगाए । ‘लिपुलेकमा भारत र चीनले व्यापार सुरु गर्दा सरकार किन मौन छ ?’ भन्दै उनले राष्ट्रिय स्वाधीनताको विषयमा सरकार गम्भीर हुनुपर्ने बताए । साम्पाङले सुकुम्बासीमाथि सेनाको दुरुपयोग गरेर आतंक सिर्जना गरिएको आरोप समेत लगाए । उनले सुकुम्बासीलाई घरबारविहीन बनाइएको भन्दै प्रश्न गरे, ‘गरिबका भत्किएका घर र होल्डिङ सेन्टरमा प्रधानमन्त्री जानुभयो ?’ उनले अध्यादेशमार्फत ऐन ल्याउने सरकारी अभ्यासप्रति पनि आपत्ति जनाए । ‘अध्यादेश जारी गरेर ऐन ल्याउनु भनेको लोकतन्त्रको धज्जी उडाउनु हो,’ उनले भने । त्यस्तै, उनले सीमावर्ती नाकाबाट रातभर लागुऔषध तस्करी भइरहेको विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराए । ‘रातभर नाकाबाट लागुऔषध तस्करी भइरहेको कुरा आइरहेको छ, त्यतातिर ध्यान जाओस्,’ उनले संसदमा भने ।
लघुवित्तलाई ‘लघु बैंक’ भन्नुपर्छ, राष्ट्र बैंकलाई घचघच्याउने बेला आयो : शाक्य
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेश शाक्यले लघुवित्त संस्थाहरूलाई लघु बैंक भन्न पाउनुपर्ने बताएका छन् । नेपाल लघुवित्त बैंकर्स संघको १९ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै लघुवित्तहरूलाई सहकारीको रूपमा बुझ्नु गलत भएको र लघु बैंकको रूपमा स्वीकार गरिनुपर्ने धारणा राखे । शाक्यले लघुवित्त संस्थाहरूलाई हेर्ने सामाजिक र सरकारी दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । उनले भने, ‘लघुवित्त संस्थालाई हेर्ने दृष्टिकोण नै फरक छ । लघुवित्तलाई लघुवित्त होइन, अब ‘लघु बैंक’ भन्न पाउनुपर्छ ।’ लघुवित्त क्षेत्रका समस्या समाधानका लागि नियामक निकायलाई सक्रिय बनाउनुपर्ने उनको तर्क थियो । ‘अब घचघच्याउने बेला आएको छ,’ उनले भने । लघुवित्त क्षेत्रमा रहेका नीतिगत तथा व्यावहारिक जटिलताहरूलाई सम्बोधन गर्न ३६ वटा बुँदामा सुधार गर्नुपर्ने विषय पहिचान भएको उनले बताए । आफूले राष्ट्र बैंकभित्र सुधारका लागि निरन्तर पहल गरिरहेको बताउँदै शाक्यले अब लघुवित्तकर्मीहरूलाई पनि एकजुट भएर दबाब सिर्जना गर्न आग्रह गरे । ‘मैले राष्ट्र बैंकभित्र घचघच्याइरहेको छु, अब लघुवित्तकर्मीहरूले पनि आफ्नो तर्फबाट आवाज बुलन्द पार्नुपर्छ,’ उनले भने ।
मन्त्रालयको समन्वयपछि छोडिए शर्मा र बडु
काठमाडौं । शर्मा एण्ड कम्पनीका अध्यक्ष रमेश शर्मा र लामा कन्सट्रक्सनका प्रबन्ध सञ्चालक पिताम्बर बडुलाई सरकार र प्रहरी बसेर छलफल गरिसकेपछि छोडिएकाे छ । यसअघि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनीहरूसहित भौतिक पूर्वाधार मन्त्रालयका सचिव लगायतका कर्मचारी र प्रहरी अधिकारीहरुबीच छलफल भएको थियो । विभिन्न आयोजना निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा मन्त्रालयले उनीहरुसँग छलफल गरेको थियो । उनीहरुले ढिलो भइरहेका आयोजना समयमै सम्पन्न गर्ने आश्वासन दिएपछि सहज रुपमा छोडिएको बताइएको छ । शर्मा एण्ड कम्पनीका अध्यक्ष शर्माले सोमबार बिहान मन्त्रालयमा छलफल भएपछि सहज रुपमा फर्किएको बताए । ‘बिहान छलफल भएको हो, केही अन्डरस्टाण्डिङ भएको छ, मन्त्रालयबाट फर्किसक्यौं’ उनले भने । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्काले उनीहरुलाई नियन्त्रणमा लिएर मन्त्रालयको समन्वयमा छोडिएको जानकारी दिए ।
लघुवित्तमा व्यापक पुनरावलोकन आवश्यक, अराजकता फैलाउनेलाई कारबाही गर्ने तयारीको स्वागत
काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघका पूर्वअध्यक्षहरूले बदलिँदो सामाजिक र आर्थिक परिवेश अनुसार लघुवित्त क्षेत्रको लक्ष्य र नीतिमा व्यापक पुनरावलोकन गर्नुपर्नेमा जोड दिएका छन् । संघको १९ औं वार्षिक साधारणसभामा बाेल्दै उनीहरूले लघुवित्त क्षेत्रमा देखिएका समस्या र सरकारको पछिल्लो कदमबारे धारणा राखेका हुन् । संघका पूर्वअध्यक्ष प्रकाश शर्माले लघुवित्त संस्थाहरूको वर्तमान अवस्थालाई नयाँ ढंगले हेर्नुपर्ने बताए । ‘३४ वर्षअघिको समाज र आर्थिक स्थिति अहिले पूर्ण रूपमा परिवर्तन भइसकेको छ,’ उनले भने, ‘समय फेरिएकाले अब लघुवित्तका लक्ष्य र नीतिहरूमा पनि पुनरावलोकन गर्ने बेला आएको छ ।’ यस्तै, वित्तीय अराजकता फैलाउनेहरूलाई फौजदारी कानुन अनुसार कारबाही गर्ने सरकारको तयारीप्रति उनले खुसी व्यक्त गरे । यस कदमले लघुवित्त क्षेत्रमा उत्साह जगाएको उनको भनाइ थियो । अर्का पूर्वअध्यक्ष वसन्त लम्सालले सरकार र नियामक निकायको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरे। लघुवित्तले सामाजिक कार्य गरोस् भन्ने अपेक्षा गरिए पनि नियमनमा अत्यधिक कडाइ गरिएको उनले गुनासो गरे । ‘नयाँ सरकार आएपछि लघुवित्तप्रतिको बुझाइ झनै साँघुरो बनेको छ । सरकारले सहकारी र लघुवित्तलाई एउटै बास्केटमा राखेर हेर्नु दुःखद हो,’ लम्सालले भने । उनले हालसम्म कुनै पनि निकायले लघुवित्तका समसामयिक समस्याबारे गम्भीर छलफल नगरेको समेत उल्लेख गरे । त्यसैगरी, पूर्वअध्यक्ष राजचन्द्र जोशीले लघुवित्त संस्थाको सफलतामा कर्मचारीको मुख्य भूमिका हुने बताए । तर, हाल लघुवित्तकर्मीहरूकै कारण कर्मचारीहरू त्रासमा बस्नुपर्ने वातावरण सिर्जना भएकोमा उनले चिन्ता व्यक्त गरे। विपन्न वर्गलाई आयआर्जनमा जोड्नु चुनौतीपूर्ण रहेको बताउँदै जोशीले भने, ‘यदि संस्थाले सदस्यहरूको आम्दानी बढाउनेतर्फ ध्यान दियो भने खराब कर्जा आफै घट्दै जान्छ ।
लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८२’ सम्पन्न, डिजिटल शिक्षामा नयाँ पहल
काठमाडौं । लुम्बिनी प्रदेशको बुटवलमा ‘डिजी स्कुल अवार्ड २०८२’ सम्पन्न भएको छ । डिजी स्कुल ग्लोबलको आयोजनामा तथा टेकपाइला इनोभेसनको सहकार्यमा आयोजित कार्यक्रममा उत्कृष्ट विद्यार्थी, शिक्षक तथा प्रविधिमैत्री शैक्षिक संस्थाहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै डिजी ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठले नेपालका विद्यालय तथा कलेजहरूमा अन्तर्राष्ट्रिय स्तरको डिजिटल शिक्षा विस्तार गर्ने उद्देश्यसहित डिजी स्कुलले बेलायती मापदण्डअनुसारको कम्प्युटर पाठ्यक्रम तथा अन्तरक्रियात्मक ई–लर्निङ प्रणाली सञ्चालन गरिरहेको जानकारी दिए । उनले नेपाली विद्यार्थीलाई प्रारम्भिक तहदेखि नै विश्वस्तरीय डिजिटल सीप प्रदान गरी भविष्यको प्रतिस्पर्धात्मक बजारका लागि सक्षम बनाउने लक्ष्य रहेको बताए । सोही अवसरमा डिजी ग्रुपअन्तर्गत स्थापना गरिएको नयाँ सूचना प्रविधि कम्पनी ‘टेकपाइला इनोभेसन’को औपचारिक घोषणा गरिएको थियो । कम्पनीका एसोसिएट डाइरेक्टर तथा साइबर सुरक्षा विज्ञ चिरञ्जीवी अधिकारीले युवाहरूलाई प्रविधिमार्फत दक्ष र आत्मनिर्भर बनाउने उद्देश्यसहित कम्पनी स्थापना गरिएको बताए । उनका अनुसार शिक्षा र व्यावहारिक प्रविधि क्षेत्रबीचको दूरी घटाउँदै एकेडेमी, बुटक्याम्प तथा विभिन्न साझेदारीमार्फत युवाहरूलाई प्रविधि उद्योगसँग प्रत्यक्ष रूपमा जोड्ने योजना रहेको छ । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले प्रमुख अतिथिका रूपमा बोल्दै टेकपाइला इनोभेसनको पहलले सूचना प्रविधि शिक्षा तथा सेवाको आधार मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले ‘लर्निङ बाइ अर्निङ’ भन्ने मूल नारालाई आत्मसात गर्दै युवालाई नेपालमै अवसर दिन सके डिजिटल अर्थतन्त्र सुदृढ हुने र दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने बताए । कार्यक्रममा सफ्टवारिका कलेज अफ आईटी एन्ड ई–कमर्सका प्रिन्सिपल प्रमोद पौडेल, सूचना प्रविधि विज्ञ अमृत थापा, डिजी स्कुल ग्लोबलकी बिजनेस हेड अनिता महर्जन तथा लुम्बिनी प्रदेश प्रमुख लेखनाथ पन्तलगायतले डिजिटल शिक्षा, प्रविधि र नवप्रवर्तनको महत्वबारे धारणा राखेका थिए । बुटवलमा सम्पन्न उक्त कार्यक्रमले लुम्बिनी प्रदेशमा डिजिटल साक्षरता विस्तार तथा प्रविधिमैत्री शिक्षा प्रणाली निर्माणतर्फ नयाँ ऊर्जा थपेको सहभागीहरूले बताएका छन् । ‘मेड इन नेपाल’ प्रविधि तथा नेपाली सफ्टवेयर इकोसिस्टमलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्यसहित सुरु गरिएको यो पहललाई शिक्षा र सूचना प्रविधि क्षेत्रमा सकारात्मक कदमका रूपमा हेरिएको छ ।