विकासन्युज

क्यान महासंघले आयोजना गर्न लागेको ‘नेपाल ब्लकचेन कन्क्लेभ २०२३’ स्थगित

काठमाडौं । क्यान महासंघले यहि भदौ ३१ मा आयोजना गर्ने भनिएको नेपाल ब्लकचेन कन्क्लेभको पहिलो संस्करण स्थगित गरेको छ । नेपालमा ब्लकचेन प्रविधिबारे सचेतना, प्रोत्साहन तथा प्रवर्द्धन गर्न सरोकारवालाहरूबीच वृहत् अन्तर्क्रिया एवं सहकार्य गर्ने उद्धेश्यले आयोजना हुन लागेको नेपाल ब्लकचेन कन्क्लेभको पहिलो संस्करण यो पटक भदौ ३१ गते हुने गरी तयारी गरिएको परिस्थितिका कारण स्थगित गरिएको क्यान महासंघले जनाएको छ। महासचिव चिरन्जीबी अधिकारीद्वारा जारी क्यानको प्रेस विज्ञप्तिमा सो स्थगित हुनुको कारण स्पष्ट खुलाईएको छैन। र त्यसमा क्यान महासंघका पदाधिकारीको निर्णयअनुसार अर्को निर्णय नभए सम्मको लागि हाललाई स्थगित गरिएको उल्लेख छ । नेपाल ब्लकचेन कन्क्लेभ २०२३ को तयारीको क्रममा सहयोग पुर्याउने सबैमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै नेपाल ब्लकचेन कन्क्लेभ २०२३ स्थगितका कारण पर्न गएको असुविधा प्रति सम्बन्धित सबैसँग क्यान महासंघले क्षमासमेत मागेको छ ।

हरितालिका तीज र संविधान दिवस लक्षित टेलिकमको ‘चाडपर्व अफर’

काठमाडौं । यही असोज १ गते मनाइने तीज तथा असोज ३ गते मनाइने संविधान दिवसको अवसरमा नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीका ग्राहकहरुका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस उपलब्ध गराइने कम्पनीले जनाएको छ । यो अफर भाद्र ३१ गतेदेखि प्रारम्भ हुनेछ र आगामी असोज ६ गतेसम्म उपलब्ध हुनेछ । अफर अन्तर्गत ४९ रुपैयाँमा १ दिन प्रयोग गर्न सकिने १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेज उपलब्ध हुनेछ । त्यसैगरी ९८ रुपैयाँमा ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक उपलब्ध हुनेछ । यसबाहेक, १९९ रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने १३ जीबी डाटा प्याक र २९४ रुपैयाँमा १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक उपलब्ध हुने कम्पनीले जनाएको छ । यस्तै, ३९९ रुपैयाँमा १५ दिन सम्म प्रयोग गर्न सकिने ३० जीबी डाटा प्याक उपलब्ध हुने बताइएको छ । यही अफर अन्तर्गत ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिन सम्म चलाउन सकिने समयावधि तोकिएको छ । यस प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ ।

मेटलाइफ नेपालले ल्यायो नयाँ मोबाइल एप, स्वास्थ्य सुविधासँगै बीमाका सबै सेवा एपबाट

काठमाडौं । मेटलाइफ नेपालले डिजिटलमाध्यमद्वारा स्वास्थ्यमा पहुँच पुर्‍याउने उद्देश्यसहित बीमा र स्वास्थ्य सेवाहरू एकै प्लेटफर्ममा संयोजन गरी देशमै पहिलो किसिमको मोबाइल एप वान बाई मेटलाइफ सार्वजनिक गरेको छ । एपको शुभारम्भ मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठद्वारा काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममार्फत गरिएको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा मेटलाइफ एसियाका बङ्गलादेश, मलेसिया, नेपाल र भियतनामकी प्रमुख एलेना बुटारोभा, एसिया प्रमुख माकेटिङ्ग अधिकृत सञ्जीव कपुर, एसिया वितरण प्रमुख योङ्ग हो हान, एसिया प्रमुख सोलुसन्स् डेलिभरी कोक चोए वङ्ग तथा एसिया एजेन्सी प्रमुख मारवान माटरको उपस्थिति रहेको थियो । एपले बीमा पोलिसीहरुलाई थप पहुँचयोग्य, व्यवस्थित र पारदर्शी बनाउनुका साथै प्रयोगकर्ताहरूलाई उनीहरूको वित्तीय भविष्यमा नियन्त्रण राख्न अझ सशक्त बनाउने कम्पनीले जनाएको छ । मेटलाइफका ग्राहकहरु आजैदेखि एपमा दर्ता भई आफ्नो बीमा पोलिसीका बारेमा सूचनाहरू प्राप्त गर्न, मेटलाईफका विभिन्न बीमा सुविधा तथा सेवाहरूका बारेमा खोजी गर्न, बीमा सुविधाका प्रिमियम गणना गर्न, एजेन्टहरूलाई सम्पर्क गर्न र थप जानकारीका लागि कम्पनीसँग जोडिन सक्छन् । एपमा रहेको ३६०हेल्थ सुविधाले स्वास्थ्य सेवा समाधानहरूलाई डिजिटल बीमा सेवाहरूसँग सहज रूपमा एकीकृत गरेको छ । ३६०हेल्थ प्रयोगकर्ताहरूलाई उनीहरूको स्वास्थ्य र स्वकल्याणका लागि मद्दत गर्न र सोको सक्रिय रूपमा प्रबन्ध गर्न मिलोस् भनी सिर्जना गरिएको बताइएको छ ।  यसको अर्को उद्देश्य भनेको प्रयोगकर्ताहरू लामो समयसम्म स्वस्थ रहन सकुन् भन्ने पनि हो । नेपालमा एक चौथाइ जनसङ्ख्या उच्च रक्तचापबाट पीडित छन् र क्यान्सर, हृदय रोग र पक्षाघात जस्ता गम्भीर रोगहरू मृत्युको प्रमुख कारणहरू हुन् ।

डाक्टरहरुले गरे देशभरका अस्पतालमा ओपीडी सेवा बन्द

काठमाडौं । डाक्टरहरुले आइतबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गरेका छन् । हेटौँडास्थित सञ्चो अस्पतालका डाक्टरलाई कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै डाक्टरहरुले विरोध स्वरुप ओपीडि सेवा बन्द गरेका हुन् । नेपाल चिकित्सक संघको अगुवाइमा देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द हुँदा बिरामीहरु अत्यावश्यक उपचार पाउनबाट वञ्चित भएका छन् । गत बुधबार सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूले कुटपिट गरेका थिए ।

निर्वाचन र शासकीय प्रणाली फेर्नैपर्छ : पूर्वसभामुख घर्ती

काठमाडौं । सशस्त्र द्वन्द्वका बेला आन्दोलनरत तत्कालीन नेकपा (माओवादी) को बटालियन कमिसारदेखि पहिलो महिला सभामुख भएर ओनसरी घर्तीले मुलुकमा राजनीतिक रूपान्तरणका लागि प्राप्त जिम्मेवारी कुशलतापूर्वक सम्हाल्ने अवसर प्राप्त गरेकि थिइन । अनेरास्ववियुबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेकी घर्ती माओवादी राज्य समिति सदस्य, केन्द्रीय सदस्य, पोलिटब्यूरो सदस्यसम्म भइन । संविधानसभा सदस्य निर्वाचन २०६४ मा समानुपातिक सदस्य र दोस्रो सविधासभा निर्वाचनमा रोल्पा–२ बाट निर्वाचित भएपछि उनी संविधानसभाका उपाध्यक्ष र केही समय सभामुख बनिन । उनले विसं २०६८ मा युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी सम्हालिन भने विसं २०७४ को निर्वाचनमा समानुपातिकबाट फेरि प्रतिनिधिसभा सदस्य निर्वाचित भइन । पूर्वसभामुख घर्तीसँग नवौँ संविधान दिवस, २०८० का अवसरमा राससले गरेको कुराकानीको सम्पादित अंश : नेपाली जनताको ठूलो बलिदानीपछि उपलब्धिका रूपमा प्राप्त संविधान र सङ्घीयता कार्यान्वयनमा अहिले भइरहेको अभ्यासलाई कसरी हेर्नुभएको छ ? हामीले सघिंय लोकतान्त्रिक गणतान्त्रिक संविधान बनाएपछि सुरुमा कानुन निर्माणमै धेरै समय खर्चनुपर्यो । नयाँ संविधानअनुसार कानुन बन्ने काम बाँकी नै छ । मुलुकमा हामीले नयाँ राजनीतिक व्यवस्था स्थापना गर्यौँ, यसको कार्यान्वयनका लागि लगातार सबै राजनीतिक दलका बीच एक प्रकारको सहकार्य गरेर अघि बढिरहेका छाँैँ । जनताको चाहनाका साथ संविधान निर्माण गरियो, त्यसबमोजिम नै कार्यान्वयनमा छौँ । यसको गति भने धिमा छ । मुलुक सङ्घीयताको अभ्यासमा छ, प्रदेशको अधिकार र स्थानीय तहमा सुशासन सम्बन्धमा उठेका आवाजलाई कसरी हेर्नुभएको छ ? प्रदेशलाई संविधानअनुरूप दिनुपर्ने अधिकार र बनाउनुपर्ने संरचनाका काम ढिलो भएको छ । कानुन बनाएर छिटो अधिकार सुम्पनुपथ्र्याे, अहिले उठिरहेको सुशासनका कुरा पनि कानुन नहुँदाकै परिणति हो । स्पष्ट कानुनी प्रबन्ध नहुँदा अलमलजस्तो देखिन्छ । अब छिटो कानुन बनाएर प्रदेशलाई अधिकार र जिम्मेवारी हस्तान्तरण गर्नुपर्छ । संविधानमा लिखित अधिकारको सूचीका आधारमा कामको बाँडफाँट र अधिकारको उपयोग गर्नुपर्छ । राजनीतिक दल, सरकार र अरु निकाय मिलेर सुशासन कायम गर्ने र भ्रष्टाचारलाई शून्यमा झार्ने विषयमा स्पष्ट प्रतिबद्धता आउनुपर्छ । तीन तहका सरकारबीच समन्वय र सहकार्यका सम्बन्धमा यहाँको बुझाइ के हो ? सङ्घ, प्रदेश र स्थानीय तह आफूलाई चाहिने आवश्यक कानुन आफैँ निर्माण गर्न सक्छन् । हिजोको केन्द्रीकृत संरचना र मानसिकताले प्रदेश र स्थानीय तहमा अधिकार विकेन्द्रिकृत गर्न केही समय लाग्यो । स्थानीय तहमा केही संरचना भएकाले चाँडो काम भए पनि प्रदेशका हकमा भने केन्द्रले दिनुपर्ने अधिकार अझै दिइएको छैन । कतिपय कानुन नै बनेको छैन । तीन तहका सरकारबीच समन्वय नहुँदा अन्योल भएको हो । प्रदेशलाई अधिकार हस्तान्तरण नगरिएकाले यो अवस्था देखापरेको हो । संविधानसभाबाट संविधान जारी गरिने समयमा केही विरोधका आवाज सुनिन्थ्यो, अहिले त्यो मत्थर भएको हो कि सम्बोधन गर्नुपर्ने केही पक्ष छ ? गतिशील दस्तावेज संविधानको कार्यान्वयनमा भएको ढिलाइसँग जोडेर सकारात्मक र नकारात्मक दुवै कोणबाट प्रश्न र आवाज आइरहेका छन् । नकारात्मक धेरै ठूलो छैन । ती संविधानको छिटो पूर्ण कार्यान्वयनकै लागि आएका हुन् । संविधानको भावना र मर्मअनुरूप यताउता नगरी सरासर सङ्घीयता कार्यान्वयन गर्न सक्नु नै अहिले हाम्रो प्रमुख चुनौती हो । संसद्ले कानुन बनाउन र सरकारले अधिकार दिन गरेको ढिलाइबाट यावत् प्रश्न उठेका हुन् । त्यसमा इमान्दारी देखाउन सक्नुपर्छ । मुलुकमा जाति, भाषा, धर्म र भूगोलका आधारमा विविधता भएकाले सबका माग, मुद्दा एकैसाथ सम्बोधन हुन सक्लान् र ! संविधानमा व्यवस्था गरिएका विषय हुबहु लागू भएमा विरोधको स्वर कम हुन्छ । संविधान सबै दलको साझा दस्तावेज हो । विविधतायुक्त देश छ । सबको भावना सकेसम्म देखियोस् भनेर सम्बोधन गर्न कोसिस गरिएको छ, तैपनि केही कमी भइहाल्छ । हामी सबै मिलेर संविधान र सङ्घीयताको पूर्ण कार्यान्वयनका लागि कोसिस गरिरहेकै छौँ । पूर्णता सापेक्ष हुन्छ, निरपेक्ष पूर्णता खोज्नुहुन्न, त्यो सम्भव पनि छैन । संविधान जारीपछि पनि मुुलुकमा राजनीतिक स्थायित्व र विकासको लक्ष्य हासिल गर्न किन चुनौती भयो भन्ने लाग्छ यहाँलाई ? मुलुकमा राजनीतिक स्थायित्वबारे संविधान निर्माणका क्रममा पनि छलफल भएकै हो । पहिलो, सहमति र सहकार्यका साथ अघि बढौँ भनी सहमतिको राजनीतिलाई अघि बढाएको भए छिटो फल प्राप्त गर्न सक्थ्यौँ । दोस्रो, संविधानमै शासकीय स्वरूप र निर्वाचन प्रणालीमै स्थायित्व खोज्नुपथ्र्याे । ती दुवै नहुँदा अस्थिरता देखियो । मौकाको फाइदा उठाउनुपर्छ भनेर केही पक्षबाट संविधानमाथि लगातार आक्रमण भइरहेको छ । राजनीतिक दलले अबका दिनमा केही न केही सोच्नुपर्छ । मिलेर जाने कि संविधानमै त्यो व्यवस्था गरेर जाने भन्नेमा बहस हुनुपर्छ । सडकमा देखिएका असन्तुष्टिलाई कसरी सम्बोधन गर्न सकिएला ? यो असन्तुष्टिले देश विकासमा बाधा पुगेको छ, हामीले सोचेको र संविधानले परिकल्पना गरेको काम भइरहेको छैन । बल्लतल्ल एउटा तयारी गर्यो फेरि अर्काे नयाँ मानिस, दृष्टिकोण र सोच आएपछि अलमलमा पर्ने स्थिति छ । एउटा राजनीतिक दल वा नेताले पाँच वर्ष ढुक्कसँग सरकार चलाउन पाए देश र जनताका काम सरासर अघि बढ्थ्यो । राजनीतिक अस्थिरताले सबै क्षेत्र ढुलमुल भयो । यस्तो अवस्थामा सबै राजनीतिक दलले गम्भीरतापूर्वक छलफल गरी अघि बढ्नुपर्छ । संविधानमै स्थिर खाले व्यवस्था गरेर पनि जान सकिन्छ भन्ने दृष्टिकोण आयो, त्यो भनेको के हो ? मेरो दल र हामीले संविधान निर्माणका बखत प्रत्यक्ष प्रधानमन्त्री वा कार्यकारी राष्ट्रपति प्रणालीमा जाऔँ भनेका थियौँ । यस प्रणालीले स्थायित्व प्रदान गर्छ, राम्रो हुन्छ । निर्वाचन प्रणाली पनि पूर्ण समानुपातिक भनेका थियौँ तर भएन । हालको मिश्रितभन्दा पनि प्रत्यक्षमा समानुपातिक प्रतिनिधित्व गराउने व्यवस्था सोचाँै । त्यसबेला सबैले आ–आफ्नो अडान छाडेर सहमतिकै लागि जोड बल पुर्याएका थियौँ । अहिले पाइरहेको दुःख त्यसबेलाको उपज हो । लोकतन्त्रमा हाम्रा होइन, राम्राको छनोट हुनुपर्छ, विषयविज्ञलाई योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिइन्छ भन्ने थियो तर त्यो देखिएन नि ? अवसर र जिम्मेवारी दिने मामिलामा विकृति देखिएको छ, पवित्र उद्देश्य र विचार राखेर त्यतिबेला संविधानमा जे व्यवस्था गरियो, ठीकै थियो । यसमै खेलेर व्यवस्थाप्रति नकारात्मक सोच राख्न चाहने शक्ति विकृत बनाउन लागिपरे । समानुपातिकमा नातागोता ल्याएपछि उत्पीडनमा परेका वर्ग, समुदायले अवसर पाएनन् । समाजमा अवैज्ञानिक देखिएका विषय कानुन संशोधन गरेर हटाउनुपर्छ । राज्यमा पहुँच नभएका र पछि पारेका तथा प्रतिस्पर्धामा आउन नसक्नेलाई अवसर दिनुपर्नेमा छनोटमै उल्टापाल्टा भइरहेको छ । व्यवस्था र संविधानमा राखिएको प्रावधान नराम्रो होइन, तर कार्यान्वयनमा गडबडी भएको छ । चुनौतीलाई सम्बोधन गर्न बनेका कानुनको पुनरावलोकन गर्दै बाँकी छिटो बनाउनुपर्छ । मुलुकका केही भागमा पछिल्ला दिनमा उठेका प्रश्न र सम्बोधन गर्ने बाटो के हुनसक्छ ? सरकारको स्थायित्व नहुनु र कानुन निर्माणमा उल्झन भएकै कारण धर्मनिरपेक्षताका विषयलाई लिएर केही घटनाको प्रयास भयो । नेपाली धर्मविशेषको अडान लिएर बस्ने जाति होइन, हामी सबै जातिका संस्कार, पर्व र संस्कृतिमा रमाउने मानिस हौँ । त्यस्ता गतिविधि रोक्न धर्मनिरपेक्षतासम्बन्धी कानुन छिटो बनाइदिए हुन्थ्यो । संविधानमा लेखिएको छ, व्यवहारमा हामीले सबैलाई मानेकै छौँ । नयाँ कानुन बनेको छैन, कर्मचारीले भएको कानुन पालना गर्न लगाउँछ । यस्ता गम्भीर विषयलाई कानुन बनाएर छिटो सम्बोधन गर्नुपर्छ । राजनीतिक परिवर्तनका लागि लामो योगदान पुर्याएका दललाई चुनौती दिँदै भर्खरै जन्मिएकाहरू अघि आएका छन् नि ? समयले कसैलाई पर्खँदैन । जनता आफ्ना चाहना र आवश्यकताका लागि विकल्प खोजिरहेका छन् । त्यो सम्बोधन राजनीतिक दलले नै गर्ने हो । लामो समयदेखि विभिन्न बलिदान र तपस्या गरेर आएका दललाई छाडेर मिडियाका भरमा तथा प्रचारका आधारमा आएका राजनीतिक दल विकल्प हुन सक्दैनन् । विकल्प प्रमुख राजनीतिक दलले दिन सक्नुपर्छ । निर्वाचनमा हारेका व्यक्तिलाई त्यही कार्यकालमा अर्काे तरिकाबाट ल्याउने कार्य जनादेश विपरीत भएन र ? यो गलत अभ्यास हो, चुनावमा हारे पनि जनताको सेवा अरु ठाउँबाट गर्न सकिन्छ । पराजितलाई उत्तिखेरै पदमा ल्याउँदा जनताको अपमान हुन्छ । अन्तर्राष्ट्रिय जगत्मा पछिल्लो समय नेपालको छवि कस्तो पाउनुभएको छ ? नेपालले कुन शासन प्रणाली अवलम्बन गर्यो भन्ने हाम्रो आन्तरिक कुरा भयो । अन्तर्राष्ट्रिय समुदायबाट यसमा हस्तक्षेप हुनुहुँदैन तर भइरहेको छ । हामी आफैँले पनि अन्तर्राष्ट्रियस्तरमा एउटै आवाज र साझा धारणा राख्नुपर्छ । देश र जनहितलाई केन्द्रित गरी साझा परराष्ट्र नीति बनाएर अघि जाने वातावरण बनाउनुपर्छ । वीर गोर्खाली स्वाभिमानी भन्ने सन्देश दिनुपर्छ । नयाँ पुस्तामा देशप्रेमको भावना कमजोर छ । छिमेकमै पनि राष्ट्रियताका लागि एउटै आवाज प्रस्तुत गरेको देखिन्छ । आन्तरिक मामिला हामी आफैँ  समाधान गर्छाैँ भनेर एक स्वरले भन्नुपर्छ । अन्तर्राष्ट्रिय जगत्मा बेलाबखत सरकार र दलबाटै पनि कमजोरी भएको देखिएको छ । नालापानीमा २२ दिनसम्म पानी नखाई बच्चालाई पिँठ्युमा बोकी लडेर जोगाएको देश हो, कसैलाई पनि हल्का रूपले बोल्ने छुट छैन । राष्ट्रियता र स्वाभिमानका विषयमा कडा कानुन बनाऔँ । सुशासनसँग जोडेर निर्वाचन खर्चिलो भयो, निष्ठाको राजनीति गर्ने बाहिरिए, निर्वाचन ठेकेदारका कब्जामा गयो भन्ने भनाइप्रति यहाँको मत ? सबैभन्दा पहिला हामीले निर्वाचन प्रणाली नै बदल्नुपर्छ । राजनीतिक दलले आफ्ना कार्यकर्ताको मूल्याङ्कन गर्नुपर्छ, चुनाव जित्नेमात्रै सही कुरा होइन । एउटा ठेकेदारले रु ५० करोड खर्च गरेर चुनाव जित्ला रे, किन जित्यो, के का लागि जित्यो, कुरा त बुझिन्छ नि । पैसाका आधारमा फ्याट्ट समानुपातिकमा लाने प्रवृत्ति गलत छ, कानुन पुनरावलोकन गरेर अघि बढाउनुपर्छ । दुःख गरेकासँग मात्रै जनताको आवाज आउँछ । अहिले समुदाय विशेषका पहुँचवालामात्रै समानुपातिकमा आएका छन् । गरिबको बस्तीमा नपुग्नेले राजनीतिलाई धुमिल पारेका छन् । संविधान दिवसका अवसरमा देशवासीलाई यहाँको केही सन्देश छ ? यस दिवसका अवसरमा नेपाली दाजुभाइ, दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । संविधानले नेपाली विविधतालाई सम्बोधन गरेको छ । हामीले सधैँ एकता, सहकार्य र सहमतिका साथ सहिष्णु भएर देशको हितका लागि साझा ‘एजेन्डा’ लिई अघि बढ्न यस दिवसले प्रेरित गरोस् भन्ने शुभकामना दिन चाहन्छु ।

नाडा शोको स्टलमा देखियो जनकपुरधाम , वुलिंगको स्टलमा बुकिंग गर्ने ग्राहको भिड

काठमाडौं | नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले नाडा शो मा फरक शैलीमा स्टल राखेर आउने ग्राहलाई बाइ वान गेट वान फेसिलीटी उपलब्ध गराउदै आइरहेको छ | बाइ वान गेट वान फिर्र फेसिलीटी अन्तर्गत ३०० कि मि वुलिंग किन्ने ग्राहकले थाइल्याण्ड भिजिट अवसर पाउनेछन् भने ग्राहकले वुलिंगको स्टलबाट त्यही बसेर फाइनान्स को सुबिधा , गाडी एस्क्चेंज को सुबिधा पाउने छन् | नाडा अटोशो मा रहेको वुलिग को स्टलमा राखिएको तस्बिर प्रदशनीमा देशको सस्कृतिको जगेर्ना गर्ने र देशमा आन्तरिक तथा बाह्रय पर्यटन प्रबर्द्धन होस् भनेर कम्पनीले तस्बिर प्रदशनीमा राखेको छ जसमा जनकपुरधाम , कुमारी ,स्वयम्भु , बसन्तपुर दरवार , डमरु इत्यादि सम्पूर्ण कुरा समाबेश गरिएको छ | २०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा वुलिङ एयर ईभी उपलब्ध छ । यसको मूल्य क्रमशः २०लाख ९९ हजार र २६ लाख ९९ हजार रुपैयाँ छ नाडा शोमा वुलिंग को स्टलमा बुकिंग गर्ने ग्राहक को भिड छ भने अहिले सम्म ५९ ओटा बुकिंग भैसकेको छ । १०० को स्पिडमा कुदाउन मिल्ने र रिमोट बाट नै अन अफ हुने इन्डोनेसिएन प्रोडक्ट वुलिंग हो | नाडा शो १२ देखि १७ सेप्टेम्बर २०२३ सम्म भ्रीकुटिमण्डप मा हुने छ भने आइतबार अन्तिम दिन हो र अन्तिम दिन सम्म कम्पनीले १०० ओटा बुकिंग लिने लक्ष्य बनाएको छ वुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ । वुलिङ एयर ईभी चाहिं इन्डोनेसिया लगाएत बिश्वमा नै लोकप्रिय रहेको इलेक्ट्रिक कार हो । ग्लोबल स्मार्ट इलेक्ट्रिक भेइकल ९जीएसईभी प्लेटफर्ममा वुलिङ एयर ईभी बनेको छ । यही प्लेटफर्ममा होङ गुवाङ मिनी ईभी र बाओजुन किवी ईभी समेत बनेका छन्, । वुलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक हो । सिटी ड्राइभिङका लागि उपयुक्त सो इलेक्ट्रिक कार ३० किलोवाट क्षमताको छ भने यसमा भएको लिथियम आइरन फस्फेट ब्याट्रीले ३ सय किलोमिटर सम्मको रेन्ज दिन्छ । अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि यसलाई चलाउन सकिन्छ । रिमोटबाटै संचालन गर्न सकिने, सजिलै घरमा चार्ज गर्न सकिने र १०० रुपैयाँ खर्चमा ३०० किलोमिटर चलाउन सकिने यो इलेक्ट्रिक कार चढ्दा खर्चको बचत हुने, इन्धन हाल्न नपर्ने, सर्भिस र पार्ट्स खर्च नहुने तथा वातावरण समेत स्वच्छ राख्न सहयोग पुग्ने कम्पनीको भनाइ छ । बज्र ग्रुप ३१ बर्ष पुरानो ब्यापारीक घरना हो । काठमाडौ को नक्साल, भैसेपाटी, भक्तपुर मा आधिकारिक शोरुम बाट बिक्री भैरहेको छ | नेपाल भरी रहेको ५१ भन्दा बढि नेपाल बिधुत प्राधिकरण को चार्जिङ्ग स्टेसन बाट सजिलै ३ घन्टा मा फुल चार्ज गर्न सकिने । यो इन्डोनेसिया बाट आयात गरेको सन्सार को बलियो सिटि कार हो ।

आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको पञ्जाब र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा साथै देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिईन । आज काठमाडौँमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ । अहिले काठमाडौँमा आंशिक बदली रहेको र वायुको तापक्रम २५ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता सात किलोमिटर रहेको मौसमविद् मानन्धरले बताउनुभयो । आज काठमाडौँमा अधिकतम तापक्रम ३० देखि ३२ डिग्री सेन्टिग्रेडको बीचमा रहने सम्भवना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख गरिएको छ ।

कार किन्न बुबाको पालामा ९०% कर्जा, छोराको पालामा ५०% मात्र, को बस्छ यो देशमा ?

देशको अर्थतन्त्रमा अटोमोबाइल्स क्षेत्रको योगदान महत्वपूर्ण छ । अर्थतन्त्रमा ठूलो योगदान रहेको यो क्षेत्रमा क्रियाशिल नेपाली अटो व्यवसायीहरूको भविष्य भने अहिले अन्यौलपूर्ण अवस्थामा छ । सरकारकाे नीतिमा अस्थीरता छ । सरकारको नीतिले अटो व्यवसायमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ । अहिले नेपाली अटो व्यवसाय दयनिय अवस्थामा छ । यस क्षेत्रलाई दयनिय बनाउने पनि सरकार नै हो । यसमा अरू कसैको दोष छैन । अटो व्यवसायको भविष्य राम्रो बनाउने कुरामा  व्यवसायीको हातमा मात्रै हुँदैन । विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ पछि यो क्षेत्र सुधारोन्मुख बाटोतर्फ लम्कदै थियो । त्यसको लगतै सरकारले गाडीको आयातमा प्रतिबन्ध लगायो । सरकारले विदेशी मुद्राको सञ्चितिको अभाव भएको भन्दै आयातमा कडाइ गरेको भनिएको थियो । सरकारले कुनै पनि अध्ययन तथा विश्लेषण नगरी गाडीको आयातमा प्रतिबन्ध लगायो । जसको असर आजसम्म अटो व्यवसायीहरूले भोग्नु परिरहेको छ । सरकारको कुल राजश्वमा २५ प्रतिशत योगदान यस क्षेत्रले दिएको छ । यस क्षेत्रबाट प्रत्यक्ष एक लाख र अप्रत्यक्ष रूपमा १५ लाख बढीले रोजगारी पाएका छन् । सरकालले जुन सेगमेन्टको आयातमा प्रतिबन्ध गरेको थियो । त्यो नेपालमा हुने कुल आयातको एक प्रतिशतको मात्रै क्षेत्र थियो । जसले कुल राजश्वमा ६ प्रतिशत योगदान दिन्थ्यो । यो तथ्याङ्कलाई हेर्दा सरकार अटो मोबाइल व्यवसायप्रति ठूलो भरोसामा रहेको जस्तो देखिन्छ । आयात प्रतिबन्धको चेन इफेक्ट गाडी उत्पादक कम्पनीहरूसम्म पर्यो । किनभने नेपाली व्यवसायीले गाडीको आयात गरेर बेच्ने हो । आयात गरेर बेच्ने बस्तुमा सरकारले गाडी तथा मोटरसाइकल मात्र देख्यो । तर, त्यहाँ पार्टपुर्जा लगायतका सामाग्री आयात भएको देखेन । त्यसले गाडीमात्र नभई सिस्टम र प्रोसेस नै बन्द भयो । एउटा कुनै उत्पादक कम्पनीसँग आयातकर्ताले गाडी आयात गर्दा लगभग ६ महिनाको योजना दिनु पर्छ । नत्र नेपालमा कति गाडी बिक्री हुन्छ ? यसको भोलुम कति छ ? यसतर्फ कुनै विश्लेषण नै भएन । अटो व्यवसाय क्षेत्रमा खर्बौं रुपैयाँ लगानी भइसकेको छ । एउटा साधारण भन्दा साधारण डिलरले सोरुम खोलेर बस्नु पर्यो भने उसको ओभर हेड कति हुन्छ ? बैंक चार्ज कति हुन्छ ? यी सबै चिजको मूल्याङकन नगरी आयात प्रतिबन्ध गर्नले त्यसको चेन असर यस क्षेत्रमा परेको छ । पेट्रोल र डिजेलका गाडी आयात बन्द भएको बेलामा इलेक्ट्रिक भेहिकल (ईभी) ले केही राम्रो गर्याे । ईभी आउँदै थियो, नयाँ नयाँ प्रविधि आइरहेका थिए । तर, यहाँ जो ६० वर्षदेखि व्यवसाय गरी अर्बौं रुपैयाँ लगानी गर्नु भएको छ । त्यत्रो ठूलो लगानी गरेको क्षेत्र चाहिँ तहस नहस भयो तर त्यतातिर चाहिँ कासैको चासो भएन । अहिले गाडी व्यापार डामाडोल अवस्थामा छ । यदि अटो व्यवसायीको कारण विदेशी विदेशी मुद्रा सञ्चिति बाहिरिएको भए गाडीको आयात बन्द हुँदा अर्थतन्त्र बुम हुनु पर्ने हो । तर, त्यस्तो भएन । आज मान्छेको बिहान खायो भने बेलुका के खाने भन्ने अवस्था छ । हजारौंलाई रोजगारी दिएको एउटा कम्पनीमा आज २ सय जनाले काम गर्छन् । व्यापारमा कमी आएको कारण नै यो समस्या देखिएको हो । यस्तै, हामीलाई गाडी उत्पादक गर्ने कम्पनीहरूले पनि विश्वास गर्न छाड्यो । अर्डर दिएको छ तर गाडी ल्याउन पाइँदैन । अनि कसरी उत्पादक कम्पनीसँग सम्बन्ध राम्रो हुने ? सम्बन्ध बिग्रिएपछि व्यवसायी उत्पादक कम्पनीहरूसँग हात जोड्दै जाने अवस्था छ । २४० प्रतिशत कर तिरेर नेपालमा गाडी भित्र्याउनु पर्ने अवस्था छ । गाडीमा पनि बैंकले फाइनान्स गर्दैन । राजश्व तिरेर ल्याएको गाडी पनि यो देशमा सहज तरिकाले बच्न सक्ने वातावरण छैन । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटपछि कर्जाको जोखिम भार घटेर १०० मा आएको छ । त्यसले व्यापारमा सकारात्मक सन्देश देला । सरकारले यसलाई घटाएर ६०/७० पुर्याउनु पर्छ । नेपालमा पछिल्लो समय ईभीको ट्रेन्ड बढेको छ । तर, इन्धनबाट चल्ने सवारीमा ठूलो लगानी भइसकेको छ । एक पटक सबै कुरामा परिवर्तन हुँदैन । भौगोलिक अवस्थाले पनि इन्धनबाट चल्ने गाडी चाहिन्छ । निर्माणले कुन गति लिएको छ ? विकासका काम कति भए ? यी सबै विषयलाई मध्यनजर गर्दै कुन प्रडक्टलाई प्रोत्साहन गर्ने, कुनलाई नगर्ने भन्ने विषयमा छलफल गर्नुपर्छ । अहिले अर्थतन्त्रमा सुधारका संकेतहरु देखिरहेका छन् । बैंकको पनि ब्याजदर घटाउँदै गएका छन् । व्यवसायी पनि ब्याजदर घट्ने आशा लिएर बसेका छन् । किनभने बैंकमा मौजात बढेको छ । विदेशी मुद्रा सञ्चिति राम्रो कन्डिसनमा छ । त्यसले गर्दा केही चहलपहल होला । यस्तै, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नाडा अटो सोको सञ्चालन गरिरहेको छ । त्यसले पनि अटो मोबाइलको व्यापारलाई चलायमान बनाउनको लागि भूमिका खेल्छ । नाडा अटो शोमा राम्रो नै कारोबार भएको छ । सुधारोन्मुख बाटोमा अटो बजार जाने छ, हामी आशावादी छौं । सरकारले गाडीको आयात रोक लगाउने वित्तिकै सरकारसँग अब पैसा छैन भन्ने मान्छेमा सन्देश गयो । देश श्रीलंका बन्दैछ भन्ने भ्रम फैलियो । जसका कारण भएको पैसा पनि खर्च नगरी मान्छे पैसा लिएर पर्ख र हेरको अवस्थामा बसे । त्यसैले पनि आर्थिक संकट बढ्दै गयो । आर्थिक संकट भएपछि मान्छेमा किन गाडी चढ्ने ? ४/५ लाख रुपैयाँ भएपनि किन खर्च गर्ने ? भन्ने मानसिकतामा पुगे । हामीले आयात बन्ददेखि आर्थिक संकट करिब १८/२० महिना भोग्यौं । यो बीचमा अटो व्यवसायीहरूको सय भन्दा बढी व्यवसाय बन्द भइसकेको छ । व्यवसाय, सोरुम बन्द हुनु, लगानी डुब्नु व्यवसायीहरूको लागि ठूलो चिन्ताको विषय हो । एक सय वटा सोरुममा वर्कसप बन्द हुँदा ३०/४० हजारको रोजगारी पनि गुम्यो । कुनै किसिमको मूल्याङकन नगरी नीतिगत रूपमै अप्ठ्यारो बनाउने नीति बनाउने हो भने भोलिका दिनमा को कहाँ रहन्छ भन्ने टुङ्गो छैन । उद्योग धन्दा बन्द हुने र विकास निर्माणको काम ठप्प हुने हो भने कुनै बेला निर्माण व्यवसायीले चलाएका सवारी पनि लिलाममा जाने अवस्था आउँछ । खर्बौंको लगानी गरेका व्यवसायीहरू घाटामा चलिरहेको बेलामा खबौंको नाफामा बैंकहरु चलिरहेको अवस्था छ । अर्थतन्त्रको अवस्था यस्तो हुँदा  ८ प्रतिशतको ब्याजदरलाई बैंकले बढाएर १६ प्रतिशत बनाए । सरकारले हस्तक्षेप गरेन । बाटो एउटै हो यात्रा सबै मिलेर गर्नुपर्छ । संकट आयो भन्दैमा कुनै पनि क्षेत्र डामाडोल होस् भनेर चाहिँ ठान्नु हुँदैन । सरकारले गरेका राम्रो कामको प्रशंसा जहिले पनि व्यवसायीहरूले गरिरहेका छन् । ईभीलाई सरकारले सपोर्ट गरेको छ । त्यो प्रशांसनिय काम गर्यो भनेर भनिरहेका छौं । भोलिका दिनमा सरकारलाई ईभीको ब्याट्री व्यवस्थापनमा पूर्ण रूपमा सहयोग गर्न अटो व्यवसायी तयार छन् । प्यासेन्जर गाडीमा बैंकले गरेको लगानी एक प्रतिशत पनि डिफल्ट छैन । देश निर्माणको काम बढाउँदै जाने हो भने अहिलेको गाडीले पुग्दैन । बुबाको पालामा ९० प्रतिशत फाइनान्समा गाडी चढ्न पायो । छोराले ५० प्रतिशत रकम नहाली हुँदैन । पहिला नै ५० प्रतिशत रकम हाल अनि मात्र गाडी पाउँछस् भन्ने पनि कुनै देश हुन्छ ? अनि मान्छे यो देशमा कसरी बस्छ ? भोलिका दिनमा अटो बजारको भविष्य राम्रो बनाउने हो भने एउटा स्पष्ट नीतिको आवश्यक छ ।  कुनै पनि व्यवसायलाई स्थीर रूपमा चलाउनको लागि कम्तीमा १० वर्षे योजना ल्याउनुपर्छ । देशभित्र व्यवसायीलाई एसेम्बल प्लान्ट, उद्योग चलाउन गाह्रो छ । जति सुकै सानो उद्योग चलाउँछु भनेता पनि मेरो उद्योग दर्ता गर्न पहिला नै ८ ठाउँ पुग्नु पर्छ । सबै स्टेक होल्डरसँग बसेर १० वर्षे योजना बनाऊँ । नेपालमा आज राम्रो राम्रो ब्राण्ड आएका छन् । टायर, ब्याट्री लगायतका धेरै उद्योग सुरु भएका छन् । बिस्तारै चार पाँग्रे सवारीको पनि एसेम्बल सुरु हुँदैछ । व्यवसायीलाई प्रोत्साहन गर्ने नीतिले हो । बैंकको ब्याजदर सुनिश्चित हुनु पर्छ । ब्याजदर बजारले निर्धारण गर्छ भनेको छ । त्यसमा हामीले विरोध जनाएको छैन । तर, बजारलाई चलायमान बनाइ राख्ने नीति पनि सरकारले ल्याउनु पर्छ । पेट्रोल तथा डिजेलमा विदेशी मुद्रा बाहिरियो भनेर गाडी आयात रोक्नु हुन्न। ढुक्को वातावरण सिर्जना गरेपछि व्यवसायीले लगानी गर्छन् । मन ढुकढुक बनाएर घर जग्गा जमिन सबै बैंकमा राखेर लिलामी सहनु पर्ने अवस्था छ । त्यसैले १० वर्षे बलियो नीतिको आवश्यक छ । (बराल नाडा अटो शोका सभापति हुन्)