आइएमई पेले ल्यायो अल्टिमा अनलाईन मेलामा एकको डबल अफर
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले असोज ३ र ४ गते सन्चालन हुने ‘अल्टिमा अनलाईन मेला’ मा ‘एकको डबल’ अफर सार्वजनिक गरेको छ। अल्टिमाले आफ्नो वेबसाइट को लन्चको अवसरलाई लक्षित गर्दै सन्चालन गर्ने ‘अल्टिमा अनलाईन मेला’ मा ( बिहान ९ देखी ११ सम्म र साझ ६ बजे देखी राती ८ बजे सम्म एउटा अल्टिमा एटम ५२० वा अल्टिमा एटम ३२० .एयरबड खरिद गर्ने ५०० जना सेवाग्राहीलाई अर्को एयरबड निशुल्क प्रदान गर्ने व्यबस्था गरेको छ । साथै अन्य अल्टिमाका ग्याजेटहरुमा आइएमई पे मार्फत भुक्तानी गर्दा २५ प्रतिशत छुट प्राप्त हुने कम्पनीले जनाएको छ । अल्टिमासँगको रणनीतिक साझेदारीलाई नयाँ उचाई सम्म लैजान तथा ग्राहक वर्गलाई डिजिटल कारोबार गर्नलाई थप प्रोत्साहन गर्न यो अफर ल्याइएको जानकारी आइएमई पेलेका सीइओ प्रविन रेग्मीले दिएका छन् ।
औद्योगिक क्षेत्र व्यवस्थापनको अध्यक्षमा पन्त नियुक्त
काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापनको अध्यक्षमा बाबुराम पन्त नियुक्त भएका छन् । भदौ २९ गते बसेको मन्त्रिस्तरीय बैठकले पन्तलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ग्राउन्डेड जहाजको इञ्जिन मर्मतका लागि इजरायल पठाइने भएको छ । जहाज ग्राउण्डेड भएको झण्डै तीन महिनापछि निगमले उक्त जहाजको इन्जिन मर्मतका लागि आज राति इजरायल पठाउन लागेको हो । जहाज राति ११ः३० बजे इजरायल उडान गर्नेछ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमको नाईन–एकेएक्स जहाजको इन्जिन मर्मतका लागि एमआरओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ष्ट्रिजसँग लिजसहितको इन्जिन मर्मत सम्झौता भए अनुसरु जहाज पठाउन लागिएको छ । एमआरओ कम्पनीले १८ सेप्टेम्बरलाई स्लट दिएको र त्यसका लागि जहाज पठाउन लागिएको उनले उल्लेख गरे । यो जहाज मर्मतपछि २२ सेप्टेम्बर २०२३ मा काठमाडौं फर्कनेछ । गत १२ जुन २०२३ मा ४५ दिनको म्याद राखेर टेण्डर आह्वान भएको थियो । सोही अनुसार एमआरओ कम्पनीसँग सम्झौता भएको निगमले जनाएको छ । उक्त जहाज ग्राउन्डेड हुनुभन्दा पहिला जुलाई महिनामै सार्वजनिक खरिद ऐन तथा निगमको आर्थिक विनियमावली अनुसार निगमले ४५ दिनको म्याद दिई लिज सहितको इन्जिन मर्मतको लागि खुला प्रतिस्पर्धा हुने गरी शिल टेन्डर आह्वान गरिएको थियो । नियमानुसार छनौट भएको एमआरओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ट्रीजसँग लिजसहितको इन्जिन मर्मत गर्न सम्झौता गरिसकिएको छ । जहाज मर्मतका लागि चार साइकल राखेर जहाज ग्राउन्डेड गरिएको थियो । जहाजको इन्जिन मर्मत गर्नुपर्ने पूर्वसूचना दिने साधनहरु इन्जिन हेल्थ मोनिटरिङ, वोरोस्कोप तथा भौतिक निरीक्षण भएता पनि हालको इन्जिन मर्मत गर्नुपर्ने भनी वोरोस्कोप गरेपछि मात्र थाहा भएको निगमले उल्लेख गरेको छ । प्राविधिक कारणले जहाज ग्राउण्डेड हुन गई यसबाट यात्रु वर्गमा पर्न गएको असुविधाप्रति निगमले माफी पनि मागेको छ । रासस
कर प्रणाली सुधार गर्न उच्चस्तरीय सुझाव समिति गठन गरिने, यस्ता छन् सरकारको २३ निर्णयहरु
फाइल फोटो काठमाडौं । सरकारले कर प्रणाली सुधार गर्न उच्चस्तरीय सुझाव समिति गठन गर्ने भएको छ । भदौ २९ गते बसेको मन्त्रि परिषद्को बैठकले उक्त निर्णय गरेको हो । बैठकले कर प्रणाली सुधारका लागि राय सहितको सुझाव पेश गर्न विद्याधर मल्लिकको अध्यक्षतामा पाँच सदस्यीय कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समिति गठन गर्ने निर्णय गरेको हो । त्यस्तै, उक्त बैठकले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने सम्बन्धी सूचना प्रकाशन गर्न स्वीकृति दिने निर्णय गरेको छ । त्यसैगरी, नेपाल न्याय सेवा, न्याय समूहको राजपत्राङ्कित प्रथम श्रेणीका १३ जना अधिकृतहरु र ३ जना सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरुको सरुवा गर्ने सरकारको निर्णय छ । यस्ता छन् बैठकले गरेको २३ निर्णयहरु [pdf id=436559]
भद्रकालीमा हिमालयन बैंकको डिजिटल भुक्तानी काउन्टर
काठमाडौं । हिमालयन बैंकले भद्रकालीस्थित सैनिक कल्याणकारी कोषद्वारा संचालित रिपुमर्दिनी पेट्रोल स्टेशनमा डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ । बैंक र सैनिक कल्याणकारी कोषद्वारा संचालित रिपुमर्दिनी पेट्रोल स्टेशनबीच भएको सम्झौता अनुसार पेट्रोल स्टेशनमा आउने सम्पुर्ण ग्राहकहरुको सुबिधालाई मध्यनजर गर्दै उक्त काउन्टर संचालनमा ल्याइएको हो । रिपुमर्दिनी पेट्रोल स्टेशनमा स्थापना गरिएको सो काउन्टरमा ग्राहकहरुले विभिन्न बैंकको मोबाइल बैंकिङ एपमा रहेको नेपाल पे क्यूआर तथा सबै बैंकबाट जारी भएको एटिएम कार्ड मार्फत पीओएस् मेसिनबाट सहजै भुक्तानी गर्न सक्नेछन् भने भुक्तानी प्राप्त भए पश्चात् नै भ्वाइस मेसिन तथा एसएमएस मार्फत क्रेता तथा बिक्रेताले भुक्तानी सम्बन्धी जानकारी प्राप्त गर्ने बैंकले जनाएकाे छ । बैकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी उज्वल राजभण्डारी तथा सैनिक कल्याणकारी कोषको तर्फबाट कोषका सहायक रथि किरण केसीले एक समारोह बीच बैंक र कोषका अन्य उच्चपदस्थ कर्मचारीहरुको उपस्थितिमा उक्त डिजिटल भुक्तानी काउन्टरको संयुक्तरुपमा उद्घाटन गरेका थिए ।
चिनी आयातमा भन्सार छुट दिन संसदीय समितिको निर्देशन
काठमाडौं। संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चिनी आयातमा कर तथा भन्सार छुटको सहमति प्रदान गरिदिन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले चाडपर्वमा चिनीको अभाव हुन नदिन वाणिज्य मन्त्रालयबाट माग भएको ५० हजार मेट्रिकटन चिनी मूल्य अभिवृद्धि कर छुट तथा एक प्रतिशत भन्सार महसुल लिने गरी आयातको सहमति उपलब्ध गराउन निर्देशन दिएको हो । यसअघि वाणिज्य मन्त्रालयले ५० हजार मेट्रिकटन चिनी आयातका लागि भन्सार महसुल छुटको सहमति प्रदान गर्न अर्थ मन्त्रालयसँग आग्रह गरेको थियो । तर अर्थ मन्त्रालयले २० हजार मेट्रिकटन चिनी आयातका लागि ५० प्रतिशत मात्र भन्सार महसुल छुट दिने गरी आयातको सहमति प्रदान गरेको वाणिज्य मन्त्रालयका सचिव मधुकुमार मरासिनीले जानकारी दिए । नजिकिँदै गरेका चाडपर्वका समयमा चिनी, चामल र गहुँलगायतका अत्यावश्यक वस्तुको अभाव हुन नदिन र मूल्य नियन्त्रण गरी ‘कार्टेलिङ’ प्रणालीलाई निरुत्साहित गर्दै सहज आपूर्ति व्यवस्था मिलाउन र सहुलियत मूल्यमा बिक्री वितरण गर्न वाणिज्य मन्त्रालयबाट सहमति माग गरिएको विषय कार्यान्वयन नभएको विषयमा ध्यानाकर्षण भएको समितिका सभापति अब्दुल खाँनले जानकारी दिए । बैठकले उपभोग्य वस्तुमा हुने मिसावट, कृत्रिम अभाव, कालोबजारी, गैरकानुनी भण्डारण, अस्वभाविक मूल्यवृद्धिजस्ता अनियमित गतिविधि रोक्न उपभोग्य वस्तुको बजार अनुगमन गर्ने कार्यका लागि पर्याप्तमात्रामा जनशक्ति र स्रोतसाधनको व्यवस्था गरी अनुगमनलाई प्रभावकारी बनाउन उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले देशमा विभिन्न स्थानमा सुपथ मूल्य पसल खोली उपभोक्तालाई सुपथ, सस्तो र गुणस्तरीय उपभोग्य सामान उपलब्ध हुने व्यवस्था मिलाउन पनि उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकले दैनिक प्रयोग हुने खाद्यवस्तु नुन, चिनी, चामल, दाल, तरकारी, तेल, दूध, पानी र औषधिलगायतका उपभोग्य वस्तुमा दशैँ तिहार तथा छठ पर्वलाई लक्षित गरी हुने कालोबजारी, मूल्यवृद्धि, मिसावट, कृत्रिम अभावलगायत विषयमा समितिले स्थलगत अनुगमन गर्ने निर्णयसमेत गरेको छ । उक्त अनुगमनका लागि सभापतिको नेतृत्वमा चार समिति सदस्य र दुई कर्मचारी रहेको अनुगमन टोली गठन गर्ने बैठकको निर्णय छ । समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले चाडवाडको मुखमा चिनीको अभाव हुन नदिन भारतबाट चिनी आपूर्तिका लागि पत्राचार गरिएको बताए । नेपाली बजारमा तीन लाख मेट्रिकटन चिनीको माग भए पनि उत्पादन दुई लाख ६० हजार मेट्रिकटन मात्र रहेको छ । ‘चिनीको अभाव हुन नदिन ५० हजार मेट्रिकटन चिनी उपलब्ध गराइदिन भारतसँग पत्राचार गरिएको छ, भारतीय पक्षबाट नेपालले माग गरेअनुसारको चिनी उपलब्ध गराइदिने जानकारी आएको छ’, उनले भने । अर्थमन्त्रालयले २० हजार मेट्रिकटन चिनी आयातका लागि भन्सार महसुलमा ५० प्रतिशत छुट दिएको उनले जानकारी दिए । सरकारले चिनीको आयातमा ३० प्रतिशत भन्सार महसुल लगाउँदै आएको छ । दश हजार मेट्रिकटन चिनी साल्ट ट्रेडिङ कर्पोरेशन र १० हजार मेट्रिकटन चिनी खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट आयात गर्ने सरकारको तयारी छ । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले दैनिक उपभोग्य वस्तुको आपूर्तिको स्थिति सहज भए पनि बजारको स्थिति डामाडोल रहेको बताए । ‘कुनै कुराको अभाव छैन, तर मूल्य हेर्यो भने अस्वभाविक मूल्यवृद्धि भएको छ, अनावश्यक ढङ्गले महँगो बनाइएको छ’, उनले भने । बैठकमा सदस्यहरुले चिनीको माग, उत्पादन र आपूर्तिको एकीकृत तथ्याङ्क राख्न, ऊखु किसानका समस्या समाधान गर्न, चिनी उत्पादनमा आत्मनिर्भर हुने योजना ल्याउन तथा बजार अनुगमनलाई तीव्र पार्नुपर्नेमा जोड दिएको थियो । रासस
तीजको अवसरमा रियलमीको टिकटक च्यालेन्ज, बिजेताले आर्कषक पुरस्कार पाउने
काठमाडौं । रियलमीले नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर मनाउँ तीज रियलमीसँग टिकटक च्यालेन्ज ल्याएको छ । यस च्यालेन्जमा सहभागि हुनको लागि नेपालमा नै बसोबास गरिरहेका नेपाली नागरिकहरुले कुनै पनि तीजको गीतमा नाचेर भिडियो खिच्नुपर्ने हुन्छ । उक्त भिडियोमा ह्यास्ट्याग मनाउँ तीज रियलमीसँग र ह्यास्ट्याग दरटुलिप प्रयोग गरेर @realmenepal लाई ट्याग गरेर टिकटक च्यालेन्जमा सहभागि हुन सकिनेछ । भाद्र २२ गते शुरु भएको यो प्रतियोगितामा भोली हरितालिका तिजको राती अर्थात असोज १ गते रातीको १२ बजेसम्म सहभागि हुन सक्नेछन् । सबैभन्दा बढी लाइक प्राप्त गर्ने ५ भिडियोलाई विजेता घोषणा गरिनेछ । विजेताहरुलाई रियलमीद्वारा आकर्षक पुरस्कारको साथै आफ्नो परिवारको एक जना सदस्यसँग रात्रीभोज (डिनर) जाने मौका पनि प्रदान गरिने कम्पनीले जनाएको छ । रियलमी नेपालले समस्त नेपाली नारीहरुलाई हरितालिका तीजको शुभकामना पनि व्यक्त गरेको छ ।
लाभांश घोषणापछि एनआईसी एशियाको सेयर मूल्य घट्यो, कारोबार भने बढ्यो
काठमाडौं । आइतबारको सेयर बजारमा एनआईसी एशिया बैंकको सेयर मूल्य घटेको छ । लाभांश घोषणापछि भएको पहिलो कारोबारमा बैंकको सेयर मूल्य ५ रुपैयाँले घटेको छ । गत बिहीबार प्रतिकित्ता ८१९ रुपैयाँमा भएको बैंकको सेयर कारोबार आइतबार प्रतिकित्ता ८१४ रुपैयाँमा झरेको छ । बैंकले गत शुक्रबार मात्रै सेयरधनीलाई कूल ३०.५ प्रतिशत लाभांश घोषणा गर्ने प्रस्ताव गरेको थियो । एकैपटक तीन आर्थिक वर्षपछि लाभांश घोषणा गर्दा पनि बैंकले कम लाभांश घोषणा गरेकाले लगानीकर्ताहरु खासै खुशी नभएको आइतबारको कारोबारले देखाउँछ । सेयर मूल्य घटेको कम्पनीको सेयर कारोबार भने सर्वाधिक भएको छ । कारोबारमा आएका २७८ वटा स्क्रीप्समध्ये एनआईसी एशियाको मात्रै २७ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । समग्रमा आइतबारको बजारमा कूल २ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन बिहीबारको तुलनामा ५३ करोड रुपैयाँले बढी हो । कारोबार बढेको बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक भने ४२.१४ अंकले घटेर १९६४.९१ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.०९ प्रतिशतले घटी हो । राताम्मे देखिएको बजारमा पनि शुभम् पावरको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९८५.६० रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा प्रतिकित्ता ८९.६० रुपैयाँले बढी हो । यता मौलुङ हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.२१ प्रतिशतले घटेर प्रतिकित्ता १७१.६० रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १७.४० रुपैयाँले घटी हो ।