विकासन्युज

राप्ती हाईड्रोले शतप्रतिशत हकप्रद निष्काशन गर्ने

काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सनले शतप्रतिशत अर्थात एक सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । भदौ २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १०० प्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । सो अनुसार कम्पनीले अधिकतम ६१ लाख २७ हजार ९३८ कित्ता सेयर निष्काशन गर्ने छ । सञ्चालक समितिको उक्त प्रस्तावलाई विद्युत नियमन आयोगबाट सहमती लिई स्वीकृतिका लागि आगामी साधारण सभामा पेश गरिने कम्पनीले जानकारी गराएको छ । सभाले पारित गरेपछि मात्रै उक्त हकप्रदको प्रकृया अघि बढाइने छ ।

मन्त्रीको स्वकिय सचिव भन्दै असुली धन्दा गरेपछि…

काठमाडौं । सुदूरपश्चिम प्रदेशक भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीको स्वकिय सचिव भएको भन्दै मन्त्रालयका मातहतका निकायमार्फत् ठगी गर्ने गरेको विषय खुलेको छ । मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै मन्त्रीको स्वकिय सचिव भन्दै फोन गरी मन्त्रालय अन्तर्गतका कार्यालय तथा स्थानीय तहको कृषि विकास शाखा र पशु सेवा शाखाहरु लगायतसँग रकम तथा अन्य जिन्सी सामाग्रीहरुको माग गरेकाे बुझिएकोले त्यस्ता मानसिकता भएकासँग सजक रहन आग्रह गरेको हो । मन्त्रालयका अनुसार सो व्यक्तिले ९८५११७३३१८ र विभिन्न सामाजिक संजालको प्रयोगबाट रकम तथा सामग्री माग गर्ने गरेको बुझिएको छ । ‘मन्त्रालयले फोन वा म्यासेज गरी कुनै जिम्मेवार पदमा रहेको व्यक्तिको नाम वा पदको प्रयोग गरी उसको चरित्र हत्या एवं दाग लगाउने जो कोही यस्तो अभद्र कार्य गर्नेलाई छिटो भन्दा छिटो पत्ता लगाउनका लागि सम्बन्धित सवै कार्यालयहरुलाई ध्यानआकर्षण गराउँदछौं,’ मन्त्री चौधरीका स्वकिय सचिव नविन थापा द्वारा जारी विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले सो व्यक्तिको खोजिभइरहेको पनि बताएको छ ।

ब्राजिलमा विमान दुर्घटना, चौध जनाको मृत्यु

ब्राजिल । ब्राजिलको अमेजनमा शनिबार एउटा सानो प्रोपेलर विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । विमानमा रहेका १२ यात्री र चालक दलका दुई जना सदस्यको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । घटनाको अनुसन्धान सुरु गरिएको जनाउँदै उनीहरूले प्रतिकूल मौसमका कारण दुर्घटना भएको बताएका छन् । अमेजनस राज्यका सुरक्षा सचिव भिनिसियस अल्मेडाले अतिकम ‘भिजिबिलिटी’मा अवतरण गर्दा दुर्घटना भएको बताएका छन् । ब्राजिलको विमान निर्माता कम्पनी एम्ब्रेरद्वारा निर्मित ट्वीन इन्जिन टर्बोप्रप विमानमा सुरक्षाका सबै पूर्वशर्त एवं उड्डयन नियमको पूर्णपालना गरिएको जनाइएको छ । विमान कम्पनीले एक विज्ञप्ति निकालेर यान्त्रिक खराबीका कारण दुर्घटना भएको मान्न सकिने आधार नभएको बताएको छ । धेरै राष्ट्रिय निकुञ्ज नजिक रहेको लोकप्रिय पर्यटकीय गन्तव्य बार्सिलोसमा माछामार्ने मनोरञ्जनात्मक खेलमा सहभागी हुन एक जना व्यापारीले उक्त विमान चार्टर गरेका थिए । विभिन्न प्रजातिका माछाका लागि परिचित उक्त स्थानमा हरेक वर्ष यो महिना माछामार्नेको भीड लाग्ने गर्दछ । रासस

आन्दोलनरत चिकित्सकसँग वार्ता गर्न स्वास्थ्य मन्त्रालयद्वारा वार्ताटोली गठन

काठमाडौं । सञ्चो अस्पताल हेटौंडामा कार्यरत चिकित्सकहरुमाथि भएको हातपातको विषयलाई लिएर नेपाल चिकित्सक संघले गरेको आन्दोलनलाई सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वार्ता टोली गठन गरेको छ । मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै स्वास्स्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा पाँच सदस्य वार्ता समिति गठन गरेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमका अनुसार नेपाल चिकित्सक संघको तर्फबाट पेशागत हकहित र सुरक्षाका विषयमा उठाएका विषयवस्तुलाई सम्बोधन गर्नको लागि आजै मन्त्रीस्तरीय निर्णयले सो समिति गठन गर्ने र मागलाई तत्काल सम्बोधन गर्ने निर्णय गरेको हो । आइतबार नै नेपाल चिकित्सक संघका आधिकारिक प्रतिनिधिसँग वार्ता हुने कार्यक्रम रहेको सहसचिव गौतमले जनाएका छन् ।

नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने, बुक क्लोज कहिले ?

काठमाडौं । नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले सैद्धान्तिक स्वीकृति दिएसँगै इन्स्योरेन्सले चुक्ता पुँजीको २५ प्रतिशतसम्म हकप्रद जारी गर्ने भएको हो । प्राधिकरणले इन्स्योरेन्सलाई न्यूनतम चुक्ता पुँजी कायम गर्न चुक्ता पुँजीको सो मात्राको हकप्रद सेयर जारी गर्न भदौ २९ गते स्वीकृति दिएको हो । उक्त स्वीकृति अनुसार भदौ ३१ गते बिहान बसेको कम्पनी सञ्चालक समितिको बैठकले हकप्रद सेयर पारित गर्न आगामी असोज १९ गते विशेष साधारण सभा बोलाएको छ । उक्त सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सले आगामी असोज १० गते एक दिन बुक क्लोज गर्ने समेत जानकारी गराएको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब एक करोड २३ लाख रुपैयाँ छ । प्रस्तावित २५ प्रतिशत हकप्रद पछि इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५१ क करोड रुपैयाँ नाघ्ने छ । जुन प्राधिकरणले तोकेको न्यूनतम पुँजीको तुलनामा बढी हो ।

आज दर खाने दिन, शुरु भयो चारदिने हरितालिका तीज

काठमाडौं । नेपाली हिन्दु नारीले हरितालिका तीज व्रतको तयारीस्वरुप आज दर खाने तयारी गरेका छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली हिन्दु नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । विगत वर्षमा नेपालमा मात्र मनाइने तीज पर्व पछिल्लो समय सञ्चारमाध्यमको प्रचारप्रसारका कारण भारतमा पनि यो पर्व मनाउन थालिएको छ । तीजका गीत भारतीय टेलिभिजन च्यानलमा समेत प्राथमिकताका साथ देखाउन थालेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा बताउछन् । माइती पक्षले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ । गहुँको रोटी र घिउ खाँदा वर्तालुका लागि अझ आडिलो हुने अनुभवीको भनाइ छ । नीराहार व्रतका लागि आडिलो बनाउन दर तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि मीठा एवं आडिलो परिकार दरका रुपमा खाइ मङ्गलबारको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउछन्। महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन् । विकृतिमा परिणत हुँदै तीजको संस्कृति    पछिल्ला वर्षमा तीजका नाममा उच्छृङ्खलता र तडकभडक आएको छ । एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको  समाजशास्त्री कीर्तिकुमार राईको धारणा छ । यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद्, धर्मशास्त्री एवं समाजशास्त्रीले जोड दिएका छन् । एक महिना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थालेपनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रुपमा दर खाने दिनका लागि तोकिएको छ । पछिल्लो समय सरकारी कार्यालयमा समेत एक महिनाअघिदेखि नै तीज कार्यक्रमको तामझाम हुने गरेको छ । दर खाएर सुरु गरिँदै चार दिने तीज आइतबार दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृर्तीयाका दिन हरितालिका व्रत, चौँथीका दिन गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । यसवर्ष असोज २ गते मङ्गलबार भगवान् गणेश उत्पत्ति भएको विश्वास गरिने गणेश चौँथी र ऋषिपञ्चमी पर्व मनाइने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । गणेश चौँथी प्रातः कालमा तिथि परेका दिन मनाइन्छ । ऋषिपञ्चमी भने मध्याह्नकालमा पञ्चमी परेका दिन मनाउनुपर्ने शास्त्रीय विधि छ । असोज २ गते मङ्गलबार बिहान चौँथी तिथि र त्यसै दिन मध्याह्नकालमा पञ्चमी तिथि परेकाले दुवैपर्व एकै दिन मनाउनुपर्ने गरी निर्णय गरिएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो । हरितालिकाको पौराणिकता तीजको आगमनसँगै नेपाली महिलामा उत्साह जाग्ने गरेको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख एवं पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउछन् । हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौँ महिलाको भीड लाग्ने गर्छ । तीज सुरु भएसँगै रेडियो एवं टेलिभिजनले पनि तीजसम्बन्धी गीत प्रसारणलाई प्राथमिकता दिने गरेका छन् । तीजसँगै समग्र माहोल नै पर्वमय बन्न पुगेको छ । रासस

बैंकको ब्याज ११ प्रतिशत नाघ्यो, कुनले बढायो, कुनले घटायो ?

काठमाडौं । वाणिज्य बैंकहरुले असोजका लागि नयाँ ब्याज सार्वजनिक गरेका छन् । असोजमा सात वटा बैंकले ब्याज बढाएका छन् भने ६ वटाले घटाएका छन् । चारवटा बैंकले पुरानै ब्याज कायम गरेका छन् । असोज महिनाका लागि नबिल बैंक, प्राइम कमर्सियल, हिमालयन, एभरेष्ट, नेपाल इन्भेष्टेमन्ट मेगा, स्ट्याण्डर्ड चार्टर्ड बैंक र नेपाल एसबिआई बैंकले ब्याजदर बढाएका छन् । सबैभन्दा बढी ब्याजदर बढाउने बैंकमा हिमालयन बैंक रहेको छ । हिमालयन बैंकले १.०६४ प्रतिशत बिन्दु ब्याजदर बढाएको छ । हिमालयनको अधिकतम ब्याजदर ११.०५४ प्रतिशत छ । पाँच वटा वाणिज्य बैंकको ब्याज ११ प्रतिशत नाघेको छ । ग्लोबल आइएमई, लक्ष्मी सनराइज, राष्ट्रिय वाणिज्य बैंक, कुमारी, सिटिजन्स बैंक र नेपाल बैंकले ब्याजदर घटाएका छन् । जसमध्ये नेपाल बैंकले सबैभन्दा बढी १.६०३ प्रतिशतविन्दु ब्याज घटाएको छ । प्रभु बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकले भने भदौ महिनाकै ब्याजदरलाई यथावत राखेका छन् । बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसतमा १० प्रतिशतले घटी बढी गर्ने गरेका छन् । कुन बैंकको ब्याज कति ? हिमालयन बैंकले १.०६४ प्रतिशत ब्याज बढाएर ११.०५४ प्रतिशत ब्याज कायम गरेको छ । यस्तै, एभरेष्ट बैंकले १.५४ प्रतिशत, नेपाल इनभेष्टमेन्ट मेगा बैंकले १.०४ प्रतिशत, प्राइम कमर्सियल बैंकले ०.८५८ प्रतिशत, नबिलले ०.५६४ प्रतिशत, स्ट्याण्डर्ड चार्डर्डले ०.६३ र नेपाल एसबिआईले ०.१ प्रतिशतले ब्याज बढाएका छन् । यस्तै, चार वटा बैंकले ब्याज यथावत राख्दा ग्लोबल आइएमई बैंकले ०.३९६ प्रतिशत, लक्ष्मीले ०.०१ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ०.४९ प्रतिशत, कुमारीले ०.७८७ प्रतिशत, सिटिजन्स बैंकले ०.८४६ प्रतिशत र नेपाल बैंकले १.६०३ प्रतिशत ब्याज घटाएको छ ।

सिटिजन्स बैंकको लाभांश घोषणा, नगद लाभांश कति ?

काठमाडौं । सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ । आइतबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गर्ने निर्णय गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको ५.७९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बैंकले प्रस्ताव अनुसार नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।