विकासन्युज

विदेशी लगानी कानुन संशोधन गर्दै स्वचालित नीति लागू गरिने

काठमाडौं । सरकारले विदेशी लगानीसम्बन्धी कानुन संशोधन गरी स्वचालित नीति लागू गर्ने भएको छ । आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विदेशी लगानी आकर्षित गर्न लगानी स्वीकृति प्रक्रियालाई थप सरल, पारदर्शी र प्रविधिमैत्री बनाइने बताए । सरकारले लगानीकर्तालाई सहज वातावरण उपलब्ध गराउन कानुनी तथा नीतिगत सुधार अघि बढाउने जनाएको छ । साथै, विदेशी लगानी भित्र्याएर उत्पादन, रोजगारी र आर्थिक गतिविधि विस्तारमा जोड दिइनेछ ।

सीमारहित अर्थतन्त्रलाई राष्ट्रिय रणनीति बनाउने सरकारको घोषणा

काठमाडौं । सरकारले सीमारहित अर्थतन्त्र र तौलरहित व्यापारलाई राष्ट्रिय आर्थिक रणनीतिको रूपमा आत्मसात गर्ने भएको छ । आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सूचना प्रविधिमा आधारित सेवा निर्यात, जलविद्युत, पर्यटन, उच्च मूल्यका कृषि उत्पादन तथा हरित औद्योगिकीकरणलाई अर्थतन्त्रका प्रमुख आधार क्षेत्रका रूपमा विकास गरिने बताएका हुन् ।

नेपाललाई टेक हबका रूपमा विकास गरिने, कर प्रणाली सहज बनाइने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३र८४ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नेपाललाई सूचना प्रविधि तथा सेवा निर्यात केन्द्रका रूपमा विकास गर्ने घोषणा गरेका छन् । संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय उद्योग रणनीतिको प्राथमिक क्षेत्रमा राखिने बताए । साथै, आईटी सेवा तथा प्रविधि निर्यातलाई प्रवर्द्धन गरिने उल्लेख गरे । सरकारले डिजिटल व्यापार, रिमोट वर्क तथा मूल्य अभिवृद्धि हुने वस्तुको उत्पादन र निर्यातलाई प्राथमिकता दिने नीति लिएको छ । सीमाहीन अर्थतन्त्रको अवधारणाअनुसार सेवा निर्यात र उच्च मूल्यका कृषि उपजलाई प्रवर्द्धन गर्दै आर्थिक विकास अगाडि बढाइने सरकारको योजना छ । नीति तथा कार्यक्रममा कर व्यवस्थापनलाई सहज र व्यवसायमैत्री बनाइने उल्लेख गरिएको छ । साथै, निर्यातलाई प्रतिस्पर्धी बनाउने र अन्तर्राष्ट्रिय बजार विविधीकरणमा जोड दिइने सरकारको लक्ष्य छ । त्यस्तै, आयोजना व्यवस्थापनलाई प्रभावकारी बनाउन आयोजना प्रमुखसँग कार्यसम्पादन सम्झौता गरिने तथा आयोजना सम्पन्न नहुँदासम्म जिम्मेवारी हेरफेर नगर्ने व्यवस्था लागू गरिने जनाएको छ । सरकारले सार्वजनिक खर्च कटौती, सेवा प्रवाहलाई चुस्त बनाउने तथा सार्वजनिक संस्थानलाई गाभ्ने र रणनीतिक साझेदार भित्र्याउने नीति पनि अवलम्बन गर्ने जनाएको छ ।

फिलिपिन्सकी उपराष्ट्रपति सारा डुतेर्तेविरुद्ध महाभियोग लगाइने

काठमाडौं । फिलिपिन्सका सांसदहरूले सोमबार उपराष्ट्रपति सारा डुतेर्तेविरुद्ध महाभियोग लगाउने प्रस्तावहरू सिनेटमा पठाउने सम्बन्धमा भएको मतदानमा बहुमत सदस्यले पक्षमा मतदान गरेका छन् । यो महाभियोग प्रस्ताव दर्ताका लागि पूर्वअभ्यास हो ।   उपराष्ट्रपतिले सन् २०२८ मा गर्ने गरी घोषणा गरेको राष्ट्रपतीय निर्वाचनमाथि प्रश्न गर्दै महाभियोग प्रस्तावको तयारी गरिएको हो ।  महाअभियोगका धाराहरूमा पूर्व राष्ट्रपति रोड्रिगो डुतेर्तेकी छोरीमाथि भ्रष्टाचार, घूसखोरी र पूर्व सहयोगी फर्डिनान्ड मार्कोसविरुद्ध भ्रष्टाचारको आरोप लगाइएको छ । फिलिपिन्सको संविधानअनुसार, महाभियोगमाथि सिनेटमा सुनुवाइ सुरु हुन्छ । सुनुवाईसँगै डुतेर्तेको पद स्वतः निलम्बित हुन्छ भने उनी आरोपउपर दोषी ठहरिएमा उनको पद स्थायीरूपमा गुम्नुका साथै कुनै पनि निर्वाचित पदका लागि प्रतिस्पर्धा गर्न उनी अयोग्य बन्नेछिन् ।   

आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरिरहेका छन् । उनले सोमबार संघीय संसदका संयुक्त बैठकमा सरकारको आागमी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरिरहेका छन् ।    

एनआईएमबिले भन्यो- सीईओ पाण्डेले राजीनामा दिएका छैनन्

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबि) ले प्रमुख कार्यकारी अधिकृत ९सीईओ० ज्योति प्रकाश पाण्डेको राजीनामा नदिएको स्पष्ट पारेको छ ।  सीईओ पाण्डेको राजीनामा सम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै बैंकले प्रकाशित तथा प्रसारित समाचार भ्रामक, आधारहीन र तथ्यहीन रहेको स्पष्ट पारेको हो । बैंकका अनुसार प्रमुख कार्यकारी अधिकृत पाण्डे हाल आफ्नो जिम्मेवारीमा सक्रिय रहनुका साथै बैंकको कार्यसम्पादन तथा व्यवस्थापनमा नियमित रूपमा संलग्न छन् । बैंकले कुनै पनि सूचना वा समाचार प्रकाशन तथा प्रसारण गर्दा आधिकारिक स्रोतबाट पुष्टि गरेर मात्र सम्प्रेषण गर्न सञ्चारमाध्यम तथा सरोकारवालासँग अनुरोध गरेको छ । साथै, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ग्राहक, सेयरधनी तथा आम सर्वसाधारणप्रतिको विश्वास र प्रतिबद्धतालाई निरन्तर सुदृढ बनाउँदै गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्न सदैव प्रतिबद्ध रहेको जनाएको छ ।

धरानको वीपी प्रतिष्ठानमा जेठ ८ बाट साताको दुई दिन विदा हुने

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सातामा दुई दिन विदा लागू गर्ने भएको छ । सोमबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सूचना जारी गरेर शनिबार र आइतबार दिने व्यवस्था लागू गरेको हो ।  प्रतिष्ठानले शुक्रबार भने पूरा दिन बिरामीलाई सेवा दिने जनाइएको छ ।  यसअघि शुक्रबार आधा दिन मात्र अस्पतालले सेवा सुचारु हुने गरेको थियो । नेपाल सरकारले चैत्र २२ गते राजपत्रमा प्रकाशित बमोजिम प्रत्येक साताको शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने व्यवस्था लागु गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी परिपत्रको आधारमा प्रतिष्ठानले जेठ ८ गते देखि लागु हुने गरी हरेक साताको शनिबार र आइतबार (साताको दुई दिन) अस्पताल तर्फको अन्तरङ्ग सेवा र आकस्मिक सेवा बाहेक बहिरङ्ग सेवा, प्रशासनिक र शैक्षिक कार्यालयहरु बन्द रहने वीपी प्रतिष्ठानले देखाएको छ ।     

इंग्ल्यान्डको पुरुष टोली क्रिकेट खेल्न नेपाल आउँदै

काठमाडौं । इंग्ल्यान्डको पुरुष क्रिकेट टोली नेपाल भ्रमण गर्ने सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय टोली बन्न सक्ने सम्भावना देखिएको छ । इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी)ले सन् २०२७–३१ इन्टरनेशनल तालिकाको कुनै चरणमा नेपालमा छोटो टी–२० अन्तर्राष्ट्रिय तालिका आयोजना गर्ने सम्भावनाबारे अध्ययन गरिरहेको हो । पछिल्ला वर्षहरूमा नेपाली क्रिकेट तीव्र गतिमा अघि बढिरहेको छ । गत वर्ष संयुक्त अरब इमिरेट्स (यूएई) मा वेस्ट इन्डिजलाई हराउँदै नेपालले पहिलो पटक पूर्ण आईसीसी सदस्य राष्ट्रविरुद्ध शृंखला जितेको थियो । तर अहिलेसम्म टेस्ट खेल्ने कुनै राष्ट्रले नेपालमा औपचारिक अन्तर्राष्ट्रिय भ्रमण गरेको छैन । यो अवस्था भने यसै वर्ष परिवर्तन हुन सक्ने देखिएको छ । क्रिकेट आयरल्याण्डले मार्चमा क्रिकेट संघ नेपाल (क्यान) सँग पाँच वर्षे ‘रणनीतिक साझेदारी सम्झौता’ गरेको घोषणा गर्दै सन् २०२६–२७ को जाडोयाममा सीमित ओभरको भ्रमण गर्ने योजना सार्वजनिक गरेको थियो । इंग्ल्यान्ड र नेपालबीच पहिलो पटक गत फेब्रुअरीमा टी–२० विश्वकपमा भेट भएको थियो । वानखेडे स्टेडियममा नेपाली समर्थकहरूले भरिएको वातावरणमा इंग्ल्यान्डले अन्तिम बलमा रोमाञ्चक जित निकालेको थियो । त्यस खेलपछि भारतमै क्यानका सचिव तथा नेपालका पूर्वकप्तान पारस खड्काले ईसीबी अधिकारीहरूसँग भेट गरेको जानकारी ईएसपीएनक्रिकइन्फोले जनाएको छ । ईसीबीले पछिल्ला महिनाहरूमा अन्य अन्तर्राष्ट्रिय बोर्डहरूसँग मिलेर सन् २०२७–३१ को ‘फ्युचर टुर्स प्रोग्राम’ (एफटीपी) मा काम गरिरहेको छ । तर नयाँ विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटीसी) को ढाँचाबारे आईसीसीको अन्तिम निर्णय आउन बाँकी रहेकाले अझै केही विषय टुंगो लाग्न बाँकी छन् । यसमा शृंखलामा कम्तीमा दुई टेस्ट हुनुपर्ने नियम हटाइने वा नहटाइने विषय पनि समावेश छ । यद्यपि ईसीबीले उक्त चक्रभित्र कुनै समय नेपालमा छोटो पुरुष भ्रमण गर्ने सम्भावनालाई गम्भीर रूपमा विचार गरिरहेको छ । सम्भवतः अर्को सीमित ओभरको भ्रमण जस्तै, भारत भ्रमण अघि नेपाल भ्रमण तालिकामा राख्न सकिनेछ ।  अन्तर्राष्ट्रिय खेलतालिका अत्यन्त व्यस्त भएकाले थप खेल थप्न ईसीबी सतर्क भए पनि दुई वा तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखलाले अर्को शृंखलाको तयारीको रूपमा काम गर्न सक्ने र तालिकामा केही दिन मात्र थप्ने विश्वास गरिएको छ । नेपालका कप्तान रोहित पौडेलले टी–२० विश्वकपका क्रममा कुनै ठूलो राष्ट्रले नेपाल भ्रमण गर्नुले क्रिकेटलाई ‘विश्वव्यापी बनाउन मद्दत’ पुग्ने बताएका थिए । ‘विशेषगरी अस्ट्रेलिया वा इंग्ल्यान्ड नेपाल आए त्यो हाम्रो लागि धेरै ठूलो कुरा हुनेछ,’ उनले भनेका थिए, ‘यसले विश्व क्रिकेटलाई नेपाल पनि क्रिकेट खेल्छ र राम्रो क्रिकेट खेल्छ भन्ने देखाउनेछ । यो अत्यन्त महत्वपूर्ण कुरा हो ।’ बेलायतको प्रमुख टेलिभिजन अधिकारधारी स्काइ स्पोट्र्सले आइतबार ‘नेपालस् क्लाइम्बिङ क्रिकेट्स माउन्टेन’ नामक वृत्तचित्र प्रसारण गरेको थियो । उक्त वृत्तचित्रमा नेपालको क्रिकेटप्रतिको उत्साहलाई देखाइएको छ ।  त्यस क्रममा पारस खड्काले प्रमुख अन्तर्राष्ट्रिय टोलीहरूलाई नेपाल भ्रमण गर्न र नेपाली क्रिकेटलाई ‘एक्सपोजर’ दिन आग्रह गरेका थिए । ‘अहिले नेपाली क्रिकेटलाई सबैभन्दा आवश्यक कुरा भनेको एक्सपोजर हो,’ खड्काले भने, ‘हामी एकदिवसीय मान्यता प्राप्त देश भएकाले टेस्ट खेल्ने राष्ट्रहरूसँग खेल्न चाहन्छौं । किनभने राम्रो क्रिकेटरसँग खेल्दा र बलिया प्रतिद्वन्द्वीसँग भिड्दा मात्रै खेलाडीको स्तर उकासिन्छ। त्यही बेला खेल सिकिन्छ ।’ ‘यसले नेपालका नयाँ पुस्ताका बालबालिकामा थप उत्साह जगाउनेछ, किनभने क्रिकेट अहिले युवा नेपालीहरूको मनमा बसिसकेको छ । क्रिकेट केवल खेल मात्र होइन, यो देशलाई एकताबद्ध बनाउने सबैभन्दा ठूलो माध्यम बनेको छ,’ उनले थपे । सन् २०२७ को घरेलु गर्मीयाममा इंग्ल्यान्डले प्रतिष्ठित एसेस शृंखलाअन्तर्गत अस्ट्रेलियाको सामना गर्नेछ । साथै पाकिस्तान (जुन) र न्युजिल्यान्ड (सेप्टेम्बर) पनि सीमित ओभरको शृंखलाका लागि इंग्ल्यान्ड भ्रमणमा जाने सम्भावना छ । आईसीसीले डब्लुटीसीको २०२७–२९ संस्करणको ढाँचाबारे अन्तिम निर्णय गरेपछि पाकिस्तान भ्रमणमा एक टेस्ट खेल पनि समावेश हुन सक्नेछ । इंग्ल्यान्ड महिला टोलीले पनि सेप्टेम्बरमा बंगलादेश र अस्ट्रेलियाविरुद्ध एसेस शृंखला आयोजना गर्ने कार्यक्रम रहेको छ । तर खेल तालिका श्रीलंकामा हुने पहिलो महिला च्याम्पियन्स ट्रफीको तालिकामा निर्भर रहनेछ ।